विकासन्युज

गजलः आमा 

धर्ती सारा, जगतै देखायाैं, कति दुःख, सहेर हुर्कायाैं दश मैना, गर्भमा बाेकेर जन्म दिइ, अमेतपान गरायाैं भाेक प्यास, सहेर आफै सन्तानलाई, पेटभरी खुवायाैं छाेराछाेरी बिरामी पर्दा झन कति रात, नसुती बितायाैं भविष्यकाे साहारा सम्झेर राम्राे मान्छे, बनाउन पढायाैं थाेरै सफल, हुँदा नि सन्तान कति धेरै, खुशी भै रमायाैं कति धेरै, खुशी भै रमायाैं   बिराटनगर-३ [email protected]

वैदेशिक रोजगारको क्रममा मृत्यु भएका नेपाली श्रमिकको देशगत विवरण

काठमाडौं । वैदेशिक रोजगारको क्रममा मृत्यु भएका ८७ वटा शव नेपाल ल्याइएको छ । त्यस्तै १ सय २० शव नेपाल विभिन्न देशमा बाँकी रहेका छन् । पछिल्लो समय वैदेशिक रोजगार बोर्ड मृतक कामदारको सम्बन्धित मुलुकमा नै अन्त्येष्टिका लागि परिवारबाट सहमति गर्ने काम गरिरहेको छ । हालसम्म १ सय २६ शवको परिवारका सदस्यबाट स्वीकृति लिइसकेको छ । लकडाउन अगाडी तथा सोअवधिमा ३ सय ३३ जना नेपाली श्रमिकको मलेसया, साउदी, कतार, युएइ। कुवेत, बहराइन, ओमान, द.कोरिया लगायतका देशमा १५ जना महिलाहरु र ३ सय १८ जना पुरुषहरुको मृत्यु भएको थियो । वैदेशिक रोजगारमा क्रममा कोरोना बाहेक अन्य मृत्यु भएकाको शब अन्तर्राष्ट्रिय उडान हुने बेलामा क्रमिक रुपमा नेपाल ल्याउने काम शुरु भइरहेको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ ।

सुन चोरीको आरोपमा पक्राउ

काठमाडाैं । काभ्रेको बनेपा नगरपालिका–९ स्थित जोसना श्रेष्ठको घरबाट सुन चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मङ्गलवार बिहान श्रेष्ठको खाटको घर्राभित्र राखेको करिब १८ तोला सुन र चाँदी चोरीको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बनेपा नगरपालिका–८ मा डेरा गरी बस्ने करुणा घिमिरे, सोही ठाउँका राजु मानन्धर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–५ घर भई बनेपा नगरपालिका–८ मा डेरागरी बस्ने सृजना आचार्य रहेका छन् । चोरीएको मध्ये १० तोला सुन र १२ तोला चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ । तीनै जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

अलपत्र नेपालीको नियमित उद्धार

काठमाडाैं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातादेखि नियमितरुपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भइरहेको छ । ती उडानबाट कोभिड–१९ महामारीबाट विभिन्न देशमा अलपत्र परेका नेपाली धमाधम स्वदेश फर्किरहेका छन् । नेपालको तर्फबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), निजी क्षेत्रको हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यबाट चार्टर्ड उडान गरी नेपाली काठमाडौं ल्याइरहेका छन् भने आन्तरिक उडानको श्री एयरले पनि छोटा गन्तव्यबाट केही चार्टर्ड उडान गरिरहेको छ । त्यस्तै विदेशी वायुसेवा कम्पनी कतार एयरवेज, जजीरा एयर, टर्किस एयर, कोरियन एयरलगायत एयरलाइन्सले नेपालमा चार्टर्ड उडान गरिरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र जजीरा एयरले चार्टर्ड उडानमार्फत नेपाली ल्याउँदैछन् । आज बिहान ८ः३० बजे हिमालय एयरलाइन्सले अबुदाबीबाट नेपाली ल्याएको छ भने जजीराले ८ः४८ बजे कुवेतबाट नेपालीको उद्धार गरेको छ । त्यस्तै नेपाल एयरलाइन्सले विहान १०ः३० बजे साउदी अरेबियाको रियादबाट नेपाली काठमाडौं ल्याउँदैछ । सोही एयरलाइन्सको जहाजले अष्ट्रेलियाको मेलबर्नबाट नेपाली काठमाडौँ ल्याउने विमानस्थलले जनाएको छ । अन्तराष्ट्रिय विमानस्थलमा अघिल्लो शनिबारदेखि दैनिक १० देखि १६ वटासम्म अन्तर्राष्ट्रिय उडान भइरहेको छ । शुक्रबार मात्रै १६ अन्तर्राष्ट्रिय उडान भएको छ । त्यसअघि असार ६, ७ र ८ गते समान १०, असार ९ र १० गते १४ र असार ११ गते १५ अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । उल्लेखित उडान यात्रु चार्टर्ड तथा केही कार्गो उडान हुन् । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ ।  रासस

