स्वास्थ्यकर्मीलाई मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले जनकपुरकाे चिकित्सक संघकाे स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामग्री खरिद गर्नका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशको विभिन्न स्थानहरुका संघसस्थाहरुलाई सहयोग गर्दै आएको छ । स्वास्थ्यकर्मीहरु कोरोना भाइरस संक्रमितहरुसँग प्रत्यक्ष सम्पर्कमा रहँदा कोरोना भाइरस संक्रमणको उच्च जोखिम हुने भएकोले स्वास्थ्य सामग्री खरिद गर्न उक्त रकम हस्तान्तरण गरिएको हो । यसका साथै, शाखा कार्यालय बुटवलले, सियारी गाँउपालिका वडा नं ६, बर्दहवा बुटवलमा रहेको दुर्गा देवी आधारभूत विद्यालयमा अध्यनरत जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीहरुलाई ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । त्यसैगरी, शाखा कार्यालय रामापुर कोलोनीले, मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई टोल सफा राख्नका लागि डस्टवीन हस्तान्तरण गरेको छ । साथै, क्षेत्रीय कार्यालय पोखराले जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन निर्माण समिति, कास्कीलाई भवन निर्माणका लागि २५ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले जिल्ला ट्राफिक प्रहरीको आफ्नै भवन निर्माण गर्नका लागि सहयोग गरेको हो । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।
अर्थमन्त्रीलाई रेमिट्यान्सको चिन्ता, भन्छन्ः अन्तर्राष्ट्रिय श्रम बजार खुल्यो, युवा विदेश पठाउँछौं
काठमाडौं । सरकारले युवालाई देशमै स्वरोजगार बनाउनु पर्छ भनिरहँदा सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडा भने युवालाई विदेश पठाएर उल्लेख्य रेमिट्यान्स भित्र्याउने सोचमा देखिएका छन् । कोरोना भाइरसको कारण संकटमा परेको अर्थतन्त्रलाई पुनरुत्थानका लागि विदेशबाट रेमिट्यान्स भित्र्याउनु पर्ने उनको धारणा छ । सोमबार नेपाल उद्योग परिसंघको १७ औं बार्षिक साधारण सभामा बोल्दै उनले अन्तर्राष्ट्रिय श्रम बजार क्रमशः खोल्दै गएकोले युवाहरुलाई विदेश जान प्रोहत्साहन गरेर विप्रेषण भित्र्याउनु पर्ने धारणा राखेका छन् । ‘हामीलाई लकडाउनपछि अन्तर्राष्ट्रिय श्रम बजार के होला, विप्रेषणको स्थिती के होला, विप्रेषण आएन भने बैंकिङ क्षेत्रको तरलता के होला /र विदेशी मुद्रा सञ्चितीकाे स्थिती के होला भन्ने चिन्त थियो, अहिले क्रमशः अन्तर्राष्ट्रिय श्रम बजार पनि खोलिँदै गएका छन्, रेमिट्यान्समा खासै असर गर्दैन,’ उनले भने । उनले युवाहरु पनि पछिल्लो समय विदेश जान इच्छुक भएकोले त्यसमा आफुहरुले प्रोत्साहन गर्ने बताए । कोरोना भाइरसको कारण आर्थिक वृद्धि संकुचित भएको तर लकडाउन खुकुलो बनेसँगै केही आर्थिक गतिविधी पनि बढ्दै गएसँगै त्यति समस्या नहुने उनको भनाई छ । अहिले आर्थिक गतिविधी पनि बढाउँदै गएकोले केही सहज भएको बताए । ‘जति मानिस बाहिरबाट नेपालमा आउँन्छन् त्यो संख्या अहिले कम भएको छ, औसतभन्दा बढी रेमिट्यान्स हामीले पनि प्राप्त गरिरहेका छौ, यसको राम्रो असर बैंकिङ क्षेत्रको तरलतामा छ,’ उनले भने । उनले अहिले बैंकिङ तरलता राम्रो भएकोले बैंकहरुको कर्जा निक्षेप अनुपात उल्लेख्य रुपमा घटेको बताए । यसले बैंकहरु थप लगानी गर्न तयार भएको उनको धारणा छ । बैकले कर्जाकाे व्याजदर पनि घटाउँदै जाने उनकाे भनाई छ । असार १ देखि लकडाउन खुकुलो पार्दा अर्थतन्त्रले ८० प्रतिशत लय समातेको उनको दाबी छ। लकडाउन खुकुलो पार्दा भन्सार महसुल र आन्तरिक राजस्व संकलनको गति बढेको बताए। साथै उनले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि सहज हुने बताए ।
