विकासन्युज

लकडाउनमा २ सय ३४ अन्तरराष्ट्रिय उडान

काठमाडौं । नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ सय ३४ अन्तरराष्ट्रिय उडान भएका छन् । बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टर तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत जावत भएको विमानस्थलले जनाएको छ । यी उडानबाट ११ हजारभन्दा बढी यात्रु नेपाल आएका छन् भने १३ हजार यात्रु नेपालबाट बाहिरिएका छन् । विमानस्थल कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार बन्दाबन्दीको अवधि चैत ११ देखि असार १२ गतेसम्म कार्गो र चार्टड गरी २ सय ३४ अन्तरराष्ट्रिय उडान भएका हुन् । यी उडानबाट ११ हजार २ सय ८२ यात्रु र ३३ बच्चा नेपाल आएका छन् भने नेपालबाट १३ हजार १ सय ३ यात्रु तथा २ सय ५६ बच्चा बाहिरिएका छन् । यो अवधिमा विभिन्न मुलुकबाट ४ लाख ९२ कार्गो नेपाल आएको छ । नेपालबाट पनि ४१ लाख ७२ हजार ७७ केजी कार्गो विभिन्न मुलुक गएको जनाइएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मात्रै कार्गो चार्टड र यात्रु चार्टर्ड गरी ५१ उडान गरेको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार निगमको २८ चार्टर्र्ड तथा सरकारको समन्यवमा विभिन्न मुलुकबाट नेपाली फर्काउन मात्रै २३ उडान भएका छन् । यो आजसम्मको पूर्वनिर्धारित उडान हो । जुलाई महिनामा चार्टड उडानको पुनःनयाँ उडान तालिका आउने निगमले उल्लेख गरेको छ । निगमपछि हिमालय एयरलाइन्सले धेरै अन्तरराष्ट्रिय उडान गरेको छ । अन्तरराष्ट्रिय एयरलाइन्समा कतार एयरवेजले सर्वाधिक उडान गरेको छ । जजीरा, टर्किस, एयर अरेबिया, कोरियनलगायत एयरलाइन्सले पनि नेपालमा चार्टड उडान गरेका छन् । बन्दाबन्दीको असाधारण परिस्थितिमा निगमले एकैदिन ८ अन्तरराष्ट्रिय उडान गरेको छ । कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले बन्दाबन्दी लागू गरेको तीन महिनाको अवधिमा नेपाली एयरलाइन्सकोतर्फबाट यो सबैभन्दा बढी अन्तर्राष्ट्रिय उडान हो । निगमले कोभिडको त्रासमाँझ शुक्रबार (जुन २६ तारिख) मात्रै आठ अन्तर्राष्ट्रिय उडान गरेको जनाएको छ । निगमको अपरेशन विभागका अनुसार निगमका दुई वाइड बडी र दुई न्यारो बडी जहाजले बन्दाबन्दीको अवधिमा शुक्रबार सबैभन्दा धेरै आठ उडान गरेका छन् । निगमको न्यारो बडी एयरबस ए ३ सय २० जहाजले बहराइनमा दुई, हङकङ दुई र मलेसियाको क्वालालम्पुरमा एक उडान गरेको छ । त्यस्तै वाइड बडी ए ३३० जहाजले क्वालालम्पुरमा दुई र साउदी अरेबियाको रियादमा एक उडान गरेको छ । असारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निरन्तर अन्तर्राष्ट्रिय उडान भइरहेको छ । असारको पहिलो सातादेखि दैनिक १० देखि १६ अन्तर्राष्ट्रिय उडान भएको छ । शुक्रबारमात्रै १६ अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । असार महिनाको शुरुदेखिनै विभिन्न मुलुकबाट अलपत्र नेपाली धमाधम चार्टड उडान मार्फत स्वदेश फर्किरहेका छन् । बन्दाबन्दीमा गत चैत १९ निगमले सबैभन्दा लामो गन्तब्य अष्ट्रेलियाको ब्रिश्बेन र वैशाख २४ गते सिड्नीमा चार्टड उडान गरेको थियो । पछिल्लो पटक निगमको वाइड बडी जहाजले जेठ २६ मा अष्ट्रेलियाको राजधानी क्यानबेरामा चार्टर्र्ड उडान गरेको थियो । मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुँदै करिब १२ देखि १३ घण्टाको उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो । अहिले विदेशमा अलपत्र नेपाली ल्याउनेक्रममा निगमको वाइड बडी जहाजले केही दिनअघि सिड्नी र आज क्यानबेराबाट नेपाली ल्याएको छ । गत चैत १० देखि नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने सबै एयरलाइन्सको उडान स्थगन गरिएको छ । आन्तरिकतर्फ पनि उडान हाललाई स्थगित छ । पछिल्लो पटक असारको अन्तिम सातासम्म उडान प्रतिबन्ध कायम गरिएको छ । अहिले कुटनीतिक माध्यमबाट मात्रै चार्टड उडान हुन्छ । पछिल्लो पटक सरकारले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टड उडान गरिरहेको छ । चैत ११ देखि जेठ ३२ सम्म सरकारले देशभर लकडाउन गरेको थियो । असार १ देखि बन्दाबन्दी केही खुकुलो बनाइएको छ । अत्यावश्यक कार्यालय, उद्योग, कलकारखाना तथा बजार मात्र खुकुलो बनाइएको छ । यस्तो व्यवस्था असार २१ सम्मका लागि हो । त्यसपछि परिस्थिति हेरेर निर्णय हुने जनाइएको छ । निगमले यूएन मिसनमा उडान गर्दै निगमले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा रहेका विभिन्न मुलुकमा चार्टड उडान गर्ने भएको छ । आगामी जुलाई ८ देखि शान्ति सेना लैजान र उताबाट ल्याउन दुईतर्फी चार्टर्र्ड उडानको तयारी भएको निगम उच्च स्रोतले जानकारी दिएको छ । निगमका वाइड बडी जहाजले कङ्गो, सुडानलगायत यूएनमिसन भएका मुलुकमा चार्टर्र्ड उडान गर्ने तयारी भएको हो । यसैबीच निगमले कोभिड महामारीको विषम परिस्थितिलाई ध्यानमा राखी सेवामा खटिने सबै कर्मचारीको बीमा गरेको छ । कोभिड महामारीका बीच सञ्चालन भैरहेको अवस्थामा निगमका सबै कर्मचारीलाई कोरोनाको बीमाको व्यवस्था मिलाइएको निगमले उल्लेख गरेको छ । निगममा करिब १ हजार ५ सय कर्मचारी कार्यरत छन् । निगमले अन्तरराष्ट्रियतर्फ दुई वाइड बडी र दुई न्यारोबडी जहाज तथा आन्तरिकतर्फ नौ जहाजले उडान भर्दै आएको छ ।  रासस

