४ सय ६३ जनामा देखियो कोराेना
काठमाडाैं । आइतबार नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।
लकडाउनमा बढ्यो मोबाइल र ल्यापटपको मूल्य
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि सरकारले गरेको लकडाउनको कारण नेपाली बजारमा ल्यापटप तथा मोवाइलको मूल्यमा वृद्धि भएको छ । माग बढेसँगै बजारमा ल्यापटपको अभावसमेत हुन थालेको छ । लकडाउनका कारण कार्यालयहरु संचालन हुन सकेनन् । सोही कारण घरबाट नै कार्यालयका कामहरु गर्नु पर्ने (वर्क फ्रम होम) को अवस्था आयो । यसरी घरबाट काम गर्दा स्टाफ, कर्मचारीहरुलाई ल्यापटपको आवश्यकता हुनु स्वभाविक जस्तै बन्न पुग्यो । तर लकडाउनका कारण विदेशबाट नेपालमा आयात गरिने ल्यापटप, मोवाइल लगायतका सामाग्रीहरु विगतका दिनमा जस्तो सहज रुपमा भित्रिएका छैनन् । विश्वभरी नै कोरोना महामारीको असर बढ्दो अवस्थामा रहदा प्रविधिको प्रयोग तथा आवश्यकता पनि बढ्दो छ । डिजिटल कारोबारहरु ग्राहकको प्राथमिकतामा पर्न थालेसँगै ल्यापटपको माग बढ्न थालेको जानकारहरु बताउँछन् । अनलाइन कक्षाहरु संचालन हुन थालेसँगै विद्यार्थीहरुलाई ल्यापटप समेत भरपर्दो माध्यम बन्दै गएको छ । विद्यालयदेखि विश्वविद्यालय स्तरसम्मका विद्यार्थी जुम कक्षादेखि आफ्ना प्रोजेक्ट वर्क गर्न ल्यापटपको सहयोग लिदै आएका छन् । के भन्छन् जानकारहरु ? आईएमएस ग्रुपका अध्यक्ष तथा सामसुङ मोवाइल बेच्दै आएका दिपक मल्होत्राका अनुसार पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएका कारण मोबाइलको मूल्य बढेको हो । ‘डलरको विनिमय दर बढेका कारण मोवाईलको मूल्य ५ प्रतिशतले बढेको छ, लकडाउनका कारण चोरी पैठारी नभएका कारण मोवाइलको व्यापार तथा मूल्य बढेको हो’, मल्होत्राले भने । भिभो मोवाइलका डिजिटल म्यानेजर पियुष गिरीका अनुसार लकडाउनका कारण लामो समयदेखि मोवाइल किन्न नपाएका ग्राहकहरु बजारमा आएका र एकाएक आकर्षण देखिएको कारण मोवाईलको माग बढेको हो । मूल्य भने विश्वव्यापी रुपमै बढेको उनको भनाइ छ । ‘अहिले मोवाइलको मूल्य नेपाली बजारमा मात्रै होइन विश्वव्यापी रुपमा नै बढेको छ, कोरोना महामारीका कारण लामो समयसम्म ग्राहकहरुले मोवाइल किन्न पाएनन्, अहिले लकडाउनको अवस्था केही सहज हुन थालेपछि ग्राहकहरुको माग बढ्यो र मोवाइलको मूल्य बढ्न पुग्यो’, भिभो मोवाइलका डिजिटल म्यानेजर गिरीले विकासन्यूजसँग भने । पुतलिसडकस्थित आईटी ग्लोबलमा ल्यापटप पसल संचालन गर्दै आएका प्रकाश कार्कीका अनुसार लकडाउनका कारण ल्यापटको माग बढेको र मूल्यमा पनि वृद्धि भएको हो । ‘लकडाउनका कारण अन्र्तराष्ट्रिय उडानहरु बन्द हुन पुगे सोही कारण विदेशबाट ल्याइने सामानहरु स्वतः कम हँुदै गए, अन्य बेलामा पनि मोवाइल ल्यापटपको मूल्यमा हेरफेर हुने गर्छ, अहिले भने विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी तथा अमेरिकी डलरको भाउँको प्रभाव नेपाली बजारका ल्यापटपहरुमा देखिएको हो’, आईटी ग्लोबलका ल्यापटप बिक्रेता कार्कीले विकासन्यूजसँग भने । ल्यापटप लगायतका सामाग्रीहरु विदेशबाट भित्र्याउन विगतमा जस्तो सहज नभएको र समय पनि केही बढी लाग्ने गरेको व्यवसायीहरुको भनाइ छ । व्यवसायीहरुले ल्यापटप, मोवाइलको मूल्य ठ्याक्कै कतिले वृद्धि भयो भन्ने अंकमा नबताए पनि पछिल्लो समय आकर्षण भने राम्रै रहेको जानकारी दिएका छन् ।
