विकासन्युज

तरकारी र मकै खेतीका नाममा वाग्मती किनारको जग्गा कब्जा

काठमाडाैं । राजधानीको सभ्यताको स्रोत वाग्मती नदी किनारमा स्थानीयवासीले तरकारी, मकैलगायत अन्नबाली लगाएर सार्वजनिक जग्गा अतिक्रमण गर्दा पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । वाग्मती सफाइ महाअभियानको बुधबार बेलुकी भएको भर्चुअल बैठकमा अभियानकर्मी नरेन्द्र श्रेष्ठले नदी किनारको शङ्खमूल क्षेत्रमा नदी किनारको दायाँबायाँ तरकारी, मकैलगायत अन्नबाली लगाएर कब्जा गर्दा पनि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको ध्यान नगएको बताए । शङ्खमूल क्षेत्रको नदी किनारमा पनि थापाथलीमा जस्तै सुकुम्वासीका नाममा कब्जा गर्ने उद्देश्यले अन्नबाली लगाइएको उनले भने । अभियानकर्मी चक्रबहादुर चन्दले कोटेश्वर महादेवस्थान नजिकैको नदी किनारको जग्गामा स्थायी संरचना निर्माण भइरहे पनि रोक्न पहल नभएको बताए । वाग्मती किनारको अधिकांश खाली जग्गामा तरकारी, मकैलगायत अन्नबाली लगाउँदासमेत अधिकार सम्पन्न वाग्मतीको ध्यान जान नसक्नु दुःखद् भएको उनको भनाई थियो । प्रदेशसभा सदस्यको बजेट पनि नदीकै जग्गामा शङ्खमूलबाट कोटेश्वर जाने नदी किनारको जग्गामा वाग्मती प्रदेशसभा सदस्य गणेश दुलालले समेत मापदण्ड विपरीत प्रदेशसभा सदस्यको पूर्वाधार विकास कार्यक्रमको बजेटबाट स्थायी संरचना निर्माण गर्नुभएकामा अभियानकर्मीले आपत्ति जनाए । संयुक्त राष्ट्र सङ्घ उद्यान (यूएन पार्क) बाट आलोकनगरसम्मको नदी किनारका अधिकांश स्थानमा तरकारी लगाएर कब्जा गरिएको छ । अधिकार सम्पन्न वाग्मती समितिको सञ्चालक सदस्यसमेत रहेका अभियानकर्मी राम साहले कोटेश्वर क्षेत्रको नदी किनारको जग्गा अतिक्रमण गरी बनाइएको भवनका विषयमा कार्यालयमा जानकारी गराए पनि रोक्न पहल नभएको गुनासो बैठकमा गरे । समितिमा २ सय कर्मचारी हाजिर हुने गरेपनि काम नगर्ने गरेको विषय आफूले बैठकमा उठाए पनि कार्यान्वयन नभएकाले राजीनामा दिने सोचमा पुगेको समेत उनले बताए । अभियानकर्मी गोकुल थापाले अधिकार सम्पन्न वाग्मतीमा बेथिति भएकैले नदीको हालत प्रदूषित भएको बताए । प्रदेशसभा सदस्य जस्तो पदमा रहनेले भत्काउनुपर्ने भवन बनाएर जनताको करको दुरुपयोग भइरहेको उनको टिप्पणी थियो । अभियानकर्मी गोविन्द काफ्लेले नदी किनारको जग्गाका विषयमा अधिकार सम्पन्न वाग्मती र स्थानीय सरकारबीच द्वन्द्व रहेकाले पनि समस्या आउने गरेको बताए । अधिकार सम्पन्न वाग्मतीको कार्यालय नजिकैको नदी किनारमा दुई नगरपालिकाले वर्गीकरणका नाममा फोहर थुपार्ने गर्दा नदीमा फोहर मिसिने गरेको, वाग्मती सौन्दर्यकरणको काम भइरहेको स्थानमा समेत तकारी खेती रोक्न अधिकार सम्पन्न वाग्मती समिति असफल भएकामा अभियानकर्मीले आपत्ति जनाएका छन् । बैठकको संयोजन गरे अभियानकर्मी राजकुमार भट्टराईले भत्काउनुपर्ने संरचना बनाउन खर्च हुने गरेको प्रदेशसभा सदस्य, सांसदलगायत कोषको बजेट फोहर व्यवस्थापन गर्न लगाउनुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिए । दिगो फोहर व्यवस्थापनका लागि यी बजेटको सदुपयोग हुन सक्नुपर्नेमा अभियानकर्मीले बैठकमा जोड दिएको उनले बताए । बैठकमा अभियानकर्मी डा लक्ष्मी पौडेलले किनारको खाली जग्गामा भवन बनाउन रोक लगाइनुपर्नेमा जोड दिइन । अभियानकर्मी माला खरेल, आशा पाण्डे, प्रिया लामिछाने, कञ्चन रावतलगायतले कुहिने र नकुहिने फोहर वर्गीकरण गरी कुहिने फोहरलाई कौशी खेती गरी उपयोगमा ल्याउने प्रविधिको विस्तार गरिनुपर्ने बताए । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाभियानले हप्तामा एकपटक अभियानकर्मीका बीच बैठक गरी समीक्षा गर्दै आएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ११ गतेदेखि जारी बन्दाबन्दीका क्रममा भने सफाइ अभियान र बैठकसमेत प्रभावित भएको थियो । गत हप्तादेखि भने बैठकलाई निरन्तरता दिइएको छ । सफाइ अभियानलाई भने नदी किनारमा निवास भएका अभियानकर्मीले निरन्तरता दिँदै आएका छन् । अन्य अभियानकर्मीले आ–आफ्नो टोल सफाइको नेतृत्व गर्दै आउको जानकारी पनि बैठकमा दिइएको थियो । वाग्मती सफाइ महाअभियानले ३ सय ७१ हप्ता पार गरिसकेको छ ।  रासस

