विकासन्युज

रोशीमा ‘डम्फु जीवन्त सङ्ग्रहालय’ १० करोड लागतमा निर्माण हुँदै

काठमाडाैं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ कालढुङ्गामा डम्फु जीवन्त सङ्ग्रहालय निर्माण हुने भएको छ । तामाङ जातिको रीतिरिवाज र पहिचान झल्किने गरी निर्माण हुने सङ्ग्रहालयमा सांस्कृतिक बाजा डम्फुलाई पहिचानका रूपमा स्थापित गर्दै जीवन्त बनाइने बताइएको छ । रोशी सरकारको पहलमा वडा नं ११ कालढुङ्गामा बनाउनका लागि ६० रोपनी जग्गाको व्यवस्था गरी गुरुयोजनासमेत तयार गरिसकेको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए । राष्ट्रिय योजना आयोगबाट बजेट स्वीकृत भएसँगै डम्फु जीवन्त सङ्ग्राहलय निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढिसकेको उनले बताए । “त्यसका लागि डेढ करोड बजेट परेको छ”, उनले भने, “त्यससँगै गाउँपालिकाले पनि बजेटमा सम्बोधन गर्छ ।” सबै प्रक्रिया अगाडि बढिसकेकाले अब साउनभित्रमा बोलपत्र प्रक्रिया अगाडि बढ्ने उनले बताए । साठ्ठी रोपनी सार्वजनिक जग्गालाई व्यवस्थापन गरी निर्माण गरिने उक्त सङ्ग्रहालय नेपालकै नमूना सङ्ग्राहलय बन्ने अध्यक्ष लामाको भनाइ छ । सङ्ग्रहालय बनाउनका लागि गाउँपालिकाले जग्गा सम्याउने, माटो परीक्षण गर्ने र गुरुयोजना तयार गर्ने काम सम्पन्न गरिसकेकाले अब उक्त स्थानमा संरचना निर्माणको काम अघि बढ्नेछ । सङ्ग्रहालयसँगै डम्फु पार्क निर्माण हुने र वरिपरि बुद्धचित्त मालाको बिरुवा, टटलाको फूल रोपेर सङ्ग्रहालयका लागि आवश्यक पर्ने अन्य विविध संरचना निर्माण गर्ने पालिकाको योजना छ । तामाङ समुदायको बाहुल्य रहेको रोशी गाउँपालिकामा सो समुदायको कला, वेशभूषा, संस्कृति र पहिचानको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । डम्फु तामाङ जातिको विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत जन्मदेखि मृत्युसम्मको कार्यमा प्रयोग हुने सांस्कृतिक बाजा भएकाले सङ्ग्रहालयको नामकरण नै डुम्फु जीवन्त सङ्ग्रहालय राखिएको अध्यक्ष लामाले बताए । करिब  १० करोड लागतमा आर्थिक वर्ष २०७७/७८ भित्र सम्पन्न गर्ने गरी भइरहेको सङ्ग्रहालय निर्माणले पर्यटन प्रवद्र्धनसमेत हुने गाउँपालिका अध्यक्ष लामाले बताए ।  रासस

मर्मतको माग गर्दै युवाद्वारा सडकमै धान रोपेर विरोध

राजविराज । भारदह–राजविराज सडक खण्डअन्तर्गत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा डेढ वर्षदेखि जीर्ण रहेको सडक मर्मतमा ध्यान नदिएको भन्दै युवाले मङ्गलबार सडकमै धान रोपेर विरोध जनाएका छन् । तोपा गाउँस्थित सडकखण्डमा उनीहरुले सडकमै धान रोपेर विरोध जनाएका हुन् । सोही वडाका युवा कौशल यादवले जीर्ण सडकका कारण वर्षामा हिलो र सुक्खा याममा धूलोले सास्ती हुने गरेको बताए । “सडक मर्मत सम्भारमा स्थानीय र सङ्घीय सरकारले लामो समयदेखि कुनै चासो नदिएपछि बाध्य भएर आफूहरुले सडकमै धान रोपाइँ गर्नुपरेको हो”, उनले भने । डेढ वर्षदेखि लथालिङ्ग सडकको अवस्थाप्रति सरकारको ध्यान नपुग्दा यो सडकमा कैयौँ पटक दुर्घटनासमेत हुने गरेको छ । आफूहरुलाई सडकमा रोपाइँ गर्नु रहर नभई बाध्यता नै बनेको कौशलले बताए ।  रासस