‘फेयर एण्ड लभ्ली’ ब्राण्डलाई नयाँ नाम दिँदै युनिलिभर नेपाल
काठमाडौं । युनिलिभर नेपाल लिमिटेड (युएनएल)ले फेयर एण्ड लभ्ली ब्राण्डलाई नयाँ नाम दिने भएको छ । कम्पनीले ‘फेयर एण्ड लभ्ली’ ब्राण्डको नाममा रहँदै आएको ‘फेयर’ शब्द प्रयोग नगर्ने भएको छ । यससँगै उक्त ब्राण्डले आफ्नो यात्रालाई सुन्दरताको अझ बढी समावेशी दृष्टिकोणतर्फ अग्रसर गराउने कम्पनीले जनाएको छ । यससँगै त्वचाको स्याहार सम्बन्धी उत्पादनको पोर्टफोलियोलाई नयाँ चरणतर्फ विकास गर्न कम्पनी सक्षम भएको छ । ‘फेयर एण्ड लभ्ली’ को नयाँ ब्राण्ड नाम आवश्यक कानूनी प्रक्रियाहरु पूरा भएपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ । युनिलिभर दक्षिण एशियाका अध्यक्ष सञ्जिव मेहताले भने-‘‘फेयर एण्ड लभ्ली’ ब्राण्ड नामबाट ‘फेयर’ शब्दलाई हटाउने समेत घोषणा गर्दछौं । नयाँ नामले कानूनी मान्यता प्राप्त गर्ने प्रक्रियामा छ र परिवर्तित नामसहितको प्याक अबको केही महिनामै बजारमा उपलब्ध हुनेछ ।’ विगतका दशकमा फेयर एण्ड लभ्ली ब्राण्डले आफ्ना विज्ञापनहरुद्वारा महिला सशक्तिकरणको पक्षमा आवाज उठाउँदै आएको छ । सन् २०१९ को शुरुवातबाट नै ब्राण्डले आफ्नो सञ्चारलाई त्वचाको सुन्दरता, गोरोपना र चम्किलोपना लगायतका विषयको सट्ट ग्लो, सफा त्वचा लगायतका स्वस्थ त्वचाको उचित मापदण्डहरुतर्फ केन्द्रित गरेको छ । गोरोपनलाई सौन्दर्यसँग दाँज्ने गरी गरिएको दुई मुहारको तुलनात्मक रुपान्तरण लगायत गोरोपन सम्बन्धी निर्देशहरु रहेका फेयर एण्ड लभ्लीको प्याकेजिङ्गहरु तथा दृश्यावलीहरु समेत युएनएलले हटाउने निर्णय गरेको छ । त्वचाको चमक र व्यक्तिको उपलब्धि, तथा सम्भाव्यताबीच कुनै सम्बद्धता नहुने तथ्यलाई युएनएलले समर्थन गर्दछ ।
राष्ट्रिय वाणिज्य बैंकद्धारा विभिन्न होल्डिङ्ग सेन्टरमा खानेपानी वितरण
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सरकारले संचालन गरिरेहको विभिन्न होल्डिङ्ग सेन्टरहरुमा खानेपानी वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना महामारीको अवस्थामा उक्त सहयोग गरेको हो । सो अवसरमा बैंकको प्रदेश कार्यालयकी प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठले नेपाल रेडक्रस सोसाईटीका पदाधिकारीहरुको उपस्थितिमा काठमाडौं उपत्यकाको बसुन्धरा तथा धुम्बाराहीमा रहेका ३ वटा होल्डिङ्ग सेन्टरमा नेपाली सेनाका अधिकृतहरुलाई खानेपानी व्यवस्थापन गर्ने जिम्मा लिएको जानकारी गराउँदै आवश्यक पर्ने खानेपानी हस्तान्तरण गरे । कोरोना महामारीको अवस्थामा देश बाहिर रहेका विभिन्न नागरिकहरुलाई उद्दार गर्ने क्रममा सरकारले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गरिसकेपछि विभिन्न होल्डिङ्ग सेन्टरहरुमा राखी घर पठाउने गरेको छ । उक्त होल्डिङ्ग सेन्टरहरुहरुको व्यवस्थापन नेपाली सेना तथा खानेपानी, खाध्य सामग्री लगायतको व्यवस्था नेपाल रेडक्रसको अगुवाइमा भैरहेकोमा बैंकको बागमती प्रदेश कार्यालय मार्फत तीन वटा होल्डिङ्ग सेन्टरहरुमा सात दिनको लागि खानेपानी व्यवस्था गर्ने जिम्मा लिएको छ । हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
सेयर बजार सञ्चालनको लागि धितोपत्र बोर्डले के के काम गर्यो ?
