एम्पियर इलेक्ट्रिक स्कुटर लकडाउन लगत्तै नेपाल आउँदै, अनलाइन बुक गर्न सकिने
काठमाडौं । ग्रिभ्स कटन लिमिटेडको इलेक्ट्रिक स्कुटर ब्रान्ड एम्पियर लकडाउन लगत्तै नेपालमा आउने भएको छ । भारतीय बजारमा २० प्रतिशतभन्दा बढी मार्केट शेयर रहेको एम्पियर इलेक्ट्रिकलाई डीएसएम ग्लोबलले नेपाल ल्याउन लागेको हो । ‘नेपालका लागि एम्पियरको डिलर नियुक्त हुन पाउँदा हामी खुसी छौं,’ डीएसएम ग्लोबलका प्रबन्ध निर्देशक देवस्वरुप महर्जनले भने, ‘हामीलाई विश्वास छ, विद्युतीय सवारीसाधनमा ग्रिभ्स कटनले हासिल गरेको दक्षता र अनुभवबाट हामी वातावरणमैत्री र दीर्घकालीन परिवहनको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउन सक्नेछौं ।’ ‘नेपाल सरकारले अहिले ‘न्यु एन्ड क्लिन इनर्जी भेहिकल’लाई प्रोत्साहन दिने नीति लिएको छ । तसर्थ ग्रिभ्स कटन र हामीबीचको साझेदारी ग्राहक र वातावरण दुवैका लागि फाइदाजनक हुनेछ,’ उनले भने, ‘हामी पनि नेपाल सरकारले जारी गरेको निर्देशनको पालना गरिरहेका छौं र लकडाउन हटेपछि मात्र स्कुटरको डेलिभरी थाल्नेछौं । तथापी हामी अहिले नै अनलाइन बुकिङ लिन थालिसकेका छौं ।’ कोभिडपछि छोटो यात्राका लागि इलेक्टिक स्कुटरहरुको प्रयोग बढ्ने अपेक्षा गरेको पनि उनले बताए । अझ यी स्कुटरमा इन्धन र मर्मत खर्च नगन्य हुने भएकाले इलेक्टिक स्कुटरको लोकप्रियता उच्च हुने अनुमान गर्न सकिन्छ । पेट्रोल पम्पहरुमा भीडभाड गरी लाइन बस्न नपर्ने, पैसाको आदान प्रदान हुने र सामाजिक दूरी पनि कायम हुने भएकाले इलेक्ट्रिक स्कुटर बढी सुरक्षित हुनेछन् । साना तथा मझौला व्यापारव्यवसायहरुका लागि त इस्कुटर बरदान समान हुनेछन् । यी स्कुटरहरुको अपेरेटिङ र रनिङ कस्ट भएका कारण इ-कमर्शमा डेरिभरी स्कुटरका रुपमा बढी प्रयोग हुने अपेक्षा डिएसएम ग्लोबलले गरेको छ । एम्पियर इलेक्ट्रिक भारतमा तीव्र गतिमा विस्तार भइरहेको इभी ब्रान्ड हो जसले पारम्परिक पेट्रोल स्कुटरको तुलनामा ८५ देखि ९० प्रतिशतसम्म खर्च बचाउँछ । सार्वजनिक भएको छोटो समयमै भारतमा ५० हजारभन्दा बढी एम्पियर इलेक्ट्रिक स्कुटर विक्री भइसकेका छन् भने दुई सयभन्दा बढी आउटलेट स्थापना भइसकेको छ । सन् २००८ मा पहिलो पटक भारतमा सार्वजनिक भएको एम्पियर इलेक्ट्रिकलाई गत वर्ष ग्रिभ्स कटन लिमिटेडले खरिद गरेको थियो । डीएसएम ग्लोबलले हाललाई रियो र जिल मोडेलका एम्पियर इस्कुटर नेपाल ल्याउने तयारी गरेको छ । यी दुवै लिथियम-आयन ब्याट्री-पावर्ड छन् । एम्पियर जिल भारतमा निकै चर्चित हाई स्पिड मोडेल हो । यसको टप स्पिड ५५ किलोमिटर प्रति घन्टा र माइलेज ७५ किलोमिटर रहेको छ । यसमा डिजिटल डिस्प्ले, पोर्टेबल ब्याट्री प्याक जस्ता फिचर छन् । यसमा ६० भोल्ट पर ३० एम्पियर आवर क्षमता भएको लिथियम आयन ब्याट्री र १२०० वाट को मोटर जडान गरिएको छ । एम्पियर रियो इन्ट्रि-लेभल स्कुटर हो जसको टप स्पिड २५ किलोमिटर प्रति घन्टा र माइलेज ५५ देखि ६५ किलोमिटर रहेको छ । ४८ भोल्ट पर २४ एम्पियर आवर क्षमता भएको लिथियम आयन ब्याट्री र २५० वाटको मोटर रहेको छ ।
गण्डकी अस्पतालमा आकस्मिकबाहेकका अन्य सेवा बन्द
कास्की । स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकस्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ । अस्पतालमा उपचारत कोरोना सङ्क्रमित स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएपछि उनको शव व्यवस्थापन गर्नुपर्ने भएकाले बिहीबार सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुबारीका पुरुषमा मधुमेह र निमोनियाको समेत समस्या थियो । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि यही असार ८ गते पोखरा ल्याएर भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । डा आचार्यका अनुसार आज शव व्यवस्थापन गरिएपछि शुक्रबारदेखि सबै सेवा नियमित सञ्चालन हुनेछ । गण्डकीमा यसअघि जेठ २५ गते स्याङ्जा, वालिङ –३ का ५८ वर्षीय पुरुषको क्षेत्रीय अस्पतालको आइसोलेशनमा मृत्यु भएको थियो । आज बिहान ४ जिल्लाका ११ जनामा सङ्क्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा सङ्क्रमित ७ सय ५३ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उपचाररत सङ्क्रमितमध्ये गण्डकीमा ९१ जना निको भएर घर फर्किसकेका छन् । रासस
एनआईसी एशिया लघुवित्तको आईपीओमा १.५८ गुणा बढी आवेदन, हालसम्म कतिले भरे ?
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आईपीओमा माग भन्दा १.५७५ गुणा बढी आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बिहीबार बिहान १० बजेसम्ममा एक लाख ३० हजार जना आवेदकले करिब ७० लाख कित्ता सेयरको लागि आवेदन दिएका हुन् । संस्थाले बुधबारदेखि कूल ४४ लाख ४३ हजार २ सय कित्ता सेयरको लागि बिक्री खुल्ला गरेको थियो । बिक्री खुला गरेको पहिलाे दिनमै संस्थाको सेयरमा माग भन्दा बढी आवेदन परेको थियाे । एनआइसी एशिया बैंक लिमिटेडको सहायक कम्पनीका रुपमा रहेको एनआइसी एशिया लघुवित्तले असार १० गतेदेखि कूल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेकाे छ। संस्थाले एक सय अंकित मूल्य रहेको ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेकाे हाे । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो । जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिनेछ संस्थाले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार १४ गते र ढिलामा असार २४ गतेसम्म हुनेछ । सम्बन्धित समाचारः एनआईसी एशिया लघुवित्तको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?
यात्रु ओसारपसार नगर्न यातायात व्यवसायी महासंघकाे आग्रह
काठमाडाैं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले बुधबार साँझ एक विज्ञप्ति जारी गरी बन्दाबन्दी कायमै रहँदा महासङ्घको नाम जोडेर आफुखुशी सार्वजनिक सवारी साधन सञ्चालन गरेको आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । “सार्वजनिक बसमा आफुखुशी यात्रु ओसारपसार गराउने कार्य गैरजिम्मेवार काम हो, यसको महासङ्घले घोर भत्र्सना गर्दछ,” जारी विज्ञप्तीमा भनिएको छ । महासङ्घले स्वास्थ्य मापदण्डलाई समेत पालना नगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्दा कोभिड–१९ को जोखिम हुने भएकाले यस्ता काम नगर्न सरकारलाई समेत अुनरोध गरेको छ । विज्ञप्तिमा सार्वजनिक सवारी साधनले मनोमानी ढङ्गले यात्रु ओसारपसार गर्दा हुने कोरोनाको संभावित जोखिमको जिम्मेवारी महासङ्घले नलिने समेत जनाइएको छ । रासस
१ सय ५८ नेपाली कतारबाट स्वदेश फर्किए
काठमाडाैं । कोरोना भाइरसको कारण कतारमा अलपत्र परेका १ सय ५८ जना नेपाली स्वदेश फर्किएका छन् । हिमालयन एयरलाइन्स उडान न एचआईएम–५६३२ मार्फत कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान २ः०७ बजे एक सय ५८ जना स्वदेश फर्किएका हुन् । फर्कनेहरुमा ३ जना गर्भवती, ७ जना सुत्केरी, २ जना नाबालक र १ सय ४६ जना पुरुष रहेका छन् । दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी, जागिर गुमेका पीडितहरु छन् । रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन् । नेपाली दूतावास दोहाका अनुसार यो पहिलो चरणको तेस्रो उडान हो । दोहास्थित नेपाली दूतावासका प्रतिनिधि र एनआरएनए कतारका पदाधिकारीहरु विदाइका लागि विमानस्थलमा पुगेका थिए ।
