आफूखुशी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौं । निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न/नगराउन निर्देश गरेको छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी काय गरी माथिल्लो कक्षामा विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन आज सार्वजनिक आग्रह गरेका थिए । शिक्षा मन्त्रालयले कोरोना महामारी र बन्दाबन्दीको विद्यमान विषम स्थितिमा निजी लगानीका विद्यालयले भोग्नुपरेका समस्याका बारेमा विधिसम्मत निरुपणका लागि सम्बन्धित पक्षसँग परामर्श जारी रहेकाले हाल कुनै शुल्क लिन नमिल्ने स्पष्ट गरेको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माद्वारा आज जारी विज्ञप्तिमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार सेवा र कार्यबाहेकका विद्यालय सम्बद्ध गतिविधि स्थगितको आदेश कायम रहेको अवस्थामा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ को विपरीत हुने क्रियाकलाप सञ्चालन नगर्न, नगराउन सम्बन्धित सबैमा जानकारी गराइएको छ । गत जेठ १८ गते जारी सो निर्देशिकामा वैकल्पिक विधिको सिकाइका लागि शुल्क लिने कुनै व्यवस्था छैन । उक्त निर्देशिकाको कार्यान्वयनमा कुनै समस्या भएका सम्बन्धित स्थानीय तहसँग परामर्श गर्न मन्त्रालये भनेको छ । नेपालको संविधानबमोजिम माध्यमिक तह (कक्षा १ देखि १२) को सञ्चालनको क्षेत्राधिकार स्थानीय तहमा दिइएको छ । गत वैशाखदेखि नयाँ शैक्षिकसत्र सञ्चालन हुनुपर्नेमा बन्दाबन्दीका कारण सरकारको निर्णयका आधारमा यही असार १ गतेदेखि सबै सामुदायिकसहित सबै प्रकारका विद्यालयमा वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालन भइरहेको छ । सामुदायिक विद्यालयमा निःशुल्क अनलाइन तथा दूर शिक्षाको पढाइ भइरहेको छ । निजी लगानीका विद्यालयले हरेक शैक्षिकसत्रको तीन महिनाअगावै आफूले लिने शुल्क प्रस्ताव गरी सम्बन्धित तहबाट स्वीकृत गराउनुपर्छ भने हालको बन्दाबन्दीमा सरकारको निर्णयविना विद्यालय सञ्चालन र आफूखुशी शुल्क लिन पाउँदैन । अधिकांश निजी विद्यालयले हरेक वर्ष सरकारको शुल्क निर्धारण मापदण्ड र निर्देशनविपरीत अभिभावकसँग आफूखुशी चर्काे शुल्क लिने गरेको गुनासो आउने गरेको छ । हाल मुलुकभर करिब छ हजार ५०० निजी विद्यालय सञ्चालित छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाद्वारा आज संयुक्तरुपमा विज्ञप्ति जारी गरी अभिभावकलाई शुल्क बुझाउन आग्रह गरिएको थियो । ती संस्थाले बन्दाबन्दीमा अनलाइनबाट कक्षा सञ्चालन हुन थालेकाले निःशुल्क वा अत्यन्त न्यून शुल्कमा सिकाइलाई निरन्तरता दिइएको तर शुल्क नलिँदा आफूहरुलाई कठिनाइ परेको जनाएको थियो । सरकारले अनलाइन कक्षा सञ्चालनबापतको शुल्क लिनेबारे हालसम्म कुनै निर्णय नगरेको स्थितिमा उक्त आग्रहको आलोचना भएको थियो । सरकारले गत चैतमा एक महिनाको शिक्षण शुल्क मिनाहा गर्न पनि निजी विद्यालयलाई निर्देशन गरेको थियो । प्याब्सन र एन प्याब्सनले विद्यालयको भाडा तिर्न नसकिएको, शिक्षक तथा कर्मचारीको तलब, बैंकको ऋणको साँवा, व्याज र किस्ता बुझाउन नसकिएको स्थितिमा सरकारले उद्योगसरह कुनै राहत प्याकेजमा आफूहरुलाई समावेश गर्नुपर्ने माग गर्दै आएको छ ।
