विकासन्युज

अनलाइन ट्रेडिङमा चासो नदेखाएको भन्दै नेप्सेसँग बोर्ड रुष्ट, नयाँ कम्पनी स्थापनाको गृहकार्य

काठमाडौं । सेयरको अनलाइन कारोबारमा सहयोगी भूमिका नखेलेको भन्दै पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग रुष्ट भएको छ । पूर्ण रुपमा अनलाइन कारोबार गर्न नसकिने अवस्थामा सेयर बजार खुल्ला गर्न अप्ठेरो परे पनि बजार बन्द गराएको आरोप आफूले खेप्नु परेको भन्दै बोर्ड नेप्सेसँग रिसाएको हो । अनलाइन कारोबार संचालनका लागि गर्नुपर्ने आवश्यक सुधार गर्न नसकेको आरोप लगाउदै बोर्डले नयाँ कम्पनी स्थापना गरेर कारोबार सहज बनाउन गृहकार्य थालेको छ । नेप्सेले भने अहिलेको प्रणालीबाट नै अनलाइन कारोबार गर्न कुनै समस्या नरहेको र आफूलाई अनावश्यक दोष लगाउने गरिएको आरोप लगाउँदै आएको छ । तर, नेप्सेले अहिले प्रयोगमा ल्याएको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोग गरेर पूर्ण अनलाइन गर्न नसकिने लगानीकर्ता, ब्रोकर र बोर्डको तर्क छ । ‘नेप्सेको टीएमएसमा ब्रोकर र लगानीकर्ताले गम्भीर प्रश्न उठाएका छन्, सरोकारवालाको जिज्ञासा समाधान गरी अनलाइन कारोबार हुने गरी प्रणालीमा गराउन नेप्सेले सकेन, त्यसैले टीएमएस र क्लियरिङको काम गर्नको लागि बेग्लै सिस्टम डेभलपमेन्ट गर्ने तयारी भएको छ, यसको गृहकार्य ब्रोकरहरुले गरिरहेका छन्,’ बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले भने । नेप्सेले अहिले उपलब्ध गराएको प्रणाली प्रयोग गरेर अनलाइन सेयर खरिदविक्री गर्न, बैंक खातामा भएको पैसा किन्नेकोबाट बेच्नेकोमा जान र ब्रोकर, नेप्से र धितोपत्र बोर्डले पाउने कमिसन अनलाइन बाँडफाँड गर्न र इटीडीएस गर्न समस्या भएको सरोकारवालाको भनाइ छ । सम्बन्धित सामग्री सेयर बजार बन्धक बनाएर करोडौं कुम्ल्याउने दाऊ, अर्थमन्त्रीमाथि पनि हावी हुने व्यक्ति को हो ?

कोरोना संवेदनशीलता नअपनाउने व्यापारीलाई कारवाहीको चेतवानी

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संवेदनशीलता नअपनाई व्यापार व्यवसाय गर्ने जोकोहीलाई कारवाही गर्ने चेतवानी दिएको छ । कार्यालयले सोमबार बजार क्षेत्रमा माइकिङ गर्दै यस्तो चेतवानी दिएको हो । लकडाउन खुकुलो भएसँगै जथाभावी व्यापार व्यवसाय खुलेर भीडभाड बढी हुन थालेपछि प्रशासनसहित सरोकारवाला निकाय उद्योग वाणिज्य सङ्घ, पत्रकारलगायतको टोलीले व्यापारीलाई सम्झाउँदै यस्तो चेतवानी दिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने, “प्रत्येक व्यापारीले आफ्नो पसल उद्योगअगाडि ढोकामा डोरीको बार लगाउने, दुई मिटरको व्यक्तिगत दूरी कायम गर्ने, स्यानिटाइजर, मास्क अनिवार्य प्रयोग गर्नेजस्ता कुरालाई सुझाइएको छ ।” त्यसैगरी अनावश्यक मानिसको भीडभाड नगर्ने, अत्यावश्यक काम परेका व्यक्ति मात्रै घर बाहिर निस्किने, सवारी साधन मोटरसाइकलमा एक जना व्यक्ति मात्र सवार गर्ने र सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने, अटोरिक्सामा दुई व्यक्तिबाहेक अरुलाई सवार नगर्नेजस्ता कुरा सुझाइएको छ । सुझाइएका कुरा सबै बेवास्ता गरी कोरोना संवेदनशीलता नअपनाउने, जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड नअपनाउने जोकोही व्यक्ति तथा व्यापारीलाई सङ्क्रमण रोग ऐन, स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही हुने पनि चेतवानी दिइएको छ ।  रासस

