विकासन्युज

कुमारीले देवः विकासलाई प्राप्ति गर्न राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

काठमाडौं । कुमारी विकास बैंकले देवः विकास बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौतालाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको हालै सम्पन्न सञ्चालक समितिको बैठकले दुई बैंकबीचको सम्झौतालाई अन्तिम स्वीकृति दिएको हो । दुई बैंकको जेठ १९ गते) बसेको वार्षिक तथा विशेष साधारणसभाबाट उक्त प्रस्ताव पारित भएको थियो । यस प्राप्ति पश्चात् कुमारी बैंकको प्रति १ कित्ता सेयर बराबर देवः विकास बैंकको ०.८६ कित्ता सेयर अनुपातमा सेयर मूल्य कायम हुने गरी स्वाप रेसियो स्वीकृत भएको बैंकले जनाएको छ । त्यस्तै, बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोड रूपैयाँभन्दा बढी हुनेछ । साथै, निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब र शाखा सञ्जाल भने २०९ हुने बैंकले जनाएकाे छ ।

उदयपुरमा अनलाइन शिक्षण प्रभावकारी बन्दै

गाईघाट । उदयपुर जिल्लाको अधिकांश निजी तथा आवासीय विद्यालयहरुले शुरुआत गरेका अनलाइन शिक्षण प्रभावकारी हुन थालेको छ । असार महिना शुरु हुनासाथ जिल्लाका अधिकांश ती विद्यालयहरुले सो प्रविधिबाट घरघरमा बसेका बिद्यार्थीलाई शिक्षण प्रक्रिया शुरु गरेका थिए । विद्यार्थी अनलाइन शिक्षाप्रति निकै आकर्षित हुन थालेको सम्बन्धित विद्यालय शिक्षक शिक्षिकाहरु बताउँछन् । त्रियुगा नगरपालिका–११ गाईघाट प्याराडाइज स्कुलका प्राचार्य बाबुराम आचार्यका अनुसार आफूहरुले जेठ महिनादेखि नै अनलाइन विधिबाट घरघरमा बसेका विद्यार्थीहरुलाई शिक्षण कार्य शुरु गरेको र अहिले प्रत्येक कक्षाका असी प्रतिशतभन्दा बढी विद्यार्थीहरु अनलाइन शिक्षामा संलग्न रहेको बताए। शुरुमा अनलाइन शिक्षण शुरु गर्दा पाँच प्रतिशत विद्यार्थीहरु मात्र सहभागी भएको भए पनि अहिले दैनिक अनलाइन शिक्षामा संलग्न हुने विद्यार्थीहरुको सङ्ख्या बढ्दै गएको उनले जानकारी दिए । पिसजोन एकेडेमीले पनि असारको शुरुदेखि नै आफ्ना विद्यालयमा आबद्ध विद्यार्थीहरुका लागि अनलाइन शिक्षा शुरु गरेपछि अहिले सत्तरी प्रतिशतभन्दा बढी विद्यार्थी अनलाइन शिक्षामा आबद्ध भएको विद्यालयका सहायक प्राचार्य प्रभात कर्ण जानकारी दिए । शुरुमा पाँच प्रतिशत विद्यार्थीमात्र अनलाइन शिक्षामा सहभागी भए पनि दश दिनभित्र यो सङ्ख्या वृद्धि भएर सत्तरी प्रतिशत पुगेको समेत उनले बताए । गाईघाट क्यान्भास एकेडेमी स्कुल कक्षा ९ की छात्रा अस्मिता थापा अनलाइन पढाइको विषयमा आफू सन्तुष्ट रहेको र सबै पढेका विषयहरु आफूले प्रस्ट बुझ्ने गरेको बताउँछिन् । उनले भने “अहिले विद्यालयका सरहरुले हामी कक्षा ९ का विद्यार्थीहरुलाई गणित, विज्ञान,अङ्गे्रजी लगायतका विषयहरु अनलाइनबाट पढाइ रहनुभएको छ, घरमै अनलाइनमा बसेर सबै कुरा बुझिरहेका छौँ, अनलाइन पढाइबाट सन्तुष्ट छौँ ।” त्रियुगा नगरपालिका–४ बगाहाका जयन्ता खड्काले अनलाइन शिक्षा प्रभावकारी नै देखिएको बताए । निजी विद्यालयहरुको सङ्गठन प्याब्सन तथा एन प्याब्सन उदयपुरका अनुसार अहिले जिल्लामा एक सय दशवटा निजी तथा आवासीय विद्यालयहरु रहेका छन् ।