प्रदेश नं ५ बजेटः स्थानीय तहको प्राथमिकता स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी

बुटवल । प्रदेश नं ५ का स्थानीय तहले आगामी आर्थिक बर्षमा कोभिड –१९ को महामारीबाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । स्थानिय तहले आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था र दीर्घकालीन रुपमा स्वास्थ्य क्षेत्रको भौतिक पुर्वाधारलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेका छन् । यससँगै अधिकांशले कोभिड –१९ कै कारण वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किएका र स्वदेशमा समेत रोजगारी गुमाएका नागरिकलाई स्थानीयस्तरमै रोजगारी सिर्जनाका लागि व्यावसायिक कृषि, स्थानीयस्तरमा हुने भौतिक पूर्वाधारका काम र व्यावसायिक क्षेत्रमा अवसरका लागि कार्यक्रम सार्वजनिक गरेका छन् । नेपालगञ्जबाट व्यावसायिक करमा छुट औद्योगिक नगरीको केन्द्रका रुपमा विकास हुँदै गएको बाँकेको एक मात्र उपमहानगर नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्ब ४७ करोड ९६ लाख ५४ हजार ७ सय ६० को बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको नगरसभामा उपप्रमुख उमा थापा मगरले चालु खर्चतर्फ २४ करोड तीन लाख, पूँजीगत खर्चतर्फ १ अर्ब २० करोड रूपैयाँ र वित्तीय व्यवस्थातर्फ १ करोड १० लाखको बजेट प्रस्तुत गरे । बजेटमा आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक स्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्न अपरिहार्य रहेकामा जोड दिइएको छ । यसैगरी कोभिड—१९ पछिको लकडाउनका कारण सबैभन्दा बढी प्रभावित होटल, रेष्टुरेन्ट, क्यासिनो, ब्युटीपार्लरलगायत व्यवसायलाई करमा छुट दिइने उल्लेख छ । कोरोना महामारीकै कारण स्वदेश फर्केका युवाका लागि रोजगारी सिर्जना गरी आर्थिक रुपमा आत्मनिर्भर बनाउन उनीहरुले चाहेको व्यवसायमा लाग्ने करमा २५ प्रतिशत छुट दिइने प्रस्ताव गरिएको उपप्रमुख मगरले बताए । यसैगरी बाँकेको नरैनापुर गाउँपालिकाले ५५ करोडको बजेट ल्याएको छ । चौथो गाउँसभा बैठकमा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आर्थिक वर्ष ७७/७८ का लागि ५५ करोड २८ लाख २३ हजार ३६० को बजेट प्रस्तुत गरे ।  जिल्लाका कोहलपुर नगरपालिका तथा खजुरा, जानकी, बैजनाथ, राप्तीसोनारी, डुडुवा गाउँपालिकाले पनि बजेट प्रस्तुत गरेका छन् । ती सबै स्थानीय तहले कोरोना महामारी नियन्त्रण, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, पूर्वाधार र रोजगारीलाई बजेटको प्राथमिकतामा राखेका छन् । छलफलपछि बजेट पारित गरिने जनाइएको छ । सिद्धार्थनगर पूर्वाधार, पर्यटन, स्वास्थ्य, शिक्षा र कृषिमा केन्द्रित लुम्बिनी– शाक्यमुनि गौतम बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार रहेको रुपन्देहीको सिद्धार्थनगरले आगामी आर्थिक वर्षमा पूर्वाधार