काठमाडाैं महानगरपालिकाकाे बजेट १६ अर्ब ४२ कराेड
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकाे छ। बुधबार महानगरकी उपमेयर हरिप्रभा खड्गीले आर्थिक वर्ष २०७७/०७८ का लागि साे बजेट प्रस्तुत गरेकी हुन् । महानगरले बजेटमा आर्थिक विकासका लागि १७ करोड २३ लाख रुपैयाँ विनियोजन गरेकाे छ । यस्तै, पूर्वाधार विकास क्षेत्रको लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। कुल बजेटमा अन्तरिक स्रोतबाट ६ अर्ब ७६ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरिएको छ भने बाह्य स्रोततर्फ निसर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार, ससर्त अनुदानबाट २ अर्ब ५७ करोड ५१ लाख ४७९० रुपैयाँ आम्दानी हुने अनुमान गरिएकाेे छ । कुल आम्दानीमा नपुग हुने रकम ३ अर्ब ५० करोड बैंक मौज्दातबाट ब्यहोर्ने बजेटमा उल्लेख छ ।
नेकपा स्थायी कमिटी बैठक सकियाे, यी हुन् सात एजेण्डा
काठमाडाैं । सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटी बैठक एजेण्डा तय गर्दै सकिएको छ। बुधबार बालुवाटारमा बसेको बैठकले एजेण्डा तय गरेको हो। कार्यसूची अनुसार बैठकको प्रारम्भमा प्रधनमन्त्री एवम् अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने पहिलो एजेण्डा रहेको थियो। सोही क्रममा अध्यक्षद्वय ओली र प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीले निर्वाह गर्नुपर्ने जिम्मेवारीको विषयमा मन्तव्य राखेका छन्। बैठकले दोस्रो एजेन्डाको रुपमा कोरोना भाइरस ९कोभिड–१९० रोकथाम, नियन्त्रणका प्रयासलाई समेटेको छ। तेस्रो एजेण्डामा सीमा समस्या समाधानको विषय समेटिएको छ भने चौथो एजेण्डामा सरकारको कामको समग्र समीक्षा समेटिएको बताइएकाे छ । त्यसैगरी पाँचौ एजेण्डामा पार्टीको कामको समीक्षा र एकीकरणको पूर्णताको विषयमा छलफल हुने बताइएकाे हाे। छैटौ एजेण्डाको रुपमा एमसीसीको बारेमा छलफल हुने गरी कार्यसूची तय भएको हो। बुधबार अध्यक्षद्वयले सम्बोधन गरेपछि सकिएको बैठक असार १२ गते पुन: बस्नेछ।
भरतपुर महानगरको बजेट चार अर्ब, शहरी विकासमा ४७ करोड विनियाेजन
भरतपुर । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८का लागि रु चार अर्ब १५ करोड ६४ लाख ८९ हजार विनियोजन गरेको छ । महानगरको आज आयोजित छैटौँं नगरसभामा सो बजेट प्रस्तुत गरिएको हो । जसमध्ये रु ४८ करोड चालु खर्च रहेको छ । बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले आम्दानीतर्फ अन्तर सरकारी अख्तियारीबाट रु ६० करोड, आन्तरिक आय रु ९० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ६९ करोड दुई लाख ३८ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट रु ४६ करोड १२ लाख ५१ हजार रहेको बताए । यस्तै आम्दानीतर्फ जनसहभागिताबाट रु २५ करोड, बैंक मौज्दात रु ८२ करोड, मर्मत सम्भार कोषबाट रु दुई करोड र