ईपानमा नयाँ अनुहार र संस्थापनको भिडन्तः कस्ले मार्ला बाजी ?

<p>काठमाडौं । हालसम्म सर्वसम्मत रुपमा कार्यसमिति चयन हुँदै आएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (ईपान) को निर्वाचन यो पटक भने दुई धारमा विभाजित भएको छ । संस्थापन पक्षले नयाँ अनुहारहरुलाई वेवास्ता गरेको भन्दै यस पटक अर्को प्यानलसहित नयाँ अनुहार अर्थात नव जलविद्युत उद्यमीहरु फरक समूह खडा गरेर निर्वाचनको मैदानमा उत्रिएका हुन् । सुरुमा अध्यक्षको लागि चार [&hellip;]</p>

काठमाडौं । हालसम्म सर्वसम्मत रुपमा कार्यसमिति चयन हुँदै आएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (ईपान) को निर्वाचन यो पटक भने दुई धारमा विभाजित भएको छ । संस्थापन पक्षले नयाँ अनुहारहरुलाई वेवास्ता गरेको भन्दै यस पटक अर्को प्यानलसहित नयाँ अनुहार अर्थात नव जलविद्युत उद्यमीहरु फरक समूह खडा गरेर निर्वाचनको मैदानमा उत्रिएका हुन् ।

सुरुमा अध्यक्षको लागि चार जना उम्मेदवार उठेका थिए । जसमा वर्तमान कार्यसमितिका उपाध्यक्ष कुमार पाण्डे, कृष्ण आचार्य, सदस्य गणेश कार्की र सुर्य अधिकारी रहेका थिए । विस्तारै सहमतिको वातावरण बनेपछि तीन जना (कुमार,कृष्ण र गणेश) ले एेक्यवद्धता जनाए । तर, त्यसमा हालका अध्यक्षका उम्मेदवार सुर्यप्रसाद अधिकारीले भने सहमति जनाएनन् ।

उनले नयाँ बन्ने समितिमा नयाँ उद्यमीलाई प्राथमिकता नदिएकाे भन्दै चुनौतीका साथ छुट्टै समूह खडा गरे र निर्वाचनका लागि उम्मेदवारी घाेषणा गरे । उनले निर्वाचनको लागि एक छुट्टै समूह घोषणा गरेसँगै निर्वाचन दुई धारमा बाँडिएको हो । बिचमा सहमतिका लागि विभिन्न अनौपचारिक प्रयास गरेपनि ति प्रयासहरु सफल भएनन् ।

भोलि अर्थात सोमबार ईपानको निर्वाचन हुँदैछ । हालसम्म दुई धारमा विभाजित नभएको संस्थाको अध्यक्षमा कसले बाजी मार्छ भन्ने कुरा भने हेर्न बाँकी नै छ । निर्वाचनमा एक समूह संस्थापनतर्फबाट छ भने अर्को नयाँ जलविद्युत उद्यमी अर्थात सुर्यप्रसाद अधिकारी तर्फको रहेको छ । अधिकारी बाराही हाइड्रो पावर कम्पनीका अध्यक्ष तथा रुग्ण जलविद्युत आयोजनाका संयोजक हुन् ।

को-को छन् उम्मेदवार ?

संस्थापन पक्षबाट कृष्ण आचार्यको समूहमा उपाध्यक्षमा गणेश कार्की, कुमार पाण्डे र आषिश गर्ग उम्मेदवार बनेका छन् । पाण्डे अहिले पनि उपाध्यक्ष छन् भने गर्ग वर्तमान महासचिव हुन । कार्की कार्यसमिति सदस्य छन् । यस्तै, महासचिवमा मोहन डाँगी उम्मेदवार बनेका छन भने भीम पाठक, राम आचार्य र आनन्द चौधरी सचिवका लागि उम्मेदवार बनेका छन् ।

कोषाध्यक्षमा सुधिर तिमल्सिनाले उम्मेदवारी दिएका छन् । खुला सदस्यहरुमा नरेन्द्र पन्त, भरत खड्का, प्रकाश श्रेष्ठ, मोहन कार्कीले उम्मेदवारी दिएका छन् । महिला आरक्षण सदस्य समूहमा कविता कँडेल र इन्दिरा पन्त उम्मेदवार बनेका छन् ।

अधिकारीको समूहबाट उपाध्यक्षहरुमा उत्तम लामा, बलराम खतिवडा, भरत खत्री, महासचिव गोरे शेर्पा, सचिवहरुमा भरत लामिछाने थापा, सुमन कुमारी जोशी, प्रकाश दुलाल, कोषाध्यक्ष मिथुन सिपी पौडेल उम्मेदवार छन् ।

खुला सदस्यहरुमा विक्रम विष्ठ, जीतमान शेर्पा, अर्जुनप्रसाद पौडेल, इशा श्रेष्ठ र आरक्षिण महिला सदस्यमा अविज्ञा मल्ल, केशाङ विकी लामाले उम्मेदवारी दिएका छन् । यसअघि ९ सदस्यीय कार्यसमिति चयन गर्ने अभ्यास भएपनि अहिले विधान संशोधन गरी १५ सदस्यीय बनाइएको छ । इपानमा १ सय ७६ जना मतदाता रहेको छन् ।

ईपान कार्यसमिति पाँचौं कार्यकालसम्म सर्वसम्मतले नेतृत्व तथा कार्यसमिति चयन हुँदै आएको थियो । छैटौ कार्यकालका लागि पनि सहमतिको प्रयास गरिएको थियो । तर, संस्थापन पक्ष आफ्नै स्वार्थ अनुसार अगाडि बढेपछि बाध्य भएर नयाँ प्यानल बनाउनु परेको अध्यक्षका प्रत्यासी अधिकारीले बताए ।

के कस्ता छन् एजेण्डा ?