काठमाडौं । लकडाउनको अवधिमा धितोपत्रकाे दाेश्राे बजार पूर्णरूपमा बन्द भयाे । याे अवधिमा दोश्रो बजार सञ्चालनको लागि नेपाल धितोपत्र बोर्डले विभिन्न कार्यहरु गरेको छ । लकडाउनको तीन महिनाको अवधिमा बोर्डले घरमै बसी कारोबार गर्न सक्ने व्यवस्थादेखि अनलाइन स्टक डिलर व्यवसाय सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको बाेर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले जानकारी गराएका छन् । धितोपत्र बजारको विद्यमान अवस्था र सुधारका विषय तथा लगानीकर्ताहरुको माग सम्बन्धमा उच्च स्तरीय वित्तीय क्षेत्र समन्वय समितिमा छलफल र नियमन निकायहरुले सुधार गर्नुपर्ने कार्यहरु गर्न निर्देशन दिएको छ । विद्युतीय माध्यमबाट रकम भुक्तानी तथा प्राप्ति र लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खाता आवद्ध गर्ने सम्बन्धमा नेप्सेलाई निर्देशन दिएको बोर्डले जनाएको छ । स्टक डिलर व्यवसाय सञ्चालनमा ल्याउने सम्बन्धमा निर्देशन तथा अनुमतिका लागि बोर्डमा निवेदन प्राप्त भएको बोर्डले जानकारी गराएको छ । त्यसैगरी, लगानीकर्ताले कारोबार गर्दा डिम्याट खातामा धितोपत्र रहे/नरहेको यकिन गर्ने व्यवस्था बोर्डले गराएको छ ।आफूले बिक्री गरेको धितोपत्र हस्तान्तरण गर्ने र धितोपत्रको भारित औषत लागत प्रविष्ट स्वचालितरुपमा गर्न सकिने व्यवस्था भएको छ । धितोपत्र दलालबाट युजर नेम तथा पासवर्ड लिई घरमै बसी कारोबार गर्न सक्ने र नलिने लगानीकर्ताले समेत घरमै बसी दलाललाई विद्युतीय माध्यमबाट धितोपत्र कारोबारका लागि फोन र एसएमएस, इमेल जस्ता विद्युतीय माध्यमबाट आदेश दिन सक्ने व्यवस्था भएको छ । क्ल्यिरिंग बैंकबाट अनलाईन भुक्तानी गर्ने सुविधा र नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपीएस वा आईपीएसको प्रयोग गर्न सक्ने व्यवस्था भएको छ । खरिद गरेको धितोपत्र लगानीकर्ताको डिम्याट खातामा विद्युतीय माध्यमबाट प्राप्त हुने र बिक्री गरेको धितोपत्रको रकम ब्रोकरले विद्युतीय माध्यमबाट लगानीकर्ताको बैंक खातामा जम्मा गरिदिने व्यवस्था भएको बोर्डले जनाएको छ । साथै, लगानीकर्ताले घरमै बसेर मेरो सेयर एप्लीकेशनको प्रयोग गरी विद्युतीय माध्यमबाट धितोपत्र हस्तान्तरण गर्न सक्ने व्यवस्था(ई-डीआईएस) गरिएको छ ।
प्रधानमन्त्री ओली भन्छन्ः नक्सा जारी गर्दा मलाई हटाउन खोजियो
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा छापेर संविधान संशोधन गरेबापत आफूलाई हटाउने खेल भएको टिप्पणी गरेका छन् । जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा ओलीले देशको पक्षमा बोल्दा आफूलाई हटाउन खाेजिएकाे बताएका हुन् । ‘नेपालको यति राष्ट्रियता त्यति कमजोर छैन, नक्सा छापेबापत प्रधानमन्त्रीलाई कसैले हटाउँछु भन्छ भने, त्यो नसोचे हुन्छ । कोशिश गर्न सक्छन् । कसैले हतार नगरे पनि हुन्छ,’ उनले भने । उनले थपे ‘विभिन्न आग्रह नपाले पनि हुन्छ, मलाई प्रधानमन्त्रीमा बसिराख्ने इच्छा होइन, यतिबेला म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्दैन । बोले भोलिपल्टै बर्खास्त हुन्छ ।’
