विकासन्युज

टोखाको बजेट १ अर्ब ५८ करोड ४१ लाख

काठमाडाैं । टोखा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्ब ५८ करोड ४१ लख ७७ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले बुधबारको सातौँ नगरसभामा आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले प्रस्तुत गर्नुभएको बजेटमा पूँजीगततर्फ १ अर्ब ४४ करोड र कार्यालय सञ्चालनको लागि १४ करोड १५ लाख रूपैयाँ रहेको छ । नगरपालिकाले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । टोखाले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर बजेट विनियोजन गरेको हो । टोखाले प्रस्तुत गरेको बजेटमा स्वास्थ्यका लागि ३ करोड, शिक्षाका लागि १ करोड ६० लाख, कृषिलाई ५० लाख, महिला विकासका लागि ३० लाख, पशुसेवाका लागि ३० लाख, सहकारीका लागि  ३० लाख रूपैयाँ रहेको छ । यस्तै, टोखाले चालु नगरका विकासका आयोजनाका लागि २ करोड २५ लाख रूपैयाँ विनियोजन गरेको छ । बुधबारको नगरसभामा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।   रासस

संस्थागत सुशासन र जवाफदेहीता

नेपालमा विभिन्न कम्पनी तथा संस्थाहरु सर्वसाधारणको निक्षेत तथा लगानीमा स्थापना भएका छन् । सर्वसाधारणको लगानीको सुरक्षण गर्नु उनीहरुको मुख्य दायित्व हो । संस्थामा हुने सानो विचलन र समस्याले समेत सर्वसाधारणको ठूलो लगानीमा उच्चतम जोखिम आउने गर्दछ । यसर्थ स्थापना भई सञ्चालनमा रहेका संस्थाहरुको नियमन सुक्ष्म रुपमा गर्नु पर्ने आवश्यकता देखिन्छ । संस्थाका नियमाकीय निकायहरुले संस्थागत सुशासनमा कुनै आँच नआउने गरी नियमन गरी रहेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको र बीमा समितिले बीमा कम्पनीहरुको नियमन सुष्म रुपमा गरिरहेका हुन्छन् । यसर्थ यस्ता कम्पनीहरुमा केही हद सम्म राम्रो संस्थागत सुशासन हुने भएकोले सर्वसाधारण नागरिकहरुको लगानीको सुरक्षण भएको पाइन्छ । तर सबै संस्थाका नियमाकीय निकायहरुले निरन्तर नियमन र अनुगमन नगर्नाले कारोबारमा पारदर्शीता नहुने र व्यवस्थापनको हस्तक्षेपले गर्दा हजारौं सर्वसाधारणको लगानी जोखिममा पर्ने गरेको छ । सहकारी संस्थामा लाखौं मानिस सदस्य रहेका र सहकारी संस्थाको सुक्ष्म अध्ययन तथा नियमन नहुँदा सर्वसाधारणको अरबौं रकम उच्च जोखिममा रहेको छ । नेपाल स्टक एक्स्चेन्जमा सुचिकृत कम्पनीहरु जस्तै हाइड्रोपावर कम्पनी, उत्पादनशील क्षेत्रका कम्पनीहरुको बलियो नियमन नहुदाँ लगानीकर्ताको ठुलो रकम जोखिममा रहेको छ । नेपाल स्टक एक्सचेन्जमा तीन सय भन्दा बढी कम्पनी सुचिकृत भएका छन् र सर्वसधारणको लगानी १५ खर्ब भन्दा बढी रहेको छ । यसर्थ लगानीकर्ताको सानो सानो पुँजीको संवद्र्धन गर्नु र सुरक्षा गर्नु नियमाकीय निकायहरुको मुल धर्म तथा दायित्व हो । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारलाई व्यवस्थित, पारदर्शी तथा जवाफदेही बनाई संस्थागत सुशासन प्रबद्र्धन गर्ने हेतुले सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ जारी गरी कार्यान्वयनमा ल्याएको छ तर हाल सम्म पनि सुचिकृत कम्पनीहरुले उक्त निर्देशिका पुर्ण रुपमा पालना गरेको पाइदैन । यसरी नियमाकीय निकायले दिएको निर्देशन समेत पूर्ण रुपमा पालना नगर्दा सर्वसाधारणको लगानी उच्चतम जोखिममा रहने गरेको छ । लेखक नेपाल धितोपत्र बोर्डले २०७६ साउन १९ गते एक सूचना जारी गरी संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदन लेखापरीक्षकबाट प्रमाणित गराई उक्त अनुपालना प्रतिवेदन सम्बन्धित संस्थाको वार्षिक प्रतिवेदनमा समावेश गर्नु पर्ने निर्देशन दिएको भएतापनि अधिकांश संस्थाहरुले यस प्रकारको प्रतिवेदन समावेश गरेको पाइदैन । नियमनकारी निकायहरुको निर्देशन ठाडो रुपमा अवज्ञा हुँदा समेत नियमाकीय निकायले समेत कुनै कदम चालेको पाइदैन । यसले लगानीकर्ताहरुको लगानीमा जोखिम श्रृजना गर्ने त हैन, प्रश्न चिह्न खडा भएको छ । कम्पनी ऐन, २०६३ को दफा ६७ मा भएको व्यवस्था अनुसार कम्पनीहरुले आर्थिक वर्ष समाप्त भएको छ महिना भित्र वार्षिक साधारण सभा गर्नु पर्ने छ भन्ने व्यवस्था स्पष्ट रुपमा उल्लेख भएता पनि कतिपय कम्पनीहरुले तोकिएको अवधिमा वा लामो समय सम्म वार्षिक साधारण सभा गरेको पाइदैन । सञ्चालकहरुको नियुक्ति वार्षिक साधारण सभाले गर्नु पर्नेमा उक्त नियुक्ति समेत साधारण सभाले गर्न नपाउँदा लगानीकर्ताको हक हित सुरक्षण नभएको अनुभुति हुने गरेको छ । साथै कम्पनी ऐनमै भएको व्यवस्था अनुसार सुचिकृत कम्पनीले वार्षिक वित्तीय विवरण र वार्षिक साधारण सभाको माइन्युट समेत अनिवार्य रुपमा संस्थाको वेभसाइट र राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशन गर्नु पर्छ भन्ने व्यवस्था हुँदा हुँदै पनि पालना नगरेको भेटिन्छ र कतिपय कम्पनीको त वेभसाइट समेत नभेटिने अवस्था छ । नेपाल राष्ट्र बैंकले संस्थाहरुको नियमन गर्न एकीकृत निर्देशिका नै जारी गरेको छ र संस्थागत सुशासन कै लागि भनेर निर्देशिकामा छुट्टै निर्देशन नै दिएको छ । यसको अक्षरश पालना गर्नु बैंक वित्तीय संस्थाको दायित्व भएता पनि पुर्ण रुपमा पालना भएको पाइदैन । साथै नेपाल राष्ट्र बैंककै निर्देशनमा भएको व्यवस्था अनुसार बैंक वित्तीय संस्थाले त्रयमास सकिएको ३० दिन भित्र अनिवार्य रुपमा त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्नु पर्ने व्यवस्था भएतापनि कतिपय बैंक वित्तीय संस्थाले उक्त अवधिमा प्रकाशन गरेको पाइदैन । बीमा समितिले बीमा कम्पनीहरुको नियमनको लागि छुट्टै निर्देशिका जारी गरेको छ तर बजारमा धिलो साधारण सभा गर्ने कम्पनीमा भने बिमा कम्पनीहरु नै रहने गरेको छन् । यसर्थ समयमा वार्षिक साधारण सभा नगर्ने, सुचना तथा जानकारीहरु समयमा सार्वजनिक नगर्ने, नियमाकीय निकायहरुले दिएका निर्देशनहरु पुर्ण रुपमा पालना नगर्ने संस्थाहरुमा संस्थागत सुशासन कमजोर रहेको देखिन्छ यसले गर्दा सर्वसाधारणको अर्बाैको लगानी जोखिममा पर्न सक्छ । कम्पनीहरुले सेयरधनीहरुप्रति जवाहदेही भएर सुचना सम्प्रेषण गर्ने, विवरण तथा जानकारी समयमा नै सार्वजनिक गर्ने र नियमाकीय निकायले दिएका निर्देशनहरु पुर्ण रुपमा पालना गरी लगानीकर्ता तथा सर्वसाधारण प्रति जवाफदेही र उत्तरलदायी हुन आवश्यक छ ।

