नेपाल इन्स्योरेन्सको बोनस सेयर पारित, चुक्ता पुँजी एक अर्ब १५ करोड नाघ्यो
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको प्रस्तावित ५ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको ७१औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत अर्थात ५ करोड ४७ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको छ । साथै, उक्त बोनस सेयरमा लाग्ने कर सहित चुक्ता पुँजीको २.८९ प्रतिशतले हुने ३ करोड १७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित भएको छ । यससँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ पुगेको छ । साथै, उक्त नगद लाभांश रकमबाट गत आर्थिक वर्ष २०७४/०७५ मा जारी गरिएको बोनस सेयरमा तिर्नु पर्ने कर रकम चुक्ता नभएका सेयरधनीहरुका हकमा उक्त कर रकम समायोजन गरी बाँकी रकम नगद लाभांश भुक्तानी दिने प्रस्ताव समेत पारित भएको इन्स्योरेन्सले जनाएको छ । उक्त सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा असार ५ गते कम्पनीको भवन कमलादी काठमाडौंमा सम्पन्न भएको हो । आर्थिक वर्ष ०७५/०७६ मा कम्पनीको प्रगति विवरण कोरोना महामारीले विश्वलाई नै आक्रान्त पारेको र यस महामारीले आगामी दिनमा व्यवसाय गर्ने तरिका, सुरक्षा, प्रविधिको प्रयोग र यस प्रकारका भवितब्यबाट पर्न सक्ने प्रभावलाई व्यवस्थापन गर्ने तर्फ समेत सचेत रहि आफ्नो रणनीति बनाउने कम्पनीले बताएको छ । कम्पनीले प्रधान कार्यालय सहित आफ्नो ४९ शाखा कार्यालय र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्र गरी ५३ स्थानबाट बीमा सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा बीमाको पहुँचमा अझै अभिबृद्धि गर्न देशका विभिन्न स्थानहरुमा आवश्यकता अनुसार शाखा सञ्जाल विस्तार गरी देशको ग्रामिणस्तर सम्म सेवाग्राहीहरुलाई बीमा सेवाको पहुँच पुर्याउने कम्पनीको योजना रहेको छ ।
कलंकी–थानकोट सुरुङमार्गमा जग्गा पर्ने जग्गाधनीलाई ५० प्रतिशत क्षतिपूर्ति दिइने, ४ बस्तु आयातमा प्रतिबन्ध
काठमाडौं । सरकारले कंलकी–नागढुङ्गा–थानकोट सुरुङ मार्ग आयोजना क्षेत्रभित्र पर्ने जग्गाधनीहरुलाई ५० प्रतिशत क्षतिपूर्ति दिने निर्णय गरेको छ । अर्थमन्त्री, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सुरुङ मार्ग आयोजना निर्माण गर्दा आवश्यक पर्ने जग्गा अधिग्रहण गर्दा आउने जग्गाको क्षतिपूर्ति स्वरुप जग्गाधनीर्लाइ ५० प्रतिशत क्षतिपूर्ति दिने बताएका हुन् । असार २ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु सुनाउँदै उनले साे क्षेत्रमा लामाे समयदेखि भोगचलन गर्दै आएका, जग्गाधनी प्रमाणपत्र नभएका, प्रमाणपूर्जा तर मालपोत कार्यालयमा भएको स्रेस्ता फिल्डबुकमा जनाउँ रहेको आधारमा त्यस्तो किसिमको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको बताए । त्यस्तै, सरकारले विभिन्न चार वस्तुहरु आयातमा प्रतिबन्ध लगाएको छ । सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले विभिन्न चार वस्तुमा आयात प्रतिबन्ध लगाएकाे बताएका छन् । छोकडा, केराउ, मदिरा, मरिच लगायतका वस्तुहरु आयातमा प्रतिबन्ध लगाएको उनले बताए । तर मरिचको हकमा भने कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योगहरुले आयात गर्न पाउने व्यवस्था रहेको खतिवडाले बताए । तर उनीहरुले सम्बन्धित निकायको अनुमति लिन पर्नेछ ।
अब १० हजारमै फक्सवागनको गाडी चढ्न पाइने, यस्ता छन् अन्य सुविधा
