ल्यापटप तथा कम्प्युटर किन्न लक्ष्मी बैंकले शतप्रतिशत कर्जा दिने
काठमाडौं । लक्ष्मी बैंकले ल्यापटप, कम्प्युटर तथा सम्बन्धित उपकरणहरु किन्नको लागि सुपथ व्याजदरमा शतप्रतिशत कर्जा दिने भएको छ । विद्यालय तथा कलेजहरुमा अनलाइन कक्षा सञ्चालन गर्ने तथा व्यवसायी तथा कर्मचारीहरुले घरबाटै काम गर्ने अवधारणाको विकास भएकाले बैंकले अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै उक्त योजना ल्याएको हो । कोभिड-१९ रोकथामका लागि अपनाइएको लकडाउनका कारण घरबाट काम गर्नुपर्ने नयाँ वातावरणको सिर्जना भएको छ । यो सुविधा अन्तर्गत योग्य ग्राहकहरुलाई खरिद मूल्यको १०० प्रतिशतसम्मको कर्जा शून्य प्रतिशत शुल्क तथा न्युनतम १२ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिने बैंकले जनाएको छ । यो सुविधा हाल एसर, एप्सन, डेल तथा एप्पल ब्राण्डका ल्यापटप तथा कम्प्युटर उपकरणहरुमा उपलब्ध छ । ग्राहकहरुलाई थप छनौटको सुविधा दिन निकट भविष्यमा नै अन्य ब्राण्डहरु पनि थप गर्दै जाने बैंकको योजना रहेको छ ।
असार अन्तिम साता रेडक्रसको महाधिवेशन हुने, बाधा अड्काऊ परेमा फुकुवा गरिने
काठमाडाैं । २०७७ जेठ ३० गतेदेखि ३२ गतेसम्म बोलाइएको नेपाल रेडक्रसको केन्द्रीय सभाको ४८ औँ महाधिवेशन बन्दाबन्दीको कारण हुन नसक्ने परिस्थिति परेकाले असारको अन्तिम सातालाई अर्को मिति तोकिएको छ । जेठ २७ गते बसेको नेरेसोको केन्द्रीय कार्यसमितिले असार २५ देखि २७ गतेसम्म केन्द्रीय सभाको ४८ औँ अधिवेशन काठमाडाैं उपत्यकाभित्र हुने गरी अर्को मिति तोक्न अध्यक्ष संजीव थापबाट यस अघि गरिएको निर्णयलाई अनुमोदन गरेको हो । यस निर्णय संगै नेरेसोको विधानको दफा ६७ बमोजिम केन्द्रीय कार्यसमितिको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिले तीन महिना भित्र निर्वाचन हुने गरी एक भन्दा बढी पटक पनि मिति तोक्न सक्ने व्याख्या गरेको छ । साथै, यदि बन्दाबन्दीको कारण सभा सम्मेलन असारमा पनि खुला नभएमा र केन्द्रीय कार्यसमितिको बैधता कायम राख्न बाधा परेमा मौजुदा विधानको दफा ६८ बमोजिम बन्दाबन्दी फुकुवा भई सभा सम्मेलन गर्न खुला भएको मितिले ३० दिन भित्र निर्वाचन सहितको केकासको महाधिवेशन बर्तमान कार्यसमितिले नै सम्पन्न गर्ने गरी संस्थागत बाधा अड्काऊ फुकाउने निर्णय समेत गरेको छ । यस सन्दर्भमा आगामी महाधिवेशन र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न कुनै कानुनी बाधा आएमा कानुनी उपचारमा जान पनि छलफल र निर्णय गरिएको छ । २०७६ वैशाख २३ देखि २५ गतेसम्म सुनसरीमा आव्हान गरिएको ४८ औँ महाधिवेशनको सम्पूर्ण तयारी भै सकेको र निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा आकस्मिक रूपमा वैशाख २२ मितिको जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनात्मक पत्र आइपुगी संस्थाको महत्वपूर्ण महाधिवेशन र निर्वाचन स्थगित भएको थियो । र, त्यस पश्चात विभिन्न कारणले महाधिवेशन र निर्वाचन हुन सकेको छैन । विद्युतीय बैठकलाई पनि आधिकारिक मानिनेः बन्दाबन्दी अवस्था, भविश्यमा आइपर्नसक्ने विषम विपदको अवस्था र अन्य कुनै काबु बाहिरको परिस्थिति सिर्जना भएर केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु बैठकको लागि स्वयं उपस्थित हुन नसक्ने अवस्थामा विद्युतीय सम्पर्क माध्यमबाट बैठक बस्न सकिने र त्यस्तो बैठकले गरेको निर्णय केकासको भौतिक उपस्थिति भएको बैठक सरह मान्य हुने निर्णय गरिएको छ ।यसका साथै विद्युतीय निर्वाचनको संभावना अध्ययन गरी सुझाव दिन उपमहामन्त्री हरि प्रसाद न्यौपानेको संयोजकत्वमा गठित समितिलाई पनि क्रियाशिल बनाइएको छ । ‘फाइदा पक्ष, अवसर र चुनौतिलाई हेरेर हामीले विद्युतीय निर्वाचनको बारेमा छिटै निर्णय गर्नेछौँ ।’ उपमहामन्त्री हरिप्रसाद न्यौपानेले बताए । कोभिड १९ को प्रतिकार्यमा अग्रपंतिमा नेपाल रेडक्रसमार्फत कोभिड प्रतिकार्य गतिविधि देशैभरी सञ्चालन गरिएको छ । भारतलगायतका मुलुकबाट नेपाल फर्कने नेपालीहरुलाई लक्षित गरी नेपाल प्रवेशद्धारहरु, जिल्लाहरुका होल्डिङ सेन्टरहरुमा नेरेसोका स्वयंसेवकहरुले सहयोग गरिरहेका छन् । त्यस्तै समुदायमा सेवा पुर्याइएको छ । सो अन्तर्गत २ लाख ७१ हजार ९ सय मानिसलाई व्यक्तिगत शुरक्षा सामग्री वितरण, ६ सय २७ जनालाई मनोबैज्ञानिक सहयोग, २४२ एम्बुलेन्स सञ्चालन, ६ हजार ६ सय ५० जनालाई हातधुने कक्षा सञ्चालन भएका छन् । त्यस्तै क्वारेन्टाइन सहयोग अन्तरगत १३ हजार ३ सय १० कम्बल, एकहजार नौसय ६३ त्रिपाल र ३ सय ९३ टेन्ट, ३ हजार २ सय झुल वितरण गरिएको छ । ८ सय ७० तन्ना र एकहजार सातसय चार गुन्द्री उपलव्ध गराइएको छ । साथै, लकडाउनले अफ्टेरो पारेका १७ हजार ९ सय मानिसहरुलाई खानाको व्यवस्था गरेको छ । नि:शुल्क कल सेन्टर ११३० सञ्चालनमा ल्याइएको छ र १२८ वटा सचेतनामूलक रेडियो कार्यक्रम बजाइएको छ । यसरी स्वास्थ्य तथा सेवा, आवास, पानी, सरसफाइ तथा स्वच्छता, जोखिमका बारेमा सञ्चार/सामुदायिक संलग्नता तथा जवाफदेहिता, संरक्षण, लैंगिकता र समावेशीकरण क्षेत्रमा संस्थाले नेपाल सरकार र सरोकारवालासँग मिलेर कार्य गरिरहेको छ ।
थप ३ सय ८० जनामा देखियो कोरोना, संक्रमितकाे संख्या ६५ सय नाघ्याे
काठमाडाैं । नेपालमा थप ३ सय ८० जनामा देखियो कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ३ सय ८० जनामा कोरेना भाइरस देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ६ हजार ५ सय ९१ पुगेकाे छ । यस्तै आज १ सय १७ जना निकाे भएर घर फर्किएका छन् जससँगै उपचारपछि निको भएर घर जानेकाे संख्या ११ सय ५८ पुगेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण १९ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ४३ हजार ७ सय ७८ काे पिसिआर विधि र २ लाख २३ हजारकाे ५ सय १९ जाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन क्वारेन्टिनमा र आईसाेलेसनमा कति छन् ? हाल देशभर १ लाख ३३ हजार ९ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ५ सय ३१ जना आईसाेलेसनमा रहेका छन् ।
एनसेलको डाटा प्याक ‘खल्ती’ एप्पबाटै किन्न सकिने, यस्ताे छ प्रकिया
काठमाडाैं । ‘खल्ती’ मोबाइल वालेटका प्रयोगकर्ताहरुले एनसेलको मोबाईल डाटा प्याक र भ्वाइस प्याक अब ‘खल्ती’ डिजिटल वालेट मोबाईल एपका साथै खल्तीडटकम वेवसाइटबाट सिधै किन्न सक्ने भएका छन् । ‘खल्ती’बाट एन सेलका विभिन्न प्याक किन्दा ग्राहकले आकर्षक क्यास ब्याकसमेत पाउने छन् । एनसेल का प्याक किन्ने सुविधा दिन ‘खल्ती’ले मोबाइल एपमा नयाँ मेनु थपेकाे छ । त्यसमा एनसेलले उपलब्ध गराउने प्याकहरूकाे विवरण उपलब्ध छ । उक्त मेनुमा गएर ग्राहकले प्याक छानेर खरिद गर्नुका साथै उक्त प्याककाे अवधिकाे समेत जानकारी पाउन सक्ने छन् । एनसेलकाे डाटा प्याक किन्न ‘खल्ती’काे मोबाइल एप वा खल्तीडटकम वेव पेजबाट लगइन गर्नुपर्छ । त्यहाँकाे गृहपृष्ठमा डाटा प्याक्स मेनु उपलब्ध छ । त्यसमा गएपछि आफुले चाहेको प्याक योजना तालिकाबाट छान्न सकिन्छ । त्यसपछि कुन मोबाइल नम्बरका लागि प्याक किन्ने हाे, त्यही नम्बर हाल्नुपर्छ । त्यहाँ डाटा प्याक काे भुक्तानी विधि छान्ने विकल्प उपलब्ध छ । ग्राहकले ‘खल्ती’ एपबाट सिधै, मोबाइल बैंकिंङ वा इन्टरनेट बैंकिंगमध्ये कुनै विकल्प छानेर डाटा प्याक काे भुक्तानी गर्न सक्नेछन् । यही विधिबाट एनसेलकाे भ्वाइस प्याक समेत खरिद गर्न सकिनेछ । एनसेलका प्रमुख बाणिज्य अधिकृत प्रदीप श्रीवास्तव भन्छन्, ‘हामी डिजिटल प्लेलफर्म उपयाेग गर्ने ग्राहकको आवश्यकतालाई सम्बोधन गर्न सधैं प्रयासरत रहन्छाैं । ‘खल्ती’ डिजिटल वालेटसँगको सहकार्यमा हाम्रा उत्पादनहरू एपबाटै खरिद गर्न सकिने ब्यवस्था गरेका छाैं । ग्राहकका मागका आधारमा बढी उत्पादन र सेवाहरू थप गर्दै लाने छाैं ।’ एनसेलका ९८ .९९ पैसादेखि १०४०.६५ रूपैयाँसम्मका प्याक ‘खल्ती’मा उपलब्ध छन् । ताेकिएकाे भाेलुमकाे डेटा सकिए पनि अबधि बाँकी रहेसम्म मुख्य ब्यालेन्सबाट रकम काटिने छैन । ‘खल्ती’का निर्देशक अमित अग्रवाल एनसेल सँगकाे सहकार्यमा मोबाइल एप र ‘खल्ती’ डटकम वेव पेजबाट डाटा किन्न सकिने सुविधा ल्याएपछि ‘खल्ती’बाटै परिवारका सदस्य र आफन्तहरूलाइ समेत डाटा किनेर उपहार दिन सकिने अबस्था आएकाे बताए । ‘’खल्ती’बाट जुनसुकै मोबाइलका लागि डाटा किन्न सकिने भएकाे छ,’ उनले भने, ‘यसले गर्दा डाटा किन्न नजान्ने, मोबाइलमा डाटा किन्न डायल गर्नु पर्ने विभिन्न काेडले गर्दा झण्झट मान्नेहरूलाइ समेत सजिलाे भएकाे छ ।’ लकडाउनका बेला रिचार्ज कार्ड किन्न कठिनाइ भाेग्नेहरूलाइ एनसेल र ‘खल्ती’काे सहकार्यले निकै सहज बनाइदिएकाे छ । यतिखेर घरमा बस्नेहरूले अरू बेलाभन्दा बढि डेटा प्रयाेग गरिरहेका छन् । पसलहरू नखुलेकाले रिचार्ज कार्ड किन्न सहज नभएका बेला माेवाइल एपबाटै डाटा किन्न सकिने भएपछि एनसेल प्रयाेगकर्ताहरूलाइ निकै सहज भएकाे छ । ‘खल्ती’ वालेटबाटै माेवाइल रिचार्ज, भ्वाइस प्याक र डेटा प्याक किन्न पाउने सुविधा उपलब्ध हुँदा टेलिकम कम्पनीहरू रिचार्ज कार्ड छाप्ने खर्चबाट मुक्त हुँदैछन् भने रिचार्ज कार्ड किन्न पसल धाउनु पर्ने, पिन नम्बर काेट्याउनु पर्ने र लामाे अंककाे पिन सम्झिनु पर्ने अबस्थाबाट माेवाइल प्रयाेगकर्ता मुक्त हुँदै गएका छन् । ‘खल्ती’को मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ । कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ? ‘खल्ती’ एप यो लिंकबाट डाउनलोड गर्न र उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।
रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?
काठमाडाैं । कोभिड–१९ महामारीले विश्वव्यापी रुप लिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको नियमित सेवन गर्न आह्वान ग¥यो । कोरोनाको विश्वसनीय खोप तथा औषधि पत्ता नलागेको अवस्थामा विभागले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउन ‘एन्टिव्याक्टेरियल’ तथा ‘एन्टिभाइरल’ गुण भएका जडिबुटीको सूचीसहित नियमित सेवन गर्ने बानी बसाल्न अनुरोध ग¥यो । ती जडिबुटीमा गुर्जो, बेसार, सुठो, मरिच, दालचिनी तथा पिपला, असुरो, तुलसी र तेजपात थिए । स्वास्थ्य मन्त्रालयले पनि आयुर्वेद तथा वैकल्पिक चिकित्साका क्षेत्रमा लामो अनुभव भएका चिकित्सक तथा विज्ञसँगको परामर्शका आधारमा कोरोनाविरुद्ध लड्ने तथा रोग प्रतिरोधी क्षमता कसरी विकास गर्न सकिन्छ भनेर ‘प्रोटोकल’ निर्माण ग¥यो । उक्त प्रोटोकल गत जेठ १५ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वीकृत गरेसँगै कार्यान्वयनमा आएको छ । विभागले सातै प्रदेशका सामाजिक विकास मन्त्रालय, आयुर्वेद अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालय र सबै स्वास्थ्य सेवा कार्यालयलाई परिपत्र गर्दै उक्त प्रोटोकल कार्यान्वयनमा जोड दिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि दुई अञ्चल आयुर्वेद औषधालय र ११ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई उक्त प्रोटोकल कार्यावयन गर्न निर्देशन दिएको छ । प्रोटोकलमा आयुर्वेद औषधि, खानपान, योग, ध्यान तथा शारीरिक व्यायामको माध्यमबाट शरीरको प्रतिरोधी क्षमता बढाउन सकिने उल्लेख छ । साथै भान्छामा दैनिक प्रयोग गरिने मरमसलालगायत परम्परागत जडीबुटीबाट पनि प्रतिरोधी क्षमता बढाउन सकिने चिकित्सकहरु बताउँछन् । नेपालमा पनि कोभिड सङ्क्रमण भएका व्यक्तिलाई प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने विभिन्न प्रकारका आयुर्वेदिक औषधि खुवाइएको उदाहरण छन् । त्रिभुवन विश्वविद्यालय, आयुर्वेद शिक्षण अस्पताल कीर्तिपूरका निवर्तमान कार्यकारी निर्देशक प्रा डा डिबी