नेपालको जनसङ्ख्या तीन करोड नाघ्यो
काठमाडौं । नेपालको जनसङ्ख्या आजदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशको जनसङ्ख्या आज तीन करोड ६३४ पुगेको छ । विभागले राष्ट्रिय जनगणना, २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्याङ्कमा आधारित भएर मुलुकको जनसङ्ख्या तीन करोड ६३४ पुगेको जनाएको हो । राष्ट्रिय जनगणना, २०६८ को नतिजाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । आगामी वर्ष १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ हुँदैछ । विभागले त्यससम्बन्धी कार्यतालिका स्वीकृत गरिसकेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलको अध्यक्षतामा गत साता सम्पन्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठकले उक्त कार्यतालिका स्वीकृत गरेको हो । कार्यतालिकाअनुसार यही असार १५ गतेदेखि जनगणनाको प्रश्नावली तयारी थालेर स्थानीय तहअनुसार जनगणनाको तालीम, तथ्याङ्क प्रशोधन केन्द्रको तयारी, ‘अनलाइन’ मार्फत गणक तथा सुपरीवेक्षकको आवेदन, उनीहरूलाई तालीम, जनगणनाको सामग्री जिल्ला–जिल्ला पठाउने, प्रदेश तथा जिल्ला जनगणना कार्यालय स्थापना, प्रारम्भिक तथा अन्तिम नतिजा र २०८० वैशाखभित्र विषयगत प्रतिवेदन सार्वजनिक गर्ने लक्ष्य निर्धारण गरिएको छ । विभागले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ ।
एनआईसी एशिया लघुवित्तको आईपीओ भर्ने म्याद अब दुई दिनमात्र बाँकी, हालसम्म कतिले भरे ?
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) भर्ने म्याद अब दुई दिन मात्र बाँकी रहेको छ । असार १० गतेदेखि निष्काशन भएको संस्थाको उक्त सेयरमा इच्छुक आवेदकले असार १४ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् । हालसम्म अर्थात शुक्रबारसम्ममा २ लाख ९० हजारले उक्त सेयरमा आवेदन दिएका छन् । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार साढे ३ बजेसम्ममा सो मात्राले संस्थाको सेयरको लागि आवेदन दिएका हुन् । सो अवधिसम्ममा लगानीकर्ताले करिब १६ करोड २७ लाख कित्ता सेयरको लागि आवेदन दिएका क्यापिटलले जनाएकाे छ । जुन संस्थाले माग गरेको भन्दा ३६.६१ गुणा बढी आवेदन हो । संस्थाले ४४ लाख ४३ हजार २ सय कित्ता सेयर माग गरेको थियो । मागभन्दा बढी आवेदन परेसँगै संस्थाले असार १४ गतेसम्म मात्रै सेयर निष्काशन गर्ने छ । संस्थाले बुधबारदेखि ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । इच्छुक लगानीकर्ताले आगामी असार १४ गतेसम्म उक्त सेयरमा आवेदन दिन सक्नेछन् । उनीहरुले न्युनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । सम्बन्धित समाचारः एनआईसी एशिया लघुवित्तको आईपीओमा लगानीकर्ताको आकर्षण, दुई दिनमै एक कराेड बढीकाे आवेदन एनआईसी एशिया लघुवित्तको आईपीओमा १.५८ गुणा बढी आवेदन, हालसम्म कतिले भरे ? एनआईसी एशिया लघुवित्तको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?
