विकासन्युज

लकडाउन खुकुलो भए पनि मजदुर ल्याउन नसक्दा खुलेनन् उद्योग

काठमाडौं । सरकारले उद्योगधन्दा सञ्चालन गर्ने भने पनि उद्योग सञ्चालनका लागि समस्या उस्तै रहेको उद्योगीहरु बताउछन् । गाउँ गएका मजदुर उद्योगसम्म आउन नै समस्या भएकोले उद्योगहरु संचालनमा समस्या भएको हो । साना सवारीका जोरबिजोर प्रणालीले पनि उद्योग सञ्चालनमा समस्या पारेको छ । बजारमा पनि उद्योगबाट उत्पादित वस्तुको माग त्यति धेरै नभएकोले पनि उद्योग संचालनमा उद्योगी हच्किएका हुन् । लकडाउनले अति आवश्यकभन्दा बाहेकको उद्योग चैत ११ गतेदेखि बैशाख २६ गतेसम्म पूर्णरुपमा बन्द भए पनि निजी क्षेत्र र सरकारबीचको छलफल पछि ४४ प्रकारका उद्योग सञ्चालन गर्ने निर्णय भएको थियो । तर सरकारले सञ्चालन गर्ने भनेको ४४ प्रकारका अधिकांश उद्योगहरु सञ्चालनमा पनि समस्या नै थियो । सरकारले पूर्णरुपमा उद्योग सञ्चालन गर्ने भने पनि विभिन्न समस्याको कारणले केही मात्र उद्योग सञ्चालन भएको छ । नेपाल उद्योग परिसघंका अध्यक्ष सतिश मोरले यति प्रतिशत उद्योग सञ्चालन भएको छ भनेर भन्न नसकिने बताए । कतिपय उद्योगहरु आंशिक रुपमा सञ्चालन भएको र कतिपय उद्योगहरु अझै पनि सञ्चालनमा नै आएको उनले बताए । ‘उद्योग पुर्णरुपमा सञ्चालन हुन सकेका छैनन्, गाउँमा गएका मजदुरहरु आउन नसकेकाले पनि उद्योग सञ्चालनमा समस्या परेको छ, सार्वजनिक सवारी साधान चलेका छैनन्, चलेका सवारी साधनमा पनि जोरबिजोर प्रणाली लागू भएको छ, यस्ता कारणले उद्योग सञ्चालनका लागि समस्या परिरहेको छ, बजारमा पनि उद्योगबाट उत्पादित वस्तुको त्यतिधेरै माग छैन,’ मोरले भने । नेपाल स्टील तथा रोलिङ मिल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा साखः स्टीलका डाइरेक्टर किरण साखःले स्टील उद्योगहरु पनि त्यति धेरै सञ्चालनमा नआएको बताए । सरकारले उद्योग सञ्चालन गर भनेर मात्रै नहुने भन्दै उनले मजदुर कसरी व्यवस्थापन गर्ने, उत्पादित वस्तु कहाँ लगेर बिक्री गर्ने भन्ने समस्या रहेको बताए । उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी व्यवसायी उत्साहित भए पनि शुरुका दिनमा कच्चा पदार्थ तथा श्रमिक व्यवस्थापन र उत्पादित वस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको व्यवसायीको गुनासो रहेको साखःले बताए । बाहिरी जिल्लाका र कतिपय भारतीय मजदुरलाई ल्याएर काममा लगाउन सकिने अवस्था नभएका कारण उद्योग सञ्चालनमा समस्या रहेको उद्योगीको भनाइ रहेको छ । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले थोरै संख्याका सिमेन्ट उद्योग मात्रै संचालन भएको बताए । सरकारले चुनढुङ्गा खानी सञ्चालन गर्न दिए पनि स्थानीय तहको अवरोधको कारण खानी सञ्चालन गर्न नसक्दा सिमेन्ट उद्योग सञ्चालन नभएको थापा बताउँछन् । सरकारले कोरोना भाइरस नियन्त्रणको लागि भनेर गत चैत ११ गते लकडाउन गरेको थियो । लकडाउनको केही समय अतिआवश्यक वस्तु उत्पादन गर्ने र वितरण गर्ने उद्योग तथा व्यापार मात्रै सञ्चालनमा रहेका थिए । तर लकडाउनको बीचमा सरकारले अर्थतन्त्र चलायमान गराउन ४४ प्रकारका उद्योग सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसको केही समयपछि सबै किसिमका उद्योग सञ्चालन गर्ने निर्णय सरकारले गरेको थियो । सरकारले घोषणा गरको लकडाउन ९७औं दिनमा आइपुग्दा लकडाउन अन्त्यबारे सरकारले औपचारिक रुपमा कुनै जानकारी गराएको छैन । तर सरकारले असार १ गतेदेखि नयाँ मोडालिटी अनुसार लकडाउन खुकुलो बनाइसकेकाले आगामी दिनमा पनि लकडाउन यही मोडालिटीमा जारी रहने देखिन्छ । स्वास्थ्य विज्ञहरुले भने कोरोनाको संक्रमण आक्रमक रुपमा बढ्कोले थप सतर्क हुनुपर्ने बताइरहेका छन् । काठमाडौं बाहिर रहेकाहरु धमाधम काठमाडौं भित्रिन थालेपछि सरकारलाई थप समस्या परेको छ ।