बजेट कार्यान्वयनमा सरकार असफल, खर्च र आम्दानी लक्ष्यको ६० प्रतिशत मात्रै
काठमाडौं । चालु आर्थिक वर्षको लागि बजेटमा लिइएका लक्ष्य भेट्टाउन सरकार पूर्णतः असफल भएको छ । आर्थिक वर्ष सकिन २० दिन मात्रै बाँकी रहदा सरकारले लक्ष्यको ६० प्रतिशत मात्रै राजस्व उठाएको छ भने खर्च पनि सोही अनुपातमा गरेको छ । सरकारको आम्दानी र खर्चको हिसाव राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार १० गतेसम्ममा संघीय सरकारले विनियोजित बजेटको करिब ६० प्रतिशत मात्रै खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट खर्च गर्ने भनेर संसदबाट स्वीकृति लिएको थियो । तर, असार १० गतेसम्ममा सरकारले जम्मा ९ खर्व १६ अर्व ७१ करोड ६३ लाख रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । सरकारले खर्च गरेको रकम कुल विनियोजित बजेटको ५९.८ प्रतिशत मात्रै हो । खर्चमध्ये पनि विकास निर्माणका काम गरिने पुँजीगत बजेट खर्चको अवस्था दयनीय छ । सरकारले असार १० गतेसम्ममा लक्ष्यको एक तिहाइ विकास बजेट पनि खर्च गर्न सकेको छैन । सरकारले चालु आर्थिक वर्षमा ४ खर्व ८ अर्व ५९ लाख रुपैयाँ पुँजीगत बजेट खर्च गर्ने भनेर संसदबाट स्वीकृति लिएकोमा असार १० गतेसम्ममा जम्मा १ खर्व ३१ अर्व ९२ करोड ३५ लाख रुपैयाँ मात्रै खर्च गरेको छ । सरकारले विनियोजित बढेको जम्मा ३२.३३ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । पुँजीगत खर्चको अवस्था दयनीय देखिए पनि चालु खर्च केही बढी देखिएको छ । यस्तै सरकारले तिर्नुपर्ने स्वदेशी तथा विदेशी ऋणको सावाँ व्याज भुक्तानीको लागि राखिएको बजेट भने आधा जति खर्च भएको छ । महालेखाका अनुसार असार १० गतेसम्ममा चालु बजेट ७२. ५८ प्रतिशत र वित्तीय व्यवस्थापनको बजेट ५३.७ प्रतिशत खर्च भएको छ । सरकारले असार १० गतेसम्ममा लक्ष्यको ६१.४६ प्रतिशत राजस्व उठाएको छ । चालु आर्थिक वर्षमा सरकारले ११ खर्व १२ अर्व ३ करोड ३२ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । यसमध्ये हिजो (असार १० गते) सम्ममा ६ खर्व ८३ अर्व ४८ करोड ३४ लाख रुपैयाँ राजस्व उठाएको छ । राजस्व मध्येपनि कर राजस्व लक्ष्यको ६१.२७ प्रतिशत उठेको छ । गैरकर राजस्व भने ६३.३४ प्रतिशत उठेको छ । सरकारले विदेशी सहयोग ल्याउन भने सकेको छैन । महालेखाका अनुसार गत असार १० गतेसम्ममा सरकारले वैदेशिक अनुदान वार्षिक लक्ष्यको २८.६८ प्रतिशत मात्रै ल्याएको छ । सरकारले चालु आर्थिक वर्षमा ५७ अर्व ९९ करोड ५५ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने भनेको थियो । तर, असार १० गतेसम्ममा सरकारले १६ अर्व ६३ करोड ४५ लाख रुपैयाँ मात्रै अनुदान प्राप्त गरेको छ ।
जिससले लकडाउनको अवधिको भाडा नलिने
काठमाडाैं । जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको अवधिको भाडा नलिने भएको छ । समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले वैशाख, जेठ र असार महिनाको भाडा नलिने बताए । डल्लाकोटीले चैत महिनाको ११ गतेसम्म सञ्चालनमा आएकाले सो महिनाको भाडा तिर्न लगाउने र ३ महिनाको छुट गरिदिने तयारी गरेको जानकारी दिए । जिल्ला समन्वय समितिको व्यावसायिक सटर र घरबाट मासिक ३ लाख ९० हजार रूपैयाँ भाडा सङ्कलन हुने गर्दछ । डल्लाकोटीले भने, “सरकारले लकडाउन गर्ने हामीले कसरी भाडा लिने ।” सरकारलाई सरकारी