पासको दुरुपयोग गरी यात्रु ओसारपसार गर्ने दुई पक्राउ
काठमाडौं । सवारी पास दुरुपयोग गरी यात्रु ओसारपसार गर्ने दुई जना चालकलाई आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले पास दुरूपयोग गर्ने दुई चालकलाई पक्राउ गरी कारवाही थालेको छ । पक्राउ पर्नेमा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख २२८५ नम्बरको बसका चालक बाँके कोहलपुर नगरपालिका–२ का ३७ वर्षीय सूर्यकिरण कर्माचार्य र कैलालीबाट काठमाडौँ आउँदै गरेको ना६ख १३४० नम्बरको बसका चालक कैलाली गोदावरी–१ का ३१ वर्षीय लोकबहादुर खत्री रहेका छन् । कर्माचार्यले भारतबाट आएका नेपालीलाई विभिन्न जिल्लामा पु¥याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पास बोकी रुपेडिया नाकाबाट तीन जना यात्रु तथा नेपालगञ्जबाट चार जना यात्रु ल्याएको फेला परेको छ । उनले उनीहरुबाट रु २१ हजार असुलेको पाइएको छ । खत्रीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय काठमाडौँबाट कृषि तथा पशुपक्षीजन्य कार्य गर्न जारी भएको पास बोकी कैलालीबाट १२ जना यात्रु ल्याएको पाइएको छ । उनले रु १८ हजार भाडा लिएको पाइएको छ । सरकारले कोभिड–१९ रोकथामका लागि सङ्क्रामक रोग २०२० को दफा २ अन्तर्गत एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न अनिवार्य रुपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सवारी पास लागू गरेको छ । सोही सन्दर्भमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको २०७७ जेठ २८ गतेको निर्णय नं १ (ड) मा यात्रुवाहक सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने व्यवस्थासमेत गरेकामा ती चालकहरुले भाडा असुल गरी यात्रु ओसारपसार गरी कोभिड–१९ रोगको जोखिमलाई बेवास्ता गरेको पाइएको छ । उनीहरुविरुद्ध सङ्क्रामक रोग ऐन, २०२० मा उल्लेखित कानूनी व्यवस्थाको उल्लङ्घन गरेकाले आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । रासस
सवारी साधन किन्न खोज्नेलाई सुवर्ण अवसरः मासिक ८ हजार ८ सय किस्तामै नयाँ कार, बाइक पुरै उधारोमा
काठमाडौं । कोरोना भाइरस संक्रमण (कोभिड १९) नियन्त्रण र रोकथामका लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी रुपमा लागू गरेको लकडाउनले नयाँ सवारीसाधन किन्न चाहनेलाई अवसर बनेर आएको छ । सरकारले जारी गरेको लकडाउन जेठ २५ देखि खुकुलो बन्दै गएपछि दुई पांग्रे तथा चार पांग्रे सवारी साधनको आधिकारिक नेपाली विक्रेताले आकर्षक योजना ल्याएका छन् । यस्ता योजनामा मासिक १० हजार रुपैयाँ किस्तामा नयाँ कार पाइनेदेखि एक रुपैयाँ पनि डाउनपेमेन्ट नगरी बाइक किन्न पाइने स्कीम छन् । सरकारले साढे २ महिनाभन्दा लामो समयदेखि बजार बन्द गराएको कारण केही सहज भएसँगै सवारी साधन विक्रेता आक्रामक ढंगले बजार विस्तारमा लागेका हुन् । सरकारले जारी गरेको लकडाउनको समयमा उद्योग व्यवसायको लागि कर्जाको माग हुन छोडेपछि बैंक तथा वित्तीय संस्थाहरु पनि उपभोग कर्जामा बढी केन्द्रीत भएका छन् । यही सन्दर्भमा हामीले मोटरसाइकल, स्कुटर तथा कारमा विभिन्न कम्पनीले अहिलेसम्म जारी गरेका नयाँ योजना के कस्ता छन भन्ने विषयमा केही जानकारी दिने प्रयास गरेका छौं । कार हुन्डाईका कार किन्दा किस्तामा ५० प्रतिशत छुट हुन्डाई ब्राण्डका कार किन्नेले मासिक किस्तामा ५० प्रतिशत छुट पाउने भएका छन् । नेपालको लागि हुन्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोरोना भाइरसले ल्याएको चुनौतिहरुसँग सामना गरी अघि बढ्न हिम्मत र हौसला प्रदान गर्नको लागि भन्दै आफ्नो गाडी खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्ताको ५० प्रतिशत रकम तिरिदिने जनाएको छ । ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, आगामी आर्थिक वर्षको निःशुल्क सडककरका साथै स्पट एक्स्चेन्ज र सरल फाइनान्सको सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । मासिक किस्ता ८ हजार ८ सयमा सेन्ट्रो हुन्डाई मोटर्सले उत्पादन गरेको सेन्ट्रो कार मासिक ८ हजार ७ सय ७६ रुपैयाँ किस्तामा पाइन्छ । कम्पनीले सार्वजनिक गरेको अफरमा सुरुको एक वर्षसम्म मासिक किस्ताको ५० प्रतिशत रकम कम्पनीले र ५० प्रतिशत रकम ग्राहकले तिर्नु पर्ने हुन्छ । हुन्डाईका गाडी किन्न चाहने ग्राहकले न्यूनतम १०.२२ प्रतिशत व्याजदरमा अटोलोन पाउने व्यवस्था मिलाइएको छ । सेन्ट्रोको सबैभन्दा सस्तो कार इराको मूल्य २३ लाख ९६ हजार रुपैयाँ छ । यसमा कम्पनीले १ लाख रुपैयाँ नगद छुट दिने जनाएको छ । छुटसहित हिसाव गर्दा ग्राहकलाई यसको मूल्य २२ लाख ९६ हजार रुपैयाँ मात्र पर्नेछ । ग्राहकले यसलाई ८ वर्षको लागि किस्ता बनाएर किन्न सक्ने छन् । सुरुवातमा ५० प्रतिशत डाउन पेमेन्ट गरेपछि बाँकी ११ लाख ४८ हजार रुपैयाँलाई ग्राहकले मासिक किस्तामा तिर्दा १७ हजार ५ सय ५३ रुपैयाँका दरले तिर्नुपर्ने हुन्छ । मारुती सुजुकी कार किन्न २५ प्रतिशत डाउन पेमेन्ट गरे पुग्ने मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले कोरोना भाइरसको संक्रमणको कारण लामो लकडाउनले मानिसको आम्दानीमा ह्रास आएको समयमा २५ प्रतिशत डाउन पेमेन्टमा कार किन्न सक्ने योजना ल्याएको छ । कम्पनीको यो योजनामा ग्राहकले मूल्यको २५ प्रतिशत मात्र डाउन पेमेन्ट गरे पुग्नेछ । यो अफर मारुती सुजीकीको स्वीफ्ट कारमा हो । अहिले नेपालमा स्वीफ्टका दुई भेरियन्ट भिएक्सआई र जेडएक्सआई मोडल विक्री भइरहेका छन् । यी कारको मूल्य क्रमशः २९ लाख ९९ हजार र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यी दुबै मोडल किन्न चाहने ग्राहकलाई कम्पनीले १ लाख रुपैयाँ नगद छुट दिएको छ । त्यसैकारण भिएक्सआई भेरियन्टको खरिद मूल्य २८ लाख ९९ हजार र जेडएक्सआई भेरियन्टको ३१ लाख ९९ हजार रुपैयाँ हुन्छ । ड्याटसनकाे कारमा ३ लाख छुट, मासिक किस्ता १५ हजार नेपालमा पाइने कारमा ड्याटसनको रेडी गो सबैभन्दा सस्तो कार हो । डाट्सनको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले अहिले गाडी किन्नेलाई ६ महिनापछि मात्रै किस्ता तिर्दा हुने योजना ल्याएको छ । यो कारको मूल्य १९ लाख ९९ हजार रुपैयाँ छ । यो मूल्यमा पनि कम्पनीले ७५ हजार रुपैयाँ नगद छुट प्रदान गरेको छ । यस हिसावले यो गाडीको मूल्य १९ लाख २४ हजार रुपैयाँ हुन्छ । यो कारको मूल्य १९ लाख २४ हजार रुपैयाँ कायम भएपछि यसलाई किन्न चाहने व्यक्तिगत ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । त्यसको लागि ग्राहकले ९ लाख ६२ हजार रुपैयाँ जम्ममा गर्नु पर्ने हुन्छ । बाँकी ९ लाख ६२ हजार रुपैयाँ कर्जा लिएर गाडी किन्न पाइन्छ । कर्जाको व्याजदर ७ वर्षसम्मको लागि १० प्रतिशत कायम गरिएको छ । यो हिसावले मासिक किस्ता १५ हजार ९ सय ७० रुपैयाँ हुन्छ । कम्पनीले ६ महिनाको किस्ता आफैले तिरिदिने घोषणा गरेको छ । ६ महिनापछि ग्राहकले आफैँ मासिक किस्ता नियमित रुपमा बैंकलाई बुझाउनु पर्ने हुन्छ । कम्पनीले डाउन पेमेन्टमा थप सहजता प्रदान गरिएको