सुदूरपश्चिममा कोभिड-१९ का कारण ६ जनाको मृत्यु

धनगढी । कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । कोभिड—१९ को सङ्क्रमणका कारण यसअघि बाजुराका दुई र कैलालीका तीन जनाको मृत्यु भएको थियो । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा १ सय १६, वीर अस्पतालमा गरिएको परीक्षणमा छ जना, शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ६२ जना र सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा ३० गरी जम्मा २ सय १४ मा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । नयाँ थपिएका प्रदेशमा शनिबारसम्म कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या २ हजार ७६ पुगेको छ । जसमा ४ सय २४ महिला र बाँकी पुरुष रहेका छन् । शनिबार मात्रै कैलालीमा २६ कञ्चनपुरमा तीन, अछाममा १९, बाजुरामा ६३, बैतडीमा २७, डडेलधुराम सात, डोटीमा ६१ बझाङमा आठ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो । जिल्लागत रुपमा हालसम्म कैलालीमा ५ सय ७७ जना, अछाममा १ सय ३३, बैतडीमा २ सय ३१, बझाङमा ७२, बाजुरामा १ सय ९१, डडेलधुरामा २ सय २६, दार्चुलामा १६, डोटीमा ३ सय २३, र कञ्चनपुरमा ३ सय ७ जना कोभिड–१९ का सङ्क्रमित पुगेका छन् । जाँचकोे अवस्थाः प्रदेशमा आरडिटी र पीसीआर पद्धतिबाट गरेर जम्मा १ लाख २५ हजार २ सय ९३ को नमूना जाँच गरिसकिएको छ । आरडीटी जाँचको तुलनामा प्रभावकारी मानिएको पीसीआर जाँच १६ हजार ९ सय ३५ जनामा गरिएकोमा २ हजार ७६ जनामा कोरोना ‘पोजेटिभ’ देखिएको हो । चार हजार १ सय ७४ जनाको नतिजा आउन बाँकी छ । यस्तै आरडीटी पद्धतिबाट १ लाख ८ हजार ३५८ को स्वास्थ्य जाँच गरिएको छ । प्रदेशको एक मात्र प्रयोगशाला सेती प्रादेशिक अस्पताल धनगढीमा आवश्यक स्वास्थ्य सामग्रीका साथै जनशक्तिको अप्रयाप्तता र मेसिनको क्षमता कमजोर भएका कारण शङ्कास्पद व्यक्तिको सङ्कलन गरिएको स्वाबको नमूना समयमै जाँच गर्न नसकी थन्किने गरेका छन् । सङ्कलन भएको स्वाबको नमूना जाँचका लागि अन्य प्रयोगशालामा पनि पठाउने गरिएको छ । सङ्क्रमितहरुको विभिन्न अस्पतालका साथै स्थानीय तहका आइसोलेशन उपचार भइरहेको छ । अस्पतालको आइसोलेशनमा रहेकाहरु १ सय ३५ जना रहेकोमा अधिकांश सङ्क्रमित स्थानीय तहको आइसोलेशनमा छन् । यस बाहेक कोरोनाका शङ्कास्पद थप १६ जनालाई अस्पतालको आइसोलेशनमा राखिएको छ । प्रदेशमा हाल सम्म ५ सय ९४ सामान्य उपचारपछि घर फर्किएको जनाइएको छ । स्वाब नमूना जाँचको दायरा बढाउन प्रदेशको डोटी र बैतडीमा एकरएक प्रयोगशाला र कैलालीमा थप एक प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय बमोजिम पीसीआर मेसिन खरिद प्रक्रिया सकिएर सम्झौता हुने चरणमा पुगेको जनाइएको छ । स्वाथ्य महाशाखा प्रमुख कार्कीले पछिल्लो पटक क्वारेन्टिनमा बसेकाको आरडीटी किटमार्फत मेलेरिया रोगको जाँच गर्ने काम पनि भइरहेको छ । पछिल्ला महिनामा प्रदेशमा मलेरिया, कालाजार र डेंगू जस्ता सङ्क्रमक रोग देखिन थालेको जनाइएको छ ।  रासस

