भारतमा कोभिड–१९ बाट एकैदिनमा झण्डै २० हजार संक्रमित
काठमाडाैं । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या प्रतिदिन बृद्धि हुदै गएको छ । विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा संक्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको देखिएको छ । कतिपय देशहरुमा सङ्क्रमितको सङ्ख्या घटे पनि भारतमा भने झन् झन् बढ्दै गइरहेको भन्दै स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । सरकारी अधिकारीहरुले आइतबार विहान दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ९ सय ६ जना सङ्क्रमित भएका हुन् । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या ५ लाख २८ हजार ८ सय ५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या २ लाख ३ हजार ५१ पुगेको छ । त्यसैगरी कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भई घर फर्केकाहरुको सङ्ख्या तीन लाख ९ हजार ७ सय ३१ पुगेको अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसका कारण ४ सय १० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै कुल मृतकको सङ्ख्या १६ हजार ९५ पुगेको जनाइएको छ । कोरोना भाइरसबाट सवैभन्दा प्रभावित महाराष्ट्र प्रदेशमा मात्रै अहिलेसम्म १ लाख ५९ हजार १ सय ३३ जना सङ्क्रमित भएका छन् । त्यसैगरी केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा भने ८० हजार १ सय ८८ जना सङ्क्रमित भएको जनाइएको छ । रासस
काठमाडौं बाहिर जान खोज्दै हुनुहुन्छ? सवारी पासको नयाँ ढाँचा यस्तो छ
काठमाडौं । काठमाडौं बाहिर जानेहरुका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले नयाँ ढाँचाको सवारी पास उपलब्ध गराने भएको छ । असार १ गते देखि उपत्यकाभित्रका सबै सवारी पास खारेज भए पनि बाहिरी जिल्ला जानको लागि कार्यालयले पास उपलब्ध गराइरहेको थियो । बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म पासका लागि निवेदन सङ्कलन गर्ने र दिउँसो २ः३० बजेपछि पास वितरण गर्ने गरिरहेको छ ।
विश्वविद्यालयको परीक्षाः आन्तरिक मूल्यांकनको आधारमा नतिजा निकाल्ने तयारी !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहका समेस्टर प्रणालीका परीक्षाहरुको नतिजा पनि आन्तरिक मूल्यांकनबाटै गरिने तयारी भइरहेको बताइएको छ । कोरोना भाइरसले उत्पन्न लकडाउनको कारण प्रभावित स्नातकोत्तर तहका परीक्षाहरुको नतिजा आन्तरिक मूल्यांकनबाट गर्ने तयारी भइरहेको स्रोतले बताएको छ । कोरोना भाइरसको कारण सञ्चालन हुन नसकेको सेमेस्टर प्रणालीका परीक्षाहरु आन्तरिक मूल्यांकन र प्रि-बोर्ड परीक्षाको आधारमा नतिजा निकाल्ने तयारी भइरहेको हो । स्रोतका अनुसार त्रिवि अन्तर्गका विभिन्न संकायका विभागहरुले कलेजले लिएको आन्तरिक परीक्षाको आधार मानेर विद्यार्थीहरुको मूल्यांकन गरी नतिजा नकाल्नको लागि त्रिविमा पत्र पठाइसकेका छन् । कतिपय सेमेस्टरहरुको परीक्षा गरिसक्नु पर्ने भएपनि कोरोनाको कारण परीक्षा लिन नपाएको र अब परीक्षा लिन धेरै ढिलो भइसकेकोले आन्तरिक मूल्यांकनको आधारमा नतिजा निकाल्नु पर्नेसहितको पत्र उनीहरुले त्रिविलाई पठाएका हुन् । यस्तै, विश्वविद्यालय अनुदान आयोगले कोरोना भाइरसको सुरक्षा प्रोटोकल कायम गरी विश्वविद्यालयका स्थगित परीक्षा लिन सिफारिस गरेको छ । आयोगले परीक्षा लिन सम्भव नभएका विश्वविद्यालयले विद्यार्थीलाई माथिल्लो सेमेस्टर वा वर्षमा पठनपाठन कायम गरी दुईवटा सेमेस्टरको परीक्षा एकैपटक लिन सिफारिस गरेको छ । त्रिविका अनुसार विभिन्न संकायमा विभागबाट आएका पत्र र आयोगले गरेको सिफारिसका आधारमा निर्णय हुने बताएको छ । सिफारिसमा कोभिडको तयारी स्तर, परीक्षाको आवासीय स्थिति र महामारीको स्थानीय स्थिति विस्तृत रूपमा अवलोकन गरेर मात्र परीक्षा सञ्चालन गर्नुपर्ने उल्लेख गरेको छ । निर्देशिकामाा परीक्षा सञ्चालकका लागि अन्तिम वर्षका अथवा अन्तिम सेमेस्टरका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ । तर, स्नातक तह तथा स्नातकोत्तर तहका पाठ्यक्रममा तोकिएका मौखिक परीक्षाहरू अनलाइन मिटिङ एप्समार्फत सञ्चालन गर्न सकिने बताइएको छ । त्रिभुवन विश्वविद्यालयका रजिष्टार पेसल