नेपालमा थप ५ सय ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ३ सय नाघ्याे

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा योसँगै कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेकाे स्वास्थ्य मन्त्रालयकाे प्रवक्ता डा. जागेश्वर गाैतमले बताएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३६ जना कोरोना संक्रमित मानिस कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा २ हजार ८ सय २९ जना कोरोनामुक्त भएका छन् । त्यस्तै शनिवार विहान १ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २८ पुगेकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । हाल नेपालकाे ७७ वटै जिल्लामा काेराेना फैलिएकाे छ ।

नेपाल छिर्‍यो सलह किरा, कृषिमन्त्रालयका अधिकारीहरू छलफलमा 

काठमाडौं । नेपालका केहि स्थानमा सलह किरा देखा परेपछि कृषिमन्त्रालयका अधिकारीहरु छलफलमा जुटेका छन् । सर्लाही र बाराका केही स्थानमा सलह किरा देखिएको खबरपछि कृषिमन्त्रालयका विज्ञसहितको टोलीसँग भर्चुअल छलफलमा जुटेका हुन् । प्रदेश २ का प्राविधिकहरु पनि उक्त छलफलमा सहभागी रहेको मन्त्रालयका प्रवक्ता डा.हरि बहादुर केसीले बताए ।  नेपालकाे तराइ क्षेत्रमा किरा प्रवेश गरेसँगै समाधानका लागि थप बुझ्ने कार्य भइरहेको पनि बताए । उनले भने, ‘ हाल देखिएकाे सलह कीरा  त्यो वास्तवमा हो कि होइन निश्चित गर्नका लागि प्राविधिक टोली खटाएकाे छ ।’  बाली संरक्षण प्रयोगशालाका प्रमुख अशोक यादवको नेतृत्वमा अनुसन्धान टाेली खटाएका छन् । पूर्वी वायुका कारण नेपालमा अहिले सलह आउने सम्भावना एकदम न्युन रहेको प्रतिवेदन मन्त्रालयमा दिए पनि कीरा बिहार हुँदै नेपाल छिरेको प्रारम्भिक अनुमान लगाएका छन् । भारतमा देखिएको भन्दा फरक फरक प्रकृतिको किरा देखिएको भन्दै उनले यसबारेमा ल्याबमा परीक्षण नगरी यसै सबै कुरा भन्न नसकिने डा. केसीले बताए । नेपाली वैज्ञानिकहरुले पाकिस्तान र भारतका वैज्ञानिकहरुसँग पनि छलफलमा छन् ।  

