बुटवल उपमहानगरको बजेटमा कर छुट व्यवस्था
बुटवल । बुटवल उपमहानगरपालिकाले कोभिड–१९ को मारमा परेका निजी क्षेत्रका व्यवसायीलाई राहतको व्यवस्था गरेको छ । उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७।०७८ का लागि प्रस्तुत बजेटमा निजी क्षेत्रका लागि राहतको व्यवस्था मिलाइएको हो । कोभिड–१९ को महामारीबाट साामाजिक आर्थिक क्षेत्रमा परेको असर न्यूनीकरणका लागि बजेटमार्फत नै निजी क्षेत्र र यहाँका सानाठूला व्यवसायी सबैलाई राहतको अनुभूति हुने गरी कर छुट र प्रोत्साहनलगायत व्यवस्था मिलाइएको नगर प्रमुख शिवराज सुवेदीले बताए । बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक तथा उपप्रमुख गुमादेवी आचार्यले बजेटमा साना व्यवसायी, उद्यमी र किसानसम्मलाई कर छुट दिने व्यवस्था मिलाइएको जानकारी दिए । उद्योग, व्यवसाय र लगानीमा गिरावट आएको, होटल, यातायात लगायत कतिपय सेवा, उद्योग व्यवसाय ठप्पप्रायः भएको तथा सिंगो समाज र अर्थतन्त्र पुनस्थापना र राहतको पर्खाइमा रहेका बेलामा राहत दिने प्रयास गरिएको उपप्रमुख आचार्यको भनाइ छ । कृषि उत्पादकत्व वृद्धि र रोजगारीका अवसर सिर्जना गरी स्थानीय सेवालाई प्रभावकारी बनाउने तथा निजी क्षेत्रलाई प्रोत्साहन दिँदै उपभोक्ताका हकहितका काममा प्रतिबद्ध बनाउनु नै आजको प्रमुख कार्यभार र दायित्व मानेर बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए । उपमहानगरका वित्त व्यस्थापन महाशाखाका प्रमुख वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालका अनुसार बजेटमा उपमहानगरले निर्माण गरेका र स्वामित्वमा रहेका व्यावसायिक सपिङ कम्प्लेक्स, पसल घर तथा व्यावसायिक सटरमा व्यवसाय गर्नेका लागि भाडामा एक महिनाको छुट दिनेदेखि विभिन्न शीर्षकमा करछुटको व्यवस्था गरिएको छ । यस्तै २०७६ चैतदेखिको बक्यौता रकममा लाग्ने सबै जरिवाना छुट दिइएको छ । सम्पत्ति, बहालमा लिइएको भवन, सटरको म्याद यही असार मसान्तमा सकिनेको हकमा स्वतः एक वर्ष अर्थात् २०७८ असार मसान्तसम्मको अवधि थप गरिने भएको छ । बुटवलले यहाँका अरु सबै घरधनीलाई पनि आआफ्ना घर, सटरमा पेशा व्यवसाय गरी बसेकाहरुलाई भाडामा छुट दिन अनुरोध गर्दै त्यस्ता घरधनीलाई उपमहानगरबाट प्रोत्साहनका कार्यक्रममा समावेश गर्ने बताएको छ । यसैगरि घरबहाल र व्यवसाय कर सम्बन्धमा बुटवलले कर बुझाउनुपर्ने दायित्व भएका करदातालाई आव २०७७/७८ को कर २०७७ पुस मसान्तसम्म बुझाएमा लाग्ने करमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । छुट दिने व्यवस्थासहितका नयाँ प्रावधानलाई नगरसभाको अधिवेशनबाट पारित भएसंँगै वेबसाइटमा राखिने छ । उपमहानगरले सम्पत्ति कर, भूमिकर र मालपोत विगतमा एकीकृत रुपमा मूल्याङ्कन गरी लिइँदै आएकामा सम्पत्ति करमा पुनरवलोकन गरी घर र घरले ओगटेको क्षेत्रफल बराबरको जग्गामा मात्र सम्पत्ति कर लिने, सोबाहेकको बाँकी जग्गामा भूमिकर मात्र लिने व्यवस्था गरेको छ । यससंँगै मालोपोतमा समेत १५ प्रतिशत छुट दिने नयाँ व्यवस्था भएको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब एक करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । उक्त बजेटमा कर र राजश्वका सम्बन्धमा बजेटमार्फत नयाँ व्यवस्था गरिएको छ । यो निर्णयसंँगै बुटवलका विभिन्न ठाउँमा व्यवसाय सञ्चालन गर्दैआएका सटरका व्यवसायी, झण्डै १५ हजार करदाता र समग्र निजी क्षेत्रलाई राहत हुने अपेक्षा गरिएको छ । यसलाई