धनगढी उपमहानगरपालिकाद्धारा लकडाउन अवधिको पचास प्रतिशत भाडा मिनाहा
कैलाली । धनगढी उपमहानगरपालिकाले पूर्ण लकडाउनका तीन महिनाको भाडामा ५० प्रतिशत मिनाहा गरेको छ । आज उपमहानगरपालिकाले आफ्ना सपिङ कम्प्लेक्सको भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । लकडाउनका कारण व्यवसाय ठप्प भएको भन्दै उपमहानगरपालिकाले गत चैत ११ देखि यही असार १ गतेसम्मको भाडा छुट गरेको नगरप्रमुख नृपबहादुर वडले बताए । कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले उपमहानगरपालिकाले सराहनीय निर्णय गरेको उल्लेख गरे । उपमहानगरपालिकाले आफ्ना सपिङ कम्प्लेक्स व्यापारीलाई भाडामा दिएको छ । रासस
लकडाउन खुकुलो भएसँगै ६ गुणासम्मले बढ्यो बाइक र स्कुटरको व्यापार
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्नको लागि सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउन खुकुलो हुँदै जादा बाइक र स्कुटरको विक्री बढेको छ । सरकारले लकडाउन खुकुलो बनाउँदै गए पनि सार्वजनिक सवारी साधन अझै खुल्ला नगरेको र सार्वजनिक सवारी साधान खुल्ला भएपनि भीडभाडका कारण संक्रमण फैलिन सक्ने जोखिम बढी हुने भन्दै सर्वसाधारणले दुई पांग्रे सवारी साधनको खरिदलाई उच्च प्राथमिकतामा राखेका पाइएको छ । कोरोना महामारीको बीचमा दुइपांग्रे सवारी साधनको जुन स्तरको व्यापार भएको छ, त्यो उत्साहजनक नै रहेको यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजका मार्केटिङ हेड विक्रम पौडेलले बताए । सार्वजनिक सवारी साधान नखुलेको अवस्थामा आफ्नो पेशा व्यवसाय बचाइराख्न दुई पांग्रे सवारी साधन सस्तो र सहज हुने भएकोले यसको विक्री बढेको उनको भनाइ छ । सामान्य अवस्थाको तुलनामा लकडाउन खुकुलो भएसँगै मोटरसाइकल र स्कुटरको विक्री बढेको व्यापारीले बताएका छन् । सामान्य अवस्थामा दैनिक १५ देखि २० वटासम्म मोटरसाइकल तथा स्कुटर विक्री हुने गरेकोमा अहिले दैनिक ३५ देखि ४० वटासम्म विक्री भएको व्यापारीको भनाइ छ । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपाली विक्रेता जगदम्बा मोटर्सले दिएको जानकारी अनुसार खरिदमा वृद्धि आएको छ । सामान्य अवस्थामा दैनिक ३० वटाजति मोटरसाइकल र स्कुटर विक्री हुने गरेकोमा अहिले दैनिक ४० वटासम्म विक्री हुने गरेको कम्पनीका सेल्स हेड दिपक रौनियारले बताए । एन्टक सेरीजको रेएडीसन, एन्टक डिक्स र एन्टक ड्रम स्कुटरको माग प्रतिदिन ४० वटासम्म रहेको कम्पनीले जानकारी दिएको छ । टिभीएको बाईक मध्ये लकडाउनको समयमा सबैभन्दा धेरै अपाचे मोटरसाइकलको विक्री अधिक रहेको कम्पनीको भनाइ छ । सामान्य अवस्था दैनिक ४ देखि ५ वटा अपाचे मोटरसाइकल विक्री हुने गरेकोमा अहिले दैनिक २० देखि ३० वटासम्म विक्री भइरहेको कम्पनीको भनाइ छ । यस्तै, होन्डा ब्राण्डका मोटरसाइकल र स्कुटको विक्री पनि बढेको छ । होण्डाको डीयो स्कुटर नै कलडाउनको समयमा धेरै विक्री भएको सो ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता स्याकार कम्पनीले जनकारी दिएको छ । डीयो स्कुटरको विक्री ५० प्रतिशतले बढेको कम्पनीको भनाइ छ । अर्काे ब्राण्ड हिरोको बाइक तथा स्कुटरको पनि बिक्रीमा वृद्धि आएको छ । हिरोको एसपल्स २०० सीसी र एस पल्स २०० टी बाइको विक्री बढेको छ । अहिले दैनिक १५ वटासम्म बाइक र स्कुटर विक्री भइरहेको विक्रेताले जानकारी दिएको छ । हिरोको स्कुटरमध्ये प्लेजर प्लस ११० सीसी र डिस्टीनी १२५ सीसीको स्कुटरको माग बढी रहेको कम्पनीको भनाइ छ । सुजुकी मोटरसाइकलको बिक्रेता कम्पनी भिजी सुजुकीले विक्री गर्दै आएको बाइकहरुमध्ये जिक्सस् बाइक सबैभन्दा धेरै विक्री भैरहेको छ । सो बाइक दैनिक १५ वटासम्म विक्री हुने गरेको कम्पनीको भनाइ छ । सुजुकीको स्कुटरमा सबैभन्दा धेरै वर्गम्यान स्कुटर विक्री भएको छ । कम्पनीका अनुसार दैनिक १६ वटा स्कुटर विक्री भएको छ । अन्य ब्राण्डका मोटरसाइकल तथा स्कुटरको पनि विक्री बढेको व्यापारीले बताएका छन् । आक्रामक बजार योजना सरकारले जारी गरेको लकडाउन जेठ २५ देखि खुकुलो बन्दै गएपछि दुई पांग्रे सवारी साधनको आधिकारिक नेपाली विक्रेताले आकर्षक योजना ल्याएका छन् । यस्ता योजनामा एक