इपानको निर्वाचनः कार्यसमिति एकातर्फ, असन्तुष्ट पक्ष अर्कैतिर
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)को नयाँ नेतृत्वको लागि भोलि निर्वाचन हुने भएको छ । अध्यक्ष, पदाधिकारी र सदस्यसहित १५ सदस्यीय कार्यसमितिको निर्वाचनमा दुई समूह बनेर निर्वाचनको प्रतिस्पर्धा गर्दैछन् । अध्यक्ष पदमा कृष्ण आचार्य र सूर्य अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । आचार्य समूहको उम्मेदवारमा वर्तमान कार्यसमितिका अध्यक्ष वाहेक सबै अटेका छन् भने अधिकारीको समूहका उम्मेदवारमा वर्तमान कार्यसमिति सदस्यबाट एक जना पनि नभएको अधिकारीले बताए । आचार्यको समूहमा उपाध्यक्षमा गणेश कार्की, कुमार पाण्डे र आषिश गर्ग उम्मेदवार बनेका छन् । पाण्डे अहिले पनि उपाध्यक्ष छन् भने गर्ग वर्तमान महासचिव हुन् । कार्की कार्यसमिति सदस्य छन् । आचार्यको समूहबाट महासचिवमा मोहन डाँगी उम्मेदवार बनेका छन् । ३ वटा सचिव पदका लागि भीम पाठक, राम आचार्य र आनन्द चौधरी उम्मेदवार बनेका छन् । कोषाध्यक्षमा सुधिर तिमल्सिनाले उम्मेदवारी दिएका छ । खुला सदस्यहरुमा नरेन्द्र पन्त, भरत खड्का, प्रकाश श्रेष्ठ, मोहन कार्कीले उम्मेदवारी दिएका छन् । महिला आरक्षण सदस्य समूहमा कविता कँडेल र इन्दिरा पन्त उम्मेदर बनेका छन् । अधिकारीको समूहबाट उपाध्यक्षहरुमा उत्तम लामा, बलराम खतिवडा, भरत खत्री, महासचिव गोरे शेर्पा, सचिवहरुमा भरत लामिछाने थापा, सुमन कुमारी जोशी, प्रकाश दुलाल, कोषाध्यक्ष मिथुन सिपी पौडेल उम्मेदवार छन् । खुला सदस्यहरुमा विक्रम विष्ठ, जीतमान शेर्पा, अर्जुनप्रसाद पौडेल, इशा श्रेष्ठ र आरक्षिण महिला सदस्यमा अविज्ञा मल्ल, केशाङ विकी लामाले उम्मेदवारी दिएका छन् । यसअघि ९ सदस्यीय कार्यसमिति चयन गर्ने अभ्यास भएपनि अहिले विधान संशोधन गरी १५ सदस्यी बनाइएको छ । इपानमा १७६ जना मतदाता रहेको छन् । भोलि १० बजेदेखि मतदान हुने भनिए पनि ठेगाना अझै तय नभएको बताइएको छ ।
सेयर बजार सोमबारदेखि खुल्ने
काठमाडौं । हाल बन्द रहेको सेयर बजार सोमबार(असार १५ गते) देखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले सोमबार(भोलि)देखि बजार खोल्न नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) लाई निर्देशन दिएको बताएका छन् । बजार खोल्ने विषयमा सेबोनद्वारा गठित समितिले गत शुक्रबार नै बजार खोल्नुपर्ने सुझाव पेस गरेको थियो । साेहि विषयमा आइतबार बसेको बोर्डको बैठकले भोलिबाट बजार खोल्ने निर्णय गरेको हो । यससँगै बजार के कसरी कति अवधि खोल्ने भन्ने मोडालिटीको बारेमा नेप्सेलाई नै जिम्मेवारी दिइएको अध्यक्ष ढुङ्गानाले विकासन्युजसँग भने । सरकारले लकडाउन गरेसँगै सूचीकृत कम्पनीहरुको सेयर कारोबार हुने दोश्रो बजार चैत १० गतेदेखि बन्द अवस्थामा रहेको थियो । यसबीचमा दुई दिन खुलेको बजार पुनः बन्द भएको थियो ।