उर्जा उद्यमीप्रति हेरिने दृष्टिकोणमा परिवर्तन ल्याउनु मेरो कर्तव्य हुनेछः कृष्ण आचार्य

संस्थापन तर्फबाटका अध्यक्षका उम्मेदवार कृष्ण आचार्यले उर्जा क्षेत्रमा लगानी गरिरहेका व्यवसायीहरुप्रति हेरिने दृष्टिकोणमा परिवर्तन ल्याउनु आफ्नो पहिलो कर्तव्य भएको बताएका छन् । निजी क्षेत्रबाट करिब ३ हजार मेगावाटको विद्युत उत्पादन, निर्माणधीन र अध्ययनको क्रममा रहेकोले त्यसमा लगानी गर्ने व्यवसायीप्रति हेरिने व्यवहारमा परिवर्तन ल्याउनु पर्ने उनको भनाई छ ।

आफुले सहमति र समन्वयमा जाऔं भने पनि त्यस्तो नमानेपछि निर्वाचनमा होमिनुको विकल्प नभएको उनले बताए । ‘जलविद्युतमा हाम्रो धेरै लगानी छ, निजी क्षेत्रबाटै झण्डै ३ हजार मेगावाटको जलविद्युत उत्पादन, निर्माणाधीन र अध्ययनको क्रममा छन्, यसमा लगानी गर्ने व्यवसायीहरुप्रति गरिने व्यवहार र हेरिने दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ,’ उनले भने ।

यस्तै, देश बनाउने पहिलो क्षेत्र उर्जा भएकाले यसको विकासका लागि आफ्नो समूहको महत्वपूर्ण भूमिका रहने उनको भनाई छ । ‘सरकार नपुगेको क्षेत्रमा निजी क्षेत्र पुगेर भौतिक पूर्वाधार निर्माण गर्छौ, उर्जा जस्तो पारदर्शी वयवसाय अन्य केही छैन, यसमा लगानीको सुनिश्चितता गर्न भूमीका खेल्छौं,’ उनले भने ।

उर्जा क्षेत्रको विकासका लागि सरकारसँग सहजिकरण गरी रुग्ण जलविद्युत आयोजनाहरुको समस्याहरुको समाधानका लागि आफ्नो टीम अगाडि बढ्ने उनले बताए । जलविद्युत क्षेत्रमा थुप्रै समस्या भएकोले ती समस्याहरुको समाधानका लागि प्रतिवद्ध भएर लाग्ने उनको भनाई छ ।

मेरो उम्मेदवारी परिवर्तन र समृद्धिका लागि होः सुर्यप्रसाद अधिकारी

इपान अध्यक्षका अर्का उम्मेदवार सुर्यप्रसाद अधिकारीले आफ्नो उम्मेदवारी उर्जा क्षेत्रको सम्वृद्धि र परिवर्तनको लागि भएको बताएका छन् । उर्जा क्षेत्रमा देखिएका विभिन्न समस्या र चुनौतीहरुलाई सहज ढंगले समाधान गर्नतर्फ आफु नेतृत्वको टीम लागि पर्ने उनले बताए ।

‘अहिले उर्जामा परिवर्तनको आवश्यक छ, यसका लागि हाम्रो टीम प्रतिवद्ध भएर लाग्नेछ, ऊर्जा क्षेत्रमा जो नयाँ लगानीकर्ता आउन चाहन्छन् उनीहरुलाई प्रोत्साहनका लागि हाम्रो साथ र सहयोग रहेनछ,’ उनले भने ।

उनको प्यानलको एजेण्डामा उर्जा क्षेत्रको परिवर्तन गर्नु नै मुख्य विषय रहेको छ । ‘पेशागत र मर्यादित ढंगले विश्वस्त भएर लगानी गर्ने वातावरण सिर्जना गराउन हाम्रो टिमको भूमीका महत्वपूर्ण हुनेछ, उनले भने,‘हाम्रो टीमले उर्जा क्षेत्रको विकासका लागि सबै कार्यसमिति सदस्यहरुलाई फरक–फरक किसिमको एजेन्डाको जिम्मेवारी दिएर अगाडि बढ्नेछ र समस्याको समाधान गर्नेछ ।’

यस्तै १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यमा साथ दिएर उर्जाको विकास गर्ने र रुग्ण आयोजनाहरुको राहतका लागि हाम्रो टिम प्रतिवद्ध भएर लाग्ने उनको भनाई छ । यस्तै, स्वदेशमा उत्पादित उर्जा खपतका लागि र सक्षम उर्जा उद्यमी बनाउनका लागि आफ्नो समूह लागि पर्ने उनको भनाई छ ।

जलविद्युत क्षेत्रलाई जोगाउनु, सरकारले निजी क्षेत्रलाई उपेक्षा गरेको, लाइसेन्स खारेज गरेकोले त्यसका विरुद्ध इपान उतार्नको लागि आफ्नो उम्मेदवारी आवश्यक भएको अधिकारीले बताए । वर्तमान कार्यसमितिले काम गर्न नसकेकोले नयाँ टिम बनाउनु परेको उनको दावी छ ।

Share News