जनाएको छ । व्यक्तिगत ग्राहकले मूल्यको ५० प्रतिशत अनिवार्य डाउन पेमेन्ट गर्नु पर्छ । त्यसअनुसार डाउन पेमेन्ट गर्नु पर्ने ९ लाख ६२ हजार रुपैयाँ मध्ये गाडी किन्नेले सुरुवातमा ५ लाख ७७ हजार २०० रुपैयाँ डाउन पेमेन्ट गर्दा हुने योजना छ । बाँकी रकम ३ लाख ८४ हजार ८ सय रुपैयाँलाई चार महिनाभित्र तिरिसक्ने गरी कम्पनीले व्यवस्था मिलाएको जनाएको छ । यसमा कुनै व्याज नलाग्ने कम्पनीको भनाई छ । पायोनियर मोटोकर्पका अनुसार कम्पनीले एउटा रेडी गोमा करिब ३ लाख रुपैयाँ छुटको अफर दिएको छ । मासिक १० हजार किस्तामा फक्सवागन पोलो विश्व प्रसिद्ध जर्मन ब्राण्ड फक्सवागनले मासिक १० हजार रुपैयाँ किस्तामा नयाँ कार दिने अफर ल्याएको छ । फक्सवागनले पोलो कारमा यस्तो अफर ल्याएको हो । यो कारको नेपालका लागि आधिकारिक विक्रेता पुजा इन्टरनेशनल हो । पोलो कारको मूल्य नेपाली बजारमा २९ लाख ४५ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले अहिले पोलो किन्ने ग्राहकलाई फ्रि एसोशरिज, एक वर्षको सडक दस्तुर, सरल फाइनान्स सुविधा, ४ वर्षसम्म निःशुल्क सर्भिसिङ जस्ता अफरहरु गरेको छ । प्रायः सबै गाडीमा यस्तो सुविधा भने पाइन्छ । कम्पनीले ल्याएको अफरमा ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ भने बाँकी रकमलाई ७ वर्षको मासिक किस्तामा किन्न सकिन्छ । १० प्रतिशत व्याजदरमा पोलो किन्दा मासिक किस्ता २४ हजार ४ सय ४५ रुपैयाँ हाराहारीमा पर्छ । तर, उक्त मासिक किस्ता एक वर्षसम्म ग्राहकले मासिक १० हजार रुपैयाँ तिरे पुग्छ भने बाँकी रकम कम्पनीले तिरिदिने छ । गाडीको १३ औं किस्ताबाट ग्राहकले पुरै लाग्ने २४ हजार ४ सय ४५ रुपैयाँ तिर्नु पर्ने हुन्छ । मोटरसाइकल र स्कुटर टीभीएसका बाइकको मासिक किस्ता ९९ रुपैयाँ टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई कम्पनीले सजिलो फाइनान्स सुविधा सहितको स्कीम ल्याएको छ । टीभीएसका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ योजना ल्याएको हो । कम्पनीले नगद रकम तिरेर मोटरसाइकल किन्नेलाई १२ हजार र स्कुटर किन्नेलाई १० हजार रुपैयाँ नगद छुटको योजना ल्याएको छ । डाउन पेमन्ट नगरी किन्न पाइने र कर्जाको व्याज तिर्नु नपर्ने जस्ता अन्य योजना पनि कम्पनीले सार्वजनिक गरेको छ । डाउन पेमेन्ट नगरी मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले केही महिनाको लागि मासिक ९९ रुपैयाँ मात्र तिरेर अहिलेको अफ्ठ्यारो समयमा मोटरसाइकल किन्न सक्ने छन् । यो योजनामा संगठित क्षेत्रमा काम गर्ने मानिसले मात्र सहभागिता पाउने कम्पनीको योजना छ । यस योजनामा मोटरसाइकल तथा स्कुटरको सम्पूर्ण रकम २६ महिनामा तिर्नु पर्ने हुन्छ । सुरुको ४ महिना ९९ रुपैयाँ मासिक किस्ता र त्यसपछि बाँकी २२ किस्तामा सम्पूर्ण रकम भुक्तानी गर्नु पर्ने कम्पनीले जनाएको छ । शुन्य प्रतिशत व्याज योजनामा ग्राहकले सुरुमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ भने बाँकी रकम १२ किस्तामा तिर्नु पर्ने हुन्छ । यामाहाका बाइक किन्दा डाउन पेमेन्ट नचाहिने, व्याज तिर्दिन भन्न पनि पाइने यामाहा कम्पनीका मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लुले नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अफरमा शुन्य प्रतिशत व्याजदर, शुन्य डाउनपेमेन्ट र नगद १० हजार डिस्काउन्टसमेत गरि तीन योजना छन् । लकडाउनका कारण सबै प्रकारका काम बन्दको असहज परिस्थितिमा मोटरसाइकल किन्न चाहने