ललितपुर महानगरपालिकाले १० वटा वडालाई कृषि पकेट क्षेत्र घोषणा गर्ने

ललितपुर ।  ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा १० वटा वडालाई कृषि पकेट क्षेत्रका रुपमा घोषणा गर्ने भएको छ । महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले आज आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडा नं १८, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ मा उक्त पकेट क्षेत्र घोषणा गर्ने जानकारी गराए । महानगरपालिकाले हाल मुलुकमा दैनिक बढिरहेको कोभिड–१९ का कारण हुनसक्ने खाद्यान्न अभावलाई ध्यानमा राखी यसअघि मल तथा तरकारीको बीउबिजन वडावासीलाई अनुदानमा वितरण गरिसकेको र यी वडा महानगरका अन्य वडाभन्दा खुला र खेतीयोग्य ठाउँरहेका बताइएको छ । महानगरपालिकाले घर भएका तर जग्गा जमिन नभएका वडावासीलाई कौशीखेती तथा एभोकाडो, ड्रायागन फुड र किबीलगायतका फलफूल खेती गर्न प्रोत्साहित गर्नुका साथै महानगरपालिकाभित्र फलफूल तथा तरकारीको बजारीकरणमा प्रवद्र्धन गर्नका लागि चिस्यान केन्द्र स्थापना गर्ने नीति पनि प्रस्तुत गरको छ । महानगरभित्रका घरेलु तथा साना उद्योगलाई समेत प्राथमिकतामा राखेर त्यसैअनुसारको कार्यक्रम ल्याउने, कोभिड विशेष नीतिअन्तर्गत आवश्यकताअनुसारको होल्डिङ सेन्टर निर्माण, कोभिड असर न्यूनीकरणका लागि मनोसामाजिक परामर्श, मेलमिलाप सचेतना कार्यक्रम सञ्चालन र कोभिड केन्द्र अस्पतालका रुपमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने प्रमुख महर्जनले बताउनुभयो । महानगरपालिकाले रु चार अर्ब ७९ करोड १५ लाख ६२ हजार ५१५ को बजेट प्रस्तुत गरेको छ । रासस

गोदावरीको बजेट एक अर्ब ६८ करोड ६५ लाख २२ हजार

काठमाडौं । गोदावरीको साताैँ नगरसभामा आज आगामी आर्थिक वर्षका लागि कूल रु एक अर्ब ६८ करोड ६५ लाख २२ हजार बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको कूल बजेटमध्ये आन्तरिक राजस्वतर्फ रु १६ करोड, सङ्घीय सरकार समानीकरण अनुदानतर्फ रु २० करोड २८ लाख, सङ्घीय सरकार राजस्व बाँडफाँटतर्फ रु १० करोड ९६ लाख ५७ हजार २९०, प्रदेश सरकार समानीकरण अनुदानतर्फ रु एक करोड १२ लाख, प्रदेश सरकार राजस्व बाँडफाँटतर्फ रु चार करोड १२ लाख ५० हजार, मालपोत राजस्व बाँडफाँटतर्फ रु २० करोड छ लाख ४२ हजार ७१०, सर्शत अनुदानतर्फ रु ६० करोड २९ लाख ७२ हजार, चालू आवको आय रु ३५ करोड रहेको गरी कूल एक अर्ब ६८ करोड ६५ लाख २२ हजारको आय अनुमान गरेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । यसैगरी नगरपालिकाको चालूतर्फ रु ९५ करोड २९ लाख ७२ हजार र विकास निर्माणलाई गति दिन पुँजीगत नगरस्तरीय योजनातर्फ रु ३९ करोड ३५ लाख ५० हजार तथा वडास्तरीय योजनातर्फ रु १४ करोड र चालू आवको साविक योजनाका लागि रु २० करोड गरी कूल एक अर्ब ६८ करोड ६५ लाख २२ हजार व्यय रहेको उहाँले जानकारी दिए ।