रोका कोरोना रोकथामका लागि मुख्य औषधि पत्ता नलागेपनि आयुर्वेद एवं वैकल्पिक चिकित्साका उपचार विधि र औषधि प्रयोग गरी सङ्क्रमणलाई केही हदसम्म कम गर्न सकिने बताउँछन् । त्यसोतः आयुर्वेदमा महामारी नियन्त्रणमा सघाउ पुग्ने थुप्रै औषधि प्रयोगमा रहेको उनको भनाइ छ । महामारीको समयमा सङ्क्रमित मात्र नभई स्वस्थ्य व्यक्तिले पनि शारीरिक तथा मानसिक रुपमा आफूलाई बलियो राख्नु अत्यावश्यक छ । शारीरिक रुपमा स्वस्थ राख्न दैनिक व्यायाम, पोषिलो खानेकुरा, प्रतिरोधी क्षमता बढाउने जडिबुटीयुक्त आहार सेवन गर्न सुझाव दिँदै उनले योगाभ्यास तथा ध्यानका माध्यमबाट मानसिक स्वास्थ्य हाँसिल गर्न सकिने बताए । सरकारले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलन नपाओस् भनेर अन्यन्त्रबाट आएका नेपाली तथा विदेशी नागरिकलाई क्वारेन्टिनमा राख्दै आएको छ । अन्य व्यक्तिमा सङ्क्रमण नफैलियोस् भनेर सङ्क्रमितलाई ‘आइसोलेसन’मा राख्ने पनि गरिएको छ । सामान्यतयाः १४ दिन आइसोलेसनमा राखिने विश्वव्यापी प्रचलन भए पनि कतिपय अवस्थामा सङ्क्रमितलाई दुई साताभन्दा बढी आइसोलेसनमा राख्नुपर्ने पनि देखिएको छ । “क्वारेन्टिन तथा आइसोलेनमा रहँदा मानिसहरु मानसिक तनावले गर्दा रोगसँग लड्ने शक्ति (इम्युनिटी पावर) झनै घट्दै जान्छ”, प्राडा रोकाले भने, “त्यसका लागि आयुर्वेद एवं वैकल्पिक चिकित्सामा वर्णन गरिएका योग अभ्यास एवं सत्तवाजय चिकित्साबाट उपचार गर्दा मानसिक तनावलाई कम गर्न सकिन्छ, साथमा वेद एवं आयुर्वेदको चरकसंहितामा वर्णन गरिएका तनाव कम गर्ने खालका औषधिको प्रयोग गर्नु वाञ्छनीय हुन्छ ।” उनले मन्डुकपणि, ब्राम्मी, शङ्खपुष्पी, जोतिषमति, बोझो, जटामासी, अश्वगन्धा आदि औषधि प्रयोग गर्दा मानसिक स्वास्थ्य बलियो राख्न सकिने बताए । “भाइरससँगै पूरै लड्न सक्ने शारीरिक रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न चरकसंहिताअन्तर्गत रसायन चिकित्साका लागि प्रयोग हुने औषधि जस्तो तुलसी, हरिद्रा, जेठीमधु, द्राक्ष्य, सतावरी, अमला, पाँचऔँले, चिराइतो, गुर्जो (गिलोइ), कपिकक्षु, भुइँअमला, बासा, हरितकी, पदमचाल, यार्सागुम्बा, मुसली, शिलाजित, निरमसीलगायत औषधिको साथमा प्राङ्गारिक र सुपाक्ष्य पौष्टिक खाना खानुपर्छ”, उनले भने। जङ्कफुड भन्दा प्राकृतिकरुपमा पाइने गेडागुडी, दाल, हरियो, सागसब्जी, दूध र प्राकृतिक भिटामिन च्यावनप्राश खान उनले सुझाव दिए । प्रोटोकल बनाउने विज्ञ टोलीका सदस्यसमेत रहनुभएका प्राडा रोकाले भने, “वेदमा लेखिएका कतिपय कुरा व्यवहारमा वैज्ञानिक र व्यवहारिक देखिएका छन् । त्यहीअनुसार आयुर्वेद ग्रन्थमा लेखिएको औषधि एवं चिकित्साका विधि किन प्रयोग नगर्ने ?” भान्छामा दैनिक प्रयोग हुने टिमुर, खुर्सानी, लसुन, प्याज, बेसार, दालचिनी, ज्वानो, जिम्मु, धनियाँ, जिरालगायत मसलाबाट केही हदसम्म रोगको रोकथाम हुने सम्भावना बढ्ने आयुर्वेदज्ञाताले बताउँदै आएका छन् । बेसारले ‘एन्टिसेफ्टिक’, ‘एन्टिटक्सिन’ औषधिका रुपमा काम गर्दछ । यसका बारेमा अथर्वेद र आयुर्वेदमा पनि व्याख्या गरिएको छ । क्वारेन्टिन तथा आइसोलेनसमा बसेका मात्र होइन आम नागरिकले पनि आफूलाई शारीरिक र मानसिकरुपमा स्वस्थ राख्न प्राकृतिक आहार र दैनिक ध्यान तथा योगाभ्यास गर्न उनले सुझाव दिए । प्रतिरोधी क्षमता विकास गर्न सूर्य नमस्कार, गरुडाशन, भुजाङशन, तडाशन, चतुराङ दण्डाशन, आधोमुख श्वानाशनलगायत योगासन गर्न उनले सुझाव दिए । त्यस्तै भस्त्रिका, अनुलोमविलोम, भ्रामरी र कपालभाती प्राणायम गरेर पनि प्रतिरोधी क्षमता बढाउन सकिने उनको भनाइ छ ।
कनेक्ट आईपीएसको दैनिक कारोबार २ अर्ब नाग्यो, हालसम्मकै उच्च