विकास, पर्यटन, स्वास्थ्य, शिक्षा र कृषिमा केन्द्रित बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख उमा काफ्लेले बुधबारको नगरसभामा कुल ९५ करोड ९ लाख ६६ हजार बराबरको बजेट सार्वजनिक गरे । उनले कुल बजेटको चालुतर्फ ५८ प्रतिशत र पूँजीगततर्फ ४२ प्रतिशत खर्च प्रस्ताव गरेका छन् । उक्त रकम चालु आर्थिक वर्षको बजेटभन्दा २३ करोड ९८ लाख रूपैयाँले कम हो । नगर प्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख काफ्लेले आन्तरिक आयस्रोत रु १६ करोड, राजस्व बाँडफाँटबाट १३ करोड ७४ लाख ७७ हजार रूपैयाँ, लागत सहभागिताबाट २० लाख रूपैयाँ, संघ प्रदेश र दातृनिकायबाट ५८ करोड ६ लाख १५ हजार रूपैयाँ प्राप्त हुने बताए । पाल्पाको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि उत्पादनप्रति जोड पाल्पा– स्थानीय तहले आर्थिक वर्ष २०७७/७८ का लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । नगर तथा गाउँसभाबाट पारित बजेटमा स्वास्थ्य, शिक्षा, कृषि उत्पादनप्रति जोड दिइएको छ । तानसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्ब १२ करोड ८९ लाख ६० हजार रूपैयाँ बराबरको बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ । यो रकम चालु वर्षको तुलनामा ७७ लाख रूपैयाँले बढी हो । नगर प्रमुख अशोककुमार शाहीले सातौँ नगरसभामा पूँजीगततर्फ ४६ करोड १४ लाख ३५ हजार (कुल बजेटको ४१ प्रतिशत) रूपैयाँ र चालुतर्फ ६६ करोड ७५ लाख २५ हजार रुपैयाँ (कुल बजेटको ५९ प्रतिशत) बजेट रहेको बताए । यस्तै रिब्दीकोट गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ४९ करोड ८३ लाख रूपैयाँको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले कृषिमा ३ करोड ८७ लाख ५० हजार रूपैयाँ, शिक्षामा १५ करोड ९१ लाख रूपैयाँ, स्वास्थ्यमा ५ करोड रूपैयाँ, ६३ लाख रूपैयाँ, सडक तथा पूर्वाधार विकासमा ५ करोड ३० लाख रूपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष नारायण जिसीले बताए । बगनासकाली गाउँपालिकाको सातौं गाउँसभाले आगामी आर्थिक वर्षका लागि ४५ करोड चार लाख ६६ हजार २ सय ७४ रूपैयाँको बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले बताए । आगामी वर्षका लागि आर्थिक विकास क्षेत्रमा १ करोड १३ लाख रूपैयाँ, सामाजिक विकासमा ३ करोड १६ लाख रूपैयाँ र पूर्वाधार निर्माणमा ६ करोड ६० लाख रूपैयाँ बजेट गाउँसभाबाट विनियोजन भएको श्रेष्ठले बताए । यस्तै रुपन्देही सीमासँग जोडिएको तिनाउ गाउँपालिकाले आगामी आवका लागि रु ५० करोड ९९ लाख ७७ हजार बराबरको बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले आगामी वर्ष पूर्वाधार निर्माणका क्षेत्र प्राथमिकतामा रहेको जानकारी दिए । रामपुरको प्राथमिकतामा कृषि र स्वास्थ्य रामपुर– पाल्पाको रामपुर नगरपालिकाले बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, स्थानीय