निजी क्षेत्र र व्यवसायीले स्वागत गरेका छन् । रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले मारमा परेका व्यवसायीलाई उपमहानगरले थोरै भए पनि सम्बोधन गरेको भन्दै प्रशंसा गरे । उनले तीनै तहका सरकारबाट राहतको व्यवस्था हुन जरुरी रहेको पनि बताए । रुपन्देही उद्योग संघका अध्यक्ष तथा युवा उद्यमी बाबुराम बोहोराले उपमहानगरले करमा छुट दिने निर्णय गरेर केही प्रोत्साहनको काम गरेको भनी सराहना गरे । बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि अर्यालले उपमहानगरपालिकाले राजस्व परामर्श समिति बनाएर छलफल गर्ने, सुझाव लिने र समन्वय गर्ने गरेर निजी क्षेत्रलाई राहतका साथ थोरै भए पनि सम्बोधन गरेको बताए । रासस
भरतपुरका व्यवसायीलाई कर छुट दिने निणर्यलाई उद्योग वाणिज्य संघले गर्यो स्वागत
भरतपुर । उद्योग वाणिज्य संघ चितवनले भरतपुर महानगरपालिकाको सम्पन्न नगर सभामार्फत भरतपुरका व्यवसायीलाई गरेको व्यवसाय कर छुटको घोषणाको स्वागत गरेको छ । विश्वव्यापी रुपमा रहेको कोरोना भाइरसका कारण निजी क्षेत्र सबैभन्दा बढि प्रभावित भएको अवस्थामा महानगरपालिकाले गरेको घोषणाले व्यवसायीलाई थोरै भए पनि राहत महशुस भएको संघका अध्यक्ष राजु श्रेष्ठले बताए । कर तिर्नु व्यवसायीको दायित्व हो तर संकटको अवस्थामा व्यवसायीलाई टिकाइ राख्नका लागि सरकारद्धारा विभिन्न राहतका प्याकेजहरुको घोषणा गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए । व्यवसायमा परेको बर्तमान विसम परिस्थितिमा महानगरपालिकाले उक्त घोषणा गर्नु स्वागत योग्य भएको उनको भनाई छ । व्यवसाय करमा छुट दिनको लागि उद्योग वाणिज्य संघ चितवनले समय समयमा विभिन्न अन्तर्क्रिया एवम् छलफल मार्फत वर्तमान अवस्थामा व्यवसाय कर छुटको लागि माग गर्दै आइरहेको संघका कामु कार्यकारी निर्देशक निलबहादुर केसीले बताए । आफुले गरेको अनुरोधलाई सम्बोधन गरेकोमा संघले महानगरपालिका प्रति आभार व्यक्त गरेको हो । बुधवार चितवनमा सम्पन्न नगरसभामा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुत गर्दै पर्यटन र मनोरञ्जन व्यवसायीहरुलाई करमा २५ प्रतिशत, घरवहाल करमा ७ प्रतिशत र अन्य व्यवसायलाई १५ प्रतिशत छुट दिईने घोषणा गरेको हो ।
नेकपा बैठकमा भारतले वार्ताका लागि तत्परता नदेखाएको जानकारी
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठकमा छिमेकी भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता गर्न सरकारले पहल गरे पनि भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहेको जानकारी दिइएको छ । यही असार १० गतेदेखि शुरु भएको नेकपा स्थायी कमिटीको बैठकको आज दोस्रो दिन परराष्ट्रमन्त्रीसमेत रहनुभएका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले कूटनीतिक पहलद्वारा नै समस्याको समाधान गरिने उल्लेख गर्दै चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको र चीनसँग सीमाका सम्बन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट गरे । बैठकमा आज १८ स्थायी कमिटीका सदस्यले आफ्नो धारणा राखेका थिए । उनीहरुले नेपालको सीमा समस्या र समाधानका बारेमा आ–आफ्नो धारणा राखेका थिए । आजको बैठकमा लीलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शङ्कर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारायणकाजी श्रेष्ठले विचार राखेका नेकपाका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पहिलो