काठमाडौं । सेयरको अनलाइन कारोबारमा सहयोगी भूमिका नखेलेको भन्दै पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग रुष्ट भएको छ ।
पूर्ण रुपमा अनलाइन कारोबार गर्न नसकिने अवस्थामा सेयर बजार खुल्ला गर्न अप्ठेरो परे पनि बजार बन्द गराएको आरोप आफूले खेप्नु परेको भन्दै बोर्ड नेप्सेसँग रिसाएको हो । अनलाइन कारोबार संचालनका लागि गर्नुपर्ने आवश्यक सुधार गर्न नसकेको आरोप लगाउदै बोर्डले नयाँ कम्पनी स्थापना गरेर कारोबार सहज बनाउन गृहकार्य थालेको छ ।
नेप्सेले भने अहिलेको प्रणालीबाट नै अनलाइन कारोबार गर्न कुनै समस्या नरहेको र आफूलाई अनावश्यक दोष लगाउने गरिएको आरोप लगाउँदै आएको छ । तर, नेप्सेले अहिले प्रयोगमा ल्याएको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोग गरेर पूर्ण अनलाइन गर्न नसकिने लगानीकर्ता, ब्रोकर र बोर्डको तर्क छ ।
‘नेप्सेको टीएमएसमा ब्रोकर र लगानीकर्ताले गम्भीर प्रश्न उठाएका छन्, सरोकारवालाको जिज्ञासा समाधान गरी अनलाइन कारोबार हुने गरी प्रणालीमा गराउन नेप्सेले सकेन, त्यसैले टीएमएस र क्लियरिङको काम गर्नको लागि बेग्लै सिस्टम डेभलपमेन्ट गर्ने तयारी भएको छ, यसको गृहकार्य ब्रोकरहरुले गरिरहेका छन्,’ बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले भने ।
नेप्सेले अहिले उपलब्ध गराएको प्रणाली प्रयोग गरेर अनलाइन सेयर खरिदविक्री गर्न, बैंक खातामा भएको पैसा किन्नेकोबाट बेच्नेकोमा जान र ब्रोकर, नेप्से र धितोपत्र बोर्डले पाउने कमिसन अनलाइन बाँडफाँड गर्न र इटीडीएस गर्न समस्या भएको सरोकारवालाको भनाइ छ ।
सम्बन्धित सामग्री