काठमाडौं । नेपालको कानुन अनुसार कुनै पनि व्यापार व्यवसाय गर्ने हो भने उद्योग, कम्पनी वा संगठित संस्था दर्ता गर्नुपर्छ । उद्योग, कम्पनी वा संगठित संस्था दर्ता गर्नुपर्ने निकाय र त्यसको नियामक भने बेग्लै हुन्छन् ।
कम्पनी, उद्योग वा संगठित संस्था दर्ता गर्न कम्पनी रजिष्टारको कार्यालय, बाणिज्य विभाग, घरेलु तथा साना उद्योग विभाग, जिल्ला प्रशासन कार्यालय, सहभागी विभाग जस्ता निकाय र त्यसका मातहत कार्यालयमा जानुपर्छ ।
अर्थात कानुन अनुसार तोकिएका सरकारका कुनै पनि निकायमा कम्पनी, उद्योग वा संगठित संस्था दर्ता नगरी कुनै पनि प्रकारको उद्योग, व्यवसाय वा व्यापार गर्न पाइदैन ।
राष्ट्रिय सभामा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन संशोधन विधेयकमा सार्वजनिक संस्थाको परिभाषामा निजी क्षेत्रलाई पनि समेटिएको छ ।
‘नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहको अनुमतिले वा सम्झौताअनुसार प्राकृतिक स्रोत साधनको संरक्षण, संवद्र्धन, उपयोग वा उपभोग, वा विकास निर्माणसम्बन्धी काम गर्न गठित उपभोक्ता समिति वा यस्तै अन्य प्रकारका संस्थाहरू’लाई सार्वजनिक स)स्था भनिएको छ । नेपाल सरकारले राजपत्रमा सार्वजनिक संस्था भनेर प्रकाशित गरेका जुन कुनै संस्थालाई पनि सार्वजनिक संस्थाको भनिने र ती सबै अख्तियारको क्षेत्रात्रिकारभित्र पर्ने सरकारले ल्याएको विधेयकमा छ । आयोग, निगम, कम्पनी, बोर्ड, बैंक, मेडिकल कलेज र तिनका अस्पताल तथा अन्य संगठित सबै संस्थाहरूलाई समेत सार्वजनिक संस्थाका रूपमा राखिएको छ ।
विधेयकमा राखिएको व्यवस्था अनुसार निजी क्षेत्रले गर्ने व्यापार व्यवसाय, उद्योग वा सामाजिक कार्य पनि अख्तियारको दायराभित्र पर्छ । सरकारको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले राष्ट्रिय सभामा पेश गरेको संशोधन विधेयकमा निजी क्षेत्रलाई अख्तियारको नियमन दायराभित्र राख्नुपर्ने आवश्यकता किन देखियो भन्ने जिज्ञासाको जवाफ पाइएको छैन ।
विधेयकमा राखिएको व्यवस्था अनुसार मोटरसाइकल बनाउने समान्य वर्कशप, व्युटी पार्लर, चिया तथा खाजाघर, किरियापुत्री घर बनाउन दर्ता भएको टोलसुधार समिति, सामान्य मासु पसल जस्ता कम्पनी, संस्था र निकाय पनि अख्तियारको दायराभित्र पर्छन् । अहिलेसम्म कुनै सरकारी कर्मचारीले ‘सेवाग्राहीसँग ५÷१० हजार रुपैयाँ घुस खाएको अवस्थामा रंगेहात पक्राउ गरेको’ उपलब्धिमा रमाइरहेको अख्तियारलाई कुनै व्युटी पार्लरले नियम अनुसार लाग्ने २ हजार रुपैयाँ राजस्व नतिरेको अभियोगमा पक्राउ गर्दा उपलब्धी थपिए जस्तो लाग्न सक्छ । तर, यस्तै झिनामसिना कामको लागि अख्तियार स्थापना गरिएको हो कि होइन भन्ने सवाल भने अहम हो ।
आजको दिनमा पनि तत्कालिन माओवादी जनसेनालाई राज्यबाट दिइएको अर्बाैं रकम हिनामिना भयो भनेर परेको उजुरीलाई अख्तियारले अनुसन्धान गरी टुंगोमा पुर्याएको छैन । नेपाल वायुसेवा निगमले खरिद गरेको जहाजमा ६ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भयो भनेर परेको उजुरीमाथि पनि अख्तियारले छानविन थालेको छैन । छानविन गरेको भएपनि टुंगोमा पुगेको छैन । प्रधानमन्त्री निवास वालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर हिनामिना गर्न नीतिगत निर्णय गरी मुख्य भूमिका निर्वाह गर्नेहरुलाई अख्तियारको कार्यक्षेत्रभित्र नपर्ने भन्दै उन्मुक्ति दिइएको छ ।
अख्तियारलाई वास्तविक रुपमा प्रभावकारी बनाउन पहल गरिएको भए व्युटी पार्लर हेर्न पाउने अधिकार थप्नु पर्दैनथ्यो । मन्त्रिपरिषदमा फाइल लगेर भ्रष्टाचारलाई रक्षाकवच प्रदान गरिने नीतिगत भ्रष्टाचार रोक्न अख्तियारको कार्यक्षेत्र बढाइनु पथ्र्याे । निजी क्षेत्रमाथि आतंक सिर्जना गर्ने र राजनीतिक नेतृत्वले गर्ने नाजायज कामलाई नीतिगत निर्णयको नाममा छुट दिने खराव नियतका साथ यो विधेयक निर्माण गरेर राष्ट्रियसभामा पेश गरिएको स्पष्ट छ ।
कोरोना भाइरस संक्रमण रोक्न भन्दै सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउन खुकुलो भएपनि अझै खुलेको छैन । सरकारले ८० दिनसम्म त सबै उद्योग व्यवसाय ताला लगाएर बन्द गरायो । यसरी बन्द गराइएको उद्योग व्यवसायलाई सरकारले कुनै प्रकारको राहत दिएको छैन । उल्टै निजी क्षेत्रलाई आतंकित पार्ने गरी अख्तियार ऐन संशोधन गरिदैछ । अहिले सत्तारुढ नेकपाले सो संशोधन विधेयक अघि नढाउने भनेर निर्णय भने गरेको छ ।