रुपैयाँ पनि डाउनपेमेन्ट नगरी बाइक किन्न पाइने स्कीमसम्म छन् । सरकारले साढे २ महिनाभन्दा लामो समयदेखि बजार बन्द गराएको कारण केही सहज भएसँगै सवारी साधन विक्रेता आक्रामक ढंगले बजार विस्तारमा लागेका हुन् । सरकारले जारी गरेको लकडाउनको समयमा उद्योग व्यवसायको लागि कर्जाको माग हुन छोडेपछि बैंक तथा वित्तीय संस्थाहरु पनि उपभोग कर्जामा बढी केन्द्रीत भएका छन् । टीभीएसका बाइकको मासिक किस्ता ९९ रुपैयाँ टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई कम्पनीले सजिलो फाइनान्स सुविधा सहितको स्कीम ल्याएको छ । टीभीएसका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ योजना ल्याएको हो । कम्पनीले नगद रकम तिरेर मोटरसाइकल किन्नेलाई १२ हजार र स्कुटर किन्नेलाई १० हजार रुपैयाँ नगद छुटको योजना ल्याएको छ । डाउन पेमन्ट नगरी किन्न पाइने र कर्जाको व्याज तिर्नु नपर्ने जस्ता अन्य योजना पनि कम्पनीले सार्वजनिक गरेको छ । डाउन पेमेन्ट नगरी मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले केही महिनाको लागि मासिक ९९ रुपैयाँ मात्र तिरेर अहिलेको अफ्ठ्यारो समयमा मोटरसाइकल किन्न सक्ने छन् । यो योजनामा संगठित क्षेत्रमा काम गर्ने मानिसले मात्र सहभागिता पाउने कम्पनीको योजना छ । यस योजनामा मोटरसाइकल तथा स्कुटरको सम्पूर्ण रकम २६ महिनामा तिर्नु पर्ने हुन्छ । सुरुको ४ महिना ९९ रुपैयाँ मासिक किस्ता र त्यसपछि बाँकी २२ किस्तामा सम्पूर्ण रकम भुक्तानी गर्नु पर्ने कम्पनीले जनाएको छ । शुन्य प्रतिशत व्याज योजनामा ग्राहकले सुरुमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ भने बाँकी रकम १२ किस्तामा तिर्नु पर्ने हुन्छ । यामाहाका बाइक किन्दा डाउन पेमेन्ट नचाहिने, व्याज तिर्दिन भन्न पनि पाइने यामाहा कम्पनीका मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लुले नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अफरमा शुन्य प्रतिशत व्याजदर, शुन्य डाउनपेमेन्ट र नगद १० हजार डिस्काउन्टसमेत गरि तीन योजना छन् । लकडाउनका कारण सबै प्रकारका काम बन्दको असहज परिस्थितिमा मोटरसाइकल किन्न चाहने ग्राहकले तीन मध्ये कुनै एक योजना छनोट गर्न सक्ने छन् । यी तीन प्रकारकै योजना यामाहाका सबै प्रकारका मोटरसाइकल तथा स्कुटरमा लागू हुने कम्पनीले जानकारी दिएको छ । होन्डाका बाइक किन्दा १ रुपैयाँ डाउन पेमेन्ट, १ रुपैयाँ मासिक किस्ता र १ प्रतिशत व्याज होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले १ रुपैयाँ डाउन पेमेन्ट, १ प्रतिशत व्याज र १ रुपैयाँ मासिक किस्ताको अफर गरेको छ । यो योजना होन्डाका अधिकांश मोटरसाइकल खरिदमा लागू हुने कम्पनीले जानकारी दिएको छ । तर, यो योजना अनुसार बाइक वा स्कुटर किन्दा निश्चित समयपछि भने तोकिए अनुसारको व्याज र किस्ता तिर्नुपर्छ । सुजुकीको मोटरसाइकलमा १५ हजार नगद छुट सुजुकी मोटरसाइकलको बिक्रेता कम्पनी भिजी सुजुकीले नगद छुटको अफर ल्याएको छ । सुजुकीले एउटा मोटरसाइकलमा १५ हजार रुपैयाँ छुटको अफर ल्याएको हो । ‘उतार चडाव आइरहन्छ, सुजुकीको साथ रहिरहन्छ’ नाराका साथ नयाँ योजना सार्वजनिक गरेको छ । कोरोनाको कारण जारी लकडाउनको मोडालिटी परिर्वतन भएसँगै कम्पनीले नयाँ योजना सार्वजनिक गरेको हो । सुजुकीको यो योजना असार १ गतेदेखि लागू भएर असार ३१ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ । यो योजनामा मोटरसाइकल किन्ने ग्राहकले नगद १५ हजार रुपैयाँ छुट प्राप्त गर्ने छन् । ग्राहकले जुनसुकै अवस्थामा मोटरसाइकल खरिद गर्दा पनि यो योजनाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले नगद, एक्सचेन्ज र फाइनान्स जसरी मोटरसाइकल किनेपनि नगद १५ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । बेनेली मोटरसाइकलमा ३५ हजारसम्म छुट, परिवारकै कोरोना बीमा सित्तैमा बेनेली नेपालको आधिकारिक शोरुम युनिटी ट्रेडिङले लकडाउन अफर सार्वजनिक गरेको छ । कम्पनीले कोभिड १९ को असरलाई लक्षित गर्दै स्कीम सार्वजनिक गरेको हो । कम्पनीले आफ्नो मोडल अनुसार छुट्टा छुट्टै अफर ल्याएको छ । योजनामा कम्पनीले बेनेलीको सेफ्टी गियर, नगद