तीन वर्षभित्र प्रदेशका सबै नागरिकको स्वास्थ्य बीमा
काठमाडाैं । गण्डकी प्रदेश सरकारले आगामी तीन वर्षभित्र प्रदेशका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा नेपाल सरकारसँगको समन्वयमा प्रदेशका सबै नागरिकलाई आगामी तीन वर्षभित्र स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्न २ करोड रूपैयाँ छुट्याइएको उल्लेख छ । अपाङ्ग, असहाय, अशक्त, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र विपन्नवर्गको उपचारको लागि प्रदान गर्दै आएको सुविधालाई निरन्तरता दिने व्यवस्था मिलाइएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताए । सरकारले आर्थिक वर्ष २०७७/७८ मा क्यान्सर, मुटु, मिर्गौला, सिकलसेल एनिमिया, स्पाइनल इन्जुरी, पार्किन्सन, अल्जाइमर र हेड इन्जुरीजस्ता रोगबाट पीडित अति गरिब बिरामीलाई उपचारको लागि आर्थिक सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । केन्द्र सरकारसँगको सहकार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला र मुटुरोगको विशिष्टिकृत उपचार सेवा प्रारम्भ गर्न आवश्यक बजेटको व्यवस्था मिलाइएको मन्त्री गुरुङले बताए । प्रदेश जनस्वास्थ्य तालीम केन्द्र, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र प्रदेश क्षयरोग नियन्त्रण केन्द्रको सुदृढीकरण गर्न १० करोड २७ लाख रूपैयाँ विनियोजन गरिएको उनले बताए । नवलपुरको मध्यबिन्दु अस्पताल, कास्कीको मातृशिशु मितेरी अस्पताल तथा पर्वत, मनाङ र मुस्ताङ जिल्ला अस्पतालका भवन निर्माणकार्यलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ । आयुर्वेद तथा प्राकृतिक चिकित्सालगायत वैकल्पिक चिकित्सा सेवालाई प्रवद्र्धन गर्नुका साथै जिल्ला स्वास्थ्य कार्यालयका नियमित कार्यक्रमलाई निरन्तरता दिन र समुदायस्तरमा स्वास्थ्य साक्षरता कार्यक्रम सञ्चालन बजेट विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिए । रासस
देशभर मेघगर्जनसहित सामान्य वर्षाकाे सम्भावना
काठमाडाैं । दक्षिण–पश्चिमी वायुको प्रभावले मेघगर्जनसहित सामान्य बदली भइ केही स्थानमा वर्षा भईरहेको छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेश का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्ने सम्भावना रहेकाेले सावधानी अपनाउन महाशाखाकोआग्रह गरेको छ । आइतबार देशभर सामान्य बदली भइ धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित न्यूनदेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५का एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
कर्णालीका २ सय १४ सङ्क्रमितले जिते कोरोना
काठमाडौं । कर्णाली प्रदेशका २ सय १४ जना सङ्क्रमित कोरोना जितेर घर फेर्केका छन् । यसमा दैलेखबाट मात्रै २ सय ५ जनाले कोरोनामाथि विजय गरेका छन् । कोरोना जितेर फर्कनेहरुमा २ सय १ पुरुष र १३ महिला रहेका छन् । यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १ सय २९ पुरुषगरी १ सय ३२ जनाले एकैदिन कोरोना जितेर घर फर्केको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । त्यस्तै, दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट दुई महिला सात पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट एक महिला, सात पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट एकरएक जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको महाशाखाका प्रमुख डा.तिवारीले बताए । उनका अनुसार शनिबार २ सय १४ ले कोरोना जितेसँगै हालसम्म कर्णालीमा यो सङ्क्रमणबाट निको भएर घर फर्कनेको सङ्ख्या ९ सय ३४ पुगेको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा शनिबार गरिएको पिसिआर परीक्षणमा सुर्खेत पञ्चपुरीका १५ महिनाका बच्चासहित सात जनामा कोरोना पुष्टि भएको बताउँदै महाशाखा प्रमुख डा तिवारीले कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय ४० पुगेको बताए ।
संसारभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो, ५ लाख बढिको मृत्यु
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ७४ हजार ६ सय ३० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ५ लाख ६ सय २५ जनाको मृत्यु भइसकेको छ भने ५४ लाख ५३ हजार २ सय ४७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २८ हजार १ सय ५२ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २५ लाख ९६ हजार ४ सय ३ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५ लाख २९ हजार ५ सय ७७ पुगेको छ भने अहिलेसम्म १६ हजार १ सय ३ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १२ हजार ३ सय ९ जना संक्रमित भएका छन् भने २८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ हजार ८ सय ३४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)
पाठक सर, के मलाई चिन्नु भो ?
