२ अर्बकाे मुद्दा जितेकाे इन्भेष्टमेण्ट बैंककाे हातमा साढे ८७ लाख युराे, बाँकी रकम पनि आजै आउने
काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीमा मुद्दा जितेपछि एक किस्ता वाफत ८७ लाख ४९ हजार बुझेकाे छ । बैंकले बुधबार बिहान साे रकम बुझेकाे बताएकाे छ । बाँकी रकम आजै पठाउने तयारी बताइएकाे छ । तनहुँ जलविद्युत् आयोजनाको ठेक्का तोडिएपछि इटालियन निर्माण कम्पनी कोअपरेटिभा मुराटोरी ए सेमेन्टिस्टी (सिएमसी)को पर्फमेन्स ग्यारेन्टी भुक्तानीसम्बन्धी मुद्दा नेपाल इन्भेष्टमेन्ट बैंकले जितेको गत साता मात्रै जितेकाे थियाे । बैंकले गत साता २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको थियो। इटालीको बैंकको तर्फबाट इन्भेष्टमेन्ट बैंकले ८५ करोड १४ लाख १६ हजार १ सय २७ नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार २ सय ४९ युरो (अहिलेको विनिमय दरअनुसार १ अर्ब १७ करोड रुपैयाँ)को काउन्टर ग्यारेन्टी राखेको थियो । इन्भेष्टमेन्ट बैंक मुद्दा जितेपछि त्यहाँकाे बैंकले पैसा पठाउन सुरु गरेकाे हाे । इटालीको अदालतको फैसलापछि बैंकले इन्टेसालाई रकम भुक्तानी गर्न मंगलबार नै स्विफ्टमार्फत अनुरोध पठाइसकेको थियाे ।
पुँजीगत लाभकरलाई अन्तिम कर मान्ने व्यवस्था मिलाउन बोर्डको आग्रह
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजीगत लाभकरलाई अन्तिम कर मानी गणना गर्ने व्यवस्था मिलाउन अर्थमन्त्रालयलाई आग्रह गरेको छ । लामो समयदेखि कर कार्यालय तथा लगानीकर्तामा देखिएकाे दुविधालाई स्पष्ट गरिदिन बाेर्डले उक्त अनुरोध गरेको हो । हाल धितोपत्र बजारको पुँजीगत लाभकर ५ प्रतिशत रहेको छ । केही कर कार्यालयले उक्त करलाई अन्तिम कर मानी कर चुक्ता प्रमाणपत्र दिने गरेका थिए तर केहीमा भने अझै उक्त विषयमा दुविधा रहेको थियो । त्यसैले, लगानीकर्ताले लामो समयदेखि तिर्दै आएको पुँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गरिदिने व्यवस्थाका लागि माग गर्दै आइरहेका थिए ।
उद्धार उडानको पूर्वनिर्धारित तालिका परिवर्तन
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ । उक्त उद्धार उडानबाट नेपाल आउने नेपालीले अनिवार्य रुपमा पिसिआर परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने भएकाले चार्टर्ड उडानको तालिका परिवर्तन गर्नुपरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । पिसिआर रिपोर्ट समयमा आउन नसेकेको तथा अन्य प्राविधिक कारणले गर्दा सम्बन्धित देशका नेपाली दूतावासबाट अनुरोध भएकाले पूर्वनिर्धारित उडान तालिकामा केही परिवर्तन गरिएको हो । निगमले यसअघि जुन १४ देखि २५ सम्मको उद्धार उडानको तालिका सार्वजनिक गरेको थियो । निगमको पहिलो उडानमा वाइड बडी जहाजले बङ्गलादेशबाट २ सय ५८ नेपाली उद्धार गरी नेपाल ल्याएको थियो । जुन १५ र १६ को उडान रद्द भएको थियो । पछिल्लो पटक निगमले उडानको नयाँ कार्यतालिका बनाएको छ । निगमको उडान तालिकाअनुसार जुन १७ मा थाइल्याण्डको बैंकक रहेको छ । त्यसैगरी जुन १८ मा साउदी अरेबियाको रियाद र दुबई, जुन १९मा जापानको नारिता र बुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ । त्यसैगरी जुन २१ मा ढाका, दक्षिण कोरिया र बहराइन जुन २२ मा अष्ट्रेलियाको सिङ्नी र बैंकक उडान हुनेछ । त्यस्तै जुन २३ मा नारिता र माले, जुन २४ मा नारिता साउदी अरबको जेद्दा, जुन २५ मा बहराईन, जुन २६ मा मेलबर्न, जुन २७ मा मेलबर्न, जुन २९ मा तेल अभिव, साइप्रस, जेद्दा र जुन ३० मा साइप्रसका लागि उडान निर्धारण गरिएको छ । दूतावाससँगको समन्वयमा हुने चार्टर्ड