विकासन्युज

पहिरो गएपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन अलपत्र

काठमाडाैं । ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधनबीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपी बजारदेखि २ सयमिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन् । लिपी भिरमा पहिरो गएपछि धेरै कन्टेनरहरु नाकामै रोकिएका छन् । चीनबाट फर्किएका कन्टेनरहरुमा कोरोनाबाट बच्ने स्वास्थ्य सामग्री भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ । तातोपानी नाकामा करिब ५० ट्रक र कन्टेनर रोकिएका छन् । यसअघि पनि सोही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । भोटेकोशी आयोजना र मध्यभोटेकोशी आयोजनासँग समन्वय गरेर बाटो बनाउने काम भइरहेको भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन निरौलाले बताए । कोरोना भाइरसको महामारीका कारण गत माघ १६ गतेबाट बन्द भएको तातोपानी नाका गत चैत २६ गते देखि पुन सञ्चालनमा आएको थियो । तत्कालीन अवस्थामा स्वास्थ्य सामग्री र कृषि क्षेत्रका सामानहरु मात्र आयात गर्नका लागि खोलिएको तातोपानी नाकाबाट अहिले सबै प्रकारका सामग्रीहरु आयात हुने गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । यता कपडा, जुत्ता, चप्पल, खाद्यान्न, विद्युतीय उपकरणलगायतका सामग्री लिन चीनतर्फ जान लागेका करिब ५० भन्दा बढी कन्टेनर र ट्रकहरु पनि बाटोमै अलपत्र छन् । विपद्को जोखिममा तातोपानी क्षेत्र तातोपानी क्षेत्र विपद्को उच्च जोखिममा पर्दछ । चीनसँगको व्यापारिक नाका तातोपानीमा बाढी, पहिरो, सुक्खा पहिरो र ढुङ्गा खस्नेजस्ता समस्याका कारण स्थानीयवासीलाई त्रसित बनाउने गरेको छ । बाह्रबिसेको खोर्सानीबारीदेखि तातोपानीको लिपिङसम्मका बस्तीे दुई पहाडबीचबाट बग्ने भोटेकोशी नदीको किनारमा पर्दछ । भोटेकोशी र ठाडोखोलाको बाढी र पहिरोले कच्ची घरहरु पुरै भत्किएका छन् । बाढी, पहिरोको समस्या मात्रै होइन, भीरबाट खस्ने ठूलाठूला ढुङ्गाको जोखिम पनि उत्तिकै छ । यी सबै समस्याले गाती, झिर्पु, कोदारी र लिपिङ क्षेत्रमा कहिल्यै पनि त्रास नहटेको गाउँपालिकाका स्थानीय गणेश श्रेष्ठले बताए । वर्षातमा हुने पहिरोको जोखिम त छँदैछ, हिउँदमा पनि सुक्खा पहिरोले सताउने गरेको छ । पानी पर्नेबित्तिकै भोटेकोशी नदीमा आउने बाढीको डर एकतिर छ भने वर्षाकै कारण मुख्य सडक पनि भास्सिएका छन् । ठूला दुई पहाडबीच बग्ने नदी छेउको बसाइ त्रासपूर्ण भएको स्थानीय निङ्मा शेर्पा बताए । गाउँपालिकाको तातोपानी क्षेत्रका प्राय सबै बस्तीहरु खोला र पहिरोको उच्च जोखिममा छन् । अति जोखिममा रहेका बस्तीहरूलाई तारजाली तथा स्थानान्तरणको व्यवस्था गर्ने योजना बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए । विपद्को अवस्था हेरेर जिल्ला विपद् व्यवस्थापन समितिले पनि काम गरिरहेको छ । बाढी, पहिरो र पानीबाट पर्ने समस्याका साथै कोरोना भाइरसलाई समेत समेटेर समितिले पूर्व तयारीको काम गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनले अति जोखिममा रहेका लार्चा खोला आसपासका बस्तीहरुमा विज्ञको टोलीले अध्ययन गरिरहेको र अध्ययनको निष्कर्ष अनुसार अगाडि बढ्ने बताए । विपद्का दृष्टिले उच्च जोखिमको सूचीमा रहेको भोटेकोशी क्षेत्रमा हुने समस्या सामाधान गरिनुपर्ने स्थानीयवासीको माग छ तर हालसम्म जोखिमपूर्ण बस्तीको व्यवस्थापन हुन सकेको छैन ।  रासस

