एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत
काठमाडाैं । एशियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई २२ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार, गुणस्तर र विश्वसनीयता सुधार, उत्पादन र भारप्रेषण केन्द्रको सुदृढीकरणका लागि उक्त रकम सहुलियत ऋणस्वरुप नेपाललाई प्रदान गर्न स्वीकृत भएको हो । उक्त रकम काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका, पोखरा उपमहानगरपालिकाका साथै प्रदेश नं २ मा विद्युत् आपूर्ति र वितरणलाई प्रभावकारी तुल्याउन खर्च गरिने छ । रासस
सलह किरा मार्नेलाई किलोको एक सय रूपैयाँ दिने
काठमाडौं । भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् । गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलोकाे १ सय रूपैयाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए । अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको बताए । उनले भने, “सलह किरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकाले किसानलाई जागरुक बनाउन सलह किरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेका हौं ।” साँझ गाउँपालिकाको आलमदेवी, बाँसटारी, गुरुङ्दी, सटुका, खोरबारी, छापलगायतका ठाँउमा सलह किरा देखिएको गाउँपालिकाले जनाएको छ । स्थानीय बासिन्दाले खेती जोगाउनका लागि आगो बाल्नुका साथै थाल ठटाएर सलह धपाइरहेको स्थानीय विष्णु न्यौपानेले बताए । यसैगरी हरिनास गाउँपालिकाको चित्रेमा पनि सलह किरा देखिएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकारी दिए । सलह किरा जिल्लामा प्रवेश गरेपछि गल्याङ नगरपालिकाका किसानलाई सचेत गराइएको नगरपालिकाका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले बताउनुभयो । किसानलाई धानको ब्याड र नर्सरी गरेर राखिएका बिरुवामा झुल टाँगेर राख्न भनेको अर्यालले बताए । खेतबारीमा सलह किरा देखिएपछि स्थानीयवासी यतिबेला आगो बाल्नुका साथै ठूलो आवाज निकालेर भाँडाकुँडा ठटाएर सलह किरा धपाउन जुटेका छन् । लमजुङ : सलह किरा लमजुङमा पनि प्रवेश गरेको छ । जिल्लाको सुन्दरबजार नगरपालिका–६ फेदिकुनामा आइतबार सलह किरा देखिएको हो । स्थानीयले सलह किरा प्रवेश गरेको जानकारी दिएपछि कृषि ज्ञानकेन्द्र कार्यालय लमजुङबाट कार्यालय प्रमुख रोहिणीराज घिमिरे, अर्थविज्ञ मदन रेग्मीलगायतका टोली अनुसन्धानका लागि पुगेको छ । कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख घिमिरेले भने, “सलह किराजस्तै देखिएको छ तर ठूलो समूहमा यो किरा आएको छैन, सलह किराको एउटा प्रजाति भएको देखिन्छ यहाँ जम्मा १०/१२ वटा मात्र फेला परेको छ ।” उनका अनुसार सलह किरा भएको आशङ्का भए पनि पुष्टि भइसकेको छैन । कैलाली : कृषि विज्ञले पश्चिम नेपालमा सलह किराको यात्रा हुनसक्ने पूर्वअनुमान गरेपछि धनगढी उपमहानगरपालिकाले आइतबार यहाँ १९ वटै वडाका वडाध्यक्ष र कृषि शाखाका कर्मचारीसँग छलफल गरेको छ । सलह किराको व्यवस्थापनको पूर्वतयारीका लागि स्थानीयस्तरमा कसरी क्षति घटाउन सकिन्छ भनेर छलफल गरिएको बताइएको छ । सलह किराको सम्भाव्य जोखिम र त्यसको व्यवस्थापनका बारेमा छलफल गरिएको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए । “जोखिम घटाउनका लागि स्थानीयस्तरमा सबै उपाय अपनाउन वडाध्यक्ष र कृषि प्राविधिकलाई निर्देशन दिएको छु”, नगरप्रमुख वडले भने, “क्षति घटाउनका लागि थाल ठटाउने, ड्रम बजाउने, स्पीकर बजाउने, धुँवा लगाउने, आगो बाल्नेलगायत सबै प्राकृतिक विधि अपनाउन किसानलाई आग्रह गरेका छौं ।” रासस