उत्पादन, उद्योग, व्यवसाय विस्तारलाई जोड दिएको छ । उक्त नगरपालिकाले एक वडा एक उत्पादन, एक घर एक रोजगार, नागरिकको जीवनस्तर उकास्न कृषि तथा पशुपक्षी उत्पादनमा जोड, बाँझो जमीनमा तरकारी खेती, दूध मासु र अण्डा उत्पादन बृद्धि गरी कृषकलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याएको नगर प्रमुख रमणबहादुर थापाले बताए । रोजगारीका निम्ति विदेश जाने युवालाई गाउँमै कृषि रोजगारी सिर्जना गराउने र कृषि उत्पादनको बजारीकरण गर्ने जिम्मा नगरपालिकाले लिने छ । पर्यटकीय क्षेत्र विकास गर्न नगरका वडा नं ७ को बाहुनडाँडा र १० को मगरेमा व्यावसायिक प्याराग्लाइडिङ उडान, कालीगण्डकीमा निजी क्षेत्रको सहकार्यमा जलयात्रा सञ्चालन, राम्चेवन सीताकुण्ड क्षेत्रमा पदयात्रा सञ्चालन जस्ता पर्यटकीय तथा धार्मिक क्षेत्र विकासका कार्यक्रम समेटिएको छ । यस्तै माथागढी गाउँपालिकाको सातौं गाउँसभाले कृषितर्फ सामुदायिक बीउ बैंक तथा कृषि उपज भण्डारका लागि शीतभण्डार निर्माण, व्यावसायिक कृषिबाट कृषकलाई आत्मनिर्भर बनाउने, नश्ल सुधार जस्ता कार्यक्रम समेटिएको बजेट ल्याएको छ । रम्भा र निस्दी गाउँपालिकाले पनि नागरिकको आयस्तर वृद्धि गर्न कृषि उत्पादनमूलक कार्यक्रममा जोड दिएका छन् । महाराजगञ्जः समृद्ध नगर, खुशी नगरवासी कपिलवस्तु– समृद्ध नगर, खुशी नगरवासीको आकाङ्क्षा पूरा गर्न महामारीका कारण समग्र अर्थतन्त्र र सामाजिक, आर्थिक अवस्थामा परेको प्रतिकूलतासंँग जुध्ने आधारसहित महाराजगञ्ज नगरपालिकाकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगर प्रमुख अब्दुल कलामले नगरवासीको जीवन रक्षा र पालिकाको आर्थिक सामाजिक विकासका लागि नीति तथा कार्यक्रममा विशेष जोड दिइएको बताए । ऐरावतीको नीति र बजेट पारित झिमरुक– प्युठानको ऐरावती गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ का लागि साताैं गाउँसभामार्फत पेश गरेको ५१ करोड ८२ लाख ७० हजार रूपैयाँ बजेट सभाले सर्वसम्मत रुपले पारित गरेको छ । यही असार ५ गते नीति तथा कार्यक्रमसंँगै पेश गरिएको बजेट बुधबार सर्वसम्मत रुपमा पारित भएको हो । सभाले कृषि, शिक्षा, स्वास्थ्य, भवन तथा सडक पूर्वाधार, खानेपानीलगायतलाई प्रमुख प्राथमिकतामा राखी बजेट विनियोजन गरेको उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताए । राजापुर– बर्दियाको मधुवन नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि करीब रु ७४ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको छैटौं नगरसभामा बुधबार नगरप्रमुख गणेशबहादुर क्षेत्रीले सार्वजनिक गर्नुभएको बजेटमा चालुतर्फ रु नौ करोड, पूंँजीगततर्फ २१ करोड १९ लाख २२ हजार ५ ९२ रूपैयाँ र वित्त व्यवस्थापनतर्फ ५ लाख रूपैयाँ विनियोजन गरिएको छ । नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि, पर्यटन र उद्योगमा जोड दिएको छ ।   रासस