सडकबोर्ड नेपालबाट रु एक करोड ५० लाख रहने प्रक्षेपण गरिएको छ । चालु आर्थिक वर्षका लागि अघिल्लो वर्ष रु तीन अर्ब ३४ करोडको बजेट प्रस्तुत गरिएको थियो । तर जेठ मसान्तसम्मको पुरक बजेट तथा थप अख्तियारीसमेत गरी कूल अनुमानित आय रु चार अर्ब ५१ करोड २८ लाख ८ हजार पुगेको छ । आउँदो वर्षका लागि बजेट कोभिड १९– बाट प्रभावित व्यक्तिको उपचार र क्वारेन्टिन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिलाई रोजगार सिर्जना गर्न केन्द्रित भएको छ । त्यसैगरी महानगरवासीको मौलिक हकको रुपमा रहेका न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्दै जाने, निजी तथा सहकारी क्षेत्रसँग सहकार्य गर्दै रोजगारीका अवसर सिर्जना गर्ने, साधन स्रोत, अवसर र क्षमताको विकास तथा सोको उच्चतम् उपयोग गरी समृद्ध महानगर बनाउन बजेट केन्द्रित भएको उपप्रमुख ठकुरीले नगरसभालाई जानकारी दिए । नीति तथा कार्यक्रममा आर्थिक, भौतिक, सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाइ राष्ट्रको विकासमा टेवा पु¥याउने बजेटमा उल्लेख छ । बजेटमा आउँदो आर्थिक वर्षका लागि ११ वटा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । ती क्षेत्रमा शहरी सौन्दर्य र भू–उपयोग एवं बस्ती विकासमा रु ४७ करोड ३० लाख ९७ हजार, स्वास्थ्य सेवा सुधार एवं पहुँचमा रु ९ करोड ५० लाख, शिक्षामा रु ९ करोड, कृषि तथा पशुपक्षी विकासमा रु १५ करोड ५० लाख, वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन र विपद् व्यवस्थापनमा रु ८ करोड विनियोजन गरिएको छ । यसैगरी रोजगारी सिर्जना तथा सहकारी प्रर्वद्धनमा रु चार करोड, संस्कृति तथा पर्यटन प्रवद्र्धनमा रु तीन करोड, लक्षित वर्ग उत्थान, सशक्तीकरण एवं सामाजिक समावेशीकरणमा रु दुई करोड ५० लाख, प्रविधि प्रयोग तथा डिजिटल प्रणालीमा रु दुई करोड ५० लाख, युवा तथा खेलकूदमा रु दुई करोड, राजस्व, प्रशासन तथा वित्तीय सुशासनमा रु दुई करोड, उद्योग वाणिज्य तथा निजी क्षेत्रसँग सहकार्यमा रु एक करोड ५० लाख, सेवा प्रवाह र प्रशासनमा रु ७७ करोड विनियोजन गरिएको छ । सो अवसरमा महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै महानगर प्रमुख रेनु दाहालले विश्व यतिबेला कोरोना भाइरसले ल्याएको सङ्कट सामना गरिरहेको भन्दै मुलुक तथा महानगर पनि विपत्तिसँग जुधिरहेको बताए । महानगरले कोरोना सङ्क्रमणसँग जुध्न भरतपुर कोरोना विशेष अस्थायी अस्पताल र कोभिड १९ प्रयोगशाला स्थापना गरेको भन्दै उनले सबै वडामा क्वारेन्टिनको स्थापना गरिएको जानकारी दिए । महानगरपालिकाले वितेका तीन वर्षमा साना ठूला गरी करिब ३०० किलोमिटर सडक कालोपत्र, वडा कार्यालय, उद्यान, सडक मर्मत, मेसजाली लगाउने, सीप विकास र क्षमता विकास, कृषि तथा पशु विकासका काम गरिएको दाहालले सभालाई जानकारी दिए । महानगरपालिकाले आफ्नै सिटी हल बनाउने