दैनिक भारी वर्षा, विपतबाट जोगिन छैन तयारी

जाजरकाेट । देश कोरोनाको त्रासबाट जोगिन र जोगाउन हम्मे–हम्मे परेको समयमा वर्षायाम शुरु भएको छ । कोरोनाबाट जोगिन तयारी व्यापक हुँदै गर्दा वर्षायाममा प्राकृतिक विपतिबाट जुध्ने तयारी गर्न स्थानीय सरकारले भ्याएको देखिँदैन । जाजरकोट, रुकुमपश्चिम र डोल्पामा प्राकृतिक विपतीबाट जोगिने आवश्यक तयारी नहुँदा विगत वर्षका समस्या बल्झिने देखिएको छ । विपत् व्यवस्थापनको मुख्य भूमिकामा रहेको जिल्ला प्रशासन कार्यालय समन्वयको अभावमा अलमलमा परेको छ । विपत् व्यवस्थापका लागि सामान्य छलफल भए पनि परिणाम आउने गरी काम नभएको यस क्षेत्रका सर्वसाधारण बताउँछन् । शुरुमा लकडाउनका कारण काम गर्न पाइएन, अहिले केही खुकुलो हुँदै गर्दा समय घर्कीसकेको भन्दै काम गर्न मुस्किल भएको स्थानीय तहका अधिकारीको भनाइ छ । वर्षाको भेलसँगै उर्लदैं आएका नदी, खोला नियन्त्रणका गर्नका लागि तार, जाली खरिद गरेर जोखिमपूर्ण ठाउँमा लगाउनुपर्ने भए पनि अहिले समयको अभावका कारण सबै कामले गती लिन सकेको छैन । सम्बन्धित कार्यालयसँग तारजाली माग्दा आर्थिक वर्ष सकिन केही हप्ता मात्र बाँकी रहँदा काम कसरी हुन्छ भनेर सामग्री उपलब्ध नगराउँदा हैरान भएको बारेकोट गाउँपालिका–४ मैनाका देव बोहोराले जानकारी दिए । उनले भने, “बारेकोट सामग्री लिन कठिन भएको छ । पहिले लक डाउन थियो, अहिले अलि खुकुलो हुँदा समय मात्र होइन, बाटो अवरुद्ध हुँदा समस्या भएको छ ।” भेरी नदीको किनारका बस्तीहरु सबैभन्दा बढी समस्यामा परेका छन् । सरोकारवाला निकायबाट नदी नियन्त्रणका लागि आवश्यक सामग्री उपलब्ध नहुँदा भेरी किनाराका सर्वसाधारण त्रासमा बाँच्न बाध्य भएका हुन् । त्यस्तै छिन्चु जाजरकोट हुँदै डोल्पा जोड्ने सडकहरुको बीचमा रहेका खोलामा पानीको मात्रा बढ्दा यातायात सञ्चालनमा समेत चुनौती थपिएको छ । बिहीबार जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावल योजना अनुगमन गरी फर्कदा रुकुमपश्चिम आठबीसकोट नगरपालिकाको बाँके खोलामा पानीको मात्रा बढ्दा झण्डै ४ घण्टा रोकिनुपरेको थियो । लामो समयसम्म खोलामा पानीको मात्रा कम नभएपछि रावलले पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटको गाडी सदरमुकामबाट बोलाएर