महामारीमा व्यवसायीकाे आफुखुसी मूल्यवृद्धि, सरकारकाे अनुगमन फितलो

<p>काठमाडौं । काठमाडौंको घट्टेकुलोमा बस्दै आएका अंगद सिँह सोमबार घर नजिकैको पसलमा नुन किन्न गए । पसलेले उनलाई नुन पनि दिए । उनलाई सधैं किनेको नुनको मूल्य थाहा थियो । उनले पसलेलाई २० रुपैयाँ दिए । तर ती पसलेले नुनको मूल्य बढेको भन्दै उनलाई थप ५ रुपैयाँ मागे । उनले पसलेलाई मूल्य बढेको हो र [&hellip;]</p>

काठमाडौं । काठमाडौंको घट्टेकुलोमा बस्दै आएका अंगद सिँह सोमबार घर नजिकैको पसलमा नुन किन्न गए । पसलेले उनलाई नुन पनि दिए । उनलाई सधैं किनेको नुनको मूल्य थाहा थियो । उनले पसलेलाई २० रुपैयाँ दिए । तर ती पसलेले नुनको मूल्य बढेको भन्दै उनलाई थप ५ रुपैयाँ मागे । उनले पसलेलाई मूल्य बढेको हो र भनेर प्रशन गरे ।

पसलेले उनको प्रश्नको समर्थन गर्दै टाउको हल्लाउँदै बढेको स्वीकार गरे । उनले पनि लकडाउनमा मूल्य बढेको रहेछ सोच्दै थप ५ रुपैयाँ दिएर घर फर्के । अंगद त एक पात्र मात्र हुन् । यस्तै अहिले लाखौं ग्राहकले यसरी नै दैनिक उपभोग्य सामनहरुको मूल्य चर्को तिर्नु परेको छ ।

विभिन्न खुद्रा व्यापारीहरुले अहिले उपभोक्ताालई लकडाउनको समयमा सामानको मूल्य बढेको भन्दै महँगो मूल्यमा सामान बेच्दै आएका छन् । आम नागरिककाे दैनिक उपभोग्य सामानमा चर्को मूल्य तिरेर घरधन्दा चलाउनु पर्ने बाध्यता देखिएको छ ।

सरकारले पटक-पटक सामानको मूल्य नबढेको बताउँदै आएपनि बजारमा भने नागरिकले चर्को मूल्यमा सामान खरिद गर्नुपर्ने बाध्यता छ । सरकारले लकडाउनको समयमा विभिन्न खाद्य वस्तु र दैनिक उपभोग्य सामानहरु प्रयाप्त मात्रामा रहेको बताउँदै आएपनि बजारमा सर्वसाधारण नागरिकले भने सामानको अभाव भए जस्तो मूल्य तिर्नुपर्ने बाध्यता छ ।

सरकारले यस्तो किसिमको कालोबजारी रोक्नका लागि अनुगमन गरेको बताउँदै आएपनि बजारमा अनुगमनको नतिजा भने देखिएको छैन । उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले दैनिक बजार अनुगमन गरिरहेको बताउँदै आएपनि अनुगमन गरेको जस्तो प्रभाव बजारमा छैन ।

बजारमा व्यवसायीहरुले आफुखुसी सामानको मूल्यवृद्धि गरेर नागरिकलाई चर्को मूल्य तिर्न बाध्य पारिरहेका छन् । बजारमा साल्ट ट्रेडिङले तोकेको मूल्य भन्दा बढीमा बजारमा नुन किनबेच भइरहेको छ । प्रतिकेजी २० रूपैयाँ बजार भाउ तोके पनि बजारमा प्रतिकेजी २५ रूपैयाँमा किनबेच भइरहेको पाइएको छ ।

साल्ट ट्रेडिङले ९ सय ५५ रुपैयाँको एक बोरा नुन बिक्री गर्दै आएको छ । उक्त बोरामा ५० केजी नुन हुन्छ । यस्तो हुँदा प्रतिकेजी नुनको मूल्य १९.१ रुपैयाँ पर्न जान्छ । तर, बजारमा प्रतिकेजी २५ रुपैयाँसम्म किनबेच भइरहेको छ ।

अहिले नुन मात्र होइन हरेक सामानको मूल्य महँगो भएको छ । साल्ट ट्रेडिङ भने कबिर ४ वर्ष यता नुनमा मूल्य वृद्धि नभएको बताउँछ । साल्ट ट्रेडिङका सहायक महाप्रवन्धक तथा सूचना अधिकारी कुमार राजभण्डारीले साल्ट ट्रेडिङकबाट मूल्य वृद्धि नगरेको स्पष्ट पारे । उनले बजारमा बढी मूल्यमा बिक्री भइरहेको हो भने अनुगमन आवश्यक रहेको बताए ।

यस्तै, खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले अधिकांश क्षेत्रमा नुन प्रतिकेजी २२ रुपैयाँमा बिक्री भइरहेको जानकारी दिए । लामो समयसम्म नुनको मूल्य स्थिर छ तर व्यापारीहरुले ढुवानी दरलाई ध्यान मध्यनजर गर्दै नुनको मूल्य बढाएको हुन सक्ने बताए । ‘हामीलाई पनि विभिन्न सामानको मूल्य वृद्धिका गुनासाहरु आउने गरेका छन्, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुगमन लागि हामीले आग्रह पनि गर्दै आएका छौं,’ उनले भने ।

पछिल्लो समय सरकारले बजार अनुगमनलाई निरन्तरता दिए पनि खासै प्रभावकारीे हुन सकेको छैन । सरकारले निरन्तर बजार अनुगमन गरेको दाबी गरे पनि कालोबजारी, मूल्यवृद्धी अझै पनि रोकिएको छैन । संकटको बेलामा व्यापारीहरुले अवसरको रुपमा लिँदा समस्या झन बढेदै गएको छ ।

उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी भने लकडाउनको अवधिमा समेत अनुगमन भइरहेको बताउँछन् । उनी उल्टै लकडाउनको समयमा धेरै कालोकजारी रोक्न सफल भइएको दावी गर्छन् ।

‘केही सामानमा व्यवसायीहरुको सामान ढुवानीमा समस्या भएकोले बजार मूल्य तलमाथि भएको हुन सक्छ, यसमा पनि हामी अनुुगमन गर्दैछौं,’ उनले भने । व्यवसायीले आफूखुसी सामानको मूल्यवृद्धी गरेमा २÷३ लाखसम्म उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही समेत गरिएको उनको भनाई छ ।

Share News