गण्डकी प्रदेशमा थप ३२ जनामा काेराेना, संक्रमितकाे संख्या ७ सय २९

काठमाडाैं । गण्डकी प्रदेशकाे  ८ जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ । बुधबार बिहान प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणकोको पछिल्लो विवरण अनुसार बाग्लुङमा ९ ,स्याङ्जामा ७, लमजुङमा ५, पर्वतमा १, कास्कीमा ५, गोरखा १ जना, नवलपुरमा ३ र तनहुँ १ जनामा काेराेना पुष्टि भएकाे गण्डकी प्रदेश काेराेना नियन्त्रण तथा राेकथाम कार्यक्रमका निर्देशक डा.विनाेद बिन्दु शर्माले जानकारी दिए । पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बैतडीमा वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारी

बैतडी । बैतडीमा विद्यार्थीहरुको वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारी भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले विद्यार्थीहरुको वैकल्पिक पठनपाठनको तयारी गर्न थालेको हो । कोरोना भाइरसका कारण विद्यालयहरु सञ्चालनमा नआएपछि वैकल्पिक माध्यमबाट पठनपाठनको तयारी भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए । नगर क्षेत्रभित्रका सबै विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाएर वैकल्पिक सिकाइ प्रणालीका विषयमा मङ्गलबार छलफल गरिएको छ । लामो समयदेखि घरमै बस्न बाध्य भएका विद्यार्थीहरुको सिकाइ प्रक्रियामा समस्या नआओस् भन्ने उद्देश्यले वैकल्पिक पठनपाठनका विषयमा छलफल भएको शिक्षा शाखा प्रमुख नाथले बताए । उनले भने, “शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार वैकल्पिक प्रणालीबाट पठनपाठन गर्नका लागि विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरिएको छ ।” स्थानीय एफ एम रेडियोहरुबाट कक्षा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ । रोस्टर शिक्षकहरु तयार गरेर स्थानीय एफ एमबाट कक्षा सञ्चालनको तयारी गरिने नगरपालिकाले जनाएको छ । गएको चैतदेखि विद्यालयहरु बन्द हुँदा बालबालिकाहरुको सिकाइ प्रक्रियामा समस्या आउने भएकाले वैकल्पिक प्रणालीबाट पठनपाठनका विषयमा छलफल भएको मणिलेक मावि गुरुखोलाका प्रधानाध्यापक केशव भट्टले बताउनुभयो । छलफलमा सहभागी प्रधानाध्यापकहरुले विद्यालयबाट तत्काल पढाइ सञ्चालन हुन नसक्ने भएकाले अन्य विकल्प खोज्नुपर्ने औँल्याए ।  रासस

