विकासन्युज

कृषि उत्पादन वृद्धि गरेर कोरोनाको असर कम गर्न सकिन्छः प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड १९– का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताए । प्रधानमन्त्री ओलीले १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज दिएका सन्देशमा सदुपयोगको सिद्धान्तअनुसार जमिन खेर नफाल्ने, बाँझो नराख्ने तथा अत्यधिक उत्पादन र प्रतिफल दिनेगरी खेती गर्ने, माटो र बालीको बीचमा तादात्म्यता मिलाएर उत्पादन वृद्धिमा केन्द्रित हुनु जरुरी भएको उल्लेख गरे । “यसका निम्ति सबै ठाउँमा धान बाली नै लगाउनुपर्छ भन्ने छैन, धान लगाएर बढी प्रतिफल लिन सकिने ठाउँमा धान लगाउने र अरु प्रकारका जमिनमा अन्य जुनसुकै बाली लगाए पनि हुन्छ, तर त्यस बालीले अधिक उत्पादन भने दिनै पर्छ,” सन्देशमा भनिएको छ । उनले ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने उद्घोषका मनाइएको धान दिवसमा कृषिमा आधारित यस प्रतिकात्मक दिवसको आयोजनाले धान उत्पादनमा वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरतातर्फको हाम्रो राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूति गर्नु लोककल्याणकारी राज्यको दायित्व हो र सोही अनुरुप हाम्रो संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको जानकारी दिँदै यस हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी ऐन, २०७५ जारी भइसकेको उल्लेख गरे । उक्त ऐनले हरेक नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभूतालाई कानूनी अधिकारका रुपमा स्थापित गरेको र भोकमरीको अन्त्य गर्नेलगायत दिगो विकासका लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य र पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने हाम्रो राष्ट्रिय प्रतिबद्धता पनि सुस्पष्ट रहेको पनि उनले जानकारी दिए । “परापूर्वकालदेखिनै नेपाली समाजमा धानको आर्थिक, सामाजिक र साँस्कृतिक महत्व रहँदै आएको पाइन्छ । अधिकांश नेपालीको आधारभूत खाद्यवस्तुको स्रोतका रुपमा रहेको धानको खाद्य सुरक्षाको दृष्टिले रणनीतिक महत्व रहेको छ । राष्ट्रिय अर्थतन्त्रमासमेत धानको महत्वपूर्ण योगदान रहिआएको छ,” प्रधानमन्त्री ओलीले भने, “त्यसैगरी हाम्रो जीवन चक्रका सोह्र संस्कारमा धान, चामल र यसबाट बन्ने परिकारहरुको प्रयोग र प्रचलनको निकै लामो र समृद्ध परम्परा रहिआएको छ । यसरी हाम्रो जीवन पद्दतिसँग धानको घनिष्ठ सम्बन्ध कायम रहेको स्पष्ट छ ।” सन्देशमा पछिल्ला केही वर्षहरुमा जनसङ्ख्या वृद्धिको साथै जनताको आर्थिक अवस्थामा सुधार आई दुवै छाक भात खाने प्रचलन र मसिनो चामलको उपभोगमा भएको वृद्धिलेसमेत धान चामलको मागमा तीव्र वृद्धि हुँदै आएको तर माग अनुसारको आन्तरिक उत्पादन नहुँदा वर्षेनी ठूलो धनराशी धान चामल आयातमा खर्चिनु परेको उल्लेख छ । उनले भने, “यसले मुलुकको परनिर्भरतासमेत बढाएको छ । यसै तथ्यलाई दृष्टिगत गरी नेपाल सरकारले प्रमुख खाद्यान्न बालीका रुपमा रहेको धानको उत्पादन वृद्धि गरी देशमा दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर नीति तथा योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ ।” सन्देशमा भनिएको छ, “सिँचाइ सुविधा विस्तार, धानबालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीऊ तथा मलखादको व्यवस्था, प्रविधि विस्तार र किसानलाई प्राविधिक सहायता एवं ज्ञान उपलब्ध गराउने, सार्वजनिक वितरण प्रणालीमा सुधार गर्ने, न्यूनतम समर्थन मूल्यको घोषणा र कार्यान्वयन गर्नेजस्ता विषयमा वर्तमान सरकारले जोड दिँदै आएको छ । तथापि देशमा दीगो खाद्य सुरक्षा र आत्मनिर्भरता कायम गर्न तीनवटै तहका सरकारहरुको समन्वयात्मक र एकीकृत प्रयास हुनुपर्ने आवश्यकता रहन्छ ।” संविधानले कृषि तथा खाद्य सुरक्षा सम्बन्धी विषयमा प्रदेश सरकार र स्थानीय तहलाई बढी जिम्मेवार बनाएको सन्दर्भमा नेपाल सरकारले लिएका नीतिहरुको सफल कार्यान्वयनका लागि सहकार्य गर्दै अघि बढ्न उनले प्रदेश सरकार र स्थानीय तहहरुलाई आह्वान गरे । कृषि क्षेत्रको विकास र वृद्धि नै हालका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार भएको उल्लेख गर्दै सन्देशमा उहाँले त्यसका लागि कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण र मेशिनीकरण आवश्यक भएकामा जोड दिए ।  रासस