उपत्यकामा थपिए ३ जना कोरोना संक्रमित
काठमाडाैं । शुक्रबार काठमाडौं उपत्यकामा थप ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएकाे बताए । तीनैजना संक्रमित पुरुष र काठमाडाैंकाे रहेकाे उनले बताए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ल्याबमा परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएकाे हाे ।
नेपालमा थप ५ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्याे
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ५ सय ९३ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ११ हजार ७ सय ५५ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या २६ सय ९८ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २७ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ६ हजार २ सय ७१ काे पिसिआर विधि र २ लाख ९० हजारकाे ३ सय ४९ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ७१ हजार १२ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार ३० जना आईसाेलेसनमा रहेका छन् ।
माेवाइलमै आउने भयो जापान र कोरियाबाट नगद, खल्तीमा सिधै पठाउन सकिने
काठमाडौं । खल्ती मेावाइल वालेटले जापान र कोरियाबाट नेपालमा रेमिटान्स भित्र्याउन सुरू गरेको छ । खल्तीले सिटी एक्स्प्रेस मनि ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान कम्पनी लिमिटेड र दक्षिण केरियाको जि मनि ट्रान्समार्फत खल्ती मेवाइल वालेटमा सिधै रेमिटान्स भित्र्याउन थालेको हो । खल्तीले यी दुइ मुलुकबाट मेवाइल खातामा सिधै रकम पठाउन मिल्ने सेवा सुरू गरेपछि नेपालमा रकम प्राप्त गर्ने ब्यक्तिले पिन नम्बर र आफ्ने परिचय पत्र लिएर रेमिटान्स कम्पनीको एजेन्टकहाँ रकम झिक्न धाउनु पर्ने झण्झट अन्त्य भएको छ । जापानमा रहेका नेपालीले सिटी एक्स्प्रेस मनि ट्रान्सफरको नजिकैको एजेन्टकहाँ गएर सिधै नेपालमा आफन्तको खल्ती मेवाइल खातामा सिधै रकम पठाउन सक्ने छन् । उता काेरियाबाट भने रकम पठाउन चाहनेले मेवाइल एपबाटै ट्रान्सफर गर्न सक्ने छन् । त्यहाँ रहेका नेपालीले जि मनीका तीन वटा शाखाहरूमा गएर पनि खल्ती वालेटमा रकम पठाउन सक्नेछन् । सिटिका जापानमा टेकियो सिन्जुकु-कु, नागोया, फुकुओका र तेचिगीमा शाखाहरू रहेका छन् । यस्तै जि रेमिटका केरियामा सोल, ग्योंगी-डो र ग्योंसांनाम-डोमा शाखाहरू रहेका छन् । सिटी एक्स्प्रेसका ब्यवसाय विकास प्रबन्धक सागर खनालले विभिन्न मुलुकबाट स्थानीय रेमिटान्स कम्पनीहरूसँग सहकार्य गरेर रेमिटान्स भित्र्याइरहेकामा जापान र काेरियाबाट भने आफ्नै कम्पनीबाट खल्तीमार्फत रेमिटान्स भित्र्याउन थालेकाे जानकारी दिए । ‘विश्वभर लकडाउनले घर बाहिर निस्कन नसकिरहेकाे अबस्थामा माेवाइलबाटै खल्तीमा रेमिटान्स पठाउन सकिने ब्यवस्थाले विदेशमा रहेका नेपालीलाइ धेरै सहज भएकाे छ’, उनले भने, ‘विस्तारै अन्य मुलुकबाट पनि माेवाइल वालेटमै रेमिटान्स भित्र्याउने ब्यवस्था गर्न लागेका छाैं ।’ खल्तीका निर्देशक अमित अग्रवाल जापान र काेरियाबाट डिजिटल माध्यमबाट रेमिटान्स भित्र्याउन थालेपछि रकम पठाउने र प्राप्त गर्ने दुवैलाइ निकै सहज हुने बताउँछन् । ‘माेवाइल एपबाटै रकम पठाउने सेवा सुरू हुनुअघि रकम पठाउने नगद बुझाउन र पाउने नगद बुझ्न एजेन्टकहाँ धाउनु पर्ने बाद्यता थियाे,’ उनले भने, ‘यसले गर्दा असुरक्षा हुने, नगद हातमा परेपछि अनावश्यक खर्च हुने अबस्था थियाे । अब माेवाइलमै नगद प्राप्त हुने र सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले सुरक्षित हुनुका साथै फजुल खर्च हुने सम्भावना हुँदैन । तुरून्तै रकम प्राप्त हुने भएकाले लकडाउनका बेलासमेत गर्जाे टार्न सजिलाे हुनेछ ।’ खल्ती नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ । कसरी डाउनलोड गर्ने खल्ती एप ? खल्ती एप यो लिंकबाट डाउनलोड गर्न र उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।