उडानमा यात्रुले पिसिआर वा आरडिटी परीक्षण नेटेटिभ वा कोभिडको लक्षण नभएको स्वास्थ्यकर्मीको प्रमाणित प्रमाण पेश गरेको हुनुपर्नेछ । चार्टर्ड उडान यात्रुको उपलब्धताको आधारमा परिवर्तन हुनसक्ने र जहाजमा ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्टर्ड हुने निगमले विज्ञप्तिमा उल्लेख गरेको छ । बङ्गलादेश र बैंककबाट उद्धार उडान नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले आज पनि विभिन्न मुलुकबाट अलपत्र नेपाली उद्धार उडान गरी नेपाल ल्याउँदैछन् । नेपाल एयरलाइन्सले बैंककबाट र हिमालयले ढाकाबाट उद्धार उडान गरी नेपाली ल्याउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । त्यस प्रयोजनका निम्ति दुबै एयरलाइन्सका जहाज गन्तव्यतर्फ उडिसकेका छन् । दुबै जहाज साँझ काठमाडौँ फर्कने जनाइएको छ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन् । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान दिइएको छ । नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्ससँग चार न्यारो बडी जहाज छन् । रासस
लकडाउनपछिको अर्थतन्त्रः बैंकिङ क्षेत्रको लगानी उपभोग र अनुत्पादक क्षेत्रतर्फ आकर्षित
काठमाडौं । यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले कुनै पनि मोडलको मोटरसाइकल खरिदका लागि तीन प्रकारका योजना ल्यायो । पहिलो योजनामा एक रुपैयाँ पनि डाउन पेमेन्ट नगरी बाइक किन्न सकिन्छ । यो योजनामा बाइक किन्दा व्याज भने केही महंगो पर्छ । दोस्रो योजना अनुसार ४० प्रतिशत डाउन पेमेन्ट गरेर बाइक किन्ने हो भने व्याज बाँकी ऋण निव्र्याजी पाइन्छ । अर्थात व्याज तिर्नु पर्दैन । र, तेस्रो योजना भनेको बाइकको मूल्य अनुसार पैसा हाताहाती तिरेर लिने हो भने १० हजार रुपैयाँ छुट पाइन्छ । नेपालका लागि निसान गाडीको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले ‘अहिले गाडी किन्नुस्, पछि पैसा तिर्नुस्’ भन्ने योजना ल्यायो । यो योजना अनुसार निसान गाडीका जुनसुकै मोडल खरिद गर्दा पनि सुरुमा गाडी मूल्यको ३० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ । त्यसपछिको ६ महिनासम्म बाँकी पैसाको किस्ता र व्याज तिर्नु पर्दैन । त्यो अवधिको किस्ता र व्याज कम्पनीले नै तिरिदिन्छ । ६ महिनापछिदेखि भने किस्ता र व्याज तिर्नुपर्छ । लक्ष्मी बैंकले कम्प्युटर, ल्यापटप र सोसम्बन्धी उपकरण खरिदमा शतप्रतिशतसम्म कर्जा दिने योजना ल्याएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण विद्यालयहरु बन्द भएको समयमा अनलाइन कक्षामा भाग लिन सहज होस भनेर बैंकले यस्तो योजना ल्याएको हो । लक्ष्मी बैंकको सो योजनामा कम्तिमा १२ प्रतिशत व्याज लिने भनिएको छ । यो सुविधा एसर, एप्सन, डेल र एप्पल ब्राण्डका कम्प्युटर, ल्यापटप तथा अन्य उपकरणमा उपलब्ध छ । मोटरसाइकल, गाडी र कम्प्युटर तथा ल्यापटप सम्बन्धी कर्जा योजना कोरोना भाइरस संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउन केही खुकुलो भएपछि यसैसातादेखि संचालनमा आएका हुन् । यी प्रतिनिधि उदाहरणले कोरोना भाइरस संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउन खुलेपछि बैंकिङ क्षेत्रको कर्जा उपभोग्य वस्तु र अनुत्पादक क्षेत्रमा बढ्ने संकेत मिल्छ । तर, नेपाल राष्ट्र बैंकको नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल अहिलेको केही उदाहरण हेरेर बैंकको लगानी उपभोग र अनुत्पादक क्षेत्रतिर जान लाग्यो भन्ने निष्कर्षमा पुग्नु हतार हुने बताउँछन् । ‘लकडाउनको समयमा बैंकहरुले तत्कालिन व्यवसायको लागि उपभोग केन्द्रीत