ललितपुरमा एक जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । ललितपुरको स्टार अस्पतालमा उपचारकाे क्रममा एक जना कोरोना संक्रमित मृत्यु भएको छ । रौतहटका २९ वर्षीय पुरुषको गएराति मृत्यु भएको हाे । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियाे । दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको अस्पतालका एक कर्मचारीले जानकारी दिए । नेपाल योसँगै कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
गोकर्णेश्वर नगरपालिका निर्माणाधीन घरमा युवक मृत भेटिए
काठमाडाैं । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । मेलम्चीको सडकमुनि वाग्वीर स्याङ्तानको निर्माणाधीन घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी २४ वर्षीय युवक धीरज राई झुण्डिएको अवस्थामा फेला परेको वृत्तका प्रहरी नायब निरीक्षक विकासबाबु न्यौपानेले जानकारी दिए । घटनाका बारेमा थप अध्ययन भइरहेको छ । स्याङ्तानले घर निर्माणको जिम्मेवारी निर्माण व्यवसायी रेशम गुरुङलाई ८० लाख रूपैयाँमा ठेक्का दिए । राईलाई निर्माण व्यवसायी गुरुङले घर कुर्न राखेको घरबेटी स्याङ्तानले बताए । बिहान बेलुका निर्माणाधीन घर कुरेर बस्ने राई दिउँसो अन्यत्र काम गर्न जान्थे । शनिबार बेलुकीसम्म राई ओहोरदोहोर गरिरहेका थिए । आइतबार एक्कासि भुण्डिएको अवस्थामा भेटिएको निर्माण व्यवसायी गुरुङले बताए । हेड मिस्त्री उदयपुरका लक्ष्मण राईमार्फत चार महिनाअघि धीरज घर निर्माणस्थलमा आइपुगेको पनि उनले बताए । निर्माणाधीन घरमा सहयोगीका रूपमा समेत काम गर्ने राई आफन्त नभएको र कोठासमेत नलिएकाले निर्माण सामग्री कुरेर बस्ने गरेका थिए । मृतक राईको घरमा सम्पर्क गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बन्दाबन्दी शुरु भएपछि आत्महत्या गर्नेको सङ्ख्या यस क्षेत्रमा पनि बढेको जनाइएको छ । रासस
कारागारमा फोहरको डुङ्गुर, कैदीबन्दीको बिचल्ली
काठमाडाैं । महोत्तरी कारागारका कैदीबन्दी (थुनुवा) को बिचल्ली भएको छ । ढल निकासको समुचित प्रबन्ध नहुँदा महोत्तरी कारागार परिसरमा फोहर थुप्रिएर बस्ने, खाने, सुत्ने ठाउँ नपाएपछि कैदीबन्दीको बिचल्ली भएको हो । कारागारको कैदी कक्ष, प्रशासन कक्ष र सुरक्षा कक्षसहितका ठाउँ अहिले फोहर थुप्रिएर दुर्गन्धित बनेपछि खाने, बस्ने र सुत्ने ठाउँ नपाएर बिजोग खेप्नुपरेको कैदीबन्दीको गुनासो छ । जलेश्वर नगरको गहिरो ठाउँमा अवस्थित कारागारबाट फोहर बाहिर निस्कने ढल नबन्दा प्रत्येक वर्ष बर्खामा कैदीबन्दी (थुनुवा)को बिजोग हुने गरेको छ । खासमा कैदी–थुनुवा कक्ष गहिरिँदै जाँदा नगरभरिको फोहर यसै परिसरमा थुप्रिएर खाने, बस्ने र सुत्ने समस्या बढेको कारागारका चौकीदारसमेत रहेका पुराना कैदी रमेश सिंह बताए । कारागार परिसर दुर्गन्धित बन्दै जाँदा कैदीबन्दी बिरामी हुने क्रम बाक्लिएको छ । “साँघुरो कारागारमा दुवैतर्फ (पुरुष र महिलाका छुट्टाछुट्टै कक्ष) गरी ५५१ कैदी–थुनुवा छौं”, चौकीदार सिंहले भने, “जताततै फोहर थुप्रिएर यसको निकास नहुँदा बस्न, खान, सुत्न राम्ररी पाएका छैनौं ।” अहिले सघन वर्षा शुरु भएपछि जताततै फोहर