विकासन्युज

बुद्ध एयरले अत्याधुनिक सिमुलेटर सञ्चालन गर्दै

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सेवालाई सुरक्षित र भरपर्दो बनाउन अत्याधुनिक उड्डयनकर्मी तालीम यन्त्र ‘सिमुलेटर’ सञ्चालनमा ल्याएको छ । कम्पनीले एटीआर जहाजमा कार्यरत पाइलट प्रशिक्षणका लागि नयाँ पुस्ताको सिमुलेटर सञ्चालनमा ल्याएको हो । बुद्धले पहिलो पटक नयाँ पुस्ताको सिमुलेटर भित्र्याएको हो । बुद्धले एटीआर विमान निर्माता कम्पनी फ्रान्सबाट पाँच लाख युरोमा खरिद गरेर ल्याएको थियो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सर्टिफाइड भएपछि छिट्टै सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ । बन्दाबन्दीका कारण अत्याधुनिक सिमुलेटरमार्फत तालीम सुचारु गर्न नसकेको जनाएको छ । एटीआर जहाजको उडानलाई सुरक्षित र व्यवस्थित गर्न सिमुलेटर उपयोगी हुने कम्पनीको वरिष्ठ क्याप्टेन (इन्सट्रक्टर पाइलट) प्रमोद थापाले बताए । उनले सिमुलेटरमार्फत पाइलटले प्राविधिक प्रणालीको जानकारी लिनसक्ने र यसले पाइलटलाई मात्र नभई प्राविधिक जनशक्तिका लागि पनि सहज हुने बताए । “उडान सुरक्षालाई मजबुद बनाउनुका साथै पाइलटको क्षमता र दक्षताका लागि धेरै उपयोगी हुन्छ, सम्भवतः यो दक्षिण पूर्वी एशियामा पहिलो हो”, क्याप्टेन थापाले भने । उनका अनुसार यो एटीआरकै टाइप स्पेसिफीक सिमुलेटर हो । यसको लेआउट हुबहु जहाजकै हुन्छ । कुनै समयमा जहाजको सिस्टम फेल (हाइड्रोलिक, प्रेसराइज्ड) भएको अवस्थामा त्यसको परिणाम, समाधानबारे यो सिमुलेटरमार्फत प्रशिक्षण दिनसकिने उनको भनाइ छ । एटीआर जहाजमा भएका सबै उपकरण जडित यो सिमुलेटरमार्फत चालकलाई प्राविधिक प्रशिक्षण दिन सहज हुनेछ । शुरुआती पाइलटका लागि पनि प्राविधिक दक्षता वृद्धि गर्न यो सान्दर्भिक हुने बताइएको छ । क्याप्टेन थापाले सिमुलेटरमा ‘स्किल टेस्ट’ र ‘नलेज टेस्ट’ हुने र मोडलअनुसार फ्लाइटको सिस्टमको बारे पाइलटले सबै सिमुलेटरमार्फत थाहा पाउने बताए । उनले भने, “उडान गर्दा मौसम, इन्जिनको अवस्था, इन्धन, दिशालगायतको जानकारी लिनका लागि यो सिमुलेटरबाट प्रभावकारी हुनेछ ।” पहिला यही प्रकृतिको तालीमका लागि थाइल्याण्डको बैंकक जानुपर्ने बाध्यता थियो । यो प्रविधि सञ्चालनपछि अब नेपालमै सहज रुपमा प्राविधिक क्षमता अभिवृद्धि गर्न उपयोगी हुनेछ । जहाजको कपपिट जस्तै सिमुलेटरमा ‘मेनुअल फङ्सन’ का आधारमा हुन्छ । यसले उडानको जहाजको गति, दुरी, अवतरणका लागि अपनाउनुपर्ने सजकता तथा जहाजमा कुनै पनि किसिमको समस्या आएमा त्यसलाई कसरी निराकरण गर्ने भन्ने गाइड गर्ने जनाइएको छ । उदाहरणका लागि काठमाडौ–कोलकात्ताको उडान गर्दा त्यहाँको ‘होल सिनारियो’ सिमुलेटरबाट प्रशिक्षण दिन सकिन्छ । धावनमार्गको कतापट्टिबाट कसरी अवतरण गर्ने भन्नेबारे सहज जानकारी दिनसकिन्छ । नयाँ प्रविधिबारे बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई प्रत्यक्ष अवलोकन गराएको थियो । रासस