केही योजना ल्याएका हुन सक्छन्, लकडाउन खुकुलो हुँदै गएपछि उद्योग व्यवसाय क्षेत्रले कर्जा माग्ने अवस्था बढ्छ, त्यसैले अब उपभोग वा अनुत्पादक क्षेत्रतिर कर्जा बढ्छ कि भनेर चिन्ता गरिहाल्नुपर्ने अवस्था छैन,’ कार्यकारी निर्देशक ढकालले भने । बैंकहरु भने अब कर्जा प्रवाह कतातिर मोडिन्छ भनेर यकिन हुन सक्ने अवस्था अहिले नै नआएको बताउँछन् । आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटले स्पष्ट दिशानिर्देश नगरेको र कोरोना महामारीको असर कहिलेसम्म र कुनस्तरको पर्छ भन्ने यकिन नभएकोले कर्जा प्रवाह कुन क्षेत्रमा बढ्छ वा बढाउनु पर्छ भनेर यकिन गर्न नसकिएको उनीहरुको भनाइ छ । ‘बजेटे केही दिशानिर्देश गरेन, बजेटले नै स्पष्ट पार्न नसकेको विषयलाई मौद्रिक नीतिले प्रष्ट पार्ला भन्ने अनुमान कम छ, त्यसैले अवको बाटो उपभोग कर्जा हो भन्ने निष्कर्ष निकालेर होइन, तत्कालको लागि केही कर्जा दिदै गरौं भन्ने हिसावले उपभोग कर्जामा केही स्कीम बनाउँदै छौं,’ एक बैंकरले भने । धेरै मानिसको आम्दानी र रोजगारी गुमेकोले उपभोग कर्जामा पनि धेरै जान नसकिने उनको भनाइ छ । ठूलो परिमाणको कर्जा माग हुनको लागि घरजग्गा क्षेत्र चलायमान हुनुपर्नेमा अहिले त्यस्तो अवस्था नरहेको उनको विश्लेषण छ । ‘कर्जाको किस्ता राम्रैसँग आइरहेको छ, नयाँ कर्जाको माग भएको छैन, यसैकारण तरलता बढी थुप्रिएकोले नयाँ नयाँ योजना आएका हुन्, उपभोग कर्जाको माग धेरै हुनको लागि घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्छ, घरजग्गा क्षेत्रमा कर्जा बढाउनु भनेको बेलुन कति ठूलो बनाएर फुटाउने भन्ने नै हो, त्यसैले मौद्रिक नीतिसम्म कुरौं, त्यसपछि केही संकेत मिल्ला कि,’ ती बैंकरले भने ।
अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका युवाले गरे आत्महत्या
काठमाडाैं । अर्घाखाँचीको क्वारेन्टाइनमा बस्दै आएका एक जनाले आत्महत्या गरेका छन् । गतजेठ १० गते भारतबाट आएर क्वारेन्टिनमा बसेका शितगंगा नगरपालिका ५ का ४५ वर्षीय देवबहादुर बिकले आत्महत्या गरेको नगरप्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए । उनको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । स्थानिय हरि माविको क्वारेन्टिनमा बस्दै आएका बिकले मंगलबार राती झुन्डिएर आत्महत्या गरेका हुन् । स्वाब संकलन गरी पठाए । उनले आत्महत्या गर्नुको कारण भने खुलेकाे छैन् ।
खाद्य सामग्रीः निःशुल्क डेलिभरी
काठमाडाैं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मूल्यका सामग्री ग्राहकले अनलाइनबाटै माग गरेमा निःशुल्क डेलिभरी गरिने भएको छ । कम्पनीका उपमहाप्रबन्धक मोतिराज ज्ञवालीका अनुसार बन्दाबन्दीको अवस्थामा रोगको सङ्क्रमणको जोखिम हुने भएकाले ग्राहकको सहजताका लागि यसरी सेवा थालिएको हो । यसअघि चक्रपथभित्र शुरु भएको सेवा अब भने चक्रपथ बाहिर पनि शुरु गरिएको उनले बताए । इकमर्सको अर्डर लिने र डेलिभरी गर्नका लागि सस्तोडिल डटकमसँग सहकार्य भएको छ । त्यसका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र इकमर्स कम्पनी सस्तोडिल डटकम बीच व्यापार साझेदारी सम्झौता भएको ज्ञवालीले जानकारी दिए । उनका अनुसार अबका दिनमा भने आफ्नै कर्मचारीसँगै सस्तो डिलमार्फत सामान घर–घरमा पुर्याइने छ । साझेदारीसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मूल्यका सामग्री सस्तो डिलले निःशुल्क रुपमा होम डेलिभरी गर्न थालिएको सस्तोडिल डटकमका निर्देशक अमुन थापाले जानकारी दिए । अहिलेको अवस्थामा सामाजिक सेवाकै रुपमा सरकारलाई सहयोग गर्नका लागि काम थालिएको