जुम्लामा दुई जलविद्युत् आयोजना निर्माण हुँदै
खलङ्गा । जिल्लाका दुई स्थानीय तहमा जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । यहाँको कनकासुन्दरी गाउँपालिका– २ घोडामौलामा १० मेगावाट र हिमा गाउँपालिकाको हिमा नदीबाट १० मेगावाट जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बताए । उनले भने, “आयोजना अध्ययनका लागि सङ्घीय सरकारले रु २९ लाख पाँच हजार बजेट विनियोजना गरेको छ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले ती आयोजनासम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरी सो जानकारी दिएको हो ।” आगामी आर्थिक वर्ष २०७७÷७८ मा कर्णालीमा ५२० मेगावाट जलविद्युत् आयोजनाको अध्ययन गर्ने भएको छ । सङ्घीय सरकारले आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको जुम्ला, हुम्ला र डोल्पा जिल्लामा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको हो । रासस
लगानीकर्ताका संघ र आर्थिक पत्रकारमाथि आचारसंहिता लगाउन रामकुमारी झाक्रीको प्रस्ताव
काठमाडौं । पुँजी बजार अध्ययन उपसमितिका संयोजक समेत रहेकी सांसद रामकुमारी झाक्रीले लगानीकर्ताका संघ र आर्थिक पत्रकारमाथि आचारसंहिता लागू गर्नुपर्ने बताएकी छन् । अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालसहितको समितिको टोलीले धितोपत्र बोर्डसँग गरेको छलफलमा सांसद झाक्रीले यस्तो बताएकी हुन् । सांसद झाक्रीले दोस्रो बजारमा हुने सूचना सम्प्रेषण, लगानीकर्ताका संघ संस्थाको गतिविधिका बारेमा चासो राख्दै लगानीकर्ता संघ तथा आर्थिक पत्रकारलाई आवश्यक परे अन्य नियमन निकायसँग समेत समन्वय गर्दै आचारसहिंता लागू गर्नपर्ने बताइन। नेपालको पँुजी बजारलाई भरपर्दो र विश्वसनीय बनाउनुपर्ने भन्दै उनले बोर्डको संस्थागत एवं नियमन क्षमता सुदृढ गरी बोर्डलाई सबल र शसक्त नियमन निकायको रुपमा विकास गर्न प्रयास गर्नुपर्ने धारणा राखिन् । समितिका सभापति कृष्णप्रसाद दाहालले नेपालको वित्तीय प्रणालीमा पँुजी बजार र यसको नियमन निकाय बोर्डको भूमिका अत्यन्त महत्वपूर्ण भएको हुनाले यसको विश्वसनीय एवं दिगो विकासका लागि कटिबद्ध भएर लाग्नुपर्ने धारणा राखे । धितोपत्रको प्राथमिक बजारको विकास उत्साहजनक देखिए तापनि दोस्रो बजारको विकास भने सोही गतिमा हुन नसकेको सभापति दाहालको भनाइ छ । उनले आगामी दिनमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउन पहल गर्नुपर्ने, सार्क क्षेत्रका अन्य देशमा जस्तै नेपालको धितोपत्र बजारमा पनि विदेशी रणनीतिक साझेदार भित्र्याई बजारको स्तर अभिबृद्धि गर्नुपर्ने, पँुजी बजारलाई अन्तर्राष्ट्रिय बजारसँग आवद्ध गराउनुपर्ने र वस्तु विनिमय बजार सम्बन्धी पूर्वाधारको विकास गर्नका लागि आवश्यक काम गर्न निर्देशन दिए । बजारको विकासका लागि सम्बन्धित निकायहरुको भूमिका समन्वयकारी हुनुपर्नेमा जोड दिदै सभापति दाहालले बोर्डको संस्थागत क्षमता अभिवृद्धि र धितोपत्र नियमन तथा बोर्ड सञ्चालन सम्बन्धी कानुनी अपर्याप्तता हटाई यसलाई सुदृढ गर्नका लागि समितिले पर्याप्त भूमिका निर्वाह गर्ने आश्वासन समेत दिए । सांसद मेटमणि चौधरीले धितोपत्रको दोस्रो बजारको अनलाइन कारोबारका