खाद्य व्यवस्था तथा व्यापार कम्पनीकाे सामग्री अब सस्ताेडिल मार्फत किन्न सकिने

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीकाे सामग्री अब सस्ताेडिल मार्फत किन्न सकिने भएकाे छ । नेपाल सरकारकाे निजी इ-कमर्श कम्पनीसँग याे पहिलाे सहकार्य हाे । इकमर्स कम्पनी सस्तोडिल डटकम र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच ब्यापार साझेदारी भएको हाे। याे ब्यापार साझेदारीसँगै ग्राहकले अब घरमै खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा उपलब्ध सुपथ मुल्यका सामग्री पाउनेछन् । यसमा हाेम डेलीभरी निशुल्क रहेकाे छ । ग्राहकले सस्तोडिलको वेबसाईट वा मोबाइल एप प्रयोग गरी सामानहरु अर्डर गर्न सक्नेछन्। हालकाे लागि दाल, चामल, नुन, डीडीसीका उत्पादन लगायतका सामग्री सुचिकृत गरिएको छ। तत्काललाई काठमाडौ उपत्यकाको चक्रपथदेखि ६ किलोमिटर बाहिरसम्म डेलिभरी हुने बताइएको छ। अर्डर गरेको एक दिनभित्रै डेलिभरी हुने र कम्तीमा २ हजार देखि बढिमा ५ हजार समको अर्डर गर्न सकिने कम्पनिले जनाएकाे छ ।

कक्षा १२ को परीक्षा गराउन बाहेक कुनै विकल्प छैन: राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा गराउन बाहेक कुनै पनि विकल्प नरहेको बताएको छ । प्लस टु तर्फका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले कक्षा १२ को परीक्षा गराउन बाहेक कुनै पनि विकल्प नरहेको बताएका हुन् । एसईईको परीक्षा यस वर्ष नहुने र विद्यार्थीहरुलाई विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा अंक दिने बताएसँगै प्लस टु मा पति त्यस्तै लागु हुने अनुमान गरिएको थियो । तर स्थित सामान्य भएपछि परीक्षा हुने र कक्षा १२ को लागि अहिलेको अवस्थामा केही पनि विकल्प नरहेको शर्माले बताएका छन् । हाल धेरै विद्यालयहरु क्वारेन्टिनको रुपमा प्रयोग भएको र त्यसलाई तत्काल केही गर्ने नमिल्ने उनले बताए । ‘उक्त स्थानहरु खाली भएर अवस्था सामान्य हुने बित्तिकै हामी कक्षा १२ को परीक्षा गराउँछौं,’ उनले भने । यस्तै कक्षा ११ को हकमा भने बोर्ड परीक्षा नहुने तर त्यो पछि गएर के गर्ने अझैं निर्णय हुन बाँकी रहेको शर्माले बताए । यस बर्ष कक्षा ११ र १२ मा गरेर कुल ९ लाख ६५ हजार विद्यार्थी रहेका छन् जसमा ५ लाख ३२ हजार ६ सय ९२ विद्यार्थी कक्षा ११ मा रहेका छन् र ४ लाख ३१ हजार ३ सय ३० विद्यार्थी कक्षा १२ मा रहेका छन् ।

वार्षिक तथा सफ्टवेयर मर्मत शुल्क तत्काल बुझाउन सीडीएससीको आग्रह

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग(सिडिएससी)ले तत्काल वार्षिक तथा सफ्टवेयर मर्मत शुल्क बुझाउन धितोपत्र निष्काशनकर्तालाई आग्रह गरेको छ । सिडिएससीले धितोपत्र (सेयर, डिबेन्चर, म्युचअल फण्ड, अग्राधिकार सेयर) अभौतिकीकरण(डिम्याट) गराएका कम्पनीहरुलाई उक्त आग्रह गरेको हो । सिडिएससीले ग्लोबल आईएमई बैंक मार्फत आर्थिक वर्ष २०७६/७७ मा बुझाउनु पर्ने उक्त शुल्क बुझाउन आग्रह गरेको हो । यससँगै उनीहरुले कमलादीमा रहेको ग्लोबल आईएमई बैंकको खाता नं ७५०१०१०००११२१ मा उक्त शुल्क जम्मा गर्न सक्ने सिडिएससीका सहायक प्रबन्धक सुनिल गुरुङ्गले जानकारी दिएका छन् ।