हिलाम्य पानीमा तैरिरहेको अवस्थाले महामारी पर्नसक्ने डर बढेको कैदी–थुनुवा बताउँछन् । कारागार परिसरबाहिर अग्लाअग्ला संरचना ९घर, सडक० बनिँदा बर्सेनि यो ठाउँ झनझन गहिरिँदै गएको छ । फोहर निकासका लागि स्थानीय प्रशासन (जिल्ला प्रशासन कार्यालय) र जलेश्वर नगरपालिकाको बराबर ध्यानाकर्षण गराइए पनि निकासको काम हुन नसकेको निमित्त कारागार प्रमुख (जेलर) मक्सुधन महासेठ बताए । जम्मा १३५ कैदी–थुनुवा राख्ने क्षमताको कारागारमा अहिले चौब्बरभन्दा बढी ५ सय ५१ जना छन् । साँघुरो ठाउँमा कैदी–थुनुवा थपिँदै जाँदा बसाइ व्यवस्थापन सधैँजसो अस्तव्यस्त हुने गरेको निमित्त कारागार प्रमुख महासेठको गुनासो छ । “हामी सम्बद्ध उपल्लो निकायमा ‘ठाउँ छैन, कारागार अस्तव्यस्त छ’ भन्ने गर्छौं”, महासेठले लाचारी व्यक्त गर्दै भने, “न्यायिक निकाय भने दिनहुँ कैदी र थुनुवा पठाउँछन्, हामी के गरौं ?” कारागारको पुरुष कक्षमा अहिले ५ सय १ र महिला कक्षमा पाँच आश्रित बालबालिका (आमासँगै आएका पाँच वर्षमुनिका बालबालिका) सहित ५० जनासमेत जम्मा ५ सय ५१ कैदी–थुनुवा रहेको कारागार प्रशासनले जनाएको छ । क्षमताभन्दा निकै बढी कैदी–थुनुवा राख्नुपर्दा औषधोपचार र अन्य व्यवस्थापकीय काममा निकै समस्या पर्ने गरेको निमित्त कारागार प्रमुख महासेठको भनाइ छ । छिमेकको धनुषा जिल्लामा कारागार नहुँदा महोत्तरी कारागारमा कैदी–थुनुवाको चाप बढेको हो । कारागारमा ६५ प्रतिशत धनुषाकै न्यायिक निकायले पठाएका कैदी–थुनुवा रहेका कारागारको अभिलेखले देखाएको छ । यसबाहेक न्यायिक निकायले मुद्दा छिन्न गर्ने ढिलाइले थुनुवाको चाप बढेको निमित्त कारागार प्रमुख महासेठ बताए । कारागारमा अहिले पनि ७० प्रतिशत त थुनुवा नै रहेका छन् । मुद्दा छिनिएर कैद तोकिएका कैदीको सङ्ख्या ३० प्रतिशतमात्र रहेको महासेठको भनाइ छ । विसं १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका यो कारागार भवनले त्यसयता राम्रो मर्मतसम्भार पाएको छैन । कैदी–थुनुवा कक्षका पर्खालका इँटा झर्ने र छत उप्किएर झर्ने गरेको कैदी–थुनुवा बताउँछन् । “हजुर, नापेको दुई हात जग्गामा बस्नु छ, जताततै हिलो पानी र फोहर थुप्रिएको छ”, कारागारको महिला कक्षकी एक थुनुवाले विरक्तिँदै भने, “प्रत्येक दिनजसो पर्खाल र छत उप्किएर इँटा र सिमेन्टका टुक्रा झर्छन्, किचिएर मरिन्छ कि भन्ने त्रासमा बस्नुपरेको छ ।” यसैबीच जिल्लाका सामाजिक सङ्घसंस्था र मानवअधिकारवादी सङ्घ सङ्गठनका प्रतिनिधिले कारागारको मर्मतसम्भार, ढल निकासको उचित व्यवस्थापन, छिटोछरितो न्याय सम्पादन र कैदी–थुनुवाका मानवोचित आवश्यकताको परिपूर्तिमा ध्यान दिन स्थानीय प्रशासन र कारागार प्रशासनको ध्यानाकर्षण गराएका छन् । “कारागार यातनागृह नभई सुधारगृह हुन्”, कारागारको नियमित निरीक्षण गर्दै आएका मानवअधिकारवादी संस्था इन्सेकका जिल्ला प्रतिनिधि अजय साहले भने, “सम्बद्ध सबै पक्षले समयोचित सुधारमा ध्यान दिनै पर्छ ।” भर्खरै कारागारको निरीक्षण अनुगमन गरेकाे प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले कारागारको व्यवस्थापकीय सुधारका लागि विभिन्न निकायबीच समन्वय थालिएको बताए । रासस
दाना सवस्टेशनमा लगाइएको ताला चार दिनपछि खुल्यो
