विकासन्युज

वीरगञ्जका प्रहरी सहायक निरीक्षक तामाङसहित पाँच जनाविरुद्ध आरोपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुण्डी कारोवारीले साथमा लिइआएको रकम बाँडफाँड गरी भ्रष्टाचार गरेको आरोपमा अस्थायी प्रहरी पोष्ट इनर्वागाउँ वीरगञ्जका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रहरी सहायक निरीक्षक तामाङ, प्रहरी हवल्दार विष्णु दयाल चौधरी र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जका प्रहरी जवान अवधेश रायले प्रहरी जवान राजकुमार गरुङसँग मिलेर हुण्डी कारोबारीले ल्याएको रु २० लाखबाट रु सात लाख घुस लिएको आयोगको अनुसन्धानबाट खुलेको छ । आयोगले प्रसनी तामाङ, प्रहरी हवल्दार चौधरी, जवान राय र गुरुङविरुद्ध रु सात लाख बिगो माग दाबी गरेको छ । बयानका क्रममा प्रसनी तामाङलाई सजाय हुनबाट बचाउने प्रयास गरी उक्त कसुरको मतियार ठहर गर्दै कावासोती नगरपालिका–५ बस्ने सोनाम तामाङविरुद्ध पनि आरोपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

कोभिड–१९ः यसरी सुरक्षित हवाईयात्रा गर्न सकिन्छ

काठमाडौं । ‘कृपया अब हामी बुद्ध एयरको उडान नं. ६०१ बाट पोखरा प्रस्थान गर्दैछौँ । बाह्र हजार फिटको उचाइबाट २५ मिनेटको यात्रापछि पोखरा विमानस्थलमा अवतरण हुनेछौँ । यात्रु महानुभावहरु ध्यानदिनुहोला ! “कोभिड–१९ को महामारीबाट सुरक्षित रहनका लागि हवाई यात्रामा पालना गर्नुपर्ने सुरक्षा निर्देशन” कृपया आफ्नो सिटबेल्ट बाँधिदिनु होला, यात्रा अवधिभर मास्क र फेससिट लगाउनुहोला । उडानका बेला हिँडडुल नगर्नु होला, अति आवश्यक भएमात्र शौचालयको प्रयोग गरिदिनुहुन र पानीको वितरण पनि अति आवश्यक परेको खण्डमा मात्र उपयोग गरिदिनुहोला साथै उडान अवधिभर श्वासप्रश्वास सम्बन्धी केही समस्या भएमा, रिङ्गटा लागेमा विमानका कर्मचारीलाई जानकारी गराउनुहोला र विमानबाट ओर्लँदा चार–चार जना मात्र ओर्लनुहोला । विमान परिचारिकाले यात्रुले पालना गर्नुपर्ने कोभिड–१९ सुरक्षा निर्देशन ‘अप्नाउनुस्’ गरिसक्नासाथ विमानमा सवार एक यात्रुले ‘टिनिङ’ घण्टी बजाउँछन् । तत्कालै विमान परिचारिका ती यात्रु नजिक पुग्छिन् । यात्रुले आफूलाई सास फेर्न गाह्रो भएको र टाउको दुखेको भन्दै जहाजमा यात्रा गर्न नसक्ने बताउँछन् । उनलाई जहाजबाट उतारिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मुलुकको अग्रणी वायु सेवा कम्पनी बुद्ध एयरको एटीआर–७२ जहाजमा आज भएको यो घटना वास्तविक थिएन । यो त केवल कोभिड–को महामारीबाट जोगिएर कसरी सुरक्षित उडान गर्न सकिन्छ, भनेर बुद्ध एयरले गरेको अभ्यास उडान मात्र थियो । वास्तविक उडानजस्तै गरी बुद्ध एयरले डेमोस्ट्रेशन गरेको हो । विमानमा भेटिएका सङ्क्रमित पनि अभ्यासका लागि बनाइएका व्यक्ति थिए । स्मरण रहोस् जहाजमा कोभिड–१९का सङ्क्रमित भेटिएको बाहेकका अरू सबै अभ्यास प्रक्रिया चाहिँ वास्तविक डमी अभ्यास हुन् । विभिन्न सञ्चारमाध्यमका २० भन्दा बढी पत्रकारलाई कोभिडबाट कसरी सुरक्षित उडान गर्ने भनेर स्थलगत अवलोकन गराइएको थियो । काठमाडौँ–पोखराको उडानमा वास्तविक यात्रुजस्तै गरेर सञ्चारकर्मी र केही बुद्ध एयरकै कर्मचारी अभ्यास उडानमा सरिक थिए । त्यस प्रयोजनका निम्ति बुद्धएयरले तीन वटा जहाज पोखरा एक र विराटनगरका लागि दुई उडानमा अभ्यास गरेको थियो । विमानस्थलको आन्तरिक टर्मिनलदेखिनै कोभिडबाट सुरक्षित यात्रका लागि अपनाउने स्वास्थ्य मापदण्डको प्रक्रियाको अभ्यास गरिएको थियो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशिका तथा बुद्ध एयरले बनाएको कार्यविधिसमेतलाई अवलम्बन गरी विमानस्थलमा