काठमाडौं । पूजा इन्टरनेशनल नेपाल प्रा.लिले फक्सवागन गाडी खरीद गर्ने इच्छुक ग्राहकहरुलाई आउदो १ बर्षसम्मको लागि कम किस्ता तिरे पुग्ने अफर ल्याएको छ । यस अफर अन्तर्गत आउँदो १ वर्षसम्म मासिक १० हजार रुपैयाँ किस्ता तिरे मात्र पुग्नेछ । त्यसपछि ग्राहकहरुले नियमित किस्ता तिर्नुपर्ने हुन्छ । कोरोना कोभिड-१९ द्वारा सिर्जित वातावरणमा धरै व्यक्तिहरुको सुरक्षित सार्वजनिक सवारीसाधनहरुको अभावमा मोटरसाइकल वा गाडी किनुपर्ने वाध्यता भएको परिप्रेक्ष्यमा सर्वसाधारणसम्म फक्सवागन पोलो गाडीको पहुच होस् भन्ने अभिप्रायले यो योजना लागु गरिएको हो । पूजा इन्टरनेशनल नेपाल प्रा.लि. को बजार प्रबन्धक बिराज श्रेष्ठका अनुसार कोरोना कोभिड १९ को संक्रमण १ वर्ष भित्र अन्त्य भई ग्राहकहरुको क्रयशक्ति पुरानो स्वरुपमा आउने छ भन्ने आशाका साथ यो योजना लागु गरिएको छ । साथै यस योजना अन्तर्गत अफर गरिएको प्रिमियम हयाचब्याग गाडी पोलोमा सुरक्षाका विभिन्न व्यवस्था जस्तै एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), एयर ब्याग, गाल्भनाइज्ड बडि, पावर विन्डो, रियर भ्यू क्यामेरा, पोलन फिल्टर सहितको एयर कन्डिसन, पावर स्टरिङ आदि समावेश गरिएको छ । लगातार ३ वर्षसम्म विश्वमा सर्वाधिक गाडीहरु बिक्रि गर्न सफल फक्सवागनको विश्व स्तरीय गाडी उत्पादन गर्ने कम्पनी हो । खरिद गर्नु अगाडी, टेस्ट डाईभ गर्दा संरक्षित वातावरणमा गरिने कुरामा पूजा इन्टरनेशनल नेपाल प्रा.लि. बताएको छ । यस योजना अन्तर्गत अन्य सुबिधाहरु फ्रि एक्ससोरिज, सुलभ फाईनान्सिङ सुबिधा, प्रथम वर्षको सडक शुल्क, २ वर्षसम्मको कि मि बन्देज नभएको वारेन्टी, ४ वर्षसम्मको निशुल्क सर्भिस र डेलिभरीको लागि कुर्नु नपर्ने कम्पनीले जनाएकाे छ ।
पर्वत अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द
पर्वत । पर्वत अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाैंमा गरिएको परीक्षणमा पाँच स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालले शुक्रबारदेखि सेवा बन्द भएको जनाएको छ । कोरोना अस्पतालमा कार्यरत सातजनाको नमूना परीक्षण गरिएकामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको बताइएको छ । यसअघि भारतबाट आएर क्वारेन्टिनमा बसेका ३८ जनामा कोरानो सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये आठजना बिहीवार निको भएर घर फर्किएका छन् । रासस
एनएलजी इन्स्योरेन्सले स्वेच्छिक रूपमा बुझायाे सरकारलाई ६ करोड ५१ लाख कर
काठमाडाैं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारलाई ६ करोड ५१ लाख २५ हजार २८१ रुपैयाँ कर तिरेको छ । कम्पनीले फागुन र चैतको मूल्य अभिवृद्धि कर बापत ३ करोड १९ लाख, अनुमानित करकाे दाेस्राे किस्ता ३ करोड र अग्रिम कर कट्टी वापत ३२ लाख २३ हजार १ हजार रुपैयाँ कर भुक्तानी गरेको छ । सर्वोच्च अदालतले लकडाउन समाप्त भएको एक महिनापछि मात्र करदातासँग कर लिन सरकारलाई आदेश दिएको र करदाताले अदालतको आदेशका आधारमा कर तिर्ने कार्यलाई पछि धकल्दै लगेको परिवेशमा एनएलजी इन्स्योरेन्स कम्पनीले स्वेच्छिक रूपमा सरकारलाई ठूलो मात्रमा कर बुझाएकाे हाे । ‘महामारीको बेलामा एकले अर्कालाई सहयोग गर्नुपर्छ । यतिबेला हामीले सरकारलाई ताेकिएकाे समयभन्दा अघि नै कर तिरेर सहयोग गरेका हौं’ एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले विकासन्युजसँग