किसान भन्छन्–मानो रोपेर मुरी फलाउने दिन गए
वीरगञ्ज । हिलाम्य खेत, हातभरि धानको बेर्ना लिएर एक हुल महिला असारे गीत गाउँदै धान रोप्न व्यस्त छन् । अकाशभरि छिटपुट पानी परिरहेको छ तर नजिकै रहेको गण्डक नहरमा भने पानी आइसकेको छैन । भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाडेपछि मानो रोपेर मुरी फलाउने काम यसपालि अधुरै हुन लागेको हो । गण्डक नहरमा पानी नआउँदा पर्सा, बारा तथा रौतहटमा सिँचाइको अभावमा चाहेजति धानको बेर्ना राख्न नपाएपछि यहाँका किसान पुर्पुरोमा हात राख्न बाध्य छन् । नारायणी सिँचाइ आयोजना बहुअरीका सूचना अधिकारी सुरेशप्रसाद साहले भारतले गण्डक नहरमा पानी छोडिसकेको भए पनि आजसम्ममा मात्र पानी आउने बताए । मध्यतराईको अन्नको भण्डार मानिने पर्सा, बारा तथा रौतहटका किसानले गण्डक नहरमा समयमा पानी नछोड्दा राम्रोसँग धानको बेर्ना लगाउन नसकेका हुन् । पश्चिमी पर्सा जगरनाथपुरका किसान हरिदेव भने, “आकाशे पानीको भरमा थोरै बीउ लगाएको भए पनि अत्यधिकरुपमा वर्षा नहुँदा पानीको अभावमा लगाएको धानको बेर्नाको अभाव हुन थालेको छ ।” केही दिनयता मनसुन सक्रिय भई फाट्टफुट्ट पानी परे पनि पर्याप्तमात्रामा सिँचाइको अभावका कारण सोचे जति धानको बेर्ना लगाउन नसकिएको गुनासो गर्दै किसान मनोज साह कानु भने, “आवश्यक पानीको अभावका कारण यसपालि सोचे जति धान उत्पादन गर्न सकिँदैन ।” तीन वर्षअघि साउनको अन्तिम साता आएको बाढीपहिरोले नेपाल–भारत क्षेत्रमा रहेको गण्डक नहरका विभिन्न ठाउँमा क्षति भएपछि नहरमा पानी आपूर्तिमा ढिलाइ हुँदा पानीको अभाव देखिएको हो । पर्सामा ४६ हजार हेक्टर, बारामा ६० हजार ४ सय ३० हेक्टर तथा रौतहटमा ३८ हजार हेक्टर क्षेत्रफलमा किसानले धानखेती गर्दै आइरहेका छन् । पानीको अभावमा यस वर्ष पर्सा, बारा र रौतहटमा हालसम्म ४० प्रतिशत मात्र धानको बीउ राख्न सकिएको भन्दै कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा रामचन्द्र यादव गण्डक नहरमा समयमा पानी नछोड्दा यस वर्ष धानखेती प्रभावित हुने बताए । भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछोड्दा पर्सा बारा रौतहटका किसानले साना सिँचाइ, आकाशे वर्षा तथा खोलाको पानी सदुपयोग गरी धानको बेर्ना लगाएको देखिन्छ । गण्डक नहरबाट पर्सा, बारा तथा रौतहटमा ३७ हजार हेक्टर क्षेत्रफललाई सिँचाइ पुग्ने पानी छोडिन्छ तर समयमा पानी नआउँदा यसपालि धान रोपाइँ ढिलो भएको किसान शेषमन पण्डितले चिन्ता व्यक्त गर्नुभयो । केही समयअघि बाढीले नेपालतर्फ ८१ किलोमिटर लामो गण्डक नहरलाई क्षति पुर्याउँदा त्यस बेला पानीको अभावमा पर्सा, बारा र रौतहटको ७६ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाइएको गहुँखेती प्रभावित भएको थियो । भारतीय भूमि हुँदै गण्डक नहरको पानी पश्चिम पर्साको जानकी टोलाबाट शुरु भई पर्सा, बारा हुँदै रौतहटको वाग्मती नदीमा गएर मिसिन्छ । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारले नेपालतर्फ रहेको गण्डक नदीमा ८ सय ५० क्युसेक पानी छोड्नुपर्ने हुन्छ । अन्नको भण्डार मानिने पर्सा, बारा तथा रौतहटमा पानीको अभावमा पर्याप्त मात्रामा अन्न उत्पादन हुन नसक्दा भारतमाथिको परनिर्भता बढ्दै गएको छ । उर्वराभूमि, पर्याप्त जनशक्ति र सिँचाइको ठूलो स्रोत हुँदाहुँदै पानीको अभावमा समयमा धान रोपाइँ हुन नसक्दा कृषिमा परनिर्भता बढदै गएको हो । सरकारले आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भए पनि समयमा पानी नपर्दा तथा गण्डक नहरमा समयमा भारतीय पक्षले पानी नछाड्दा किसानलाई मानो रोपेर मुरी फलाउने काम सपना जस्तो भएको छ । रासस