लागि प्रयोग हुने प्रविधि र हाल दोस्रो बजार बन्द भएको विषयमा चासो राखे । बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले हाल दोस्रो बजार सञ्चालनमा रहेका व्यवधानहरुको चर्चा गर्दे केहीको समस्या समाधान भएको र केही समाधानको क्रममा रहेको जानकारी गराएका थिए । पुँजी बजार संवेदनशील बजार भएको र यसको सम्बन्ध वित्तीय प्रणालीको अन्य क्षेत्रसँग पनि भएकोले सम्बन्धित निकायहरुमा समस्या समाधानका लागि अनुरोध गरिएको जानकारी गराएका थिए । अध्यक्ष ढुंगानाले पँुजी बजारको दिगो विकासको लागि बोर्ड, नेप्से, सिडिएससीको संरचनात्मक सुधार गर्नुपर्ने, नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याउनुपर्ने, धितोपत्र बजार सञ्चालन र बोर्ड सञ्चालनका लागि छुट्टाछुट्टै ऐन तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको औल्याए । विदेशी पुँजी परिचालन गर्न र देशमा उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवद्र्धन गर्न बोर्डले छिट्टै प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल सञ्चालनका लागि कोष व्यवस्थापकलाई अनुमति दिनुका साथै वस्तु विनिमय बजारको पूर्वाधार विकासका लागि बोर्डले छिटै प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पुँजी बजारको विकासका लागि बोर्डले विगतमा विभिन्न उल्लेखनिय कार्यहरु गर्दै आएको र लकडाउन अवधिमा दोस्रो बजार सञ्चालनका लागि इडीआइएसको व्यवस्था तथा ब्रोकरले पुँजीगत लाभकर म्यानुअली सिस्टममा भर्नुपर्ने व्यवस्थाको अन्त्य गर्नुका साथै बजार सञ्चालन लगायका कार्यका लागि नेप्से, सिडिएससी लगायतका संस्थालाई आवश्यक तयारी गर्न निर्देशन दिएको बताए । उपकार्यकारी निर्देशक डा. नबराज अधिकारीले हालको धितोपत्र बजारको अवस्था, बजार बन्द गर्नुपरेको कारणहरु, बोर्डका भावी कार्यक्रम तथा प्राथमिकता आदिका वारेमा प्रस्तुतीकरण गरेका थिए ।
नेपाल बैंकको पन्ध्र प्रतिशत चुक्ता पूँजी स्टक एक्सचेञ्जमा सूचीकृत
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतले हुने रकम नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको बोनश शेयरमा सूचीकरण गरेको छ । सो बैंकको हालै सम्पन्न ६०औँ वार्षिक साधारणसभाबाट स्वीकृत चालू आवसम्मको चुक्ता पूँजीबाट रु एक अर्ब ४७ करोड १६ लाख ७२ हजार २०० रकम बराबरको एक करोड ४७ लाख १६ हजार ७२२ कित्ता बोनस शेयर सूचीकरण भएको हो । बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीद्वारा आज जारी विज्ञप्तिमा बोनश शेयर अभौतिकीकरण (डिम्याट) भएपछि खातामा जाने भएकाले आफ्ना शेयरधनीलाई यथाशीघ्र खाता अद्यावधिकका लागि आग्रह गरिएको छ ।
भक्तपुरमा पनि पिसिआर विधिबाट परीक्षण शुरु
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले कोरोना भाइरस परीक्षणका लागि पोलिमराइज चेन रिएक्सन (पिसिआर) ल्याब सञ्चालनको स्वीकृति पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज सो अस्पतालमा कोभिड–१९ को परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनका लागि अनुमति दिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाले हस्ताक्षर गरी पिसिआर सञ्चालनको अनुमति प्रदान गरेकी