विकासन्युज

मेयरमाथि खुर्सानीको धुलो प्रहार

काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिकाको सातौं नगरसभा उद्घाटनको क्रममा मेयर हरिजंग शाहीमाथि खुर्सानीको धुलो प्रहार भएको छ । मेयरलाई फालेको खुर्सानीको धुलो सुरक्षाकर्मी र कर्मचारीलाई परेको थियो । मेयरलाई खुर्सानीको धुलो प्रहार गर्ने असन्तुष्ट जनप्रतिनिधिले नगरसभामा नाराबाजी गर्दै करिब ५० वटा कुर्सी पनि फुटाएको छायानाथ रारा नगरपालिका सूचना तथा संचार प्रविधि अधिकृत तिर्थराज शाही बताए । बुधबार गमगढीमा आयोजना गरिएको कार्यक्रममा नगरकार्यपालिकाका असन्तुष्ट सदस्यले नाराबाजी गर्दै मञ्चतर्फ खुर्सानीको धुलो फालेका थिए । खुर्सानी प्रहार गर्ने कार्यपालिका सदस्यलाई जिल्ला प्रहरी मुगुुले नियन्त्रणमा लिइएको छ ।

सुख्खा बन्दरगाह भन्सारमा रोकिए ५ सय कन्टेनर, कसले ल्यायो सरकारले प्रतिबन्ध गरेका वस्तु ?

काठमाडौं । वीरगञ्ज सुख्खा बन्दरगाह भन्सार कार्यालयमा करिब डेढ महिनादेखि ५ सय ट्रक कन्टेनर रोकिएका छन् । भारत लगायत विभिन्न देशबाट नेपालमा भित्र्याइएका सामान बोकेका कन्टेनर भन्सारले रोकेपछि नेपाल भित्रन नपाएर थन्किएका हुन् । संघीय सरकारले आयात रोक लगाएका वस्तु नेपाल भित्र्याउन नपाइने भएकोले करिब डेढ महिनादेखि सुख्खा बन्दरगाहको यार्डमा रोकिएका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिए । सरकारले चैत १६ गतेदेखि नेपालमा आयात हुने विभिन्न वस्तुमा रोक लगाएको थियो । ‘संघीय सरकारले रोक लगाएका वस्तु आयात गर्न नपाइने भएकोले रोकिएको हो, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुमति दिएका र सरकारले प्रतिवन्ध लगाउन अघि प्रतिपत्र (एलसी) खोलिएका वस्तु भने रोकिएको छैन,’ प्रमुख भन्सार अधिकृत श्रेष्ठले विकासन्युजसँग भने । भन्सार कार्यालयका अनुसार यसरी आयात गरिएकामध्ये अधिकांश कन्टेनरमा केराऊ छ । यस्तै, मरिच, सुपारी र छोकडा बोकेका कन्टेनर पनि रोकिएका छन् । कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेको थियो । पछिल्लो विश्व परिवेशको मूल्यांकन गर्दा विदेशी मुद्राको संचितिमा चाप पर्ने भन्दै सरकारले १६ चैतमा केराऊ, सुपारी, मरिच, छोकडा लगायतका केही वस्तुको आयात प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । सरकारले प्रतिबन्द लगाइसकेपछि एलसी खोलेर आयात गरिएका वस्तु भन्सारमा रोकिएका हुन् । यसरी रोकिएका वस्तुको विषयमा के गर्ने भनेर सुख्खा बन्दरगाह भन्सार कार्यालयले आवश्यक निर्णयका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्राचार गरेको छ । मन्त्रालयले भन्सारलाई कुनै निर्णय नदिएका कारण कन्टेर रोकिएका हुन् । मन्त्रालयको जवाफपछि आवश्यक निर्णय लिइने भन्सारको भनाइ छ । भन्सारले अहिले आयात भएका वस्तु सामान्य अवस्थाको तुलनामा बढी नभएको र नियमित आयात गर्ने व्यापारीहरुले नै ल्याएको जानकारी दिएको छ । ‘हामीले करिब ५ सय कन्टेनर रोकेका छौं, सामान्य अवस्थाको आयात हेर्दा यो संख्या धेरै होइन, नियमित रुपमा यस्ता वस्तु आयात गर्ने व्यापारीले नै ल्याएको हुनाले थप शंका गर्नुपर्ने अवस्था छैन, सरकारको नीतिगत निर्णको आधारमा मात्रै हामीले रोकेका हौं,’ प्रभुख भन्सार अधिकृत श्रेष्ठले भने ।