२ सय ५९ नेपाली अष्ट्रेलियाबाट काठमाडौं ल्याइँदै

काठमाडाैं । मंगलबार अष्ट्रेलियाबाट पहिलो ‘उद्धार’ उडान काठमाडाैं आउने भएकाे छ । नेपाल एयरलाइन्सको जहाजमा २ सय ५९ जना नेपालीहरु अष्ट्रेलियाबाट काठमाडौं फर्किन लागेका हुन् । नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंतर्फ उड्ने छ । उक्त जहाजले  लकडाउन  आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया गएका अभिभावक ल्याउने छ । सो फ्लाइटमा न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरु अष्ट्रेलियाबाट साेही जहाजमा काठमाडाैं आउने छन् । नेपाल फर्किने सबैको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हुनु पर्नेछ ।  नेपाल आइपुगेका सबै यात्रुलाई होल्डिङ सेन्टरमा राखेर होम क्वारेन्टाइनमा पठाइनेछ ।

जिनएयरले ३० जुनमा पहिलोपटक काठमाडौंमा उडान गर्ने तयारी

सियाेल । दक्षिण कोरियामा सञ्चालित जिनएयरले पहिलोपटक काठमाडौंमा उडान भर्ने भएको छ । इन्छन–काठमाडौं–इन्छन दुइतर्फी चार्टर्ड उडान गर्ने भनिएको जिनएयरले ३० जुनमा पहिलो उडान गर्ने गरी तयारी गरेको छ । जिनएयरको चार्टर्ड उडानका लागि सियाेलस्थित नेपाली राजदूतावासमार्फत उडान स्वीकृति प्रक्रिया नेपालको परराष्ट्र मन्त्रालयमा पुगिसकेको बताइएको छ । उडानको व्यवस्थापन एनआरएनए कोरिया र नेपाली राजदूतावासको समन्वयमा कोरियामा रहेका दुई ट्राभल एजेन्सी नेपाल टूर कम्पनी र लिङ्क एशिया टुर्सले गर्ने भएका छन् । जिनएयरको यो चार्टर्ड उडान यात्रुका लागि सहुलियतपूर्ण हुने देखिएको छ । यसअघि दुईपटक चार्टर्ड उडानमार्फत कोरिया–काठमाडौं–कोरिया गरेको कोरियन एयरमा एकतर्फी भाडावापत नेपालबाट कोरिया जाने यात्रुले १ हजार २ सय ५० अमेरिकी डलर तिरेका थिए तर जिनएयरमा ७ सय ५० अमेरिकी डलर मात्र लाग्ने बताइएको छ भने कोरियाबाट नेपाल फर्किने यात्रुले ७ सय अमेरिकी डलर मात्र तिरे पुग्नेछ । जिनएयरको पहिलो उडान ३० जुनमा कोरियाली समयानुसार दिउँसोको १.३० बजे इन्छनबाट हुनेछ र नेपाली समयानुसार ४ः५५ मा काठमाडौँ अवतरण गर्नेछ । साथै नेपालबाट यात्रु बोकेर सोही दिन साँझ ६ः५५ मा उक्त जहाज कोरिया उड्नेछ । जिनएयरको दोस्रो उडान ५ जुलाइमा हुने गरी तयारी गरिएको समेत बताइएको छ । कोरोना महामारीका कारण हवाई उडान बन्द हुँदा गत तीन महिनामा प्रवेशाज्ञा अवधि सकिएका ४ हजार ५ सय युवा दक्षिण कोरियामा रोकिएका छन् भने लकडाउनअघि कोरियाबाट छुट्टी लिएर नेपाल गएका १ हजार ५ सयबढी यात्रु पनि नेपालमै अड्किएका छन् ।  रासस