प्रधानमन्त्री निवासको जग्गा हडप्ने विरुद्ध निरिह बनेको अख्तियारलाई किन चाहियो व्युटीपार्लर हेर्ने अधिकार ?

काठमाडौं । नेपालको कानुन अनुसार कुनै पनि व्यापार व्यवसाय गर्ने हो भने उद्योग, कम्पनी वा संगठित संस्था दर्ता गर्नुपर्छ । उद्योग, कम्पनी वा संगठित संस्था दर्ता गर्नुपर्ने निकाय र त्यसको नियामक भने बेग्लै हुन्छन् । कम्पनी, उद्योग वा संगठित संस्था दर्ता गर्न कम्पनी रजिष्टारको कार्यालय, बाणिज्य विभाग, घरेलु तथा साना उद्योग विभाग, जिल्ला प्रशासन कार्यालय, सहभागी विभाग जस्ता निकाय र त्यसका मातहत कार्यालयमा जानुपर्छ । अर्थात कानुन अनुसार तोकिएका सरकारका कुनै पनि निकायमा कम्पनी, उद्योग वा संगठित संस्था दर्ता नगरी कुनै पनि प्रकारको उद्योग, व्यवसाय वा व्यापार गर्न पाइदैन । राष्ट्रिय सभामा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन संशोधन विधेयकमा सार्वजनिक संस्थाको परिभाषामा निजी क्षेत्रलाई पनि समेटिएको छ । ‘नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहको अनुमतिले वा सम्झौताअनुसार प्राकृतिक स्रोत साधनको संरक्षण, संवद्र्धन, उपयोग वा उपभोग, वा विकास निर्माणसम्बन्धी काम गर्न गठित उपभोक्ता समिति वा यस्तै अन्य प्रकारका संस्थाहरू’लाई सार्वजनिक स)स्था भनिएको छ । नेपाल सरकारले राजपत्रमा सार्वजनिक संस्था भनेर प्रकाशित गरेका जुन कुनै संस्थालाई पनि सार्वजनिक संस्थाको भनिने र ती सबै अख्तियारको क्षेत्रात्रिकारभित्र पर्ने सरकारले ल्याएको विधेयकमा छ । आयोग, निगम, कम्पनी, बोर्ड, बैंक, मेडिकल कलेज र तिनका अस्पताल तथा अन्य संगठित सबै संस्थाहरूलाई समेत सार्वजनिक संस्थाका रूपमा राखिएको छ । विधेयकमा राखिएको व्यवस्था अनुसार निजी क्षेत्रले गर्ने व्यापार व्यवसाय, उद्योग वा सामाजिक कार्य पनि अख्तियारको दायराभित्र पर्छ । सरकारको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले राष्ट्रिय सभामा पेश गरेको संशोधन विधेयकमा निजी क्षेत्रलाई अख्तियारको नियमन दायराभित्र राख्नुपर्ने आवश्यकता किन देखियो भन्ने जिज्ञासाको जवाफ पाइएको छैन । विधेयकमा राखिएको व्यवस्था अनुसार मोटरसाइकल बनाउने समान्य वर्कशप, व्युटी पार्लर, चिया तथा खाजाघर, किरियापुत्री घर बनाउन दर्ता भएको टोलसुधार समिति, सामान्य मासु पसल जस्ता कम्पनी, संस्था र निकाय पनि अख्तियारको दायराभित्र पर्छन् । अहिलेसम्म कुनै सरकारी कर्मचारीले ‘सेवाग्राहीसँग ५÷१० हजार रुपैयाँ घुस खाएको अवस्थामा रंगेहात पक्राउ गरेको’ उपलब्धिमा रमाइरहेको अख्तियारलाई कुनै व्युटी पार्लरले नियम अनुसार लाग्ने २ हजार रुपैयाँ राजस्व नतिरेको अभियोगमा पक्राउ गर्दा उपलब्धी थपिए जस्तो लाग्न सक्छ । तर, यस्तै झिनामसिना कामको लागि अख्तियार स्थापना गरिएको हो कि होइन भन्ने सवाल भने अहम हो । आजको दिनमा पनि तत्कालिन माओवादी जनसेनालाई राज्यबाट दिइएको अर्बाैं रकम हिनामिना भयो भनेर परेको उजुरीलाई अख्तियारले अनुसन्धान गरी टुंगोमा पुर्याएको छैन । नेपाल वायुसेवा