भने । कम्पनीले असार ५ गते शुक्रबार ठूला करदाता कार्यालयमा कर दाखिला गरेकाे हाे । ‘सरकारले कोभिड–१९ संक्रमित मानिसहरुको उपचार र व्यवस्थापनको लागि १० अर्ब रुपैयाँ खर्च भयो भनेको छ । राजश्व संकलन कम भएकोले सरकारलाई पनि आर्थिक स्रोत जुटाउन गाह्राे छ । यस्तो बेलामा हामी आफै जिम्मेवार बनेर स्वेच्छिक रूपमा सरकारलाई कर तिरेर सहयोग गर्नुपर्छ’ पन्तले भने । सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेपछि करदातालाई कर तिर्न विभिन्न चरणमा मिति सार्दै आएको थियो । गत जेठ २१ गतेको मन्त्रिपरिषद्को बैठकले मूल्य अभिवृद्धि कर लगायतका विभिन्न शिर्षकका कर तिर्न असार ७ गतेसम्म समय दिएको थियो । गत जेठमा सर्वोच्च अदालतले लकडाउन सकिएको ३० दिनपछि मात्रै कर उठाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । तर, सो आदेश विरुद्ध सरकारले गरेको आदेश पुनरावलोक (भ्याकेट) माग सर्वोच्चले असार १ गते खारेज गरिदिएकाे छ । सरकारले अझै लकडाउन खुला गरेकाे छैन । लकडाउनलाई क्रमशः खुकुलाे पार्ने सरकारकाे ५१ दिने याेजना पुरा भएपछि लकडाउन खुला भएकाे मान्ने हाे भने सरकारले भदाैकाे तेस्राे साताबाट मात्र कर संकलन गर्न पाउँछ । राजश्व संकलनबाट नियमित खर्च धान्न नसकेपछि सरकार आन्तरिक ऋण उठाएर खर्च धान्ने अवस्थामा पुगेकाे छ भने विकास निर्माणका काम ठप्प हुँदैछन् । यस परिस्थितिमा स्वेच्छिक रूपमा कर तिरेर सरकारलाई सहयाेग नेपाल बैंकर्स संघले समेत सदस्यहरूलाई आग्रह गरेकाे छ । सम्बन्धित समाचार ढुकुटी रित्तियो भन्ने सरकारलाई अर्काे धक्का, भदाै २० अघि कर उठाउन नपाउने सरकारलाई बैंकर्स संघको साथ, चैतसम्मको कर तिर्न सम्पूर्ण बैंकलाई पत्राचार
भारत चीन विवादबारे छलफल गर्न मोदीले बाेलाए सर्वदलीय बैठक
भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग पछिल्लो समयमा जारी सीमा विवाद तथा आफ्ना सेना मारिएको विषयमा छलफल गर्न शुक्रबार भारतका सबै राजनीतिक दलहरुको संयुक्त बैठक बोलाएका छन्। प्रधानमन्त्रीले शुक्रबार अपराह्न ५ बजेका लागि सो भर्चुअल बैठक बोलाएको प्रधानमन्त्रीको कार्यालयद्धारा जानकारी गराइएको छ । सो बैठकमा भारतका प्रमुख राजनीतिक दलहरुका अध्यक्षहरुको सहभागिता रहने बताइएको छ । भारत र चीनबीचको लद्दाखस्थित ग्वालन भ्यालीलीमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको बताइएको थियो । त्यस झडपमा भारतका कम्तीमा पनि २० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ । उक्त हिंसापछि भारत र चीनबीच सीमा विवाद बढ्दो रहेको देखिएको छ । यी दुई देशकाबीचमा सीमा क्षेत्रको विषयलाई लिएर भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघले पनि चासो व्यक्त गरेको बताइएको छ । सीमामा भएको यो हिंसाप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि चासो व्यक्त गरेका हुन् । भारत र चीनबीचको सीमामा भएको विवाद र सैनिक झडपमा परी भारतीय सैनिकको ज्यान गएको घटनाबारे उहाँले चासो व्यक्त गरेका हुन् । साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा वार्ताको माध्यमबाट विवादको समाधान खोज्नका लागि पनि हालैमात्र आह्वान गरेका थिए । रासस/एएनआई
प्रधानमन्त्री सहमत भए प्रालिबाट अख्तियार हट्ने, बैंक, बीमा र मेडिकल कलेज नछोड्ने