दिन वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्तव्य व्यक्त गरेका थिए । बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) र विविध कार्यसूची छ । कार्यसूचीको विविधमा रुकुमपश्चिममा गत जेठ १० मा भएको मानवताविरोधी घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदहरूको भत्ताका विषय राखिएको छ । बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यव्यस्तताका कारण आजको बैठकमा आफू उपस्थित नहुने र बैठक सुचारुरूपमा सञ्चालन गर्न भनेकाे जानकारी गराएका थिए । आजको बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतमा भएको थियो । स्थायी कमिटीको अर्काे बैठक शनिबार बिहान ११ः०० बजे बस्नेछ ।
एक करोडले ८ किलोमिटर ट्रयाक
रुकुमपूर्व । सिस्ने गाउँपालिका–२ नायगाड भएर सिस्ने–१ हुँदै डोल्पा जोडिने सडकखण्डको ट्रयाक खोलिएको छ । एक करोड बजेटमा नायगाडदेखि डोल्पातर्फ आठ किमीको साधारण बाटो खोल्ने काम गरिएको हो । गाउँपालिकाको ५० लाख र प्रदेश सरकारको ५० लाख बजेटमा उक्त ट्रयाक खोलिएको सिस्ने गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिए । यस्तै गत आर्थिक वर्षमा पनि गाउँपालिकाको रु ५० लाख र प्रदेश सरकारको ४० लाख गरी ९० लाख बजेटमा चार किमी बाटो खनिएको थियो । अहिले नायगाडतर्फ पूर्व पुथा –१४ जामाबगरबाट र पश्चिम देउखोलाबाट खडक खन्ने काम भइरहेकोे वडाध्यक्ष केसीले बताए । देउखोला–नायगाडको बीच खण्डमा ब्लाष्टिङ गरी निर्माण सेवा कम्पनीले बाटो खन्ने काम गरिरहेको छ । सडक नपुगेका कारण विभिन्न आवश्यक सामग्री अभावका साथै कडा चट्टानका कारण ट्रयाक खोल्न निकै समस्या झेल्नुपरेको बताइएको छ । अब जिल्ला सदरमुकाम रुकुमकोट, बालुवा–देउखोला–नायगाड–जामाबगर भएर कोलसँग जोडिँदै छ भने नायगाड–सिस्ने–डोल्पासँग जोडिँदै छ । हाल सडक नपुगेकाले त्यस ठाउँका नागरिकले सामान ढुवानीमा सास्ती खेपिरहेका छन् । डोल्पातर्फ जोडिने सडक र कोलसँग जोडिने सडक जोडियो भने व्यापार व्यवसाय फस्टाउने स्थानीयवासीले बताएका छन् । यी सडकखण्डमा पर्ने विभिन्न क्षेत्रमा मनोरम पर्यटकीयस्थल अथाह रहेकाले सडक पुगेमा पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बन्ने विश्वास लिइएको प्रवक्ता केसीले बताए ।
‘सेलपे खेती’ अफरको लागि सेलपे सेवा र खेती फुडबीच सम्झौता
काठमाडौं । सेलपे सेवाले नेपालको अग्रणी इ-कमर्श प्लेट्फार्म खेती फुडसँग सम्झौता गरेको छ । सेलपेले सेलपे खेती अफरको लागि खेती फुडसँग सम्झौता गरेको हो । यो अफर असार ११ गते देखि सुरु भएको छ । जस अन्तर्गत ग्राहकहरुले खेती एप्प वा वेब एप्लिकेसनबाट कुनै पनि सामान खरीद गरी सेलपेबाट भुक्तानी गरे ५० प्रतिशतसम्मको डिस्काउन्ट कुपनका साथै एक हजार रुपैयाँभन्दा माथि रकमको सामानको खरिदमा १ किलो टमाटर सितैमा पाउने छन् । सेलपे खेती अफरमा सहभागी भई डिस्काउन्ट कुपन पाउनको लागि खेती एप्प वा वेब एप्लिकेसनबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुपर्ने छ । ‘पे भिया सेलपे’ मा ट्याप गरि आफ्नो सेलपे युजरनेम र पासवर्ड राखी बैंक छनौट गरेर भुक्तानी गर्न सकिनेछ । यो अफरको लाभ लिनको लागि आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्ने छ ।