प्रधानमन्त्री निजी क्षेत्रको साथमा, निजी क्षेत्रमा अख्तियार नलाग्ने आश्वासन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा निजी क्षेत्रमा अख्तियार नलाग्ने आश्वासन दिएका छन् । नेपाल उद्योग परिसंघको १७ औं बार्षिक साधारण सभामा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले अहिले निजी क्षेत्रमा अख्तियार आवश्यक नभएको बताएका छन् । ‘निजी क्षेत्रलामा अख्तियार आउने भन्ने कुरा अगाडि आयो, यसमा निजी क्षेत्रले असहमति जनाए, व्यवसायीहरुको समस्या मैले बुझेको छु,’ उनले भने । निजी क्षेत्रका व्यवसायीका समस्याहरुलाई समाधानका लागि आफ्नो नेतृत्वको सरकार जहिल्यै समाधानमा अगाडि बढ्ने उनले बताए । यसको बारेमा पुर्नविचार आवश्यक रहेको उनको भनाई छ । देशको विकासका लागि सरकार र निजी क्षेत्रले सँसँगै अगाडि बढ्ने उनले बताए । यस्तै, अर्थमन्त्री डा.युवराज खतिवडाले पनि निजी क्षेत्रलाई सरकारले समस्यामा पार्न नखोजिएको बताए । उनले पनि सरकार र निजी क्षेत्रले एक अर्कालाई सहयोग गरेर अगाडि बढ्नु पर्ने बताए ।

कोरोना भाइरसको रोकथाममा सरकारकाे सक्दो प्रयास– भारतीय गृहमन्त्री शाह

दिल्ली । भारतीय गृहमन्त्री अमित शाहले भारतको राजधानी शहरमा कोभिड १९ को महामारी कम गर्न विशेष रुपमा काम गरेको बताएका छन् । उनले राजधानीमा निकै विस्फोटक रुपमा काेराेना संक्रमितहरुको संख्या बढ्दै गएकोले रोकथामका कामहरुमा सरकारले ध्यान दिएको जानकारी दिए । उनले संक्रमणको रोकथामका लागि आवश्यक मात्रामा सरकारले काम गरेको भन्दै सरकारले रोगविरुद्ध लड्न पूर्वाधार निर्माणको काम गरेको भन्दै  अस्पताल, बेडहरु र उपचारका लागि आवश्यक सामग्रीको व्यवस्था गर्ने जानकारी दिए । यस महिनाको अन्त्यसम्ममा राजधानी सहर दिल्लीका लागि कम्तीमा पनि ३० हजारजति बेड उपलब्ध हुने गरी सरकारले काम गरेको बताए । सरकारले कम्तीमा पनि ८ हजार जति बेडहरु रेलका डिब्बामा तयार पारिएको जानकारी दिए । सरकारले रेलका डिब्बाहरुलाई पनि आइसोलेसन बेड र उपचार कक्षकै रुपमा विकास गरेको भन्दै आइसियु चाहिने विरामीलाई मात्र अस्पताल लगे हुने अवस्था बनाएकाे छ । यो जुन महिनाको अन्त्यसम्ममा दिल्लीमा मात्र कम्तीमा पनि २ सय ५० ओटा भेन्टिलेटरसहितका आइसियु बेड निर्माण गरिदिने जानकारी पनि मन्त्री शाहले दिए । उनले सरकारले कोरोना भाइरसका विरुद्धमा कडा रुपमा लडिरहेको धारणा पनि राखे । उनले भने, जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले काम गरिरहेको छ । उनले दिल्ली सरकारले पनि यहाँको अस्पतालको व्यवस्था राम्रो हुन नसकेको विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । दिल्लीका अस्पतालहरुले आफूखुशी उपचार खर्च लिने गरेको भन्दै ती अस्पतालले धेरै उपचार खर्च लिएका र अरु पनि राम्रो व्यवस्था गर्न नसकेको भन्दै कैयौँ गुनासोहरु आएकोले त्यस विषयमा ध्यान दिन पनि आग्रह गरे ।   (रासस–एएनआई)