विद्युतकाे डिमान्ड शुल्क मिनाहा गर्न हान पोखराको आग्रह

चिप्लेढुङ्गा । बन्दाबन्दीले समस्यामा परेको भन्दै पश्चिमाञ्चल होटल सङ्घ (हान) पोखराले विद्युतकाे डिमान्ड शुल्क मिनाहा गरिदिन सरकारसँग आग्रह गरेको छ । कोभिड–१९ को महामारीसँगै जारी बन्दाबन्दीका कारण बन्द होटल क्षेत्र धरासायी हुने अवस्थामा पुगेको भन्दै सङ्घले त्यस्तो आग्रह गरेको हो । सङ्घका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा सोमबार नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय गण्डकी प्रादेशिक कार्यालय पोखरा पुगेको होटलकर्मीको टोलीले व्यवसाय ठप्प भएका कारण डिमान्ड शुल्क मिनाहा भए केही राहत हुने भन्दै निर्देशनालयका प्रमुख टेकनाथ तिवारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । अध्यक्ष तुलाचनले आगामी आर्थिक वर्षको बजेट आउनुअघि नै उल्लिखित आग्रहसहित केही मागहरु होटल क्षेत्रका तर्फबाट सरकारलाई बुझाएको भए पनि सम्बोधन हुन नसकेको भन्दै विद्युत्को डिमान्ड शुल्क हटाउन प्राधिकरणको सम्बन्धित विभागको ध्यानाकर्षण गराएको बताए । होटल क्षेत्रलाई उद्योगको मान्यता दिइएको भनिए पनि सेवा सुविधा र सहुलियतमा भने सरकारका तर्फबाट सो अनुसारको व्यवहार नगरिएको उनको गुनासो थियो । यसैगरी खपत भएको विद्युतकाे महसुल तिर्न व्यवसायी तयार रहेको तर त्यस्तो शुल्क अवस्था सामान्य भएपछि तिरे हुने व्यवस्थाका लागि समेत व्यवसायीले प्राधिकरण समक्ष आग्रह गरेका थिए । गण्डकी अञ्चल प्रादेशिक प्रमुख तिवारीले व्यवसायीका आग्रह र मागहरु आफूले सम्बन्धित निकायमा सम्प्रेषण गर्ने प्रतिबद्धता जनाए । होटल र सिङ्गो पर्यटन क्षेत्र अहिले कठिन अवस्थाबाट गुज्रिएकोप्रति आफू जानकार रहेको भन्दै उनले व्यवसायीले सहुलियतको कुरा उठाउनु जायज भएको भनाइ राखे । सो अवसरमा व्यवसायीले बैङ्कको ऋण, ब्याज र अन्य किस्ताहरु तिर्नुपर्दा होटल क्षेत्र घाटाको अवस्थामा रहेको, सरकारले सहुलियतको कुनै पनि कार्यक्रम ल्याउन नसकेको र सरकारका तर्फबाट शुल्क र करका सन्दर्भमा अन्य सामान्य अवस्थामा जस्तो व्यवहार गर्न खोजिएको भन्दै गुनासो गरेका थिए ।   रासस

