दैलेखमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं । सुर्खेतमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सुर्खेतमा उपचाररत एक संक्रमितको मृत्यु भएकाे बताएका हुन् वीरेन्द्रनगरको प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको र उनी लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका गाैतमले बताए । उनकाे असार ४ गते काेराेना पुष्टि भएकाे थियाे । याेसँगै नेपालमा काेराेनाकाे कारण ज्यान गुमाउनेकाे संख्या २४ पुगेकाे छ ।
नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेकाे छ । पछिल्लो २४ घण्टा यता थप ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ५ सय ३८ जनामा कोराेना भाइरस देखिएको बताएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १० हजार ९९ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या २२ सय २४ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २४ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ८६ हजार ३ सय ६६ काे पिसिआर विधि र २ लाख ७१ हजारकाे ५ सय ८४ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ८५ हजार ८ सय १३ जना क्वारेन्टिनमा रहेका छन् भने ७ हजार ८ सय ५२ जना आईसाेलेसनमा रहेका छन् ।
ट्राफिक प्रहरीले जिम्मा लगायाे लकडाउनमा चोरी भएका मोटरसाईकल
काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका ३० वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाबाट सादा पोसाकमा खट्टाईएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु लकडाउनको समयमा पनि खोजतलास गरी सम्बन्धीत धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ । उपत्यकाका म्हैपि, बालकोट, किर्तिपुर, ठमेल, सिनामंगल, बसुन्धारा, नयाँ बजार, बानियाटार, चोभार, कपन, बुढानिलकष्ठ, गोकर्णेश्वर, ठमेल, कुमारीपाटी, नयाँ बसपार्क, केशरमहल, न्यूरोड, टोखा, पुरानो बानेश्वर, ठमेल, ट्रामा सेन्टर, न्युरोड, महाराजगंज, नयाँबस्ती, किर्तिपुर, पशुपती पार्किङ, मण्डिकाटार, भिमसेनगोला र चावाहिल लगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जिम्मा लगाएका हुन् । महाशाखाका प्रमुख भिम ढकालले भने, ‘पार्किङ्ग स्थल, समारोह, अस्पताल लगायत एकान्त ठाउँको पार्किङ्ग स्थल, घरको कम्पाउण्ड तथा गेट बाहिर, लामो समय सम्म पार्किङ्ग गरिने स्थानहरुमा असुरक्षित पार्किङ्ग गरेर, अतिरीक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अबस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ्ग गरेको भनि लापार्वाही गरेर मोटरसाईकल बढी चोरी हुन्छन् ।’ सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न, एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न ढकालले सुझाव दिए । आज श्याम बहादुर खाती, बालकृष्ण श्रेष्ठ, दिपेन्द्र कुँवर, रिना मगर, सञ्जय महत्तो, धन कुमार चेम्जोङ, विश्व कुमार बस्नेत, रोजन श्रेष्ठ, अनिल थापा, पुरन राई, राम कुमार थापा, मिलन सुनुवार (सिन्धुली), संघर्ष स्वणकार, मिमांसा महर्जन, बम बहादुर विश्वकर्मा, अन्त प्रसाद श्रेष्ठ (पाल्पा), राम कुमार शाही, बेल बहादुर सिजाली, दिपेन्द्र प्रधान, नेश थापा, राधा कृष्ण थुवाजु, ओम कृष्ण खड्गी, राजकुमार कार्की, अनिल लामा, आशिष साँउद, राज कुमार मगर, बिक्रम के.