पाठक सर के मलाई चिन्नु भो ? म तपाईंको विद्यार्थी के छ खवर ? तपाईंलाई थाहा छ ? तपाईंले दिनुभएको डिग्रीको सर्टिफिकेट कतै काम लागेन नि ! तपाईंले पढाएको पाठ कक्षा कोठा बाहिर निस्किन नपाउँदै झुटो हुन्छ नि ! जमाना बदलिएको छ पाठक सर बाहिर हेर्नुस् त किन बदलिनु हुन्न तपाईं आजकल पनि मेरो जीवनसँग फिटिक्कै मेल नखाने अंक गणितनै कति सजिलै पढाइरहनु भएको छ है… संस्कृत हटाएर अंग्रेजी मात्र पढाइरहनु भएको छ है… नैतिक शिक्षा किन पढाउनु हुन्न ? आफ्नै देशको भुगोल बिर्साएर लिम्पियाधुरा, कालापानी र लिपुलेक बिनाको नक्शा किन कोर्न लगाउनु हुन्छ विद्यार्थीलाई हँ ? अनि त्यस्तो नक्सामा किन पूरा नम्बर दिनुहुन्छ हँ ? भो आफ्नै देशको भुगोल बिर्सिएर तपाईंको सर्टिफिकेट चाहिएन तपाईं बुढो हुनु भो अवकाश लिनुस् कि बन्द गर्नुस् साना–साना नानीहरुलाई गलत शिक्षा दिन… [email protected]
ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
चितवन । पूर्वी चितवनको खैरहनीमा ट्र्याक्टरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–४ का ५७ वर्षीय रिठ्ठे परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार परियारको आफ्नै बारीमा धान रोपाइँका लागि जोत्ने क्रममा ना७त ४४८८ नंको ट्र्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट परियारको घटनास्थलमा नै मृत्यु भएको हो । परियारलाई ठक्कर दिने ट्र्याक्टरका चालक इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको र शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । रासस
असार १५ गते सार्वजनिक बिदा दिने निर्णय
सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । जसका कारण प्रदेश सरकारले हरेक वर्ष जुम्लामा चैत १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता तुल खड्काले प्रदेश मन्त्रिपरिषद्को यही जेठ १२ गतेको बैठकले कर्णालीका जुम्लाबाहेक नौ जिल्लामा धान दिवसको बिदा दिने निर्णय गरेको जानकारी दिए । रासस
होम क्वारेन्टाइनमा मृत्यु भएकी बालिकाको रिपोर्ट नेगेटिभ
काठमाडौं । प्युठानको झिमरुक गाउँपालिका वडा नं २ स्थित होम क्वारेन्टाइनमा मृत्यु भएकी बालिकाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना जाँच गर्दा ११ वर्षीया बालिकाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड –१९ का फोकल पर्सन पुष्कल श्रेष्ठले बताए । गत जेठ २१ गते भारतबाट आई वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा १४ दिन बसेपछि यही असार ३ गते उनको आरडिटी गरिएको थियो । आरडिटी रिपोर्ट नेगेटिभ देखिएपछि होम क्वारेन्टाइनमै बसेकी बालिकाको असार ६ गते मृत्यु भएको हो । उनको मृत्युपछि पिसिआर जाँचका लागि स्वाब पठाइएको थियो । बालिका मिर्गौला र रक्त अर्बुदरोगको बिरामी थिइन् । रासस