लक्ष्यअनुरुप काम भइरहेको, महानगरीय चक्रपथ, लिङ्करोड, बाइपास रोडको स्तरोन्नति, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माणका साथै शहरी पूर्वाधार निर्माणका काम अघि बढिरहेको दाहालले जानकारी गराए । महानगरकै पहलमा चौबिसकोठी–चनौली–मेघौली सडक वैकल्पिक सहायक राजमार्गमा स्तरोन्नति भएको, भरतपुर विमानस्थल प्रादेशिक विमानस्थलको रुपमा रुपान्तरण भएको भन्दै उनले अन्य केही ठूला आयोजना अघि बढिरहेको बताए । महानगरपालिकामा हालसम्म १४ ऐन, ६ नियमावली, ६ निर्देशिका, ३३ कार्यविधि, चार मापदण्ड तथा एक आचारसंहिता गरी ६४ वटा कानुन निर्माण भई कार्यान्वयनमा आएको उनले जानकारी दिए । नीति तथा कार्यक्रम र बजेटपछि आज समीक्षासँगै ऐन तथा कानून प्रस्तुत गरिने कार्यक्रम रहेको छ । बिहीबार दफाबार छलफल गर्दै शुक्रबार सभा सम्पन्न हुने महानगरले जनाएको छ । रासस
मासिक पाँच लाख कमाउने किसानको सुझाव- हाम्रै माटोमा केही गरौँ
फाईल फाेटाे पाेखरा । केही गर्छु भन्ने दृढ इच्छा शक्तिका साथ लाग्ने हो भने बाँझो जग्गाबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने तथ्यलाई यहाँका कृषकले थप प्रमाणित गरेका छन् । पोखरा महानगरपालिका–१४ छिनेडाँडास्थित राधिका एकीकृत कृषि समूहमा आबद्ध कृषकले भैँसीको दूध र तरकारी बिक्री गरेर मासिक पाँच लाखभन्दा बढी आम्दानी गरेका छन् । उनीहरुले आफूले मात्र आम्दानी गरेको नभएर कैयौँ युवालाई रोजगारी पनि दिएका छन् । लामो समयदेखि बाँझो रहेको १६ रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरेको व्यावसायिक पशुपालन र तरकारी खेतीमा हालसम्म रु एक करोड ५० लाखभन्दा बढी लगानी भएको सो फर्मका किसानले जनाएका छन् । सो कृषि फर्मले विभिन्न शीर्षकमा नेपाल सरकारबाट रु १४ लाख २५ हजार अनुदानसमेत प्राप्त गरेको छ । उक्त फर्ममार्फत कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (इकाइ) तरकारी सुपरजोनको रु १३ लाख ७५ हजार अनुदान र फर्मका तर्फबाट दुई लाख ५० हजारको लागतमा निर्माण गरिएको तापानुकूलित हाइटेक निर्माण गरी मौसमी एवं बेमौसमी तरकारी खेती गरिएको छ । गोठमा रहेका २४ वटा माहु भैँसीमध्ये १९ वटाले दैनिक ९० लिटर दूध दिन्छन् । प्रतिलिटर शुद्ध दूध रु एक सय ४० मा बिक्री गर्ने गरिएको छ । यसरी मासिक रु तीन लाख ७८ हजार बराबरको दूध बिक्री गर्ने गरेको उक्त कृषि समूह सञ्चालक समितिका अध्यक्ष मोहनबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार त्यस फर्मले भैँसीपालनतर्फ कृषि विज्ञ केन्द्र पोखराबाट रु ६० हजार मूल्य बराबरको उन्नतजातको राँगो र पोखरा महानगरपालिकाबाट बायोग्यास प्लान्टका लागि रु ५० हजार अनुदान प्राप्त गरेको छ । सरकारी स्तरबाट आवश्यक सहयोग प्राप्त हुने हो भने ५० वटा दुहुना भैँसी पु¥याउने फर्मको लक्ष्य रहेको उनको भनाइ छ । “फर्ममा उत्पादित