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमा दैनिक कारोबार पहिलो पटक जेठ २६ गते देखी २ अर्ब रुपैयाँ नाघेको छ । बैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा आएदेखि उक्त रियल-टाइम रिटेल भुक्तानी प्रणालीमा हाल सम्मको सबैभन्दा बढि कारोबार भएको छ । विगतकोे तीन महिनाको लकडाउन अवधिमा कनेक्ट आईपीएस ईपेमेन्टको मासिक कारोबारमा संख्या र मुल्यको आधारमा क्रमश ७५ प्रतिशत र १८६ प्रतिशतले वृद्धि भएको छ । उक्त प्रणालीमा गत चैत, वैशाख र जेठ महिनाहरुको कुल मासिक कारोबार क्रमश १३ अर्ब ८ कराेड, २४ अर्ब रूपैयाँ ३९अर्ब ५ कराेड रूपैयाँ रहेका छन् । जसमध्ये ६४ प्रतिशत कारोबारहरु एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस(एनपीआई) मार्फत कारोबार पेश भएका छन् । एकीकृत एपीआईमा आधारित एनपीआईमामा संस्थाहरुले विभिन्न वैकल्पिक माध्यमबाट कनेक्ट आईपीएस वा एनसीएचएल आईपीएस वा अन्य प्रणालीमा कारोबारहरु पठाउन सक्दछन् । कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीको मोबाइल एप, वेब र बैंक शाखा जस्ता वैकल्पिक च्यानलहरु बाहेक एनपीआईले पनि कनेक्ट आईपीएस को कारोबार बढाउन निकै महत्वपूर्ण भूमिका खेलेको छ । एनपीआईले बैंक तथा वित्तिय संस्थाहरुको मोबाइल, इन्टरनेट, कर्पोरेट बैंकिंग जस्ता वैकल्पिक च्यानलहरु, पीएसपीएस/पीएसओएस सरकारी निकायहरु र अन्य ठूला संस्थाहरुबीच इन्टिग्रेशन र इन्टेरोपेर्याबिलिटीका लागि स्थानीय भुक्तानी च्यानलको रुपमा काम गर्दछ । हाल यो ६ वटा मोबाइल वालेट (अन्य ८ जोडिने प्रक्रियामा), प्राय सबै बीमा कम्पनी, रेमिटान्स कम्पनी, नेप्से, शेयर ब्रोकर, सामाजिक सुरक्षा कोष, कर्मचारी सन्चय कोेष र लगभग सबै बैंक तथा वित्तिय संस्थाहरुमा जोडी प्रयोगमा आइसकेको छ । कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमा हाल सम्म ५८ भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरु आबद्ध छन् जस मार्फत बैंकका ग्राहकहरुले प्रयोगकर्ताको बैंक खातामा मोबाइल नम्बरका आधारमा तथा अन्य लाभग्राहीको बैंक खाता विवरणको आधारमा सिधैं फण्ड ट्रान्सफर गर्न सक्दछन् । उक्त फण्ड ट्रान्सफरहरु सजिलै बैंकको आफ्नो मोबाइल वा इन्टरनेट बैंकिंगबाट गर्न सकिन्छ जसमा कनेक्ट आईपीएस को छुट्टै लग-इन चाहिँदैन । यस प्ल्याटर्फमा उपलब्ध अन्य भुक्तानीहरुमा नेपाल सरकारको राजस्वभुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा टप अप, सेयर बजारसंग सम्बन्धित भुक्तानी, ई-कमर्श भुक्तानी, स्कुल/कलेज, इन्स्युरेन्स भुक्तानी, जस्ता कारेवारहरु गर्न सकिने व्यवस्था रहेको छ । मोबाइल, वेब, गेटवे र एपीआई जस्ता मल्टिपल च्यानलहरु मार्फत सदस्य बैंक तथा वित्तीय संस्थाहरु, भुक्तानी सेवाप्रदायक,, भुक्तानी प्रणाली संचालक तथा अन्य संस्थाहरुले उक्त प्रणालीमा भुक्तानीे कारोबार गर्न सक्ने व्यवस्था रहेको छ । यस प्रणालीमा सम्पूर्ण कारोबारहरु सिधैं बैंक खाताबाट हुने गर्दछन् । एनसीएचएलले हाल आफ्नो सम्पूर्ण प्रणालीहरुबाटरु १ लाखभन्दा बढिको दैनिक औसत कारोबारहरु गर्दै आएको छ जसको दैनिक राफसाफ मुल्य ४० अर्ब रुपैयाँभन्दा बढि रहेको छ । यद्यपी अन्य भुक्तानी प्रणाली जस्तै कनेक्ट आईपीएस पूर्ण डिजिटल भुक्तानी प्ल्याटफर्म हो जसले बैंक वित्तिय संस्थाका ग्राहकहरुलाई वैकल्पिक च्यानलहरु मार्फत कारोबार गर्ने व्यवस्था प्रदान गर्दछ । यस कोभिड-१९ लकडाउनको अवस्थामा अन्य प्रणालीहरुमा कारोबार संख्या कम हुँदा समेत कनेक्ट आईपीएसको कारोबारमा भएको वृद्धिले डिजिटल भुक्तानीको स्वीकार्यता बढेको वा त्यस दिशातिर लागेको संकेत गर्दछ । यसबाट लकडाउन पछि नेपालमा डिजिटल भुक्तानी कारोबारको उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । नेपालराष्ट्र बैंक र बैंक तथा वित्तिय संस्थाहरुद्वारा प्रबद्र्धित यस एनसीएचएलले एनसीएचएल-ईसीसी, एनसीएचएल-आईपीएस, कनेक्ट आईपीएस, ईपेमेन्ट, कनेक्ट आरटीजीएस र एनपीआई प्रणालीहरु सञ्चालन गर्दै आएको छ ।