सामाजिक सञ्जालमा लोट्री परेको भन्दै करोडौँ ठगी गर्ने ७ पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी लोट्री परेको छ भन्दै करोडौँ रकम ठगी भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले ठगी गर्ने केही व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । ठूलो रकम कमाउने लोट्रीको लोभमा सरकारी कर्मचारीसमेत फसेको फेला परेको छ । सो घटनामा संलग्न गिरोहलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउपर्नेमा झापा, भद्रपुर नगरपालिका घर भई काठमाडौँ बस्दै आएका पुकार बर्मा, काभ्रे सिम्थलीका नविन भण्डारी, रौतहटका आकास अग्रवाल, भारत विहारका एमडी सर्फराज, रौतहटका एस अग्रवाल, पर्साका कृष्णप्रसाद साह र सुनिल साह रहेका छन् । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसर, काठमाडाै‌ं पठाइएको महाशाखाले जनाएको छ । यसरी ठगीमा नेपाल र भारतको गिरोह नै सक्रिय भएको महाशाखाको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । गिरोहले भाइबर, ह्वाट्स एप, इमेललगायत सामाजिक सञ्जालको प्रयोग गरी उनीहरुलाई ठगी गरेका थिए । अहिलेसम्म उनीहरुबाट एक करोडौँभन्दा बढी रकम ठगेको अनुसन्धानमा खुलेको कार्कीले जानकारी दिए । उनीहरुले विभिन्न व्यक्तिको खाताबाट ठूलो रकम निकालेकोसमेत फेला परेको छ । कतिपय पीडितले पैसा पाउने आशमा आफ्नो घर जग्गासमेत धितो राखी घरबारविहीन भएको पाइएको छ ।

बुधबार १४ अन्तरराष्ट्रिय उडान: १२ सय नेपाली स्वदेश फिर्ता

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन आन्तरिक र अन्तरराष्ट्रिय गरी २४ उडान भएका छन् । ती उडानमध्ये अन्तरराष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकमा पनि आज १० उडान भएका छन् । मङ्गलबार पनि अन्तरराष्ट्रियतर्फ १४ उडान भएको थियो । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत आज एक हजार २०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । विभिन्न एयरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम चार्टर्ड उडान गरी काठमाडौँ ल्याइरहेका हुन् । आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जेधाहबाट २२५ यात्रु र एक शव नेपाल ल्याएको छ । सोही एयरलाइन्सको जहाजले जापानको नारिताबाट १९ यात्रु ल्याएको छ । पुनः कुवेतबाट नेपाली ल्याउन त्यसतर्फ उडेको विमानस्थलले जनाएको छ । त्यस्तै हिमालय एयरलाइन्सले कुवेतबाट १५५, अबुधाबीबाट दुई उडान गरी क्रमशः १४९ यात्रु र तीन बच्चा र दुई यात्रु, दमामबाट १५४ र दोहाबाट २८२ यात्रु काठमाडौँ ल्याएको छ । श्री एयरलाइन्सले म्यान्माको यंगुनबाट नौ यात्रु र एक बच्चा ल्याएको छ भने दोस्रो चार्टर्ड उडानका लागि उक्त एयरलाइन्स म्यान्मा उडेको विमानस्थलले जनाएको छ । टर्किस एयरलाइन्सले स्तान्बुलबाट दुई चार्टर्ड उडानमा क्रमशः २८० र २८२ यात्रु काठमाडौँ ल्याएको छ । त्यसैगरी मलेसियन एयरलाइन्सले क्वालालम्पुरबाट दुई उडानमा क्रमशः सात र चार नेपालीको उद्धार गरी काठमाडौँ ल्याएको छ । बिहीबार पनि अन्तरराष्ट्रियतर्फ १३ उडान हुने कार्यतालिका सार्वजनिक गरेको छ । दोहा, दमाम, यङ्गुन, अबुधाबी, बहराइन, क्वालालम्पुर र जापानको नारितामा चार्टर्ड उडान हुने विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका १० उडान भएका छन् । मनाङ र सिम्रिक एयरका हेलिकप्टरले ओखलढुङ्गा, सोलुखुम्बु, वीरगञ्ज र गोर्खामा उडान भरेका छन् भने तारा एयरको जहाजले नेपालगञ्जमा दुई उडान गरेको छ ।