कोरोना फैलन नदिन आवतजावतमा कडाइ

काठमाडाैं । क्वारेन्टाइनको सुरक्षा र व्यवस्थापनमा खटिएका व्यक्तिमा कोरोना सरेपछि काठेखोला गाउँपालिकाले आवतजावतमा कडाइ गरेको छ । गए राति १२ बजेदेखि आउँदो २० गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारीसाधन, वित्तीय संस्था, पसल, होटल, खाजा घर खोल्न नपाइने भएको छ । एम्बुलेन्स, दूधको गाडी, ट्याक्टर, टिपर, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सवारी साधन भने चल्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका र वडा कार्यालयमा पनि अत्यावश्यक बाहेकका सेवालाई बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बताए । अनुमति लिएर मध्यपहाडी लोकमार्गमा गुड्ने सवारी साधनले पनि गाउँपालिकाभित्र यात्रु चढाउन, ओराल्न र बीचमा रोक्न नपाउने उनको भनाइ छ । क्वारेन्टाइन बाहिर रहेका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायमा फैलन नदिन गाउँपालिकाले उच्च सतर्कता अपनाएको हो । गाउँपालिकाको आकस्मिक बैठकले क्वारेन्टाइन व्यवस्थापनका लागि वडास्तरमा समिति पनि गठन गरेको छ । क्वारेन्टाइनको सुरक्षा र व्यवस्थापकीय काममा स्वयंसेवक परिचालन गर्ने निर्णय भएको जनाइएको छ । गाउँपालिकाले हिजो जारी गरेको विज्ञप्तिमा थप सजगता र कोरोना नियन्त्रणका लागि आवतजावतमा कडाइ गर्नुपरेको उल्लेख छ । गाउँपालिकाले कोरोना रोकथाम अभियानमा आम जनसाधारणसहित सम्बद्ध सबै पक्षको सहयोगको अपेक्षा गरेको छ । शनिबार साँझ वडा नं. ५ स्थित अमर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा खटिएका एक सुरक्षाकर्मीसहित खाना पुर्याउने महिला र उनका सहयोगीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यी तीनसहित काठेखोलामा हालसम्म २६ जनामा कोरोना देखिएको छ । तत्काल ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कोरोना जाँच गरिने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए । उनका अनुसार जिल्लामा विदेशबाट आएका बाहेकमा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको हो । यसअघि गत चैतमा बेल्जियमबाट आई घरमै बसेका बेला बागलुङ नगरपालिकाका दुई महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसयता भेटिएका सबै सङ्क्रमित भारतबाट आई क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । जिल्लामा हालसम्म १ सय ७९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । निको हुनेको सङ्ख्या २४ छ ।   रासस

धान रोपाइँ २१ प्रतिशत

काठमाडाैं । मनसुनको सक्रियतासँगै प्रदेश नं– १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । “मौसम अनुकूल छ, वर्षा भइरहेको छ, किसानको खेत र बीउ तयार अवस्थामा रहेकोले एक साताभित्रै रोपाइँको प्रतिशत उल्लेखीय वृद्धि हुनेछ”, निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले भने । यस प्रदेशमा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले कुलोपैनी, वर्षा, बोरिङको भरमा खेती गर्ने गरेका छन् । यस प्रदेशमा ३ लाख ४० हजार ८ सय २९ धान लगाउने क्षेत्रफलमा गत वर्ष १ लाख ९३ हजार ३ सय ९८ हेक्टरमा धान लगाइएको थियो । समग्रमा गएको वर्षमा यस प्रदेशमा ५६ दशमलव ७४ प्रतिशत रोपाइँ भएको थियो । वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले मनसुनको सक्रियता बढ्दा किसानको अनुहार हसिलो हुने र रोपाइँ पनि समयमै गर्न सकिने भएकोले उत्पादनमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।  रासस