यस वर्षको हजमा साउदीले लगायो अन्य देशका नागरिक प्रवेशमा रोक

काठमाडौं । कोरोनाको संक्रमणले साउदी अरेबियाले २०२० मा हजमा अन्य देशबाट भित्रिने  हजारीमा रोक लगाउने भएको छ । त्यस्तै साउदी अरेबियामा बसोबास गर्ने मानिसहरूले मात्र हज गर्न सक्नेछन् । साउदी अरेबियाली सरकारको हज र उमराह मामिला मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै भने, ‘कोरोना भाइरस संक्रमणको कारण सीमित हाजीहरुलाई मात्र यस पटक हज गर्न पाउने छ ।’ साे विज्ञप्तिमा, ‘यस वर्ष कोरोना संक्रमणलाई ध्यानमा राख्दै, अन्य देशहरूबाट आएका हजारीहरूलाई अनुमति दिइने छैन ।’ अधिकारीका अनुसार सामाजिक दूरीका प्रावधानका कारण यो निर्णय लिइएको छ । मानिसहरूमा कोरोना संक्रमण रोक्न अरु सबै सुरक्षात्मक व्यवस्थाहरु पनि अपनाइनु पर्ने जनाएको छ । इस्लामी क्यालेन्डरहरू चन्द्रमा अनुसार बदलिन्छ, तर हज बक्रिडको समयमा हुन्छ । यस पटक हज अगस्तको पहिलो हप्ता मा आयोजित भइरहेको छ। त्यहाँ इस्लाम को पाँच आधारभूत स्तम्भहरु छन्, अन्तिम हज मानिन्छ । शारीरिक तवरले फिट र आर्थिक रूपले धनी मुस्लिमहरू जीवनमा कम्तिमा एक पटक हज गर्न चाहन्छन् । प्रत्येक वर्ष २० लाख भन्दा बढी मुस्लिम हजका लागि मक्का पुग्छन् । यद्यपि यस पटक अन्य देशका मुसलमान हज गर्न साउदी अरेबिया जाने छैनन् । यद्यपि कोरोना संकटलाई ध्यानमा राख्दै यस वर्ष हज यात्रा पनि स्थगित गरिएको थियो । अप्रिलमा हज मामिला मन्त्री मोहम्मद सालेह बातेनले भने कि साउदी अरेबिया हाजीहरूको सुरक्षाको बारेमा चिन्तित छ र मानिसहरूलाई बुकिंगको सम्बन्धमा कुनै हतार नगर्नु भनेर आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणको खतरालाई ध्यानमा राख्दै उम्रालाई बन्द पनि राखिएको थियो । साउदी अरेबियामा कोरोना संक्रमणको १ लाख ६१ हजार भन्दा बढी केसहरू भएको छ। जबकि हालसम्म १ हजार ३ सय ७ मानिसहरुको मृत्यु भइसकेको छ । साउदी अरबले केही दिन अगाडी देखि लकडाउन खुल्ला गरिएको हो ।

राज्य व्यवस्था समितिबाट पारित नागरिकता विधेयकको एनआरएनएद्वारा स्वागत

टेक्सस ।  राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले स्वागत गरेको छ । गैर आवासीय नेपालीले नागरिकता पाउने भनी नेपालको संविधानले नै सुनिश्चितता गरेको अवस्थामा राज्य व्यवस्था समितिबाट पारित विधेयकले नागरिकता प्राप्तीको निम्ति अर्को कदम अघि बढेको सङ्घले जनाएको छ । विधेयकले तीन प्रकारका नागरिकतालाई बढाएर चार प्रकार बनाई गैर आवासीय नेपालीसम्बन्धी छुट्टै व्यवस्था गर्नुलाई अत्यन्त सकारात्मक पाटोको रूपमा सङ्घले लिएको सङ्घका उपाध्यक्ष डा बद्री केसीले बताए । गैर आवासीय नेपाली नागरिकतासम्बन्धी गरेको व्यवस्थालाई असर नपर्ने गरी आगामी दिनमा प्रतिनिधिसभा र तत्पश्चात राष्ट्रिय सभाबाट समेत समितिबाट पारित विधेयक पारित हुने विश्वास सङ्घले लिएको छ । “गैर आवासीय नेपालीहरुले सन् २००९ देखि उठाइरहेको आवाज सम्बोधन हुने दिशामा अघि बढेको छ”, सङ्घका उपाध्यक्ष डा केसीले भने, “सबै राजनीतिक दल तथा नेताहरु सकारात्मक नै हुनुहुन्छ, हामी निरन्तर छलफल गरिरहेकै छौं, विश्वास छ गैर आवासीय नेपालीले प्राप्त गर्ने नागरिकताका सम्बन्धमा आगामी दिनमा पनि सकारात्मक नै परिणाम आउनेछ ।” उनले समितिबाट विधेयकमा तीन पुस्ताको प्रसङ्ग उल्लेख भएकोमा त्यसलाई लिएर कुनै अलमल वा चिन्ता गर्न नपर्ने बताए। यद्यपि गैर आवासीय नेपालीले प्राप्त गर्ने अधिकारमा राजनीतिक अधिकार नरहने उल्लेख भएकाले त्यो राजनीतिक अधिकार भनेको के के हुने भन्ने सम्बन्धमा स्पष्ट हुन आवश्यक रहेको र ती विषयमा कानून आयोगबाट कानून निर्माणको प्रक्रिया सँगसँगै सम्बोधन हुने अपेक्षासमेत सङ्घको रहेको डा केसीले बताएका छन् । “राज्य व्यवस्थाबाट पारित अहिलेको विधेयकले नागरिकताको निरन्तरता त गरेको छ तर अधिकार भने काटिदिएको छ, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, संवैधानिक आयोगका पदाधिकारीहरुमा नियुक्ती वा निर्वाचित हुनेबाहेक अन्य सम्बन्धमा खुकुलो हुनुपर्छ भन्ने हाम्रो कुरा हो”, डा केसीले भने । नागरिकता केवल कागज मात्र नभएकाले नागरिकता प्राप्त गरेपछिको जिम्मेवारीको पनि कुरा आउँछ भन्दै उनले भने, “गैर आवासीय नेपालीले नागरिकता कहाँबाट लिने, कसरी लिने, हक अधिकार के रहने, हाम्रो जिम्मेवारी कस्तो हुने भन्नेबारे समेत अगामी दिनमा बहसहरु भई एउटा ठोस परिणाम निस्कने छ भन्ने विश्वास छ ।” सम्पत्तिको अधिकारका बारेमा अहिलेको व्यवस्थाले सीमितता प्रदान गरेको र भौगोलिक क्षेत्रगत रूपमा पनि फरक फरक व्यवस्था रहेको भन्दै डा केसीले यस्तो सीमितता नराख्न सङ्घले माग गर्दै आएको बताए । गैर आवासीय नेपालीले प्राप्त गरेको नागरिकता छाडी फेरि सधैंका लागि नेपाल फर्कन चाहे पुरानै नागरिकतासहित पूर्ण राजनीतिक अधिकारको व्यवस्थाका सम्बन्धमा पनि कुरा भइरहेको डा केसीको भनाइ छ ।   रासस

कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार सोमबार विहान साढे ६ बजे सम्ममा संसारभरका ९१ लाख ८५ हजार २ सय जना मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४ लाख ७४ हजार २ सय ३७ पुगेको छ, भने ४९ लाख २१ हजार बढी विरामी उपचार पछि निको भइ घर फर्किएका छन् । अमेरिकामा कोरोनाबाट १ लाख २२ हजार ६ सय १० जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २३ लाख ८८ हजार १ सय ५३ जना रहेका छन् । त्यसैगरी छिमेकी देश भारतमा कूल कोरोना संक्रमितको संख्या ४ लाख ४० हजार ५ सय ५० पुगेको छ भने अहिलेसम्म १४ हजार १५ जनाको मृत्यु भइसकेको छ । हालसम्म नेपालमा ९ हजार ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ हजार १ सय ४८ जना निको भएर घर फर्किसकेका छन् ।     (तथ्यांक साभार : वल्डोमिटर)

विद्युतीय सवारी साधनमा लगाइएको कर हटाउन माग

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनमा सरकारले लगाएको कर हटाउनुपर्ने माग गरिएको छ । आज आयोजित ‘वर्तमान नेपालमा विद्युतीय सवारी साधनको महत्व’ विषयक कार्यक्रममा वक्ताले सरकारले विद्युतीय साधनलाई निरुत्साहित गर्ने, त्यसको सञ्चालनमा अङ्कुश लगाउने र खनिज इन्धनलाई प्रवद्र्धन गर्ने बाटोतिर अग्रसर भएको भन्दै गुनासो गरेका हुन् । सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत विद्युतीय साधनमा विभिन्न कर लगाएको छ । नासाका अध्यक्ष गोविन्द भट्टराईले विश्व विद्युत्मय भइरहेका अवस्थामा नेपाल भने त्यसबाट ब्याक हट्नु गलत भएको टिप्पणी गरे । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (ईपान) का उपाध्यक्ष कुमार पाण्डेले बजेटको एक तिहाइ लगानी विद्युत् उत्पादनमा लगानी रहेको सुनाउँदै सरकारको यस्तो कदमले बैंक र लाखौँ नेपालीको लगानी खेर जाने अवस्था सिर्जना भएको टिप्पणी गरे । सामाजिक अभियानकर्मी लोकेश वलीले बिजुली गाडीले गर्दा देश समृद्ध हुने विश्वास गरे । नेपाल न्यू इनर्जी भेहिकल एशोसिएशनका अध्यक्ष नवराज पौडेलले अहिले जनतालाई सस्तोमा गाडी चढ्न पाउने अवसर भएकामा सरकारको पछिल्लो कदमले जनताका आशालाई निरुत्साहित तुल्याएको बताए । नेपाल न्यू इनर्जी भेहिकल एशोसिएशनका सचिव सरोज थापाले नेपालमा विद्युतीय सवारी साधनलाई प्रात्साहन गर्न सकिएको भए धेरै राम्रो हुने बताए । रासस