सर्वोच्च अदालतले माग्याे सरकारसँग महामारीसम्बन्धी आदेश कार्यान्वयनका विषयमा लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ का विषयमा दिएका आदेश कार्यान्वयनका विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाशीश अनिलकुमार सिन्हको एकल इजलासले आज महामारीका समयमा अदालतबाट जारी गरेको आदेश के कति कार्यान्वयन भएका बारेमा आफैँ वा कानूनी प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको हो । “उपरोक्त सम्बन्धमा सात वटा अन्तरिम आदेश पालना कसरी गरिएको छ, ती आदेशको पालना नगर्न कुनै आदेश, निर्णय, निर्देशन दिएको हो वा होइन ? त्यस सम्बन्धमा के कस्तो भएको हो”, आदेशमा भनिएको छ, “निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने ? आदेश जारी हुन नपर्ने भए आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र आफैँ उपस्थित भई वा कानूनी प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु ।” सर्वोच्च अदालतले महामारीसम्बन्धी जारी गरेको अन्तरिम आदेश कार्यान्वयनमा ढिलाइ गरी अदालतको अवहेलना गरेको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मालगायतले दायर गरेको रिट निवेदनको सुनवाइ गर्दै अदालतले सो आदेश जारी गरेको हो । सर्वोच्च अदालतले महामारीका विषयमा विभिन्न सातवटा अन्तरिम आदेश जारी गरेको थियो । सो आदेश कार्यान्वयनका विषयमा चासो राख्दै अदालतले मङ्गलबार सम्बन्धित निकायसँग छलफल समेत गरेको थियो । रासस