आफ्नो गाडी बाँकेमै छोडेर सदरमुकाम फर्किएका छन् । त्यस्तै सदरमुकामबाट अन्य स्थानीय तहमा जानका लागि बीचबीचमा रहेका खोलाहरुमा पानी बढ्दा यात्रामा असहज भएको छ । नौं वर्षदेखि शिवालय गाउँपालिका–१ मोर्कमा सवारी साधन सञ्चालन गर्ने पुल निर्माण नहुँदा पानी पर्न वित्तिकै छेडा–जुनिचाँदे सडक बन्द हुने गर्दछ । छिन्चु–जाजरकोट सडकखण्डको पासागाड, खोदाखोलालगायत चार ठाउँमा पुल समयमै निर्माण नहुँदा पानी बढेसँगै यातायातका साधन ठप्प हुने गरेका छन् । खोलामा नियन्त्रणको काम भएन सातै वटा स्थानीय तहमा रहेका सानादेखि ठुला गाउँ, बस्तीकै छेउबाट बग्ने खोलाहरुमा रहेका बस्ती र खेतीयोग्य जमीन जोगाउने उपाय अवलम्बन गरिएको देखिएको छैन । नलगाड नदी, छेडाखोला, ताँसु गाड खोला, भेरी नदी, पासागाड खोला, सरु खोला र होलुखोलाहरुबाट पर्ने क्षतिका विषयमा अहिलेसम्म कुनै तयारी गरिएको छैन । यी त देखिने खालका खोलाहरु मात्र हुन् । अन्य दर्जनौँ साना खहरे खोला भए पनि त्यहाँ पनि नियन्त्रणका लागि पहल भएको छैन । अधिकांश कार्यालयले समय अपुग हुने भन्दै सोहीअनुसार काम गर्न लागेको बताएका छन् । विपत् प्रतिकार्य योजना यत्ता जिल्ला प्रशासन कार्यालय जाजरकोटले मनसुन विपत् प्रतिकार्य योजना बनाउनका लागि तीन महिनाअघि स्थानीय सरकारलाई पत्राचार गरिसकेको बताएको छ । स्थानीय भौतिक पूर्वाधार कार्यक्रम (सांसद विकास कोष) को खर्च हुन नसकेको रकम कोभिड कोषमा जम्मा गर्ने निर्देशन अनुसार जम्मा भएको र सोही रकमबाट मनसुन विपत्को काम गरिने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । आफूहरुले जाजरकोटमा पर्ने समस्यालाई हल गर्न विपत् व्यवस्थापन कार्यका लागि उद्धार सामग्री भण्डार कक्ष निर्माण गरेर परेको बेला तत्काल जान सक्ने तयारी थालेको प्रजिअ पन्तले बताए ।   रासस

आइतबार नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेपछि बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ । काेराेना भाइरस (कोभिड–१९) सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो । कांग्रेसको १३ औं महाधिवेशन वि.सं २०७२ फागुनमा भएको थियो । कांग्रेसले १४ औं महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई अगाडि बढाएकाे थिए ।