कर्णालीमा समुदायसम्म फैलियो कोरोना, स्वास्थ्य तथा सुरक्षाकर्मीसमेत अछुतो रहेनन्

सुर्खेत । सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण देखियो । आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखियो । पिसिआर परीक्षणबाट तीमध्ये ५ जनामा सङ्क्रमण पुष्टि भयो । दैलेखका २ तथा सुर्खेतका १ गरी तीन जना बिरामी भारतबाट आएका पनि होइनन्, अर्थात् कुनै ‘ट्राभल हिस्ट्री’ नभएका अन्य रोगका बिरामीमा कोरोना पोजेटिभ देखिनु र उपचारमा संलग्न स्वास्थ्यकर्मीसम्म विस्तार हुनुले कर्णालीमा कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिसकेको पुष्टि हुन्छ । कर्णालीमा एकैपटक यति धेरै सङ्ख्यामा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको यो पहिलोपटक हो । यसअघि ‘ट्राभल हिस्ट्री’ नभएका पश्चिम सुर्खेत घर भएका एक विद्यार्थीमा पनि कोरोना सङ्क्रमण देखियो । उनी दुई साता प्रदेश अस्पतालको आइसोलेसनमा बसेका थिए । कोरोना निको भएपछि उनी फर्किसकेका छन् । समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको उदाहरण यतिमै सीमित छैन । डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुषको कोरोना भाइरस सङक्रमणका कारण मृत्यु भयो । उनी न भारतबाट आएका थिए, भारतबाट फर्किएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा नै गएका थिए । समुदायमै बसिरहेका व्यक्तिमा धमाधम कोरोना सङ्क्रमण देखिन थालेपछि कर्णालीमा त्रास बढेको छ । आइतबार प्रदेश अस्पतालमै उपचार गर्न आएका दैलेखका एक बालकमा पनि कोरोना सङ्क्रमण देखियो । पेट दुखेपछि ती बालकलाई अस्पताल ल्याइएको थियो । एपेन्डिसाइडको शल्यक्रिया भयो । उनका बुबा भारतबाट आएर क्वारेन्टाइनमा बसेको थाहा पाएपछि अस्पतालले छोरासँगै बाबुआमाको पनि कोरोना परीक्षण गर्यो । परीक्षणबाट तीनै जनामा कोरोना सङ्क्रमण देखियो । भारतबाट फर्किएका ती व्यक्तिकै कारण उनका श्रीमती र छोरा पनि सङ्क्रमित हुन पुगे । हाल उनीहरुको प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । चिकित्सक क्वारेन्टाइन व्यवस्थित गर्न नसक्दा कोरोना समुदायस्तरमा पुगिसकेको बताउँछन् । भारतबाट आएकालाई सुरक्षित तवरले क्वारेन्टाइनमा व्यवस्थापन गर्न नसक्नु, पिसिआर परीक्षण नहुँदै घर पठाइनु, होम क्वारेन्टाइनको व्यावहारिक प्रयोग नहुनुजस्ता कारणले सङ्क्रमण दोस्रो–तेस्रो चरणमा पुगेको हो । प्रदेश अस्पताल सुर्खेतका विशेषज्ञ चिकित्सक डा नवराज केसीले कोरोना नियन्त्रणमा लापर्वाही हुँदा समुदायमा फैलिन पुगेको बताए । १४ दिन क्वारेन्टाइनमा राखेर पिसिआर परीक्षणबिनै घर पठाउँदा परिवारका सदस्यलाई सङ्क्रमण सरेको ‘केस’हरु थुपै्र आउने गरेको उनको भनाइ छ । भारत सरकारले बन्दाबन्दी (लकडाउन) कै बीच जेठ १ गतेदेखि रेल तथा बस सेवा सञ्चालन गर्यो । जसले गर्दा रोजगारीका क्रममा ठूलो सङ्ख्यामा त्यहाँ रहेका कर्णालीवासी विभिन्न नाका हुँदै फर्किन थाले । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्याङ्कअनुसार यस अवधिमा ४१ हजार बढी कर्णालीवासी भारतबाट फर्किसकेका छन् । भारतबाट फर्किनेको सङ्ख्या बढेसँगै समुदायस्तरमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दैछ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशमा समुदायका २२ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । सङ्क्रमण दोस्रो चरणमा पुगे पनि लकडाउन खुकुलो भएसँगै सावधानी अपनाउन छाडिएको छ । जसले गर्दा कोरोना भुसको आगो झैं फैलिन सक्ने स्थानीयको चिन्ता छ । “केही समयअघि क्वारेन्टाइनमा सीमित कोरोना सङ्क्रमणका बिरामी अहिले धमाधम समुदायमा पनि भेटिँदैछन्, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत अछुतो रहेनन्”, प्रदेश अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष नारायण सापकोटाले भने, “विशेष गरी प्रदेश सरकार र स्थानीय तहले समयमै कोरोना समुदायमा फैलिन नदिन विभिन्न उपाय अपनाउनुपर्छ, अझै लापर्वाही गर्ने हो भने अवस्था भयावह हुने सम्भावना देखिएको छ ।” प्रदेश अस्पतालका कोभिड- १९ फोकल पर्सन डाक्टर केएन पौडेलले अन्य बिरामीमा पनि कोरोना सङ्क्रमण देखिन थालेपछि उपचारमा समस्या आएको बताए । उनले भने, “कोरोना भाइरस समुदायमा पुगेकाले थप जोखिम निम्तिएको छ, अहिले समुदायमा सङ्क्रमण शुरुवाती चरणमा छ, कसैलाई पनि लक्षण देखिएको छैन, पहिलेको तुलनामा अझ धेरै सावधानी अपनाउनुपर्ने बेला आएको छ ।” कर्णालीमा हालसम्म आशंकितबाहेक समुदायस्तरमा कोरोना परीक्षण भएको छैन । सङ्क्रमणमुक्त नहुँदै घर पठाइने र समुदायमा शङ्कास्पद व्यक्तिको स्वाब परीक्षण नगर्ने हो भने अवस्था थप जटिल बन्दै जाने खतरा देखिएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत बिर्खबहादुर शाहीले समुदायमा केसको आधारमा ‘कन्ट्रयाक टे«सिङ’ गर्ने काम भइरहेको बताए । उनका अनुसार हालसम्म समुदायमा सङ्क्रमण देखिनेमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सर्वसाधारण छन् । जुम्लामा चार तथा जाजरकोटमा एक जना गरी पाँच प्रहरीमा सङ्क्रमण पुष्टि भइसकेको छ । कर्णालीमा कोरोना सङ्क्रमण दोस्रोरतेस्रो चरणमा प्रवेश गरेपछि सर्वसाधारण तथा कार्यक्षेत्रमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा त्रास छाएको छ । प्रदेशमा बुधबारसम्म १ हजार ३ सय ७ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने ५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ५ सय ६० जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भइसकेका छन् ।  रासस