सी., गणेश कुमार गिरी, वोजराज श्रेष्ठ र कुमार तामाङका मोटरसाईकलहरु जिम्मा लगाएको हो । महाशाखाले यस आ.व. ०७६/०७७ मा मात्रै चोरी भएका ३०८ वटा मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाईसकेको छ भने ३६ जना व्यक्तीलाई चोरीमा संलग्न भएको कसुरमा पक्राउ गरी आवश्यक कारावाही गरिसकेको छ ।
निजी क्षेत्रको व्यापक दवावपछि राष्ट्रिय सभाको कार्यसूचीबाट हट्यो अख्तियार विधेयक, अब सबै दलको सहमति खाेजिने
काठमाडौं । निजी क्षेत्रको व्यापक दवावपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक २०७७ राष्ट्रिय सभाको आजको कार्यसूचीबाट हटेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजको कार्यसूचीको दुई नम्बर बुँदामा रहेको सो विधेयक कार्यसूचीबाट हटाइएको सभामा जानकारी गराएका हुन् । विभिन्न क्षेत्रका निजी व्यवसायीहरुको दवावले सो विधेयक आजको लागि कार्यसूचीबाट हटाइएको स्राेतकाे दावी छ । सो विधेयक पास भएपछि निजी क्षेत्रमा पनि अख्तियार लाग्ने भन्दै निजी क्षेत्रका व्यवसायीहरु यसको विरोध गर्दै आएका थिए । उनीहरुले आफुहरुको छलफल बिनानै यो विधेयक पास गर्न खोजिएको भन्दै आपत्ति जनाउँदै आइरहेका छन् । विधेयकमा मेडिकल कलेज, कलेज, पब्लिक लिमिटेड कम्पनी, बैंक, वित्तीय संस्थाहरूलाई पनि अख्तियारले अनुसन्धान गर्न पाउने प्रावधान भएसँगै निजी क्षेत्रका व्यवसायीहरुले आफुहरुलाई सरकारले आतंकित बनाउन यो विधेयक ल्याएको धारणा राख्दै आएका छन् । हिजो मात्रै नेपाल उद्योग परिसंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सो विधेयको बारेमा छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले पनि यसको बारेमा आफु छलफल गर्न तयार भएको उनीहरुलाई प्रतिक्रिया दिएका थिए । अब निजी क्षेत्रलाई असहज हुने केही दफाहरुलाई प्रष्ट अर्थात सच्याएर विधेयक पास हुने स्रोतको भनाई छ । उसो त प्रधानमन्त्री ओलीले पनि हिजो व्यवसायीहरुलाई कुन दफामा के कुरा ठीक लागेन के सच्याउनु पर्ने हो भन्ने प्रश्न गरेका थिए । त्यो कुरालाई स्पष्ट पारेर अगाडि बढ्न सक्ने उनको धारणा थियो । आजको बैठकको कार्यसूचीमा रहेको सो विधेयक अन्तिम समयमा आएर हटाइएको हो । अब सबै दलहरूबीच सहमति कायम गर्नका लागि छलफल हुने र सो विधेयक पास गर्ने बताइएको छ । राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयालले दलहरूबीच छलफल भएर दुई दिन पर सारिएको बताए । सबै दलहरुबीच सहमति गर्नको लागि कार्यसूचीबबाट हटाइएको उनकाे भनाई छ । ‘अन्य दलहरुले एक/दुई दिन समय माग गर्नु भयो, अध्यक्षज्युले पनि उहाँहरुलाई एक/दुई दिनको लागि समय दिनु भयो, अब एक दुई दिनपछि पुनः कार्यसूचीमै पर्छ,’ उनले विकासन्युजसँग भने । विधेयकमा सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले भ्रष्टाचार गरी अख्तियार दुरुपयोग गरेमा