असार १५: राष्ट्रिय धान दिवस, दही च्युरा खाने दिन
काठमाडौं । असार १५, राष्ट्रिय धान दिवस तथा दही च्यूरा खाएर मनाइदैंछ । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गरिंदैछ । कोरोनाको महामारीमा पनि सामाजिक दुरी कायम गरेर असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिनेछ । पहिलै देखि असार १५लाई दही च्युरा पर्वको रुपमा लिने गरिएको छ । खेतीपाती तथा आफ्नो पेशा र व्यवसायमा लागेका नेपालीले असार १५ दही च्यूरा खाएर मनाउँछन् । छिटो मनसुन सुरु भएसँगै यसवर्ष हालसम्म करिब २५ प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ । अघिल्लो वर्ष १५ असारअघि झण्डै १२ प्रतिशतमा जमिनमा मात्रै रोपाइँ भएको थियो । नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ । नेपालमा कूल खेतीयोग्य जमिन झण्डै ३१ लाख हेक्टर छ । नेपालमा पुगनपुग १५ लाख हेक्टर जमिनमा धान रोपाइँ गर्न सकिन्छ । तर, अझै पनि ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । नेपालमा हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङ बाहेक नेपालका सबै जिल्लामा धान उत्पादन हुन्छ ।
स्वास्थ्य सामग्री किन्न नर्वेमा रहेका नेपालीले गरे आर्थिक सहयोग
डाेटी । नर्वेमा बसोबास गर्दै आएका नेपालीले जिल्लाका तीन स्थानीय तहलाई स्वास्थ्य सामग्री खरिद गर्न आर्थिक सहयोग प्रदान गरेका छन् । जिल्लामा रहेका नागरिकलाई क्वारेन्टाइनदेखि अन्य स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा सहयोग पुर्याउन उनीहरुले २ लाख ३० हजार रूपैयाँ रकम सङ्कलन गरी उपलब्ध गराएका हुन् । जिल्लाको केआइसिंह गाउँपालिका–५ केदारगाउँका स्थानीयवासी तथा नेपाली काँग्रेस जनसम्पर्क समिति नर्वेका सभापति जीतेन्द्र शाहीको पहलमा उक्त रकम सङ्कलन गरी जिल्लामा पठाइएको हो । ‘स्वास्थ्य सामग्री खरिदका लागि आर्थिक सहयोग’ अभियानमा नर्वेमा बसोबास गर्दै आएका नागरिकले स्वःस्फूर्तरूपमा प्रदान गरेको रकम डोटी जिल्लामा पठाइएको शाहीले बताए । उनले भने, “जिल्लामा स्वास्थ्य सामग्री किन्न समस्या भएको खबर हामीले पायौं, सबै साथीको सहयोगमा रकम सङ्कलन गरी पठाएका छौं, आशा छ हाम्रो सहयोगले केही सहज हुने छ ।” नर्वेबाट प्राप्त उक्त सहयोगले जिल्लामा सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा समस्या भएका तीन वटा स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । केआइसिंह गाउँपालिका, शिखर नगरपालिकाको वडा नं १ र २ तथा सायल गाउँपालिका–२ को क्वारेन्टिनमा बसेका व्यक्तिलाई स्वास्थ्य सामग्री खरिद गरी हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । भारतबाट दैनिक हजारौंको सङ्ख्यामा नपाली स्वदेश फर्किन थालेपछि स्थानीय सरकारलाई स्वास्थ्यदेखि क्वारेन्टाइन व्यवस्थापन गर्न निकै कठिन भएको अवस्थामा प्राप्त सहयोगले निकै सहज भएको सायल गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले बताए । नर्वेबाट आएको आर्थिक सहयोगले यहाँका क्वारेन्टानमा बसेका व्यक्तिलाई सर्जिकल मास्क, नुहाउने र लुगा धुने साबुनलगायतका सामग्री खरिद गरी हस्तान्तरण गर्न लागिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिए । रासस
यी देशका मानिसहरू युरोपमा आउन सक्षम हुनेछन् तर अमेरिकीहरूलाई अनुमति छैन