भाटभटेनी मन्दिरमा २ करोड लागतमा सत्तल निर्माण गरिने, उपप्रधानमन्त्रीले गरे शिलान्यास
काठमाडौं । भाटभटेनी ग्रुपले नक्सालस्थित भाटभटेनी मन्दिर परिसरमा २ करोड लागतमा सत्तल निर्माण गर्ने भएको छ । उक्त भवनको शिलान्यास उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार बिहान गरेका छन् । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भाटभटेनी माताको मन्दिर परिसरमा स्वर्गीय बुबा बृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन निर्माण गरिन लागेको जानकारी दिए । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले व्यवसायी गुरुङको प्रशंसा गरेका थिए । उनले भने, ‘मीनबहादुरजी धनमात्रै होइन मन पनि भएको व्यक्ति हुनुहुन्छ । हामीले मीनबहादुरजीलाई के पाएका छौं भने धन र मन दुवै भएको व्यक्तिका रुपमा । हामीले त्यसरी चिन्छौं । उहाँजस्तै निजी क्षेत्रमा क्रियाशील धेरैजना हुनुहुन्छ । उहाँलाई अनुसरण गर्दै उहाँहरु पनि अघि बढ्नुपर्छ । लगनशील भएर काम गरिरह्यो भने प्रगति गर्न सकिन्छ भन्ने उदाहरण उहाँले दिनुभएको छ ।’ उनले सरकारले व्यवसायीलाई सहजीकरण गरिदिने बताउँदै भने, “हाम्रा पुर्खाहरुले निर्माण गरेको चिजहरुलाई नष्ट हुनबाट हामीले नै बचाउनुपर्छ । हाम्रा पुर्खाहरुले धेरै कुरा निर्माण गरे । हाम्रा कारणले नष्ट हुँदैछन् । तर मीनबहादुरजीले त्यसको निर्माण गर्दै हुनुहुन्छ । सत्तलमा विगतमाजस्तो कोही यात्रुहरु आएर नबसे पनि यसले संकेतको काम गर्छ । दृष्टान्तको रुपमा यो सत्तल रहन्छ । हाम्रा पुराना चिजहरुको संरक्षण हामी आफैँले नै निर्माण गर्नुपर्ने हुन्छ ।” सम्बोधनमा उनले कोरोनासँग भाग्ने नभइ लड्ने बताए । ‘कोरोनासँग भाग्ने होइन लड्ने हो । यो आयो भनेर त्रसित भएर भाग्यौं भने कहाँ जाने ? आज हामी भागौंला भोलि भोकमरीबाट मर्ने अवस्था आयो भने के गर्ने ? हामीले हाम्रो आर्थिक गतिविधि बढाउनैपर्छ । कोरोनासँग लड्नु व्यक्तिव्यक्तिको जिम्मेवारी हो । हामी बचेर देश र समाजलाई बचाउने हो ।’ कार्यक्रममा प्रदेश सांसद नारायण सिलवालले पनि गुरुङले गरेको योगदानको चर्चा गर्दै प्रसंशा गरेका थिए । उक्त वडाका अध्यक्ष रमेश डंगोलले पनि भाटभटेनी मन्दिरमा सत्तल निर्माण गरिनु राम्रो काम भएको बताएका थिए । उक्त सत्तल भाटभटेनी ग्रुपका अध्यक्ष मीनबहादुर गुरुङ र भाइ पहल गुरुङले निर्माण गर्न लागेका हुन् । ‘भाटभटेनी मन्दिरकै नामबाट हामीले सुपरमार्केट्स खोल्यौं,’ उनले भने, ‘अहिले देशका विभिन्न स्थामा भाटभटेनी खुलेका छन् । यहाँको मन्दिरमा हामीले पहिलेदेखि नै संरक्षण गर्दै आएका थियौं । अहिले यसको आडैमा नयाँ भवन बनाउन लागिएको हो ।’ सोमबार नयाँ भवन निर्माणका लागि भूमि पुजन गरिएको छ । ‘आज हामीले भूमि पुजन गरेका हौं,’ उनले भने, ‘यस मन्दिरको संरक्षण गर्ने दायित्व पनि हाम्रै हो । त्यसैले यहाँ भवन निर्माणको काम थालिएको हो ।’ काठमाडौंमा बाँच्न र भविष्य सुनिश्चित गर्नका लागि आफूले सुरु गरेको व्यवसाय अहिले यहाँसम्म विस्तार भएको अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले बताएका थिए । ‘अहिले हामीसँग सात हजार भाइबहिनी आवद्ध हुनुहुन्छ । निर्माणका लागि १५ सय व्यक्तिहरु आवद्ध हुनुहुन्छ । ठेक्कापट्टामा नगइ इनहाउस गर्ने गरेका छौं,’ उनले भने, ‘यहाँसम्म आउनुको पछाडि भाटभटेनी माताको कृपा हो । हामीले यहाँ चारतलाको सत्तल बनाउन लागेका थियौं तर केही व्यक्तिहरुको सुझावका आधारमा दुईतला बनाउन लागेका हौं ।’
चीनमा वर्षाको कहर, १२ जनाको मृत्यु