छुट तथा ग्राहकको परिवारको कोरोना बीमा समेत गर्ने योजना ल्याएको छ । बेनेली लियन्सीनो २५० खरिद गर्दा ग्राहकले बेनेलीको ज्याकेट, १ बर्षको रोड ट्याक्स, ३ हजार बराबरको हेलमेट, बाइक कभर, रेनकोट जस्ता सुविधा पाउने छन् । लियन्सीनो २५० मोटरसाइकल खरिदकर्ताको परिवारको कोराना बीमा कम्पनीले गरिदिने छ । यसमा कम्पनीले एक्सचेन्ज तथा फाइनान्स सुबिधा समेत उपलब्ध गराउने जनाएको छ । यस्तै टीएनटी १५ र टीएनटी १५ आई खरिद गर्ने ग्राहकले दुबै मोडलमा नगद ८ हजार रुपैयाँ छुट पाउने छन् । यसमा १ बर्षको रोड ट्याक्स, ३ हजार बराबरको हेलमेट, बाइक कभर, रेनकोट जस्ता अफर रहेका छन् । यो मोटरसाइकल किन्ने ग्राहकको परिवारको कोराना बीमा कम्पनीले गरिदिने छ । यसमा समेत एक्सचेन्ज तथा शून्य प्रतिशत व्याजदरमा फाइनान्स सुबिधा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । मिनी मोटरसाइकल टीएनटी १३५ मा ग्राहकले नगद ३५ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । एक वर्षको रोड ट्याक्स, ३ हजार बराबरको हेलमेट, बाइक कभर, रेनकोट जस्ता अफर यसमा पनि पाउन सकिन्छ । यो मोटरसाइकल खरिदकर्ताको परिवारको कोराना बीमा कम्पनीले गर्ने छ भने ९ वटा फ्रि सर्भिस कुपन तथा एक्सचेन सुबिधा दिने जनाएको छ । केटीएम बाइकमा ४० हजार छुट अस्ट्रियन मोटरसाइकल कम्पनी केटीएमको लागि नेपालको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी नयाँ स्कीम ल्याएको छ । कम्पनीले केटीएम २५० मोटरसाइकलमा नगद ४० हजार रुपैयाँ छुटको योजना सार्वजनिक गरेको हो । यस योजनमा केटीएमको ड्यूक २५० मोटरसाइकल खरिदगर्दा ४० हजार रुपैयाँ नगद छुट पाइने छ । बिएमडब्ल्यूका मोटरसाइकलमा ६५ हजार छुट बिएमडब्ल्यू मोटरसाइकलको नेपालको लागि आधिकारीक वितरक टर्क मोटर्सले ६५ हजार बराबरको छुट अफर सार्वजनिक गरेको छ । बिएमडब्ल्यू मोटरसाइकल किन्नको लागि सजिलै फाइनान्स तथा एक्सचेन्जको समेत सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । मोटरसाइकल किन्दा बिएमडब्ल्यूको एड्भान्स प्याकेजमा ज्याकेट, टाउजर, ग्लोबस् र विभिन्न एसोसरिजहरु अफर गरिएको छ । यी ग्याजेट्सको मूल्य करिब ६५ हजार रुपैयाँ हुने कम्पनीको भनाइ छ । अर्काे योजनामा हेल्मेट, बीमा र ३ वर्षसम्मको बीमा सुविधा कम्पनीले उपलब्ध गराउने छ । यो अफर पनि ६५ हजार रुपैयाँ बराबरकै हुने कम्पनीको भनाइ छ । भेष्पा र अप्रिलियाका स्कूटरमा नगद छुट भेस्पा र अप्रिलिया स्कूटरको नेपालका लागि अधिकारिक बिक्रेता दुगर्ड ब्रोदर एन्ड सन्स पनि नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले भेष्पा र अप्रिलियामा नगद ५ हजार रुपैयाँ छुट दिने जनाएको छ । साथै, भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुट म्याट, स्कुटर कभर, किरिङ जस्ता मर्चेन्टडाइज उपलब्ध गराउने जनाएको छ । यसको अलावा कम्पनीले नै दुई वर्षको सडक दस्तुर तिरिदिने योजना ल्याएको छ । पल्सर बाइक किन्न आधा ऋण पाइने, व्याज तिर्नु नपर्ने पल्सर मोटरसाइकल नेपालमै एसेम्बल गरी विक्री गर्दै आएको बजाजले पनि नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनमा पल्सर १५० मोटरसाइकल शून्य प्रतिशत व्याजदरदेखि नगद छुटसम्ममा खरिद गर्न सकिने छ । रेगुलर मोडलमा मोटरसाइकल खरिद गर्दा ग्राहकले १२ हजार रुपैयाँ छुट प्राप्त गर्ने छन् । शुन्य प्रतिशत व्याजदरमा मोटरसाइकल खरिद पाइने अर्काे स्कीम पनि छ । सम्बन्धित सामग्री सवारी साधन किन्न खोज्नेलाई सुवर्ण अवसरः मासिक ८ हजार ८ सय किस्तामै नयाँ कार, बाइक पुरै उधारोमा
आईएमएस ग्रुपले स्मार्टडोकोमा गर्याे लगानी