काठमाडौं । युरोपियन युनियनका धेरै सदस्यहरूले ‘सुरक्षित’ गैर-यूरोपीयन देशहरूको सूची जारी गरेको छ । जसमा कुन देशमा आउन सक्छ र कुन कुन आउँदैन सक्दैन् भन्ने जानकारी दिएको छ । यस सूचीमा समावेश राष्ट्रका मानिसहरु जुलाई १ देखि अमेरिकालाई स्थान दिइएन जबकि अष्ट्रेलिया र क्यानडाका मानिसहरु युरोपका यी देशहरूमा आउन सक्षम हुनेछन् । यदि उनीहरूले पनि आफ्ना जनतालाई युरोपियन युनियनमा आउन दिए भने चीनका जनतालाई त्यो अवस्थामा आउन अनुमति दिइनेछ । युरोपियन युनियनले बेलायतका जनतालाई आउन दिइने छ कि छैन भनेर छुट्टै घोषणा गर्नेछ । अन्तिम निर्णय देशको हुनेछ युरोपियन युनियनमा समावेश भएका गैर-युरोपेली देशहरूको सूची अन्तर्गत, ती देशहरूको संक्रमण दर, सम्पर्क ट्रेसिंग प्रोग्राम र स्वास्थ्य डेटा अवलोकन गरिएको छ । यद्यपि यी देशहरूले ‘सुरक्षित’ सूचीमा समावेश गरी सबै मापदण्ड पूरा गर्नुपर्दैन । यो सूची सल्लाहको रूपमा मात्र जारी गरिएको छ । यो गरिएको छ किनभने कोभिड १९ महामारीको युगमा सीमा नियन्त्रण सबै देशहरूको निर्णय हो । तर जर्मनीको विश्वास छ कि युरोपेली संघले यस महामारीमा सँगै काम गर्नु आवश्यक छ । चाखलाग्दो कुरा के छ भने, जुलाई १ देखि जर्मनीले युरोपियन युनियनको अध्यक्ष हुनेवाला छ। अहिले सम्म यो सूची सल्लाहकारको रूपमा मात्र जारी गरिएको छ । कुनै पनि युरोपियन युनियन देशले यस सूचीमा समावेश भएका देशका मानिसहरूलाई यहाँ आउन अनुमति दिन बाध्य छैन तर उनीहरूले यो सूची पनि राखेका छैनन् कि ती देशका मानिसहरूलाई अनुमति नदिने अपेक्षा गरिन्छ । यो सूची जुलाई १ भन्दा पहिले प्रकाशित हुनेछ र त्यसपछि यो लगातार अपडेट हुनेछ । हाल कोरोना भाइरस संक्रमित बिरामीहरुको संख्या १ करोड नाघेको छ । यिनीहरूमध्ये सबैभन्दा बढी संक्रमित बिरामीहरू अमेरिकामा हुन्छन् । हाल संयुक्त राज्य अमेरिकामा २६ लाख भन्दा बढी संक्रमित छन् भने १ लाख २८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । कोभिड १९ रोगका कारण विश्वभरि ५ लाख ४ हजारभन्दा बढी मानिसहरुको ज्यान गएको छ । (बीबीसीबाट)
कोरोना संक्रमणः यस्तो छ आज विहानसम्मको ताजा तथ्याङ्क
काठमाडौं । नेपाली समय अनुसार आज विहान ६ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड २ लाख ३८ हजार १ सय ९९ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ५ लाख ४ हजार ७८ जनाको मृत्यु भइसकेको छ भने ५५ लाख ४९ हजार ७ सय २९ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २८ हजार ४ सय ३७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २६ लाख ३७ हजार ३९ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ९७ पुगेको छ भने अहिलेसम्म १६ हजार ४ सय ८७ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १२ हजार ७ सय ७२ जना संक्रमित भएका छन् भने २८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३ हजार १३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार ः वल्डोमिटर)
भोलि हुने भनिएको ईपानको निर्वाचन अनिश्चितकालका लागि स्थगित
काठमाडाै । भाेलि हुने भनिएकाे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईपान) को निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड–१९ को महामारीका कारण निर्वाचन स्थगित भएको बताइएकाे छ । कोभिड महामारीको असरका बीच २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने भन्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले परिपत्र जारी गरेपछि निर्वाचन स्थगित भएको इपानले जानकारी दिएको छ । सोमबार हुने निर्वाचनमा कृष्ण आचार्य र सूर्यप्रसाद अधिकारीको प्यानल प्रतिस्पर्धा घाेषणा गरिएकाे थियाे । सहमतिमा नेतृत्व तथा पदाधिकारी चयन गर्ने प्रयास भए पनि अन्तिम समयमा सम्भव नभएपछि दुवै पक्ष निर्वाचनमा जाने निर्णय गरेको थियो ।