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा निर्माणाधीन २२० केभी क्षमताको सवस्टेशनको प्रवेशद्वारमा स्थानीयवासीले लगाएको ताला चार दिनपछि खुलेको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार भएको छलफलमा स्थानीयवासीले उठाएका सामाजिक उत्तरदायित्वसँग सम्बन्धित केही माग पूरा गर्ने विषयमा आयोजना र दानावासीबीच सहमति भएको थियो । सहमतिपछि आइतबार साँझनै स्थानीयवासीले ताला खोलेर सवस्टेशन निर्माणमा भएको अवरोध हटाएका छन् । दानामा सामाजिक उत्तरदायित्वअन्तर्गतका काम गर्न बेवास्ता र बजेट विनियोजनमा विभेद गरेको भन्दै गत बुधबार स्थानीयवासीले तालाबन्दी गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, आयोजना प्रमुख चन्दनकुमार घोष, मालपोत अधिकृत कृष्ण कार्की, वडाध्यक्ष नरसिंह पुर्जालगायतको उपस्थितिमा छलफल भएको थियो । ज्ञानप्रकाश मावि जोड्ने सडकको स्तरोन्नति, आमा समूहको भवन र युवा क्लबको खेलमैदान निर्माणका लागि सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत सघाउने सहमति भएको छ । यसअघि दानाका लागि १२ लाख रूपैयाँ विनियोजन भएकामा तत्कालै थप १० लाख र केही समयपछि अर्को १० लाख रूपैयाँ सहयोग गर्न आयोजनाले सहमति जनाएको छ । आयोजनाले प्रसारण लाइनको टावर बनाउने क्रममा दानाकै फगाममा निर्माण गरेको पाँच किलोमिटर सडक मर्मत गर्ने, दानामा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउनेलगायतका सहमतिमा स्थानीयवासी र आयोजनाले सहमति गरेका छन् । दुई पक्षको छलफलपश्चात् सामाजिक उत्तरदायित्वका कामलाई तीव्रता दिने र आयोजनाको काममा अवरोध नगर्ने सहमति भएको प्रजिअ ढकालले बताए । तालाबन्दी गरेर मजदुरलाई छिर्न नदिइएपछि सवस्टेशनमा उपकरण जडान र अन्य निर्माणको काम रोकिएको थियो । जनप्रतिनिधि, युवा क्लब, आमा समूह र अगुवाहरू सुरत केसीको नेतृत्वमा सात सदस्यीय सङ्घर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका थिए । एशियाली विकास बैंकको सहयोगमा दाना र पर्वतको खुर्कोटमा सवस्टेशनका साथै ३९ दशमलव छ किलोमिटर दूरीको प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । असार महिनाभित्र २२० केभी क्षमताको सवस्टेशन चार्ज गर्ने आयोजनाको तयारी छ । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न एशियाली विकास बैंकको सहयोगमा प्रसारण लाइनका साथै दाना र खुर्कोटमा सवस्टेशन बनाउन लागिएको हो । प्रसारण लाइन र सवस्टेशन बनाउन सन् २०१६ मा २ अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना करिब २ वर्ष ढिला गरी सकिन लागेको हो । पोखरेबगर क्षेत्रमा जग्गाधनीसँगको विवाद र वन क्षेत्रको जग्गा प्राप्तिमा भएको ढिलाइले आयोजना निर्माण प्रभावित बनेको थियो । पोखरेबगर क्षेत्रमा करिब दुई वर्षदेखि रोकिएको प्रसारण लाइन निर्माणको काम स्थानीय प्रशासनको सहजीकरणमा गत पुसदेखि पुनः शुरु भएको थियो । आयोजना निर्माणमा भएको ढिलाइका कारण घलेम्दीखोला जलविद्युत् आयोजनाको पाँच मेगावाट विद्युत् खेर गएको छ । तेह्र मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । बयालीस मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाले प्रसारण लाइन र सवस्टेशनसँगै उत्पादन शुरु गर्ने तयारी गरेको छ । रासस
आज कर्णालीमा सार्वजनिक बिदा