कार्यालय २ सिफ्टमा सञ्चालन गर्ने मन्त्रिपरिषद्काे निर्णय सरकारी कार्यालयले नै मानेनन्
काठमाडौं । मन्त्रिपरिषद्ले सरकारी कार्यालयहरू दुई सिफ्टमा सञ्चालन गर्ने निर्यण गरे पनि धेरै सरकारी कार्यालयले त्यसकाे पालना गरेका छैनन् । गत साता बसेकाे मन्त्रिपरिषद्काे बैठकले असार १ गते देखि सबै सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेकाे थियाे । कुनै सरकारी कार्यालयले कर्मचारी अभाव जनाउँदै १ सिफ्टमा सञ्चालन गर्न पनि कठिन भएका बताएका छन् भने कतिले यातायातकाे समस्या जनाउँदै २ सिफ्टमा कार्यालय चलाउन असम्भव भएकाे अधिकारीहरूले बताएका छन् । सार्वजनिक सवारी साधान नचल्ने, निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएकाे र दुई पाङ्ग्रे सवारीमा १ जना मात्रै यात्रा गर्न पाउने व्यवस्थाले पनि कर्मचारीहरूलाई कार्यालय पुग्ने र घर फर्कन कठिन भएकाे अधिकारीहरूकाे भनाइ छ । सेवाग्राहीकाे भीड लाग्ने कम्पनी रजिष्ट्रार कार्यालय दुई सिफ्टमा सञ्चालन हुन सकेको छैन । पहिलेकै समयमा नै कार्यालय सञ्चालन भहिरहेको छ । कार्यालयमा दरबन्दी मध्ये ५० प्रतिशत मात्रै कर्मचारी भएको र ती ५० प्रतिशत कर्मचारी पनि गाउँबाट काठमाडौं आउने प्रक्रियामा रहेको कम्पनी रजिष्ट्रार कार्यलयका सूचना अधिकारी सन्तोष दाहालले बताए । सबै कर्मचारीसँग सवारीसाधन नभएको र कति कर्मचारीहरुलाई साधन चलाउन नजानेको कारणले परिवारका सदस्यले ल्याएर कार्यालय ल्याएर छोड्नु पर्ने अवस्था छ । तर सरकारले नै दुई पाँगे सवारीमा एक जनामात्रै यात्रा गर्ने भनेर गरेको निर्णयले समस्या परेको दाहालले तर्क छ । ‘बिहाल ९ देखि १० बजे भित्र कार्यालाय खुल्छ, बेलुका करिब ५ बजे बन्द हुन्छ, पहिले देखि नै यस कार्यालयमा कर्मचारी कम छन्, भएकाहरु मध्ये पनि केही गाउँ तिर गएको कारणले पनि १ सिफ्टमा मात्रै कार्यालय सञ्चालन भएको हो, कर्मचारी नै थोरै भएको कारणले नै दुई सिफ्टमा कार्यालय सञ्चालन हुन नसकेको हो,’ दाहालले भने । कम्पनी रजिष्ट्रार कार्यालयमा नयाँ कम्पनी दर्ता, नविकरण र अध्यावधिक गराउने सेवाग्राहीको कारणले भिडाभाड हुने गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले भने सबै कार्यालयहरु २ सिफ्टमा नै सञ्चालन भइरहेकाे दावी गरे । स्थानीय तहको निर्णयले बन्द गर्ने भनेका कार्यालय बन्द बाहेकका सबै कार्यालय सञ्चालन भएको भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनाराण पौडेलले जानकारी दिए । अन्य कार्यालयहरु भन्दा अघि मलपोतहरु खुलेकाले पनि पूर्णरुपामा बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन भएको पाैडेलले बताए । ‘कार्यालय सञ्चालका लागि सबै भन्दा ठूलो समस्या भनेको कर्मचारी कार्यालय आउन नै हो, यो विषयमा महिले सचिवसँग पनि कुरा गरेको छु, सबै कर्मचारीलाई दुई पाँगे सवारी चलाउन आउदैन, बीच बाटोमा कार्यालयको कर्मचारी हो भन्दा पनि माथिको आदेश भन्दै ट्राफिकले बीच बाटोमा नै झारिदियो, अब के गर्ने सर भन्ने गरेका छन्, आवत जावतमा नै सबैभन्दा धेरै समस्या छ,’ पौडेलले भने । स्थानीय प्रशासनले बन्द गराएका रौतड, सर्लाही र बर्दियको मालपोत कार्यालय भने बन्द रहेको पौडेलले बताए । उद्योग विभाग भने २ सिफ्टमा सञ्चालन भहिरहेको छ । उद्योग विभाग बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन भहिरहेको सूचना अधिकारी विनेद खड्काले बताए । तर कर्मचारी कार्यालय आउन भने समस्या रहेको उनले बताए । वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गुरागाईले वैदेशिक रोजगा विभाग दुई सिफ्टमा सञ्चालन सुरु भएको बताए । सरकारको निर्णय अनुसार बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन भहिरहेको गुरागाईले बताए । यातायात विभागका सूचना अधिकारी तिर्थराज खनालले यातायात विभाग ८/८ घन्टाको फरका ३ सिफ्टमा सञ्चालन भएको बताए । तर अन्य यातायात कार्यालय