एसईईको नतिजा साउन १५ गतेभित्रै प्रकाशित हुने
काठमाडौं । एसईईको नतिजा साउन १५ गतेसम्ममा प्रकाशन गरिसक्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले विद्यालयले पठाएको डाटामा कुनै समस्या नभए साउन १५ गतेसम्ममा एसईईको नतिजा प्रकाशन गरिसक्ने बताएका हुन् । ‘विद्यार्थीहरुको डाटामा कुनै पनि प्रकारको समस्या नदेखिए साउन १५ सम्ममा नतिजा प्रकाशन गरिसक्ने हाम्रो लक्ष्य छ, केही समस्याहरु आईपरे थप केही समय लाग्न सक्छ,’ उनले भने । यस वर्ष ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थीहरु एसर्ईई परीक्षा दिनलाई तयार बसेका थिए । तर, कोरोनाभाइरस (कोभिड १९) को कारण सरकारले चैत ६ गतेदेखि हुने भनिएको परीक्षा चैत ५ गते स्थगित गरेको थियो । परीक्षामा सबैभन्दा बढि काठमाडौंका ३६ हजार विद्यार्थीहरुले सहभागी हुने तयारीमा थिए । लगतै परीक्षा स्थगित भएसँगै सरकारले चैत ११ गतेदेखि देशभर लकडाउनको घोषणा गरेको थियो । यस कारण एसईई परीक्षाको कुनै पनि टुँगो लागेको थिएन । तर, गत जेठ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले एसईईलाई यस वर्ष आन्तरिक मुल्यांकनको आधारमा नतिजा निकाल्ने भएको हो । विद्यालयले आफूले सञ्चालन गरेको पहिलो त्रैमासिक परीक्षाको नतिजाका आधारमा १० प्रतिशत, दोस्रो त्रैमासिक परीक्षाका आधारमा ३० प्रतिशत र अन्तिम परीक्षाको ६० प्रतिशत अंक जोडेर विद्यार्थीको ग्रेड निर्धारण गर्ने कार्यविधि तय गरिएको छ । यसलाई आधार मानी विद्यालयले विद्यार्थीको अन्तिम नतिजा तयार पार्नु पर्नेछ । एसईई परीक्षा दिने विद्यार्थीको विद्यालयले तयार पारेको अन्तिम मूल्यांकन विवरण असार २० गतेभित्र जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईमा पठाउनु पर्नेछ । सम्बन्धित विद्यालयले सम्बन्धित जिल्लाको जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा विद्यार्थीको अन्तिम मुल्यांकन विवरण पठाउनु पर्नेछ । उक्त समन्वय एकाइले मुल्यांकन प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा असार ३० गतेभित्र नतिजा पठाउनु पर्नेछ ।त्यसरी प्राप्त भएको विविरणको आधारमा बोर्डले परीक्षाफल तयारी र प्रकाशन गरी प्रमाणपत्र जारी गर्नुपर्ने छ ।
विश्व बैंकले नेपाललाई १० करोड डलर बराबरको आर्थिक सहायता दिने
काठमाडाैं । विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै कोभिड–१९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहायता दिने भएको छ । अर्थ मन्त्रालयमा आज विश्व बैंकसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फारिस हदाद जार्भोसले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेकाे हो । यो ऊर्जा क्षेत्रसँग सम्बन्धित दोस्रो सम्झौता हो । ऊर्जा क्षेत्रको वित्तीय अवस्थामा सुधार ल्याउन र कोभिड–१९ सङ्कटसँग जुध्न सघाउने उद्देश्यले सहयोग गरिएको विश्व बैंकले जनाएको छ । सहयोग रकम नेपालको ऊर्जा क्षेत्रको सम्भाव्यतालाई पहिल्याउन नीतिगत र संस्थागत सुधारमा खर्च गरिने सम्झौतापत्रमा उल्लेख छ । यो सहयोगअन्तर्गत नेपाल विद्युत् प्राधिकरणलाई वित्तीयरुपमा सबल बनाउने, स्वायत्त, पारदर्शी र जवाफदेही नियमनकारी निकाय खडा गर्ने, ऊर्जाको क्षेत्रीय बजारमा