काठमाडाैं । आईएमएस ग्रुपले नेपाली इ-कमर्स प्लेटफर्म स्मार्टडोकाेमा लगानी गरेकाे छ । कम्पनीले विगत चार वर्षदेखि अधिकृत कम्पनीहरूबाट केवल जेनुवन सामानहरू अर्डर गर्न र केही घण्टामै ग्राहकको ढोकामा पुर्याउन सहज सुविधा प्रदान गर्दै नेपाली बजारमा काम गरिरहेको छ । यस कम्पनीको सुविधाहरुः जस्तै रिंगरोड भित्र निःशुल्क डेलिभरी, रिवार्ड पोइन्ट सिस्टम, स्मार्टडोको एक्सक्लूसिभ उत्पादनहरू, सजिलो रिटर्न पोलिसी, छुट कुपन, बहु भुक्तानी विकल्प, आदि हुन् जसका कारण स्मार्टडोको सबैभन्दा मनपर्ने अनलाइन साइटहरूमध्ये एक मनिन्छ । ‘नयाँ युग डिजिटल हुँदै गइरहेको साथसाथै स्मार्टफोन र अनलाइन क्षेत्रमा तीव्रगतिले विश्वव्यापी ई-कमर्समा ठूलो वृद्धि देखिएको छ त्यसैले आईएमएस ग्रुपले स्मार्टडोकोमा थप रुपमा लगानी गर्ने निर्णय गरेको छ । सम्पूर्ण विश्व महामारीको चपेटामा परिरहेको बेला ग्राहकहरु आक्रामक रूपमा अनलाइन शपिंगको प्रयोग गरिरहेको अवस्थामा हामीले निकट भविष्यमा ई-कमर्सको व्यवसाय फस्टाउदै गई रहेका देख्छौं । तसर्थ, कम्पनीले हालको आवश्यकताहरू सम्बोधन गर्न र डिजिटल वर्ल्डको साथ जारी राख्न एक क्लिक समाधान प्रदान गर्नका लागि स्मार्टडोकोमा लगानी गर्ने निर्णय गरेको छ ।’ आईएमएस ग्रुप अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले भने । उनले भने- ‘हाम्रो प्राथमिक उद्देश्य, स्मार्टडोको को ग्राहक अनुभवमा उल्लेखनीय बृद्धि गर्नु हो । हामी ग्राहकहरूको सकारात्मक र नकारात्मक प्रतिक्रियाबाट धेरै सचेत छौं । हाम्रो प्रमुख प्रयास ग्राहकहरूका जिज्ञासाहरुलाई सम्बोधन गर्नु र निर्देशित गर्नु हो । थप रूपमा हामी दुबै वेबसाइट र मोबाइल एप्लिकेशनलाई पुनः सुधार गर्दैछौं ताकि स्मार्टडोको प्रयोगकर्ताहरूलाई सहज र आकर्षक ईन्टरफेसको अनुभव होस् । साथसाथै स्मार्टडोको पुनः ब्रान्डिङ्ग गर्नको लागि हाम्रो शुरुवाती चरणको रूपमा स्मार्टडोकको नयाँ लोगो प्रस्तुत गर्न चाहन्छौं । हामीलाई पूर्ण विश्वास छ कि हाम्रा रहीरहेका र नयाँ ग्राहकहरूलाई सन्तुष्टि प्रादन गर्न सक्नेछौं ।’
स्वदेश फर्केका युवालाई चार प्रतिशतमा सहुलियत ऋण दिने
कास्की । कोभिड-१९ का कारण रोजगार गुमाएर स्वदेश फर्केकालाई लक्षित गर्दै कास्कीको रुपा गाउँपालिकाले युवा स्वरोजगार कार्यक्रममलाई प्राथमिकता दिएको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले नीति तथा कार्यक्रम र बजेटमार्फत कोरोना महामारीका कारण रोजगार गुमाएर स्वदेश फर्किएका युवालाई लक्षित गरेर स्वरोजगार बनाउने र उद्यम गर्न चाहनेलाई सहुलियत ऋण दिने नीति ल्याएको बताए । उनले वैदेशिक रोजगारबाट फर्केका युवालाई स्वदेशमै स्वरोजगार बन्ने वातावरण सिर्जना गर्ने कार्यक्रमलाई जोड दिएर युवालाई चार प्रतिशतमा सहुलियत ऋण प्रदान गरिने बताए । गाउँपालिकाले युवा तथा स्वरोजगार शीर्षकमा एक करोड ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । सात वडा रहेको गाउँपालिकामा करिब चार हजार ५०० घरधुरी छन् भने २२ हजार जनसङ्ख्या रहेको छ । गाउँपालिकाले घरघरमा गएर वैदेशिक रोजगारबाट फर्कन चाहनेको तथ्याङ्कसमेत सङ्कलन गरेको छ । एक हजार ८८१ युवा दशैँसम्ममा स्वदेश फर्कन चाहेको तथ्याङ्क गाउँपालिकासँग छ । विदेशबाट आएका ६०० र स्वदेशका ४०० गरी करिब एक हजार जनालाई युवा स्वरोजगार कार्यक्रममार्फत सहुलियत ऋण प्रदान गर्ने गृहकार्य गाउँपालिकाको छ । उनीहरुका लागि पशुपालन, कृषि, साना उद्योग र घरेलु उद्योगमा ऋण प्रदान गरिनेछ । गाउँपालिकाले आगामी वर्षलाई कृषि वर्षका रुपमा मनाउने तयारीका साथ कार्यक्रम अगाडि सारेको छ । कृषि वर्षका लागि रु एक करोड १६ लाख बजेट विनियोजन गरिएको छ । गाउँमा उत्पादिन कृषिउपज कृषि एम्बुलेन्समार्फत निःशुल्करुपमा बजारमा पुर्याउने, फलफूल तथा तरकारीको बिरुवा सहज बनाउने, एक वडा एक नर्सरी स्थापना गर्ने साथै एक घर एक करेसाबारी कार्यक्रम अघि सारेको छ । गाउँपालिकाले कृषकको सहजताका लागि घरघरमा मोटरसाइकलबाट प्राविधिक सेवासमेत पुर्याउँदै आएको छ । त्यसैगरी पशुपालनमा सहुलियत ऋण, उन्नत जातको पशुपालनका लागि कृत्रिम गर्भाधानमा शतप्रतिशत अनुदान दिने कार्यक्रम सार्वजनिक गरेको अध्यक्ष ओझाले जानकारी दिए । पशुपालन क्षेत्रका लागि गाउँपालिकाले ९४ लाख रूपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले हालै आव २०७७/७८ का लागि ४३ करोड १६ लाख ८१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालूतर्फ पाँच करोड एक लाख २४ हजार रूपैयाँ र पूँजीगततर्फ १८ करोड ८० लाख २४ हजार रूपैयाँ विनियोजन गरेको अध्यक्ष ओझाले जानकारी दिए । रासस
ईपानमा नयाँ अनुहार र संस्थापनको भिडन्तः कस्ले मार्ला बाजी ?