नेपालका चार प्रशिक्षकले पाए एएफसी ए कोचिङ लाइसेन्स

काठमाडाैं । नेपालका चार प्रशिक्षकले एएफसी ए कोचिङ लाइसेन्स प्राप्त गरेका छन् । एशियाली फुटबल फेडेरेसन महासङ्घ (एएफसी) ले गराएको प्रशिक्षणमा नेपालका चार प्रशिक्षकले पास गरेकाे र दुई जनाले एएफसी ए लाइसेन्स प्रो पास गरेकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । विभागीय टोली नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापा, पुलिस क्लबमै आबद्ध चेतन घिमिरे, ए डिभिजनमा रहेको सङ्कटा क्लबका प्रशिक्षक सल्यान खड्गी र बी डिभिजनमा रहेको बाँसबारी क्लबका प्रशिक्षक युगलकिशोर राईले एएफसी ए लाइसेन्स प्राप्त गरेका हुन् । ए कोचिङ लाइसेन्स शीर्ष डिभिजनको क्लब र राष्ट्रिय टोलीको प्रशिक्षण गर्नका लागि अनिवार्यरूपमा चाहिने गर्दछ । गत डिसेम्बर १ देखि ८ मार्चसम्म काठमाडौँमा भएको सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा नेपालभरिका २३ प्रशिक्षकले भाग लिएका थिए । जसमा १७ जना भने फेल भएका हुन् । त्यसैगरी त्रिभुवन आर्मी क्लबका प्रशिक्षक चुनबहादुर थापा र जापानमा रहँदै अाएका वसन्त गौचन थकालीले एएफसी ‘ए’ लाइसेन्सकोे प्रयोगात्मक परीक्षा मात्र पास गरे । अब उनीहरुले पुनः सैद्धान्तिक परीक्षा दिनुपर्नेछ । उनीहरुलाई भारतका एएफसी इन्स्ट्रक्टर सभियो पेइडाडे मेडेइराले सहजीकरण गरेका थिए । रासस

वाणिज्य बैंकमा मात्र ११६ अर्ब रूपैयाँ थपियाे, निक्षेपकाे व्याज ३ प्रतिशतले घट्याे