हिस्सा अभिवृद्धि गर्ने र सङ्घीय ढाँचाअनुरुप प्राधिकरणको प्रादेशिक र स्थानीय तहमा संरचना खडा गर्ने काम हुनेछ । हालैका वर्षमा देशव्यापी विद्युत् कटौतीको स्थितिलाई अन्त्य गर्दै नेपालको ऊर्जा क्षेत्रले विद्युत् उत्पादनमा अभिवृद्धि, चुहावट नियन्त्रण र अन्तरदेशीय प्रसारण लाइन विस्तारमा उल्लेख्य उपलब्धि हासिल गरेको छ । अहिले नेपालमा कूल जनसङ्ख्याको ८८ प्रतिशत जनतामा विद्युत् पुग्न सकेको छ । उक्त समारोहमा सचिव ढुङ्गानाले नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग गरेकोमा विश्व बैंकलाई धन्यवाद दिँदै यसले ऊर्जा क्षमताको समुचित विकास गरी विद्युत् सुविधाको पहुँच वृद्धिका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनले कोभिड–१९ को महामारीको सङ्कटपूर्ण अवस्थामा उपलब्ध भएको सहयोगले ऊर्जा क्षेत्रमा परेको असर कम गर्न र विद्युतीय सुशासन कायम गर्न फलदायी हुने उल्लेख गरे । विश्व बैंकका देशीय निर्देशक जार्भोसले कोभिड–१९ सङ्कटका बेलामा र त्यसपछि पनि ऊर्जा क्षेत्रको विकासका लागि विश्व बैंकले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको ऊर्जा क्षेत्रलाई भरपर्दो र दिगो बनाउने तथा गरिबी निवारण र मुलुकको समृद्धिमा समेत सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उनले नेपालसँगको ५०औँ वर्षसम्मको सम्बन्धलाई निरन्तरता दिँदै सहयोग गर्न पाएकामा खुशी व्यक्त गरे । कोभिड–१९ का समयमा दीर्घकालीन योजना सम्पन्न गर्न पनि सघाउने उनले आशा व्यक्त गरे ।
एनआईसी एशिया बैंकले गर्यो ३० लाखको घातक रोग बीमा दावी रकम भुक्तानी
काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्ना दुई ग्राहकलाई १५ लाख रुपैयाँ प्रतिव्यक्तिका दरले ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ। चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमा वापत बैंकले उक्त रकम भुक्तानी गरेको बताएकाे हाे । चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोलेका नवलपरासीस्थित भुमई निवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका काठमाडौंस्थित बुढानिलकण्ठ निवासी बसन्त राज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको हो। सुपर चमत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध रहेको छ। श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरिएको छ। बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खातामा ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बीमा सुविधा प्रदान गरिएको बैंकले बताएको छ। यस बचत योजनाको ‘डायमण्ड’ श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख रुपैयाँ ९अस्पताल भर्नामा ८० हजार रुपैयाँ र बहिरंग उपचारमा २० हजार रुपैयाँ० सँगै विभिन्न निःशुल्क सुविधाहरू पाउन सकिन्छ। चमत्कारिक निक्षेप योजना ग्राहकहरू समक्ष निकै नै लोकप्रिय बनेको बैंकको भनाइ छ। यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
काठमाडाैंमा भाडामा बस्नेलाई सहज, व्यवसायीलाई छुटै छुट
