काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विभिन्न भवन जग्गा तथा सम्पत्तिको कर निर्धारण गरेको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयकमार्फत महानगरभित्रका भवन, जग्गा तथा अन्य सम्पत्तिको नयाँ कर तोकेको हो ।
महानगरले विभिन्न सडक तथा गल्लीलाई आधार बनाएर महानगरभित्रका सडकहरुको नयाँ मूल्य पनि निर्धारण गरेको छ भने त्यसको कर पनि निर्धारण गरेको हो । महानगरपािलकाले आर्थिक विधेयक मार्फत विभिन्न किसिमका भवन र जग्गाको मूल्यांकन दरसहित कर ताेकेकाे हो ।
महानगरपालिकाले ०.०१० प्रतिशतदेखि ०.६०० प्रतिशतसम्म भवन र जग्गाको कर निर्धारण गरेको छ । महानगरपालिकाले पहिलो सुरुको एक करोडको घरजग्गामा एक हजार कर तिर्नुपर्ने जनाएको छ । पहिलो एक करोडमा एक हजार करसँगै रकम अनुसार कर बढ्दै जानेछ । महानगरले सार्वजनिक गरेको सम्पत्ति कर अनुसार २ करोड मूल्यको घर जग्गामा २५ सय कर तिर्नुपर्नेछ ।
यस्तै, ३ करोडको घरजग्गामा ०.२० प्रतिशत अर्थात ४५ सय कर तिर्नुपर्नेछ भने ४ करोडको सम्पत्तिमा ८ हजार ५ सय तिर्नु पर्ने उल्लेख गरेको छ । महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक विधेयकमा उल्लेख गरेको सम्पत्ति करका अनुसार ५ करोडको सम्पत्तिमा १४ हजार ५ सय कर तिर्नुपर्नेछ ।
यस्तै, ६ करोड बराबरको घरजग्गाको ०.१०० प्रतिशतका दरले २४ हजार ५ सय रुपैयाँ कर लाग्नेछ भने ८ करोड रुपैयाँ बराबरको घरजग्गामा ०.३०० प्रतिशतका दरले ८४ हजार ५ सय कर तिर्नुपर्ने उल्लेख गरिएको छ । यस्तै, १० करोड रुपैयाँको घरजग्गामा ०.४५० प्रतिशतका दरले १ लाख ७४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने आर्थिक विधेयकको सम्पत्ति करमा उल्लेख गरिएको छ । १० करोड रुपैयाँभन्दा माथिको घरजग्गाको कर भने ०.६०० कादरले तिर्नुपर्ने सो विधेयकको सम्पत्ति करमा उल्लेख छ ।
काठमाडौंको सबैभन्दा महँगा ठाउँहरु अर्थात सबैभन्दा बढी व्यवसायिक काराेबार हुने ठाउँहरु दरवारमार्ग, न्यूरोड, बानेश्वर र चावहीलका घरधनी तथा जग्गाधनीहरुले बढी कर तिर्नुपर्नेछ ।

महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयक मार्फत दरवार मार्गको प्रतिआना जग्गामो मूल्य ५० लाख रुपैयाँ तोकेको छ । दरबार मार्गमा जग्गाको मूल्य प्रतिआना २ कराेड रूपैयाँ भन्दा बढीमा पनि किनबेच हुने गरेकाे व्यवसायीहरू बताउँछन् ।
एक घर निर्माण गर्नका लागि न्यूनतम ३ आना जग्गा हुनुपर्ने महानगरकाे मापदण्ड छ । महानगरपालिकाकै हिसावले भन्ने हो भने दरवारमार्गमा घर निर्माणका लागि ३ आना जग्गाका लागि डेढ करोड रुपैयाँ आवश्यक पर्छ । डेढ करोडको सम्पत्ति भएको घरधनीले सरकारलाई जमिनकै मात्र २५ सय रुपैयाँ तिर्नुपर्छ । त्यसमा घरको कर अलग्गै हुन्छ । यदि त्यो घर आरसीसी फ्रेम स्ट्रचरमा छ भने घरधनीले २६ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । उसले सबै मिलाएर वार्षिक ५ हजार १ सय रुपैयाँ कर तिर्नु पर्ने हुन्छ ।
यस्तै महानगरले तोकेको मूल्य अनुसार न्यूरोडको जग्गाको मूल्य प्रतिआना ५० लाख रुपैयाँ छ र न्यूरोडमा जमिन र घर हुनेले पनि दरवार मार्ग अनुसारकै कर तिर्नु पर्ने हुन्छ । यस्तै, चावहील क्षेत्रमा जमिन तथा घर हुनेले पनि धेरै नै कर तिर्नु पर्ने देखिन्छ । महानगरपालिकाले चावहील क्षेत्रको जग्गाको मूल्य प्रतिआना २८ लाख रुपैयाँ तोकेको छ ।
एक घर निर्माण गर्न वा निर्माण भएको घर पनि न्यूनतम ३ आनामा हुन्छ । न्यूनतम जग्गाको नै कुरा गर्ने हो भनेपनि एउटा घर ८४ लाखको हुन्छ । यहाँ ३ आना जग्गाकाे कुल मूल्य ८४ लाख रुपैयाँ गरिएको हो । त्यस क्षेत्रमा बस्ने मानिसले १ हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ भने सो जग्गामा बनेको घर कुन किसिमको छ सोही अनुसारको नै कर तिर्नु पर्ने हुन्छ । उक्त घर स्टील स्ट्रक्चरमा बनेको छ भने त्यसको मूल्याकंन महानगरले प्रति वर्गफिट २४ सय रुपैयाँ तोकेको छ ।
यस्ताे हुँदा उक्त घरधनीले ३ आना जग्गा बराबरको १ हजार रुपैयाँ र अहिले स्टील स्ट्रक्चरको घरको कर गरेर कुल ३४ सय रुपैया वार्षिक कर तिर्नुपर्ने हुन्छ । घर कस्तो बनावटमा बनेको छ सोही अनुरुपको कर महानगरपालिकाले निर्धारण गरेको छ ।
त्यस्तै, बानेश्वर क्षेत्रमा महानगरपािलकाले प्रतिआना जग्गाको मूल्य १८ लाख रुपैयाँ तोकेको छ । प्रतिआना जग्गाको मूल्य १८ लाख रुपैयाँ भएपछि ३ आना जग्गाको मूल्य ५४ लाख रुपैयाँ हुन्छ । महानगरले ५४ लाख रुपैयालाई सुरुको १ करोड रुपैयाँ मानेको छ । यसो हुँदा सो जग्गाधनीले वार्षिक ३ आनाको जगको १ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

त्यसमा घरको बनावट कस्तो छ त्यही अनुसारको कर तिर्नुपर्ने हुन्छ । जस्तै, घरधनीको घर आरसीसी फ्रेम स्ट्रक्चरमा छ भने उसले वार्षिक २६ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । घर र जग्गाको मिलाएर सो घरधनीले ३६ सय रुपैयाँ तिर्नुपर्ने हन्छ । यो सबै हिसाव गर्दा घर र जमिनको मूल्य अर्थात मूल्याकंन जति पर्छ त्यही अनुरुपको कर सम्पत्तिवालाले तिर्नु पर्ने हुन्छ । समग्रमा महानगरपालिकाले सार्वजनिक गरेको सम्पत्ति कर गत वर्षकै अनुसार छ ।