विकासन्युज

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए । कोभिड १९ को कारणले बन्दाबन्दीले गत वैशाख ६ र ७ गते तय गरिएको सो कार्यक्रम मन्त्रालयले गत चैत २१ गते स्थगन गरेको थियो । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ए खुवाउँदै आइरहेको छ । प्रत्येक वर्ष भिटामिन ए खुवाउने कार्यक्रममा २७ लाख तीन हजार ५२२ बालबालिका सहभागी हुने गर्दछन् । सोही कार्यक्रममा बालबालिकालाई जुकाको औषधि र बालभिटासमेत दिइने खुवाउने गरिएको जनस्वास्थ्य निरीक्षक कल्पना पाण्डेले जानकारी दिए । जुकाको औषधि एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ९३ हजार १५२ बालबालिकालाई खुवाउने गरिन्छ । जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिन्छ । यस्तै १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा छ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो । अहिले ४१ जिल्लाका बालबालिकालाई खुवाउने गरिन्छ । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गर्दछन् । रासस

साधना लघुवित्तले ७ करोडको आईपीओ जारी गर्दै, कहिलेदेखि पाइन्छ भर्न ?

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । संस्थाले आगामी असार २१ गतेदेखि सो मात्रा अर्थात प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री गर्न लागेको हो । गत असार ७ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको लघुवित्तले १५ दिनमै सेयर निष्काशन गर्ने भएको छ । कूल ७ लाख ७ हजार ८ सय कित्ता साधारण सेयर मध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरिने संस्थाले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि संस्थाले ईक्रा नेपालबाट ‘आईसीआरए एनपी आईपीओ ग्रेड ४’ क्रेडिट रेटिङ्ग पाएको छ ।

देवघाट गाउँपालिकाले साना उद्योगीलाई दियो सहुलियत दरमा ऋण

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाले साना उद्योगीका लागि सहुलियत दरमा ८० लाख रूपैयाँ ऋण प्रवाह गरेको छ । गाउँपालिकाले रोजगारीका लागि ४० जना साना उद्योगीका लागि सहुलियत दरमा ऋण प्रवाह गरेको जनाएको छ । व्यवसाय गर्न चाहने तर पैसाको अभाव भएका उद्यमी छनोट गरी उनीहरुलाई छ प्रतिशत ब्याजमा ऋण लगानी गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । गाउँपालिकाका पाँचवटै वडाका युवायुवती छनोट गरी सहुलियत दरमा ऋण प्रवाह गरिएको थापाले जानकारी दिए । ‘हातमा सीप भएका तर रकम अभावमा व्यवसाय गर्न नसकेका व्यक्ति छनोटका लागि वडामार्फत सिफारिस भएर आएपछि ऋण प्रवाह गरेका हौँ’, उनले भने, ‘यसले गर्दा उनीहरुलाई उद्यमी बन्न सहयोग पुर्याएको छ ।’ थापाका अनुसार गाउँपालिकाबाट ऋण लिएकाले तरकारी खेती, पशुपालन, किराना पसललगायत व्यवसाय गरेका छन् । ऋण लिएपछि सदुपयोग भएरनभएको बारेमा पनि अनुगमन गरिरहेको उनले बताए । सहुलियत दरमा ऋण प्रवाह गर्नका लागि गाउँपालिकाले ऋण समिति बनाएको छ । सोही समितिले मूल्याङ्कनमा आधारमा ऋण प्रवाह गर्नेछ । यसरी ऋण लिएकाले दुई वर्षभित्र ऋण तिरिसक्नुपर्ने हुन्छ । ‘ऋण लिन चाहनेलाई लक्षित गरी वडाबाट फारम सङ्कलन गरिएको थियो, वडाध्यक्षले सिफारिस गरेर पठाएकालाई ऋण प्रवाह गरेका हौँ’, उनले भने । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि भने यो कार्यक्रम सञ्चालन गर्न नसक्ने भएको छ । बजेट अभाव भएका कारण आगामी आर्थिक वर्ष ०७७/७८ मा उक्त कार्यक्रम समावेश गर्न नसकिएको थापाले जानकारी दिए । युवा स्वरोजगार कोष कार्यक्रमअन्तर्गत गाउँपालिकाले चालु आर्थिक वर्षमा चितवन उद्योग वाणिज्य सङ्घको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजना तथा आर्थिक सहयोगमा ४५ जना उद्यमीलाई उद्यमशीलता तालीम सञ्चालन गरेको थियो । यसैबीच गाउँपालिकाले कृषि, जनस्वास्थ्य, पर्यटन, पूर्वाधार विकास र वातावरण तथा विपद् व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेर आगामी वर्षका लागि ४० करोड ७५ लाख ५८ हजार रूपैयाँकाे बजेट सार्वजनिक गरेको छ । उत्पादन र उत्पादकत्वको वृद्धि गरी रोजगारीको सिर्जना, सहज आगमनको लागि भौतिक पूर्वाधारतर्फ सडकको पहुँच विस्तार, खानेपानी तथा सरसफाइलाई उच्च प्राथमिकता दिई पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा, कृषि क्षेत्रलाई प्राथमिकता दिई उत्पादन र उत्पादकत्व वृद्धि तथा स्वस्थ नागरिक अमूल्य सम्पत्ति कार्यक्रमको कार्यान्वयन हुने गरी जनस्वास्थ्यलाई जोड दिने नीति लिइएको थापाले जानकारी दिए । कृषि, पशु स्वास्थ्य, उद्योग, पर्यटन र सहकारीको विकासको लागि पाँच करोड तीन लाख ५० हजार रूपैयाँ, कृषि क्षेत्रको लागि मात्रै दुई करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । पूर्वाधार क्षेत्रतर्फ गाउँपालिकाको भवन निर्माण र अन्य पूर्वाधार विकासको लागि छ करोड २५ लाख ९८ हजार रूपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । रासस