दाहालले सकेसम्म परीक्षा लिने र सम्भव नभएमा शैक्षिक सत्र खेर नजाओस् भनेर सेमेस्टर स्तरोन्नति गर्न सिफारिस आएको बताएका छन् । विद्यार्थीको समय खेर नजाने किसिमले अगाडि बढ्ने उनले बताए । गत चैतमै हुनु पर्ने स्नातकोत्तरका परीक्षाहरु हालसम्म हुन नसकेकोले अब चाँडै नै यसको बारेमा सोच्नु पर्ने उनको भनाई छ । चैतमा व्यवस्थापन संकायका स्नातकोत्तर तहमा दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेका थिए भने एमए दोस्रो र चौथो सेमेस्टरको परीक्षा सुरु हुन दुई दिन मात्र बाँकी थियो । यसबाट स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थी प्रत्यक्ष रूपले प्रभावित भएका छन् । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षाका लागि अझै केही महिना कुर्नुपर्ने अवस्था रहेको बताए । विश्वविद्यालयले सेमेस्टर प्रणालीका माध्यमबाट पठनपाठन हुने र हाल अनलाइन माध्यमबाट कक्षा सञ्चालन भएका विद्यार्थीको परीक्षा कुन आधारमा सञ्चालन गर्ने भनेर अध्ययन भइरहेको उनको भनाई छ । सरकारले कोरोनाको सङ्क्रमण बढ्ने अवस्था देखिएपछि चैत ५ गते विश्वविद्यालयका सबै परीक्षा रोक्न निर्देशन गरेको थियो । सरकारको सो निर्देशनपछि विश्वविद्यालयले चैत ७ गतेबाट जारी परीक्षा स्थगन गर्ने निर्णय लिएको थियो ।
सिद्धार्थ इन्स्योरेन्सको सञ्चालकमा सुमित कुमार केडिया निर्वाचित
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको सञ्चालकमा सुमित कुमार केडिया निर्वाचित भएका छन् । असार १३ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट केडियालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो । यससँगै, नवनिर्वाचित सञ्चालक केडियाले आगामी ४ वर्षसम्म कम्पनीको आफ्नो जिम्मेवार सम्हाल्ने छन् । उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्ब ८६ करोड २१ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको अध्यक्ष केडियाले जानकारी दिए ।
बाह्रबिसेमा पिसिआर उपकरण मिलाइदिने आश्वासन
काठमाडाैं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत कोभिड–१९ को सङ्क्रमण रोकथाम गर्न पार्टी एवं व्यक्तिगत रुपमा स्थानीय जनतालाई सहयोग गर्नेक्रम जारी राखेका छन् । उनले शनिबार सिन्धुपाल्चोक क्षेत्र नं १ स्थित बाह्रबिसेको अस्पतालमा पिसिआर प्रविधिको व्यवस्था मिलाइदिने प्रतिबद्धता जनाए । कोरोना रोकथाम र उपचारमा सरकारीस्तरबाट जनअपेक्षाअनुसार काम हुनु नसकेको भन्दै उनले नेपालमा कोरोना सङ्क्रमण देखिएको महिनौं बितिसक्दा पनि एक तिहाइ जिल्लामा पनि पिसिआर प्रविधिबाट स्वाब परीक्षण गर्ने व्यवस्था हुन नसकेकाले जनस्तरबाट समेत सक्रिय भूमिका खेल्नुपर्ने देखिएको बताए । उनले हालसम्म विदेशबाट भित्रिनेलाई उचित क्वारेन्टिनको व्यवस्था हुन नसकेको, सङ्क्रमणको आशङ्का भएकाहरुको स्वाब परीक्षण समयमा हुन नसकेको, कन्ट्याक्ट ट्रेसिङमा उचित ध्यान नगएको, समयमा आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता नभएको, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउने काम नभएको, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता देखिएको लगायतका कारणबाट कोरोनाको जोखिम बढेको आरोप समेत लगाए । पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहेका उनले यसअघि पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थासँग मिलेर जिल्लामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आम नागरिकलाई स्वास्थ्य सामग्री वितरण गर्दै आएकाे र सो कार्य अझै जारी रहेको बताए । साथै उनले आफ्नै पहलमा जिल्लाभरि ६ सय १३ जना स्वास्थ्यकर्मीको कोरोना बीमा गरेका थियो । साथै नेपालकै पहिलो कोरोनाबाट मृत्यु भएकी नौदिने सुत्केरी सावित्री तिमिल्सिना चालिसेका नवजात शिशुलाई पौष्टिक आहारका लागि १ लाख नगदको प्रबन्ध र १२ कक्षासम्मको अध्ययनमा सहयोग गर्ने एवं त्यसपछि रोजगारीको व्यवस्था मिलाइदिने घोषणासमेत गरेका थिए । अब एम्बुलेन्स चालक र नेपाल प्रहरीको कोरोना बीमा गरिदिने क्रममा रहेको उनले उल्लेख गरे । रासस
एनआईसी एशिया लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, हालसम्म कतिले भरे ?