बेइजिङ । चीनको दक्षिणमा अवस्थित सिचुवान प्रान्तमा परेको मुसलधारे वर्षाका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । वर्षादको मौसम भएका कारण ठूलो संख्याका मानिसको उद्धार गर्नु पर्ने अवस्था सिर्जना भएको प्रान्तीय अधिकारीहरुले जनाएका छन् । सिचुवानको मियानिङ काउन्टीमा भएको भारी वर्षाका कारण पुलहरु र राजमार्गमा क्षति पुग्नुका साथै केही सवारी साधन बाढीले बगाएको छ । स्थानीय उद्धारकर्मीका अनुसार मियानिङमा अरु १० जना बेपत्ता भएका छन् भने सात हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । दक्षिणी चीनमा जुन महिना शुरु भएलगत्तै भारी वर्षा भइरहेको र त्यसबाट सिर्जित बाढी र पहिरोले मानिसको मृत्यु हुनेक्रम बढेको छ । विपद व्यवस्थापन मन्त्रालयका अनुसार हालसम्म ७८ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयले धनसम्पत्तिको क्षति, सडक अबरोध र अन्य किसिमका अबरोधका कारण दक्षिणी चीनका झण्डै १ करोड २० लाख मानिस प्रभावित भएको जनाएको छ । मन्त्रालयले करिब ७ लाख २० हजार मानिसलाई सुरक्षित स्थलमा स्थानान्तरित गरिएको बताएको छ । बाढी, पहिरोका कारणबाट दक्षिण चीनमा हालसम्म करिब ३ अर्ब ६० करोड डलर बराबरको क्षति पुगिसकेको पनि मन्त्रालयले जनाएको छ । स्थानीय टेलिभिजनमा प्रसारित फुटेजहरुमा पूरै गाउँ र खेती जलमग्न भएको देखिएको छ । चोङकिङ महानगरमा पनि पानीको सतह खतराको स्तरभन्दा झण्डै पाँच मिटर माथि देखिएको छ, र यो पछिल्ला वर्षको उच्चत्तम रेकर्ड हो । चीन सरकारले बाढी पीडित नागरिकको उद्धार र राहतका लागि ठूलो बजेट विनियोजन गरेको जनाएको छ । रासस/एएफपी
आतंककारीले गाेली चलाउँदा पाकिस्तानमा ९ जनाकाे मृत्यु
काठमाडौं । आतंककारीले गाेली चलाउँदा पाकिस्तानमा ९ जनाकाे मृत्यु भएकाे छ ।कराचीस्थित पाकिस्तानकाे स्टक एक्स्चेन्जको भवनमा आक्रमण हुँदा ९ जनाकाे मृत्यु भएकाे हाे । उक्त स्थानकाे संचारमाध्यमले आक्रमणमा ९ जनाले ज्यान गुमाएकाे जनाएकाे छ । ज्यान गुमाउनेमा एक सब ईन्सपेक्टर, ४ जना सेक्युरिटी गार्ड र ४ जना आतंकवादी भएकाे शंका गरिएकाे छ ।
बङ्गलादेशमा डुङ्गा दुर्घटना २३ को मृत्यु
ढाका । बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् । यस दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिए । दुर्घटनामा परेको डुङ्गामा ५० व्यक्ति सवार रहेका अनुमान गरिएको पनि हुसेनले बताए । उद्धारकार्य जारी रहेको बताइएको छ । रासस /एएफपी
धान भण्डार समस्याले परनिर्भता बढ्यो
भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशको अन्नभण्डारका रुपमा रहेको कैलाली र कञ्चनपुरमा वर्षेनी धान उत्पादन बढ्दै गइरहेको छ । कृषि ज्ञान केन्द्र भीमदत्तनगरका अनुसार विगतका वर्षमा यहाँ धानको उत्पादकत्वमा वृद्धि भइरहेको छ । यहाँ खाद्यान्न भण्डारणको क्षमता पर्याप्त नहुँदा यहाँ उत्पादित खाद्यान्न भण्डारणमा समस्या भइरहेको केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए । ती दुई जिल्लामा उत्पादित खाद्यान्न अन्य सात पहाड जिल्लामा आपूर्ति गर्ने गरिएको उनले जानकारी दिए । कैलालीमा ७१ हजार र कञ्चनपुरमा ४८ हजार हेक्टरमा धानखेती हुँदै आएको छ । आर्थिक वर्ष २०७६/७७ मा उत्पादनमा वृद्धि भएर ३ लाख २२ हजार मेट्रिक टन धान उत्पादन भएको छ । त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा कञ्चनपुरका १ लाख ७२ हजार ३ सय मेट्रिक टन उत्पादन भएको थियो । त्यसैगरी कैलालीमा २०७५/७६ मा २ लाख ९३ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएकोमा २०७६/७७ मा उत्पादनमा वृद्धि भएर ३ लाख २२ हजार मेट्रिक टन उत्पादन भएको जनाइएको छ । “भण्डारणको समस्याले कारण पनि परनिर्भरता बढेको हो ।” उनले भने–“आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको छ ।”