होटल व्यवसायीका मागः लकडाउन अवधिभर घर भाडा पूर्ण छुट, एक वर्षसम्म सबै कर मिनाहा, ऋण तिर्ने समय २ वर्ष सार्नुपर्ने

काठमाडौं । कोरोना भाइरसको कारण होटल व्यवसायी चौपट नै भएको भन्दै होटल व्यवसायी महासंघले १४ बुँदे माग राखेका छन् । महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी कोभिड–१९ का कारण धेरै होटलहरु बन्द गर्नुपर्ने बाध्यता आएको भन्दै सरकार समक्ष विभिन्न १४ वटा मागहरु राखेको हो । होटल व्यवसायीहरुले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनिको बैंक ऋणको ब्याजमा सहुलियत दिन समेत माग गरेका छन् । यस्तै, विदेशबाट आउने नागरिकको इच्छा अनुसार सस्तो दरका होटलमा क्वारेन्टाइन बस्न पाउने गरी व्यवस्थापन गर्नुपर्ने, व्यवसायीहरुले संघ, प्रदेश र स्थानीय गरि तीनवटै तहका सरकारले पर्यटन व्यवसायसँग सम्बन्धित राजस्व सम्बन्धी नीति नियम तर्जुमा गर्दा महासंघ मातहतका निकायहरुको प्रतिनिधित्व गराउने लागायतका मागहरु राखेका छन् । लकडाउन खुलेपछि पनि तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुली पानीको महसुलमा एक वर्षसम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने, एक वर्षको व्यवसाय कर तथा राजस्वमा छुट गर्नुपर्ने, बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि दुई वर्ष थप्नुपर्ने महासंघका माग छन् । महासंघका अध्यक्ष हिराध्वज शाहले माग सम्बोधन नभए आन्दोलन गर्ने पनि चेतावनी दिए ।

महासंघको माइन्युटमा लेखियो चण्डी ढकाल विरुद्दको खेद प्रस्ताव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकालविरुद्ध पारित भएको खेद प्रस्ताव माइन्यूटमा लेखिएको छ । यसअघि महासंघका पदाधिकारीहरुबीच जुम मिटिङमा मात्रै सिमित निर्णय अब माइन्युटमा लेखिएकाे हो । ढकालले महासंघकी अध्यक्ष भवानी राणालाई सार्वजनिक रुपमै अपशब्द बोलेको भन्दै उपाध्यक्ष किशोर प्रधानले खेद प्रस्ताव गरेका थिए । उनले गरेको खेद प्रस्ताव माथि निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र अध्यक्ष भवानी राणाले समर्थन जनाएका थिए । योसँगै अब ढकालमाथि नैतिक रुपमा प्रश्न उठेकाे छ ।

अस्ट्रेलियाको क्वान्टास एयरले ६ हजार कर्मचारी हटाउने, १० अर्ब अमेरिकी डलर बचत हुने