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) मा आवेदन दिने आइतबार(आज) अन्तिम दिन रहेको छ । उक्त आईपीओमा माग भन्दा बढी आवेदन परेसँगै संस्थाले असार १४ गते नै निष्काशन बन्द गर्ने भएको हो । यससँगै इच्छुक लगानीकर्ताले आइतबार बैंकिङ् समयभित्रमा आवेदन दिन सक्नेछन् । हालसम्म ३ लाख ४१ हजार ७ सय ४५ जनाले संस्थाको सेयरमा आवेदन दिएका छन् । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार बिहान ११ बजेसम्ममा उक्त लगानीकर्ताले एक करोड ८८ लाख ४७ हजार ९ सय ८० कित्ता सेयर माग गरेका छन् । सो अवधिसम्ममा एक अर्ब ८८ करोड ४७ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । संस्थाले एक सय अंकित मूल्य रहेको ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेकाे हाे । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो । जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिनेछ संस्थाले जनाएको छ । संस्थाले बुधबारदेखि ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । इच्छुक लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन पाउने व्यवस्था रहेकाे थियाे ।
चन्द्रविनायक मन्दिर क्षेत्रको जग्गामा रजाइँ
काठमाडाैं । पशुपति क्षेत्र भित्र पर्ने काठमाडौं महानगरपालिका–७ चावहिलस्थित गणेशस्थानको जग्गा केही व्यक्तिको समूहले वर्षौँदेखि उपयोग गर्दै आएको छ । गणेशस्थान चौरसमेत भनिने करिब तीन चार रोपनी जग्गामा १ सय वटा पसल बनाएर चन्द्रविनायक पार्क व्यवस्थापन समाजले भाडा उठाउँदै आएको छ । विसं २०५४ देखि गैरसरकारी संस्थाका रुपमा स्थापना भएको समाजले मन्दिरको जग्गा उपयोग गर्दै आएपनि पशुपति क्षेत्रका मठमन्दिर र तिनका नाममा भएको जग्गाको संरक्षण गर्ने कानूनी अधिकार पाएको पशुपति क्षेत्र विकास कोषको भने यसतर्फ ध्यान नै नगएको स्थानीयवासीको गुनासो छ । पार्क व्यवस्थापन समाजमा चावहिलका स्थानीयवासीले समेत सदस्यता पाउँदैनन् । समाजका अध्यक्ष अजव श्रेष्ठ २०५४ साल अघि त्यो जग्गामा रुख रोप्ने ८५ जनामात्र समाजको सदस्य रहन सक्ने विधान रहेको स्वीकार्नु हुन्छ । जुन प्रावधान सङ्घसंस्था ऐन २०३४ विपरीत रहेको स्थानीयवासीको भनाइ छ । पार्क व्यवस्थापन समाज नामाकरण गरिएपनि यहाँ कुनै उद्यान छैन । ८५ वटा रुख रोपेर ८५ जना सदस्य रहेको भनिए पनि हाल यहाँ त्यति सङ्ख्यामा रुखसमेत छैन । वरिपरि पसल बनाइएको चौरको बीचमा स्थानीय युवाले फूटबल खेल्ने गरेका छन् । उद्यानका नाममा संस्था खोलेर १ सय वटा पसल व्यवस्थापनमा काम गरेको देखिँदा समेत सरोकार भएका कुनै निकायको पनि ध्यान गएको छैन । तरकारी व्यवसायीलाई ५० र कपडा व्यवसायीलाई ५० वटा पसल मासिक भाडामा दिइएको छ । तरकारीलाई दिइएको एउटा पसलको मासिक १ हजार ५ सय र कपडालाई भाडामा दिइएको एउटा पसलको मासिक ९ सय रूपैयाँ भाडा लिने गरिएको पनि उनले बताए । यही जग्गाको व्यवस्थापनका लागि खुलेको संस्थासँग कति जग्गा छ भन्ने समेत जानकारी छैन । अध्यक्ष श्रेष्ठ आफू दुई वर्ष अघिमात्र निर्वाचित भएकाले खोजी गर्नुपर्ने बताउनुहुन्छ । केही दिनमा जग्गाको वास्तविक क्षेत्रफल खोजी गर्ने प्रतिबद्धता उनले जनाएका