माथिल्लो तामाकोशी : ठाडो सुरुङमा पाइप जडान

काठमाडाैं । सरकारले लकडाउन गरेपनि एकाध दिन बाहेक काम नरोकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम आइतबार पूरा हुने भएको छ । कूल ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको जटिल मानिएको दुई ठाडो सुरुङको काम लकडाउनको समयमा सम्पन्न भएको छ । आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेका अनुसार कूल ६ सय ८३ मिटर लामो दुई ठाडो सुरुङमा पाइप जडानको काम पूरा भएको छ । गत असारदेखि ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको थियो । वर्षदिनमा जटिल काम सम्पन्न भएको हो । उनले भने “ करिब करिब दुई वटा ठाडो सुरुङमा पाइज जडानको काम पूरा भएको छ । केही काम आज राती गरेर भोलि आइतबार पूरा हुनेछ । ” कूल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङको पाइप जडान यसअघि नै सम्पन्न भएको छ । पाइप जडानको काम सकिएपछि अष्ट्रियन कम्पनीले थप कामका लागि भारतीय कम्पनीलाई जिम्मा लगाउँछ । एउटा पाइप राख्न न्यूनतम पाँच दिन लागेको थियो । तल्लो ठाडो सुरुङको काम अष्ट्रियन निर्माण व्यवसायी एन्ड्रिज हाइड्रोले गरेको हो । कार्यकुशलता देखाउन नसकेको भारतीय निर्माण व्यवसायी टेक्सम्याकोले लकडाउनको समयमा आफूलाई अब्बल सावित गरेको छ । प्राप्त विवरणअनुसार कूल ३ सय १० मिटर लामो माथिल्लो ठाडो सुरुङमा पाइप जडानको काम सकिएको छ । प्रवक्ता न्यौपानेका अनुसार अब बाँकी २२.५ मिटर मध्ये २० मिटर शुक्रबारसम्म काम सम्पन्न गरिनेछ । बाँकी २.५ मिटर भने तेर्सो पाइपमा जोड्नुपर्ने भएकाले जडानका लागि थप केही समय लाग्नेछ । “सम्पन्न भएको स्थानमा कङ्क्रिट गर्ने काम बाँकी छ, ती काम सँगसँगै अगाडि बढेकाे छन् । सो काम आगामी बिहिबारसम्म सकिन्छ । हामी एउटा सकारात्मक अवस्थामा पुगेका छाैं । लकडाउनको समयमा सहज रुपमा काम हुनु आफैमा खुसीको विषय बनेको छ”, प्रवक्ता न्यौपानेले भने । माथिल्लो र तल्लो ठाडो सुरुङको बीचको १ सय मिटर लामो सुरुङमा पाइपनै जडान गरिने भएकाले असजिलो काम सकिएपछि निर्माण व्यवसायी सो कामका लागि परिचालित हुनेछ । सो कार्यका लागि थप एक महिना समय लाग्नेछ । तेर्सो स्थानमा राखिने केही थान पाइप भारतको कोलकात्तामा छ । कोरोनाले भारतबाट ती पाइप आयातका लागि समस्या भएको छ । “ निर्माण व्यवसायीले ती सामान ल्याउन पहल गरेको छ, कहिले आइपुग्छ भनेर अहिल्यै भन्न सकिने अवस्था छैन ” उनले भने“ हामीले सकेसम्म ती पाइप ल्याउन निरन्तर आग्रह गरिरहेका छौ ।” चालू आर्थिक वर्ष सकिन अझै १७ दिन बाँकी भएकाले आयोजनाको अन्य काममा भने थप प्रगति हासिल हुने विश्वास लिइएको छ । आयोजनामा लगानी गर्ने शेयरधनी १० लाख बढी छन् । नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करिब सम्पन्न हुने अवस्थामा पुग्ने थियो । भूकम्प, नाकाबन्दी र कोरोना कहरसँग जुधेर आयोजनाले आयोजना सम्पन्न हुने चरणमा पुगेको छ । यसअघि तय गरिएको कार्यतालिकामा निर्माण सकिएको भए दैनिक करिब ५ करोड रूपैयाँ बराबरको क्षतिसमेत नहुने अवस्था आउने थियो । हाल सुरुङमा क्रङक्रिट लाइनिङ र ग्राउटिङको काम भइरहेको छ । बाँधस्थलको गत वैशाखमानै परिक्षण सम्पन्न भइसकेको छ । प्रसारण लाइन निर्माणको काम पूरा भइसकेको छ । राष्ट्रिय गौरवको आयोजना भएकाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लकडाउनको समयमा गृह मन्त्रालयसँग आवश्यक समन्वय गरेर निर्माण सामग्रीको ढुवानीमा सहजीकरण गरिदिए । थप पाइप आयातका लागि समेत मन्त्रालयले विशेष पहल गरिरहेको छ । मन्त्री पुनकै पहलमा आयोजनाले यसअघि केही अत्यावश्यक सिमेन्ट, रडलगायत सामग्रीको नियमित आयात गरेको थियो । आयोजनास्थलमा लकडाउनको समयमा झण्डै ६ सय ५० श्रमिक कार्यरत थिए । विद्युत् उत्पादन गर्ने उपकरणलगायत सामग्री भने जडान गरेर तम्तयारी हालतमा राखिएको छ । पाइप जडानलगायत अन्य प्राविधिक काम सम्पन्न गरेर सकेसम्म चाँडो पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीमा नेपाल विद्युत् प्राधिकरण जुटेको छ । एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनामा कूल छ वटा विद्युत् उत्पादन गर्ने युनिट छन् । सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव छ प्रतिशतको हाराहारीमा पुगेको छ । आयोजनाले भने अब प्रगति मापन नगर्ने, काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । प्रसारण लाइन निर्माण र सवस्टेशनको काम सम्पन्न हुने चरणमा पुगेको छ । कूल २२० केभी क्षमताको प्रसारणलाइन निर्माण सकिएको भए पनि केही मल्टिसर्किटका टावरमा केही काम बाँकी रहेको आयोजनाले जनाएको छ ।   रासस