यात्रुलाई कसरी सुरक्षित उडान गर्ने भनेर अभ्यास उडान गरिएको कम्पनीले उल्लेख गरेको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कोभिडको महामारीको अवस्थामा हवाई उडान गर्दा यात्रुलाई कसरी सुरक्षित गर्ने तथा बुद्ध एयरको सञ्चालनमा कोभिडको सङ्क्रमण नफैलियोस् भनेर अभ्यास गरिएको बताए । ‘‘उडानमा सङ्क्रमित यात्रु पक्कै आउँछन् तर एक सङ्क्रमितबाट अर्कामा यात्रु तथा विमानका कर्मचारीमा नसरोस् भन्ने उद्देश्य हो । अबको ४० दिनमा उडान सञ्चालन हुने अपेक्षा गरेका छौँ, त्यसबखत उडान शुरु हुदाँ ९९ प्रतिशत सुरक्षित वातावरणका लागि आवश्यक सबै तयारी गरिएको छ’’, उनले भने । प्रबन्ध निर्देशक बस्नेतले सञ्चालन खर्च सस्तो भएकाले जहाजको भाडा पनि घट्ने विश्वास व्यक्त गरे । उनले कम्पनीले खर्च व्यवस्थापनका लागि कम्पनीका सबैखाले कर्मचारीको २० देखि ३० प्रतिशत तलब कटौती गरेको पनि जानकारी दिए । यात्रु तथा विमानका कर्मचारीको ‘कन्फिडेन्ट’ का लागि कोभिडबाट सुरक्षित हुने उपायबारे अभ्यास गरिएको कम्पनीले उल्लेख गरेको छ । बुद्धले १० दिनअघि आफ्ना कर्मचारीलाई छुट्टै अभ्यास उडान गराएको थियो । आगामी दिनमा यस्ता अभ्यासलाई जारी राख्ने बुद्ध एयरको भनाइ छ । कम्पनीले सामान्य अवस्थामा एक घण्टामा चार जहाजको उडान गर्ने गरेको थियो । आगामी दिनमा स्वास्थ्य मापदण्ड अपनाउँदा डेढ घण्टा समय लाग्नेछ । डिपार्चरबाट बस राख्न आधा घण्टा र जहाजभित्र राख्दा त्यतिकै समय लागेको थियो । कम्पनीले यात्रुको सुरक्षाका लागि ‘डिसइन्फेक्सन’ विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुपको उपयोग गर्ने जनाएको छ । “हाम्रो पूर्ण प्रयास यात्रुलाई शिक्षित गर्ने हो, शुरुमा यात्रुलाई केही समस्या हुन्छ, तर विस्तारै सामान्य हुन्छ, आपतकालीन अवस्थामा शौचालय उपयोग गर्न दिन्छौँ, तिर्खा लागेमा पानी पनि दिन्छौँ”, प्रबन्ध निर्देशक बस्नेतले भने । आन्तरिक उडानका यात्रुले पहिलाजस्तो ‘स्न्याक्स’ पाउँदैनन् । अहिले विश्वभरका छोटा उडानमा यस्तो व्यवस्था हटाएको बताइएको छ । यात्रुले शुरुमा टर्मिनल भवन छिर्नासात् दुरी कायम गर्न बनाइएको घेराभित्र उभिएर लाइनबसी ज्वरो नाप्छन् । त्यसपछि सुरक्षापासको प्रक्रिया सकिन्छ । भित्र टिकट काउन्टरमा पनि सामाजिक दुरीका साथ बोडरिङ पास दिइन्छ । त्यहाँ काउन्टरका कर्मचारीले यात्रुलाई फारम भराउँछन् र मुहारसहितको परिचयपत्र मोबाइलबाट खिच्छन् अनी त्यसलाई कम्प्युटराइज गर्छन् । पाससँगै अर्को फाराम दिन्छन् उक्त फाराम यात्रुले भरेर जहाज चडेर ओर्लने बेला एयरहोस्टेजलाई दिनुपर्छ । पास लिएर अन्तिम सुरक्षा चाँचपछि यात्रु प्रतिक्षालय हुँदै सम्बन्धित गन्तव्यको उडानका लागि ¥याम्प बसभित्र छिर्छन् । सामान्य अवस्थामा ३५ जनासम्म अटाउने ती बसमा अहिले २० देखि २२ जना मात्रै यात्रु बस्छन् । जहाज चढ्नेबेला भ¥याङमै एक परिचारिकाले फेससिट वितरण गर्छिन । त्यसपछि यात्रुले आफ्नो सिटअनुसार जहाजमा बस्छन् र कोभिडसम्बन्धी स्वास्थ्य निर्देशिका अनाउन्स हुन्छ, सिटबेल्ट बाँधेर जहाज गन्तव्यतिर उड्छ । यही प्रक्रिया आगामी दिनका उडानमा हुनेछ । यात्रुले विमानस्थलमा करिब एक घण्टाभित्र जहाज चड्नेसम्मका सबै प्रक्रिया पूरा गरिसक्छन् । सामान्य अवस्थामा एक घण्टा अघि यात्रुलाई टर्मिनल भित्र बोलाइन्थ्यो भने अब डेढ घण्टाअघिनै भित्र छिराइन्छ । अभ्यास उडानमा विमानस्थलका उच्च अधिकारी पनि सहभागी थिए । बुद्धले अहिले एटीआर–७२ ११ सहित १३ जहाजमार्फत उडान सेवा दिइरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायु सेवा कम्पनीले उडान भर्दैआएका छन् ।