र यसको सिकाइका आधारमा देशभर सेवा सञ्चालन गर्ने उद्देश्य रहेको उनले बताए । उनले कुनै पनि सेवा नलिइ सरकारी उत्पादन त्यही मूल्यमा निःशुल्क रुपमा घरसम्म डेलिभिरी गरिने समेत बताए । उपत्यकाको चक्रपथभित्र यसअघि नै सञ्चालन भएको सेवा अहिले भने चक्रथप बाहिर पाँच किलोमिटरसम्म पुगेर दिइने उनकाे भनाइ । कोभिड -१९ को महामारीले गर्दा लकडाउन शुरु भएसँगै इकमर्स सेवाको माग ह्वात्तै बढेको छ । सोही कारण कम्पनीले इकमर्स सेवा शुरु गरेको थियो । ग्राहकले सस्तो डिलको वेबसाईट वा मोबाइल एप प्रयोग गरी अर्डर गर्न सक्नेछन् । हाल दाल, चामल, नुन, डिडिसिका उत्पादन लगायतका सामग्री सुचिकृत गरिएको छ । अर्डर गरेको एक दिनभित्रै डेलिभरी हुने र कम्तीमा दुई हजारदेखि बढीमा पाँच हजारसम्मको अर्डर गर्न सकिने कम्पनीले जनाएको छ । रासस
डिफिडलाई परराष्ट्रमा गाभ्ने बेलायत सरकारको निर्णय
काठमाडाैं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) लाई अबदेखि परराष्ट्रअन्तर्गत गाभ्ने बताए । साप्ताहिकरूपमा संसद्मा हुने ‘प्रश्न सोध्ने समय’ अन्तर्गत प्रधानमन्त्री जोन्सनले मङ्गलबार डिफिडलाई परराष्ट्रमा गाभ्ने बताएका छन् । बेलायती जनताले तिरेको करको उच्च महत्व होस् भनेर लामो समयदेखि गर्न खोजेको यो काम अब गर्नुपर्ने उनले बताए । सरकारको यो कदमको सत्तापक्ष पार्टीका प्रभावशाली नेता डेभिड क्यामरुन र प्रमुख प्रतिपक्षी दलका नेता गोर्डन ब्राउन दुवैले आलोचना गरेका छन् । प्रधानमन्त्री भइसक्नुभएका क्यामरुनले यो कार्यले बाहिरी देशहरूले बेलायतलाई हेर्ने दृष्टिकोण कम सम्मानजनक हुने बताए । डिफिडमार्फत विश्वका विभिन्न देशमा दिइँदै आएको रकममा भ्रष्टाचारको गन्ध रहेको भनी दुई वर्षअघि डिफिडको कार्यशैलीप्रति बेलायती समाजमा आलोचनासमेत भएको थियो । नेपालजस्ता विकासोन्मुख मुलुकलाई प्रत्येक वर्ष नियमित सहयोग गरिराख्ने डिफिडले सन् २०१५ को भूकम्पका बेला र हालको महामारीमा नियमितभन्दा बढी आर्थिक सहयोग दिएको थियो । स्थापनाको २३ वर्ष पूरा गरेको डिफिडमा यसभन्दा पहिला पनि केही विवास्पद घटनाका कारण छुट्टै राख्न नहुने कतिपय अर्थशास्त्रीको तर्क थियो ।
भाटभटेनीका अध्यक्ष गुरुङले त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने, ११ कराेडकाे लागत
काठमाडौं । भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने भएका छन् । उक्त भवनकाे शिलान्यास बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका हुन् । भाटभटेनी सुपरमार्केट्सका प्रबन्ध निर्देशकसमेत रहेका गुरुङ र भाइ पहलमान गुरुङले स्वर्गीय बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन बनाउन लागेका हुन् । भवन १० महिनाभित्रै तयार पारेर हस्तान्तरण गर्ने योजना छ । अध्यक्ष गुरुङका अनुसार नयाँ भवन निर्माणमा करिब ११ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । बेसमेन्टसहित पाँच तलाको हुने उक्त भवनमा एउटा तला २६ सय वर्गफिटको हुनेछ । गुरुङले यसअघि पनि करिब १० करोड लागतमा त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षसहितको भवन निर्माण गरिदिएका थिए । ‘हामीले यसअघि पनि १० करोडजति लगानीमा त्यहाँ भवन बनाइदिएका थियौं,’ भाटभटेनीका अध्यक्ष गुरुङले भने, ‘अहिले बनाउन लागेको भवनमा फर्निचर र आवश्यक सामग्री पनि उपलब्ध गराउने भनेका छौं । त्यहाँ भेन्टिलेटरसहितको व्यवस्था हुन्छ । यसअघि ६ महिनाभित्रै तयार गर्ने योजना थियो तर कोरोनामहामारीका कारण निर्माणको काम केही लम्बिने देखेका छौं । १० महिनाभित्रै हामीले उक्त भवन हस्तान्तरण गर्ने योजना छ ।’