शादी डट कम: भारतीय डेटिङ साइटमा छालाको रङ्ग जानकारी दिनु पर्ने प्रावधान हटायाे
काठमाडाैं । दक्षिण एशियाली विवाहसम्बन्धी वेबसाइट शादी डट कमले उसको वेबसाइटमा रहेको छालाको रङ्ग जनाउने एउटा प्रावधानमाथि विरोध भएपछि हटाएको छ । सो सुविधा हटाउन डालस अमेरिकाबाट हेटल लखानीले अनलाइन विरोध अभियान सुरु गरेकी थिइन् जसबाट अन्ततस् कम्पनी उक्त प्रावधान हटाउन बाध्य भयो । अमेरिकामा भइरहेको जातिवादी विरोध प्रदर्शनहरूको सन्दर्भमा एक अर्की प्रयोगकर्तासँग छलफल गरेर हेटलले अभियान सुरु गरेकी थिइन् । शादी डट कमले उक्त प्रावधानले ,’कुनै उद्देश्यलाई बल पुर्याएको थिएन,’ भन्दै त्यो ‘हटाउन बिर्सेको एक प्रकारको फोहोर मात्र थियो’ भनेको छ । उक्त वेबसाइट प्रयोगकर्ताले उनीहरूको आफ्नो छालाको रङ्ग कस्तो छ भनेर जानकारी हाल्नुपर्ने प्रावधान थियो । जीवनसाथीको खोजी मेघन नागपालले उक्त वेबसाइट प्रयोग गरेर भारतीय मूलको जीवनसाथी खोज्न चाहन्थिन् । तर त्यसमा रहेको छालाको रङ्ग सम्बन्धी प्रावधानबारे उनले एउटा फेसबुक समूहमा कुरा राखिन् जहाँ हेटल पनि सदस्य छिन् । हेटलले त्यो त अति भयो भनेर विरोध शुरू गरेको बताइन् । ‘१४ घण्टामै १,५०० जनाले हस्ताक्षर गरे। हामीले यस्तो काम गर्यौँ भनेर कैयौँले खुशी व्यक्त गरे ।’ मेगन र हेटल भन्छन् ( त्यसपछि शादी डट कमले उनीहरूलाई ट्विटरमा त्यसबारे प्रतिक्रिया दियो र त्यसै रात प्रावधान हटायो । हेटलले भनिन्, ‘हामीसँग कैयौँ बीए एमए गरेका तर बिहे नगरेका व्यक्ति छन्। छालाको रङ्गकै कारण बिहे हुन नसक्ने हो भने त्यो त राम्रो भएन ।’ मेगनले भनिन्, ‘यो दक्षिण एशियाली समुदायमा एउटा समानतामुखी सानो पाइला मात्र हो ।’ दक्षिण एशियामा रङ्गको मोह अमेरिकामा काला जातिका जोर्ज फ्लोइडको मृत्युमा उठेको विरोध सन्दर्भमा दक्षिण एशियामा रहेको रङ्ग मोह पनि चर्चामा आएको छ । भारतीय नायक र नायिकाहरू एकातिर गोरोपनसम्बन्धी क्रिमको विज्ञापन गर्ने र अर्कोतिर ब्ल्याक लाइभ्स म्याटरु भन्ने अभियानको समर्थन गर्ने गरेकोमा विरोधाभाष भएको भन्दै आलोचना भएको छ । दक्षिण एशियाली समुदायमा खासगरी अलि उमेर ढल्केको पुस्ताले महिलाहरूको सन्दर्भमा ‘उनी कति गोरी र सुन्दरी’ भन्ने टिप्पणी गर्ने गर्छन् । त्यो थाहा नपाई पालिएको पूर्वाग्रह हो । हेटलले अन्तर्राष्ट्रिय पहुँच भएको त्यस्तो संस्थाले जिम्मेवार हुनुपर्ने बताइन् । पूर्वाग्रह ‘मान्छेहरूमा पूर्वाग्रह हुन सक्छ तर कम्पनीले त्यस्तो संस्कृतिलाई बढावा दिनु हुँदैन ।’ शादी डट कमका बजार निर्देशकले बीबीसीलाई भने, ‘प्रेम जुनसुकै रङ्गका व्यक्तिबीच हुने हामीलाई विश्वास छ । र हामी भारतमा त्यस्ता व्यक्तिबीच सम्बन्ध बनाएको भन्ने प्रतिनिधित्व गर्न पाउँदा गौरव गर्छौँ ।’ प्रिया (नाम परिवर्तन)ले अरू साइटबाट छालाको रङ्गकै कारण अस्वीकृत भएपछि शादी डट कमबाट आफ्ना श्रीमान फेला पारेकी हुन् । उनले बीबीसी एशियन नेटवर्कलाई भनिन् ‘मेरो छालाको रङ्ग कालो छ त्यसैले शादी डट कममा छालाको रङ्ग सम्बन्धी जवाफ धेरै सोचेर गहुँगोरो भनेकी थिए ।’ ‘मेरी सासु हाम्रो बिहेको कडा विरोधमा थिइन् किनभने उनका छोरा सुन्दर र गोरा छन् जबकी म काली छु । उनको पुस्ता रङ्गका आधारमा सुन्दरता हेर्थ्यो जुन मैलै सधैं घृणा गरे । मैले मेरो रङ्ग परिवर्तन गर्न सक्दिन त्यसैले रङ्ग सम्बन्धी तर्कले मलाई पीडा दिन्छ ।’ (बीबीसी नेपालीबाट)
