विकासन्युज

क्वारेन्टाइनमै भान्सा, टिभी र इन्टरनेट

काठमाडाैं । क्वारेन्टाइन व्यवस्थापनलाई लिएर प्रश्न उठिरहेका बेला यहाँका केही वडाले भने स्तरीय क्वारेन्टाइनको प्रबन्ध गरेका छन् । क्वारेन्टाइनस्थलमा बस्ने समूहका अलग भान्सा छन् । टिभी, इन्टरनेटलगायत अतिरिक्त सुविधा दिइएको छ । व्यवस्थापनमा स्थानीयवासी खटिएका छन् । गलकोट नगरपालिका–७ मल्मस्थित प्रगति आधारभूत विद्यालयमा निर्मित क्वारेन्टिनको निगरानीका लागि ‘सिसी क्यामेरा’समेत जडान गरिएको छ । सो क्वारेन्टिनमा अहिले भारतबाट आएका चार जना छ । सोही वडाको जनहित माध्यमिक विद्यालयको क्वारेन्टिनमा आठ, दीपज्योति आधारभूत विद्यालयमा चार र म्याले सामुदायिक भवनमा एक जना छन् । विदेशसहित बाहिरी ठाउँबाट आएका वडावासीको क्वारेन्टिन बसाइलाई सहज तुल्याउन यथाशक्य प्रयास गरिएको प्रगति आवि क्वारेन्टिन निर्माण तथा व्यवस्थापन समितिका संयोजक थम्मन थापाले बताए । “खाद्यान्न, विस्तारा र व्यक्तिगत सरसफाइका सामग्री नगरपालिकाले उपलब्ध गराएको छ”, संयोजक थापाले भने,“बाँकी स्थानीय रुपमा व्यवस्थापन गरेका छौं ।” व्यवस्थापन समितिले नै भान्साका लागि ग्यास चूल्हो, भाँडाकुँडा आदि उपलब्ध गराएको छ । जनहित माविको क्वारेन्टिनमा रहनुभएका राजु चोखालले इन्टरनेट हेरेर समय बित्ने गरेको बताए । “हामी तीन जनाको समूह बनाएर बसेका छौं, भान्सा पनि छुट्टाछुट्टै छ”, उनले भने, “खाना, बसाइमा कुनै कमी र असुविधा छैन ।” बरु, क्वारेन्टाइनको बसाइ लम्बिएकामा उनकाे गुनासो छ । उनी क्वारेन्टाइन बसेको २१ दिन भयो । आठ दिनअघि कोरोना जाँचका लागि स्वाब लिइए पनि अझै रिपोर्ट आएको छैन । प्रगति आविको क्वारेन्टाइनमा बस्नेले पनि टिभी र इन्टरनेट हेरेर दिन काट्छन् । समय बिताउने माध्यम भएपछि एक्लोपनाको महसुस गर्न पाएका छैनन् । सुविधायुक्त क्वारेन्टाइनस्थलले केही सन्तोष दिएको छ । व्यवस्थापन समितिले क्वारेन्टिनस्थलको सुरक्षा निगरानी र रेखदेख गर्दै आएको छ । क्वारेन्टाइनको अनुशासनलाई कडापूर्वक पालना गराउन नियमित अनुगमनसमेत हुने गरेको छ । नगरपालिकाका पदाधिकारीसमेतले बेलाबेला निरीक्षण गर्छन् । सो क्रममा नगरकै उत्कृष्टमध्येमा ७ नं वडाका क्वारेन्टिन ठहरिएको वडाध्यक्ष टीकाबहादुर थापाले बताए । क्वारेन्टिनमा बस्नेको सङ्ख्या कम भएकाले पनि स्तरीयता कायम गर्न सहज बनेको उनको भनाइ छ । क्वारेन्टाइनस्थलको चुस्त व्यवस्थापनमा स्थानीयवासीकोसमेत उत्तिकै सहयोग छ । कसैले खाट त कसैले टिभी दिएका थिए । नगरपालिकाबाट आउने रकमबाहेकको खर्च वडा र व्यवस्थापन समितिले ब्यहोर्ने भएका छन् । उक्त वडाबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या करिब ५० मात्रै छ । कोरोना कहर लम्बिँदै गएमा तेस्रो मुलुकबाट आउनेको सङ्ख्या बढ्ने देखिन्छ । सो अवस्थामा क्वारेन्टिनको क्षमता अझै बढाउनुपर्ने अवस्था छ । भारतबाट आउने क्रम शुरु भएपछि नगरपालिकाले गत महिना सबै वडामा कम्तीमा दश शय्याको क्वारेन्टिन बनाउन निर्देशन दिएको थियो । तत्कालै वडा नं ३ ले पनि १५ श्ययाको क्वारेन्टिन निर्माण गरेको थियो । गलकोट उद्योग वाणिज्य सङ्घ र गलकोट बहुमुखी क्याम्पसले क्वारेन्टिन निर्माणमा सघाएको वडा वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । क्याम्पसको कोठालाई क्वारेन्टाइनस्थलका रुपमा प्रयोग गरिएको छ । “क्वारेन्टाइन व्यवस्थित छ, व्यक्तिगत प्रयोगका सामग्रीदेखि स्यानेटाइजरसम्म उपलब्ध गराएका छौं”, अध्यक्ष भण्डारीले भने । शौचालय पनि छुट्टाछुट्टै प्रबन्ध गरिएको छ । नगरपालिकाले कोरोना आशङ्कित व्यक्तिलाई २१ दिनसम्म क्वारेन्टिनमा राख्दै आएको छ । क्वारेन्टाइनमा रहेका बेला स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य जाँच गर्ने गरेका छन् । क्वारेन्टाइनको बसाइ पूरा गरेपछि र आवश्यकता परेको खण्डमा कोरोना जाँच गरेर मात्र घर पठाइने नगरपालिकाले जनाएको छ । जिल्लाका कतिपय स्थानीय तहलाई भने क्वारेन्टाइन विस्तार र गुणस्तर कायम गर्नु चुनौतीपूर्ण बनेको छ । बाहिरबाट आउनेको ठूलो सङ्ख्या र छिटो कोरोना जाँच नहुँदा लामो समयसम्म क्वारेन्टिनमा राख्दा खर्चको भार पनि थपिँदै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा अहिले १ हजार ७ सय ३६ जना छन् । तीमध्ये झण्डै ८ सय जनाको कोरोना जाँचका लागि स्वाब लिइए पनि रिपोर्ट भने आउन बाँकी छ । जिल्लामा हालसम्म ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ८ जना निको भएका छन् ।  रासस