काँग्रेसको १४औँ महाधिवेशन फागुन ७ मै हुने
काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर हुने जनाएको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा १४औँ महाधिवेशन निर्धारित समयमै गर्ने र अन्य अधिवेशनका तालिकामा भने हेरफेर गर्नेबारेमा छलफल भएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सो निर्णय पार्टीको आगामी केन्द्रीय समिति बैठकबाट पारित गराउन काँग्रेसले यही असार १६ गते दिउँसो १ः०० बजे केन्द्रीय समितिको बैठक बोलाएको छ । काँग्रेसले गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी मातहतका निकायका अधिवेशन र १४औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो । सो तालिका अनुसार २०७६ फागुनदेखि २०७६ चैतसम्म पार्टीको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्यसम्पन्न गर्ने अवधि तोकेको थियो । उक्त कार्यतालिका अनुसार जिल्लामा क्रियाशील सदस्यता फाराम पु¥याउने काम भए पनि कोभिड–१९ का कारण वितरण र नवीकरण कार्य प्रभावित भएको थियो । काँग्रेसले १४औँ महाधिवेशनका लागि गाउँ÷नगर वडा अधिवेशन आगामी कात्तिक १६ गते, गाउँ/नगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गतेका लागि निर्धारण गरेको थियो । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते, प्रदेश अधिवेशन आगामी मङ्सिर २९ गते र केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका सार्वजनिक गरिएको थियो । काँग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौँमा भएको थियो । काँग्रेसका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्ष हुने विधानमा उल्लेख भए पनि विधानकै अर्काे व्यवस्थाअनुसार एक वर्ष समयावधि यसअघि नै थप गरिसकिएको छ ।
सलह किरालाई माछा र कुखुराको आहार बनाउने तयारी
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशमा सलह किरा भित्रिएमा त्यसलाई टिपेर माछा र कुखुराको दानाका रुपमा प्रयोग गर्न सकिने गरी आवश्यक तयारी गरेको छ । धान दिवस मनाउने सन्दर्भमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले सलह किराले पु¥याउनसक्ने क्षति रोक्नका लागि यस्तो रणनीति अवलम्बन गरिएको बताए । यसका लागि सलह किरा टिपेर ल्याउनेलाई वडा कार्यालयमार्फत प्रतिकिलो रु २५ प्रोत्साहनस्वरुप दिने निर्णय गरिएको छ । माछा र कुखुराका लागि पोषिलो दानाका रुपमा मरेको सलह किरा निकै उपयुक्त हुने कृषि प्राविधिकको भनाइ छ । “सकभर सलह किरा प्रदेशमा नभित्रियोस् भन्ने चाहना हो”, शर्माले भने, “भित्री हालेको अवस्थामा थाल ठटाउने, धुवाँ लगाउने होहल्ला गर्ने जस्ता उपाय अवलम्बन गरेर भए पनि किरा धपाउन कृषकलाई सचेत बनाउन लागिएको छ ।” यो किराको पहिचान र नियन्त्रणका लागि सञ्चारमाध्यममार्फत प्रचारप्रसार कार्यसमेत गर्न लागिएको छ । क्षेत्रीय कृषि सेवा निर्देशनालयका निर्देशक यज्ञराज जोशीको नेतृत्वमा सलह किराको नियन्त्रणलगायतको कामका लागि ‘रेपिड रेस्पोन्स टिम’ समेत गठन गरिएको छ । यो किराले पु¥याउनसक्ने क्षति रोकथामको पहल गर्न जिल्लास्तरमा सरोकारवालासँग समन्वय गर्ने जिम्मा कृषि ज्ञान केन्द्रलाई दिइएको छ । असार १५ गते मनाइँदै आएको धान दिवस भने यस वर्ष कोभिड–१९ को सङ्क्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।