सिस्नेरी खोलामा पक्की पुल

तुलसीपुर । दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ सिस्नेरी खोलामा निर्मित पक्की पुल सञ्चालनमा आएको छ । उक्त पुलको शनिबार गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले उद्घाटन गरे । प्रेमधन निर्माण सेवामार्फत रु २० लाख लगानीमा पुल निर्माण गरिएको सो पुलबाट गाउँपालिकाका पहाडी क्षेत्र बस्तीखोला, साउनी, बाघखोरलगायतका नागरिकलाई आवतजावत गर्न सहज हनेछ । यसअघि त्यहाँ वर्षाका समयमा सवारी साधन आवातजावत ठप्प हुने गरेको थियो । पुल संरक्षणका लागि सोही खोलामा तटबन्धनसमेत गरिने भएको छ । त्यसका लागि वडा नं ३ ले २ लाख रूपैयाँ बजेट छुट्याएको छ । यसअघि सोही स्थानमा पुल नहुँदा आवतजावतमा समस्या हुने गरेको वडा नं ३ बस्तीखोलाका आइतुराम विकले बताए । ‘वर्षामा भेल आउँथ्यो, पुल थिएन, त्यसैले आवतजावत गर्न पनि समस्या हुन्थ्यो’, उनले भने, ‘अहिले पुल बन्यो, सहजै आवतजावत गर्न सकिन्छ ।’ गाउँपालिकाले पहाडी क्षेत्रको सडक सञ्जाल विस्तारमा ध्यान दिएको छ । विकासको मुख्य आधार नै सडक भएकाले गाउँगाउँमा सडक सञ्जाल जोडेमा पहाडी क्षेत्रको विकासले फड्को मार्ने गाउँपालिकाका अध्यक्ष डाँगीको भनाइ छ । सबै गाउँमा कच्ची सडक पुगेको र अब तिनलाई पक्की बनाउनेतर्फ आफ्नो ध्यान गएको उनले बताए । रासस