एकै पालिकामा २ सय ७३ संक्रमित

जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका गए राति १२ बजेदेखि सिल गरिएको छ । बुधबार सम्सी गाउँपालिकाको विभिन्न क्वारेन्टिनमा रहेका २ सय ७३ जनाको कोरोना रिजल्ट पोजेटिभ आएपछि गए राति १२ बजेदेखि आउँदो शनिबार मध्यराति १२ बजेसम्मको लागि सो गाउँपालिका सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो गाउँपालिकामा ७२ घण्टासम्म अत्ति आवश्यक र आकस्मिकबाहेकका सबै थोक निषेध गरिएको जनाएको छ । यसैबीच महोत्तरीमा अहिलेसम्म कूल ५ सय ८ जना कोरोना पोजेटिभ भएको जनाइएको छ ।  रासस

विषादी अवशेष परीक्षण केन्द्रलाई ३ करोड विनियोजन

काठमाडाैं । गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिका र स्याङ्जाको मालुङ्गामा स्थापना भएको दु्रत विषादी अवशेष परीक्षण केन्द्रलाई स्रोत साधन सम्पन्न बनाउन बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गरेका बजेट भाषणअनुसार ती दुई केन्द्रलाई २ करोड ९९ लाख रूपैयाँ बजेट विनियोजन भएको छ । गत वर्ष स्थापना भएको परीक्षण केन्द्रलाई पशुपंक्षी रोग नियमन गर्ने प्रयोगशालाको रुपमा समेत सञ्चालन गर्ने गरी आगामी आर्थिक वर्ष २०७७/७८ मा बजेट विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिए । तरकारीलगायत खाद्यान्नमा हुने विषादी न्यूनीकरण गर्दै विषादीरहित तरकारी प्रदेशभित्र भित्र्याउने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको नाकामा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगाशाला स्थापना गरेको थियो । आँबुखैरेनीमा स्थापना भएको परीक्षण केन्द्रबाट प्रदेश भित्रिने तरकारीमा विषादी भए/भएको परीक्षण गर्दछ । कार्यालयका निमित्त प्रमुख एवं प्राविधिक सहायक दिनाकर आचार्यले तरकारीको गाडी बढी मात्रामा रातिको समयमा चल्ने भएकाले रातिको समयमा प्रयोगशालामा काम हुने गरेको जानकारी दिए । “प्रदेश भित्रिने तरकारी गाडीलाई रोकेर नमूना लिई प्रयोगशालाबाट परीक्षण गर्ने गरेका छौं”, उनले भने, “प्राविधिक कर्मचारीको कमी हुँदा एक्लैले भने काम गर्न अप्ठ्यारो हुने गरेको छ ।” उनका अनुसार प्रयोगशालाबाट २० मिनेटभित्रै रिपोर्ट आउने गरेको छ । “तरकारीमा विषादी नभेटिए २० मिनेटभित्रै रिपोर्ट दिएर तरकारी लैजानका लागि अनुमति दिन्छौं, विषादीयुक्त तरकारी ढुवानीका लागि अनुमति हुँदैन”, उनले भने । परीक्षण केन्द्रमा स्थायीरुपमा जनशक्ति नभए पनि मन्त्रालयले केही कर्मचारी भने खटाएको छ । आँबुखैरेनीस्थित इलाका प्रहरी कार्यालय अगाडि भाडाको घरमा सञ्चालित प्रयोगशालामा गण्डकी प्रदेश भित्रिने कुखुरा, माछा, मासु तरकारीलगायतका खाद्य पदार्थ परीक्षण गर्ने लक्ष्य लिइएको छ । रासस