हुन् । नगरपालिका यसअघि नै पिसिआर ल्याब सञ्चालनमा ल्याएर ७७१ जनाको कोरोना परीक्षण गरे पनि अनुमति नपाउँदा अन्योलमा परेको थियो । अस्पतालमा स्थापना भएको ल्याब र यसको भौतिक संरचनाको विज्ञसहितको टोलीले तीन पटक अनुगमन गरी विश्वस्वास्थ्य सङ्गठनको मापदण्डअनुसार ल्याबको सबै पूर्वाधार पूरा गरेपछि आज कोरोना परीक्षणको स्वीकृत पाएको नगरप्रमुख श्रेष्ठले बताए । उनका अनुसार निर्देशक डा झा, डा रितु अमात्य, डा पियुश राजभण्डारी, डा मुकुन्दा शर्मा, लिली श्रेष्ठ ढुङ्गेललगायतको टोलीले अनुगमन गरी मापदण्डअनुसारको पूर्वाधारको व्यवस्था गरेपछि स्वीकृति पाएको हो । यसअघि भक्तपुर अस्पतालमा सङ्कलन भएको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउँदै आएकामा अब भक्तपुरको परीक्षण यही ल्याबमा मङ्गलबारदेखि नै परीक्षण शुरु गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख श्रेष्ठले जानकारी दिए । उनले भने, “पिसिआर परीक्षणको स्वीकृत पाएका छाैँ, भोलिबाट भक्तपुरको स्वाब यहीबाट परीक्षण हुन्छ, यही अस्पतालमा पनि स्वाब सङ्कलन एवं परीक्षण गर्नेछौँ, टेकुको प्रयोगशालामा भएको भीड कम गर्न अन्य जिल्लाको स्वाब पनि यही आउने विश्वास गरेका छौँ ।” अब नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नै कोरोना भाइरस परीक्षण गर्न शुरु भएपछि यो अस्पताल कोरोना भाइरस परीक्षण गर्ने जिल्लामै पहिलो अस्पताल बनेको छ । नगरपालिकाले अस्पतालमा विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेशनदेखि क्वारेन्टिनसम्म तयारी अवस्थामा राखेको छ । नगरपालिकाले अस्पतालको अगाडि छुट्टै घर भाडामा लिएर पोलिमराइज चेन रिएक्सन (पिसिआर) मेशिनसहितको ल्याब सञ्चालनमा ल्याएको छ । अस्पतालले कोरोनाको उपचारका लागि चार भेन्टिलेटरसहितको सघन उपचार कक्ष र १६ आइसोलेशन वार्ड निर्माण गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । उनले भने, “अस्पतालमा २६ डाक्टर र पाँच कन्सल्टेन्टसहितको स्वास्थ्यकर्मीको टोलीलाई आवासीय सुविधासहित २४सै घण्टा अलर्टमा राखेका छौँ, कोरोना परीक्षण अब यही अस्पतालबाट शुरु गरिसक्यौँ, छ श्ययाको आइसोलेशन वार्ड सञ्चालनमा ल्याइसकेका छौँ, १० श्ययाको आइसोलेशन वार्ड तयारी अवस्थामा राखेका छौँ, उपचारका लागि हामी पूर्णरुपमा तयार छौँ ।” उनले पिसिआर परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री, जनशक्ति तयारी अवस्थामा राखेको जानकारी दिँदै मङ्गलबारदेखि दैनिक पिसिआर परीक्षण गर्ने बताए ।
आन्तरिक राजस्व विभाग भन्छः सेयरमा लाग्ने ५ प्रतिशत लाभकर अन्तिम नै हो
काठमाडौं । सेयर विक्रीबाट प्राप्त आम्दानीमा लाग्ने ५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर भएको आन्तरिक राजस्व विभागको प्रष्ट पारेको छ । विभागले ५ असारमा धितोपत्र बोर्डलाई गरेको पत्राचारमा पुँजीगत लाभकर अन्तिम हो भनेर उल्लेख गरेको भने छैन । आयकर ऐनको दफा ९२ मा अन्तिम रुपमा कर कट्टी हुने भुक्तानीमा पुँजीगत लाभकर समावेश छैन । ऐनको दफा ९२ मा भएको व्यवस्थाले पुँजीगत लाभकरलाई अन्तिम भनेर उल्लेख गर्न नमिल्ने भएकोले अग्रिम कर कट्टी गरिएको विषयमा करचुक्ता प्रमाणपत्र दिने व्यवस्था मात्रै