कैलालीका कोराना संक्रमितको चितवनमा मृत्यु

चितवन । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ । विहीबार राति उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा आज बिहान मृत्यु भएको बताए । उनका अनुसार ती पुरुष क्यान्सरका उपचारका सिलसिलामा भारतबाट फर्किएका थिए । पछिल्लो समयमा उनको स्वास्थ्यमा समस्यादेखि यही असार १० गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा उनको स्वाब परीक्षण गरिएको थियो । भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई कोरोना सङ्क्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएको थियो ।  रासस

अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा म्यानमारलाई ३५ करोड डलरको आपतकालीन कोष उपलब्ध गराउने

वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोषले म्यानमारलाई कोभिड–१९ महामारीका कारण सिर्जना भएको आर्थिक सङ्कटलाई व्यवस्थापन गर्न ३५ करोड ६० लाख ५० हजार अमेरिकी डलरको ऋण सहायता उपलब्ध गराउने भएको शुक्रबार जानकारी गराइएको छ । दक्षिणपूर्वी एशियाली मुलुक म्यानमारमा कोरोनाभाइरसको महामारीका कारण अर्थतन्त्रमा परेको प्रभावसँग जुझ्नका लागि उक्त ऋण सहयोग गरिएको कोषले जानकारी गराएको छ । “म्यानमारमा कोरोनाभाइरस महामारीका कारण पर्यटन व्यवसाय तथा विप्रेषणबाट हुने आम्दानीमा व्यापक गिरावट भएको जसका कारण आपूर्तिको श्रृङ्खला नै अवरूद्ध हुने अवस्थालाई मध्यनजर गर्दै ऋण सहयोगको व्यवस्था गरिएका हो,” अन्तर्राष्ट्रिय मुद्रा कोषका उप–महानिर्देशक मित्सुहिरो फुरूसावाले एक विज्ञप्तिमार्फत् जानकारी गराए । कोषले महामारीबाट प्रभावित बनेको म्यानमारको अतिआवश्यक क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्ने तथा विकास साझेदारहरूलाई सहयोगमा भूमिका खेल्ने बताइएको छ । रासस

पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफविरुद्ध मुद्दा दायर

लाहोर । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका विरुद्धमा भ्रष्टाचारसम्वन्धी मुद्दा दायर गरिएको छ । पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्वन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उहाँका विरुद्धमा मुद्दा दायर गरेको अधिकारीहरुले जनाएका छन् । उनीसँगै अरु तीन जनलाई पनि ३४ बर्ष अगाडिको प्रञ्जाव प्रान्तको जग्गासम्वन्धी काम कानुन विपरित गरेको भन्दै दोषी दावी गरेर मुद्दा दायर गरिएको हो । स्वास्थ्य उपचारका क्रममा अहिले बेलायतको लण्डनमा रहेका ७० बर्षीय शरिफलाई पक्राउ पुर्जी पनि जारी गरिएको छ । पाकिस्तानमा तीन पटक प्रधानमन्त्री हुनुभएका शरिफलाई यस अघि भ्रष्टाचारसम्वन्धी अन्य मुद्दा पनि लगाइएको छ । अहिलेको मुद्दामा उहाँसँगै दोषी दावी गरिएकामा जङ्ग/जेओ मिडिया ग्रुपका सञ्चालक मिर शकिलुर रहमान, लाहोर विकास प्राधिकरणका पूर्व निर्देशक हुमायुन फइज रासुल र पूर्व भूमि निर्देशक मिअन बसिर रहेका छन् । सन् १९८६ मा शरिफ पञ्जाबको मुख्यमन्त्री हुनुभएको थियो । मुख्यमन्त्री रहेको समय उनले अवैध तरिकाले मिर शुकिलुर रहमानलाई लाहोरको केही जग्गा दिलाउने दावी गरिएको छ । सो कार्य गर्दा शरिफ र दुई जना सरकारी उच्च अधिकारीले कानुनको उलङ्घन गर्दै शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ । अन्य मुद्दासमेतमा आरोप लागेर दण्ड सजाय भोग्नु भएका शरिफले उपचारका लागि अदालतले अनुमति दिएपछि गत नोभेम्बरमा लण्डन जानुभएको हो । उनी उपचारका लागि चार हप्ताका लागि मात्रै अनुमति पाएपनि अहिलेसम्म बसिरहनु भएको छ । शरिफकी श्रीमतीको पनि दुई बर्ष अगाडि उपचारकै क्रममा लण्डनमा निधन भएको थियो ।  रासस

‘मेरो गणना, मेरो सहभागिता’