भने प्रदेश यातायात कार्यालयको निर्देशन अनुसार सञ्चान हुने खनालले बताए । बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड–१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा गत सोमबारबाट दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारको निर्णय अनुसार सबै मन्त्रालयले आफ्नो मतहका कार्यालयहरुलाई दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिएको कार्यालय महानिर्देशकहरु बताउछन् । सरकारले बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर उपत्यका भित्र नै भएका कर्मचारीहरुलाई पनि जोरबिजोर प्रणाली, चार पाँग्रे सवारीमा चलक सहित ३ जना र दुई पाँगे सवारीमा एकजना मात्रै सवार हुने नियमले समस्या परेको बताउछन् ।
मौद्रिक नीतिका लागि लघुवितको सुझावः गाभ्ने र गाभिने संस्थालाई सुविधादेखि विशेष लघुवित्त कोष स्थापना गर्नेसम्म
काठमाडाैं । नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबीए)ले आर्थिक वर्ष २०७७/७८ को माैद्रिक नीतिका लागि विभिन्न सुझाव दिएकाे छ । संघले नेपाल राष्ट्र बैंक समक्ष गाभ्ने र गाभिने संस्थालाई सुविधादेखि विशेष लघुवित्त कोष स्थापना गर्नेसम्म सुझाव पेश गरेकाे हाे । विपन्न वर्गलाई वित्तीय सेवा दिन खुलेका लघुवित्त क्षेत्रको पुनरउत्थानको लागि संघले आगामी आर्थिक वर्षको माैद्रिक नीतिमा विभिन्न १० बुँदे सुझावहरु पेश गरेको छ । लगानीको स्रोत परिचालन तथा लागत कम गर्ने लघुवित्त संस्थाहरुले भोग्दै आएको लगानी योग्य स्रोतको अपर्याप्तता तथा कोषको उच्च लागत कम गर्नका लागि विशेष लघुवित्त कोष स्थापना गर्ने संघकाे सुझाव रहेकाे छ । उक्त काेष स्थापना गरी हालको विषम परिस्थितिका कारण लघुवित्त संस्थाहरुमा पर्न सक्ने अल्पकालिन तथा दिर्घकालिन असरलाई मध्यनजर गर्दै एउटा विशेष कोषको व्यवस्था गर्न उपयुक्त हुनेछ । यस प्रकारको कोष अन्य प्रयोजनका अतिरिक्त विभिन्न कारणले समस्याग्रस्त हुन पुगेका संस्थाहरुलाई उद्धार गर्न सहायक सिद्ध हुने र कोषको व्यवस्था विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको सहुलियतपूर्ण ऋणबाट समेत गर्न सकिने देखिएको छ । त्यस्तै, क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले विपन्न बर्ग कर्जा अन्तर्गत ५ प्रतिशत लगानी गर्नुपर्ने हालको व्यवस्थामा ती संस्थाहरुले लघुवित्त वित्तीय संस्थाहरुलाई प्रवाह गरेको थोक कर्जालाई मात्र गणना गर्न पाउने व्यवस्था गर्ने संघकाे सुझाव रहेकाे छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले कूल कर्जाको ३ प्रतिशत सम्मको रकम कृषि कर्जाको रुपमा लघुवित्त संस्थाहरु मार्फत प्रवाह गर्ने संघले जनाएकाे छ । त्यसैगरी, गैर बैंकिङ्ग संस्थाहरु जस्तै, नागरिक लगानी कोष, कर्मचारी संचय कोष, बीमा कम्पनीहरुबाट लघुवित्त क्षेत्रमा सहुलियतपूर्ण ऋण तथा अन्य लगानीको व्यवस्था गर्ने । दूरदराजका ग्रामिण क्षेत्रहरुमा लघुवित्त संस्थाहरुले आफ्ना समूह तथा सदस्यहरुमा पुर्याउँदै आएको सेवाको कारण आर्जित सर्वसाधारणको विश्वास र उनीहरुको बढ्दो मागका कारण लघुवित्त संस्थाहरुलाई सर्वसाधारणबाट पनि केही सर्तहरु सहित बचत संकलन गर्न दिने संघकाे माग रहेकाे छ । साथै, लघुवित्त संस्थाहरुले पनि निश्चित मात्रामा ऋणपत्र जारी गरेर लगानी योग्य स्रोतको व्यवस्था गर्न दिने । विपन्न वर्ग कर्जाको लागत कम गर्ने क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले विपन्न वर्ग कर्जालाई एउटा छुट्टै सेवाको रुपमा प्रवाह गर्ने र सो सेवाको ब्याज दर आधार दर कायम गर्नु उपयुक्त हुने संघले देखेकाे छ । दुर्गम क्षेत्रमा लघुवित्त कार्यक्रम विस्तारलाई प्रबर्धन गर्ने बैंकिङ्ग पहुँच नपुगेका दुर्गम क्षेत्रमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने लघुवित्त संस्थाहरुलाई शाखा विस्तार गर्न