‘आफ्नै भिडियो कन्फ्रेन्सिङ सफ्टवेयर हुँदाहुँदै अरुको किन प्रयोग गर्ने ?’
काठमाडौं । कोभिड–१९ ले विश्वव्यापी महामारीको रुप लिएसँगै विश्व समुदाय अहिले सूचना प्रविधिको प्रयोगमा निकै अगाडि देखिएको छ । कोरोनाका कारण भौतिक दूरी कायम गर्नुपर्ने अवस्था सिर्जना भएपछि विश्व जगत्नै ‘भर्चुअल’ प्रविधिको प्रयोगमा जुटेको छ । नेपालमा पनि विद्यालय, विश्वविद्यालयका अध्ययन, अध्यापन, कार्यालयका काम तथा बैठक सबै भर्चुअल रुपमा हुँदै आएका छन् । भर्चुअल बैठकका लागि विभिन्न भिडियो ‘कन्फ्रेन्सिङ सफ्टवेयर’को प्रयोग भइरहेको छ । तर पछिल्ला समय ती सफ्टवेयरको प्रयोगमा ठूलो चुनौती देखिएको छ । सफ्टवेयरको सुरक्षालाई लिएर विश्वमा अहिले ठूलो बहस हुँदै आएको छ । भर्चुअल बैठकका लागि लोकप्रिय मानिएको जुम सफट्वेयमा पछिल्लो समय ह्याकरले आक्रमण गरेर अश्लिल भिडियो देखाइएको खबर सार्वजनिक भइरहेका छन् । सोमबारमात्र नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक भर्चुअल बैठकमा अश्लिल भिडियो सार्वजनिक भएपछि पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले उक्त घटनाको छानबिन गर्न निर्देशन नै दिएको छ । सो कार्यक्रममा पर्यटनमन्त्रीसहित २०० बढीको सहभागिता थियो । केही दिन अघि जुममार्फत सञ्चालन भइरहेको एक भर्चुअल बैठकमा पनि त्यस्तै घटना भएको थियो । सामाजिक सञ्जालमा मात्र नभइ प्रविधिको सुरक्षालाई लिएर सदनमा पनि बहस शुरु भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कोमल वलीले पछिल्ला समय सूचना प्रविधिको प्रयोग ब्यापक बन्दै गएको अवस्थामा त्यसको गोपनीयता माथि ठूलो प्रश्न चिह्न खडा गरेको बताए । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले निर्माण गरेको भिडियो कन्फ्रेन्सिङ सफट्वेयर प्रयोग गर्नुपर्नेमा जोड दिए । “अहिले हामी ‘डिजिटल वल्र्ड’मा सक्रिय छौँ । डिजिटल सफ्टवेयरको माध्यमबाट हामी भर्चुअल कन्फ्रेन्सिङ, मिटिङ तथा कक्षा सञ्चालन भइरहेका छन्, तर अहिले जुमलगायत विभिन्न सफ्टवेयरमा सुरक्षाको प्रश्न उठिरहेको छ”, उनले भने, “राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सरकार आफैँले ‘सोर्स कोड’ प्रयोग गरेर निर्माण गरेको भिडियो कन्फ्ररेन्स ‘टुल’ पनि तयार छ, आफ्नै सफ्टवेयर हुँदाहुँदै अन्य किन प्रयोग गर्ने ?” उनले अन्य सफ्टवेयर प्रयोग गर्नुभन्दा नेपालमा निर्माण गरिएको सफ्टवेयर प्रयोग गरिनुपर्नेमा जोड दिए । सूचना प्रविधि विभागले निर्माण गरेको भिडियो कन्फ्रेसिन्ङ सफ्टवेयरमा २०० बढीले एकैसाथ सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै हाल विद्यालय, विभिन्न कार्यालयमा जुमलगायत विदेशी सफ्टवेरको प्रयोग बढ्दै गएको छ । सोही दलका सांसद उदया शर्मा पौडेलले सरकारले लिपुलेक, कालापानी तथा लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गरिसकेको अवस्थामा पनि कतिपय कार्यालयमा पूरानै नक्सा प्रयोग गरेको पाइएकाले नयाँ नक्साको प्रयोगमा जोड दिए । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद अनिता देवकोटाले सुशासन भाषणामा मात्र सीमित भएको उल्लेख गर्दै पछिल्ला समय महिला तथा बालबालिका हिंसाको घटना बढेकाप्रति सरकारको ध्यानाकर्षण गराए । सोही दलका सांसद चक्रप्रसाद स्नेहीले रुकुम घटनामा मृत्यु भएका व्यक्तिको ‘शव परीक्षण रिपोर्ट’ मा पानीमा डुबेर मृत्यु भएको भनिए पनि मृतकको कसरी हातखुट्टा भाँचियो, टाउको फुट्यो भनेर प्रश्न गरे । काँग्रेसकै सांसद तारादेवी भट्टले कोभिड–१९ को महामारी दिनप्रतिदिन बढ्दै गएको अवस्थामा कोभिड विरुद्ध लड्न स्थानीय तहलाई पर्याप्त बजेट विनियोजन नगरिएको भन्दै सरकारको ध्यानार्षण गराए । उनले क्वारेन्टिनमा भएको महिला हिंसाका घटनामा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने बताए । रासस
नागरिकताः नेपालले स्वतन्त्र निर्णय गर्दा किन गलत प्रचार ?
काठमाडाैं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अङ्गीकृत नागरिकता विषयमा गरेको निर्णयका विषयलाई लिएर भइरहेको गलत प्रचारलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले आज राष्ट्रियसभाको बैकठमा आपत्ति प्रकट गरेका छन् । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेका विदेशी महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता दिने विषयमा नेपालको संविधानले नै प्रष्ट गरेको र सोही आधारमा कानून निर्माणको प्रक्रिया अगाडि बढाइए पनि केही राजनीतिक दलले गलत प्रचार गरेकामा नेकपाका वेदुराम भुसालले आपत्ति प्रकट गरे । अङ्गीकृत नागरिकलाई राजनीतिकबाहेक अन्य सबै प्रकारका अधिकार प्राप्त हुने भए पनि केही राजनीतिक दलले मुठभेट हुने जस्ता विषय उचालेर अनावश्यक हल्ला गरेकामा उनले गुनासो गरे । राष्ट्रियसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले वैवाहिक अङ्गीकृत नागरिकताका सम्बन्धमा नेकपाले अगाडि सारेको प्रस्तावले राजनीतिक दुर्घटना निम्त्याउने, आन्दोलनको आँधीबेहरी आउने र नेपाल-भारतको सांस्कृतिक सम्बन्ध अप्ठ्यारोमा पर्ने जिकिर गरेका थिए । राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकले भारतलगायत तेस्रो देशका महिलाले नेपाली नागरिकसँग विवाह गरेको सात वर्षमा मात्रै अङ्गीकृत नागरिकता पाउने व्यवस्थासहितको विषयलाई टुङ्गो लगाएको थियो । नेपालले नागरिकताका विषयमा स्वतन्त्र ढङ्गले कानून बनाउन खोज्दा किन अनावश्यक लाञ्छना लगाउन खोजिएको हो भन्दै उनले प्रश्न गरे । उनले भने, ‘केका निम्ति दुर्घटना निम्त्याउने भनेर प्रचार गर्नुपर्यो, स्वतन्त्र कानून बनाउँदा किन मुठभेट गर्नुपर्याे ? मुठभेट हुन्छ भनेर कसलाई भन्न खोजिएको हो ?’ नेपालले कुनै कानून स्वतन्त्र ढङ्गले निर्माण गर्न नपाउने हो वा नेपाली भन्नेले नै अनावश्यक प्रचार गरिएको हो भन्दै सांसद भुसालले गलत हल्लाको पछाडि नलाग्न आग्रह गरे । नागरिकता सम्बन्धी कानून बनाउँदा भारतको विहार र उत्तरप्रदेशसँगको सम्बन्ध जोड्नु जरुरी छ ? किन भारतसँग मात्रै जोडेर हेरिन्छ’, उनले भने, ‘यो सबैका हकमा लागू हुन्छ तर भारतसँग मात्रै किन जोडेर हेरिन्छ ?’ हाम्रा छिमेकी मुलुकमा रहेको व्यवस्थानुसार नै नागरिकताका विषयमा कानून बनाउन खोज्दा गरिएको गलत तर्कले मुलुकलाई कता लैजान खोजिएको हो भन्दै उनले आक्रोश प्रकट गरे । नेपाली काँग्रेस र मधेशकेन्द्रित दलका सांसदले नागरिकताका विषयमा संसदीय समितिले गरेको निर्णयलाई लिएर आपत्ति जनाउँदै आएका छन् । उनीहरुले सत्तारुढ दल नेकपाको निर्देशनमा नागरिकतासम्बन्धी कानून निर्माणमा गलत काम गरेको आरोप लगाएका छन् । भारतमा समेत वैवाहिक सम्बन्ध कायम गर्ने विदेशी महिलालाई सात वर्षमा मात्रै अङ्गीकृत नागरिकता दिने प्रावधान छ । नेकपाकै रामनारायण बिंडारीले नेपालको राष्ट्रियतालाई कोही कसैले पनि कमजोर बनाउन नसक्ने जनाउँदै एकापसमा मिलेर बसेको र एकार्कालाई सम्मान गरेको नेपाली समाजबारे गलत मनसायका साथ प्रचार नगर्न सम्बद्ध पक्षको ध्यानकर्षण गराए । सार्वभौमसत्तासम्पन्न मुलुकले आआफ्नै तरिकाले नागरिकता दिने प्रचलन रहेको उल्लेख गर्दै उनले नेपालले आफ्नै सापेक्षतामा निर्णय गर्न नपाउने भने जसरी संसद्मा अभिव्यक्ति दिनु सुहाउँदो विषय नभएको बताए । उनले प्रतिनिधिसभाको एउटा समितिमा भएको छलफलका विषयलाई लिएर राष्ट्रियसभामा कुरा उठ्नु कतिको सुहाउँदिलो हो भनी प्रश्न गरे । उनले भने, ‘सीमा रक्षा गरिरहेका नेपाली नागरिकलाई सरकारले रक्षा गर्छ, उनीहरुलाई नागरिकता दिइन्छ । तराईका मुसहर, डोम, चमार जस्ता पछाडि पारिएका नागरिकलाई अधिकारसम्पन्न गराइन्छ तर आज नागरिकता लियो, भोलि नै मन्त्री सांसद बनाउने र बन्न पाउनुपर्छ भन्ने कुरा कुनै पनि अर्थमा मिल्दैन, हुँदैन ।’ सोही दलका भगवती न्यौपानेले नागरिकता र राष्ट्रियताका विषयलाई लिएर पछिल्ला दिनमा नेपाली काँग्रेस र मधेशकेन्द्रित दलले गलत प्रचार गरेको भनी आपत्ति प्रकट गरे । उनले कवि भूपि शेरचनले भने झैँ नागरिकताका विषयलाई लिएर गलत हल्ला गरिएको जनाउँदै त्यसले कोही कसैको हित नगर्ने बताए । नेपालले स्वतन्त्र र पञ्चशीलका आधारमा वैदेशिक सम्बन्ध अगाडि बढाएको तथ्य पेश गर्दै उनले नेपालको नागरिकताको विषयले वैदेशिक सम्बन्धलाई कुनै असर नपार्ने धारणा राख्नुभयो । उनले देशको हित विपरीत कुरा गर्ने, गलत प्रचार गर्ने र अपरिपक्व अभिव्यक्ति दिने प्रवृत्ति सरासर तथ्य विपरीत रहेको र त्यसले नेपालको हित नगर्ने बताउँदै भरे, ‘नेपालले आफ्नो निर्णय आफैँ गर्न सक्छ, कोही कसैसँग सहमति लिनु पर्दैन ।’ नेपाली काँग्रेसका प्रकाश पन्थले सरकार एकलौटी तवरले अगाडि बढ्न खोजेको, कोरोना नियन्त्रणमा ध्यान नदिएको तथा शान्तिपूर्ण रुपमा भेला हुन पाउने र प्रदर्शन गर्न पाउने व्यवस्थाको बर्खिलाफ गरी गतिविधि गरिरहेको आरोप लगाउँदै क्रियाशील राजनीतिक दलका बीचमा सहकार्य, सहमति र एकतामा जोड दिए । राजपाका मृगेन्द्रकुमार सिंहले तराई-मधेशका विभिन्न खहरे खोलाका कारण जनजीवन समस्यामा परेको र आरक्षबाट आउने जङ्गली जनावरले खाद्य उपज सखाप पारेकाले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । उनले तराईका विभिन्न जिल्लामा भइरहेको विकास निर्माणको काम गुणस्तरहीन भएको र त्यसले सरकारी लगानीसमेत बालुवामा पानी जस्तै भएको जनाउँदै तत्काल परीक्षण गर्न माग गरे । खेतीपातीका समयमा रासायनिक मल अभावका कारण रोपाइँ गर्न नपाइएकाले तत्काल समस्या समाधान गर्नुपर्ने उनको भनाइ थियो । रासस