९८ दिन थला परेको सेयर बजारः ४० मिनेट खुलेपछि २० मिनेट रेष्टमा

काठमाडौं । ९८ दिनपछि खुलेको बजारमा पहिलो सर्किट ब्रेक लागेको छ । कारोबार खुलेको ४० मिनेटमै सेयर बजार ४ प्रतिशतले घटेर सर्किट ब्रेक लागेको हो । यससँगै, सेयर कारोबार २० मिनेटको लागि रेष्टमा रहेको छ । अब १२ बजेपछि पुनः सेयर काराेबार शुरू हुने छ । यो अवधिमा नेप्से परिसूचक ४८.१७ अंकले घटेर ११५३ अंकमा झरेको छ । सो अवधिमा ६९ कम्पनीको ८ करोड ४२ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

तीन महिनापछि खुलेकाे बजारमा लगानीकर्ताकाे मुड कस्ताे हाेला ?

काठमाडौं । धितोपत्रको दोश्रो बजार आज ९८औं दिनपछि खुलेको छ । लामो अवधिपछि खुलेको बजार के होला ? बढ्ला कि घट्ला ? लगानी गर्ने कि नगर्ने ? भन्ने आम लगानीकर्तामा परेको छ । यस विषयमा नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले भने बजार शुरुमा घट्न सक्ने बताए । तर आज नै बाउन्स ब्याक पनि हुन सक्ने उनले बताए । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले आजको बजारमा केहि गिरावट आउन सक्नेछ तर दुई चार दिन पनि सम्हालिने बताएका छन् । ‘प्यानिक अवस्थाको बजार छ । लगानीकर्ताको मनोबल गिरेको अवस्था छ । त्यसैले केहि गिरावट आउला तर त्यति धेरै गिरावट चाहि आउने छैन । किनभने बजारमा आएका सकारात्मक कुराहरु जस्तै, पुँजीगत लाभकरमा स्पष्टता भएको छ । मौद्रिक नीतिमा मार्जिन कल बढाउने भन्ने कुरा भएको छ । इन्भेष्टमेन्ट बैंकको २ अर्ब रुपैयाँ फिर्ता आएको छ । यी कुराले बजार त्यति तल जाँदैन । आजको बजारमा सेलिङ प्रेसर आउने छ । आत्तिनु पर्ने अवस्था छैन केहि दिनमा बजारले आफ्नो गति लिन थाल्छ ।’ त्यस्तै, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि प्यानिक पछि खुलेको बजारमा केहि गिरावट आउने बताएकी छिन् । लगानीकर्ताको मनोबल कमजोर भएको छ, बजार केहि तल जान सक्छ त्यसैले सकेसम्म केहि दिन सेयर होल्ड गर्न उनले लगानीकर्ताहरुलाई आग्रह गरेकी छिन् । अन्तर्राष्ट्रिय बजारले जस्तै नेपाली पुँजी बजारले पनि एक दुई दिन पछि आफ्नो गति लिन सक्ने उनले बताइन् । ‘लामो समयदेखि बन्द भएको पुँजी बजारमा अत्यावश्यक कामको लागि रकम निष्काशन गर्न पाइएको छैन । पीडित लगानीकर्ताहरुले खर्चको जोहो गर्ने भएकाले आइतबारको बजारमा बिक्री चाप बढ्न सक्ने छ ।’ ‘अर्काे, हातमा पैसा लिएर बस्नेहरु पनि पर्ख र हेरको अवस्थामा नै हुने छन् । कोरोना महामारीको अवस्थामा फेरि पुँजी बजार घट्छ । र अहिले बचेर पछि घटेपछि किनौला भन्ने लगानीकर्ताको मनोविज्ञान पनि रहेको हुन्छ । यसका साथै, असार मसान्त नजिकिँदै गर्दा मार्जिन कल र व्याज तिर्ने चटारोको प्रेसर पर्न सक्छ ।’- अध्यक्ष पाेखरेलले बताइन् । बजारमा आत्तिनु पर्ने अवस्था छैन । बजारले २/४ दिन पछि गति लिन्छ त्यसैले केही दिन होल्ड गर्न उनले सबैलाई आग्रह गरेकी छिन् ।