भारतीय तन्नामा पल्टेर नेपालको हित सोच्दा

मलाई सम्झना छ, २०५५/५६ सालतिरको कुरा हुनु पर्छ । भारतका एक जना चर्चित सिने कलाकारले नेपाली मानिस मन पर्दैन भनेर एक इन्डियन पत्रकारसँग भने भन्ने हल्ला फैलियो । यस्तो हल्ला फैलिने वित्तिकै नेपालमा तिब्र प्रतिक्रिया उत्पन्न भयो । सोही कारण काठमाडौं उपत्यकासहितका शहरी क्षेत्रमा स्वतस्फूर्त रुपमा सर्वसाधारण सडकमा आए । र, सडकमा आएको त्यो अनियन्त्रित र नेतृत्वविहिन भिडले गरेको तोडफोडसहितको हर्कत सभ्य समाजको लागि ग्लानीको विषय थियो । एक जना भारतीय सिने कलाकारले नेपाली मन पर्दैन भनेर अभिव्यक्ति दिए भन्ने हल्लाका बीचमा जम्मा भएको भिडले काठमाडौं उपत्यकामा मधेशी समुदायको बढी जमघट हुने गौशाला, मैतिदेवी, चावहिल जस्ता क्षेत्रमा नेपालीले नेपालीलाई नै कुटे । यो प्रकरणमा दुई जनाको ज्यान पनि गयो । त्यो समयमा मधेशी मुलका नेपालीमाथि आक्रमण हुनुको मुख्य कारण मधेशी मुलका नेपालीलाई नेपाली हुन् भन्न नसक्नु र मधेशी समुदायले पनि बेग्लै अनुहार भएकालाई संकिर्ण सोचले हेर्नु नै हो । यस्ता, विषयमा रुमल्लिइरहनुले राजनैतिक अस्थिरता मात्र होइन, आज नेपालको आर्थिक विकासमा ठूलो बाधा पुर्याइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले नेपालको संसदमा उभिएर दुईचार वाक्य नेपाली भाषामा बोलिदिँदा फुरुक्क पर्ने र भारतको जयजयकार गर्छाैं हामी नेपाली । अनि एक भारतीय कलाकारले नेपाली मन पर्दैन भन्दा हामी आफ्नै दाजुभाइ मार्न तयार हुन्छौं । हामी छालाको रंग र अनुहारको बनोटलाई आधार मानेर यो नेपाली हो, यो होइन भन्ने निष्कर्ष निकाल्छौं । छालाको रंग र अनुहारको बनोटलाई नै आधार मानेर यो आफ्नो, यो पराया भन्ने निक्र्याेलमा पुग्ने हामी नेपाली नै हो । यही निष्कर्ष नै हाम्रो राष्ट्रिय एकताको अवरोध भइरहेको छ । देशको पहिचान अनुहारको रङ्गले कदापि गर्न सक्दैन । भाषा बोलिएकै भरमा उसको पहिचान कुनै देशसँग जोड्नु कदापि न्याय संगत हुँदैन । देशको रास्ट्रिय भाषा हुन सक्दछ । तर व्यक्ति आफूआफूमा कुन भाषाको प्रयोग गर्ने भन्ने विषय नितान्त व्यक्तिगत कुरा हो । भाषा भन्नाले एउटाको कुरा अर्कोले वुझोस् भनेर बोलिने माध्यम हो । चाहे कोही, नेवारी, तामाङ्ग भाषा बोलुन्, शेर्पा, नेपाली, मैथिली, भोजपुरी, हिन्दी वा अरु जुनकुनै भाषा नै किन नबोलुन्, त्यसमा आपत्ति जनाउनु पर्ने केही कारण छैन । हामी उठ्ने वित्तिकै भारतमा बनेको टुथपेस्ट र ब्रस प्रयोग गर्छौं । नुहाउँदा भारतीय सावुन, टिभी हेर्दा भारतीय च्यानल, मोटरसाइकल, कपडा धेरै त भारतीय नै हुन्छन् । यहाँसम्म कि ओछ्यानको तन्ना पनि भारतीय नै हुन्छ । रोड उसैले बनाइदेओस् भन्छौं । घर बनाउने मानिस उतैतिरको होस् भन्छौं । आफ्नो बारी बाँझै राखेर उसैले तरकारी दैलोमा ल्याएर बेचोस् भन्छौं । हामी फोहोर गर्छौं, सफा उसैले गरोस् भन्छौं । नेपाली भएर नेपाली चलचित्र हेर्दैनौं । नेपाली वस्तुको प्रयोग गर्न हिचकिचाउँछौं । आर्थिक उन्नति र आत्मनिर्भरतिर कहिल्यै सोच्दैनौं । के जीवनयापनका लागि हामीले बिहानैदेखि वेलुकासम्म प्रयोग गर्ने गरेका साधनहरु हामी आफैंले निर्माण गरेका हौं त ? हामी कति परनिर्भर भएका छौं ? सबै कुरामा विदेशमाथि भर परेपछि आउने परिस्थिति यस्तै हो, जुन अहिले हामी भोगिरहेका छौं । सबै कुराको आयात नै गरेका छौं । हामी अल्छी छौं । धनियाँको दुईटा पात, अलिकति तरकारी, आफ्नै करेसा बारीमा रोप्न हिचकिचाउँछौं । सामाजिक सञ्जाल फेसबुक र टुइटरमा हामी व्यस्त छौं । दिनभरी टिभी हेर्दै फुसर्द छैन । गफ चुट्न व्यस्त छौं । अनि तातो घाममा जोखिम मोलेर काम गरिरहेको मानिसलाई, टिना, फलाम र तरकारी बेच्दै आउने एक सोझो तराइको नेपालीलाई जिस्क्याउँदै हेयको दृष्टिकोणले बार्दलीबाट ‘भैया’ भन्दा कति दुख्दो हो उसको मन् । नागरिकता सम्बन्धी विधेयक संसदीय समितिबाट पास भएर प्रतिनिधिसभामा पेश भएपछि यो विषयले फेरि राम्रो चर्चा पाएको छ । देश भनेको भुगोल मात्र होइन । देशभित्र बस्ने सबै नागरिकको सामाजिक, धार्मिक र सांस्कृतिक पहिचानको संयुक्त रुप पनि हो । एक नागरिकले अर्काे नागरिकलाई हेपेर देश बलियो हुँदैन । देश बलियो हुन नागरिकबीच सम्मान र सहअस्तित्वको भावना जाग्नुपर्छ । र, सबैभन्दा महत्वपूर्ण कुरा भनेको देश आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्छ, अर्थतन्त्र बलियो हुनुपर्छ । [email protected]