सिड्नी । अस्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टास एयरले कोरोनाभाइरस महामारीका कारण उत्पन्न संकट जनाउँदै आफ्ना छ हजार कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीले पर्यटन क्षेत्रमा आएको मन्दीसँगै १०० वटा बिमान पनि संचालन नगर्ने र यसबाट करिब १० अर्ब अमेरिकी डलर बचत गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अलान जोएसले कम्पनीको इतिहासमै यस वर्ष सबैभन्दा ठूलो संकटको सामना गर्नु परेको बताएका छन् । उनले कम्पनीका आधाभन्दा बढी कर्मचारी अर्थात् करिब २३ हजार कर्मचारीलाई पनि विदामा बस्न भनिएको जानकारी दिए । कोरोना महामारीका कारण क्वान्टासले आफ्ना सबैजसो अन्तर्राष्ट्रिय उडान कम्तीमा आगामी अक्टोबरसम्मका लागि रद्द गरेको जनाएको छ । कम्पनीले घरेलु उडान पनि सीमित मात्र गरिएको बताएको छ । अस्ट्रेलियाका अधिकांश शहरमा कोरोनाभाइरस प्रसार नियन्त्रणमा आएसँगै घरेलु उडानको संख्या बढ्न थालेका छन् । तर अन्तर्राष्ट्रिय सीमामा हुने कडाई अर्को वर्षसम्म जारी रहने सम्भावना रहेकाले सबै अन्तर्राष्ट्रिय उडानहरु प्रभावित हुने देखिएको छ । अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा एकाएक कोरोनाभाइरस देखिएसँगै यसको प्रभाव सहजै अन्त्य हुन नसक्ने दृष्टान्त देखाएको छ । क्वान्टासका कार्यकारी जोएसले आगामी केही वर्षसम्म कम्पनीको राजश्वमा ठूलै कमी आउने बताउँदै आफ्नो कम्पनी केही समय सानो विमान सेवाका रुपमा खुम्चिने सम्भावना रहेको छ भने । रासस/एएफपी

भारतमै थन्कियो रेल, नेपाल ल्याउने ठेगान छैन

काठमाडौं । विभिन्न समयमा नेपाल आइपुग्छ भनेको रेल भारतको ग्यारेजमै थन्किएको छ । भारतको जयनगरदेखि धनुषाको जनकपुर हुँदै कुर्थासम्म ३५ किलोमिटर दूरीमा सञ्चालन हुने भनिएको रेल भारतको ग्यारेजमै थन्किएको हो । विभिन्न समयमा विविध प्राधिक कारण देखाउँदै ल्याउन नसएिको बताइँदै आएको रेल विभागले अहिले रेल ल्याउन नसकिएको मुख्य कारण कोरोना भाइरसलाई मानेको छ । नेपाल सरकार अन्तर्गतको रेल विभागले विभिन्न समयमा भारतमा निर्माणाधीन रेल नेपाल ल्याउने भनेपनि अहिलेसम्म सो रेल नेपाल आउने कुरा अनिश्चित नै बनेको छ । अहिले आएर विभागले भाका तोक्न पनि छोडिसकेको छ । रेल विभाका सूचना अधिकारी अमन चित्रकारले नेपालमा ल्याउने रेल भारतमा तयार भइसकेको भएपनि नेपाल ल्याउने भने