गण्डकी प्रदेशमा ३२ संक्रमित थपिए, ८ सय ३८ पुगे

कास्की । गण्डकी प्रदेशमा आज ३२ जना कोरोना संक्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ८ सय ३८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी स्याङ्जामा २२, बागलुङमा आठ तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा दुई जनामा संक्रणमण पुष्टि भएको जनाएको छ । सङ्क्रमितमध्ये छ जना महिला छन् । बागलुङको काठेखोला गाउँपालिकामा सात र ढोरपाटन नगरपालिकामा एक जना छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा १३ पुरुष र छ महिला, पुतलीबजारमा एक तथा वालिङमा एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । त्यसैगरी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा दुई जना रहेका छन् । हुप्सेकोट र वालिङ नगरपालिकाका सङ्क्रमित व्यक्ति आइसोलेसन कक्षमा बसिसक्नुभएको तथा अन्य पालिकाका सबै व्यक्तिलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयाारी भइरहेको निर्देशक शर्माले जानकारी दिए । प्रदेश क्षयरोग केन्द्र पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सङ्क्रमण पुष्टि भएको बताइन्छ । प्रदेशमा हालसम्म बागलुङमा १ सय ५१, स्याङ्जामा १ सय ५८, नवलपरासीमा २ सय १२, पर्वतमा ७२, मुस्ताङमा एक, कास्कीमा ३६, मनाङमा एक, लमजुङमा २३, गोरखामा ८२ र तनहुँमा १ सय २ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी अहिलेसम्म विभिन्न अस्पतालमा उपचारपछि १ सय १८ जना निको भएर घर फर्किएको निर्देशनालयले जनाएको छ । सङ्क्रमित दुई जनाको भने मृत्यु भएको छ । प्रदेशमा ९ हजार ४ सय ५८ जनाको पिअिआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा ७ हजार ९ सय ५८ जनामा सङ्क्रमण नदेखिएको र ८ सय जनाको नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख नवराज शर्माले जानकारी दिए ।  रासस

राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

काठमाडाैं । सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । १ करोड २५ लाख रूपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । उनका अनुसार प्रबन्धक शाहीलाई अनुसन्धानका लागि शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको छ । जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्शा, कर तिरेको रसिद, मालपोत कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेर बैंंकबाट ऋण लिएको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ निवासी सुनचाँदी व्यवसायी जसगढ जेठ २७ गते नै पक्राउ परेका थिए । प्रहरीले किर्ते कागजातको अनुसन्धान गर्दै जाँदा बैंकका प्रबन्धक शाहीलाई पक्राउ गरेको हो । बैंकका अरु कर्मचारीसँग पनि बयान लिने काम भइरहेको प्रहरी उपरीक्षक रानाले जानकारी दिए । २५ लाख रूपैयाँभन्दा बढीको ऋण स्वीकृत गर्दा केन्द्रको अनुमति चाहिने प्रावधान रहेकाले नक्कली कागजपत्रकै आधारमा १ करोड २५ लाख ऋण प्रवाहमा बैंकका माथिल्लो तहका कर्मचारीको पनि संलग्नता भएको प्रहरीको अनुमान छ । सरकारी छाप किर्तेको अनुसन्धान सकिएपछि बैंकिङ कसूरको अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।   रासस

एभरेष्ट ग्यास उद्योगसहित ६ उद्योग कारवाहीमा

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने ६ उद्योगलाई कानूनी कारवाही गरेको छ । विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको नमूना सङ्कलन प्रयोगशालामा जाँच गर्दा प्राप्त परीक्षणको नतिजा नेपाल गुणस्तरअनुरुप नपाएको भन्दै कारवाही गरेको हो । विभागले शुक्रबार रिलायन्स सुपरटेक सिमेन्ट प्रालि बारा, इन्टरनेशनल सिमेन्ट प्रालि पर्सा, एभरेष्ट ग्यास उद्योग प्रालि चाल्नाखेल काठमाडौं अग्नि सिमेन्ट उद्योग प्रालि रुपन्देही, सर्वोत्तम सिमेन्ट प्रालि नवलपरासी र कमला रोलिङ्ग मिल्स मोरङलाई कारवाही गरेको हो । जसमा रिलायन्स सिमेन्ट र इन्टरनेशनल सिमेन्टको इजाजतपत्र रद्द गर्नुका साथै एभरेष्ट ग्यास उद्योगको प्रमाणपत्र स्थगन गरेको छ । यस्तै, अग्नि सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कमला रोलिङ्ग मिल्सलाई स्पष्टीकरण सोधेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नेपाल गुणस्तर मापदण्डअनुसार नरहेका उद्योगलाई नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली २०४० को नियम (१६) अनुसार कारबाही गरिएको जानकारी दिए । विभागले बन्दाबन्दीको समयमा उपभोक्ता ठगी गर्ने उद्योग पहिचान गर्न केही दिन पहिला देशभरका झण्डै १ सय उद्योगबाट नमूना सङ्कलन लिएको थियो । रासस