एसईईकाे मूल्यांकन कार्यविधि तयार, यसरी दिइनेछ विद्यार्थीलाई अंक

काठमाडाैं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्याङ्कन कार्यविधि तयार भएकाे छ । कक्षा १० को एसईईको विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारी गरिएसँगै विद्यार्थीको मूल्याङ्गन कार्यविधि सार्वजनिक गरेकाे हाे । योसँगै विद्यालयले आफूले सञ्चालन गरेको पहिलो त्रैमासिक परीक्षाको नतिजाका आधारमा १० प्रतिशत, दोस्रो त्रैमासिक परीक्षाका आधारमा ३० प्रतिशत र अन्तिम परीक्षाको ६० प्रतिशत अंक जोडेर विद्यार्थीको ग्रेड निर्धारण गर्ने कार्यविधि तय गरिएको छ । यसलाई आधार मानी विद्यालयले विद्यार्थीको अन्तिम नतिजा तयार पार्ने भएकाे छ । एसईई मूल्याकन समिति गठन गर्ने प्रावधान कार्यविधिले तय गरेको छ । समितिमा सम्वन्धित विद्यालयको प्रधानअध्यापक अध्यक्ष तथा सम्वन्धित कक्षा शिक्षक र विद्यालयको माध्यमिक तहको ज्येष्ठ शिक्षक सदस्य रहने प्रावधान तय गरिएको छ । विद्यार्थीको मूल्याङ्कन गरेपछि जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमार्फत राष्ट्रिय परीक्षा बोर्डमा पठाउने जिम्मेवारी दिइएको छ । बोर्डले विद्यार्थीको अन्तिम नतिजाको प्रकाशन गर्नेछ । नतिजा प्रकाशित नगरेसम्म विद्यालयले गरेको विद्यार्थीको मूल्याङ्गन गोप्य राख्नुपर्ने कार्यविधि बनाइएको छ । यसपटक नतिजा प्रकाशन पश्चात पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुन परीक्षण गराउने तथा पुरक ग्रेडबृद्धि परीक्षा भने नहुने कार्यविधि तय गरेको जानकारी अधिकारीहरुले दिएका छन् । सरकारले २०७६ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षा पुरानो परिपाटीबाट नलिने निर्णय गर्दै विद्यालयले गरेको आन्तरिक मूल्याङ्गनलाई मान्यता दिने निर्णय गरेको थियो । तर कार्यविधि निर्माण नहुँदा यसको प्रक्रिया अघि बढ्न सकेको थिएन ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि बनाउने जिम्मेवारी दिएको थियो ।