ग्राहकले तीन मध्ये कुनै एक योजना छनोट गर्न सक्ने छन् । यी तीन प्रकारकै योजना यामाहाका सबै प्रकारका मोटरसाइकल तथा स्कुटरमा लागू हुने कम्पनीले जानकारी दिएको छ । होन्डाका बाइक किन्दा १ रुपैयाँ डाउन पेमेन्ट, १ रुपैयाँ मासिक किस्ता र १ प्रतिशत व्याज होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले १ रुपैयाँ डाउन पेमेन्ट, १ प्रतिशत व्याज र १ रुपैयाँ मासिक किस्ताको अफर गरेको छ । यो योजना होन्डाका अधिकांश मोटरसाइकल खरिदमा लागू हुने कम्पनीले जानकारी दिएको छ । तर, यो योजना अनुसार बाइक वा स्कुटर किन्दा निश्चित समयपछि भने तोकिए अनुसारको व्याज र किस्ता तिर्नुपर्छ । सुजुकीको मोटरसाइकलमा १५ हजार नगद छुट सुजुकी मोटरसाइकलको बिक्रेता कम्पनी भिजी सुजुकीले नगद छुटको अफर ल्याएको छ । सुजुकीले एउटा मोटरसाइकलमा १५ हजार रुपैयाँ छुटको अफर ल्याएको हो । ‘उतार चडाव आइरहन्छ, सुजुकीको साथ रहिरहन्छ’ नाराका साथ नयाँ योजना सार्वजनिक गरेको छ । कोरोनाको कारण जारी लकडाउनको मोडालिटी परिर्वतन भएसँगै कम्पनीले नयाँ योजना सार्वजनिक गरेको हो । सुजुकीको यो योजना असार १ गतेदेखि लागू भएर असार ३१ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ । यो योजनामा मोटरसाइकल किन्ने ग्राहकले नगद १५ हजार रुपैयाँ छुट प्राप्त गर्ने छन् । ग्राहकले जुनसुकै अवस्थामा मोटरसाइकल खरिद गर्दा पनि यो योजनाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले नगद, एक्सचेन्ज र फाइनान्स जसरी मोटरसाइकल किनेपनि नगद १५ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । बेनेली मोटरसाइकलमा ३५ हजारसम्म छुट, परिवारकै कोरोना बीमा सित्तैमा बेनेली नेपालको आधिकारिक शोरुम युनिटी ट्रेडिङले लकडाउन अफर सार्वजनिक गरेको छ । कम्पनीले कोभिड १९ को असरलाई लक्षित गर्दै स्कीम सार्वजनिक गरेको हो । कम्पनीले आफ्नो मोडल अनुसार छुट्टा छुट्टै अफर ल्याएको छ । योजनामा कम्पनीले बेनेलीको सेफ्टी गियर, नगद छुट तथा ग्राहकको परिवारको कोरोना बीमा समेत गर्ने योजना ल्याएको छ । बेनेली लियन्सीनो २५० खरिद गर्दा ग्राहकले बेनेलीको ज्याकेट, १ बर्षको रोड ट्याक्स, ३ हजार बराबरको हेलमेट, बाइक कभर, रेनकोट जस्ता सुविधा पाउने छन् । लियन्सीनो २५० मोटरसाइकल खरिदकर्ताको परिवारको कोराना बीमा कम्पनीले गरिदिने छ । यसमा कम्पनीले एक्सचेन्ज तथा फाइनान्स सुबिधा समेत उपलब्ध गराउने जनाएको छ । यस्तै टीएनटी १५ र टीएनटी १५ आई खरिद गर्ने ग्राहकले दुबै मोडलमा नगद ८ हजार रुपैयाँ छुट पाउने छन् । यसमा १ बर्षको रोड ट्याक्स, ३ हजार बराबरको हेलमेट, बाइक कभर, रेनकोट जस्ता अफर रहेका छन् । यो मोटरसाइकल किन्ने ग्राहकको परिवारको कोराना बीमा कम्पनीले गरिदिने छ । यसमा समेत एक्सचेन्ज तथा शून्य प्रतिशत व्याजदरमा फाइनान्स सुबिधा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । मिनी मोटरसाइकल टीएनटी १३५ मा ग्राहकले नगद ३५ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । एक वर्षको रोड ट्याक्स, ३ हजार बराबरको हेलमेट, बाइक कभर, रेनकोट जस्ता अफर यसमा पनि पाउन सकिन्छ । यो मोटरसाइकल खरिदकर्ताको परिवारको कोराना बीमा कम्पनीले गर्ने छ भने ९ वटा फ्रि सर्भिस कुपन तथा एक्सचेन सुबिधा दिने जनाएको छ । केटीएम बाइकमा ४० हजार छुट अस्ट्रियन मोटरसाइकल कम्पनी केटीएमको लागि नेपालको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी नयाँ स्कीम ल्याएको छ । कम्पनीले केटीएम २५० मोटरसाइकलमा नगद ४० हजार रुपैयाँ छुटको योजना सार्वजनिक गरेको हो । यस योजनमा केटीएमको ड्यूक २५० मोटरसाइकल खरिदगर्दा ४० हजार रुपैयाँ नगद छुट पाइने छ । बिएमडब्ल्यूका मोटरसाइकलमा ६५ हजार छुट बिएमडब्ल्यू मोटरसाइकलको नेपालको लागि आधिकारीक वितरक टर्क मोटर्सले ६५ हजार बराबरको छुट अफर सार्वजनिक गरेको छ । बिएमडब्ल्यू मोटरसाइकल किन्नको लागि सजिलै फाइनान्स तथा एक्सचेन्जको समेत सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । मोटरसाइकल किन्दा बिएमडब्ल्यूको एड्भान्स प्याकेजमा ज्याकेट, टाउजर, ग्लोबस् र विभिन्न एसोसरिजहरु अफर गरिएको छ । यी ग्याजेट्सको मूल्य करिब ६५ हजार रुपैयाँ हुने कम्पनीको भनाइ छ । अर्काे योजनामा हेल्मेट, बीमा र ३ वर्षसम्मको बीमा सुविधा कम्पनीले उपलब्ध गराउने छ । यो अफर पनि ६५ हजार रुपैयाँ बराबरकै हुने कम्पनीको भनाइ छ । भेष्पा र अप्रिलियाका स्कूटरमा नगद छुट भेस्पा र अप्रिलिया स्कूटरको नेपालका लागि अधिकारिक बिक्रेता दुगर्ड ब्रोदर एन्ड सन्स पनि नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले भेष्पा र अप्रिलियामा नगद ५ हजार रुपैयाँ छुट दिने जनाएको छ । साथै, भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुट म्याट, स्कुटर कभर, किरिङ जस्ता मर्चेन्टडाइज उपलब्ध गराउने जनाएको छ । यसको अलावा कम्पनीले नै दुई वर्षको सडक दस्तुर तिरिदिने योजना ल्याएको छ । पल्सर बाइक किन्न आधा ऋण पाइने, व्याज तिर्नु नपर्ने पल्सर मोटरसाइकल नेपालमै एसेम्बल गरी विक्री गर्दै आएको बजाजले पनि नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनमा पल्सर १५० मोटरसाइकल शून्य प्रतिशत व्याजदरदेखि नगद छुटसम्ममा खरिद गर्न सकिने छ । रेगुलर मोडलमा मोटरसाइकल खरिद गर्दा ग्राहकले १२ हजार रुपैयाँ छुट प्राप्त गर्ने छन् । शुन्य प्रतिशत व्याजदरमा मोटरसाइकल खरिद पाइने अर्काे स्कीम पनि छ ।
महामारीमा व्यवसायीकाे आफुखुसी मूल्यवृद्धि, सरकारकाे अनुगमन फितलो
काठमाडौं । काठमाडौंको घट्टेकुलोमा बस्दै आएका अंगद सिँह सोमबार घर नजिकैको पसलमा नुन किन्न गए । पसलेले उनलाई नुन पनि दिए । उनलाई सधैं किनेको नुनको मूल्य थाहा थियो । उनले पसलेलाई २० रुपैयाँ दिए । तर ती पसलेले नुनको मूल्य बढेको भन्दै उनलाई थप ५ रुपैयाँ मागे । उनले पसलेलाई मूल्य बढेको हो र भनेर प्रशन गरे । पसलेले उनको प्रश्नको समर्थन गर्दै टाउको हल्लाउँदै बढेको स्वीकार गरे । उनले पनि लकडाउनमा मूल्य बढेको रहेछ सोच्दै थप ५ रुपैयाँ दिएर घर फर्के । अंगद त एक पात्र मात्र हुन् । यस्तै अहिले लाखौं ग्राहकले यसरी नै दैनिक उपभोग्य सामनहरुको मूल्य चर्को तिर्नु परेको छ । विभिन्न खुद्रा व्यापारीहरुले अहिले उपभोक्ताालई लकडाउनको समयमा सामानको मूल्य बढेको भन्दै महँगो मूल्यमा सामान बेच्दै आएका छन् । आम नागरिककाे दैनिक उपभोग्य सामानमा चर्को मूल्य तिरेर घरधन्दा चलाउनु पर्ने बाध्यता देखिएको छ । सरकारले पटक-पटक सामानको मूल्य नबढेको बताउँदै आएपनि बजारमा भने नागरिकले चर्को मूल्यमा सामान खरिद गर्नुपर्ने बाध्यता छ । सरकारले लकडाउनको समयमा विभिन्न खाद्य वस्तु र दैनिक उपभोग्य सामानहरु प्रयाप्त मात्रामा रहेको बताउँदै आएपनि बजारमा सर्वसाधारण नागरिकले भने सामानको अभाव भए जस्तो मूल्य तिर्नुपर्ने बाध्यता छ । सरकारले यस्तो किसिमको कालोबजारी रोक्नका लागि अनुगमन गरेको बताउँदै आएपनि बजारमा अनुगमनको नतिजा भने