काठमाडौं । हालसम्म सर्वसम्मत रुपमा कार्यसमिति चयन हुँदै आएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (ईपान) को निर्वाचन यो पटक भने दुई धारमा विभाजित भएको छ । संस्थापन पक्षले नयाँ अनुहारहरुलाई वेवास्ता गरेको भन्दै यस पटक अर्को प्यानलसहित नयाँ अनुहार अर्थात नव जलविद्युत उद्यमीहरु फरक समूह खडा गरेर निर्वाचनको मैदानमा उत्रिएका हुन् । सुरुमा अध्यक्षको लागि चार जना उम्मेदवार उठेका थिए । जसमा वर्तमान कार्यसमितिका उपाध्यक्ष कुमार पाण्डे, कृष्ण आचार्य, सदस्य गणेश कार्की र सुर्य अधिकारी रहेका थिए । विस्तारै सहमतिको वातावरण बनेपछि तीन जना (कुमार,कृष्ण र गणेश) ले एेक्यवद्धता जनाए । तर, त्यसमा हालका अध्यक्षका उम्मेदवार सुर्यप्रसाद अधिकारीले भने सहमति जनाएनन् । उनले नयाँ बन्ने समितिमा नयाँ उद्यमीलाई प्राथमिकता नदिएकाे भन्दै चुनौतीका साथ छुट्टै समूह खडा गरे र निर्वाचनका लागि उम्मेदवारी घाेषणा गरे । उनले निर्वाचनको लागि एक छुट्टै समूह घोषणा गरेसँगै निर्वाचन दुई धारमा बाँडिएको हो । बिचमा सहमतिका लागि विभिन्न अनौपचारिक प्रयास गरेपनि ति प्रयासहरु सफल भएनन् । भोलि अर्थात सोमबार ईपानको निर्वाचन हुँदैछ । हालसम्म दुई धारमा विभाजित नभएको संस्थाको अध्यक्षमा कसले बाजी मार्छ भन्ने कुरा भने हेर्न बाँकी नै छ । निर्वाचनमा एक समूह संस्थापनतर्फबाट छ भने अर्को नयाँ जलविद्युत उद्यमी अर्थात सुर्यप्रसाद अधिकारी तर्फको रहेको छ । अधिकारी बाराही हाइड्रो पावर कम्पनीका अध्यक्ष तथा रुग्ण जलविद्युत आयोजनाका संयोजक हुन् । को-को छन् उम्मेदवार ? संस्थापन पक्षबाट कृष्ण आचार्यको समूहमा उपाध्यक्षमा गणेश कार्की, कुमार पाण्डे र आषिश गर्ग उम्मेदवार बनेका छन् । पाण्डे अहिले पनि उपाध्यक्ष छन् भने गर्ग वर्तमान महासचिव हुन । कार्की कार्यसमिति सदस्य छन् । यस्तै, महासचिवमा मोहन डाँगी उम्मेदवार बनेका छन भने भीम पाठक, राम आचार्य र आनन्द चौधरी सचिवका लागि उम्मेदवार बनेका छन् । कोषाध्यक्षमा सुधिर तिमल्सिनाले उम्मेदवारी दिएका छन् । खुला सदस्यहरुमा नरेन्द्र पन्त, भरत खड्का, प्रकाश श्रेष्ठ, मोहन कार्कीले उम्मेदवारी दिएका छन् । महिला आरक्षण सदस्य समूहमा कविता कँडेल र इन्दिरा पन्त उम्मेदवार बनेका छन् । अधिकारीको समूहबाट उपाध्यक्षहरुमा उत्तम लामा, बलराम खतिवडा, भरत खत्री, महासचिव गोरे शेर्पा, सचिवहरुमा भरत लामिछाने थापा, सुमन कुमारी जोशी, प्रकाश दुलाल, कोषाध्यक्ष मिथुन सिपी पौडेल उम्मेदवार छन् । खुला सदस्यहरुमा विक्रम विष्ठ, जीतमान शेर्पा, अर्जुनप्रसाद पौडेल, इशा श्रेष्ठ र आरक्षिण महिला सदस्यमा अविज्ञा मल्ल, केशाङ विकी लामाले उम्मेदवारी दिएका छन् । यसअघि ९ सदस्यीय कार्यसमिति चयन गर्ने अभ्यास भएपनि अहिले विधान संशोधन गरी १५ सदस्यीय बनाइएको छ । इपानमा १ सय ७६ जना मतदाता रहेको छन् । ईपान कार्यसमिति पाँचौं कार्यकालसम्म सर्वसम्मतले नेतृत्व तथा कार्यसमिति चयन हुँदै आएको थियो । छैटौ कार्यकालका लागि पनि सहमतिको प्रयास गरिएको थियो । तर, संस्थापन पक्ष आफ्नै स्वार्थ अनुसार अगाडि बढेपछि बाध्य भएर नयाँ प्यानल बनाउनु परेको अध्यक्षका प्रत्यासी अधिकारीले बताए । के कस्ता छन् एजेण्डा ? उर्जा उद्यमीप्रति हेरिने दृष्टिकोणमा परिवर्तन ल्याउनु मेरो कर्तव्य हुनेछः कृष्ण आचार्य संस्थापन तर्फबाटका अध्यक्षका उम्मेदवार कृष्ण आचार्यले उर्जा क्षेत्रमा लगानी गरिरहेका व्यवसायीहरुप्रति हेरिने दृष्टिकोणमा परिवर्तन ल्याउनु आफ्नो पहिलो कर्तव्य भएको बताएका छन् । निजी क्षेत्रबाट करिब ३ हजार मेगावाटको विद्युत उत्पादन, निर्माणधीन र अध्ययनको क्रममा रहेकोले त्यसमा लगानी गर्ने व्यवसायीप्रति हेरिने व्यवहारमा परिवर्तन ल्याउनु पर्ने उनको भनाई छ । आफुले सहमति र समन्वयमा जाऔं भने पनि त्यस्तो नमानेपछि निर्वाचनमा होमिनुको विकल्प नभएको उनले बताए । ‘जलविद्युतमा हाम्रो धेरै लगानी छ, निजी क्षेत्रबाटै झण्डै ३ हजार मेगावाटको जलविद्युत उत्पादन, निर्माणाधीन र अध्ययनको क्रममा छन्, यसमा लगानी गर्ने व्यवसायीहरुप्रति गरिने व्यवहार र हेरिने दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ,’ उनले भने । यस्तै, देश बनाउने पहिलो क्षेत्र उर्जा भएकाले यसको विकासका लागि आफ्नो समूहको महत्वपूर्ण भूमिका रहने उनको भनाई छ । ‘सरकार नपुगेको क्षेत्रमा निजी क्षेत्र पुगेर भौतिक पूर्वाधार निर्माण गर्छौ, उर्जा जस्तो पारदर्शी वयवसाय अन्य केही छैन, यसमा