उनका अनुसार चालु आवमा पनि प्रदेश सरकारले यान्त्रिकरण अनुदान कार्यक्रम अन्तर्गत यहाँका २ सय ८६ जना किसानलाई रोटाभेटर, पावरटिलर, टुयाक्टर, थ्रेसर लगायतका कृषि औजारहरु वितरण गरिरहेको छ । “हामीले कृषिमा आधुनिकीकरणलाई पनि प्राथमिकतामा राखेर अघि बढेको छौं ।” उनले भने–“हलोको ठाउँमा च्याङ्फा ट्याक्टरले खेती गर्ने क्रम बढेको छ ।” ती दुई जिल्लामा उत्पादन हुने धानको भण्डारण गर्न सकिए अन्य सात जिल्लाका लागि खाद्यान्न अन्यत्रबाट आयात गर्न नपर्ने अवस्था छ । “यहाँको उत्पादन बाहिर जान्छ र त्यही उत्पादन प्रशोधन भएर हामीकहाँ पुग्छ ।” उनले भने, “सिँचाइका ठुला आयोजनाहरु पनि चाँडो सम्पन्न गर्ने सके उत्पादन झन बढ्छ ।”कृषिमा प्रविधि भित्रिदा श्रमको बचत समेत हुने गरेको छ । यहाँ उत्पादन भएको धान यही भण्डारण गर्न सके तराइका दुई जिल्ला लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत खाद्यान्न पुग्छ ।” हालसम्म कैलालीमा १७ हजार र कञ्चनपुरमा २ हजार मेट्रिक टन धान भण्डारण गर्न सक्नेमात्र गोदाम छ ।धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीका प्रमुख अनिल श्रेष्ठले भण्डारणका लागि कोदाम अभाव भएको बताउनुभयो ।“आवश्यकता अनुसार भण्डारण गर्न सकिरहेका छैनौं ।” उनले भने–“क्षमता बढाउन माथिल्लो निकायमा प्रस्ताव पेश गरेका छौं ।”उनले थप १० हजार मेट्रिक टन भण्डारण क्षमता बढाउन आवश्यक रहेको बताए । त्यसैगरी पछिल्लो केही बर्षयता प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्तर्गत धान जोन छुट्याइएको छ ।“किसानलाई बीउ दिएर मात्रै भएन किसानको उत्पादनको सुरक्षा हुनुपर्छ र सरकारले दीर्घकालीन योजना अघि ल्याउनुपर्छ ।” शुक्लाफाँटा नगरपालिका–१ का दिनराम रानाले भने–“अब कृषिमै स्वरोजगारीका प्याकेज ल्याएर भने कोरोनाले बेरोजारी ह्बात्तै बढ्ने देखिन्छ ।”झण्डै चार बिघामा धान खेती गर्दै आएका रानाले कृषिमा भएको यान्त्रिकरणले सहज भएको बताए । कञ्चनपुरमा भीमदत्त तथा कृष्णपुरनगरपालिका,बेलौरी,पूर्नवास र लालझाडी गाउपालिकामा ‘धान जोन’ रहेको छ । धान उत्पादन हुने क्षेत्रका किसान आकाशे पानीको भरमा खेती गर्नुपर्ने अवस्था विद्यमान छ ।“बोरिङ्ग गाउँमा एउटा पनि छैन । उनले भने, “आकाशे पानीका भरमा खेती गर्न समस्या हुन्छ ।” कञ्चनपुरमा अझै २७ प्रतिशत क्षेत्र आकाशे पानीको भरमा रोपाइ हुदै आएको ज्ञान केन्द्रको भनाइ छ । पछिल्लो दशकयता यहाँको खेतीयोग्य जग्गा आवासीय क्षेत्रमा परिणत हुँदै गएको छ । रासस
कामना सेवा विकास बैंकले सञ्चालनमा ल्यायो कर्जा आवेदन सेवा, घरबाटै दिन सकिने
काठमाडौं । कामना सेवा विकास बैंकले कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । विकास बैंकले असार १४ गतेदेखि लागू हुने गरी बैंकको वेबसाइट मार्फत अनलाईन कर्जा योग्यता मापन/आवेदन गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो । यससँगै अब ग्राहकले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा सेयर कर्जा, प्रोफेशनल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिक कर्जा लागि आवेदन दिन सकिने छ । काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत ग्राहकलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी आश्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा ग्राहकलाई सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।