दरवारमार्ग, न्यूरोड, बानेश्वर र चावहिलमा घर हुनेले कति कर तिर्नु पर्छ ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विभिन्न भवन जग्गा तथा सम्पत्तिको कर निर्धारण गरेको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयकमार्फत महानगरभित्रका भवन, जग्गा तथा अन्य सम्पत्तिको नयाँ कर तोकेको हो । महानगरले विभिन्न सडक तथा गल्लीलाई आधार बनाएर महानगरभित्रका सडकहरुको नयाँ मूल्य पनि निर्धारण गरेको छ भने त्यसको कर पनि निर्धारण गरेको हो । महानगरपािलकाले आर्थिक विधेयक मार्फत विभिन्न किसिमका भवन र जग्गाको मूल्यांकन दरसहित कर ताेकेकाे हो । महानगरपालिकाले ०.०१० प्रतिशतदेखि ०.६०० प्रतिशतसम्म भवन र जग्गाको कर निर्धारण गरेको छ । महानगरपालिकाले पहिलो सुरुको एक करोडको घरजग्गामा एक हजार कर तिर्नुपर्ने जनाएको छ । पहिलो एक करोडमा एक हजार करसँगै रकम अनुसार कर बढ्दै जानेछ । महानगरले सार्वजनिक गरेको सम्पत्ति कर अनुसार २ करोड मूल्यको घर जग्गामा २५ सय कर तिर्नुपर्नेछ । यस्तै, ३ करोडको घरजग्गामा ०.२० प्रतिशत अर्थात ४५ सय कर तिर्नुपर्नेछ भने ४ करोडको सम्पत्तिमा ८ हजार ५ सय तिर्नु पर्ने उल्लेख गरेको छ । महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक विधेयकमा उल्लेख गरेको सम्पत्ति करका अनुसार ५ करोडको सम्पत्तिमा १४ हजार ५ सय कर तिर्नुपर्नेछ । यस्तै, ६ करोड बराबरको घरजग्गाको ०.१०० प्रतिशतका दरले २४ हजार ५ सय रुपैयाँ कर लाग्नेछ भने ८ करोड रुपैयाँ बराबरको घरजग्गामा ०.३०० प्रतिशतका दरले ८४ हजार ५ सय कर तिर्नुपर्ने उल्लेख गरिएको छ । यस्तै, १० करोड रुपैयाँको घरजग्गामा ०.४५० प्रतिशतका दरले १ लाख ७४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने आर्थिक विधेयकको सम्पत्ति करमा उल्लेख गरिएको छ । १० करोड रुपैयाँभन्दा माथिको घरजग्गाको कर भने ०.६०० कादरले तिर्नुपर्ने सो विधेयकको सम्पत्ति करमा उल्लेख छ । काठमाडौंको सबैभन्दा महँगा ठाउँहरु अर्थात सबैभन्दा बढी व्यवसायिक काराेबार हुने ठाउँहरु दरवारमार्ग, न्यूरोड, बानेश्वर र चावहीलका घरधनी तथा जग्गाधनीहरुले बढी कर तिर्नुपर्नेछ । महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयक मार्फत दरवार मार्गको प्रतिआना जग्गामो मूल्य ५० लाख रुपैयाँ तोकेको छ । दरबार मार्गमा जग्गाको मूल्य प्रतिआना २ कराेड रूपैयाँ भन्दा बढीमा पनि किनबेच हुने गरेकाे व्यवसायीहरू बताउँछन् । एक घर निर्माण गर्नका लागि न्यूनतम ३ आना जग्गा हुनुपर्ने महानगरकाे मापदण्ड छ । महानगरपालिकाकै हिसावले भन्ने हो भने दरवारमार्गमा घर निर्माणका लागि ३ आना जग्गाका लागि डेढ करोड रुपैयाँ आवश्यक पर्छ । डेढ करोडको सम्पत्ति भएको घरधनीले सरकारलाई जमिनकै मात्र २५ सय रुपैयाँ तिर्नुपर्छ । त्यसमा घरको कर अलग्गै हुन्छ । यदि त्यो घर आरसीसी फ्रेम स्ट्रचरमा छ भने घरधनीले २६ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । उसले सबै मिलाएर वार्षिक ५ हजार १ सय रुपैयाँ कर तिर्नु पर्ने हुन्छ । यस्तै महानगरले तोकेको मूल्य अनुसार न्यूरोडको जग्गाको मूल्य प्रतिआना ५० लाख रुपैयाँ छ र न्यूरोडमा जमिन र घर हुनेले पनि दरवार मार्ग अनुसारकै कर तिर्नु पर्ने हुन्छ । यस्तै, चावहील क्षेत्रमा जमिन तथा घर हुनेले पनि धेरै नै कर तिर्नु पर्ने देखिन्छ । महानगरपालिकाले चावहील क्षेत्रको जग्गाको मूल्य प्रतिआना २८ लाख रुपैयाँ तोकेको छ । एक घर निर्माण गर्न वा निर्माण भएको घर पनि न्यूनतम ३ आनामा हुन्छ । न्यूनतम जग्गाको नै कुरा गर्ने हो भनेपनि एउटा घर ८४ लाखको हुन्छ । यहाँ ३ आना जग्गाकाे कुल मूल्य ८४ लाख रुपैयाँ गरिएको हो । त्यस क्षेत्रमा बस्ने मानिसले १ हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ भने सो जग्गामा बनेको घर कुन किसिमको छ सोही अनुसारको नै कर तिर्नु पर्ने हुन्छ । उक्त घर स्टील स्ट्रक्चरमा बनेको छ भने त्यसको मूल्याकंन महानगरले प्रति वर्गफिट २४ सय रुपैयाँ तोकेको छ । यस्ताे हुँदा उक्त घरधनीले ३ आना जग्गा बराबरको १ हजार रुपैयाँ र अहिले स्टील स्ट्रक्चरको घरको कर गरेर कुल ३४ सय रुपैया वार्षिक कर तिर्नुपर्ने हुन्छ । घर कस्तो बनावटमा बनेको छ सोही अनुरुपको कर महानगरपालिकाले निर्धारण गरेको छ । त्यस्तै, बानेश्वर क्षेत्रमा महानगरपािलकाले प्रतिआना जग्गाको मूल्य १८ लाख रुपैयाँ तोकेको छ । प्रतिआना जग्गाको मूल्य १८ लाख रुपैयाँ भएपछि ३ आना जग्गाको मूल्य ५४ लाख रुपैयाँ हुन्छ । महानगरले ५४ लाख रुपैयालाई सुरुको १ करोड रुपैयाँ मानेको छ । यसो हुँदा सो जग्गाधनीले वार्षिक ३ आनाको जगको १ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यसमा घरको बनावट कस्तो छ त्यही अनुसारको कर तिर्नुपर्ने हुन्छ । जस्तै, घरधनीको घर आरसीसी फ्रेम स्ट्रक्चरमा छ भने उसले वार्षिक २६ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । घर र जग्गाको मिलाएर सो घरधनीले ३६ सय रुपैयाँ तिर्नुपर्ने हन्छ । यो सबै हिसाव गर्दा घर र जमिनको मूल्य अर्थात मूल्याकंन जति पर्छ त्यही अनुरुपको कर सम्पत्तिवालाले तिर्नु पर्ने हुन्छ । समग्रमा महानगरपालिकाले सार्वजनिक गरेको सम्पत्ति कर गत वर्षकै अनुसार छ । काठमाडौंमा घरकाे मूल्य ४५ लाखदेखि ७८ लाखसम्म , यसरी गरिन्छ मूल्याङ्कन
मोटरहेडकाे नयाँ स्किमः जुनसुकै मोडल किन्दा शतप्रतिशत कर छुट, कोरोना बीमा पनि गराउने
काठमाडौं । मोटरहेड ब्रान्डको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले ‘समस्या अनेक सुरक्षित समाधान मात्र एक मोटरहेड’ स्किम ल्याएकाे छ । मोटरहेड ब्रान्डका डर्ट, स्क्र्याम्बलर र स्पोर्ट बाइकहरु उपलब्ध गराउँदै आइरहेको उक्त कम्पनीले कोभिड-१९ ले भित्र्याएको अहिलेको असहज परिस्थितिमा केही हदसम्म आफ्ना ग्राहकलाई सहज खरिदको प्रत्याभूति दिन उक्त अफर ल्याएको हो । कम्पनीले आफ्नो ५ मोडल टेक्कन २५०, एमएच २००एक्स, स्पोर्ट्स २५० (रोड भर्सन), स्पोर्ट्स २५० (अफरोड भर्सन) र एक्स टर्क २५० (स्ट्रिट भर्सन) मा सिधै १५ हजार र अन्य दुई मोडल एमएच १५०आर (स्ट्रिट भर्सन) र स्क्र्याम्बलर (स्ट्रिट भर्सन) मा २० हजारसम्म छुटको व्यवस्था गरेको छ । यी फ्ल्याट डिस्काउन्ट बाहेक ग्राहकले कुनै पनि मोडल खरिद गर्दा आगामी आर्थिक वर्षको शतप्रतिशत कर छुट, तेस्रो पक्ष बीमाको साथ खरिदकर्ताको फ्रि कोभिड बीमा पनि गराउने छ । परिस्थिति जस्तो सुकै भए पनि ग्राहकको मनस्थितिलाई सदैव सकारात्मक राख्ने कम्पनीको लक्ष्यलाई यस अफरमार्फत ग्राहकको चाहनालाई सहज वातावरण उपलब्ध गराउने कम्पनीको विश्वास रहेको छ । नेपालभर उपलब्ध १२ स्थानका कम्पनीका डिलर तथा शाखाबाट यो अफर प्राप्त गर्न सकिने छ । सो अफर यही असार १२ देखि लागू हुनेछ ।
दाङकाे महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि
काठमाडौं । कोरोना संक्रमणबाट दाङमा एक महिलाको मृत्यु भएको छ । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको विरामीलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए । उनमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।