आयोगले त्यस्तो व्यक्तिउपर यस ऐन वा अन्य प्रचलित कानुनबमोजिम अनुसन्धान गर्न, गराउन वा निजउपर मुद्दा चलाउन वा तत्सम्बन्धी अन्य कारबाही गर्न सक्ने प्रावधान राखिएको छ । सम्बन्धित समाचार: निजी क्षेत्रमा पनि अख्तियार पस्न पाउने गरी कानुन संशोधन गरिदै, लगानीकर्ता भन्छन्ः आतंकित पार्न खोजियो निजी क्षेत्रले बनाउने विकास आयोजनामा पनि अख्तियार लाग्ने, तर्साउन खोजिएको व्यवसायीको बुझाई प्रधानमन्त्री सहमत भए प्रालिबाट अख्तियार हट्ने, बैंक, बीमा र मेडिकल कलेज नछोड्ने
सिद्धार्थ बैंकले ‘क्वीक भुक्तानी’ प्लाटफर्म प्रयोग गर्ने, गर्याे एफवान सफ्टसँग सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाको निमित्त ‘क्वीक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सम्झौता भएको छ । सम्झौता अनुसार, सिद्धाथ बैंकले आफ्ना ग्राहकलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ । ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म युके एड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो । ‘क्वीक भुक्तानी’ यस्तो अनलाईन प्लाटफर्म हो जसले विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता (सप्लायर) हरु, ती सामान तथा सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आवद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ । सप्लायरले, यो प्लाटफर्म प्रयोग गरी, आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछ । यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सबै रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ । अधिकांश कारोबार उधारोमा हुने नेपालको ब्यापारिक परिवेशमा ‘क्वीक भुक्तानी’ एकदमै सांधर्विक र लाभदायक हुने सिद्धार्थ बैंक तथा एफवान सफ्टकाे विश्वास रहेकाे छ । ‘क्वीक भुक्तानी’ ले व्यवसायहरू बीच नगद प्रवाह सुधार गर्न मद्दत गर्दछ, जुन कोभिड १९ महामारीको कारणले अर्थव्यवस्था सुस्ताएको वर्तमान अवस्थामा ज्यादै नै महत्वपूर्ण छ ।
प्रधानमन्त्री ओलीले ५ करोड रुपैयाँको गाडी किन्न लागेका हुन् ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले ५ करोडको गाडी किन्न लागेको खबरबारे प्रश्न उठाएका छन् । रिजालले प्रधानमन्त्रीका लागि खरिद गर्न लागिएको गाडिबारे गृहमन्त्रीसँग जवाफ मागेका हुन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा रिजालले गाडी खरिद प्रक्रिया कोरोना महामारीका कारण फागुनदेखि रोकिएकोमा हालै नेपाल प्रहरीले अगाडि बढाएको खबर प्रकाशन भएसँगै उक्त प्रश्न उठाएका हुन् । ‘असार ३ देखि नेपाल प्रहरीले गाडी खरिद प्रक्रिया अगाडि बढाएको खबर एक राष्ट्रिय दैनिकमा आएको छ, गृहमन्त्रीजी के यो साँचो हो ?’ उनले भने । देशमा कोरोनाले महामारीको रुप लिइरहेको बेला प्रधानमन्त्रीले फजुल खर्च गर्न लागेको उनको टिप्पणी थियो ।
सहुलियतपूर्ण कर्जा र उद्यमशीलता अवसर