कुस्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो बञ्जीपुल सञ्चालनमा

पर्वत । लकडाउनका कारण बन्द रहेका पर्वतका दुई वटा पर्यटकीय गन्तव्यमा तीन महिनापछि सेवा सुचारु भएको छ । केबलकार मोडलमा निर्माण भएको नेपालकै एकमात्र व्यावसायिक पुल कुस्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो पैदलयात्री बञ्जीपुल आजदेखि नियमितरुपमा सञ्चालनमा आएका हुन् । कुस्मा–बलेवा यान्त्रिक पुल गएको चैत ९ गतेदेखि बन्द भएको थियो भने बञ्जीपुल व्यावसायिकरुपमा सञ्चालनमा नआउँदै लकडाउन सुरु भएको थियो । यात्रुको सेवालाई ध्यानमा राखेर सेवा सुचारु गरिएको कुस्मा–बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । लकडाउन खुकुलो भएको र यात्रु आवतजावत गर्न थालेका कारण भौतिक दूरी कायम गरी सुरक्षाको उपाय अवलम्बन गरेर सेवा सुचारु गर्ने निर्णय गरिएको उनले बताए । “लामो समयको बन्दपछि यात्रुको सुविधा र सुरक्षासमेतलाई ध्यान दिएर सेवा सुचारु गरेका छौं”, उनले भने । यान्त्रिक पुलमा यसअघि आठ जना यात्रु राखेर यात्रा गराइदै आएकोमा भौतिक दूरी कायम गराउन चार जना मात्रै यात्रु राखिनेछ । मास्क अनिवार्य लगाउनुपर्ने र प्रवेश गर्दा र झर्दा स्यानेटाइजर प्रयोग गर्ने व्यवस्थासमेत मिलाइएको उनले जानकारी दिए । यान्त्रिक पुलबाट यस अघि दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्दै आएका थिए । यसैगरी सहासिक पर्यटनका लागि निर्माण गरिएको विश्वकै अग्लो पैदलयात्री बञ्जीपुलमा पनि बिहीबारदेखि नै नियमित सेवा सञ्चालनमा आउने भएको छ । कुस्मादेखि बागलुङको बलेवासम्म निर्माण गरिएको पुलमा आवतजावत गर्न शुल्क लिएर खुल्ला गरिएको ‘द क्लिफ’ का सञ्चालक नेत्र पराजुलीले जानकारी दिए । पुलमा १ सय २० तिरेर आवतजावत खुल्ला गरिएको छ । बञ्जी पुल सम्भवतः नेपालको एकमात्र शुल्क लिएर पैदलयात्रा गर्न पाइने पुल हो । पर्यटक र यात्रुको सुविधालाई ध्यानमा राखेर सुरक्षाका उपायसहित पुल सञ्चालनमा ल्याइएको उनले बताए । पुलमा उभिन नपाइने, सरासर यात्रा गर्नुपर्ने र मास्क अनिवार्यरुपमा लगाउनुपर्ने नियम बनाइएको छ । कुश्मा–बलेवा जोड्ने गरी कालीगण्डकी नदीको माथि ५३५ मिटर लम्बाइ र २४५ मिटर उचाइमा पुल निर्माण भएको छ । पुलमा नै सञ्चालनमा आएको विश्वको दोस्रो अग्लो बञ्जी जम्प, विश्वकै अग्लो स्विङ र नेपालकै अग्लो लठ्ठे पिङ भने तत्काल सञ्चालनमा नआउने सञ्चालक पराजुलीले बताए ।   रासस