स्याङ्जाका काेराेना संक्रमितकाे उपचारकाे क्रममा निधन

काठमाडाैं । स्याङ्जाका कोरोना संक्रमितको गए राती पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारकाे क्रममा मृत्यु भएको छ । अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले प्रेस विज्ञप्ती जारी गर्दै गए राति ११:५५ मा उनको मृत्यु भएको जानकारी दिए ।  याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २५ पुगेकाे छ । गत असार ८ गते आइसियूमा भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष रहेकाे अस्पतालका निर्देशक डाक्टर आचार्यले बताए । उनको शव व्यवस्थापनको तयारी भई रहेको छ । यसअघि पनि वालिङका एक पुरुषले कोरोना भाइरसको कारण ज्यान गुमाई सकेका छन् । हालसम्म गण्डकीमा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ ।

हप्तामा थप १० लाख संक्रमित थपिँदै, डब्ल्यूएचओले दियाे अक्सिजन अभाव बारेमा चेतावनी 

काठमाडौं ।  विश्व स्वास्थ्य संगठनले बुधवार विश्वव्यापी कोरोना भाइरस संक्रमितको करीब संख्या १ करोडको पुग्न लागेको भन्दै  चिन्ता व्यक्त गरेकाे छ । प्रत्येक हप्ता १० लाख काेराेना संक्रमित बढ्दै गएसँगै डब्ल्यूएचओले अक्सिजन अभाव बारेमा चेतावनी दिएकाे छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गेब्रियसले एक प्रेस सम्मेलनमा भने, ‘धेरै देशहरुमा अहिले अक्सीजन केन्द्रक (मेसिन) को अभाव छ । यस समयमा मेसिनको मागले आपूर्तिलाई नाघ्यो ।’ उनले थपे, ‘हालसम्म विश्वमा ९३ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन भने ४ लाख ८० हजार मानिस आफ्नो जीवन गुमाइसकेका छन । प्रत्येक हप्ता, १० लाख नयाँ व्यक्ति संक्रमित भएको पुष्टि भइरहेको छ । यस कारणले, हरेक दिन ८८ हजार ठूला अक्सिजन सिलिन्डर र ६ लाख २० हजार घनमीटर अक्सिजनकाे आवश्यकता रहेकाे छ ।’ काेराेना संक्रमणको अचानक वृद्धिले अक्सिजन देखा पर्‍यो भने काेभिड १९  का बिरामीहरूले सास फेर्नु गाह्राे हुने गर्छ । ट्राडोसले भने, ‘विश्व स्वास्थ्य संगठनले हालसम्म १४ हजार अक्सिजन केन्द्रकहरू खरिद गरिसकेको छ र आउने हप्ताहरूमा १ सय २० देशहरूमा पठाउने योजना बनाएको छ । यससँगै, अर्को ६ महिनामा, १.७०  कंस्नट्रेटर जसको लागि १ कराेड डलर खर्च हुनेछ, तिनीहरूले यसलाई प्राप्त गर्ने सम्भावना छ ।’ विश्व स्वास्थ्य संगठनको आपतकालिन टोलीका प्रमुख डा.माइक रायनले भनेका छन् कि धेरै ल्याटिन अमेरिकी देशहरूमा यो महामारी अझै भयावह छ र यस क्षेत्रमा मर्नेहरूको संख्या १ लाख २४ हजार नाघेको छ । धेरै देशहरूमा गत हप्तामा २५ देखि ५० प्रतिशतले वृद्धि भएको छ । माइक रायनले अमेरिकामा अहिलेसम्म कुनै शिखर छैन र आउँदो दिनमा संक्रमित र मर्ने व्यक्तिको संख्या पनि बढ्ने सम्भावना रहेकाे जानकारी दिए ।  (बीबीसीकाे सहयाेग)  