आइसोलेशनमा मृत्यु भएका सदाको परिवारलाई ५ लाख सहयोग
धनुषा । प्रदेश २ सरकारले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा मृत्यु भएका धनुषा हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई रु पाँच लाख सहयोग गर्ने भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहतस्वरुप पाँच लाख सहयोग गर्ने आज जानकारी दिए । घटनाको छानबिन गर्न गठित समितिले काम शुरु गरिसकेको र छानबिनमा दोषी देखिनेलाई कारवाही गरिने उनले बताए । गत जेठ ३ गते भारतको अहमदावादबाट आउनुभएका सदा गाउँकै क्वारेन्टिनमा रहेका थिए । १७ दिनसम्म क्वारेन्टिनमै बसेपछि उनलाई झाडापखाला भएपछि टिप्परमा बसाएर प्रादेशिक अस्पतालको ढोकासम्म ल्याइएको थियो । त्यही उनको स्वाब सङ्कलन गरिएको र समयमै रिपोर्ट नआएका कारण झाडापाखालाको समेत राम्रो उपचार नपाइ सोमबार मृत्यु भएको थियो । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमै उपचार नपाएर सदाको मृत्यु भएपछि प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ । समितिले सात दिनको म्याद पाएको छ । समितिको संयोजकमा स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र साह र सदस्यमा प्रदेश २ का अस्पताल विकास तथा चिकित्सा सेवाका डा नवल किशोर झा र मन्त्रालयका महाशाखा प्रमुख दिलीपकुमार प्रधान रहेका छन् ।
हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने सडक बन्द
काठमाडौं । हेटौँडा कुलेखानी हुँदै काठमाडाैँ जाने सडकको यातायात आवागमन बन्द गरिएको छ । वाग्मती प्रदेश, भौतिक योजना तथा निर्माण मन्त्रालयले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म सो सडकखण्डमा बन्द भएको जनाएको छ । हाल सो सडक खण्डको भीमफेदीदेखि कुलेखानीसम्म विस्तार तथा स्तरोन्नतिका काम जारी रहेको छ । मन्त्रालयले त्रिभुवन राजपथ र नौबिस मुग्लिन राजमार्ग प्रयोग गर्न अनुरोध समेत गरेको छ ।
काठमाडौंमा घरकाे मूल्य ४५ देखि ७८ लाखसम्म, यसरी गरिन्छ मूल्याङ्कन
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८को आर्थिक विधेयकमार्फत भवनको मूल्याकंन दर निर्धारण गरेको छ । महानगरले भवनको बनावटको आधारमा भवनको मूल्यांकन दर कायम गरिएको बताएको हो । महानगरपालिकाले भित्र काँचो बाहिर पाको इट्टामा माटोको जोडाई भएको भवन र काठबाट बनेका भवनको प्रति वर्गफिटको मूल्यांकन दर १ हजार ५ सय तोकेको छ । हालको अवस्थालाई हेर्दा सामान्य अवस्थाका घर न्यूनतम ३ हजार वर्गफिटकमा निर्माण हुन्छ । यसरी मूल्यांकन गर्दा तपाईको घर ३ हजार वर्गफिटमा निर्माण भएको छ भने त्यसको मूल्याकंन ४५ लाख रुपैयाँ हुन आउँछ । यस्तै, महानगरपालिकाले भित्रबाहिर पाको इटा वा ढुंगा र माटोको जोडाई भएको सबै किसिमको भवनको मूल्यांकन दर १ हजार ८ सय तोकेको छ । यदी तपाईको घर यस्तो किसिमको छ भने र ३ हजार वर्गफिटमा तपाईको घर निर्माण भएको छ भने तपाईको घरको मूल्य ५४ लाख रुपैयाँ पर्न जान्छ । यस्तै, तपाईको घर प्रि फ्याब भवन, गोदाम भवन छ भने त्यसको पनि मूल्यांकन दर १ हजार ८ सय नै तोकेको छ । भित्रबाहिर पाको इट्टा र सिमेन्टको जोडाई भएको भवनको मूल्याकंन दर भने २ हजार ३ सय कायम गरिएको छ । यस्तै, धेरै स्ड्याण्डर्डको घर अर्थात स्टील स्ट्रक्चर (ट्रस) भवनको मूल्यांकन दर २ हजार ४ सय निर्धारण गरेको छ । तपाईको घर यस्तो किसिमको छ र सो ३ हजार वर्गफिटमा निर्माण भएको छ भने तपाइको घरको मूल्यांन महानगरले तोके अनुसार ७२ लाख पर्न जान्छ । यसैगरि महानगरपालिकाले आर.सी.सी फ्रेम स्ट्रक्चर भवनको मूल्यांकन दर २ हजार ६ सय निर्धारण गरेको छ । तपाईको घर यही किसिमको छ सो घर ३ हजार वर्गफिटमा बनेको छ भने तपाईको घरको मूल्य मात्रै ७८ लाख रुपैयाँ हुन्छ । जग्गाकाे मूल्य ठाउँ अनुसार फरक ताेकिएका छ ।