एनएलजी इन्स्योरेन्सको स्थगित हकप्रद सेयरको बिक्री खुल्ला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । लकडाउनका कारण स्थगित भएको एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरको पुनः आज(असार ९ गते) बाट बिक्री शुरु भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरको ३८ लाख ४२ हजार ४ सय ३७ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यसअघि कम्पनीले २०७६ फागुन ११ गतेदेखि चैत १२ गतेसम्म सेयर निष्काशन गरेको थियो । तर त्यसपछि लकडाउन भएसँगै कम्पनीको सेयर निष्काशन पनि स्थगित भएको थियो । हाल सबै कार्यालयहरु खुला भएसँगै कम्पनीले स्थगित रहेको हकप्रद सेयरको पुनः बिक्री शुरु गरेको छ । यससँगै इच्छुक सेयरधनीले असार ९ गतेदेखि आगामी असार २५ गतेसम्म(बैंकिङ्ग समयभित्र) आवेदन दिन सक्नेछन् । उनीहरुले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो शेयर मार्फत उक्त मितिसम्ममा आवेदन दिन सक्ने कम्पनीका बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ ।
उद्योग वाणिज्य संघ–चितवनको सरकारलाई ज्ञापन– पत्र
चितवन । उद्योग वाणिज्य संघ–चितवनले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सरकारी निकायमा हुने भ्रष्टाचार अन्त्य गर्नका लागि स्थापना गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारलाई बढाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई मन्त्रीपरिषदबाट संशोधन गर्दै संसदमा पेश गरिएकोले उक्त मस्यौदा फिर्ता लिनको लागि ज्ञापन पत्र बुझाइएको संघका अध्यक्ष राजु श्रेष्ठले बताएका छन् । उद्योग वाणिज्य संघ–चितवनको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि संसदीय व्यवस्था, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति एवम् चितवन क्षेत्र नं. २का सभासद कृष्णभक्त पोख्रेललाई संघका अध्यक्ष राजु श्रेष्ठले ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र ग्रहण गर्दै पोख्रेलले व्यवसायीहरुले उठाएको सवाललाई यथासक्य छिटो नेपाल सरकारलाई अवगत गराई आवस्यक प्रक्रिया अगाढी बढाउने बताए । कार्यक्रममा सभासद् पोख्रेलले बर्तमान परिस्थितिमा विकासको सार्वजनिक– नीजि अवधारणालाई अगाडि बढाउंदै राष्ट्र निर्माणमा सहकार्य गर्नुपर्ने बताए । सरकारी संयन्त्र अन्र्तगतकै आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय , सम्पत्ति सुद्धिकरण आयोग लगायत दर्जनौं निकायबाट अनुगमन एवम् अध्ययन अनुसन्धान भइरहेको बर्तमान अवस्थामा सरकारले असल नियतले नभै व्यवसायीलाई हतोत्साहित बनाउने निहित उद्देश्यका साथ मस्यौदा तयार गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । मुलुकको कुल ग्राहस्थ उत्पादनको ७०प्रतिशतभन्दा बढि योगदान गर्ने र रोजगारिको ४० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई राहतका कार्यक्रम ल्याउने र व्यवसाय मैत्री वातावरण सिर्जना गर्नुको सट्टा यस किसिमका जटिलता सिर्जना गर्नाले