निजी सवारी साधनको कर्जा सीमा ९० प्रतिशत पुर्याउन नाडाको माग

काठमाडौं । नाडाले निजी प्रयोजनका सवारी साधनमा प्रवाह हुने कर्जा सीमा ९० प्रतिशत पुर्याउन माग गरेको छ । नाडाले उक्त कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने हालको व्यवस्थालाई पुर्नविचार गरी यसलाई वृद्धि गरी ९० प्रतिशत पुर्याउन नेपाल राष्ट्र बैंकसमक्ष माग गरेको हो । यसबाट सवारी साधन खरिद गर्न चाहनेहरुका लागि सहजता हुने, यसको प्रतिफलस्वरुप ओरालो लागेको सवारी साधनहरुको पैठारीमा सुधार आउने, सरकारको राजश्व प्राप्तिमा स्वभाविक रुपले वृद्धि हुने र देशको अर्थतन्त्र पनि थप चलायमान हुने नाडाकोे विश्वास रहेको छ । त्यसैगरी, नेपाल राष्ट्र बैंकले हायर पर्चेज लोनको सम्बन्धमा कर योग्य आयको कूल मासिक आम्दानीको ५० प्रतिशत मात्र किस्ता तिर्न सकिने अवस्थामा मात्रै ऋण दिनु पर्ने बर्तमान व्यवस्था खारेज गर्न माग गरेको छ । यस व्यवस्थालाई खारेज गरी अटोमोवाइल क्षेत्रलाई चलायमान बनाउँदा सरकारी राजश्वमा पनि बढोत्तरी हुने हुने भएकाले सो व्यवस्था गर्न नाडाले माग गरेको हो । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ५ सदसीय नाडा प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँगको छलफलमा उक्त माग राखेको थियो । नाडाले नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आर्थिक बर्ष २०७७/७८ को मोद्रीक नीतिले नेपालको समग्र अटोमोवाइल व्यवसायमा पार्ने प्रभाव र त्यसको समाधानबारे छलफल गरेको थियो । छलफलकोमा अटोमोवाइल व्यवसायीहरुलाई राहत हुने किसिमबाटै मोद्रीक नीति ल्याइने गर्भनर अधिकारीले बताए । साथै, सवारी साधन पैठारीकर्ताहरुले अब सवारी साधनहरुको एसेम्वलिङ्क उद्योग खोल्नेतर्फ पहल गर्न अनुरोध गरेका छन् । त्यसका लागि आवश्यक नीति तथा कार्यक्रमहरु समेत ल्याइने उनले आश्वासन दिए । उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका उपाध्यक्ष करण चौधरी, आकाश गोल्छा, सचिव अनुपकुमार बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेति समेतको उपस्थिति रहेको थियो ।