सुर्खेत । कर्णाली प्रदेश सरकारले आज ९असार १५ गते० सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज यो प्रदेशका जुम्लाबाहेक नौवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो । जुम्लामा चैत महिनाको १२ गते धान दिवसका रूपमा बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए । चैत १२ गते बीउ राख्ने दिनले सांस्कृतिक तथा ऐतिहासिक महत्व झल्काउने र त्यसले त्यहाँको संस्कार एवं मानव जीवनको पहिचान दिने कुरालाई मध्यनजर राखेर प्रदेश सरकारले जुम्लामा चैत १२ गते धान दिवसको सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता खड्काले बताए । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कोभिड–१९ यो वर्ष औपचारिकरूपमा धान दिवस मनाउन नपाउँदा फरक सन्देश दिन नसकिएको बताए । यद्यपि किसानलाई भौतिक दूरी कायम गरेर उत्पादनका काममा लाग्न अपिल गरिएको बताउँदै किसानका आवश्यकता एवं समस्या सम्बोधनका निम्ति सरकार तत्पर रहेको मन्त्री केसीले जनाए । प्रदेश सरकारको गत जेठमा बसेको मन्त्रिपरिषद् बैठकले चैत १२ गते, असोज कृष्ण त्रयोदशी चन्दनाथ मन्दिरको लिङ्गो बोक्ने मेला (जुम्लामा मात्र), असार १५ गते, साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, माघ १ गते माघे सङ्क्रान्ति (माघी), चैत्र शुक्ल अष्टमी चैतेदशैँ प्रदेशभर मनाइने निर्णय भएको छ । फोत्तोलो ल्होसार सम्बन्धित समुदायको लागि मात्र बिदा प्रदेश सरकारले गरेको छ । रासस
लकडाउनमा गुणस्तरहीन सामान बिक्री बढ्दाे
काठमाडाैं । लकडाउनकाे समयमा बैतडीमा अखाद्य गुणस्तरहीन सामग्री बिक्री वितरण गरिएको पाइएको छ । बजार अनुगमन गर्दा करिब ४ लाख बराबरको अखाद्य वस्तु र पेय पदार्थ बरामद गरिएको छ । जिल्लास्थित सरोकारवालाको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा रु तीन लाख ७६ हजारको अखाद्य वस्तु र पेय पदार्थ बरामद गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख मायादेवी जोशीले जानकारी दिए । जिल्लाका पाँच स्थानीय तहका करिब एक दर्जन बजारमा अनुगमन गर्दा उक्त मूल्य बराबरको सामग्री बरामद गरी नष्ट गरिएको उनले भने । गत जेठ ३२ गतेदेखि शुरु भएको अनुगमन दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, सूर्नया गाउँपालिका र डिलाशैनी गाउँपालिकाका बजारमा सम्पन्न भएको हो । जिल्लाका अन्य स्थानीय तहमा रहेका बजारमा पनि निरन्तर अनुगमन गरिने जनाइएको छ । यस्तै अनुगमनका क्रममा चार जनालाई जरिवानासमेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । अनुगमन टोली पुग्ने बित्तिकै पसल बन्द गर्ने तथा जफत गरेको सामान पुनः बिक्री गर्न पाउनुपर्ने भन्दै टोलीमाथि दुव्र्यवहारको प्रयास गर्नेहरुलाई १ हजारदेखि ३ हजार ५ सय जरिवाना गरिएको उनले भने । म्याद नाघेका अखाद्य सामग्री बिक्री वितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिइएको छ । यसका साथै उपभोक्ता अधिकारका विषयमा व्यापारी र नागरिकलाई सचेत गराउन बजार अनुगमनमा तीव्रता दिइएको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिए । धेरै ठाउँमा पिठो, सोयाबडी, पत्रुखानालगायत अन्य खाद्यान्न सामग्रीसमेत म्याद नाघेका पाइएकाले बरामद गरी नष्ट गरिएको लेखकले जानकारी दिए । यस्तै दर्ता नभएका पसललाई दर्ता गर्न आग्रह गरिएको छ भने सामान खरिद बिक्री गर्दा मिति हेरेर मात्र खरिद बिक्री गर्न टोलीले आग्रह गरेको छ । अझै पनि उपभोक्ता तथा व्यापारीमा सचेतना नभएका कारण म्याद नाघेका सामग्रीको बिक्री वितरण हुँदै आएको छ । रासस