दूध र तरकारी बिक्री हुँदैन कि भन्नै पर्दैन, ग्राहक बिहान–बेलुका फर्ममै आउँछन्”, उनले भने, “दूधमा गोठदेखि सबैतर्फ शुद्धतामा ध्यान दिइएका छौँ, फर्ममा उत्पादित भैँसीको दूधमा आठ प्रतिशत फ्याट (बाक्लो या चिल्लोपन) हुन्छ, हामीलाई लाग्छ हामीले निकै शुद्ध र ताजा दूध उपलब्ध गराइरहेका छौँ ।” सर्लाही जिल्लाबाट रु एक लाख ४० हजारमा खरिद गरेर ल्याएको एउटा भैँसीले अहिले पनि दैनिक १५ लिटर दूध दिने गरेको छ । उन्नत जातका भैँसीका पाडी हुर्काउने अभियान नै सञ्चालन गरेको उनको भनाइ छ । छिमेकी मुलुक भारतबाट खरिद गरेर ल्याएको भैँसी दूध दिने अवस्थासम्म दुहुने र दूध घट्ने बित्तिकै मासुमा बिक्री गर्दा व्यक्तिलाई फाइदा भए पनि राज्यलाई आर्थिक रुपमा ठूलो नोक्सान हुने हुँदा पशुपालनसँगै पाडापाडी हुर्काउनेलाई सरकारी स्तरबाट उचित अनुदानको व्यवस्था गर्नुपर्नेमा पशुपालक कृषकको जोड रहेको छ । विसं २०७३ मा दर्ता गरी सञ्चालनमा आएको फर्मले यस पटक छवटा पाडा बिक्री गरेर ९० हजार आम्दानी गरेको छ । भारतमा गएर भैँसी खरिद गर्नुभन्दा गोठमै पाडी हुर्काउने लक्ष्य फर्मको छ । गोठमा अहिले विभिन्न उमेरका १६ वटा पाडापाडी हुर्कंदै गरेका छन् । दानामा नभई घाँसमा आधारित भैँसीपालनलाई जोड दिँदै आएको फर्मले १०० रोपनी जग्गामा उन्नत जातको मकै, नेपियर लगायतका विभिन्न दुधालु जातका घाँसका बिरुवा लगाएको छ । उत्पादित घाँसलाई दानामा मिसाएर भैँसीलाई खुवाउँदा दूधमा फ्याटको मात्रा बढी हुनाका साथै भैँसीको स्वास्थ पनि राम्रो हुने गरेको उनको भनाइ छ । पशुपालनसँगै नेपाल सरकार कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (इकाइ) तरकारी सुपरजोनको अनुदानमा निर्माण गरिएको हाइटेक (हरितगृह) मा यतिखेर गोलभेँडा लटरम्म फलेका छन् । भैँसीको मललाई विभिन्न जैविक घाँसहरु राखेर १५ दिनसम्म छोपेपछि बनेको कम्पोष्ट मल तरकारी बारीमा राख्दा टनेलभित्र लगाएको तरकारीले राम्रो उत्पादन दिनुका साथै उपभोक्ताको स्वास्थ्यको समेत ख्याल गरी अर्गानिक उत्पादनमा जोड दिँदै आएको सञ्चालक समितिका सचिव ललितबहादुर बानियाँले जानकारी दिए । एक रोपनी क्षेत्रफलमा रहेको जमीनमा पोखरा–२० भलामस्थित हमाल एग्रिकल्चर एन्ड भेजिटेबल नर्सरीबाट खरिद गरेर चैतको अन्तिम सातामा रोपेका ७३० वटा बिरुवाले यतिखेर लटरम्म फल दिन थालेका छन् । अहिले दैनिक कम्तीमा ३० केजी गोलभेँडा उत्पादन हुने गरेको छ, प्रतिकेजी रु ७० मा बिक्री गर्दै आएको उनको भनाइ छ । “यस मौसममा गोलभेँडा बिक्री गरेर न्यूनतम रु १० लाख आम्दानी गर्ने हाम्रो लक्ष्य छ”, उनले भने, “बारम्बार आउने हावाहुरीसहितको असिना पानीले टनेलको प्लाष्टिक उडाउँदा रोगको प्रकोप बढेसँगै उत्पादनमा समेत कमी आउने गरेको छ ।” बेलायतमा पाँच वर्ष बसेर स्वदेश फर्कनुभएका उहाँले जन्मभूमिमै परिवारसँगै बसेर पनि केही गर्न सकिन्छ भन्ने सोचका साथ स्थानीय १५ जनाको समूह बनाएर फर्म दर्ता गरी अरूलाई पनि पशुपालन र तरकारी खेती गर्न प्रेरित गर्दै आएका छन् । सो समूहले आफ्नाे निजी खर्च रु १८ लाखको लागतमा निर्माण गरेको टनेलभित्र लगाएको भक्तपुरे लोकल काँक्रोका ६०० बिरुवाले चैतदेखि उत्पादन दिन शुरु गरेको थियो । काँक्रो बिक्रीबाट यस मौसममा रु ९० हजार आम्दानी भएको सो फर्म सञ्चालक समितिका सदस्य हरिबहादुर कार्कीले बताए । “बजारमा शुरुमा प्रतिकेजी रु ८० र पछिल्लो समयमा रु ५५ मा काँक्रो बिक्री भयो”, उनले भने, “उत्पादित काँक्रो फर्मबाटै बिक्री हुने गरेको छ भने केही बाँकी आसपासका उपभोक्ता बस्तीमा पु¥याएर समेत बिक्री गर्ने गरेका छौँ ।” उनका अनुसार टनेलभित्र बेमौसमी तरकारी खेती गरिँदै आएको र काँक्रो हटाएपछि साग रोपिएको छ । अहिले सागले पनि आम्दानी दिन शुरु गरेको छ । विशेषतः टनेलमा गोलभेँडा, काँक्रो, सिमी, धनियाँ, सागबाट राम्रो आम्दानी हुने गरेको छ । फर्ममा हाल आठजनाले प्रत्यक्ष रोजगार पाएका छन् । उनीहरुको मासिक पारिश्रमिकमा मात्र रु एक लाख १० हजार खर्च हुने गरेको छ । उनीहरुका लागि खाना र बासको समेत फर्मले छुट्टै व्यवस्था गर्दै आएको छ । पशुपालन एवं तरकारी खेतीको लागि अत्यावश्यकरुपमा रहेको पानीका लागि रु २२ लाखको लागतमा डिप बोरिङ खनेर पानीको व्यवस्था गर्दै आएको फर्मले सहुलियत ब्याजदरमा विभिन्न बैंकबाट रु ७५ लाख ऋण लिएको जनाएको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिम कम गर्नका लागि घोषित बन्दाबन्दीका कारण फर्ममा भैँसीपालन र तरकारी खेतीमा प्रत्यक्ष प्रभाव परेको छ । गुणस्तरीय दाना र आवश्यक परालको अभावमा दिनप्रतिदिन भैँसी कमजोर बन्दै गएको र दूध उत्पादनसमेत घट्दै गएको छ । ढुवानी सेवा प्रभावित हुँदा विशेषगरी पशुपालनमा समस्या सिर्जना भएको हो । यतिखेर घाँसमा जोड दिइएको छ ।
नेविसंघका कार्यकर्ताले जलाए त्रिवि उपकुलपतिको कुर्सी
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल कांग्रेसको भ्रातृ संगठन नेविसंघका कार्यकर्ताले बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कुर्सी जलाएका छन् । विभिन्न मागसहित बुधबार त्रिवि पुगेका उनीहरुले बास्काेटाको कुर्सी जलाएका हुन् । त्रिवि अन्तर्गतका विभिन्न संकायको डीन र क्याम्पस प्रमुख नियुक्ति गर्दा नेकपा समर्थकमात्र नियुक्त गरेको भन्दै नेविसंघले विरोध गर्दै आएको छ ।
खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टिनमा शौचालय बनाउने