नौ वर्ष बित्यो तर बनेन भजनी नगरपालिकाकाे पुल

फाईल तस्विर भजनी ।  हुलाकी राजमार्गअन्तर्गत भजनी नगरपालिका–३ को कान्द्रा नदीमा पुल निर्माण अलपत्र परेको छ । ठेकेदारको लापरबाहीले पुल अलपत्र परेको हो । पुल निर्माण शुरु भएको नौ वर्ष बितेको छ । तर, पुल भने बन्न सकेको छैन । पुलको पिलर राख्ने कामबाहेक केही पनि नभएको स्थानीयवासीको भनाइ छ । यस वर्ष पुल निर्माण सम्पन्न हुने आशामा रहेका भजनीवासीको सपना पूरा हुनसकेन । भजनी–३ का मानबहादुर साउँदको घर कान्द्रा नदी छेवैमा छ । उनको खेतीबारी सबै कान्द्रा नदी पारी लालबोझीमा छ । वर्षामा कान्द्रा नदीमा पानीको बहाव बढ्ने भएकाले मानबहादुर आफ्नो खेतीको रेखदेख गर्न पाउन्न । “घर नदी वारि छ, खेतबारी नदी पारी”, उनले भने, “पुल बन्छ भन्ने आसमै नौ वर्ष बित्यो । न त पुल बन्यो न त स्थानीय सरकारले कुनै विकल्प खोज्यो ।” मानबहादुर एउटा उदाहरण मात्र हुन् । भजनी नगरपालिकाको वडा नं. ५ र ७ का स्थानीयवासीको सम्बन्ध वर्षात्को समयमा नगरपालिकाबाट नै टुट्ने गरेको छ । आउनै पर्ने अत्यावश्यक काम भए मात्र उनीहरु डुङ्गाको सहायतामा नगरपालिका आउँछन् । बर्सेनि वर्षायाममा यहाँका स्थानीय बासिन्दा डुबान, कटानलगायत थुप्रै समस्याबाट पीडित हुँदै आएका छन् । भजनी नगरपालिकाका दुई वडाका बासिन्दा नदीको टापुमा रहेर कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । कान्द्रा, पथरैया, मोहना, काँढा नदीको डुबानका कारण वर्षात्को समयमा त्यहाँका स्थानीयवासीको बास हुलाकी राजमार्ग सडकको त्रिपालमा हुने गरेको छ । त्यतिमात्र नभई वडा नं. ५ र ७ का विद्यार्थीहरु उच्च शिक्षाका लागिसमेत भजनी बजारमै आउनुपर्ने बाध्यता छ । उनीहरुले डुङ्गा चढेबापत दैनिक २० रुपैयाँ तिर्नुपर्छ । वर्षात्मा नगरपालिकाले विभिन्न नदीहरुमा डुङ्गा सञ्चालनका लागि ठेक्कासमेत दिने गरेको छ । स्थानीयवासी अनु खत्रीले नगरपालिकाको सेवा लिनका लागि पनि नगरपालिकाले ठेक्का दिएको डुङ्गालाई पैसा तिर्नुपर्ने बाध्यता रहेको बताए । कान्द्रा नदीमा पक्की पुल निर्माण गर्न विसं २०६८ जेठ ३१ गते ठेक्का सम्झौता भए पनि हालसम्म पुल निर्माण सम्पन्न हुनसकेको छैन । जसका कारण ज्यानको बाजी लगाएर नै लालबोझीका जनता कान्द्रा नदी