धान रोपाइँको चटारोमा किसान

धनगढी । मनसुनी वर्षा भएसँगै कैलाली, कञ्चनपुरलगायतका जिल्लाका किसानलाई बर्खे धान बालीको रोपाइँ गर्ने चटारो बढेको छ । आम्दानी गर्ने र जीविका चलाउने मुख्य स्रोतका रूपमा बर्खे धानखेती रहेकाले कोरोना भाइरसको त्रासका बीच धान रोपाइँ गर्ने चटारो बढेको स्थानीय परशुराम चौधरीले बताए । “जताततै कोरोनाको सन्त्रास छ, तर अहिले खेती नगरे भोलि कसरी जीविका चलाउने भन्ने समस्या आउने भएकाले सामाजिक दूरी कायम गरेर भए पनि खेतीमा लागेका छौं”, कैलालीको लम्कीचुहा नगरपालिकाका कृषक चौधरीले भने । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान व्यापारीलाई बिक्री गरेर घर खर्चको जोहो गर्ने गरेका छन् । धान रोपाइँ गर्ने, काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग पनि पछिल्ला वर्षमा बढ्दै गएको छ । यी औजारको प्रयोगसँगै समयको बचत हुनुका साथै परिश्रमसमेत कम लाग्ने हुँदा रोपाइँ गर्न सहज भएको धनगढी उपमहानगरपालिकाका किसान श्याम रानाले बताए । “खेती गर्न र कृषि उपज ढुवानी गर्दा पहिलेको जस्तो राँगा र गोरुगाडाको प्रयोग घटेर आधुनिक मेसिनको प्रयोग बढ्दा निकै सहज भएको छ”, रानाले भने, “समयमै मलखाद, बीउबिजन, सिँचाइजस्ता समस्या भने हट्न नसक्दा समस्या हुने गरेको छ ।” वर्षाको पानीले रोपाइँ गरौँला भन्ने आसमा बस्नुपर्ने अवस्थामा रहेका तराईका कृषक दुई दिनयता मनसुनी वर्षा भएपछि हौसिएका छन् । तराईका अधिकांश कृषक सिँचाइको भरपर्दो सुविधा नहुँदा आकाशे पानीको भरमा रोपाइँ गर्दै आएका छन् । प्रदेशका पहाडी क्षेत्रका जिल्लामा भने जेठ महिनादेखि नै रोपाइँ शुरु भएको थियो । पहाडी जिल्लाका गाउँबस्तीमा छरछिमेकीले आपसमा मिलेर पालैपालो रोपाइँ गर्नुपर्ने पर्मको प्रचलन छ । पर्मको प्रचलनले रोपाइँ गर्दा सम्बन्धित कृषकलाई नगद खर्च गर्नुपर्ने बाध्यता त्यति नहुने बताइन्छ । तराईका जिल्लामा यस्तो प्रचलन भने त्यति ठूलोरूपमा देखिँदैन । अधिकांशले मजदुर लगाएर रोपाइँ गर्नुपर्ने अवस्था छ । पहाडी जिल्लामा रोपाइँ गर्नुपर्ने घरमुलीले आफ्नो रोपाइँको दिन सहभागी हुने रोपाहारका लागि लाउन, बाबर, माणालगायतका डोटेली खानाका परिकार पकाएर खाना र खाजाको व्यवस्था गर्ने गर्दछन् । रोपाइँ गर्ने गोरुका लागि भने जौँ पिँधेर बनाइएको पिठोको बाडी र ढुल्ला बनाएर खुवाउने चलन छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा ७२ हजार ५ सय हेक्टर र कञ्चनपुरमा ४८ हजार ४ सय ५० हेक्टरमा धानखेती हुने गरेको छ । यस्तै डोटीमा १० हजार ६ सय ७०, डडेलधुरामा ६ हजार १ सय ३६, अछाममा १६ हजार ५ सय ८०, बाजुरामा ३ हजार ३ सय १०, दार्चुलामा ४ हजार ४ सय ८०, बैतडीमा ९ हजार र बझाङमा ७ हजार १ सय १० हेक्टरमा धानखेती हुने गरेको तथ्याङ्क छ । धान उत्पादन बढी हुने कैलाली र कञ्चनपुरबाट पहाडी जिल्लामा आपूर्ति हुने गरेको छ । यो प्रदेशमा धानखेती गरिने जग्गामध्ये ५१ प्रतिशत खेतमा सिँचाइ सुविधा भए पनि बाँकी जग्गामा सिँचाइको पर्याप्त सुविधा छैन । यस वर्ष मनसुन जुन १२ देखि प्रवेश गरे पनि पछिल्लो २४ घण्टादेखि सक्रिय भएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालय कैलालीले जनाएको छ । कार्यालयका प्रमुख सिङ्गल चौधरीले प्रदेशमा जुन १२ मा मनसुन प्रवेश गरेको भए पनि २४ घण्टादेखि मात्र सक्रिय भएको बताउनुभयो । मनसुन सक्रिय भएसँगै गएको २४ घण्टामा यहाँ ८३ दशमलव चार मिमी वर्षाको मापन भएको छ । सर्जू धानमा आकर्षण कैलाली र कञ्चनपुर जिल्लामा सर्जू जातको धानखेतीतर्फ कृषकको आकर्षण बढ्दो देखिएको छ । अधिकांश कृषकले सर्जू धानको ब्याड राखेर रोपाइँ गर्ने गरेका छन् । कैलाली र कञ्चनपुर जिल्लामा धानखेती गरिने जग्गामध्ये झण्डै ८० प्रतिशत क्षेत्रफलको जग्गामा सर्जू धानको खेती गर्ने गरिएको कृषकको भनाइ छ । अन्य धान बालीको तुलनामा उत्पादकत्व बढी हुने र दाना पनि पुष्ट हुने भई वजन पनि बढी हुने भएकाले सर्जू धानखेती गर्ने गरिएको कृषकको भनाइ छ । किसानलाई यो धानको उन्नत बीउ पाउन भने समस्या हुने गरेको छ । रोपाइँका लागि बीउ राख्ने समयमा बर्सेनि यो धानको बीउको माग ह्वात्तै बढ्ने गरेको छ । निजी क्षेत्रका कतिपय बीउ उत्पादक कम्पनीले यो धानको बीउ उत्पादन गरी कारोवार गर्दै आएका छन् । सर्जू धान किसानमाझ लोकप्रिय हुँदा यसको बीउको पनि ठूलो माग रहेको बीउ उत्पादक कम्पनीका विष्णुराज बुर्लाकोटीले बताए ।  रासस