चहलपहल बढ्यो, फूलको व्यापार भएन

काठमाडाैं । झण्डै तीन महिनापछि बन्दाबन्दी खुकुलो भएसँगै बजारमा चहलपहल देखिए पनि पुष्प व्यवसायमा परेको असर कायमै छ । विश्वभर फैलिएको कोभिड–१९ का कारण ठूलठूला होटल खुलेका छैनन्, सभा, सम्मेलन र तामझामका साथ हुने गरेका विवाह समारोह पनि भएका छैनन् । यस्ता कार्य रोकिएकाले फूलको व्यापार शून्य प्राय छ । अन्य बजारजस्तै फूलको पसल पनि खुलेको छ तर मानिस अत्यावश्यक सामग्री किने पनि फूल किन्ने एकाध भेटिन्छन् । कोरोना महामारीको शुरु हुनपूर्व दैनिक १ करोड २५ लाख रूपैयाँसम्मको कारोवार हुने गरेको यस व्यवसायमा अहिले मुस्किलले २० रूपैयाँ लाखसम्मको मात्र कारोवार भएको छ । फ्लोरीकल्चर एशोसिएशनलेका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार आगामी १४ गतेसम्म बिहेको लगन परेकाले नगन्य मात्राम फूलको व्यापार भएको हो । त्यसपछि फेरि अहिले भएको कारोवार पनि रोकिन्छ । अन्य व्यापार व्यवसाय पहिलेको अवस्थामा पर्कने क्रममा भए पनि यस व्यवसायलाई पुनः पहिलेकै अवस्थामा आउनका लागि होटल र पर्यटन व्यवसाय सञ्चालन हुनुपर्ने एशोसिएशनको भनाइ छ । कोरोना महामारी तत्कालका लागि नरोकिने र व्यवसायलाई पहिलेकै अवस्था ल्याउनका सहयोग गरिदिन भन्दै एशोसिएशनले सरकारसँग आग्रह पनि गर्दै आएको छ । पछिल्लो समय नेपाल फूलमा आत्मनिर्भर हुँदै गहेको अवस्थाम लकडाउनको कारण धेरैनै नोक्सान भएको छ । कतिले टिपेर बेच्ने बेला भएको फूल काटेर नष्ट गरेका थिए । हरेक वर्ष तिहार र प्रणय दिवसको समयमा सयपत्री र रातो गुलाब आयात गर्नुपरे पनि अन्य फूलमा भने स्वदेशी उत्पादनले नै धान्दै आएको छ । वर्षको तिहारमा मात्रै १५ करोड सयपत्री फूलको कारोवार हुने गरेको छ । श्रेष्ठले भने, “अहिले स्वदेशमा नै ९३ प्रतिशत फूल उत्पादन हुन थालेकाले ७ प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका वर्षमा १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । ६० प्रतिशत माला खपत खपत हुने फूलमध्ये काठमाडौं उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत हुने गर्दछ । स्वदेश र विदेशमा गरी वार्षिक २ अर्ब ४२ करोड रूपैयाँको फूलको कारोवार हुने गरेको छ । तिहार र अन्य मौसममा गरी ११ करोड बराबरको फूल वार्षिकरुपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्य गरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडवाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको थियो । मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । अष्टे«लिया र मलेसियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । विशेष गरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरुपमा ४ सय ५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएका छन् । यस व्यवसायबाट ४१ हजार रूपैयाँभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १ सय ५७ हेक्टर क्षेत्रफलमा ७ सय व्यवसायीले यसको खेती गर्दै आएका छन् । नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, नुवाकोट मोरङलगायत ४१ जिल्लामा ६ सय ७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । मुख्य गरी काठमाडौं उपत्यकामा मात्रै ३०० व्यवसायीले यस पुष्पखेती विस्तार गरिसकेका छन् ।  रासस