नेपाल सरकारले कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न, शिक्षित वेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु श्रृजना गर्न, विदेशबाट फर्किएका युवाहरुले विदेशमा आर्जन गरेको ज्ञान, सीप क्षमता र व्यवसायिक दक्षतालाई अधिकतम उपयोग गर्दै स्वरोजगार बनाउन, महिला उद्यमशीलता विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण एवं प्रवद्र्धन गरी उद्यमशीलता विकास गर्न, आर्थिक रुपमा विपन्न, उच्च र प्राविधिक शीक्षा अध्ययन गरेका वर्गहरुलाई स्वरोजगार बनाउन न्युन लागतमा कर्जा उपलब्ध गराई समाज र रोजगारी श्रृजना गर्न र उद्यमशीलता विकास गर्न सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी कार्यविधि बनाई लागु गरेको छ । नेपाल सरकारले सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी कार्यविधिमा व्यवस्था गरे अनुरुप विभिन्न आठ शीर्षकमा बैंक वित्तीय संस्थाले कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था गरेको छ । व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा बाहेक अन्य शीर्षकमा प्रवाह भएको कर्जामा उक्त परियोजना नै धितोमा रहनु पर्ने व्यवस्था भएको र परियोजनाको मात्र धितोमा कर्जा प्रवाह हुदाँ उच्च जोखिम हुने भएकोले अन्य क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले सक्रिय भएर कर्जा प्रवाह गरेको स्थिति देखिदैन । नेपाल राष्ट्र बैंकले २०७६ साल मंसिर ११ गते परिपत्र जारी गर्दै २०७७ आषाढ मसान्त सम्म कृषि तथा पशुपन्छी कर्जा बाहेक अन्य कर्जा शीर्षकमा ग्रामीण इलाकालाई प्राथमिकतामा राखी वाणिज्य बैंकले ५००, विकास बैंकले २०० र वित्तीय संस्थाले १०० वटा कर्जा न्युनतम प्रवाह गर्नु पर्ने व्यवस्था गरेको थियो । यसरी हेर्दा २०७७ बैशाख महिनामा वाणिज्य बैंकहरुको संख्या २७, विकास बैंकको संख्या २३, र वित्त कम्पनी २२ वटा रहेको अवस्थामा यस वर्षको अन्त्यसम्म कम्तीमा पनि २७ हजार ९ सय ७० जनालाई कृषि तथा पशुपन्छी बाहेकका क्षेत्रमा सहुलियतपुर्ण कर्जा उपलब्ध गराउनु पर्नेमा २०७७ बैशाख मसान्त सम्म यस्तो कर्जा ५ हजार ४ सय २१ जनालाई ३ अर्ब ७० करोड मात्रा प्रवाह भएको र बाँकी अवधिमा समेत राष्ट्र बैंकले तोकेको न्युनतम फाइल संख्या पुरा हुने स्थिति देखिदैन । लेखक यस वर्षमा सहुलियतपुर्ण कर्जा लगानीको वृद्धि भने उत्साहजनक नै रहेको छ । कृषि तथा पशुपन्छी क्षेत्रमा २०७६ आषाढ मसान्तको तुलनामा २०७७ बैशाखमा पुग्दा कर्जा उपयोग गर्ने ऋणीको संख्या ६ हजार ६३ जनाले बृद्धि भएको छ र यस क्षेत्रमा कर्जा रकम समेत १८ अर्ब ५९ करोडले वृद्धि भई कुल लगानी ५० अर्ब ७८ करोड पुगेको छ भने यस्तो कर्जा उपयोग गर्ने ऋणीहरुको संख्या २३ हजार २ सय ६६ पुगेको छ । साथै कृषि कर्जा बाहेक अन्य सहुलियतपुर्ण क्षेत्रको कर्जामा उपयोग गर्ने ऋणीहरुको संख्या यस वर्ष ४ हजार ३ यस २९ जनाले वृद्धि भएको छ र कर्जा रकम भने ३ अर्ब ६ करोडले वृद्धि भएको छ र यस्तो कर्जा कुल लगानी ३ अर्ब ७० करोड पुगेको छ र कर्जा उपयोग गर्ने ऋणीहरुको संख्या ५ हजार ४ सय २१ पुगेको छ । साथै अघिल्लो आ.व.मा नेपाल सरकारले १ अर्ब २५ करोड व्याज अनुदानमा खर्च गरेको छ । यसरी हेर्दा यस क्षेत्रमा कर्जा लगानी उत्साहपद नै रहेको छ तर लगानी भएको कर्जा सही ठाउँमा सदुपयोग भएको छ या छैन सो को अध्ययन हुनु जरुरी छ । नेपाल सरकारले आ.