अनिश्चित नै भएको बताए । यो भन्दा अगाडि विभिन्न प्राविधक कारण्नले ल्याउन नसकिए पनि अहलिे भने कोरोना मुख्य कारण भएको उनले बताए । विभागको यो भन्दा अगाडिको भाका चैतमा ल्याउन थियो तर चैत महिनामै लकडाउन सुरु भएपछि भारतमा निर्माण भइसकेको रेल नेपाल ल्याउन कठिन भएको हो । ‘भारतमा रेल तयार भइसकेको छ, कोरोना भाइरसको कारण हाम्रो कुनै कुरा नै भएको छैन, भारतमा हाम्रो सम्झौता भएको कम्पनी महाराष्ट्रमा कार्यालय भएको कम्पनी हो । महाराष्ट्रमा कारोनाको असर धेरै भएकोले अहिले ल्याउन सक्ने अवस्था छैन,’ चित्रकारले भने । यो भन्दा अगाडि रेलको लागि निर्माण गरिएका केही पूर्वाधारहरु मर्मत गर्न ढिलाई भएकोले अर्को समयमा लागि रेल ल्याउने समय तोकिएको थिाये । विभागले सुरुमा दशैं लगत्तै नेपाल रेल आइ पुग्ने बतायो । त्यतिखेर पनि विविध कारण रेल नेपाल आउन नसकेको भन्दै माघको लागि मिति तोक्यो । विभागले माघमा रेल ल्याउनका लागि भौतिक संरचना तयार नभएको भन्दै माघमा पनि रेल ल्याउन सकेन । पुनः समय चैतका लागि सारियो । चैतमा पनि कोरोनाको कारण लकडाउन भएको भन्दै त्यसबेला पनि नेपालमा रेल ल्याउन सकिएन । अहिले भने रेल नेपाल आउने समय अनिश्चित नै बनेको छ । ‘यसअघि हामीले संरचनाहरु निर्माण गरिसकेको थिएनौं, भत्केका रेलका लिकहरु निर्माण गरिरहेका थियौं, हामीले अहिले त्यो पनि निर्माण गरिसकेका छौं, तर अहलिे कोरोनाको कारण ल्याउने समय अनिश्चित नै बनेको छ,’ उनले भने । उनले एउटा एसी, २ वटा जनरल बोगी र एउटा इन्जिनको आधा भागको बोगी गरेर ५ वटा बोगी सहितको रेल भारतमा तयारी अवस्थामा रहेको बताए । नेपाल सरकारले भारतको कोनकोन रेलवे कर्पोरेशन लिमिटेडसँग २ वटा डेमु रेल खरिद गर्ने निर्णय गरेर भुक्तानी समेत पठाइसकेको छ । सरकारले २ वटा डेमु रेलका लागि कोनकोन रेलवेलाई ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैंयाँ भुक्तानी पठाइसकेको बताइको छ । सम्झौता अनुसार नेपालमा रेल आइसकेपछि बाँकीको रकम भुक्तानी गरिने छ । एसी बोगी र जनरल बोगीमा १ पटक कम्तिमा पनि १ हजारदेखि १ हजार २०० जना यात्रुले यात्रा गर्न सक्ने बताइएको छ । रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति नेपालमा नभएका कारण बनिसकेको रेल समेत नेपाल ल्याइएको छैन । तत्कालका लागि जयनगरदेखि कुर्थासम्म ३४ किलोमिटर मात्र रेल सञ्चालन हुने बताइएको छ ।