विश्वमा कोरोना संक्रमित ९३ लाख ४३ हजार माथि, ५० लाख ३६ हजारभन्दा बढी उपचार पछि निको
काठमाडौं । नेपाली समयअनुसार विहान ६ बजे सम्ममा संसारभरका ९३ लाख ४३ हजार २ सय २० जना मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४ लाख ७८ हजार ९ सय २० पुगेको छ, भने ५० लाख ३६ हजार बढी विरामी उपचार पछि निको भइ घर फर्किएका छन् । अमेरिकामा कोरोनाबाट १ लाख २३ हजार ४ सय ७३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २४ लाख २४ हजार १ सय ४४ जना रहेका छन् । त्यसैगरी छिमेकी देश भारतमा कूल कोरोना संक्रमितको संख्या ४ लाख ५६ हजार ६२ पुगेको छ भने अहिलेसम्म १४ हजार ४ सय ८३ जनाको मृत्यु भइसकेको छ । हालसम्म नेपालमा १० हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ हजार २ सय २४ जना निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
सुदूरपश्चिम प्रदेशमा कुल सङ्क्रमितमध्ये ६८ प्रतिशत युवा, २० देखि २९ वर्षका सबैभन्दा बढी
भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना सङ्क्रमण युवामा देखिएको छ । कुल सङ्क्रमितमध्ये ६८.५२ प्रतिशत युवा रहेका छन् । . सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको नौ वटै जिल्लामा गरी सोमबारसम्म एक हजार १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सबैभन्दा बढी सङ्क्रमित २० देखि २९ वर्षका छन् । सो उमेर समूहका ५२७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यसैगरी ३० देखि ३९ वर्ष उमेर समूहका २५७, १० देखि १९ वर्ष उमेर समूहका १३८, ४० देखि ४९ वर्ष उमेर समूहका ९६, ५० देखि ५९ उमेर समूहका ४०, ६० देखि ६९ वर्ष उमेर समूहका ११ र ७० देखि ७९ वर्ष उमेर समूहका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार १८ जना सङ्क्रमितको उमेर समूह खुलेको छैन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले धेरै जसो सङ्क्रमण विदेश र त्यसमा पनि भारतबाट आएकामा देखिएकाले युवाको सङ्ख्या बढी भएको बताए । उनले भने, “रोजगारीका लागि जानेहरू अधिकांश युवा उमेरका छन्, अहिले विदेशबाट फर्किनेमा बढी केस देखिएकाले युवाको सङ्ख्या धेरै देखिएको हो ।” “बालबालिका र वृद्धवृद्धाहरुलाई सङ्क्रमण जोखिम भनिएपनि हामीकहाँ लाखौं युवाहरु रोजगारीका लागि भारत गएर फर्किएका छन्”, उनले भने, “अहिलेसम्म समुदायमा सङ्क्रमण फैलिइसकेको छैन ।” उनले भारतबाट युवा पुस्ता कोरोना लिएर फर्किएको बताए । “केही दिनअघि अत्तरीयाका बस व्यवसायीको भने अलपत्र यात्रुहरुको उद्दार तथा हिड्डुल गर्दा कोरोना सङ्क्रमण देखिएर मृत्यु भयो ।” डा. अवस्थीले भने, “सुदूरपश्चिममा दुबईबाट फर्किएका धनगढीका युवकका भाउजुमा मात्रै स्थानीय सङ्क्रमण देखिएको थियो, उनी निको भएर घर फर्किसकेको अवस्था छ ।” भारतबाट सुदूरपश्चिम प्रदेशमा जेठ महिनामा वैध नाकाबाट मात्रै एक लाख नागरिक स्वदेश फर्किएको सरकारी तथ्याङ्क छ ।