काठमाडौं । बैंकहरूकाे कर्जा र निक्षेपबीच असन्तुलन बढेकाे छ । विगत दुइ महिनामा निक्षेप ८७ अर्बले बृद्धि भएकाे छ भने कर्जा रकम २९ अर्ब रूपैयाँले घटेकाे छ । कर्जा चुक्ता र निक्षेप संकलन गरी २ महिनामा २७ वटा वाणिज्य बैंकमा मात्र ११६ अर्ब रूपैयाँ थपिएकाे छ । नेपाल बैंकर्स संघका अनुसार जेठ ३० सम्ममा  वाणिज्य बैंकहरुमा कुल निक्षेप ३२ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । जुन चैत महिनाको भन्दा ८७ अर्ब रुपैयाँले बढी हो । चैत मसान्तमा ३१ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकाे थियो । बैशाख महिनामा मात्र ३२ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । काेराेना महामारीसँगै मानिसहरूकाे खर्च कटाैति भएकाे, निक्षेपकाे व्याज जाेडिएर पनि कुल निक्षेप अंक बढेकाे, रेमिट्यान्स प्रवाह राम्राे रहेकाेले निक्षेप वृद्धि भएकाे सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गाेविन्द गुरूङले बताए । यस्तै, जेठ महिनामा पनि वाणिज्य बैंकहरुबाट प्रवाह हुने कर्जा घटेको छ । जेठ महिनासम्म वाणिज्य बैंकहरुको कुल ऋण २८ खर्ब १६ अर्ब रुपैयाँमा सीमित भएको छ । याे रकम चैत मसान्तका तुलनामा २९ अर्ब रुपैयाँ कम हो । कर्जा चुक्ता गर्न क्षमता भएका ग्राहक कर्जा चुक्ता गर्नेतिर लागेकाे र नयाँ कर्जाकाे माग शुन्य जस्तै भएकाेले कुल कर्जामा गिरावट देखिएकाे गुरूङले बताए । एकातिर निक्षेप बढ्ने र अर्कोतिर ऋण घट्ने हुँदा बैंकमा पैसा थुप्रिन थालेकाे छ । अहिले बैंकहरुको सीसीडी रेसियो करिब ७४ प्रशितमा झरेको छ । केही महिनाअघि बैंकहरुको सीसीडी रेसियो ७९ प्रतिशतसम्म पुगेको थियो । नेपाल राष्ट्र बैैंकको प्रावधान अनुसार बैंकहरुको सीसीडी रेसियो ८० प्रतिशतभन्दा कम हुनुपर्छ । निक्षेपको व्याजदर घटाउँदै बैंकमा निक्षेप बढ्ने, नयाँ कर्जाकाे माग नहुने र पुराना कर्जा पनि चुक्ता गर्ने क्रम वृद्धिसँग बैकहरुले निक्षेपको व्याजदर पनि घटाउँदै गएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अनौपचारिक रुपमा निक्षेपको व्याजदर नघटाउन निर्देशन दिदै आएपनि बैंकहरुले भने त्यसको व्याजदर कम गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकले उद्योगी व्यवासायीहरुका लागि कर्जामा २ प्रतिशतसम्म व्याजदर घटाउन निर्देशन दिएसँगै पछि बैंकहरूले व्याज खर्च कटाैतिका लागि निक्षेपमा पनि व्याज घटाउन थालेका हुन् । तरलता वृद्धिले पनि निक्षेपकाे व्याज घाउने बैंकर्सकाे प्रयासमा उर्जा थपेकाे छ । बैंकहरुले साधारणा बचतमा ३ प्रतिशतसम्म व्याजदर घटाएका छन् भने मुद्दतिमा २ प्रतिशतले घटाएका छन् । फागुनसम्म बैंकहरूले मुद्दतिमा १० प्रतिशत र बचतमा ८ प्रतिशतसम्म व्याज दिदै आएका थिए । अहिले बैंकहरूले बचत खाताकाे व्याजदर ३ देखि ५ प्रतिशत मात्र ताेकेका छन् भने मुद्दतिकाे व्याज ७ देखि ८.२५ प्रतिशतसम्म ताेकेका छन् । अहिले संस्थागत निक्षेपको अधिकतम ब्याज ७ प्रतिशत छ भने ब्यक्तिगतको ८.२५ प्रतिशत  र बचतको साढे ५ प्रतिशत ताेकेका छन् । विहीबार मात्र एनआइसी एसिया बैंकले बचतको ब्याज दर ०.५ प्रतिशत बिन्दुले घटाएको छ । एनआइसी एसिया बैंकले बचतमा अधिकतम ५.५ र न्यूनतम ३.५ प्रतिशत ब्याज दिँदै आएको थियो । यस्तै एक साता अगाडि मात्रै नबिल, एभरेष्ट, बैंक अफ काडमाण्डू, नेपाल एसबीआई बैंक लगायतले नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । ती बैंकहरुको बैंकको मुद्दति खातामा भने व्यक्तिगत तर्फ ८.२५ र संस्थागततर्फ ७ प्रतिशत ब्याज रहेको छ । नबिल बैंकले बचतमा सबैभन्दा बढी ५ र सबैभन्दा कम ३ प्रतिशत ब्याज दिने भएको छ । यस्तै एभरेष्ट बैंकले सबैभन्दा बढी ५.५० र सबैभन्दा कम ०.२५ प्रतिशत ब्याज दिने जनाएको छ । यता एसबीआई बैंकले सबैभन्दा बढी ५ र सबैभन्दा कम १ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ । बचतको व्याज घटेपछि कलको व्याज पनि अब अटोमेटिक कम हुनेछ । राष्ट्र बैंककाे नियम अनुसार बचतको न्यूनतम ब्याजभन्दा बढी कल डिपोजिटमा व्याज दिन पाइँदैन ।

राष्ट्रपतिद्धारा संविधानको दोस्रो संशोधन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको नयाँ राजनीतिक नक्सालाई प्रमाणीकरण गरेकी छिन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् । याेसँगै नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ ।    