खुलाइएको विभागका कर अधिकृत युवराज बस्नेतले जानकारी दिए । ‘आयकर ऐनको दफा ९२ मा अन्तिम रुपमा कर कट्टी हुने भुक्तानीको सुचीमा पुँजीगत लाभकर समावेश छैन, त्यसैले पुँजीगत लाभकर अन्तिम कर हो भने उल्लेख गर्न प्राविधिक रुपमा मिलेन, तर, ऐनको अनुसची १ मा प्राकृर्तिक व्यक्तिको हकमा सेयर निसर्गबाट प्राप्त हुने आम्दानीमा ५ प्रतिशत मात्रै कर लाग्ने व्यवस्था स्पष्ट गरिएकोले पुँजीगत लाभकर नै अन्तिम हो, थप कर लाग्दैन,’ कर अधिकृत बस्नेतले भने । विभागले बोर्डलाई लेखेको पत्रमा कर चुक्ता प्रमाणपत्र पाइने भनिए पनि पुँजीगत लाभकर अन्तिम हो कि होइन भनेर उल्लेख गरिएको छैन । विभागको यस्तो व्यहोराको पत्रले लगानीकर्तामा अन्योल अझै कायमै छ । आर्थिक ऐनमा पुँजीगत लाभकरलाई अन्तिम करको रुपमा उल्लेख गरिएको भए अहिले देखिएको अन्योलता स्वतः हट्ने विभागको भनाइ छ । पुँजीगत लाभकर अन्तिम नभएकै अवस्थामा पनि त्यसले तात्विक भिन्नता नपार्ने विभागको दाबी छ । आयकर ऐनको अनुसुची १ मा पुँजीगत लाभकर ५ प्रतिशत मात्रै हुने व्यवस्था भएको र लगानीकर्ताले अग्रिम रुपमा बुझाएको कर पनि ५ प्रतिशत नै हुने भएकोले यसमा थप अल्मलिनु पर्ने अवस्था नरहेको विभागको भनाइ छ । यद्यपि कर चुक्ता प्रमाणपत्र लिनको लागि स्थायी लेखा (प्यान) नम्बर भने लिनै पर्ने भएको छ । पाँच लाख रुपैयाँसम्मको सेयर कारोबार गर्नको लागि प्यान नम्बर नचाहिने व्यवस्था गरिएको भएपनि इटीडीएसमा मात्रै कर चुक्ता प्रमाणपत्र पाइने विभागको प्रष्टोक्तिले प्यान नम्बर नलिएका लगानीकर्ताले करचुक्ता प्रमाणपत्र नपाउने अवस्था सिर्जना भएको हो । विभागले सेयर कारोबार मात्रै गर्ने व्यक्तिको वार्षिक ४० लाख रुपैयाँसम्मको आयमा कर विवरण बुझाउने नबुझाउने भन्ने निर्णय करदाताले नै गर्न सक्ने र सोभन्दा बढीको आयमा भने कर विवरण अनिवार्य भएको बताएको छ । सम्बन्धित सामग्री अब पुँजीगत लाभकरलाई अन्तिम मानिने, हट्यो वर्षौदेखिको अन्योलता पुँजीगत लाभकरलाई अन्तिम मानेपछि सेयर बजारमा कस्तो असर पर्ला ?
अब काठमाडौं बाहिर जान पनि स्थानीय तहको सिफारिस अनिवार्य
काठमाडौं । उपत्यकाबाहिर जाँदा नियमपूर्वक क्वारेन्टिनमा राख्ने व्यहोरा सम्बन्धित स्थानीय तहले प्रमाणित गरेपछि मात्रै पास पाईने भएकाे छ । साेमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ती निकाल्दै उपत्यका बाहिर जानेको लागि पास वितरणमा थप कडाई गरेकाे हाे । प्रशासनकाे अनुसार अब जुन स्थानीय तहमा जानको लागि पास माग गरिन्छ सोही स्थानीय तहले नियमपूर्वक क्वारेन्टिनमा राख्नेबारे प्रमाणित गरेर पठाउनु पर्नेछ । यसअघि काठमाडौं प्रवेश गर्नेकाे हकमा भने जिल्ला प्रशासन कार्यालयले यहाँ कुन स्थानीय तहमा बस्ने हो सोही स्थानीय तहको सिफारिस आवश्यक पर्ने उल्लेख गरेको थियो ।
क्वारेन्टिनबाट फर्किएका युवकको मृत्यु
मेलम्ची । बलेफी गाउँपालिका –४ का युवकको मृत्युु भएको छ । चौध दिन क्वारेन्टिन बसेर फर्किएका उनको आज मृत्यु भएको हो । क्वारेन्टिनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए । भारतबाट फर्किएका उनलाई पिसिआर रिपोर्ट नेगेटिभ आएपछि केही दिनअघि घर पठाइएको थियो । मृत्युको कारण भने खुलिसकेको छैन ।