दुग्धजन्य पदार्थको मूल्यमा छुट

काठमाडौं । बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान (डिडिसी) ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटाएको छ । यही असार ३ गतेदेखि घ्युमा प्रतिलिटर २० रूपैयाँ, नौनीमा ८० रूपैयाँ र धुलो दूधमा १० रूपैयाँ छुट दिइएको छ । घ्युको खुद्रा मूल्यसँगै थोक मूल्यमा १ देखि ५ प्रतिशतसम्म छुट दिइएको डिडिसीका महानिर्देशक रुद्रप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार थोक मूल्य प्रतिलिटर ८ सय ३० का दरमा ३ सयदेखि ५ सय लिटर घ्यु किन्दा १ प्रतिशत छुट दिइएको छ । यसैगरी ५देखि १ हजार लिटरमा २, १ हजारदेखि ३ हजारसम्म ४, ३ हजारदेखि ५ हजारसम्म ४ र ५ हजार लिटरदेखि माथि घ्यु किन्दा ५ प्रतिशतसम्म छुट दिइएको छ । २० रूपैयाँ छुट डिडिसीका बिक्री केन्द्र लैनचौर, खुमलटार, नयाँ सडक तथा आयोजना केन्द्रबाट खरीद गर्दा मात्र पाइने जनाइएको छ । १ हजार लिटरभन्दा बढी नौनी खरीद गर्नेलाई ८० रूपैयाँ र धुलो दुध खरीद गर्नेलाई १० रूपैयाँ छुट दिइएको डिडिसीका अर्थविज्ञ अज्जन अधिकारीले जानकारी दिए । उनका अनुसार यसअघि नौनी प्रतिलिटर ७ सय ८० र धुलो दूध प्रतिलिटर ६ सय रूपैयाँ थियो । डिडिसीका आयोजना केन्द्र लौनचौर, बालाजु, विराटनगर, जनकपुर, ढल्केबर, हेटौडा, बुटवल, कोहलपुर, अत्तरिया र कैलालीबाट नौनी र धुलो दूध खरीद गर्दा मात्र छुट हुनेछ । यसैगरी नेपाली सेनालाई बिक्री गरिने होलमिल्क ९घ्युसहितको दूध० एक हजारभन्दा बढी खरीदमा रु १० छुट दिइएको छ । यसअघि थोकमूल्य ७ सय ५० रूपैयाँ थियो । असार ३ गतेअघि बट्टाको घ्यु प्रतिलिटर रु ९२० तथा प्याकेटमा राखिएको घ्यु प्रतिलिटर ९ सय रूपैयाँमा बिक्री गरिएको थियो । १२ प्रतिशतले कमी बन्दाबन्दी केही खुकुलो भएसँगै दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा क्रमिक रुपमा सुधार हुँदै आएको महानिर्देशक पौडेलले जानकारी दिए । डिडिसीको तथ्यांकानुसार बन्दाबन्दी समयभन्दा हाल चार प्रतिशतले दूध खपतमा वृद्धि भएको तथा अन्य पदार्थको खपतमा कमी आएको छ । बन्दाबन्दीअघिको तुलनामा काठमाडौं उपत्यकामा मात्र दैनिक १२ प्रतिशत दूध खपतमा कमी आएको जनाइएको छ । उनका अनुसार बन्दाबन्दीअघि काठमाडौं उपत्यकामा मात्र दैनिक ८७ हजार लिटर दूध बिक्री हुँदै आएकामा ७६ हजार लिटर बिक्री भएको छ । दूधसँगै दही खपतमा ४० प्रतिशतले कमी आएको जनाइएको छ । दुई महिनादेखि भुक्तानी रोक बन्दाबन्दी समयमा नियमित रुपमा कृषकबाट दूध सङ्कलन भए तापनि समस्या भएकाले डेरी सञ्चालकले दुई महिनादेखि भुक्तानी रोकेका छन् । सामान्यतया १५/१५ दिनमा भुक्तानी हुँदै आए पनि डेढ महिनादेखि भुक्तानी नभएको महानिर्देशक पौडेलले जानकारी दिए । “एक महिनाको भुक्तानी बाँकी हुनुपर्ने हो तर खपतमा कमी हुँदा डेढ महिनाको रु ३० करोड भुक्तानी रोकियो, जति छिटो बिक्री हुन्छ त्यति छिटो भुक्तानी गरिनेछ”, उनले भने, “सम्भवतः १५ दिनको भुक्तानी दुईतीन दिन भित्र गरिनेछ ।” बन्दाबन्दीका कारण दुग्धजन्य पदार्थको मौज्दातमा वृद्धि हुँदा कृषकलाई भुक्तानीमा समस्या भएको नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए। उनका अनुसार दुई महिनाको ७० करोड रूपैयाँ भुक्तानी बाँकी छ । डिडिसी र निजी क्षेत्रबाट गरी १ करोड रूपैयाँ भुक्तानी बाँकी छ । पछिल्लो समय ४० देखि ४५ प्रतिशतसम्म दूध तथा दुग्धजन्य पदार्थको खपतमा वृद्धि भएको तथा ५ अर्ब रूपैयाँ बराबरको मौज्दात सामग्री रहेको दाहालले जानकारी दिए ।   रासस

चट्याङ लागेर ४ जनाको मृत्यु

सप्तरी । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीमा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीले सप्तकोशी नदीमा आज बिहान नुहाउन जाँदा कोशी पुल नजिक चट्याङ लागेर महदेवा गाउँपालिका–२ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव मृत्यु भएको जानकारी दिए । यसैगरी खेतमा धान रोप्न गएको बेला चट्याङ लागेर डाक्नेश्वरी नगरपालिका–९ लछनपटीका ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका बेल्ही चपेनका ४५ वर्षीय केसी साहको आज नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । राजगढ गाउँपालिका बेल्ही चपेनामा आफनो आँगंनमा काम गरिरहेको अवस्थामा १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छिन् । उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ । रासस