मबाहेक सबै भ्रष्ट भन्ने प्रवृत्ति त्यागाै‌ं: प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टिनको व्यवस्थापन, खानपान, औषधोपचार तथा स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको खर्च पारदर्शी रहेको बताएका छन् । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले कोरोना रोकथाममा खर्च भएको रकमको आन्तरिक लेखा परीक्षण र महालेखा परीक्षणका क्रममा प्रष्टसँग आउने बताए । स्थानीय तहले निकै कष्टकर ढङ्गबाट सङ्क्रमितको व्यवस्थापन गरिरहेको अहिलेको अवस्थामा परिस्थितिजन्य घटनालाई बेवास्ता गर्दै केहीलाई दैनिक हिसाबकिताब चाहिएको उनको टिप्पणी थियो । “कोरोनामा खर्च भएको रकम मात्र होइन, आगामी आवको रु १४ खर्बको बजेटको खर्च पनि पारदर्शी हुन्छ”, उनले भने, “मबाहेक अरू सबै भ्रष्ट छन् र यो देशमा भ्रष्टबाहेक कोही जन्मदैनन् र छैनन् भन्ने तथा सरकारमा रहेका व्यक्तिको चरित्र हत्या गर्ने मान्यता राख्नुभएन ।” प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिइने प्रतिबद्धता दोहो¥याउँदै यदि कहीँकतै अनियमितता भएको भए सम्बन्धित निकायले जाँचबुझ गर्ने बताए । आपत्कालमा छोटो प्रक्रियाबाट सामग्री खरिद गरिने जानकारी दिँदै उनले कोरोनाले आक्रान्त पारेका बेला कसैले भ्रष्टाचार गरेको भए कारबाही हुने बताए । उनले भने, “त्यस्तालाई कारबाही गरिन्छ, हुन्छ ।” प्रधानमन्त्री ओलीले कोभिड–१९ ले आम जनतालाई त्रसित बनाएको उल्लेख गर्दै जनतालाई सङ्क्रमणबाट जोगाउन सरकारले लकडाउनको घोषणा गरेको जानकारी दिए । “यसले मानसिक सन्त्रास मात्र दिएको छैन, रोजगारी तथा आम्दानीमा पनि असर गरेको छ । जनता प्रत्यक्षरुपमा पीडामा छन् । यो पीडा सरकारले देखेको छ, बुझेको छ”, उनले भने, “मैले गाउँ, शहर देखेको छु । आर्थिक तथा शारीरिक हिसाबले अत्यन्त प्रतिकूल अवस्था झेलेर आएको छु । जनता, गाउँका गरिब तथा गिटी कुट्नेको समस्या पनि प्रधानमन्त्रीले बुझेको छ ।” असहाय तथा गरिबका लागि सरकार छ भन्ने अनभूति गराउन आफूहरु क्रियाशील रहेको जानकारी दिँदै प्रधानमन्त्रीले पछिल्लो समयमा सरकारले कोही पनि भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने मान्यता स्थापित गरेको बताए । पहिलेभन्दा जनस्तरबाटै परिवर्तनको आभास हुने गरी काम गरिरहेको उनको भनाइ थियो । प्रधानमन्त्रीले जनताको हितका पक्षमा कुनै खेलबाड नगर्ने भन्दै विरोधका नाममा विरोध गरेर आफैँलाई कमजोर रुपमा प्रस्तुत नगर्न आग्रह गरे । रुकुम पश्चिम घटनाका सम्बन्धमा सरकारलाई अनावश्वयक रुपमा नजोड्न आग्रह गर्दै उहाँले घटनाको अनुसन्धान भइरहेको र संलग्नलाई नियन्त्रणमा लिइएको जानकारी दिए । क्वारेन्टिनमा रहेकी महिला बलात्कृत हुनु अन्त्यन्त दुःखद् भएको उनको भनाइ थियो । “मानव जातिका निम्ति यो कलङ्कको घटना हो, यसको जति निन्दा गरे पनि कम हुन्छ”, उनले भने, “यो निन्दनीय घटना हो, यस आपराधिक घटनामा संलग्नलाई कारबाही हुन्छ ।” उनले शान्ति, सुव्यवस्था कायम गर्न र जनताको जीउधनको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए । बितेका दुई वर्षमा सरकारले असाधारण काम गरेको दोहो¥याउँदै उनले सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न कटिबद्ध रहेको बताए । पछिल्ला समय राष्ट्रियताका सन्दर्भमा नयाँ उपलब्धि हासिल भएको उल्लेख गर्दै उनले नेपालमाथि अन्याय गर्न र नेपालीलाई विभाजन गर्न सम्भव नभएको पनि पुष्टि भएको बताए । रासस