सङ्क्रमण पुष्टि भएका बिरामीहरु आइसोलेसन, क्वारिन्टन र होम क्वारिन्टनमा छन् । भारत लगायत अन्यत्रबाट आएका २९ हजार ९२८ जना यहाँका ८८ वटा स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारिन्टनमा बसिरहेका छन् । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालका कोभिड–१९ का सम्पर्क व्यक्ति डा. सरोज आचार्यले अस्पतालमा सङ्क्रमित आउने र निको भएर जाने क्रम चलिरहेको बताए । “अहिलेसम्म उपचारमा रहनुभएका सबैको अवस्था सामान्य नै छ”, उनले भने, “सोमबारसम्म ४४ जना निको भएर फर्किसकेका छन् ।” उनले क्वारिन्टनमा रहेकाहरुको कोरोना परीक्षण भएकाले पनि युवा पुस्तामा बढी देखिएको बताए । “क्वारिन्टनमा बस्ने भनेका अधिकांश भारतबाट फर्किनेहरु छन्”, उनले भने, “यहाँ समुदायमा सङ्क्रमण फैलिएको छैन ।” सुदूरपश्चिमका कैलालीमा तीन र बाजुरामा एक गरी चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । पीसीआर विधिबाट कोरोना परीक्षणका लागि १७ हजार ६११ जनाको स्वाब लिएकोमा ११ हजार पाँच जनाको परीक्षण गरिएको छ । “धनगढीको प्रयोगशालामा दैनिक २५० जनासम्मको मात्रै परीक्षण गर्न सकिन्छ”, निर्देशनालयका निर्देशक डा. अवस्थीले भने, “पछिल्लो समय चाप बढेपछि जनस्वास्थ्य प्रयोगशाला टेकुमा समेत स्वाब परीक्षणका लागि पठाइरहेका छौं ।”त्यसैगरी यहाँ ९६ हजार २४२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएकोमा हालसम्म ७ हजार ४९४ जनामा कोरोना पोजेटिभ देखिएको निर्देशनाले जनाएको छ । पीसीआर र आरडीटी गरी दुवै विधिबाट यहाँ कोरोना परीक्षण गरिँदा सबैभन्दा बढी सङ्क्रमित कैलालीमा देखिएको निर्देशनालयले जनाएको छ । सङ्क्रमितहरुको सङ्ख्या हेर्दा सुदूरपश्चिमको डडेल्धुरा दोस्रो स्थानमा छ । कोभिड–१९ डडेल्धुराका सम्र्पक व्यक्ति हरिप्रसाद भट्टले डडेल्धुरामा २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । “तीन जना बाहेक सबै भारतबाट फर्किएकाहरुमा कोरोना देखिएको छ”, उनले भने–“डडेल्धुरा अस्पतालमा अहिले पीसीआर मेसिन जडान कार्य चलिरहेको छ ।” उनले आगामी एक सातामा डडेल्धुरामा कोरोना परीक्षण गर्ने गरी जडान कार्य चलिरहेको बताए । रासस
टोखालाई चिनाउन स्थानीय पाठ्यक्रम निर्माण
काठमाडौं । टोखा नगरपालिका स्थानीय पाठ्यक्रम निर्माणमा जुटेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाले नगरपालिकाभित्रका बालबालिकालाई टोखाबारे चिनाउनका लागि स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलको संयोजकत्वमा रहेको समिति स्थानीय पाठ्यक्रम निर्माणमा जुटेको हो । नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा नगरपालिकाका बालबालिकालाई टोखाबारे चिनाउन ५० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको जानकारी दिए । स्थानीय पाठ्यक्रमभित्र टोखाको चिनारी, यहाँको जीवनशैली र संस्कार, परम्परागत ज्ञान, सीप र प्रविधि समेटिने छ । समितिले किताब लेखनको कार्यसमेत अगाडि बढाएको शिक्षा शाखा प्रमुख गौतमले बताए । पाठ्यक्रम निर्माणका लागि टोखाले आर्थिक वर्ष २०७६/७७ मा रु दुई लाख रकम विनियोजन गरेको थियो । यस्तै टोखाले बन्दाबन्दीको