तहले सहयोग गर्नुपर्ने भन्दै उनले व्यवसाय नभएकासँग सरकारी निकायले भाडा लिनु न्यायिक नहुने बताए । यसलाई समितिले छिट्टै निर्णय गर्ने डल्लाकोटीको भनाइ छ । जिल्लामा घरबाहलमा बस्नेले भाडा छुट गरीदिन माग गरिरहेका छन् । निजी क्षेत्रले समेत भाडाको टुङ्गो लगाई सकेको छैन । मुख्यरुपमा जिल्लाको प्रमुख बजार नारायणगढ र भरतपुर क्षेत्रमा महँगो भाडा तिर्ने व्यवसायी रहेका छन् । सरकारी तवरबाट समन्वयसहित अस्पताल, विद्यालय, क्याम्पस, नेपाल प्रहरी, नागरिक उड्डयन प्राधिकरणलगायतले घरभाडामा लगाएतका छन् । ती निकायले भाडाको टुङ्गो लगाउन नसकी रहेका बेला जिल्ला समन्वय समिति प्रमुखले भाडा छुट गर्ने जनाए । यससँगै अन्य सरकारी कार्यालय र निजी क्षेत्रलाई दबाब र सहजता हुने भएको छ । रासस
चितवनका ७ पालिकाको बजेट ९ अर्ब रूपैयाँ
काठमाडाैं । जिल्लाका ७ पालिकाले आगामी आर्थिक वर्षका लागि ९ अर्ब ४० करोड रूपैयाँभन्दा माथिको बजेट विनियोजन गरेका छन् । एक महानगरपालिका र ५ नगरपालिकाले बुधबार बजेट सार्वजनिक गरिसकेका छन् भने गाउँपालिकाको गणपूरक सङ्ख्या नपुगेका कारण सरेको छ । स्थानीय तहले सामान्य ढङ्गबाट परिषद् गरिरहेका छन् । अतिथिसमेत नवोलाई भरतपुर महानगरपालिकाले परिषद् सदस्य र कर्मचारीका माझ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । जसमा ४ अर्ब १५ करोड ६४ लाख रूपैयाँ बजेट सार्वजनिक गरिएको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार बजेटले कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्दै स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई जोड दिएको छ । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्ब १४ करोड रूपैयाँ बजेट ल्याएको छ । नगर प्रमुख नारायण वनले बजेटमा कृषि, रोजगार, स्वास्थ्य तथा शिक्षालाई प्राथमिकता दिइएको बताउनुभयो । खैरहनी नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ का लागि ७७ करोड ८५ लाख रूपैयाँ बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख लालमणि चौधरीले यसपटकको बजेटले कृषि, पशुपालन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको बताए । यस्तै राप्ती नगरपालिकाले ८२ करोड रूपैयाँको बजेट ल्याएको छ । नगरप्रमुख प्रभा बरालका अनुसार समग्रमा बजेट कम भए पनि वडालाई दिने बजेट घटाइएको छैन । यसपटक राप्तीका पहाडी वडाले १ करोड ५० लाख रूपैयाँसम्म पाएका छन् । राप्तीले खरका छानो मुक्त गर्ने अभियानदेखि कृषिलाई प्रमुख प्राथमिकता दिएको छ । माडी नगरपालिकाले ८८ करोड ७० लाख रूपैयाँको बजेट ल्याएको छ । यसपटक युवा स्वरोजगार कार्यक्रममा माडी नगरपालिकाले शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएको प्रमुख ठाकुर ढकालले बताए । स्वास्थ्य, कृषि, रोजगार, सडकलाई प्रमुख प्राथमिकता दिएको छ । कालिका नगरपालिकाले २०७७/७८ का लागि १ अर्ब २ करोड ९२ लाख रूपैयाँको बजेट ल्याएको छ । कालिका नगरप्रमुख खुमनारायण श्रेष्ठका अनुसार कालिकाको नयाँ कार्यक्रम जनता आवास कार्यक्रममार्फत विपन्नलाई घर बनाइएको छ । इच्छाकामना गाउँपालिकाले यसपटक ५६ करोड ९६ लाख बजेट ल्याउँदै छ । गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले विपन्नको आँगनमा स्थानीय सरकार कार्यक्रम यस पटकबाट शुरु गरिने बताए । बजेटले कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएको उनले जानकारी दिए । गाउँपालिका उपप्रमुख कृतिकुमार श्रेष्ठका अनुसार बुधबार गणपूरक सङ्ख्या नपुगेर रोकिएको परिषद् आज हुँदैछ । रासस