काेराेना संक्रमित बढेसँगै उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ

काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको महामारीबाट काठमाडौं उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले घरधनीको मञ्जुरी तथा पालिकाको स्वीकृति नलिई भित्रिनेलाई नियन्त्रणमा लिई क्वारेन्टाइन पठाउने तयारी गरिएको छ । त्यसैगरी बाहिर जानेका लागि पनि सम्बन्धित जिल्लाको पालिकाबाट सिफारिस पत्र अनिवार्य गरिएको छ । आफूखुसी भित्रिनेलाई विभिन्न पार्टी प्यालेसमा बनाइएका क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले असुरक्षित आवागमनका कारण कोरोना सङ्क्रमण बढ्ने भएकाले व्यवस्थित र सुरक्षित बनाउन उपत्यकामा आउने र बाहिर जानेमाथि थप कडा गरिएको बताए । निजी स्रोतबाट सञ्चालित विद्यालयका सञ्चालकले इन्टरनेटको पहुँच नभएका अभिभावकलाई अनलाइन कक्षामा बालबालिकाको सहभागिता बढाउन दबाब दिन थालेपछि काठमाडौं भित्रिनेको सङ्ख्या बढ्न थालेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालका अनुसार विभिन्न नाकाबाट दैनिक १ हजार ८ सयभन्दा बढी सवारी साधन भित्रिने गरेका छन् । करिब १ हजार ६ सय बाहिरिने गरेका छन् । उनले भने, ‘पालिका तथा स्थानीय तहको सिफारिस नलिई आउनेलाई कारबाही हुन्छ ।’ यसैबीच गृह मन्त्रालयले पनि बाहिरबाट काठमाडौँ उपत्यका भित्रिनेका लागि कम्तीमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई मङ्गलबार निर्देशन दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी कोभिड–१९ नियन्त्रण निर्देशिका अनुसार लक्षण देखा परेमा मात्र स्वास्थ्य परीक्षणका लागि अस्पताल जाने व्यवस्था गरिएको छ । घरधनीहरूले बाहिरबाट आएकालाई डेरा तथा भाडाको कोठामा प्रवेश गर्नुअघि पीसीआर परीक्षण गर्न बाध्य गरेकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक १ हजारभन्दा बढी सर्वसाधारण पीसीआर परीक्षणका लागि जाने गरेको मन्त्रालयले जनाएको छ ।   (गाेरखापत्र दैनिकबाट)

पाकिस्तानका १० क्रिकेटर्समा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले मंगलबार ७ खेलाडीमा कोरोना भाइरस संक्रमणको पुष्टि गरेको छ । संक्रमित खेलाडीहरुमा फखर जमान, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफीज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाज हुन् । यसअघि सोमबार मात्र शादाब खान, हरिस रउफ र हैदर अली कोरोना संक्रमित भएको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको थियो । पछिल्ला दुई दिनमा १० जना पाकिस्तानी क्रिकेटरहरु कोरोना संक्रमणबाट प्रभावित भएका छन् । खेलाडीहरू, जसको परीक्षण नकारात्मक छ, उनीहरु सबै २८ जूनमा बेलायत प्रस्थान गर्नेछन् । पाकिस्तान क्रिकेट टिमको बेलायतसँग तीन टेस्ट र तीन टी–२० म्याचको रिसिज अगस्टमा प्रस्तावित छ । पछिल्ला दिनहरुमा पाकिस्तानमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएको छ । हालसम्म १ लाख ८५ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भइसकेका छन, भने ३ हजार ९ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । (बीबीसीबाट)