काठमाडौं । सरकारले संशोधन गर्न लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको संशोधन विधेयकमा राखिएका केही विषय हटाउन संसदीय समितिका सभापतिहरु सहमत भएका छन् ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफलमा रहेको सो विधेयकमा थप गरिएको मध्ये निजी क्षेत्रले संचालन गर्ने प्राइभेट लिमिटेड (प्रालि) कम्पनीलाई अख्तियारको कार्यक्षेत्रभन्दा बाहिर राख्न समिति सभापति परशुराम मेघी गुरुङ सहमत भएका हुन् । राष्ट्रियसभा अन्तरगतकै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी पनि यो विषयमा सहमत भएका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष शतिश मोरले दुबै समितिका सभापतिलाई संयुक्त रुपमा भेटेर निजी क्षेत्रमा अख्तियार प्रवेश गर्न पाउने व्यवस्था गर्न नहुने बताएका थिए । निजी क्षेत्रले काम गर्दा नाफामुखी हुनुपर्ने, कतिपय विषयमा तत्काल निर्णय गर्नुपर्ने, सेयरधनीको हित संरक्षणलाई पहिलो प्राथमिकता दिनुपर्ने जस्ता विशेषता रहेको गोल्छा र मोरले सभापतिद्वयलाई अवगत गराएका थिए । तर, निजी क्षेत्रको गतिविधिमा अख्तियारको प्रवेशपछि निर्णय प्रक्रिया लामो हुने, जोखिम न्यूनिकरणलाई केन्द्रमा राख्नुपर्ने वाध्यताको कारण व्यवसायिक निर्णय गर्न अख्तियारको डर मान्नुपर्ने जस्ता समस्या आएर व्यवसायिक वातावरण विग्रने चिन्ता उनीहरुले व्यक्त गरेका थिए ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक विधायन व्यवस्थापन समितिमा दफाबार छलफलमा छ, सो समितिको आमन्त्रित सदस्यको रुपमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी पनि हुनुहुन्छ, सरकारले बनाउने कानुनमा यी दुबै समितिको प्रमुख हात हुने भएकोले होला, महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र परिसंघका अध्यक्ष शतिश मोरले दुबै समितिका सभापतिलाई भेटेर निजी क्षेत्रलाई अख्तियारको दायराभन्दा बाहिर राखिदिन अनुरोध गर्नुभयो,’ विधायन व्यवस्थापन समिति स्रोतले भन्यो ।
समिति सभापतिहरुले निजी क्षेत्रले उठाएका केही विषय सही भएपनि केही विषयमा भने सहमत हुन नसकिने जानकारी गराएका स्रोतको दाबी छ । निजी क्षेत्रबाट संचालिन प्रालिलाई अख्तियारको अनुसन्धान दायराबाट बाहिर राख्न सकिए पनि पब्लिक कम्पनीलाई छुट दिन नहुने सभापतिहरुको भनाइ छ ।
‘प्रालिको हकमा तपाईंहरुले उठाउनु भएको विषय ठिकै हो, यसमा हामी पनि सहमत छौं, तर लाखौंको निक्षेप हुने बैंक, धेरैको दीर्घकालिन दायित्वसँग जोडिएको बीमा कम्पनी र अन्य धेरै सर्वसाधारणको लगानी हुने पब्लिक कम्पनीमा भने अख्तियारले हेर्न पाउनु पर्छ, जनताको लगानीलाई अख्तियारको कार्यक्षेत्रभन्दा बाहिर राख्नुपर्छ भन्ने आधार देखिदैन,’ जवाफमा सभापतिहरुले भनेका थिए ।