लगानीको सुनिश्चितता गर्न भूमीका खेल्छौं,’ उनले भने । उर्जा क्षेत्रको विकासका लागि सरकारसँग सहजिकरण गरी रुग्ण जलविद्युत आयोजनाहरुको समस्याहरुको समाधानका लागि आफ्नो टीम अगाडि बढ्ने उनले बताए । जलविद्युत क्षेत्रमा थुप्रै समस्या भएकोले ती समस्याहरुको समाधानका लागि प्रतिवद्ध भएर लाग्ने उनको भनाई छ । मेरो उम्मेदवारी परिवर्तन र समृद्धिका लागि होः सुर्यप्रसाद अधिकारी इपान अध्यक्षका अर्का उम्मेदवार सुर्यप्रसाद अधिकारीले आफ्नो उम्मेदवारी उर्जा क्षेत्रको सम्वृद्धि र परिवर्तनको लागि भएको बताएका छन् । उर्जा क्षेत्रमा देखिएका विभिन्न समस्या र चुनौतीहरुलाई सहज ढंगले समाधान गर्नतर्फ आफु नेतृत्वको टीम लागि पर्ने उनले बताए । ‘अहिले उर्जामा परिवर्तनको आवश्यक छ, यसका लागि हाम्रो टीम प्रतिवद्ध भएर लाग्नेछ, ऊर्जा क्षेत्रमा जो नयाँ लगानीकर्ता आउन चाहन्छन् उनीहरुलाई प्रोत्साहनका लागि हाम्रो साथ र सहयोग रहेनछ,’ उनले भने । उनको प्यानलको एजेण्डामा उर्जा क्षेत्रको परिवर्तन गर्नु नै मुख्य विषय रहेको छ । ‘पेशागत र मर्यादित ढंगले विश्वस्त भएर लगानी गर्ने वातावरण सिर्जना गराउन हाम्रो टिमको भूमीका महत्वपूर्ण हुनेछ, उनले भने,‘हाम्रो टीमले उर्जा क्षेत्रको विकासका लागि सबै कार्यसमिति सदस्यहरुलाई फरक–फरक किसिमको एजेन्डाको जिम्मेवारी दिएर अगाडि बढ्नेछ र समस्याको समाधान गर्नेछ ।’ यस्तै १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यमा साथ दिएर उर्जाको विकास गर्ने र रुग्ण आयोजनाहरुको राहतका लागि हाम्रो टिम प्रतिवद्ध भएर लाग्ने उनको भनाई छ । यस्तै, स्वदेशमा उत्पादित उर्जा खपतका लागि र सक्षम उर्जा उद्यमी बनाउनका लागि आफ्नो समूह लागि पर्ने उनको भनाई छ । जलविद्युत क्षेत्रलाई जोगाउनु, सरकारले निजी क्षेत्रलाई उपेक्षा गरेको, लाइसेन्स खारेज गरेकोले त्यसका विरुद्ध इपान उतार्नको लागि आफ्नो उम्मेदवारी आवश्यक भएको अधिकारीले बताए । वर्तमान कार्यसमितिले काम गर्न नसकेकोले नयाँ टिम बनाउनु परेको उनको दावी छ ।
प्रधानमन्त्री ओली हटाउनेबारे सोच्नुपनि अपराध हो, पाप लाग्छ: राज्यमन्त्री दुगड
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु वा हटाउनेबारे सोच्नुपनि अपराध हुने र पाप लाग्ने टिप्पणी गरेका छन् । उनले भने,‘अहिले प्रधानमन्त्रीको विकल्प सोच्नु वा हटाउनेबारे सोच्नु दोष हो, यो अपराध हो । पाप लाग्छ ।’ आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राज्यमन्त्री दुगडले वर्तमान प्रधानमन्त्री ओलीले देश र जनताको हितमा एउटा संकल्प र अठोटका साथ काम गरिरहेको जिकिर गरे । ‘वर्तमान सरकार पारदर्शी छ, केपी ओलीजस्तो एउटा भिजनरी लिडर देशको प्रधानमन्त्री पाउनु देश र हामी नेपाली जनता सबैको लागि सौभाग्यको कुरा हो ।’- दुगडले भने । उनले सरकारको विरोध गर्ने वा आलोचना गर्नेहरुले जे कुरामा पनि आलोचना गर्ने गरेको टिप्पणी गरे । उनले भने,‘हेर्नुहोस, आलोचनामात्रै गर्ने काम भएकाहरुसँग त सरकारको बारेमा आलोचना गर्न फेहरिस्त नै हुन्छन् । सरकारले शतप्रतिशत सन्तुष्ट गर्न सक्दैन् । तर, देश र जनताको हितमा हामीले काम गरिरहेका छौं ।’ मन्त्री दुगडले अहिलेको अवस्थामा प्रधानमन्त्री बदल्ने काम गर्न नहुने स्पष्ट पारे । उनले भने,‘प्रधानमन्त्री बदल्ने काम दुर्भाग्यपूर्ण हुन्छ । प्रधानमन्त्री, राष्ट्रपति वा मन्त्रीहरु बदलेर देश बन्दैन् । प्रधानमन्त्री हट्दैमा देश बन्छ भनेर कसले ग्यारेन्टी लिन्छ ? सम्माननीय प्रधानमन्त्रीज्यूले क्वालिटीको काम गर्नुभएको छ । भ्रष्टाचार निर्मूल पार्छु भन्नुभएको छ । प्रमाणसहित आए उहाँले कारबाही गर्छु भनेर सार्वजनिक रुपमै प्रतिबद्धता जनाउनुभएको छ ।’ उनले प्रधानमन्त्री ओलीको विकल्प नभएको जिकिर गरे । उनले भने,‘उहाँको नेतृत्वको वर्तमान सरकारले स्मुथ्ली काम गरिरहेको छ । यस्तो बेलामा सानातिना कुरामा अल्झिनु हुँदैन् ।’ वर्तमान प्रधानमन्त्री ओलीमा देश बनाउने संकल्प रहेको र सोहीअनुसार आफ्नो भूमिकामा खरो उत्रिररहेको पनि उनको भनाई छ । ‘नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मतीमा पारित गराउने कुरा हेर्नुहोस, उहाँले पूर्ण बहुमतले पारित गराउनुभयो, सबै दलको यसमा समर्थन रह्यो, यो आफैंमा ऐतिहासिक काम हो, उहाँ कसैसँगपनि डराउनुभएन, उहाँले दृढ संकल्प लिनुभयो ।’