जनप्रतिनिधिले पाउने सुविधाको ४० लाख रूपैयाँ कोराेना कोषमा

काठमाडाैं । दोलखाको शैलुङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुले पाउने सेवा सुविधाबापतको  ४० लाख रूपैयाँ कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । शैलुङ गाउँपालिकाका जनप्रतिनिधिले पाउने सेवा सुविधा भत्ताबापतको आठ महिनाको ४० लाख रूपैयाँ बराबरको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष भरत दुललले बताए । गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म ४२ जना जनप्रतिनिधिले आठ महिनाको तलब सेवा सुविधा भत्ता कोरोना रोकथाम कोषमा हाल्ने बुधबार सम्पन्न गाउँ सभाले निर्णय गरेको छ । २०७६ चैत मसान्तसम्म सबै जनप्रतिनिधिले आठ महिनाको सेवा सुविधा लिन बाँकी रेहको थियो । अदालतले जनप्रतिनिधिलाई तलब नबुझ्न आदेश गरेपछि वाग्मती प्रदेशले तलब नभनी सेवा सुविधाको नाममा पारिश्रमिक दिने कानून पास गरेपछि जनप्रतिनिधिले सेवा सुविधा बुझ्दै आएका छन् । कोरोनाको कारण सिङ्गो देशनै समस्यामा रहेको कारण अर्थतन्त्र पनि धराशायी बनेको र आफूहरु जनप्रतिनिधि भएपछि आफू पनि बाँचौँ र जनतालाई पनि बचाऊ भन्ने उद्देश्यले सबै जनप्रतिनिधिले यो निर्णय गरेको अध्यक्ष दुललले बताए । जनप्रतिनिधिबाट ४० लाख रूपैयाँ र गाउँपालिकाको स्रोत बाट २० लाख रूपैयाँ गरी आर्थिक वर्षको लागि ६० लाख रूपैयाँको कोरोना नियन्त्रण कोष बनाउन लागिएको गाउँपालिकाले जनाएको छ । उक्त कोषमार्फत कोरोना परीक्षणका लागि स्वास्थ्य सामग्री खरिद परीक्षण गराउन ल्याउने स्वास्थ्यकर्मीको भत्ता यातायात लगाएको क्षेत्रमा उक्त रकम खर्च गरिने गाउँपालिकाले जनाएको छ । रासस

काठमाडौं महानगरपालिकाका कर्मचारीको जीवन बीमा राष्ट्रिय बीमा संस्थानमा

काठमाडौं । काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीहरुको सामूहिक सावधिक जीवन बीमा राष्ट्रिय बीमा संस्थानमा हुने भएको छ । जसको लागि महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच बिहीबार सम्झौता भएको हाे । उक्त सम्झौतामा महानगरपालिकाको तर्फबाट प्रशासन विभागका विभागीय प्रमुख नमराज ढकाल र संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमालले हस्ताक्षर गरेका थिए । कार्यक्रममा महानगरपालिकाका प्रशासन विभागका प्रमुख नमराज ढकालले कर्मचारीहरुको हितमा संस्थानसंग जीवन बीमा जस्तो दुरगामी महत्वको सम्झौता गर्दा खुसी लागेको र संस्थानबाट गुण्स्तरीय सेवाको अपेक्षा राखेको बताए । संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमाललेसंस्थान समयानुकूल परिमार्जन गर्दै वित्तीय रुपले सक्षम, प्रविधिको दृष्टिले आधुनिकता तर्फ उन्मुख रहेको र बीमितहरुलाई आकर्षक बोनस प्रदान गर्न सदा प्रयत्नशील रहेको जानकारी गराए ।