छन् । गणेशस्थानको चौरका जग्गा वरिपरिबाट मिचिएको भनिएपनि कसले कति मिचे भन्ने खोजी समेत समाजले नगरेको स्थानीयवासी बताउँछन् । मासिक ४८ हजार रूपैयाँ फोहर व्यवस्थापन गरेवापत् परिवर्तन नेपाल नामक कम्पनीलाई दिने गरेको समाजले बताए पनि कम्पनीको सम्पर्क नं. दिन भने यसका पदाधिकारीले अस्वीकार गरेका छन् । समाजको कार्यालयमा राखिएका चार जना कर्मचारीलाई पनि यसैबाट तलब दिने गरिएको छ । आफ्नै टोलमा रहेको मन्दिर क्षेत्रको व्यवस्थापनमा काम गर्ने संस्थाको सदस्यता लिन खोज्दा पाउन नसकेको स्थानीयवासी रमेश डङ्गोलले गुनासो गरे । पसलको भाडाबाट उठेको रकम केही वर्ष अघिसम्म काठमाडौं महानगरपालिका ७ नं. वडा कार्यालय, श्री चन्द्रविनायक तथा श्री भैरवनाथ भजन मण्डल समिति र समाजको नाममा गरी तीन भाग लाग्ने गथ्र्यो । हाल भने वडा कार्यालय दिन बन्द भएको छ । वडा कार्यालयलाई यहाँबाट उठेको रकम दिँदा दुई भाग थपेर विकास निर्माणको काम गर्नुपर्ने गरी पहिले सम्झौता भएको जनाइएको छ । भजन मण्डललाई चन्द्रविनायक जात्रा व्यवस्थापनका समयमा मात्र बजेट दिने गरिएको अध्यक्ष श्रेष्ठले बताए । हाल महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल १० वर्षसम्म समाजको अध्यक्ष बन्ने जनाइएको छ । हालसम्म वडा अध्यक्ष डङ्गोलले नै सबैभन्दा बढी अध्यक्षको कार्यकाल पूरा गरेकाे समाजले जनाएको छ । स्थानीयवासीले वरिपरिबाट गणेशस्थान चौर मिच्न थालेपछि विसं २०५४ मा वडा कार्यालयको समेत सक्रियतामा समाज स्थापना गरिएको वडा अध्यक्ष डङ्गोल बताए । आफूले त्यस बेला वडा सदस्यका रुपमा सक्रिय रुपमा काम गरेको उनले सुनाए । कोषले मन्दिर क्षेत्रको जग्गा संरक्षण गर्न नआएकैले त्यसबेला स्थानीयवासी सक्रिय भई संस्था खोलेर काम गरेको अध्यक्ष डङ्गोलले सुनाए । कोषका सदस्य सचिव डा प्रदीप ढकाल त्यस विषयमा केही स्थानीयवासीको गुनासो समेत आएकाले थप बुझ्ने बताए । चन्द्रविनायक मन्दिर उपत्यकाका चार गणेशमध्येको एक भएकाले यसको धार्मिक महत्व छ । यहाँ प्रत्येक हप्ताको मङ्गलबार हजारौं भक्तजनको भीड लाग्ने गर्छ । घाउ, खटिरा आएका मानिसले यहाँ आई पूजा आराधना एवं दर्शन गरेमा त्यस्ता रोग ठिक हुने धार्मिक विश्वास छ । उमेर पुग्दा पनि बोली नफुटेका बच्चालाई समेत यहाँ ल्याई दर्शन गराइन्छ । गणेशलाई विघ्न विनाशकका रुपमा समेत पूजिने भएकाले पनि धेरै भक्तजनको भीड लाग्ने गरेको हो । भूकम्पले क्षतिग्रस्त मन्दिरको हाल पुनःनिर्माण भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि चैत ११ गतेदेखि मन्दिर क्षेत्र दर्शनार्थीका लागि बन्द गरिएको छ । नित्य पूजा भने भइरहेको जनाइएको छ । रासस
सुनको मूल्य फेरि बढ्यो
काठमाडौँ । सुनचाँदीको मूल्य फेरि बढेको छ । सुन प्रतितोला ७ सय र चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ७ सय र चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय ६० रुपियाँ र चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपियाँ निर्धारण गरिएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९० हजार १ सय ६० रुपियाँ र चाँदी प्रतितोला ९ सय ४० रुपियाँमा किनबेच भएको थियो ।