वारपार गर्न विवश छन् । नौ वर्षयता निर्माणाधीन पक्की पुललाई टुलुटुलु हेर्दै पैसा तिरेर डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने आफूहरूको बाध्यता रहेको खत्रीले बताउनुभयो । “लालबोझीबाट धनगढी निक्कै टाढा छ,” उनले भने, “नजिकको बजार भजनी नै हो, त्यहाँ पुग्न ज्यानको बाजी लगाउनुपर्छ । अहिलेसम्म हाम्रो पीडा न त केन्द्रले सुन्यो न त स्थानीय सरकारले नै ।” स्थानीयवासीका अनुसार वर्षायाममा खोलामा पानीको सतह बढ्दा डुङ्गासमेत बन्द हुन्छ । ‘त्यही बेला कसैलाई स्वास्थ्यमा गम्भीर समस्या आयो वा सुत्केरी व्यथा लागेमा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ । रातिको समयमा डुङ्गा पनि चल्दैन । नदीसम्म पुग्न पनि डुबानका कारण समस्या हुने गरेको बताउँदै भजनी नगरपालिका–५ का मानबहादुर साउँदले भने, ‘हामीले तीनै तहका सरकारलाई यो समस्या सुनाइसक्यौँ, तर कसैले सुन्दैनन् ।” नदी तर्ने क्रममा बर्सेनि कैयौँले अकालमै ज्यान गुमाउन परिरहेको स्थानीयवासीको गुनासो छ । ठेकेदारको चरम लापरवाहीका कारण नौ वर्षसम्म पनि पुल निर्माण हुन नसक्दा पुलको अवस्था देखेर स्थानीयवासी आक्रोशित बन्दै गएका छन् । भजनी नगरपालिकाकी उप–प्रमुख छाया देवकोटाले पुल छिटोभन्दा छिटो निर्माण गर्न ठेकदारलाई दबाब दिइरहेको बताउनुभयो । “हामीले ठेकेदारसँगै हुलाकी सडकका प्रमुखलाई समेत पटक–पटक भेटेर छिटो पुलको काम सक्न दबाब दिइरहेका छौँ,” उनले भने, “असार मसान्तभित्र पुलमा हिँड्न मिल्ने गरी कामसक्ने आश्वासन सबै क्षेत्रबाट आएको हो । तर, त्यो आश्वासन ठेकेदार कम्पनीले पूरा गर्ने अवस्था देखिएन ।” हुलाकी सडक डिभिजन कार्यालय धनगढीका इन्जिनीयर पद्मबहादुर मडैले पहिलो पटक पुलको डिजाइन असफल भएका कारण निर्माण कार्य लम्बिएको बताए । उनले पहिलो पटक डिजाइन गरिएको पुलको फाउन्डेशन सफल नहुँदा २०७२ मा पुनः अर्को डिजाइन गरी पुल निर्माणको काम शुरु गरिएको बताए । रु चार करोड २४ लाखको लागतमा लामा, विरुवा र साप्ला शेर्पा कन्स्ट्रक्सनले पुल निर्माणको ठेक्का पाएको छ । विसं २०७५ असारसम्म पुल बनाउने सम्झौता भए पनि ठेकेदार कम्पनीले तोकेको समयावधिमा भने पुल निर्माण गर्न नसक्दा पुनः २०७७ माघसम्म काम सक्नेगरी म्याद थप गरिएको छ ।