यस्तै, मेडिकल कलेजहरुमा बद्मासी बढ्दै गएको र सर्वसाधारणको स्वास्थ्य जस्तो संवेदनशील विषयमा हुने बद्मासी रोक्न अख्तियारले हात हाल्नु हुदैन भन्ने कुरामा सहमत हुन नसकिने सभापतिहरुको जवाफ छ ।
तर, निजी क्षेत्रका प्रतिनिधिहरुले भने सम्बन्धित क्षेत्रका नियामक निकायले प्रभावकारी नियमन र सुपरिवेक्षण गर्ने व्यवस्था मिलाएमा सबै क्षेत्रलाई अख्तियारको कार्यक्षेत्रमा राख्न आवश्यक नै नहुने धारणा राखेका थिए ।
‘बैंक वित्तीय संस्थामा गडबढी भयो भने राष्ट्र बैंकले हेर्छ, बीमा कम्पनीहरुमा हुने अनियमितता र बद्मासी बीमा समितिले हेर्छ, सुचिकृत कम्पनीको हकमा धितोपत्र बोर्डले काम कारबाही गर्छ, मेडिकल कलेजलाई मेडिकल काउन्सिलले अनुगमन गर्छ, सम्बन्धित विश्वविद्यालयले पनि अनुगमन गरिरहेको हुन्छ, यस्ता नियामक निकायले असक्षमता वा नियत खराब राखेर प्रभावकारी नियमन र अनुगमन गरेनन् भने अख्तियारले हेर्ने र आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने व्यवस्था अहिले नै छ, सम्बन्धित क्षेत्रका नियामक निकायलाई अझ बलियो, प्रतिस्पर्धी र प्रभावकारी बनाउनु पर्ने आवश्यक महसुस गरिएको अहिलेको अवस्थामा निजी क्षेत्रका कम्पनीहरुमा पनि अख्तियार जस्तो संबैधानिक निकाय सोझै आउने व्यवस्था किन गर्नुपर्यो ?’ निजी क्षेत्रका प्रतिनिधिले प्रश्न गरेका थिए ।
समिति सभापतिहरुले भने यो विषयमा आफूहरुले मात्रै केही गर्न नसक्ने जानकारी गराए । समितिका सदस्यहरुलाई ‘कन्भिन्स’ गर्न सकिए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिष कार्यालयबाट आएको विधेयक हुनाले प्रधानमन्त्रीको धारणा पनि बुझ्नु पर्ने उनीहरुले बताए ।
‘ठ्याक्कै हामीहरुले भन्नुपर्दा प्रालिलाई अख्तियारको कार्यक्षेत्रबाट झिक्दा हुन्छ, यसमा हामी सहमत छौं, मेडिकल कलेज, बैंक, बीमा र सुचिकृत पब्लिक लिमिटेड कम्पनीको हकमा हामीहरुको धारणा राखिसक्यौं, समिति सदस्यहरुलाई सरोकारवालाबाट यस्तो कुरा आएको छ भनेर कन्भिन्स गर्न सकिएपनि प्रधानमन्त्रीलाई गाह्रो हुन्छ, उहाँ हाम्रो पार्टीको अध्यक्ष पनि हो, संसदीय दलको नेता पनि हो, त्यसैले प्रधानमन्त्री समक्ष तपाईंहरुले पनि आफ्ना कुरा पुर्याउनुस्, हामीहरु पनि निजी क्षेत्रबाट यस्तो कुरा आएको छ भनेर भन्छौं, त्यसपछि मात्रै यसै हुन्छ भन्न सकिएला,’ सभापतिद्वयले दिएको जवाफ उदृत गर्दै स्रोतले भन्यो ।
अख्तियारले पाएको कार्यक्षेत्रभित्रकै काम कारवाही अधुरा र अपुरा रहेको अवस्थामा निजी क्षेत्रलाई पनि अख्तियारको कार्यक्षेत्रभित्र पार्ने प्रयास किन भनेर निजी क्षेत्रले शंका गरेको छ । अख्तियारमा अहिले पनि उजुरीको चाङ छ । त्यस्ता उजुरीमाथि छानविन गरेर निष्कर्षमा पुग्न सक्ने अवस्थामा अहिले पनि अख्तियार छैन । आफूलाई अहिलेको कानुनले दिएको जिम्मेवारी पूरा गर्न नै नभ्याएको अख्तियारलाई निजी क्षेत्रसमेतको जिम्मेवारी दिएर थप जटिलता थप्ने काम हुन लागेको निजी क्षेत्रको भनाइ छ ।
सम्बन्धित सामग्री