वितेको २४ घण्टामा थपिए करिब १ लाख ८० हजार कोरोना संक्रमित

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ९७ लाख १ हजार ५ सय ६२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ९० हजार ९ सय ७८ जनाको मृत्यु भइसकेको छ भने ५२ लाख ५४ हजार ९ सय ६६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २६ हजार ७ सय ७१ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २५ लाख ४ हजार २ सय ९८ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४ लाख ९१ हजार १ सय ७० पुगेको छ भने अहिलेसम्म १५ हजार ३ सय ८ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ११ हजार १ सय ६२ जना संक्रमित भएका छन् भने २६ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ हजार ६ सय ५० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)

दैलेखमा आत्महत्या गरेका युवकमा कोरोना पुष्टि

दैलेख । आत्महत्या गरेका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुल्लु नगरपालिका वडा नम्बर १० गमौडका २१ वर्षीय युवकमा आत्महत्या गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो । उनी गत जेठ ११ गते भारतको अहमदाबादबाट आई दुल्लु नगरपालिकामा रहेको पञ्चकोशी मावि गमौडीस्थित क्वारेन्टिनमा बसेका थिए । बसेको १४ दिनपछि आरडिटी नेगेटिभ आएपछि उनलाई जेठ २५ गते घर पठाइएको थियो । क्वारेन्टिनबाट फर्किएको १६ दिनपछि यही असार ९ गते बेलुकी झुण्डिएको अवस्थामा उनी मृत फेला परेको दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । असार १० गते दुल्लु अस्पतालमा लगी शव परीक्षणका साथै कोरोना भाइरस परीक्षण गर्न स्वाब संकलन गरेर कर्णाली प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत पठाइएको थियो । त्यहाँको परीक्षणमा ती व्यक्तिमा कोरोना पोजिटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

चन्द्रागिरिको एक अर्ब ४९ करोड ६२ लाखको बजेट

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि रु एक अर्ब ४९ करोड ६२ लाख १६ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । काठमाडौँ प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरीले बुधबार पाँचौँ नगरसभामा आगामी आर्थिक वर्षका लागि अनुमानित आयव्यय प्रस्तुत गरेको हो । चन्द्रागिरीकी उपप्रमुख लिसा नकर्मीले बुधबार अनुमानित बजेट पेश गर्दै आगामी आर्थिक वर्षमा रु ५२ करोड ५१ लाख ५० हजार राजश्व उठाउने लक्ष्य राखेको बताए । जसमा आन्तरिक राजश्व, घर जग्गा रजिष्ट्रेशन र गत आर्थिक वर्षको अनुमानित मौज्दात रहेको छ । चन्द्रागिरीले नेपाल सरकारबाट रु ६६ करोड ३५ लाख १९ हजार प्राप्त गर्ने जनाएको छ । जसमध्ये सशर्त अनुदान, विलेश अनुदान, समपूरक अनुदान र राजश्व बाँडफाँडबाट प्राप्त रकम रहेको छ । यसैगरी प्रदेश सरकारबाट रु १२ करोड ८५ लाख २६ हजार पाउने बताएको छ । जसमा राजश्व बाँडफाँडबाट प्राप्त रकम (सवारी करसमेत), प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, प्रदेश विशेष अनुदान, प्रदेश सशर्त अनुदान र प्रदेश समपूरक अनुदान रहेको छ । चन्द्रागिरीले अन्य सरकार निकायबाट जम्मा रु २१ करोड २० लाख १७ हजार ल्याउने बताएको छ । जसमा सामाजिक सुरक्षा भत्ता र जिल्ला समन्वय समितिबाट प्राप्त रकम रहनेछ । चन्द्रागिरीले आगामी आर्थिक वर्ष २०७७÷०७८ मा चालुतर्फ रु ७४ करोड १२ लाख, पूँजीगत खर्चतर्फ रु ६० करोड ५० लाख र सामाजिक सुरक्षामा रु १५ करोड खर्च गर्ने बताएको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीले बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य, उत्पादन र रोजगारीलाई प्राथमिकता दिने बताएका थिए ।