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत धेरै सहुलियतका कार्यक्रम ल्याएको छ । विभिन्न क्षेत्रमा कोरोना भाइरसको असर भइरहँदा महानगरपालिकाले महानगरवासी तथा व्यवसायीहरुका लागि धेरै छुटको व्यवस्था गरेको हाे। महानगरपालिले कोभिड–१९ को प्रभावका कारण करदाताहरुबाट असुल हुन बांकी रहेको आर्थिक बर्ष २०७६/०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पुरै छुट दिएको छ । यस्तै, कोभिड–१९ का कारण नागरिकमा परेको असरलाई कम गर्न आर्थिक बर्ष २०७७/०७८ को पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक बर्षमा लाग्ने सम्पत्ति करमा दश प्रतिशत छुट दिने बताएको छ। होटल तथा पर्यटन क्षेत्रमा पर्न गएकाअसरलाई मध्यनजर गरी होल, रिसोर्टका नाममा घर जग्गा भई वा लिजमा लिई होटेल, रिसोर्ट निर्माण गरी सञ्चालन भएको करदाताको हकमा आर्थिक बर्ष २०७६/७७ सम्मको घरजग्गा कर/सम्पत्ति कर चुक्ता गरेमा आर्थिक बर्ष २०७७/७८ को सम्पत्ति करमा थप ७५ प्रतिशत छुट दिने जानकारी दिएको छ । यस्तै, अब महानरपािलकाले भाडामा बस्नेहरुका लाई पनि केही सहज स्थिति गरेकाे छ । भाडामा बस्नेहरुलाई घरधनीले एक महिनाकाे छुट दिएमा साे घरधनीलाई घर बहाल कर चुक्ता गर्न सक्नेछ । एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा बार्षिक बहाल करमा दश प्रतिशत छुट गर्ने उल्लेख गरिएको छ । २०७७ पुस मसान्ता भित्र सम्पती कर बुझाएमा हुने दश प्रतिशत छुट समेत जोड्ने हो भने होटल, रिसोर्ट क्षेत्रलाई ८५ प्रतिशत सम्पति करमा छुट हुन आउँछ । यस्तै, सर्वसाधारणहरुको सवारी साधन पार्किङ प्रयोजनका लागि व्यवसायिक रुपमा निर्माण गरिने भवनको हकमा भवन निर्माण सम्पन्न भएको मितिले ५ बर्षसम्म सम्पत्ति कर छुट दिने उल्लेख गरिएको छ । महानगरले सबैभन्दा बढी विद्युतीय मोटर, कार, मोटरसाइकल शोरुममा ८० प्रतिशत कर छुट दिनेछ । हाल विद्युतीय मोटर/कार शोरुममा वार्षिक ५० हजार रुपैयाँ र विद्युतीय मोटरसाइकल शोरुमामा २५ हजार रुपैयाँ वार्षिक कर लाग्दै आएको छ । त्यसैगरी ब्यवसाय गरी बस्ने करदाताहरुलाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिएको छ । महानगरपालिकाले आर्थिक बर्ष २०७७÷७८ मा लाग्ने ब्यवसाय करमा होटल, पर्यटन तथा मनोरन्जन क्षेत्रसंग सम्बन्धित ब्यवसायीहरुले तिर्ने ब्यवसाय करमा पचास प्रतिशत र अन्य सबै ब्यवसायीहरुले तिर्ने ब्यवसाय करमा बीस प्रतिशत छुटको व्यवस्था गरेको छ ।
उपत्यकामा २ कोरोना संक्रमित थपिए
काठमाडाैं । काठमाडौं उपत्यकामा थप २ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ कोरोना संक्रमित थपिएकाे बताए । काठमाडौंमा १ जना पुरूष र भक्तपुरमा १ जना महिलामा संक्रमण देखिएको उनले बताए।
दरवारमार्गमा जग्गाको मूल्य प्रतिआना ५० लाख, काठमाडाैंमा कुन ठाउँको मूल्य कति ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका अनुसार काठमाडौंको व्यापारिक केन्द्र दरबारमार्गमा प्रति आना जग्गाको मूल्य ५० लाख रुपैयाँ रहेको छ । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयक प्रस्तुत गर्दै जग्गाको मूल्य तोकेको हो । विभिन्न ठाउँको जग्गाको मूल्य न्युनतम १३ लाख रुपैयाँ देखि अधिकतम ५० लाख रुपैयाँ कायम गरेको हो । दरवार मार्गमा मात्रै आनाको ५० लाख रुपैयाँ तोकेको छ । महानगरपालिकाले यी विभिन्न मूल्य ताेकेपनि यसकाे वास्तविक मूल्य भने फरक नै छ । काठमाडौं महानगरभित्र पर्ने १ सय ७७ वटा ठाउँको जग्गाको मूल्य तोकिएको छ । नयाँ मूल्यका आधारमा खरिद बिक्री कर लाग्नेछ । जग्गाको मूल्यमा छुटको व्यवस्था समेत गरिएको छ । महानगरले करका दरहरु सार्वजनिक गर्दै सबै खाले व्यवसायमा करका नयाँ दरहरु निर्धारण गरेको छ । नयाँ करले सबैखाले व्यवसाय गर्न महंगो पर्ने देखिएको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र एक व्यक्तिका नाममा दर्ता कायम रहेका घर तथा जग्गाहरुलाई एक युनिट मानि कर निर्धारण गरिनेछ । घर जग्गा मूल्यांकनको लागि जग्गाको क्षेत्रफल आठ आनासम्म भएमा सम्पुर्ण जग्गा घरजग्गा कर निर्धारणमा समाबेश गर्ने सो भन्दा बढी क्षेत्रफल भएकाको हकमा भवन वा घरले चर्चेको क्षेत्रफलको दुई गुणासम्मको जग्गा मात्र मूल्याङ्कनमा समाबेश गरी कर निर्धारण गरिने भएको हो । जुनसुकैप्रकारले हक हस्तान्तरण हुँदा महानगरपालिकाले गरेको मूल्यांकन भन्दा लिखतको मूल्य घटी वा बढी भए पनि नगर सभाबाट स्वीकृति भएको दरको आधारमा मात्र घरजग्गाको मूल्यांकन गरि कर निर्धारण गरिनेछ । महानगरपालिकाले बुधबार आर्थिक वर्ष २०७७/७८ को बजेटसँगै आर्थिक विधेयक पनि सार्वजनिक गरेको छ । आर्थिक विधेयकमा महानगरले तपाईंको कति सम्पत्तिमा कति कर असूल गर्ने भनेर उल्लेख गरेको छ ।
नेपालमा थप ६ सय २९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७ सय २८
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ६ सय २९ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १० हजार ७ सय २८ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या २३ सय ३८ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २४ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ९३ हजार १ सय ९४ काे पिसिआर विधि र २ लाख ८३ हजारकाे ६ सय ९६ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ८७ हजार ६ सय ३९ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ३ सय ६६ जना आईसाेलेसनमा रहेका छन् ।
ललितपुरमा तरकारी सङ्कलन केन्द्र निर्माण गरिने
काठमाडौं । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा वाग्मती प्रवेश गर्ने नाका तीनपाने भञ्ज्याङमा तरकारी सङ्कलन केन्द्र निर्माण गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत गर्दै उक्त कुराको जानकारी गराए । गाउँपालिकाले अस्पताल निर्माण, वैदेशिक रोजगारीबाट फर्केर आउने युवाले व्यवसाय गर्न चाहेमा ब्याजमा अनुदानलगायतका कार्यक्रमलाई प्राथमिकता दिएको जनाइएको छ । गाउँसभामा उपाध्यक्ष रञ्जना घिमिरेले रु ४२ करोड ५६ लाखको बजेट प्रस्तुत गरे । कार्यक्रममा गाउँपालिकाले वित्तीय समानीकरणतर्फ सङ्घीय सरकारबाट रु सात करोड ३३ लाख र प्रदेश सरकारबाट ५८ लाख ९४ हजार, सशर्त अनुदानतर्फ सङ्घीय सरकारबाट रु १९ करोड ५२ लाख, प्रदेश सरकारबाट रु दुई करोड ३२ लाख ७५ हजार बजेट विनियोजन गरेको जानकारी दिए । यसैगरी सङ्घीय सरकारको राजश्व बाडफाँटबाट रु पाँच करोड १३ लाख, प्रदेश सरकारको राजश्व बाडफाँडबाट रु एक करोड ५८ लाख ३४ हजार, गाउँपालिकाको आन्तरिक आयबाट रु पाँच करोड ६३ लाख र रजिष्टे«शन दस्तुरबाट रु ५० लाख आम्दानी हुने गाउँपालिकाको अनुमान छ । रासस