बेलायतमा मानिसमा काेराेना खाेप परीक्षणकाे तयारी

काठमाडौं । बेलायतमा मानवमा कोरोना खोपको परीक्षणको तयारी सुरु भएको छ । यो ट्रायल लन्डनको इम्पीरियल कलेजमा ३ सय जनामा ​​गरिनेछ । इम्पीरियल कलेज लन्डनमा हुने ट्रायलको नेतृत्व प्राध्यापक रोबिन शातोकले गरिरहेका छन् । भनिन्छ कि जनावरहरूमा यो खोपको परीक्षण सफल भएको छ र यसले रोग प्रतिरोधात्मक क्षमता सुधार गर्न मद्दत गर्दछ । हाल विश्वभरका १ सय २० ठाउँमा कोरोना खोप उत्पादन गर्ने प्रयास भइरहेको छ । यसमध्ये १३ ठाउँमा क्लिनिकल परीक्षणमा पुगेको छ । ती १३ ठाउँहरू मध्ये, ५ चीनमा, ३ संयुक्त राज्य अमेरिका र २ बेलायतमा छन्, भने अष्ट्रेलिया, रसिया र जर्मनीमा हुँदा, एकै ठाउँमा ट्रायल चलिरहेको छ । (बीबीसीकाे सहयाेगमा)

डरभन्दा पनि अर्थव्यवस्थामा अधिक असर – आईएमएफ

काठमाडाैं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोरोनाको कारण विश्व अर्थव्यवस्थामा शुरूमा अनुमान गरिएको भन्दा अधिक असर पर्दै गएकाे बताएकाे छ । आईएमएफले यस वर्ष विश्वभरि आर्थिक गतिविधिमा १० प्रतिशतको कमी आएको जानकारी दिएकाे छ । अप्रिलमा नै भनिएको थियो कि विश्व अर्थतन्त्रमा ५ प्रतिशतको कमी हुन सक्छ । तर लकडाउनकाे प्रभावका कारण विश्वव्यापी अर्थवजार यसको शिकार भइरहेका छन् । आर्थिक संवाददाता एन्ड्र्यू वाकरका अनुसार मानिसहरू प्रायः परिवारको सहयोग लिन्छन् वा खर्च बढाउँदा बचत गर्न थाल्छन् । यस कारणले गर्दा त्यहाँको खर्चमा कमी आएको छ तर ती मामूली भने छन् । महामारीकाे रूपमा फैलिएकाे कोरोना र त्यसपछि सामाजिक दूरीको कारण लकडाउन, मानिसहरू यस भाइरसबाट आफूलाई जोगाउन बाहिर जाँदै छैनन् । यस कारणले गर्दा मानिसहरुको मागमा उल्लेख्य गिरावट आएको छ, जसको प्रत्येक्ष प्रभाव अर्थतन्त्रमा पर्दछ ।   (बीबीसीकाे सहयाेगमा)

कोरोना संक्रमणः यस्तो छ आज विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख २० हजार ९६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ८३ हजार ९ सय ५७ जनाको मृत्यु भइसकेको छ भने ५१ लाख ६९ हजार १ सय ४१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २४ हजार २ सय ७९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २४ लाख ६३ हजार १ सय ६८ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४ लाख ७२ हजार ९ सय ८५ पुगेको छ भने अहिलेसम्म १४ हजार ९ सय ७ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १० हजार ७ सय २८ जना संक्रमित भएका छन् भने २४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ हजार ३ सय ३८ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)