काठमाडौं । सरकारले संशोधन गर्न लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको संशोधन विधेयकमा राखिएका केही विषय हटाउन संसदीय समितिका सभापतिहरु सहमत भएका छन् । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफलमा रहेको सो विधेयकमा थप गरिएको मध्ये निजी क्षेत्रले संचालन गर्ने प्राइभेट लिमिटेड (प्रालि) कम्पनीलाई अख्तियारको कार्यक्षेत्रभन्दा बाहिर राख्न समिति सभापति परशुराम मेघी गुरुङ सहमत भएका हुन् । राष्ट्रियसभा अन्तरगतकै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी पनि यो विषयमा सहमत भएका छन् । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष शतिश मोरले दुबै समितिका सभापतिलाई संयुक्त रुपमा भेटेर निजी क्षेत्रमा अख्तियार प्रवेश गर्न पाउने व्यवस्था गर्न नहुने बताएका थिए । निजी क्षेत्रले काम गर्दा नाफामुखी हुनुपर्ने, कतिपय विषयमा तत्काल निर्णय गर्नुपर्ने, सेयरधनीको हित संरक्षणलाई पहिलो प्राथमिकता दिनुपर्ने जस्ता विशेषता रहेको गोल्छा र मोरले सभापतिद्वयलाई अवगत गराएका थिए । तर, निजी क्षेत्रको गतिविधिमा अख्तियारको प्रवेशपछि निर्णय प्रक्रिया लामो हुने, जोखिम न्यूनिकरणलाई केन्द्रमा राख्नुपर्ने वाध्यताको कारण व्यवसायिक निर्णय गर्न अख्तियारको डर मान्नुपर्ने जस्ता समस्या आएर व्यवसायिक वातावरण विग्रने चिन्ता उनीहरुले व्यक्त गरेका थिए । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक विधायन व्यवस्थापन समितिमा दफाबार छलफलमा छ, सो समितिको आमन्त्रित सदस्यको रुपमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी पनि हुनुहुन्छ, सरकारले बनाउने कानुनमा यी दुबै समितिको प्रमुख हात हुने भएकोले होला, महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र परिसंघका अध्यक्ष शतिश मोरले दुबै समितिका सभापतिलाई भेटेर निजी क्षेत्रलाई अख्तियारको दायराभन्दा बाहिर राखिदिन अनुरोध गर्नुभयो,’ विधायन व्यवस्थापन समिति स्रोतले भन्यो । समिति सभापतिहरुले निजी क्षेत्रले उठाएका केही विषय सही भएपनि केही विषयमा भने सहमत हुन नसकिने जानकारी गराएका स्रोतको दाबी छ । निजी क्षेत्रबाट संचालिन प्रालिलाई अख्तियारको अनुसन्धान दायराबाट बाहिर राख्न सकिए पनि पब्लिक कम्पनीलाई छुट दिन नहुने सभापतिहरुको भनाइ छ । ‘प्रालिको हकमा तपाईंहरुले उठाउनु भएको विषय ठिकै हो, यसमा हामी पनि सहमत छौं, तर लाखौंको निक्षेप हुने बैंक, धेरैको दीर्घकालिन दायित्वसँग जोडिएको बीमा कम्पनी र अन्य धेरै सर्वसाधारणको लगानी हुने पब्लिक कम्पनीमा भने अख्तियारले हेर्न पाउनु पर्छ, जनताको लगानीलाई अख्तियारको कार्यक्षेत्रभन्दा बाहिर राख्नुपर्छ भन्ने आधार देखिदैन,’ जवाफमा सभापतिहरुले भनेका थिए । यस्तै, मेडिकल कलेजहरुमा बद्मासी बढ्दै गएको र सर्वसाधारणको स्वास्थ्य जस्तो संवेदनशील विषयमा हुने बद्मासी रोक्न अख्तियारले हात हाल्नु हुदैन भन्ने कुरामा सहमत हुन नसकिने सभापतिहरुको जवाफ छ । तर, निजी क्षेत्रका प्रतिनिधिहरुले भने सम्बन्धित क्षेत्रका नियामक निकायले प्रभावकारी नियमन र सुपरिवेक्षण गर्ने व्यवस्था मिलाएमा सबै क्षेत्रलाई अख्तियारको कार्यक्षेत्रमा राख्न आवश्यक नै नहुने धारणा राखेका थिए । ‘बैंक वित्तीय संस्थामा गडबढी भयो भने राष्ट्र बैंकले हेर्छ, बीमा कम्पनीहरुमा हुने अनियमितता र बद्मासी बीमा समितिले हेर्छ, सुचिकृत कम्पनीको हकमा धितोपत्र बोर्डले काम कारबाही गर्छ, मेडिकल कलेजलाई मेडिकल काउन्सिलले अनुगमन गर्छ, सम्बन्धित विश्वविद्यालयले पनि अनुगमन गरिरहेको हुन्छ, यस्ता नियामक निकायले असक्षमता वा नियत खराब राखेर प्रभावकारी नियमन र अनुगमन गरेनन् भने अख्तियारले हेर्ने र आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने व्यवस्था अहिले नै छ, सम्बन्धित क्षेत्रका नियामक निकायलाई अझ बलियो, प्रतिस्पर्धी र प्रभावकारी बनाउनु पर्ने आवश्यक महसुस गरिएको अहिलेको अवस्थामा निजी क्षेत्रका कम्पनीहरुमा पनि अख्तियार जस्तो संबैधानिक निकाय सोझै आउने व्यवस्था किन गर्नुपर्यो ?’ निजी क्षेत्रका प्रतिनिधिले प्रश्न गरेका थिए । समिति सभापतिहरुले भने यो विषयमा आफूहरुले मात्रै केही गर्न नसक्ने जानकारी गराए । समितिका सदस्यहरुलाई ‘कन्भिन्स’ गर्न सकिए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिष कार्यालयबाट आएको विधेयक हुनाले प्रधानमन्त्रीको धारणा पनि बुझ्नु पर्ने उनीहरुले बताए । ‘ठ्याक्कै हामीहरुले भन्नुपर्दा प्रालिलाई अख्तियारको कार्यक्षेत्रबाट झिक्दा हुन्छ, यसमा हामी सहमत छौं, मेडिकल कलेज, बैंक, बीमा र सुचिकृत पब्लिक लिमिटेड कम्पनीको हकमा हामीहरुको धारणा राखिसक्यौं, समिति सदस्यहरुलाई सरोकारवालाबाट यस्तो कुरा आएको छ भनेर कन्भिन्स गर्न सकिएपनि प्रधानमन्त्रीलाई गाह्रो हुन्छ, उहाँ हाम्रो पार्टीको अध्यक्ष पनि हो, संसदीय दलको नेता पनि हो, त्यसैले प्रधानमन्त्री समक्ष तपाईंहरुले पनि आफ्ना कुरा पुर्याउनुस्, हामीहरु पनि निजी क्षेत्रबाट यस्तो कुरा आएको छ भनेर भन्छौं, त्यसपछि मात्रै यसै हुन्छ भन्न सकिएला,’ सभापतिद्वयले दिएको जवाफ उदृत गर्दै स्रोतले भन्यो । अख्तियारले पाएको कार्यक्षेत्रभित्रकै काम कारवाही अधुरा र अपुरा रहेको अवस्थामा निजी क्षेत्रलाई पनि अख्तियारको कार्यक्षेत्रभित्र पार्ने प्रयास किन भनेर निजी क्षेत्रले शंका गरेको छ । अख्तियारमा अहिले पनि उजुरीको चाङ छ । त्यस्ता उजुरीमाथि छानविन गरेर निष्कर्षमा पुग्न सक्ने अवस्थामा अहिले पनि अख्तियार छैन । आफूलाई अहिलेको कानुनले दिएको जिम्मेवारी पूरा गर्न नै नभ्याएको अख्तियारलाई निजी क्षेत्रसमेतको जिम्मेवारी दिएर थप जटिलता थप्ने काम हुन लागेको निजी क्षेत्रको भनाइ छ । सम्बन्धित सामग्री निजी क्षेत्रमा पनि अख्तियार पस्न पाउने गरी कानुन संशोधन गरिदै, लगानीकर्ता भन्छन्ः आतंकित पार्न खोजियो निजी क्षेत्रले बनाउने विकास आयोजनामा पनि अख्तियार लाग्ने, तर्साउन खोजिएको व्यवसायीको बुझाई
भारतमा एकैदिनमा १३ हजारभन्दा बढी सङ्क्रमित, दुई लाख बढीले जिते काेराेना
भारत । भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १३ हजार ५८६ जना सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा कोरोना भाइरसका कारण ३३६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशभरी अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितको संख्या ३ लाख ८० हजार ५३२ पुगेको मन्त्रालयको तथ्यांक छ । ती कुल सङ्क्रमित मध्ये एक लाख ६३ हजार २४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु दुई लाख चार हजार ७११ जना सङ्क्रमणमुक्त भएका छन् । प्रदेशअनुसार हेर्दा भारतमा सवैभन्दा धेरै सङ्क्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । महाराष्ट्रमा अहिलेसम्म कुल एक लाख २० हजार ५०४ जना सङ्क्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा ५२ हजार ३३४ जना र दिल्ली प्रदेशमा ४९ हजार ९७९ जना सङ्क्रमित भएका छन् । रासस/एएनआई