उत्प्रेरित/प्रोत्साहन गर्न सरकारी स्तरबाट कम्तीमा ३ वर्षको लागि प्रति शाखा १ करोडको दरले शुन्य ब्याजदरमा कर्जा सापट उपलब्ध गराउन उपयुक्त हुने छ । प्रभावकारी कर्जा सूचना व्यवस्था गर्ने लघुवित्त संस्थाहरुलाई कर्जा सूचना केन्द्रको सञ्जालमा आवद्ध गर्न, नियतवस कर्जा चुक्ता नगर्ने ऋणीलाई नागरिक सुविधाबाट बञ्चित गर्न, तथा सम्बन्धित ऋणीको कर्जा चुक्ता भए पश्चात कालोसूचीबाट फुकुवा गर्ने आवश्यक नीतिगत व्यवस्था गर्न उपयुक्त हुने छ । सूचना प्रविधिको उच्चतम प्रयोग लघुवित्त संघका अनुसार लघुवित्त संस्थाका कारोबारलाई क्रमशः डिजिटल प्रविधिमा रुपान्तरण गर्न आवश्यक पूर्वाधारमा लगानी गर्न सार्वजनिक निजी साझेदारी अवधारणालाई प्रोत्साहन गर्न उपयुक्त हुनेछ । गाभ्ने तथा गाभिने लघुवित्त संस्थालाई दिने सुविधा लघुवित्त संस्थाहरु एक आपसमा गाभ्ने तथा गाभिने कार्यलाई थप प्रभावकारी बनाउन केहि समय मुनाफा करमा सहुलियत दिने, नेपाल राष्ट्र बैंकमा पेश भएको प्रस्ताव अनुसार शाखा गाभिने स्वीकृति पश्चात ती शाखा गाभिन पुनः स्वीकृति लिनु नपर्ने, शाखा गाभिने क्रममा ऋणी सदस्य गाभिँदा कर्जा सिमामा ल्याउने समय सिमा न्युनतम १ बर्ष राख्नु पर्ने, पुँजी पर्याप्तताको स्थिति अनुसार हकप्रद सेयर जारी गर्न दिने, गाभिए पश्चातको संस्थाको स्थापना वर्ष जेठो संस्थाको स्थापना वर्षको आधारमा कायम गर्ने लगायतका थप प्रोत्साहनको व्यवस्था गर्न उपयुक्त हुनेछ । समयानुकुल लघुवित्त नीति राष्ट्रिय लघुवित्त नीति २०६२ मा उल्लेखित कतिपय प्रावधानहरु लागु नभएको र बदलिँदो परिवेशमा लघुवित्त क्षेत्रलाई स्पष्ट दिशा निर्देश गर्न यस नीतिको पुनरावलोकन सहित समयानुकुल लघुवित्त नीति तर्जुमा गर्न उपयुक्त हुनेछ । धितो कर्जा लगानीको सीमा सदस्यहरुलाई जिबिकोपार्जन र व्यवसाय सुचारु गर्नका लागि केही समयसम्म थप रकमको आवश्यकता हुनेछ । त्यसैले व्यवस्था गर्नु उपयुक्त हुनेछ । एकल ग्राहकले बिना धितो तथा धितो सुरक्षण ऋण गरी दुबै किसिमको कर्जा लिन पाउने र लघुवित्त संस्थाहरुले पनि आफ्नो आधार दर कायम गरी सोमा निश्चित प्रिमियम थप गरेर कर्जाको ब्याज दर कायम गर्न पाउनु पर्ने छ । त्यस्तै, लघु व्यवसाय वा परियोजना सञ्चालन तथा प्रबद्र्धन गर्न उत्प्रेरित गर्न स्वीकारयोग्य धितो सुरक्षण लिई खुद्रा कर्जा कारोवार गर्ने लघुवित्त संस्थाले प्रति ऋणी सदस्य बढीमा २५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने । उक्त कर्जा गाउँपालिकाका अतिरिक्त नगरपालिकामा समेत बसोबास गर्ने ग्राहक सदस्यहरुले उपभोग गर्न पाउने पर्ने संघकाे सुझाव रहेकाे छ । हालको असहज परिस्थितिका कारण खराब कर्जाको मात्रा बढ्न गई ब्यवसायको उच्च जोखिमलाई केही हदसम्म कम गर्न धितो लिई प्रवाह गरिने कर्जा कुल कर्जा रकमको बढीमा दुई तिहाई भन्दा बढी नहुने व्यवस्था गर्नु पर्ने छ । साथै, लघुवित्त संस्थाहरुले पनि आफ्नो आधार दर कायम गरी सोमा निश्चित प्रिमियम थप गरेर कर्जाको ब्याज दर कायम गर्न पाउने संघकाे माग रहेकाे छ । संस्थागत क्षमता अभिवृद्धि लघुवित्त संस्थाहरुले २० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्दा बढी लाभांशको २५ प्रतिशत संस्थागत समाजिक उत्तरदायित्व कोषमा राख्नुपर्ने प्रावधान न्यायोचित नभएकोले सो को सट्टा आफ्नो संस्थागत क्षमता अभिवृद्धि कार्यक्रममा प्रयोग गर्न पाउनु पर्ने व्यवस्था गर्नु उपयुक्त हुनेछ । कर्जा पूनरतालिकीकरण वा पूनरसंरचना हालको परिस्थितिको कारण ऋण तिर्ने क्षमतामा ह्रास आउने तथा सञ्चालित व्यवसाय/परियोजनामा असर परी ऋणीले कर्जा पूनरतालिकीकरण वा पूनरसंरचना गर्न चाहेमा लघुवित्त संस्थाले एक पटकका लागि १ वर्षसम्म कर्जा भुक्तानी अवधि थप हुने गरी पाकेको ब्याज पूँजीकरण सहित कर्जा पूनरतालिकीकरण वा पूनरसंरचना गर्ने व्यवस्था लागु गर्न उपयुक्त हुने छ ।