काठमाडाैं । खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टिनमा शौचालय बनाउने तयारी अघि बढाएको छ । मन्त्रिपरिषद्को गत साताको बैठकले मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको थियो । मन्त्रालयले कुन मोडलको बनाउने, कुन क्वारेन्टिनमा कति सङ्ख्यामा बनाउनेलगायतका विषयमा छलफल अघि बढाएको छ । मन्त्री विना मगर, सचिव माधव बेल्वासे, खानेपानी तथा सरसफाइ विभागका प्रतिनिधि, खानेपानी मन्त्रालयका सहसचिवलगायतका व्यक्ति सहभागी बैठकले स्थायी र अस्थायी कुन प्रकृतिको शौचालय बनाउन उपयुक्त हुन्छ भनि छलफल गरिरहेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिम हुँदासम्मका लागि अस्थायी शौचालय बनाउने कि त्यही शौचालय भविष्यसम्म प्रयोग गर्ने गरी स्थायी प्रकृतिको बनाउने भनी छलफल भइरहेको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार अधिकांश क्वारेन्टिन विद्यालयमै रहेकाले त्यसलाई भविष्यसम्म प्रयोग गर्ने गरी निर्माण गर्ने एकाथरिको सुझाव छ । त्यस्तै, छिटो निर्माण गरिसक्नुुपर्ने भएकाले अस्थायी नै बनाउने विषयमा पनि छलफल भएको छ । कम लगानीमा र छिटोे हुने भएकाले बोक्न मिल्ने शौचालयका विषयमासमेत सुझाव आएको छ । उनले भने, “कुन मोडलमा बनाउँदा उपयुक्त हुन्छ भनि केही दिनमा नै टुङ्गो लगाइनेछ ।” मन्त्रालयले केही दिनमा नै ‘मोडालिटी’का बारेमा टुङ्गो लगाएर यही महिनामा नै निर्माण गर्ने योजना बनाएको प्रवक्ता शाक्यले बताए । मन्त्रालयले ‘फास्टट्र्याक’ मार्फत निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यस्तै, निर्माणको जिम्मेवारी कुनै कम्पनीलाई दिने कि स्थानीयस्तरमा कार्यरत गैरसरकारी संस्थालाई दिने भन्ने विषय पनि टुङ्गो लगाइनेछ । सबै क्वारेन्टिनमा एकनाशको शौचालय बनाइने सोच छ । कति बजेटसम्मको बनाउने भनी टुङ्गो लगाउन बाँकी छ । खानेपानी तथा सरसफाइ विभागले विभिन्न प्रदेशका निर्देशनालयमार्फत शौचालय निर्माण गर्ने गरी छलफल भइरहेको उनले बताए । क्वारेन्टिनको क्षमताको आधारमा शौचालय निर्माणबारे टुङ्गो लगाइनेछ । महिलाका लागि कति र पुरुषका लागि कति शौचालय आवश्यक छ भनी बैठकले निर्णय गर्नेछ । कोभिड–१९ का सम्भावित सङ्क्रमित बसिरहेका क्वारेन्टिनलाई व्यवस्थित बनाउन सरकारले खानेपानी मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको हो । धेरै ठाउँमा रहेका क्वारेन्टिनमा खानेपानी र शौचालयको राम्रो व्यवस्था छैन । क्वारेन्टिनका व्यक्ति सङ्क्रमित पनि हुनसक्ने र उसले प्रयोग गरेको शौचालय धेरैले प्रयोग गर्दा सङ्क्रमण फैलने जोखिम हुन्छ । भारतमा रोजगारीका सिलसिलामा गएका व्यक्ति स्वदेश फर्किएसँगै क्वारेन्टिनमा बस्नेको सङ्ख्या बढिरहेको छ । सोमबार देशभरमा क्वारेन्टिनमा रहेकाको सङ्ख्या ९० हजार ७३० रहेको थियो । यो सङ्ख्या आइतबार ९४ हजार ९२८ जना थियो भने शनिबार मुलुकभरका क्वारेन्टिनमा एक लाख दुई हजार २४५ जना रहेका थिए । गत साता राष्ट्रियसभाको बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै खानेपानी मन्त्री बीना मगरले मन्त्रालयलाई भर्खर मात्रै क्वारेन्टिनमा खानेपानी र शौचालय, सरसफाइ निर्माणको जिम्मेवारी आएकाले त्यसको कार्यान्वयनमा लागेको बताउनुभएको थियो । अहिले आवश्यकतानुसार छिटोभन्दा छिटो कार्यान्वयन गर्न मन्त्रालय अघि बढ्ने उनको भनाइ थियो । रासस