व. २०७७/७८ को बजेट बक्तव्यमा सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत वाणिज्य बैंकले प्रति शाखा कम्तीमा १० तथा विकास बैंकले प्रति शाखा कम्तीमा ५ जनाका दरले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था बजेटमा गरेको छ । २०७७ बैशाख महिनाको अन्त्यमा वाणिज्य बैंकहरुको शाखा ४ हजार २ सय १९ र विकास बैंकको शाखा १ हजार २ सय १६ वटा रहेको छ । यसरी हेर्दा वाणिज्य बैंक तथा विकास बैंकहरुले सहुलियतपुर्ण कर्जा कार्यक्रम अन्तर्गत कम्तीमा पनि ४८ हजार २ सय ७० जनालाई सहुयितपुर्ण कर्जा प्रवाह गरेमा नेपाल सरकारले घोषणा गरेको रोजगारी श्रृजना कार्यक्रममा ठुलै राहत हुने साथै विदेशबाट फर्किको युवाहरुको समेत ठीक व्यवस्थापन हुनेछ । नेपाल सरकारले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सहुलितपूर्ण कर्जा कार्यक्रमको पुनरसंरचना गर्दै दायरा फराकिलो बनाउने र यस्तो कर्जा ५ प्रतिशत व्याजदरमा उपलब्ध गराउने, सहुलियतपूर्ण कर्जाको सुरक्षण र व्यवसाय बीमा प्रिमियमको ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था मिलाउने र व्याज, कर्जा सुरक्षण तथा बीमा प्रिमियम अनुदानको लागि रु १३ अर्ब ९६ करोड विनियोजन गरेको छ । यसरी विनियोजन भएको रकम सदुपयोग भई ठीक ढंगले प्रयोग भएमा समाजमा रोजगारी श्रृृजना गर्न र कृषि उत्पादनमा आत्म निर्भर बन्न सकिने निश्चित छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियतपुर्ण कर्जा अन्तर्गत प्रवाह भएको कर्जालाई कर्जा निक्षप अनुपात गणना गर्दा समावेश गर्नु नपर्ने गरी छुट दिएका छ तर तरलता अनुपात बीस प्रतिशत कायम गर्नु पर्ने व्यवस्थामा परिवर्तन नभएकोले कर्जा निक्षेत अनुपातमा मात्र छुट भएकोले बैंक वित्तीय संस्थाहरु यस क्षेत्रको कर्जामा आकर्षित भएको पाइदैन । यसर्थ यस वर्षको मौद्रिक नीतिमा तरलता सम्बन्धी व्यवस्थामा पुनरविचार गरिएमा बैंक वित्तीय संस्थाले समेत आक्रमक रुपमा यस क्षेत्रमा कर्जा विस्तार गर्ने थिए र समाजमा रोजगारी श्रृजनामा एउटा दरिलो भरोषा हुने थियो । गत महिनाको तथ्याकं हेर्दा विप्रेषण आप्रवाह ६.१ प्रतिशतले घटेका छ । विश्व नै प्रतिकुल अवस्थामा रहेको र विभिन्न राष्ट्रले श्रम शक्ति कटौती गर्दा आगामी दिनमा वैदेशिक रोजगारीमा रहेको नेपालीहरु स्वदेश फर्किदा विप्रेषण आप्रवाहमा भारी गिरावट आउने निश्चितै छ । हाल विदेशी मुद्राको सञ्चितिमा वृद्धि भएको तथ्याकं सार्वजनिक भएको छ । हालको विषम अवस्थाले देशमा अत्यावश्यक बाहेकका क्षेत्रको आयात ठप्प भएकोले विदेशी मुद्रा सञ्चिति केही वृद्धि भएको देखिएता पनि आगामी दिनमा भने विप्रेषणमा आउने गिरावट र आयातमा हुने वृद्धिले विदेशी मुद्रा सञ्चितिमा कमी आउने र अन्तराष्ट्रिय व्यापारमा समेत समस्या श्रृजना गर्न सक्ने स्थिति देखिन्छ । विभिन्न राष्ट्रहरुले विकास खर्चमा गरेको कटौतीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरु समेत रोजगारी