निगमले खरिद गरेको जहाजमा ६ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भयो भनेर परेको उजुरीमाथि पनि अख्तियारले छानविन थालेको छैन । छानविन गरेको भएपनि टुंगोमा पुगेको छैन । प्रधानमन्त्री निवास वालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर हिनामिना गर्न नीतिगत निर्णय गरी मुख्य भूमिका निर्वाह गर्नेहरुलाई अख्तियारको कार्यक्षेत्रभित्र नपर्ने भन्दै उन्मुक्ति दिइएको छ । अख्तियारलाई वास्तविक रुपमा प्रभावकारी बनाउन पहल गरिएको भए व्युटी पार्लर हेर्न पाउने अधिकार थप्नु पर्दैनथ्यो । मन्त्रिपरिषदमा फाइल लगेर भ्रष्टाचारलाई रक्षाकवच प्रदान गरिने नीतिगत भ्रष्टाचार रोक्न अख्तियारको कार्यक्षेत्र बढाइनु पथ्र्याे । निजी क्षेत्रमाथि आतंक सिर्जना गर्ने र राजनीतिक नेतृत्वले गर्ने नाजायज कामलाई नीतिगत निर्णयको नाममा छुट दिने खराव नियतका साथ यो विधेयक निर्माण गरेर राष्ट्रियसभामा पेश गरिएको स्पष्ट छ । कोरोना भाइरस संक्रमण रोक्न भन्दै सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउन खुकुलो भएपनि अझै खुलेको छैन । सरकारले ८० दिनसम्म त सबै उद्योग व्यवसाय ताला लगाएर बन्द गरायो । यसरी बन्द गराइएको उद्योग व्यवसायलाई सरकारले कुनै प्रकारको राहत दिएको छैन । उल्टै निजी क्षेत्रलाई आतंकित पार्ने गरी अख्तियार ऐन संशोधन गरिदैछ । अहिले सत्तारुढ नेकपाले सो संशोधन विधेयक अघि नढाउने भनेर निर्णय भने गरेको छ ।

स्थानिय निकायको कोरोना कोषमा आशा लघुवित्तको ५ लाख सहयोग

नुवाकोट । आशा लघुवित्त वित्तीय संस्थाले स्थानिय निकायहरुले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुल ५ लाख ३५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो ४६ वटा शाखा कार्यालय मार्फत छुट्टा छुट्टै स्थानिय निकायहरुले स्थापना गरेको कोषमा उक्त सहयोग गरेको हो । वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व, ग्राहक संरक्षण कोष तथा सम्पुर्ण कर्मचारीहरुको योगदान समेत रहने गरी उक्त रकम हस्तान्तरण गरेको जनाएको छ । त्यस्तैगरी वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत अति विपन्न तथा न्यून आय भएका आफ्ना ग्राहक सदस्यहरुलाई मास्क, सावुन तथा स्यानिटाईजर समेत वितरण गरिएको र आवश्यकता अनुसार थप सहयोग समेत गर्दै जाने कुरा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले बताए । नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृत प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘बिपन्नका निम्ति आशा’ भन्ने मुल नाराका साथ ककनी-६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भदौ १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुमा ५५ वटा शाखा कार्यालयहरु मार्फत करीब ५६ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराऊदै आएको छ भने संस्थाको हालसम्म करीब २ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ७८ करोड भन्दा बढी निक्षेप समेत संकलन गरेको छ ।