हेटाैंडा।  राष्ट्रिय जनगणना २०७८ को पूर्वतयारी अन्तर्गत मकवानपुरमा ‘नमुना जनगणना’ शुरु भएको छ । गत चैतमा सम्पन्न हुनुपर्ने सो काम कोभिड–१९ का कारण जारी लकडाउनले गर्दा तीनमहिना ढिलो गरी अहिले शुरु गरिएको यहाँस्थित तथ्याङ्क विभागका तथ्याङ्क अधिकृत राजेश दासले जानकारी दिए । सो कार्यका लागि भौतिक दूरी कायम गरी कर्मचारी, गणक र सुपरीवेक्षक खटाइएको उनको भनाइ छ । राष्ट्रिय जनगणनाको एक वर्ष अघि नमुना जनगणना गर्ने प्रचलनअनुसार जनगणना गरिएको उनले बताए । आगामी जेठ २५ गतेबाट ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित राष्ट्रिय जनगणना गणना गरी अगामी असार ८ गते सम्पन्न गरिने उनले जानकारी दिए । उनका अनुसार अघिल्ला जनगणनामा लगत–१ र लगत–२ गरी दुईखाले प्रश्नावली फरक ढङ्गले सोधिएको थियो । तर, अहिले तीदुवै मिलाएर एकीकृत प्रश्नावली निर्माण गरिएको छ । एकीकृत प्रश्नावलीका आधारमा पूर्ण जनगणना गर्नु पर्ने भएकाले नमुना गणना अनिवार्य गरिएको हो । “पूर्वनिर्धारित तालिकाअनुसार छनौट गरिएका क्षेत्रमा नमुना (पाइलट) जनगणनाका निम्ति जनशक्ति खटाइसकेका छौं।”उनले भने । उनका अनुसार सो गणनामा खटिएका जनशक्तिलाई स्यानिटाइजर, मास्कर र पञ्जा पर्याप्त मात्रा उपलब्ध गराइएको छ । उनीहरूलाई उत्तरदाताको घरभित्र नपस्न, खुला ठाउँमा रहेर प्रश्नावली भर्र्न, अन्य स्थानका कुनै पनि सामान नछुन, अनावश्यक गफ नगर्न निर्देशन दिइएको छ । यस जिल्लाको नमुना गणनामा संलग्न जनशक्ति मध्ये सुपरीवेक्षक एक, गणक चार जनालगायत कार्यालयका कर्मचारी खटिएका छन् । जिल्ला अन्तर्गत छनौटमा परेका चार वटा गणना क्षेत्रको घरपरिवार सूचीकरण फारामअनुसार कूल घरसङ्ख्या ६ सय ३८ र कूल घरपरिवार सङ्ख्या ८ सय ६७ को पूर्णजनगणना भइरहेको छ । शुक्रबारसम्म १२ दिनको अवधिमा ५ सय ४३ घरपरिवारको जनगणना भएको उनले जानकारी दिए । सो कार्यका लागि हेटौंडा उप–महानगरपालिकाको गणना क्षेत्रमा दुई वटा ट्याबलेट प्रयोग गरिएको छ भने इन्द्रसरोवर गाउँपालिका र थाहानगरपालिकामा छापा प्रश्नावलीमा लिखित रूपमा विवरण भरिने कार्य भइरहेको छ । सो गणना यही असार १५ गतेभित्र सकिने विभागीय निर्देशन भएतापनि अविरल वर्षा, पहाडी भेगमा गएको पहिरो र बाटो निर्माणलगायतका कार्यले बाटो अवरुद्घभएकोे कारण बढीमा तीन दिनसम्म ढिलो हुनसक्ने विभागका कर्मचारी राजकुमार विकले बताए । सोधिने प्रश्नावलीलाई ‘ए’ र ‘बी’ गरी दुई खण्डमा समेटिएका छन् । परिचयात्मक खण्डमा प्रदेश, जिल्ला, गाउँपालिका÷नगरपालिका, वडा, गाउँ/बस्ती/टोल, परिवारमूलीको नाम/थर र सम्पर्क टेलिफोन नम्बर उल्लेख गरिएको छ । परिवारका सदस्यको सङ्ख्या, अक्सर बसोवास गर्ने (६ महिनाभन्दा बढी बस्ने), अनुपस्थित (स्वदेश वा विदेशमा) रहेको सदस्यसमेत उल्लेख हुनेछ । पारिवारिक खण्डमा परिवारले प्रयोग गरेको घरको स्वामित्व, घरको जग, बाहिरी गारो, छानाका किसिम, घरको भुइँ, खानेपानीको मुख्य स्रोत सोधिने छ । त्यसैगरी परिवारमा खाना पकाउन प्रयोग हुने इन्धन, बत्तीको स्रोत, चर्पी, महिलाको नाममा रहेको घररजग्गा, कृषिबाहेक कुनमुख्य साना घरेलु व्यवसाय र त्यसको सञ्चालक उल्लेख गरिने छ । घरायसी सुविधा तथा साधन अन्तर्गत टेलिभिजन, इन्टरनेट, मोबाइल, ल्यान्डलाइन टेलिफोन, कम्प्युटर, ल्यापटप, साइकल, मोटरसाइकल, गाडी, रेफ्रिजेरेटर, वासिङमेसिन, माइक्रोवेभ ओभन पर्दछन् । त्यसैगरी प्रत्येक परिवारले पालेको पशु र पंक्षी, घरेलु व्यवसायलगायतको लगत लिइने छ । त्यसैगरी बितेको १२ महिनामा कुनै परिवारको सदस्यको मृत्यु भएमा मृत्युको कारणसहित खुलाउने व्यवस्था प्रश्नावलीमा छ । मृतक १५ देखि ४९ वर्षको महिलाभए मृत्यु हुँदाको अवस्था समेत उल्लेख हुनुपर्नेछ । व्यक्तिगत विवरण अन्तर्गत परिवारमा अक्सर बसोवास गर्ने व्यक्तिको नाम र थर, परिवार मूलीको नाता, लिंग, जन्ममिति, जात–जाति, पहिलो भाषा (मातृभाषा), दोस्रो भाषा र पुर्खाको भाषा, धर्म, वैवाहिक स्थिति उल्लेख हुनेछ । त्यसैगरी शैक्षिक विवरण, पढाइको क्षेत्र, बसाइँसराई, प्रजनन, अपाङ्गतासम्बन्धी विवरण समेटिनेछ । नेपालमा १९६८ साल ९सन् १९११० मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । प्रत्येक दश–दशवर्षमा जनगणना हुँदै आएको छ । पछिल्लो पटक सम्पन्न राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कअनुसार देशको कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । अब हुने १२ औं जनगणना हो ।  रासस