विहीन हुने र नेपाल फर्किने निश्चित छ । यसरी विदेशबाट फर्किएको युवाहरुको सही व्यवस्थापन भएन भने समाजमा ठुलै समस्या उत्पन्न हुने जोखिम त्यतिकै छ । यसर्थ विदेशबाट फर्किएको तथा स्वदेशमै ज्ञान क्षमता र दक्षता भएको युवाहरुको व्यवस्थापन गर्न सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सकिएमा रोजगारी श्रृजनामा ठुलै राहात हुने छ । कृषि क्षेत्रमा आत्मनिर्भर बन्नको लागि सुवर्ण अवसर प्राप्त भएको छ । नेपालबाट वर्षेनी भारतमा जाने ३ खर्ब भन्दा बढीको विप्रेषण समेत रोकिने र नेपाल अझ बढी आत्मनिर्भर बन्न सक्ने देखिन्छ । बैंक वित्तीय संस्थाहरुले यस तर्फको कर्जा प्रक्रियालाई सरलीकरण गर्न आवश्यक छ । परियोजनाको धितोमा प्रवाह हुने कर्जाको जोखिम उच्च हुने भएकोले बैंक वित्तीय संस्थाहरु यसतर्फ आकर्षित भएको पाइदैन । कर्जा निष्कृय भएमा निक्षेप तथा कर्जा सुरक्षण कोषले बीमा रकम भुक्तानी प्रक्रियालाई सरलीकरण गर्न आवश्यक छ । बीमाको रकम भुक्तानी प्रक्रिया झन्झटिलो भएको र धितो समेत नहुने भएकोले बैंक तथा वित्तीय संस्था यस तर्फ आर्षित नभएको अवस्थामा बाध्यकारी व्यवस्था गर्नु भन्दा प्रक्रिया सरलीकरण भएमा तोकिएको न्युनतम संख्या भन्दा अधिक कर्जा प्रवाह हुने र समाजमा रोजगारी श्रृजनामा ठुलै राहत हुनेछ । यसर्थ आजको विषम परिस्थितिमा सबैले आआफ्नो क्षेत्रमा सक्दो सहयोग गर्न आवश्यक छ । सहुलियतपुर्ण कर्जा ज्ञान सीप क्षमता भएका युवाहरुलाई उद्यमशीलता तर्फ आकर्षित गर्न महत्वपूर्ण औजार बन्न सक्दछ । विदेशबाट फर्किएको युवाहरुको सही व्यवस्थापन भएमा उनीहरुले सिकेको ज्ञान, सीप र दक्षताको सही उपयोग भई उत्पादकत्व बढ्ने निश्चित छ । स्वःउत्पादनले आत्मनिर्भर बन्न सक्ने सुवर्ण मौका छ । भएका स्रोत साधनको अधिकतम उपयोग गरी न्युन लागतमा उत्पादन गर्न र विदेश निर्यात गर्न सक्ने सम्भावना समेत उत्तिकै छ । यसर्थ उद्यमशीलता विकास गर्न सबैले आआफ्नो ठाउँबाट योगदान दिनु पर्ने देखिन्छ । पोखरा
‘यातायात व्यवसायी गाडी गुडाउन तयार, गाडी सडकमा निकाल्ने वातावरण सरकारले गर्नुपर्छ’
काठमाडौं । सार्वजनिक यातायात सञ्चालन गर्नको लागि यातायात व्यवसायी तयार भएका छन् । तर, त्यसका लागि सरकारले उचित व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न लामो समयको लकडाउनले अहिले यातायत क्षेत्र धेरै समस्यामा परेको छ । सरकारले लकडाउन खुकुलो बनाएर सरकारी कार्यालय, केही उद्योग व्यवसाय सञ्चालन गर्न निर्देशन दिएपनि सार्वजनिक यातायात भने विगत ३ महिनादेखि ग्यारेजमै छन् । केही जोर बिजोर निजी सवारी साधनहरु सडकमा गुडेपनि सार्वजनिक सवारी साधनहरु वेवारिसे अवस्थामा ग्यारेज्मै थन्किएका छन् । तीन महिनादेखि ग्यारेजमै समस्याग्रस्त किसिमले रहेका सवारी साधनलाई सडकमा निकाल्न सरकारले व्यवस्थापन र उचित प्रवन्ध मिलाए आफुहरु गाडी चलाउन तयार भएको यातायात व्यवसायीहरुको भनाई छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले तीन महिनादेखिको ग्यारेजमै थन्केका सवारी साधनहरु सडकमा ल्याउने व्यवस्था मिलाए आफुहरु