देखिएको छैन । उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले दैनिक बजार अनुगमन गरिरहेको बताउँदै आएपनि अनुगमन गरेको जस्तो प्रभाव बजारमा छैन । बजारमा व्यवसायीहरुले आफुखुसी सामानको मूल्यवृद्धि गरेर नागरिकलाई चर्को मूल्य तिर्न बाध्य पारिरहेका छन् । बजारमा साल्ट ट्रेडिङले तोकेको मूल्य भन्दा बढीमा बजारमा नुन किनबेच भइरहेको छ । प्रतिकेजी २० रूपैयाँ बजार भाउ तोके पनि बजारमा प्रतिकेजी २५ रूपैयाँमा किनबेच भइरहेको पाइएको छ । साल्ट ट्रेडिङले ९ सय ५५ रुपैयाँको एक बोरा नुन बिक्री गर्दै आएको छ । उक्त बोरामा ५० केजी नुन हुन्छ । यस्तो हुँदा प्रतिकेजी नुनको मूल्य १९.१ रुपैयाँ पर्न जान्छ । तर, बजारमा प्रतिकेजी २५ रुपैयाँसम्म किनबेच भइरहेको छ । अहिले नुन मात्र होइन हरेक सामानको मूल्य महँगो भएको छ । साल्ट ट्रेडिङ भने कबिर ४ वर्ष यता नुनमा मूल्य वृद्धि नभएको बताउँछ । साल्ट ट्रेडिङका सहायक महाप्रवन्धक तथा सूचना अधिकारी कुमार राजभण्डारीले साल्ट ट्रेडिङकबाट मूल्य वृद्धि नगरेको स्पष्ट पारे । उनले बजारमा बढी मूल्यमा बिक्री भइरहेको हो भने अनुगमन आवश्यक रहेको बताए । यस्तै, खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले अधिकांश क्षेत्रमा नुन प्रतिकेजी २२ रुपैयाँमा बिक्री भइरहेको जानकारी दिए । लामो समयसम्म नुनको मूल्य स्थिर छ तर व्यापारीहरुले ढुवानी दरलाई ध्यान मध्यनजर गर्दै नुनको मूल्य बढाएको हुन सक्ने बताए । ‘हामीलाई पनि विभिन्न सामानको मूल्य वृद्धिका गुनासाहरु आउने गरेका छन्, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुगमन लागि हामीले आग्रह पनि गर्दै आएका छौं,’ उनले भने । पछिल्लो समय सरकारले बजार अनुगमनलाई निरन्तरता दिए पनि खासै प्रभावकारीे हुन सकेको छैन । सरकारले निरन्तर बजार अनुगमन गरेको दाबी गरे पनि कालोबजारी, मूल्यवृद्धी अझै पनि रोकिएको छैन । संकटको बेलामा व्यापारीहरुले अवसरको रुपमा लिँदा समस्या झन बढेदै गएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी भने लकडाउनको अवधिमा समेत अनुगमन भइरहेको बताउँछन् । उनी उल्टै लकडाउनको समयमा धेरै कालोकजारी रोक्न सफल भइएको दावी गर्छन् । ‘केही सामानमा व्यवसायीहरुको सामान ढुवानीमा समस्या भएकोले बजार मूल्य तलमाथि भएको हुन सक्छ, यसमा पनि हामी अनुुगमन गर्दैछौं,’ उनले भने । व्यवसायीले आफूखुसी सामानको मूल्यवृद्धी गरेमा २÷३ लाखसम्म उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही समेत गरिएको उनको भनाई छ ।
गृह मन्त्रालयले भन्योः उपत्यका बाहिरबाट आउनेलाई १४ दिन होम क्वारेन्टिनमा राख्न
काठमाडाैं । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न निर्देशन दिएकाे छ । मन्त्रालयले काठमाडाैं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेर साे निर्देशन दिएकाे हाे । पछिल्लो समय घरधनीले पीसीआर विधिबााट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै मन्त्रालयले साे निर्देशन दिएकाे हाे । पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको छ ।
अब कक्षा ९ र १० को पठनपाठन पनि डिस होमबाटै, रिचार्ज नगर्ने ग्राहकले पनि निःशुल्क हेर्न सक्ने