-उनले भने । नेपालले संसदबाट नयाँ नक्सा पारित गरेपछि भारतले नेपालसँगको सम्बन्ध टुटाउनेबारे भ्रामक कुरा बाहिर आएको पनि उनले टिप्पणी गरे । दुगडले भने- ‘भारतले कहिल्यैपनि त्यस्तो काम गर्दैन् । नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ । सानो-सानो कुराले दुई देशबीचको सम्बन्ध टुट्दैन् । नाकाबन्दी लगाउँछ भन्नु भ्रामक कुरा हो ।’ नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्धमा जनस्तरमा द्धेष उत्पन्न गराउने काम कतैबाट पनि हुन नहुने उनको आग्रह छ । उनले नेपाल र भारतबीचको सम्बन्ध बिगार्ने काम गर्न नहुने जिकिर गरे । दुई देशबीच धार्मिक, सांस्कृतिक, सामाजिक समानता भएकोले द्धिपक्षीय सम्बन्धमा खलल वा आँच पुर्याउने काम गर्न नहुनेतर्फ उनले सचेत गराए । उनले भारतसँगको सिमा विवाद समाधान गर्न वार्ता हुने स्पष्ट पारे । उनले भने,‘निश्चय नै भारतसँग वार्ता हुन्छ । वार्ताको विकल्प छैन् । अहिलेपनि वार्ता भैराखेको छ । केही स्तरमा वार्ता अहिलेपनि भैराखेको छ । उच्चतम स्तरमा, प्रधानमन्त्रीको तहबाटै वार्ता हुनुपर्छ ।’ नेपाल कहिल्यैपनि कसैको अधिनमा नबसेको र सधैं स्वतन्त्र, अखण्ड र स्वाधिन देश भएको उल्लेख गर्दै आफूहरु कसैसँगपनि दबिएर नबस्ने उनले विश्वास दिलाए । सरकारप्रति जनताले असन्तुष्टि पोख्नु स्वभाविक भएको उनको तर्क छ । वर्तमान सरकार गठन भएको अढाई वर्ष पूरा हुन लागेको र सरकारप्रति जनताको ठूला-ठूला आशा र अपेक्षा रहेको उनले उल्लेख गरे । उनले भने,‘जनताले नेकपालई झण्डै दुई तिहाई बहुमत दिएका छन् । सरकारप्रति जनताको हाई एक्सपेक्टेशन हुनु स्वभाविक हो । ईतिहासमै पहिलोपटक नेकपालाई यो अवसर प्राप्त भएको छ । बलियो सरकारसँग जनताको अपेक्षा र आशा हुनु स्वाभाविक हो ।’ उनले सरकारले पनि आफ्नो तर्फबाट सकेको काम गरिरहेको सुनाए । उनले भने,‘आजको भोलि नै समृद्धि हाँसिल गर्न सकिँदैन । सरकारसँग जादुको छडी त छैन । तर, सरकारले राम्रो काम गरिराखेको छ । स्टेप-बाई-स्टेप सरकारले देश र जनतासामू आएका चूनौति र समस्याहरु समाधान गर्दै गैरहेको छ । केहीको त काम मात्रै सरकारको आलोचना गर्ने छ ।’ उनले सरकारको कामबाट के उद्योगी तथा व्यवसायीहरु खुशी छैनन् त ? भन्दै उल्टै प्रश्न गरे । उनले भने,‘हिजोजस्तो परम्परागत शैलीमा काम गर्ने कुरा परिवर्तन भएको छ । कालाबजारी र मूल्यवृद्धि रोकिएका छन् । सरकारले चूनौतिका बावजदुतपनि सकारात्मक काम गरिरहेको छ ।’ सरकारले कोरोना महामारीको संकटको बावजुद बजेटपनि सन्तोषजनक ल्याएको उनले दाबी गरे । उनले भने,‘बजेटले विकास निर्माणका कामलाई निरन्तरता दिएको छ । उद्योग, धन्दा, कलकारखाना जारी छन् । बजेटमा देश समृद्ध बनाउने परिकल्पना छ ।’ तर, केहीले बजेटमाथि पनि दोषारोपण गरिरहेको उनको गुनासो छ । ‘जस्तै राम्रो बजेट आएपनि ठीक छैन भन्ने प्रवृत्ति छ, यो गलत हो । ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्नुपर्छ ।’- उनले थपे । उनले मुलुकले शताब्दीमा नै नभोगेको कोरोना महामारीको संकट अहिले झेलिरहेको र यस्तो महासंकटको बेलामा पनि सन्तुलित बजेट ल्याईएको बताए । उनले बजेटमा विद्युतीय गाडीमा करको दायरा बढाएको विषय र चकलेटको विषयमा यो समसामियक भएन कि भनेर पनि गुनासो आएको उल्लेख गर्दै विद्युतीय गाडीको सवालमा विलाषीका गाडीमा मात्रै ट्याक्स बढाईएको स्पष्ट पारे । तर, यसमा पनि सरकारले संशोधन गर्नसक्ने उनले विश्वास दिलाए । नेपालमा विद्युत बढि हुने र बढि भएको बिजुली भारत, बंगलादेशलाई बिक्री गर्नुपर्ने बाध्यता सुनाउँदै यस्तो अवस्थामा नेपालले विद्युत खपतलाई बढाउनुपर्नेमा उनले जोड दिए । उनले भने,‘हामीले अब विद्युत खपत बढाउनुपर्छ । पेट्रोलियम पदार्थमा निर्भरतालाई कम गर्नुपर्छ । विद्युतीय सवारीमा लगाईएको कर संशोधन गर्न सकिन्छ, यो बजेट त यही आर्थिक वर्षको लागि हो नि, अर्को वर्ष पनि बजेट आउँछ । त्यतिवेलापनि एमेन्डमेन्ट गर्न सकिन्छ । कहाँ-कहाँ कमिकमजोरी छ, त्यो सरकारले सच्याउँछ । त्यसको लागि हामी अहिले छलफल र सरसल्लाह गरिरहेका छौं । सरकार रिजिड छैन् ।’ यसबारेमा आफूले पनि अर्थमन्त्री डा. युवराज खतिवडा र अर्थसचिवसँग छलफल तथा कुराकानी गरिराखेको दुगडले जनाए । सरकारले उद्योगी तथा व्यवसायीहरुका समस्या समाधानको लागि काम गरेको पनि दाबी गरे । उनले भने,‘कर तिर्ने र बैंकको ब्याज तिर्ने समय बढाईदिएको छ । तर, सरकारलाई पनि राजश्व आवश्यक छ । अहिले आर्थिक गतिविधि बन्द छ । सरकारले राजश्व बढाउने सोचेको छ ।’ उनले प्रधानमन्त्री ओलीले देशमा रेल र पानीजहाज ल्याउँछु भन्दा यसलाई मजाक बनाईएकोमा गुनासो पोखे । उनले भने,‘उहाँले रेल र पानीजहाज ल्याउँछु भन्नुयो, अहिले कामपनि भैराखेको छ । बेसारको महत्वबारे एक ठाउँमा स्पिच दिनुभएको थियो, तर मजाक उडाउने काम भैराखेको छ ।’ उनले सरकारले गरेका राम्रा कामको प्रशंसा गर्न कञ्जुस्याँई भएको पनि आरोप लगाए । उनले भने,‘आलोचना गर्नुहोस । हामी आलोचना सुन्छौं । कमिकमजोरी भएका छन् भने सच्याउँछौं । तर, सरकारले गरेका राम्रा कामको पनि प्रशंसा गर्न कञ्जुस्याई गर्नुभएन ।’ उनले कोरोना नियन्त्रण तथा रोकथामका लागि पनि सरकारले राम्रो काम गरेको जिकिर गरे । क्वारेन्टिनहरु भद्रगोल भएको भन्ने प्रश्नमा उनले ईतिहासमै नेपालले पहिलोपटक यस्तो महामारीको सामना गरेकोले अलि अलि व्यवस्थापनमा कमजोरी भएको स्विकारे । उनले सरकारले राम्रो काम गरेकै कारण कोरोनाबाट नेपालमा मानवीय क्षति कम भएको पनि दाबी गरे । उनले सरकार अहिले कोरोनाले निम्त्याएको संकट समाधानको लागि दत्तचित्त भएर काममा केन्द्रित भैराखेको सुनाउँदै रोजजारी सिर्जना गर्नुपर्ने, अर्थतन्त्रलाई गति प्रदान गर्ने लगायतका महत्वपूर्ण काम गर्नुपर्ने सुनाए । सरकारको तर्फबाट काम गर्दैगर्दा केही कमिकमजोरी भए त्यसलाई सच्याईने पनि उनले विश्वास दिलाए । एमसीसी पारित हुनुपर्छ भनेर प्रधानमन्त्री ओलीले भनेको स्मरण गराए । तर, यसबारेमा अहिले व्यापक छलफल भैराखेको पनि उनले स्पष्ट पारे । ‘कसैले एमसीसी हुबहु पारित गर्न हुँदैन् भनेर भनिरहेका छन्, कोही पारित गर्नुपर्छ भनिरहेका छन् । एमसीसीजस्तो परियोजना नेपालको समृद्धिको लागि आवश्यक छ । हामीलाई ट्रान्समिशन लाईन बनाउनको लागि यो परियोजना राम्रो हुन्छ । एमसीसीलाई लिएर बाहिर भएका विरोध तथा टिकाटिप्पणी र सल्लाहलाई सरकारले सुनिरहेको छ । हाम्रो पार्टीमा पनि छलफल भैराखेको छ । प्रधानमन्त्रीले पनि एकलौटी रुपमा पास गरौं भनेर भन्नुभएको छैन् ।’ उनले एमसीसी पारित गर्नुपर्छ भन्ने जनमत नै आफूले पाएको सुनाए । उनले केही कुरा संशोधन गरेर भएपनि यो पारित हुने आफ्नो विश्वास व्यक्त गरे । ‘यो नेपालको विकास र समृद्धिको लागि उचित प्रोजेक्ट हो । स्थायी कमिटीको बैठकपछि प्रधानमन्त्री निर्णायक मोडमा पुग्नुहुन्छ । उहाँले यसबारेमा संयमततापूर्वक निर्णय लिनुहुनेछ ।’- दुगडले भने ।
कतिले भरे एनआईसी एशिया लघुवित्तको सेयर ?
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) भर्ने म्याद आज(आइतबार) बाट सकिएको छ । असार १० गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा कूल ४ लाख १२ हजार ३ सय ३२ जना आवेदकले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार साँझ साढे ५ बजेसम्ममा उनीहरूले २ करोड २९ लाख ६८ हजार ८ सय ७० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । जुन संस्थाले सर्वसाधरणमा माग गरेकाे भन्दा ५.१७ गुणा बढी हाे । सो अवधिसम्ममा २ अर्ब २९ करोड ६८ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन परेकाे छ। उक्त डाटामा आश्वा सदस्यका बैंकहरुबाट केहि थपिन सक्ने क्यापिटलले जानकारी गराएको छ । संस्थाले एक सय अंकित मूल्य रहेको ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेकाे हाे । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो । जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिनेछ संस्थाले जनाएको छ । संस्थाले बुधबारदेखि ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । इच्छुक लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन पाउने व्यवस्था रहेकाे थियाे ।
कोभिड-१९ः विश्वभर एक सय ५८ नेपालीको मृत्यु
काठमाडाैं । कोभिड-१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीली सङ्क्रमण मुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा सङ्क्रमण भेटिएको छ । एनआरएनएले सम्बन्धित देशस्थित नेपाली दूतावास र नियोगसँगको समन्वयमा ११ हजारभन्दा बढी नेपालीको उद्धार गरी स्वदेश फर्काएको जनाएको छ । साथै उक्त संस्थाले ८७ वटा शव पनि नेपाल पठाएको बताएको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेनलगायत १३ देशमा रहेका नेपालीको कोभिड-१९ का कारण मृत्यु भएको तथा डेनमार्क, नेदरल्यान्डस्, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्यान्ड, रुस, न्युजिल्यान्ड, क्यानाडा, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, स्विडेन, फ्रान्स, बेल्जियम, दक्षिण कोरिया, मलेसियालगायत १९ देशमा रहेका नेपाली सङ्क्रमणबाट मुक्त भएका छन् । रासस