कोरोनाले उपभोग्य वस्तुको अभाव, आपूर्ति सहज गर्ने प्रयासमा व्यवसायी र भन्सार प्रशासन

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण सन्त्रासका कारण विश्वव्यापी रुपमा आपूर्ति प्रणाली अबरुद्ध भएपछि नेपालमा उपभोग्य वस्तुको अभाव देखिन थालेको छ । कोरोना भाइरस संक्रमण रोक्नभन्दै नेपालमा वस्तु आयात हुने प्रमुख देशहरु भारत, चीनलगायतले लकडाउन गरेका कारण पनि आपूर्ति प्रणाली अवरुद्ध भएको हो । पछिल्लो समय बजारमा लत्ता कपडा लगायतका वस्तु अभाव देखिन थालेको व्यापारीले बताएका छन् । कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिका कारण आपूर्ति प्रणालीमा समस्या आएर नेपाली बजारमा मोजा, पेन्टी, सेन्डो, टिसर्ट, रेनकोट, छाता, प्लाष्टिकका जुत्ता चप्पल जस्ता वस्तुको अभाव देखिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । ‘चीनबाट आयात हुने धेरै वस्तु ५ महिनादेखि केरुङ नाकामा रोकिएका छन्, तातोपानी नाका पनि खुलेको छैन, त्यसैले तुलनात्मक रुपमा सस्तो पाइने चिनिया उपभोग्य वस्तुको अभाव देखिएको छ,’ अध्यक्ष कटुवालले भने । भन्सार विभागका सुचना अधिकारी शिशिर घिमिरेले आयात बढ्न थालेकोले बजारमा अभाव हुने सम्भावना कम रहेको बताए । विश्वव्यापी रुपमा कारोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउन खुकुलो बन्दै गएको र आपूर्ति प्रणाली पनि सहज हुँदै गएकोले नेपाली बजारमा अभाव कम हुने उनको भनाइ छ । ‘नेपालमा आयात हुने उपभोग्य वस्तुको आयात बढ्न थालेको छ, सामान्य अवस्थाको जसरी आयात स्वभाविक नभएपनि धेरै सुधार भएकोले बजारमा अभाव नै हुन्छ भन्ने अवस्था छैन,’ घिमिरेले भने । पछिल्लो समय व्यापारीले आयात बढाउन लागेको नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका कोषाध्यक्ष नरेश अग्रवालले बताए । कोरोना भाइरसको त्रास कम हुँदै गएकोले पछिल्लो समय आयात बृद्धि हुन थालेको उनको भनाइ छ । ‘लकडाउनको बीचमा पनि खाद्यान्न लगायत अतिआवश्यक वस्तुको आपूर्ति रोकिएको थिएन, अहिले अवस्था अझ सहज भएको छ, त्यसैले उपभोग बृद्धि हुँदै गरेको अवस्थामा पनि अभाब चर्केर जाला भन्ने अवस्था देखिदैन,’ अग्रवालले भने । केरुङका कन्टेनर रोकिदा अभाब बढ्यो नेपाली व्यवसायीले चीनबाट आयात गरेका करिब १८ सय कन्टेनर रोकिदा पनि नेपाली बजारमा अभाव देखिएको हो । ती कन्टेनरमा लत्ता कपडा, जत्ता चप्पल, चिनियाँ सहयोगमा निर्माण भएका विकास आयोजनाका सामाग्री, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक सामान बोकेका ती कन्टेनर माघ १५ गतेदेखि केरुङमा रोकिएका हुन् । चीनबाट आएका ती सामान नेपाल भित्रिएपछि अभाव हट्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कटुवालले बताए । भन्सारमा रोकिएका सामान नेपाल भित्र्याउने गृहकार्य करिब पूरा भएकोले छिट्टै नै आइसक्ने भन्सार विभागका सुचना अधिकारी घिमिरेको भनाइ छ । घिमिरेका अनुसार समान छुटाउनको लागि चीन सरकारले नेपाललाई खबर पठाएको र नेपालको भन्सारका कर्मचारीहरु केरुङ भन्सार नाका पुगिसकेका छन् । अबको २/३ दिनभित्रमा ती सामान छुट्ने घिमिरेले बताए ।