देशको औद्योगिक विकास थप धरासायी हुने भएकोले ज्ञापन पत्र मार्फत सरकारलाई ध्यानाकर्षण गराइएको संघका अध्यक्ष राजु श्रेष्ठले बताए । नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट तथा आर्थिक निती तथा कार्यक्रम मार्फत समेत कुनै रचनात्मक कार्यक्रम र राहतका प्याकेज लिन नसक्नु दुखद रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र हस्तान्तरण कार्यक्रम पश्चात समसामयिक विषयमा छलफल हुनुका साथै संघका अध्यक्षको नेतृत्वमा उद्योग वाणिज्य संघ–चितवन र भरतपुर महानगरपालिका कार्यालयको सहकार्यमा नारायणी नदी किनारमा निर्माणाधिन सी वीच अन्तर्गतको फुट ट्रयाकको समेत अवलोकन गरिएको संघका कामु कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा संघका पूर्व अध्यक्ष एवं नेउवामहासंघका कार्यकारिणि समिति सदस्य कल्याण जोशी, पूर्वअध्यक्ष देशीराम प्रधान, प्रचण्डलाल प्रधान, रमेश कुमार पिया, उत्तमलाल चुके यसै गरि संघका निबर्तमान अध्यक्ष सहनलाल प्रधान, वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्ष त्रय सुमन कुमार श्रेष्ठ, चिरञ्जिवि सुवेदी , भोजराज कौडाल लगायतको उपस्थिति रहेको उवासंघ–चितवनले जनाएको छ ।
माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल मर्ज हुँदै, भयो एमओयूमा हस्ताक्षर
काठमाडौं । माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट एक आपसमा मर्जमा जाने भएका छन् । सो प्रयोजनको लागि दुई क्यापिटलबीच असार ३ गते समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । माछापुच्छ्रे क्यापिटल माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो । उक्त क्यापिटलमा माछापुच्छ्रे बैंकको शतप्रतिशत सेयर लगानी रहेको छ ।
मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता
काठमाडौं । मुक्तिनाथ विकास बैंकले लघु कर्जा लिएका मृतकको ऋणको साँवा मिनाहा र ब्याज बराबरको रकम फिर्ता गरेको छ । बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघु कर्जा लिएको बिष्णुमाया दर्जीको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको हो । बैंकले निजले लिएको बिनाधितो कर्जाको भुक्तान गर्न बाँकी रकम २२ हजार ४ सय ९९ रुपैयाँ मिनाह गरेको छ । साथै निजले कर्जा लिई भुक्तान गरिसकेको साँवा र ब्याज २ लाख ०३ हजार ४ सय ८३ रुपैयाँ र काजक्रिया खर्च बापतको ५ हजार रुपैयाँ समेत गरी जम्मा २ लाख ८ हजार ४ सय ८३ रुपैयाँ बैंकले हस्तान्तरण गरेको हो । उक्त रकम बैंकको पार्वतीपुर शाखाका शाखा प्रमुख सन्तोष तिवारी र साना तथा लघुबैंकिङ्ग डेस्क प्रमुख ढुण्डराज पौडेलले मृतककी छोरी विनिता दर्जीलाई श्रीमान् बाबुराम दर्जीको रोहोबरमा संयुक्त रुपमा हस्तान्तरण गरेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए । बैंकले समुहमा आवद्ध र बिनाधितो कर्जा उपभोग गरेका सदस्यको मृत्युभएमा बाँकी कर्जा र ब्याज मिनाह गरी भुक्तानी गरिसकेको सावाँ ब्याज फिर्ता गर्नुको साथै काजक्रिया खर्च समेत उपलब्ध गराउँदै आईरहेको छ ।
ओली र प्रचण्डबीच भेट, के विषयमा भयाे छलफल ?