आरडिटी परीक्षणलाई मान्यता नदिन काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । कोरोना भाइरसकाे परीक्षणका लागि भनेर सरकारले खरिद गरेको आरडिटीको विश्वसनियतामाथि प्रश्न उठिरहेकाे भन्दै  साे परीक्षणलाई मान्यता नदिन काठमाडाैं जिल्ला अदालतले आदेश दिएकाे छ । सोमबार आरडिटी परीक्षणलाई मान्यता दिन जिल्ला अदालत काठमाडौंले अस्वीकार गरेको हो  । विश्व स्वास्थ्य संगठनले मान्यता नै नदिएको किट कमिसनका लागि खरिद गरेको र त्यसबाट गरेको परीक्षणलाई मान्यता नदिन जनाएकाे हाे । काठमाडाैं जिल्ला अदालतले आरडिटी परीक्षणलाई मान्यता नदिएपछि यसको कानुनी हैसियत समाप्त भएको छ । अब आरडिटी परीक्षण अर्थ विहिन तथा गैरकानुनी भएकाेले परीक्षणमा राेक्नु पर्ने जनाएकाे छ । काठमाडाैं जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले आरडिटी परीक्षण विश्वभर बन्द भएको उल्लेख गर्दै  उक्त परीक्षणमा प्रश्न उठाएको बताएका छन् । ‘कोभिड -१९ का लागि आरडिटी परीक्षणलाई विश्वसनीय मानिएको छैन, विश्वका केही देशहरुले यसमा शंका गर्दै बन्द गरेको अवस्था छ,’ साे आदेशमा भनिएकाे छ, ‘तसर्थ अदालतमा उपस्थित हुने प्रतिवादीहरुको हकमा उनीहरु संक्रमित भए नभएको हकमा पिसीआर परीक्षण गर्नु ।’ यसअघि पनि जिल्लाले अदालतमा उपस्थित हुने प्रतिवादीको कोरोना परीक्षण रिपोर्ट पेश गर्न भनेको थियो । अदालतको उक्त आदेशपछि प्रहरीले आरडिटी परीक्षण गर्दै आएको थियो । आरडिटी परीक्षणको नतिजा देशभर नै गलत आइरहेको अवस्थामा अदालतले यस्तो निर्णय गरेकाे हाे । आरडिटी परीक्षण गरेर घर पठाएका केही व्यक्तिको मृत्युसमेत भएपछि पिसीआर परीक्षण गर्दा पोजेटिभ पाइएको छ । त्यस्तै आरडिटी गरेर क्वारेन्टाइनबाट घर गएमा मानिसहरुमा धमाधाम पोजेटिभ देखिएपछि यसमाथि प्रश्न उठेकाे हाे ।

प्रदेशदेखि वडास्तरका अनुगमन समिति सक्रिय बनाइँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशदेखि वडापालिका स्तरसम्मका गठित अनुगमन समितिलाई सक्रिय बनाउने भएको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् तथा कार्यकारी समितिका संयोजक एवं प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा आइतबार बसेको बैठकले कर्णाली प्रदेशका सम्पूर्ण जिल्ला, पालिका र वडास्तरमा गठित अनुगमन समितिहरुलाई कालोबजारी नियन्त्रण गर्न र क्वारेन्टिन मापदण्डअनुरुप सञ्चालन गर्न सक्रिय बनाउने निर्णय गरेको हो । अनुगमनलाई चरणबद्धरूपमा अगाडि बढाउन पहिलो चरणमा यही असार १० देखि २० गतेसम्म प्रदेशभरका अनुगमन संयन्त्रमातहत कार्यदल परिचालन गर्ने निर्णय बैठकले गरेको कानूनमन्त्री भण्डारीले जानकारी दिए । उनका अनुसार प्रदेशभरिका क्वारेन्टिन र आइसोलेसन कक्षहरु विश्व स्वास्थ्य सङ्गठनको मापदण्डसँग सापेक्ष हुने गरी निर्माण तथा व्यवस्थापन गर्न गराउन र क्षमता विस्तार गर्नेतर्फ अग्रसर हुन सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय गरिएको छ । “बैंकिङ तथा वित्तीय संस्था, औषधि, खाद्यान्नलगायतका पसलहरु र अन्य सार्वजनिक स्थलहरुमा भौतिक दूरी कायम गरी मास्क, सेनिटाइजरसहितका स्वास्थ्य सामग्री प्रयोगको व्यवस्थाका लागि सरोकारवाला निकायलाई परिचालन गरिनेछ,” मन्त्री भण्डारीले भने, “प्रदेशमा गठित विभिन्न स्तरका अनुगमन समितिलाई कार्यप्रगतिको समीक्षा गरी त्यसको प्रतिवेदन उच्चस्तरीय अनुगमन समितिमा पठाउने व्यवस्था गर्नेसमेतको पनि निर्णय भएको छ ।” त्यसैगरी, मूल्य सूची सार्वजनिक गर्नुका साथै भौतिक दूरी कायम गरी दैनिक उपभोग्य वस्तुको बिक्रीवितरणको व्यवस्था गर्न प्रशासन, सुरक्षा निकायलगायत सरोकारवालालाई परिचालन गर्ने, सुरक्षा निकायको सतर्कता चौबिसै घण्टा रहने गरी व्यवस्थापन गर्ने गराउने, बजार अनुगमन गरी खाद्य, औषधिजन्य र निर्माण सामग्रीको अवस्था अभिलेख राख्ने व्यवस्था मिलाउनेलगायतका निर्णय भएको उनको भनाइ छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशमा रहेको हटलाइन सेवा १११० र फोन नं ०८३–५२१३५० मा कालोबजारी र क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धी सूचना दिन सम्पूर्ण नागरिकलाई अनुरोध गर्ने निर्णय भएको जनाइएको छ ।  रासस