समयमा टोखाका बालबालिकालाई शिक्षा प्रदान गर्न ‘रेडियो पाठशाला’ सञ्चालन गरेको छ । रेडियोमार्फत टोखाका बालबालिकालाई शिक्षा प्रदान गर्न यही असार १ गतेदेखि टोखा–१ फूलबारीमा रहेको हरपल एफएमबाट रेडियो पाठशाला सञ्चालन गरेको हो । टोखाले कक्षा ७, ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर बिहान ७ बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म रेडियोमार्फत कक्षा सञ्चालन गर्दै आएको छ । टोखामा आठ सामुदायिक, ८४ संस्थागत र ३५ मन्टेश्वरी विद्यालय सञ्चालनमा रहेका छन् ।
प्रतिनिधिसभामा भन्सार विधेयक पेश
काठमाडौं । प्रतिनिधिसभाको आजको वैठकमा ‘भन्सार विधेयक, २०७७’ पेश भएको छ । वैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सो विधेयक पेश गरेका हुन् । त्यसअघि सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । विधेयकका सम्बन्धमा सांसदले उठाएको प्रश्नको जवाफ दिदैं मन्त्री डा खतिवडाले अन्तरराष्ट्रियस्तरको भन्सार प्रणाली विकास गर्न विधेयक प्रस्तुत गरिएको बताए । उनले नेपाल विश्व व्यापार सङ्गठनमा आबद्ध भएकाले अन्तरराष्ट्रिय व्यापारको सिद्धान्त र कार्यविधि अनुरुप नेपालको भन्सारलाई अध्यावधिक गर्नुपर्ने तथा भन्सार छुटजस्ता विषयलाई विधेयकले सम्बोद्धन गरेको उल्लेख गरे । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभामा उत्पत्ति भएको पाँच विधेयक राष्ट्रियसभाबाट पारित भएको सन्देशको जानकारी गराएका थिए । ती विधेयकमा ‘विनियोजन विधेयक, २०७७’, ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’, ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७’ र ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७’ रहेका छन् । त्यस्तै बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७’ पेश गरेका थिए । प्रतिनिधिसभाको अर्को वैठक यही असार १७ गते अपरान्ह १ बजे बस्नेछ ।
नागरिक लगानी कोष विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७६’ लाई पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेकाे उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । यसअघि विधेयकका सम्बन्धमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री डा. खतिवडाले शुरुमा राष्ट्रसेवक कर्मचारीको बचतलाई प्रोत्साहित गर्न र अवकासपछिको आर्थिक जीवनलाई सहज तुल्याउन कोषको व्यवस्था गरिएको बताए । उनले कोषको दायरालाई क्रमशः बढाउँदै लैजानुपर्ने अवस्था रहेको तथा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषसँग नबाझिनेगरी विधेयक संशोधन गरिएको जानकारी दिए । त्यसअघि विधेयकको सैद्धान्तिक पक्षको छलफलमा भाग लिँदै सांसद दिब्यमणिराज भण्डारी, प्रदीप गिरी, प्रेम सुवाललगायतले सरकार र नागरिकले विश्वास गरेर जम्मा हुने कोषको रकमलाई शिक्षा, स्वास्थ्य, जलविद्युत् र कृषिलाई प्राथमिकता दिएर उपयोग गर्नुपर्ने बताउनुभयो । नागरिकको सरोकार र सम्मानको अवसरलाई ध्यान दिएर कोषको रकम सदुपयोग गरिनुपर्नेमा पनि उहाँहरुले जोड दिए । रासस
भारतीय सीमा सुरक्षामा खटिएका नेपालीकाे गाेली लागेर मृत्यु, काे हुन् उनी ?