काठमाडाैं । प्रधानमन्त्री निवास वालुवाटारमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच भेट भएकाे छ । भेटमा बुधबार बस्ने नेकपाको स्थायी समिति बैठकको एजेण्डाबारे छलफल भएकाे जानकारी दिइएकाे छ । स्रोतका अनुसार दुई अध्यक्ष ओली र दाहाल बुधबारको स्थायी समिति बैठकमा छलफल गर्ने एजेण्डा तय गर्न भेटघाट भएकाे हाे । बुधबारको स्थायी समिति बैठकमा मुख्यतया अमेरिकी विकास सहयोग (एमसिसी) का बारेमा छलफल केन्द्रित हुने स्रोतले जानकारी दिएको छ ।
महासंघको निर्वाचन फेरि सर्यो, खेद प्रस्ताव अजेण्डामा नै नभएकाे पुष्टि
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा निर्वाचनको मिति फेरि सरेको छ । आइतबार बसेको पदाधिकारीको बैठकले साधारणसभा र निर्वाचन साउन २५ र २६ गते गर्ने प्रस्ताव गरेको थियो । तर सोमबार बसेको कार्यसमितिको बैठकले साउन २६ र २७ गते साधारणसभा र निर्वाचन गर्ने निर्णय गरेको उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए । साधारणसभाको मिति तोक्ने अधिकार कार्यसमितिमा भएकोले पदाधिकारीले गरेको निर्णयप्रति कार्यसमितिको बैठकमा असन्तुष्टि व्यक्त भएको थियो । अध्यक्ष भवानी राणाले पदाधिकारीको बैठकले अधिवेशनको मिति प्रस्ताव मात्र गरेको अन्तिम निर्णय कार्यसमितिबाटै हुने बताएकी थिइन । एकातिर कार्यसमितिका सदस्यहरुको अधिकार क्षेत्रको गुनासो गरेको र अर्कोतिर अधिवेशनको प्रस्तावित स्थान हेरिटेज गार्डेनले २५ गते स्थान दिन नसक्ने जनाउ दिएपछि साउन २६ र २७ गते अधिवेशनको मिति तोकिएको स्रोतले बतायो । कार्यसमिति बैठकले असार मसान्तभित्र साधारणसभा गर्नु पर्ने बैधानिक व्यवस्थामा बाधाअड्काउ फुकाउने निर्णय पनि गरेको छ । ‘विधानमा बाधा अड्काउन फुकाउने अधिकार कार्यसमितिलाई दिइएको छ । असारसम्म साधारणसभा तथा अधिवेशन हुनु सकेन । उक्त बाधा अड्काउ फुकाउँदै साउन २६ र २७ गते साधारणसभा गर्ने निर्णय भएको छ’ कोषाध्यक्ष निरक केसीले भने । एक पदाधिकारीले नाम उल्लेख नगर्ने सर्तमा पूर्व अध्यक्ष चण्डिराज ढकाल विरुद्ध खेद प्रस्ताव कार्यसमितिले अनुमोदन गरेको दावी गरे । तर उक्त प्रस्ताव कार्यसमितिमा प्रस्तुत नै नभएको अध्यक्ष भवानी राणाले बताइन् । ‘यो विषय पदाधिकारीको बैठकमा भएको हो । कार्यसमितिमा आएको पनि छैन । निर्णय भएको पनि होइन’ अध्यक्ष राणाले भनिन् । कार्यसमितिको बैठकमा बोल्दा केही सदस्यले खेद प्रस्तावको विषय पनि उठाएको तर निर्णय केही नभएको कोषध्यक्ष केसीले बताए । ‘व्यक्तिगत विचार राख्ने क्रममा केहीले विषय उठाउनु भएको थियो । संस्थागत रुपमा बैठकमा प्रस्ताव पेश भएको पनि छैन । निर्णय भएको पनि छैन’ केसीले भने ।