क्यान्टिनमा भाडा माझ्ने ढकाल अहिले रेष्टुरेन्टकाे मालिक, भन्छन्- हरेस खाइन, त्यसैले सफल भएँ

काठमाडौं । सानो कामलाई ठुलो मान्दै लगनका साथ मिहिनेत गरे सफलता पाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् राकेश ढकाल । सामान्य परिवारमा रसुवामा हुर्किएका ढकालमा आफै केहि गरौं भन्ने भावका साथ राजधानी काठमाडौंमा आए । जस्तो सुकै काम गरेर भएपनि काठमाडौंमै जम्ने रहर उनको थियो । त्यहि हुटहुटिले १४ बर्षको कलिलो उमेरमा रसुवाबाट काठमाडौं आई गङगालाल हस्पिटलको क्यान्टिनमा भाडा माझ्ने काम गरे । यहि काममा देखेको लगनशीलताले आज आफै रेष्टुरेन्टका मालिक बनेको छन् राकेश ढकाल । काम सानो हुँदो रहेनछ भन्दै उनले भने, ‘जिवनमा धेरै संघर्ष गरे । हरेस खाइन त्यहि कारण आज रेष्टुरेन्ट खोल्न सफल भँए ।’ राजधानी काठमाडौंको शंखमुलमा खानाका पारिखीहरुको स्वादलाई मध्ये नजर गर्दै गएको फागुनदेखि उनले पूर्ण रुपमा ‘बज्यैको सेकुवा’ सञ्चालनमा ल्याउन सफल भए । नेपाली चुलोमा पकाएको नेपाली परिकारलाई आफूहरूले मेनुमा प्राथमिकता दिएको उनले बताए । हरेक युवाहरु व्यवसायमा नलागेसम्म मुलुक विकसित नहुने भन्दै उनले लामो समयपछिको अनुभवलाई आत्मसाथ गर्दै आफैले नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याएको बताए । अनुभवपछि आफै पनि व्यवसाय गर्नुपर्छ भन्ने उदाहरण दिनका लागि आफूले रेष्टुरेन्ट खोलेको उनको भनाई छ । कर्नरमा सेकुवा लगायत खसीको भुटन कलेजो लगाएत कुखुराको विभिन्न परिकारहरूको स्वाद ग्राहकवर्गले लिन सक्ने उनले बताए । बज्यैको सेकुवा कर्नरले १२ जना कामदारहरूलाई रोजगारी दिन सफल भएको छ । उनले यसबीचमा काठमाडौंका विभिन्न सेकुवा कर्नरहरूमा वेटर देखि मेनेजरसम्म काम गरे । बाजेको सेकुवा, प्रेसिडेन्ट सेकुवामा मेनेजर भई काम गरेको अनुभव यतिबेला उनलाई थप सफलतामा डोराएकाे छ । झण्डै १५ वर्ष अन्य ठाँउमा काम गर्दै गर्दा घरायसी बाध्यताका कारण आफुहरुले विदेशका विभिन्न ठाँउका तारे होटलबाट समेत अनुभव बटुल्न सफल भएका छन् उनी । भाडा माझ्नेबाट वेटर हुँदै मेनेजरसम्म हुँदा होटल रेस्टुरेन्ट व्यवसायमा धेरै योगदान छ ढकालको । विभिन्न कठिन परिस्थितिहरूमा संघर्ष गर्दै यो अवस्थासम्म आइपुग्दा ढकालले आफ्नो छुट्टै ब्रान्ड स्थापना गर्ने सफल छ । लामो समयदेखि विभिन्न सेकुवा कर्नरबाट विभिन्न परिकार सेकुवाको अनुभव लिएका छन् ढकालले । झण्डै ३५ लाख लगानीमा काठमाडौंको शंखमुलमा बज्यैको सेकुवा स्थापना गरेको उनले बताए । ‘देश तथा विदेशका विभिन्न अनुभव समेटेर आफ्नो छुट्टै ब्रान्ड बनाएको छु’ उनले भने- ‘पक्कै ग्राहक मन जित्नेछु । नेपालीपन दिन थप सशक्त बन्नेछु ।’ पूर्ण पारिवारिक वातावरण रहेको सेकुवा कर्नरले आगामी दिनहरूमा आफ्नो ब्राण्डलाई काठमाडौं उपत्यकाको विभिन्न स्थान र उपत्यका बाहिरका मुख्य शहरहरूमा पनि स्थापित गराउने लक्ष्य ढकालको छ । राकेश ढकाल