काठमाडाैं । भारतीय सीमा सुरक्षामा खटिएका एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक सोमबार बिहान भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो । भारतीय सेनाले युद्धविरामलाई उल्लंघन गर्दै सोमबार बिहान करिब साढे पाँच बजेतिर पाकिस्तानतर्फबाट भएको गोलीबारीमा परेर जम्मू–कश्मीरको नौसेरा क्षेत्रको रजौरी जिल्लामा खटिएका हवलदार दीपक कार्कीको मृत्यु भएको जनाएको छ । गोलीबारीमा गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मृत्यु भएको हो । ३७ वर्षीय कार्की गुल्मी जिल्ला निवासी भएको भएको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुले कार्कीको पार्थिव शरीरलाई मंगलबार दिउँसो गोरखपुरमा लगिने र करिब चार बजे त्यहीँको राजघाटमा अन्तिम संस्कार गरिएकाे छ । भारतीय सेनाको ड्युटीमै रहेका बेला नेपाली नागरिकको मृत्यु भएको पछिल्लो घटना पहिलो भने होइन । गत वर्ष मंसिरमा पनि जम्मू–कश्मीरमै खटिएका गोरखाको रिप गाउँका २५ वर्षीय अर्जुन थापामगरले पनि दोहारो गोलीबारीमा परेर ज्यान गुमाएका थिए ।
लोकसेवा आयोग विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेकाे उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । विधेयकका सम्बन्धमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री डा तुम्बाहाङ्फेले सङ्घिय निजामती सेवालाई स्वच्छ निश्पक्ष बनाई सार्वजनिक सेवालाई चुस्त र पारदर्शी बनाउन विधेयकले भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले सरकारी सेवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनालगायतका लागि लिइने लिखित परीक्षाको विधि र प्रणालीलाई निष्पक्ष र पारदर्शी बनाउन तथा सेवामा विभेदको अवस्था नहोस् भन्ने जस्ता विषयलाई विधेयकले समेटेको जानकारी दिए । त्यसअघि विधेयकको सैद्धान्तिक पक्षको छलफलमा भाग लिँदै सांसद मीनबहादुर विश्वकर्माले लोकसेवाले देशका सबै भेग र समुदायका मानिसलाई समेट्ने ऐन कानून बन्नुपर्छ भनेर लामो समयदेखि कुरा उठाउँदै आएको बताए । सांसद दीलेन्द्रप्रसाद बडूले तीन तहको राज्य व्यवस्थामा लोकसेवा आयोगको विधेयक सान्दर्भिक छ भन्दै संवैधानिक आयोगको विश्वसनीयता र निष्पक्षतालाई जोड दिइनुपर्ने धारणा राखे । अर्का सांसद सञ्जयकुमार गौतमले सार्वजनिक सेवालाई निष्पक्ष र पारदर्शी बनाइनुपर्ने बताए । सांसद प्रेम सुवालले निजामती सेवालाई समावेशी र प्रतिस्पर्धी बनाइनुपर्ने र आयोगको गरिमालाई कायम राखिनुपर्नेमा जोड दिए । सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) विधेयक पारित यसैगरी प्रतिनिधिसभाको आजको बैठकले सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) विधेयक, २०७७’ लाई बहुमतले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेकाे उक्त विधेयक बहुमतले पारित गरेको हो । विधेयकका सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैँ मन्त्री डा तुम्बाहाङ्फेले संविधानमै व्यवस्था भएको सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार उपयोग र प्रभावकारिताका लागि विधेयकले प्रावधान समेटेको र यसको कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । विधेयकले तीन तहको सरकारको अन्तरसम्बन्धलाई व्यवस्थित गर्न विशेष ध्यान दिएको उनले उल्लेख गरे । त्यसअघि विधेयकको सैद्धान्तिक पक्षको छलफलमा सहभागी सांसदद्वय पुष्पा भुसाल र सुजाता परियारले विधेयकले राजनीतिक जटिलता र संवैधानिक झन्झटलाई ननिम्त्याउने प्रावधान राख्न सुझाए । सांसद महेश बस्नेतले तीन वर्षदेखि अभ्यासमा रहेको सङ्घीय शासन प्रणालीलाई थप प्रभावकारी बनाई कार्यान्वयनका लागि विधेयकले सहयोग पुग्ने विश्वास व्यक्त गरे । सांसद उमा अधिकारीले जिल्ला समन्वय समितिको भूमिकालाई प्रभावकारी बनाउने व्यवस्था विधेयकमा समेट्न माग गरे भने सांसद प्रेम सुवालले तीन तहको सरकारलाई थप प्रभावकारी बनाउन विधेयकले सहयोग पुग्ने बताए ।सांसद रामकुमारी झाँक्रीले सङ्घीय शासन व्यवस्थालाई थप प्रभावकारी बनाउन र केन्द्रदेखि तल्लो तहसम्मको विकास कार्यक्रमलाई परिणाममुखी बनाउन विधेयक उपयोगी हुने बताए । रासस