गाडी चलाउन तयार भएको बताए । ‘गाडी ग्यारेजमै थन्केको ३ महिना भइसकेको छ, यही समयमा बैंकले पनि ताकेता गरिहरेको छ, सरकारले यी विभिन्न समस्याहरु सुनुवाई गर्यो भने हामी गाडी चलाउन तयार छौं,’ उनले भने । उनले आफुहरु सरकारले बजेटमा भनेका कुराको पखाईमा पनि रहेको बताए । सरकारले भोलिदेखि गाडी चला भन्यो भने हामी तयार हुन सक्दैनौं, उनले भने,‘गाडी चलेपछि खर्च उठ्नु पर्यो हामीले राखेका स्वास्थ्यका सर्तहरु सरकारले पुरा गरे गाडी चलाउन तयार छौं ।’ धेरै गाडी ग्यारेजमै कुहिसकेकोले त्यसको मर्मत सम्भारमा पनि सरकारले सहयोग गर्नुपर्ने उनले बताए । विभिन्न समयमा सरकारी अधिकारीहरुसँग सवारी साधन चलाउने बारे छलफल भइरहेपनि अहिलेसम्म निश्कर्ष भनइनसकेको उनको भनाई छ । यातायात व्यवसायीहरु र मजदुर संगठनले यातायात सञ्चालन गर्नको लागि विभिन्न स्वास्थ्य सुरक्षाका मागहरु राखेका छन् । उनीहरुले पर्याप्त मात्रामा उपयुक्त व्यक्तिगत सुरक्षाजन्य सामग्रीहरू उपलब्ध गराउनुपर्ने, काम गर्नका लागि उपयुक्त वातावरण हुनुपर्ने, सामाजिक दूरी कायम गर्न सहयोग पुग्नुपर्ने माग राख्दै आएका छन् । तर, सरकारी पक्षले थाहै नदिई एकलौटी तरिकाले मापदण्ड तयार गरेको उनीहरूको भनाइ छ । यस्तै, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले मन्त्रिपरिषद्ले सार्वजनिक यातायातलाई खोल्ने निर्णय गरे आफुहरु तयारी अवस्थामा रहेको बताए । यातायात सञ्चालन गर्ने गर्ने बारे काम तीव्र रुपमा भइरहेको उनले बताए । विश्व स्वास्थ्य संगठनले तोकेको सर्तअनुसार यातायात सञ्चालन मापदण्डको मस्यौदा तयार भइसकेको बताउँदै उनले अझै तयारी गर्न धेरै विषय बाँकी रहेकाले केही निश्चित ठाउँमा खुलाउन सकिने सम्भावना रहेको बताए । हमालले सिट क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्ने, सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने, गाडीमा बस्ने सबैले स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्ने लगायतका प्रस्तावसहित निर्देशिका तयार गरेको बताएका छन । तर त्यो निर्देशिकामा व्यवसायीले असहमति जनाएका छन् । सरकारले भाडा वृद्धि गर्ने मात्र नभई अनुदानको व्यवस्था पनि गर्नुपर्ने महासंघको माग छ । ‘गाडी सञ्चालनमा आएपछि २० सिटे गाडीले १० जना मात्र बोक्न सक्छ, यस्तो अवस्थामा सरकारले लगानी र खर्चको पक्ष हेरोस्, मजदुरलाई तलब भत्ता दिनैपर्छ, बैङ्कको किस्ता तिर्नैपर्छ, अनि आधा मात्र यात्रु राखेर सवारी चलाएबापत हामीलाई के ? सरकारले यो पक्षमा पनि हेरोस्, हामी गाडी चलाउन तयार छौं,’ सिटौलाले भने । ६० प्रतिशतको रोजगारी धरापमा सिटौलाले गाडीहरु ग्यारेजमै थन्किदा ६० प्रतिशत मानिसहरुको रोजगारी धरापमा परेको बताएका छन् । नेपालमा ४ लाखभन्दा बढी सवारीसाधन दर्ता भएको बताउादै ती सवारी साधनहरुम ६० प्रतिशत मानिसले रोजगारी पाएको उनको भनाई छ। अहिले ती सबैको रोजगारी संकटमा परेको उनले बताए । सवारी साधनमा कुल १० खर्ब लगानी भएको उनको भनाई छ। त्यसमा ८० प्रतिशत बंक र २० प्रतिशत लगानी स्वयमं व्यवसायीको रहेको उनले बताए ।