अबको तीन दिन अधिकांश ठाउँमा वर्षा हुने, जमिन गलिसकेको हुँदा जोखिम बढ्दै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अबको तीन दिन मुलुकभर मनसुन सक्रिय हुनेछ । अधिकांश ठाउँमा वर्षा हुनेछ । अहिले पनि मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । मौसमविद् बरुण पौडेलका अनुसार रातिको समयमा अझै बढी पानी पर्ने सम्भावना छ । यो क्रम आगामी तीन/ चार दिनसम्म जारी रहने भएकाले आवश्यक सावधानी अपनाउन उहाँले आम सर्वसाधारणमा अनुरोध गर्नुभएको छ । विभागले तराई र चुरिया क्षेत्रमा बढी पानी पर्ने जनाइसकेको छ । नियमितजसो वर्षा भएकाले मुलुकका खोला, नाला, नदीहरु उर्र्लन थालिसकेको छ । मौसमविद्का अनुसार जमिन गलिसकेको हुँदा थोरै पानीले पनि धेरै असर गर्नसक्छ । यसले बाढी, पहिरो, डुबान र कटानको सम्भावना अधिक हुन्छ । तराई र चुरिया क्षेत्रमा चट्याङ्को पनि उत्तिकै सम्भावना छ । “यो बेलामा ढलको निकास राम्रो नभएको ठाउँमा डुबान हुनसक्छ, खहरे खोलाबाट एक्कासी बाढी तथा भिरपाखा र पखेरामा पहिरो आउनसक्छ, त्यस क्षेत्रमा बस्ने समुदाय थप सतर्क हुनुपर्छ, मौसमविद् पौडेल भन्नुहुन्छ, “जमिनको बनावट वरिपरीको क्षेत्र हेरेर सावधानी अपनाउनु जरुरी छ ।” यसपाली प्रिमनसुन सक्रिय भएकाले पहिले नै मुलुकभर भारी वर्षा भयो । जमिन गलिसकेको हुँदा प्रारम्भिक समयमै मनसुनजन्य विपद्को ठूलो जोखिम हुनसक्ने मौसमविद्को अनुमान छ । विपद् व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटा यस्तो अवस्थामा अझै चनाखो हुनुपर्ने आवश्यकता औँल्याउनुहुन्छ । पर्वतलगायत केही स्थानमा बाढी पहिरोले मानवीय क्षति भइसकेको सन्दर्भमा तीनै तहको सरकारको समन्वयमा पूर्व तयारी र राहत उद्धारका लागि आवश्यक काम गर्नुपर्ने टड्कारो आवश्यकता छ । अबको केहीदिन कोशी, कन्काई, वाग्मती, कमला नदीमा बहाव बढ्ने जलविज्ञ सुनिल पोखरेल बताउँछन् । “ठूला नदी अहिले नै खतरामा पुग्ने स्थिति नभए पनि तराई, चुरे र भारतीय सीमा आसपास भारी वर्षा हुने र साना खोलामा बाढी बढेर सतर्कतासम्म पुग्नसक्छ, पश्चिम नेपालको पनि तराईको भागमा समस्या देखिनसक्छ”, पोखरेलले भन । उनका अनुसार कन्काई, कोशी, राप्तीमा सतर्कता तहसम्म पुग्नसक्ने देखिन्छ । नारायणी नदीमा समेत विस्तारै बहाव बढ्ने क्रममा रहेको उनले बताए । ठूला नदीमा बहाव बढ्दो क्रममा रहे पनि आजको मितिसम्म नदीअनुसार दुईदेखि चार मिटरसम्म बहाव तलै रहेको जलविज्ञको भनाइ छ । सीमा क्षेत्र र तराईका खहरे, साना खोला एक्कासी उर्लेर आउने र क्षति पु¥याउने सम्भावना कायमै रहेकाले तीन दिन सतर्कता अपनाउनुपर्ने विज्ञको सुझाव छ । सरकारले यसपाली मनसुनजन्य विपद्को सूचना प्रणालीलाई व्यवस्थित गर्दै ‘असरमा आधारित पूर्वसूचना प्रणाली’ अवलम्बन गरिसकेको छ । सूचना प्रणालीलाई लक्षित वर्गसम्म कसरी पु¥याउने भनेर गृहकार्य भएन भने त्यसको प्रभावकारिता नहुने विपद् व्यवस्थापन विज्ञको भनाइ छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल मन्त्रालयगत रुपमा जिम्मेवारी छुट्याएर आवश्यक तयारी गरिरहेको बताउँछन् । विगतको अनुभवबाट सिकेर धेरै ठाउँमा नयाँ कार्ययोजना बनाई लागू गरिएको र क्षति न्यूनीकरणका लागि पूर्वसूचना र पूर्वतयारीको अवस्थालाई चुस्त पारिएको उनी बताउँछन् । सूचना प्रणालीको व्यवस्थापनमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा, खानी तथा भूगर्भ विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र काठमाडौँले समन्वय गरिरहेको छ । यसको अलावा पूर्वतयारी, पूर्वसूचना प्रणालीको व्यवस्थापन, भइपरी आएका घटनाको सामना गर्न आवश्यक बन्दोबस्ती र जनशक्तिको व्यवस्थापन गर्दै क्षतिको न्यूनीकरणमा समेत गृहमन्त्रालयले आवश्यक तयारी गरेको छ । प्राधिकरणका अनुसार यसपटक डुबान, कटान, बाढी, पहिरो र पानीजन्य रोगका कारण झण्डै ३० लाख मानिस प्रभावित हुने अनुमानका साथ आवश्यक पूर्वतयारी गरिएको छ । नेपालमा मनसुनजन्य प्रकोपका कारण वार्षिक झण्डै एक हजार मानिसले ज्यान गुमाउँछन् । जल प्रकोपका कारण हुने मृत्युका हिसाबले नेपाल दक्षिण एशियामा नै सबैभन्दा उच्च जोखिम पर्छ ।