नेकपा स्थायी कमिटीको बैठक शुरु

काठमाडौं । यही असार १० गतेदेखि शुरु भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक शुरु भएको छ । पहिलो दिनको बैठकमा अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी आज बस्ने गरी सकिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पहिलो दिन वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्तव्य व्यक्त गरेका थिए । बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी कामहरू सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) र विविध कार्यसूचीमा छलफल हुने छ । कार्यसूचीको विविधमा रुकुमपश्चिमा गत जेठ १० मा भएको मानवताविरोधी घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदहरुको भत्ताका विषय राखिएको छ ।

सप्तरीमा चट्याङबाट ज्यान गुमाएका परिवारलाई एक/एक लाख

राजविराज । प्रदेश नं २ सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारलाई रु एक/एक लाख दिने घोषणा गरेका छन् । प्रदेश नं २ का भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले अविरल वर्षासँगै बिहीबार परेको चट्याङ लागेर मृत्यु भएका मृतक परिवारलाई प्रदेश नं २ सरकारले रु एक/एक लाख दिने घोषणा गरेको उनले जानकारी दिए । चट्याङ लागेर मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । प्रदेश सरकारले मृतक परिवारलाई जनही रु एक/एक लाख राहतस्वरुप दिने निर्णय गरेको जानकारी दिँदै चट्याङ लागेर मृत्यु भएका महदेवा गाउँपालिकाका ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको परिवारसँग घरमै गएर भेट गरी मृतकलाई श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर बिहीबार सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ की ३० वर्षीया ललितादेवी यादव, महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव तथा राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केसीलाल साहको ज्यान गएको छ । जसमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने साहको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

कास्की । गण्डकी प्रदेशमा आज थप २५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी तनहुँमा दुई, स्याङ्जा र बागलुुङमा एक÷एक तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१ जनामा सङ्क्रणमण पुष्टि भएको जनाएको छ । सङ्क्रमितमध्ये २३ जना पुरुष र दुई महिला छन् । सङ्क्रमितमा तनहुँको ब्यास नगरपालिकामा ४९ र ३० वर्षीय पुरुष, स्याङ्जा कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय एक पुरुष, बाग्लुङ बरेङ गाउँपालिकाका २३ वर्षीय एक पुरुष तथा नवलपरासीको गैँडाकोट र कावासोती नगरपालिकाका १९ जना पुरुष र दुई महिलामा कोरोना पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । अहिले सबै जना सङ्क्रमितलाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या ७९२ पुगेको छ भने १०१ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा हालसम्म ७९२ जना कोरोना सङ्क्रमित पुगेका छन् । प्रदेशको मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । स्याङ्जाका दुई सङ्क्रमितको भने मृत्यु भएको छ ।