लकडाउन: कालीमाटी तरकारी बजारको यस्तो छ अवस्था

काठमाडौं । सरकारले लकडाउन गरेसँगै तरकारीको मूल्यमा भने कमी आएको छ । कालीमाटी तरकारी बजारमा न्युन मूल्यमा तरकारी बिक्री भएसँगै किसानले उत्पादन गरेको तरकारीको बजार पाएका छैन । लकडाउनकै कारण उपत्यकामा कम तरकारीको खपत भएसँगै मूल्यमा कमी भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । विश्वका २ सय १५ देशमा फैलिएको कोरोना भाइरसका कारण करिब ३ महिना देखि लकडाउनको भार सबै नेपालीले खेपिरहेका छन् । चीनको वुहानबाट उत्पत्ति भएको कोरोना भाइरसले विश्वको बजारलाई नै असर पारेको यो समयमा नेपाल त्यसबाट अछुत भने छैन । दैनिक ५ सय मेट्रिक टन तरकारी काठमाडौं बाहिरबाट आउने गरेको छ भने प्याज, फलफूल, कागती भने भारतबाट नै आइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । लकडाउनकाे अवस्थामा विश्व स्वास्थ्य संगठनकाे मापदण्ड अनुसारकाे वातावरण सिर्जना गरेर किनबेच गर्न सक्ने अवस्था कालीमाटी तरकारी बजारमा छैन् । विहान र बेलुकी धेरै चहलपह हुने साे तरकारी बजारमा उपत्यकाकाे प्रमुख हाेलसेल तरकारी बजार हाे । यस्ताे छ तरकारीकाे मूल्य : हाल कालीमाटी तरकारी बजारमा सानो गोलभेडाको प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म रहेको छ ।  सानो गोलभेडा प्रतिकेजी २७ देखि ३२ रुपैयाँसम्म, आलु प्रतिकेजी ३२ रुपैयाँ, सुकेको भारतिय प्याज प्रतिकेजी २९ रुपैयाँ, काउली प्रतिकेजी ३० देखि ३२ रुपैयाँसम्म, मूला प्रतिकेजी १० देखि १५ रुपैयाँसम्म, बन्दा १० देखि १५ रुपैयाँ, गाजर प्रतिकेजी ४५ रुपैयाँ, सिमी प्रतिकेजी ३० देखि ३५ रुपैयाँसम्म, बोडी (तने) प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म, साग (सबै प्रकारका) प्रतिकेजी २० देखि २५ रुपैयाँसम्म, तितो करेला प्रतिकेजी ३० देखि ३५ रुपैयाँसम्म, च्याउ प्रतिकेजी १ सय ४० देखि १ सय ५० रुपैयाँसम्म, कुरीलो प्रतिकेजी २ सय ५५ रुपैयाँ, न्यूरो प्रतिकेजी १ सय ५ रुपैयाँ, अदुवा प्रतिकेजी १ सय २५ रुपैयाँ, सुकेको खुर्सानी प्रतिकेजी २ सय ९० देखि ३ सय रुपैयाँसम्म, काँचो कटहर प्रतिकेजी २५ देखि ३० रुपैयाँ, नेपाली सुकेको लसुन प्रतिकेजी १ सय २५ रुपैयाँ, कागती प्रतिकेजी १ सय ५ रुपैयाँ, गुन्दूक प्रतिकेजी २ सय ९० देखि ३ सय रुपैयाँसम्म रहेको छ । सम्बन्धित समाचार : लकडाउन : कालिमाटी तरकारी बजारकाे मूल्य देखियाे यस्तो अन्तर

नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको छ । गत वैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको सशस्त्र प्रहरी एक महिनापछि नेपाल–चीन सीमा स्तम्भमा पुगेको हो । छाङ्गरुमा सशस्त्र प्रहरीको २५ जनाको टोली रहेको छ । सो टोलीले पहिलो पटक सीमा पिलरसम्म गस्ती बढाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर दार्चुलाका प्रहरी नायब उपरीक्षक दीपक विष्टले जानकारी दिए । सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द नेतृत्वको टोलीले १ नम्बर पिलरसम्म गस्ती गरेको हो । यही असार ३ गते प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले समेत व्यासको छाङ्गरु बीओपीको निरीक्षण भ्रमण गरेका थिए । रासस