शनिबार पनि सेवा दिँदै सानिमा क्यापिटल

काठमाडौं । सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल यो शनिबार(असार १४ गते) पनि खुल्ने भएको छ । उक्त क्यापिटलले एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न इच्छुकको सहजताको लागि सो दिन पनि आफ्ना सेवाहरु खुल्ला गर्ने भएको हो । यस क्यापिटल हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ । असार १४ गते लघुवित्तको सेयर भर्ने अन्तिम दिन हो । सो दिन बिहानको १० बजेदेखि दिनको एक बजेसम्म क्यापिटलले हितग्राही खाता खोल्ने, मेरो सेयरको नविकरण गर्ने लगायतका सेवा प्रदान गर्ने जानकारी गराएको छ ।

एनआईसी एशिया लघुवित्तको आईपीओमा लगानीकर्ताको आकर्षण, दुई दिनमै एक कराेड बढीकाे आवेदन

काठमाडौं । एनआईसी एशिया लघुवित्तको आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको संस्थाको सेयरमा दोश्रो दिनमा मागभन्दा साढे दुई गुणा बढी आवेदन परेको छ । सेयर निष्काशत तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बिहीबार(दोश्रो दिन) साँझ ५ बजेसम्ममा करिब एक करोड १२ लाख कित्ता सेयरको लागि आवेदन परेको छ । जुन मागभन्दा २.५२ गुणा बढी हो । सो अवधिसम्ममा करिब एक लाख ९९ हजार लगानीकर्ताले सेयरको लागि आवेदन दिएका क्यापिटलले जानकारी दिएकाे छ । संस्थाले बुधबारदेखि ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । इच्छुक लगानीकर्ताले आगामी असार १४ गतेसम्म उक्त सेयरमा आवेदन दिन सक्नेछन् । उनीहरुले न्युनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । सम्बन्धित समाचारः एनआईसी एशिया लघुवित्तको आईपीओमा १.५८ गुणा बढी आवेदन, हालसम्म कतिले भरे ?  

नुवाकोटका स्थानीय तहको ६ अर्बको बजेट

नुवाकोट । जिल्लामा सबै स्थानीय तहले गाउँ/नगरसभा सम्पन्न गरेका छन् । स्थानीय तहमा बुधबार आयोजित सभामा १२ वटै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट पेश गरेका छन् । जिल्लाका सबै स्थानीय तहमा गरी रु ६ अर्ब सात करोड ९० लाखको बजेट प्रस्तुत भएको छ । सबैभन्दा बढी विदुर नगरपालिकाको रु एक अर्ब आठ करोड बजेट पेश भएको छ । त्यस्तै बेलकोटगढी नगरपालिकाको रु ९९ करोड ९३ लाखको बजेट पेश भएको छ । गाउँपालिका शिवपुरीले रु ४९ करोड २५ लाख, ककनीले रु ४३ करोड, दुप्चेश्वरले रु ४१ करोड, पञ्चकन्याले रु ४० करोड ९३ लाख, किस्पाङले रु ४० करोड दुई लाख, तारकेश्वरले रु. ३९ करोड ६८ लाख, सूर्यगढीले रु ३८ करोड १२ लाख, लिखुले रु ३७ करोड ७८ लाख र तादीले रु ३६ करोड १९ लाखको बजेट तथा कार्यक्रम सभामा पेश गरेका छन् । जिल्लामा सबैभन्दा कम म्यागङ गाउँपालिकाको बजेट रु ३४ करोड गाउँसभामा पेश भएको छ । पेश भएको नीति तथा कार्यक्रम र बजेट केही स्थानीय तहले पारित गरिसकेका छन् भने केहीले छलफलपछि पारित गरिने जनाएका छन् । सभामा पेश भएको नीति तथा कार्यक्रम र बजेटमा सबै पालिकाले कोरोनाविरुद्ध प्राथमिकता दिएर कार्यक्रम राखेका छन् । कृषि क्षेत्र, सडकलगायत पूर्वाधार विकासमा बजेट धेरै विनियोजन गरेको पाइएको छ । रासस