क्वारेन्टाइनमा आत्महत्या गर्ने पुरुषमा कोरोना पुष्टि

काठमाडौं । अर्घाखाँची जिल्लाको क्वारेन्टाइनमा आत्महत्या गरेका ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आरडीटी रिपोर्ट पोजेटिभ आएका शितगंगा नगरपालिका–५ का देबबहादुर विकले मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएको विकको पीसीआर परीक्षणका लागि जेठ २५ गते नमूना संकलन गरेर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो । ११ दिनपछि बुधबार पीसीआर रिपोर्ट आएको थियो भने उनले मंगलबार राती नै आत्महत्या गरेका थिए । उनी गत जेठ १० गते भारतबाट आइपुगि स्थानिय हरि माविको क्वारेन्टिनमा बस्दै आएका थिए । यस अगाडी सुर्खेतको क्वारेन्टाइनबाट घर फर्किएकी एक महिलाले पनि आत्महत्या गरेकी थिइन् । परिवारसहित भारतबाट आएकी उनलेको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि गरेको थियो ।

फेरि बल्झियो किसान आन्दोलन

इलाम । ‘सदावहार’जस्तो चल्ने इलामको चिया आन्दोलन यस वर्ष पनि सुरु भएको छ । उद्योगीले हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित भएका हुन् । उद्योगीले विभिन्न बाहना बनाउँदै कम मूल्य दिएको र नगरपालिकाले बनाएको चियाको मूल्यको मापदण्डअनुसार पनि लागत नदिएको किसानको गुनासो छ । उद्योगले हरियोपत्तीमा लागत नै नउठ्नेखालको मूल्य कायम गरेपछि किसान सङ्घर्षका लागि एकजुट हुन बाध्य भएका हुन् । किसानले उत्पादन गरेको हरियोपत्तीको मूल्य सधैँ उद्योगीले निर्धारण गरिदिने भएकाले आफूहरू मारमा परेको किसान बताउँछन् । उद्योगमा हरियोपत्ती बेच्न नपाए आफूहरूको वर्षभरको आम्दानी गुम्ने भएकाले किसान पनि उद्योगीले तोकेकै मूल्यमा आफ्नो उत्पादन बेच्न बाध्य छन् । तर, यो वर्ष चाहिँ सूर्योदय नगरपालिकाले दुई वर्षअघि तोकेको हरियोपत्तीको न्यूनतम् समर्थन मूल्यसमेत उद्योगीले उल्लङ्घन गरेपछि किसान सङ्गठित भएरै सङ्घर्ष गर्ने निर्णयमा पुगेका हुन् । किसानले नगरको वडा ८, १० र ११ मा ‘हरियो चिया उत्पादक कृषक सरोकार समिति’ गठन गरिसकेका छन् । चिया उत्पादन हुने नगरका सबै वडा र नगरस्तरको समेत समिति गठन गर्ने तयारी छ । समितिको वडा १० का अध्यक्ष बालकुमार भण्डारीले केही दिनभित्र नगरस्तरीय समितिसमेत गठन हुने बताए । उनले सधैं किसान हेपिने भएकाले अब सङ्गठितरूपमा आवाज उठाउन आवश्यक भएकाले नगरपालिकाभर सङ्घर्षकै लागि समिति गठन भइरहेको जनाए । उद्योगले नगरले तोकेको न्यूनतम् समर्थन मूल्य कार्यान्वयन नगरेको भन्दै नगरका किसानले मङ्गलबार नगरपालिकामा छबुँदे ज्ञापनपत्रसमेत बुझाएका छन् । किसानले नगरले लागू गरेको गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५ पूर्णरूपमा कार्यान्वयन गर्न, पहिलो चरणमा टिपेर उद्योगमा पुर्याएको हरियोपत्तीको मूल्य दिलाइदिने पहल गर्न, लकडाउनका कारण पीडित बनेका किसानलाई राहत उपलब्ध गराउन माग गरेका छन् । न्यूनतम् समर्थन मूल्यले हरियोपत्तीको बजार नियन्त्रण गरेकाले आन्तरिक र भारतीय बजारसमेत खुला गर्न तथा चियाको उत्पादन, मूल्यबारे बारम्बार आइरहने समस्याको दीर्घकालीन समाधान गर्न पनि किसानको माग छ । नगरको कार्यविधिले हरियोपत्तीको न्यूनतम् समर्थन मूल्य प्रतिकिलो ४० रूपैयाँ तोकेको छ तर, यहाँका उद्योगले किसानलाई प्रतिकिलो २० रूपैयाँदेखि ३० रूपैयाँमात्र दिने गरेका छन् । सूर्योदय टी प्रोड्युसर्स एशोसिएशनमा आबद्ध ६२ उद्योगमध्ये धेरैले किसानको चियाको मूल्य भुक्तान गर्न बाँकी छ । केही उद्योगले प्रतिकिलो २० रूपैयाँदेखि ३० रूपैयाकाे मूल्य नै सार्वजनिक गरेका छन् । कतिपय उद्योगले २० रूपैयाँदेखि ३० रूपैयाँ मूल्य भुक्तान गरिरहेका छन् । हरियोपत्तीको दाम भुक्तान गर्न बाँकी केही उद्योगले चाहिँ ‘समस्या समाधान भएपछिमात्रै भुक्तान गर्ने’ भन्दै भुक्तानी रोकेका छन् । नगरपालिकाका प्रमुख रणबहादुर राईले चिया किसानलाई आफ्नो उत्पादन बेच्नैपर्ने बाध्यता भएकाले पनि कम मूल्यमा बेच्नुपरेका बेला नगरले कार्यविधि ल्याएको बताए । “नगरपालिकाले चिया तथा कफी विकास बोर्ड, उद्योगी, किसानलगायतकै सहभागिता र सल्लाहमा चियाको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो”, उनले भने, “त्यही कार्यविधि अहिले चिया किसान र उद्योगी दुवैको निम्ति उपयोगी छ ।” उद्योगीले भने राज्यले कच्चा पदार्थको समर्थन मूल्य तोक्दा तयारी वस्तुको पनि बिक्री समर्थन मूल्य तोक्नुपर्ने माग गरेका छन् । तोकिएको समर्थन बिक्री मूल्यमा बिक्री नभए राज्यले नै खरिद गरी दुवै पक्षलाई न्याय दिलाउनुपर्ने उनीहरूको माग छ ।   रासस