काठमाडौं । टेलिभिजन च्यानल प्रशारण संस्था डिस होमले विद्यालय तहका कक्षा ९ र १० का विद्यार्थीलाई पनि मध्येनजर गरेर पठनपाठन सुरु गरेको छ । नेपाल सरकारले सबै विद्यार्थीहरुको पठनपाठन टीभी र रेडियोबाट गराउने योजना अनुसार सरकारसँगको समन्वयमा डिस होमबाट पठन पाठन सुरु गरिएको हो । डिस होमले असार ७ गतेदेखि विद्यार्थीहरुलाई दैनिक ४ घण्टासम्म पढाइरहेको छ । डिस होमको १०० र १०१ च्यानलमार्फत पढाई निःशुल्क सुरु गरेको हो । पढाई बिहान १० बजेदेखि २ बजेसम्म भइरहेको डिस होमका जनरल म्यानेजर रमेश सापकोटाले बताए । रिचार्ज गर्न नसकेका ग्राहकले यी दुई च्यानल मार्फत हेर्न सक्ने उनले बताए । उनका अनुसार कुनै प्राविधिक कारणले डिस होममा समस्या आएपनि तत्काल डिस होमको टोलफ्रि नम्बरमा सम्पर्क गर्न सकिने र तुरुन्तै प्राविधिक पठाएर समस्याको समाधान हुनेछ । डिस होमको टोल फ्रि नम्बर १६६००१२२००० र एनसेलको ९८०११५५००० मा रहेको छ । यस्तै, डिस होमले डियरवाक लर्निङ् सेण्टरको सहकार्यमा बैशाख २० गतेदेखि नै ७ वटा कक्षाको पठन पाठन शुरु गरेको थियो । कक्षा ४ देखि १० सम्मका ४ विषयको पढाई भईरहेको थियो । अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरुका लागि भिन्ना भिन्नै च्यानल निर्धारण गरिएको छ । सरकारले निर्धारण गरेको पाठ्यक्रममा आधारित रहेर डियरवाक लर्निङ् सेण्टरको संयोजनमा शिक्षकहरु मार्फत कक्षा सञ्चालन गरिएको जनाईएको छ । उक्त कक्षालाई डिस होम मार्फत प्रशारण गरिएको हो । विद्यार्थीहरूले लकडाउन अवधिभर अब घरमै बसेर दूरशिक्षा लिन पाउने भएका छन् । सरकारले उनीहरुलाई घरमै बसेर श्रव्य–दृश्य सञ्चार माध्यमबाट पढ्न पाउने वातावरण मिलाएको हो । गत चैतदेखि नै लकडाउनका कारण स्कुल, कलेजहरु बन्द छन् । उनीहरुलाई शिक्षाबाट वञ्चित नगर्न शिक्षा मन्त्रालयले असार १ गतेदेखि रेडियो, टीभी र इन्टरनेटको पहुँच तथा उपलब्धताका आधारमा पढ्ने व्यवस्था मिलाएको हो । यस्तै, लकडाउनको समयमा डिस होमले आफ्ना ग्राहकका लागि विभिन्न योजना ल्याएको छ । डिस होमका ग्राहकले वार्षिक रिचार्ज गर्दा २५ प्रतिशतसम्मको छुट पाइरहेका छन् भने हरेक हप्ता दुई जनालाई एक लाखको लक्की ड्र पनि निरन्तर रुपमा अगाडि बढिरहेको छ ।
डिम्याट खाता र मेरो सेयर सित्तैमा खोल्न सकिने
काठमाडौं । वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ्गमा डिम्याट खाता र मेरो सेयर सित्तैमा खोल्न सकिने भएको छ । लगानीकर्ताले याे महिना अर्थात असार महिनाभर डिम्याट खाता र मेरो सेयर निःशुल्क खोल्न पाउने मर्चेन्टले जनाएको छ । मर्चेन्टले कोभिड-१९ को महामारीमा लगानीकर्तालाई राहत स्वरुप उक्त सुविधा उपलब्ध गराउने भएको हो ।
काठमाडौंमा कोरोना: १ जनाकाे मृत्यु, ६३ जना संक्रमित, ३० जना डिस्चार्ज
काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै अहिलेसम्म ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये अहिलेसम्म ३० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले बताएका छन् । मन्त्रालयका सह प्रवक्ता अधिकारीका अनुसार हाल उपत्यकाका ३३ जना भने उपचारको क्रममा रहेका छन् । जसमध्ये काठमाडौंको १७ जना, भक्तपुरको ११ जना र ललितपुर जिल्लाको ५ जना रहेका छन् । त्यस्तै, कूल ३३ जना कोरोना संक्रमित निकाे भएर घर फर्केका छन् । जसमा काठमाडौंका २४ जना, भक्तपुरका ५ जना र ललितपुरका १ जना डिस्चार्ज भएका हुन् । मन्त्रालयका अनुसार उपत्यकामा एक जनाकाे काेराेनाकाे कारण मृत्यु भएकाे छ । उनी ललितपुर जिल्लाका हुन् । काठमाडौंमा उपत्यका र उपत्यकाबाहिरको गरेर उपचारको क्रममा ५१ जना हाल उपत्यका बाहिरका १८ जनाको काठमाडौंमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ । यससँगै उपत्यका र उपत्यका भित्र बाहिरका गरेर हाल काठमाडौंमा ५१ जना उपचारको क्रममा रहेका छन् । उनीहरूकाे काठमाडौंका ४ अस्पतालमा उपचार भईरहेको र स्वास्थ्य अवस्था सामान्य रहेकाे अधिकारीले बताए । ‘काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल र बलम्भुस्थित सशस्त्र प्रहरी अस्पतालमा यी ५१ जनाकाे उपचार भइरहेकाे छ।’ उनले थप जानकारी दिए । हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैभन्दा धेरै ३२ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ११ जना, बलम्भुस्थित सशस्त्र प्रहरी अस्पतालमा ५ जना र त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालम ३ जना संक्रमितको उपचार भईरहेको सम्बन्धित अस्पतालले जनाएको छ । सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बैशाख ११ गते कोरोना संक्रमित मुक्त भएकाे थियाे काठमाडौं बैशाख ११ गते सबै कोरोना संक्रमित निको भएर घर फर्किसकेपछि काठमाडौं कोरोना संक्रमित मुक्त बनेका थियो । तर बैशाख २३ गते सनसिटी अर्पाटमेन्टका पुरुष पुनः संक्रमण देखिएपछि काठमाडौंमा फेरि संक्रमण देखिन थाल्यो । त्यसपछि सरकारले संक्रमितको संख्या काठमाडौंमा कम देखिएको काराण लकडाउन केही खकुलो गर्न सुरुमात्र के गरेको थियो बैशाख ३० गते एकैपटक ३ जनामा संक्रमण देखिएको थियो । ती ३ संक्रमित चन्द्रागिरीकी ३३ वर्षीय महिला, भक्तपुरकी २५ वर्षीय महिला र २७ वर्षिय पुरुष रहेका थिए । उनीहरु तीनै जना उपत्यका बाहिरबाट आएका थिए । चन्द्रागिरी नगरपालिका ९ की महिला बैशाख २९ गतेमात्र कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएकी थिइन् । लकडाउन हुनुभन्दा पहिले नै पारिवारिक कार्यक्रमको लागि कञ्चनपुरको महेन्द्रनगर गएकी उनी निजी गाडीको पास बनाएर काठमाडौं आएकी थिइन् । यस्तै भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट बैशाख २९ गते नै काठमाडौं आएकी थिइन् । त्यस्तै भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि तराइबाट आएका थिए । उनी पनि सवारी पास बनाएर काठमाडौं छिरेका थिए । यसरी उपत्यकामा एकपछि अर्को कोरोना संक्रमित थपिँदै गएपछि कोरोना संक्रमितको संख्या ६३ पुगेकाे हाे ।
महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा खानेपानीकाे लागि ३ लाख सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न. ११ मा अवस्थित श्री आनन्द भैरव आधारभुत विद्यालयमा र चितवनको इच्छाकामना गाँउपालिका वडा न. ७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्याललाई कुल ३ लाख १५ हजार रुपैयां सहयाेग गरेकाे छ । बैकंले विद्यार्थीहरुको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि क्रमश. रु. एक लाख पचास हजार (रु.१,५०,०००) रुपैया र रु. एक लाख पैसठ्ठी हजार (रु.१,६५,०००) रुपैया आर्थिक सहयोग प्रदान गरेकाे हाे । असार २ गते बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुली ज्यूले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्र प्रसाद नेपाल ज्युलाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए । त्यसैगरी मिति असार ८ गते रोयल सेन्चुरी होटलमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक श्याम बाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई रु. एक लाख पैसठ्ठी हजार रकमको चेक हस्तान्तरण गरेका थिए । उल्लेखित कार्यक्रमहरुमा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।