युवालाई रोजगार बनाउन ‘घुम्ति कोष’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले युवालाई स्वरोजगारी उपलब्ध गराउन घुम्ति कोष स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि आठौँ गाउँसभाले पारित गरेको बजेटमा युवा स्वरोजगार कोष स्थापनाका लागि बजेटको व्यवस्था गरेको हो । कोरोनाका कारण रोजगारी गुमाएका युवालाई स्वरोजगार बनाउन ३० लाख रूपैयाँको घुम्ति कोष खडा गर्ने तयारी गरिएको अध्यक्ष थमसरा पुनले जानकारी दिए । उनका अनुसार कृषि व्यवसाय प्रर्वद्धन कोष स्थापना तथा सञ्चालनका लागि समेत २० लाख रूपैयाँ विनियोजन भएको छ । “रोजगारी गुमाएर विदेश र बजारबाट गाउँमा फर्किएका युवालाई कृषि, पशुपालन, जडिबुटी, फलफुल खेती र स्थानीय स्रोतमा आधारित लघुउद्यम सञ्चालन गर्न युवा स्वरोजगार र कृषि व्यवसाय प्रवद्र्धन कोष स्थापना गरेका हौं” अध्यक्ष पुनले भने, “कार्यविधि बनाएर युवालाई व्यवसाय सञ्चालन गर्न घुम्ति कोष परिचालन गर्छौं ।” धवलागिरिले कोभिड–१९ रोकथाम, पूर्वाधार, रोजगार र पूर्वाधारका योजनालाई प्राथमिकता दिँदै ४२ करोड ५१ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । तलब भत्ता, प्रशासनिक, सामाजिक सुरक्षा भत्ता र सशर्त अनुदानसहित चालू शीर्षकमा २९ करोड ८६ लाख ३० हजार रूपैयाँ र विकास आयोजना तथा कार्यक्रमका लागि पुँजीगत शीर्षकमा १२ करोड ६५ लाख ५२ हजार ५ सय ८० रूपैयाँ बजेट पारित भएको हो । कर्मचारी, पदाधीकारीको तलब भत्ता र प्रशासनिक खर्च चालूअन्तर्गत ६ करोड ८४ लाख बजेट बिनियोजन भएको छ । आन्तरिक आम्दानी रु २६ लाख हुने अनुमान गरेको गाउँपालिकाको बजेटको मुख्य स्रोत सङ्घीय र प्रदेश सरकारको अनुदान तथा चालू आवमा खर्च हुन नसक्ने बजेट हो । कोरोना रोकथामका लागि निःशुल्क क्वारेन्टिन सञ्चालन गर्ने नीतिसहित विपद् व्यवस्थापन कोषमा ७५ लाख रूपैयाँ विनियोजन गरेको छ । पूँजीगत शीर्षकको बजेटबाट १९५ वटा योजना तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । सडक, भवन, सिँचाइ, खानेपानी, ढल निकासलगायत पूर्वाधार योजनामा सबैभन्दा बढी ३ करोड ६४ लाख ८६ हजार ५ सय ८० रूपैयाँ विनियोजन भएको छ । पर्यटन गुरुयोजना निर्माणमा १० लाख रूपैयाँ विनियोजन गरेको छ । आवासविहीन जनतासँग वडाध्यक्ष, सुनौला हजार दिनका आमासँग अध्यक्ष र उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिएको छ । त्यस्तै पालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । पालिकास्तरीय खेलकुद विकास समिति गठन गर्ने, खेलकुद सामग्री वितरण र घुम्ति शिविरमार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, धारापानीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने बजेट विनियोजन गरेको छ । व्यावसायिक जडिबुटी खेती विस्तार गर्ने, सडक, खानेपानी, सिँचाइ र विद्युत् विस्तारका साथै स्तरोन्नितीमा जोड दिएको छ । कोरोनाका कहरका बिच जनतालाई रोग र भोगबाट गोजाएर विकासका गतिविधि र सेवाप्रवाहलाई निरन्तरता दिने नीति लिएको उपाध्यक्ष रेशम छन्त्यालले बताए । आगामी आर्थिक वर्षमा साउनबाटै योजना सर्वेक्षण, लगत तयार, सम्झौता गरी कार्यान्वयन प्रक्रियामा लगेर असारे विकासको समस्यालाई निरुत्साहित गरिने प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताए । ताकम र बगरमा विद्युत् विस्तार, लुलाङमा लघु जलविद्युत् परियोजना पुनःनिर्माण, मल्कवाङ र मराङको राम्चेसम्म सडक पुग्नुलाई यो वर्षको मुख्य उपलब्धि मानिएको कार्यपालिकाका प्रवक्ता झक छन्त्यालले भने । लुलाङको वडा कार्यालय, मुना स्वास्थ्य चौकी र हेम नमूना आवासीय माविको भवन तथा मालिका र धवलागिरि गाउँपालिका जोड्ने भारवाङखोला, मराङखोलामा मोटरेबल पुल निर्माण शुरु भएको छ । धवलागिरिको ताकम र मालिकाको देवीस्थान जोड्ने सडक, गुर्जादेखि मुदी जोड्ने पदमार्ग निर्माण भएको छ । कोरोनाको जोखिम, लकडाउन र हिमपातका बावजुद दुर्गम र विकट क्षेत्रका उपभोक्ता समितिले ८० प्रतिशतभन्दा बढी काम सकेका गाउँपालिकाले जनाएको छ ।   रासस

चिनियाँ अधिकारीहरूलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाउने घोषणा

काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीहरूलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् । ती चिनियाँ अधिकारीहरू हङ्‍कङको स्वतन्त्रतालाई सङ्कुचित पार्ने योजनामा सहभागी भएको अमेरिकाको निष्कर्ष छ । पोम्पेओका अनुसार अमेरिकी प्रतिबन्ध सीपीसीका पदासीन र भूतपूर्व अधिकारीहरूप्रति लक्षित छ । यो निर्णय हङ्‌कङको स्वायत्तताविरुद्ध ल्याउन लागिएको सुरक्षा कानुनका लागि चीनलाई दण्डित गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको वाचानुरूप गरिएको हो । चीनले अमेरिकी निर्णय ूत्रुटिपूर्णू भएको भन्दै फिर्ता हुनुपर्ने प्रतिक्रिया दिएको छ । चिनियाँ संसद्‌को बैठकको पूर्वसन्ध्यामा अमेरिकाले चिनियाँ नेताहरूलाई अमेरिका प्रवेश गर्न नदिने घोषणा गरेको हो । आइतवारदेखि आरम्भ हुने न्याश्नल पीपल्स कङ्ग्रेसको स्थायी समितिले हङ्‍कङका लागि बनाइएको कानुनबारे छलफल गर्नेछ । चीनले प्रस्तावित गरेको कानुनमा हङ्‌कङमा चीनको अधिकारविरुद्ध हुने गतिविधिहरू अपराध ठहरिने तथा बेइजिङले त्यहाँ आफ्ना सुरक्षा निकायहरू स्थापित गर्न सक्ने प्रावधानहरू छन् । उक्त प्रस्तावित कानुनका कारण हङ्‌कङमा चीनविरोधी प्रदर्शनको नयाँ लहर चलेको छ । अमेरिकाले प्रवेशाज्ञामा लगाएको प्रतिबन्धबाट प्रभावित हुने चिनियाँ अधिकारीहरूको नाम पोम्पेओले उल्लेख गरेका छैनन् । के भन्यो चीनले ? केही समयअघि अमेरिकी सिनेटमा हङ्‌कङको स्वायत्ततालाई अनादर गर्ने व्यक्ति र उनीहरूसँग कारोबार गर्ने व्यापारी तथा व्यवसायलाई प्रतिबन्ध लगाउने प्रस्तावमा मतदान भएको थियो । पोम्पेओले सिनेटको निर्णयअनुरूप यो घोषणा गरेका हुन् । प्रतिक्रियामा वाशिङ्टनस्थित चिनियाँ राजदूतावासले ूअमेरिकी पक्षको अन्यायपूर्ण निर्णयहरूको कडा विरोधू गर्ने जनाएको छ । ट्विटरमा एउटा विज्ञप्ति प्रेषित गर्दै राजदूतावासले अमेरिकालाई तत्काल आफ्ना गल्तीहरू सच्याउन, उक्त निर्णय फिर्ता लिन र चीनको आन्तरिक विषयमा हस्तक्षेत नगर्न आग्रह गरेको छ । (बीबीसी नेपालीबाट)  

प्रदेश नं २ मा थप २९ जना काेराेना सङ्क्रमित थपिए

काठमाडाैं । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा धनुषा, महोत्तरी तथा पर्सामा गरेर कूल २९ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिइएको पीसीआर परीक्षणमा धनुषामा तीन जना, महोत्तरीमा २४ जना तथा पर्सा जिल्लामा दुई जनामा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टिनमा १९, २२ र ३५ वर्षका पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । यसैगरी, महोत्तरीको सम्सी नगरपालिकामा १४ वर्ष देखि ३३ वर्षका चार जना पुरुष, औरही नगरपालिकाको क्वारेन्टिनमा एक वर्षकी एक बालिका र एकै वर्षका अर्का एक बालकसहित ३९ देखि ४५ वर्षका १० जना तथा लोहपट्टी नगरपालिकामा २० वर्षदेखि ३८ वर्षसम्मका १० जना पुरुषमा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरी, पर्साको कामु प्यालेस होटलमा ३२ वर्षका पुरुष तथा ३२ वर्षका महिलामा कोरोना पुष्टि भएको मन्त्रालयका सचिव डा घिमिरेले जानकारी दिए। पछिल्लो पटक सङ्क्रमण पुष्टि भएकासहित सङ्क्रमित हुनेको सङ्ख्या ३ हजार १९ जना पुगेको छ । जसमा २ सय महिला तथा ३ हजार १ सय १९ जना पुरुष रहेका छन् । पछिल्लो पटक सङ्क्रमितबाट घर परिवारमा पनि सरेकाले बालबालिकामा सङ्क्रमण बढ्दै गएको स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजयकुमार झाले जानकारी दिए । सङ्क्रमितहरु घर परिवारको सम्पर्कमा आउनु चिन्ताको विषय भएको उनले उल्लेख गरे । प्रदेश नंं २ को विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचारमा रहेका २४ जना कोरोनाका बिरामीहरु सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १ हजार ४ सय १५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  रासस