राष्ट्र बैंकको व्यवहारप्रति धितोपत्र बोर्ड असन्तुष्ट, सेयर बजार खुल्ने टुंगो शुक्रबार
काठमाडौं । सेयर बजार कहिलेदेखि खुल्ने भन्ने टुंगो शुक्रबार लाग्ने भएको छ । लगानीकर्ताले उठाएका पुँजीगत लाभकर र इन्टरनेट बैंकिङबाट रकम भुक्तानी गर्ने सीमा बढाउन सरोकारबाला तयार भएपछि बजार खुलाउन दबाब परेको छ । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले पुँजीगत लाभकरलाई अन्तिम कर हो भनेर प्रष्ट पार्न अर्थमन्त्रालयलाई अनुरोध गरेको थियो । बोर्डको अनुरोध अनुसार अर्थमन्त्रालयले पुँजीगत लाभकर अन्तिम नै रहेको व्यहोराको पत्र बोर्डमा पठाएको छ । यस्तै, बोर्डले सेयर कारोबारमा इन्टरनेट बैंकिङबाट हुने भुक्तानीको सीमा हटाइदिन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । बोर्डको सुझाव अनुसार राष्ट्र बैंकले इन्टरनेट र मोबाइल बैंकिङको सीमा पनि हटाइदिएको छ । तर, राष्ट्र बैंकले इन्टरनेट र मोबाइल बैंकिङ भुक्तानीको सम्बन्धमा गरेको व्यवस्थाप्रति बोर्ड अझै पनि सन्तुष्ट छैन । राष्ट्र बैंकले सेयर खरिद विक्रीको भुक्तानीका लागि मोबाइल बैंकिङबाट एक पटकमा लागि १ लाख रुपैयाँ र इन्टरनेट भुक्तानीको लागि एक पटकमा १० लाख रुपैयाँको सीमा कायमै राखेको छ । यद्यपि यसरी कारोबार गर्दा एक दिनमा जति रकम बराबरको पनि सेयर कारोबार गर्न पाउने राष्ट्र बैंकको भनाइ छ । मोबाइल बैंकिङमा एक पटकमा १ लाख रुपैयाँ र इन्टरनेट बैंकिङको माध्यमबाट एक पटकमा १० लाख रुपैयाँ मात्रै भुक्तानी गर्न पाउने व्यवस्थाले लगानीकर्तालाई अनावश्यक झन्झट मात्रै हुने बोर्डको भनाइ छ । नियामकीय दायरमा रहेको र प्रभावकारी नियमन भइरहेको सेयर बजारमा एक पटकमा एक लाख र १० लाख रुपैयाँको सीमा कायम गरेर अनावश्यक झन्झट मात्रै सिर्जना हुने बोर्डको भनाइ छ । पुँजीगत लाभकरको विषयमा भने धितोपत्र बोर्डले सन्तुष्टी जनाएको छ । बोर्डले उठाएका प्रमुख विषयको सम्बोधन भएपछि बोर्डलाई बजार खोल्न दबाब परेको छ । तर, बजार कहिलेदेखि कसरी खोल्ने भन्ने विषयमा बोर्डले अध्ययन समिति नै गठन गरेकोले सो समितिको प्रतिबेदन प्राप्त भएपछि आवश्यक निर्णय हुने बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । ‘शुक्रबार अध्ययन समितिले प्रतिबेदन दिन्छ, समितिको प्रतिबेदन प्राप्त भएपछि बोर्डको संचालक समिति बैठक बसेर आवश्यक निर्णय गरिन्छ,’ अध्यक्ष ढुंगानाले भने ।
बोनस सेयर पछि नागरिक लगानी कोषको मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा नगारिक लगानी कोषको मूल्य समायोजन भएको छ । कोषको २२ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कोषको सेयर मूल्य प्रतिकित्ता एक हजार ८ सय ८२ रुपैयाँ तोकिएको छ ।