कैलालीकाे क्वारेन्टिनबाट घर पठाइएका ५८ मा कोरोना पुष्टि

कैलाली । कैलालीको लम्किचुहा नगरपालिकामा पिसिआर रिपोर्ट आउन ढिला भएको जनाउँदै क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको छ । लम्किचुहा –१ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टिनमा राखेर घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले जानकारी दिए । सङ्क्रमण पुष्टि भएकाहरु भारतबाट फर्किएको तीन हप्ता पुगिसकेको र कोरोनाको लक्षण पनि नदेखिएकाले तथा पिसिआर रिपोर्ट आउन ढिला भएका कारण घर पठाइएको बिसीले जानकारी दिनुभयो । गत जेठ २८ गते स्वाब सङ्कलन गरिएका ९३ मध्ये ५८ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

लगानी बोर्डकाे सीईओमा भेट्ररनहरुबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आकांक्षीहरुको दाैडधुप चलेको छ । बोर्डले असार २० गतेभित्र आवेदन माग गरेको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानून, इन्जिनियरिङ्ग, वा विकास सम्बन्धी विषयमा कम्तिमा स्नातकोत्तर उत्तीर्ण गरेको व्यक्तिले बोर्डको प्रमुख कार्यकारी अधिकृतमा आवदेन गर्न सक्ने छ । त्यस्तै, परियोजना विकास, सार्वजनिक खरिद, लगानी प्रवद्र्धक, विकास प्रशासन, बैकिङ्ग, वित्तीय क्षेत्र, औद्योगिक व्यवस्थापन क्षेत्रमा कम्तिमा १० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । उक्त पदका लागि झण्डै एक दर्जन मानिसहरु अहिले सक्रिय भएका छन् । त्यसमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायत छन् । गभर्नर पदको दौडमा हार खाएपछि डेपुटी गभर्नर शिवाकोटी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा आकांक्षी देखिएका छन् । पहिला पनि डेपुटी गभर्नरबाट अवकाश पाएका अधिकारी सीईओ भएको उदाहरण छ । शिवाकोटी प्रधानमन्त्रीसँग सिधै पहुँच भएका प्रत्यासी हुन् । डेपुटी गभर्नरमा उनको कार्यकाल करिव ६ महिना बाँकी रहेकोले चार वर्षे कार्यकाल भएको लगानी बोर्डको सीईओ उनले ताकेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पुर्ननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत भएका सुशील ज्ञवालीको कार्यकाल पनि केही महिना मात्र बाँकी छ । त्यसैले उनी प्राधिकरण छोडेर लगानी बोर्डमा फड्कन चाहेको जानकारहरु बताउँछन् । आइक्यानका अध्यक्ष तथा कर्मचारी संचय कोषका पूर्व प्रशासक कृष्ण आचार्य, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठ, लगानी बोर्डमै परामर्श सेवामा कार्यरत रामकृष्ण खतिवडा लगायत अरु पनि प्रतिस्पर्धामा छन् । डा श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत बनाउन नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले जोड दिएका छन् । तर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच धेरै विषयमा मतभेद रहेकोले श्रेष्ठलाई बोर्डमा नियुक्ती हुनेमा आशंका गरिएको छ । आचार्यलाई बोर्डको प्रमुख कार्यकारी अधिकृत बनाउन नेकपा कै बरिष्ठ नेता माधव कुमार नेपाल सक्रिय भएको स्रोतको दावी छ । चार्टर्ड एकाउन्टेन्ट आचार्य कुशल प्रशासकको रुपमा स्थापित छन् । खतिवडालाई बोर्डको प्रमुख कार्यकारी अधिकृत बनाउन निजी क्षेत्रका लगानीकर्ताहरुले लविङ शुरु गरेका छन् । त्यस्तै, योजना आयोगका सदस्य सुशील भट्ट पनि बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा इच्छुक रहेको जानकारहरु बताउँछन् । ६ अर्ब रुपैयाँ भन्दा बढी लगानी हुने परियोजनाको स्वीकृत दिने लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पद धेरैको लागि आकर्षणको केन्द्र बनेको छ जहाँ विभिन्न क्षेत्रमा स्थापित भेट्ररन (लामाे अनुभव हासिल गरेका) व्यक्तिहरुबीच प्रतिस्पर्धा हुने निश्चित छ । राष्ट्रिय याेजना आयाेगका उपाध्यक्षकाे संयाेजकत्वमा रहेकाे सिफारिस समितिले तीन जनाकाे नाम मन्त्रिपरिषद्मा  पठाउने र मन्त्रिपरषद्ले तीन मध्ये एक जना लगानी बाेर्डकाे प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षकाे लागि नियुक्त गर्ने कानुनी व्यवस्था रहेकाे छ । प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि उक्त पद विगत ३ महिनादेखि खाली भएको थियो ।