कर्णालीमा १ हजार १ सयबढी काेराेना संक्रमित

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १ हजार १ सय  नाघेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरबाट १४, प्रदेश अस्पतालको आरटी पिसिआर रिपोर्टअनुसार २ सुर्खेत र २ दैलेखमा गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । बुधबार १८ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको सङ्ख्या १ हजार १ सय ४ पुगेको उनले बताए । महाशाखा प्रमुख डा तिवारीका अनुसार कूल संक्रमितमध्ये दैलेखमा मात्र हालसम्म ६ सय ३६ अर्थात् करिब ६० प्रतिशत रहेका छन् । त्यस्तै, सुर्खेतमा २ सय ३७, सल्यानमा १ सय ३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा ८, मुगुमा २, हुम्ला र डोल्पामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । संक्रमितमाध्ये १ हजार २२ जना पुरूष र ८२ जना महिला रहेका छन् । कर्णाली प्रदेशका कूल संक्रमित व्यक्तिमा कोरोना संक्रमण जितेर घर फिर्ताका हुनेको सङ्ख्या ४ सय ९४ पुगेको छ । बुधबारमात्र कर्णाली प्रदेश अस्पताल, महावु दैलेख र जिल्ला अस्पताल दैलेखबाट १ सय ५२ जनाले कोरोना जितेका छन् । महावु आइसोलेसन केन्द्रबाट १ सय ६, जिल्ला अस्पताल दैलेखबाट ४३ र कर्णाली प्रदेश अस्पतालबाट ३ जना संक्रमितले कोरोना जितेर घर फर्केको महाशाखा प्रमुख डा तिवारीले बताए । डोल्पा, दैलेख र सुर्खेतका एकरएक गरी ३ जनाको कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । कर्णालीको प्रदेशको रुकुमपश्चिम भने यतिबेलासम्म ‘ग्रीन जोन’का रुपमा देखिएको छ । रुकुमपश्चिममा हालसम्म १ हजार ७ सय ९० नागरिक भारतबाट आइपुगेका छन् । यता डोल्पा जिल्लामा भने भारतबाट आउनेको सङ्ख्या शून्य रहेको र जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुष सुर्खेतबाट डोल्पा गएको जनाइएको छ ।  रासस

१८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

काठमाडाैं । माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ । बिहान ४ः१५ बजे खसेको पहिलो राति १० बजे पन्छाएर सडक नियमित गरिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको उनले जानकारी दिए । शुरुआतमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा समय लागेको बताए । पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए । सडक खुलेसँगै सवारी गन्तव्यतर्फ लागेका छन् । सवारीको चापका कारण सवारी एकतर्फी मात्र सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।   रासस