सडक किनारमा राखिएको बम विस्फोट हुँदा पाँच जना सर्वसाधारणको मृत्यु
अफगानिस्तान । अफगानिस्तानको मार्डियान जिल्लाको एक सडकमा राखिएको बम विस्फोट हुँदा सोही बाटो भएर हिँडेका छ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । अफगानिस्तानको उत्तरी जाजियान प्रान्तमा बुधबार सो दुर्घटना भएको प्राप्त समाचारमा जनाइएको छ । उक्त प्रान्तका प्रवक्ता अब्दुल मरुफ अजरले सो जानकारी दिएका हुन् । उनले उक्त सडकमा बेवारिसे अवस्थामा राखिएको बम विस्फोट भएर तीन जना बालबालिका र दुई महिलासहित छ जनाको ज्यान गएको बताए । अफगानिस्तानको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयका प्रवक्ता तारिक आरियानले अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबान आतंककारीहरुले सो बम राखेको हुन सक्ने कुराको जानकारी दिएका छन् । उक्त प्रान्तमा पनि तालिबानहरुको ठूलो उपस्थिति रहेको बताइएको छ । त्यसैले तालिबानले नै बम राखेको उनले जानकारी दिए । तर तालिबानहरुले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् । यसअघि भने उनीहरुले अफगास्तिानमा यसैगरी बम विस्फोट गराएर सर्वसाधारणको हत्या गर्ने गरेका थिए । रासस/सिन्ह्वा
कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सल्यान अस्पताल बन्द
सल्यान । जिल्ला स्वास्थ्य कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालमा आपत्कालीनबाहेक सबै सेवा बन्द गरिएको छ । जिल्लाका विभिन्न स्थानमा क्वारेन्टिन बसेकाहरुको स्वाब सङ्कलनमा संलग्न ४५ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सङ्क्रमण न्यूनीकरणका लागि सेवा बन्द गरिएको हो । यही असार ५ गते अस्पतालका सात स्वास्थ्यकर्मीको स्वाब संकलन गरी सुर्खेत पठाइएकामा एक स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रमुख डा अर्जुन बुढाले बताए ।
डा सुधा देवकोटा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको प्रमुखमा नियुक्त
काठमाडौं । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको प्रमुखको जिम्मेवारी डा सुधा देवकोटा पाएकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै डा देवकोटालाई उक्त जिम्मेवारी दिएका हुन् । महाशाखाको जिम्मेवारी सम्हालिरहेका डा रमेश खरेललाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएपछि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र प्रमुखविहीन थियो।
कर्णाली प्रदेशमा मात्रै काेराेना सङ्क्रमितको सङ्ख्या एक हजार नाघ्याे
काठमाडाैं । बुधबार कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै याे प्रदेशमा मात्रै काेराेना सङ्क्रमितको सङ्ख्या एक हजार ३३५ पुगेकाे छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले पछिल्लो २४ घण्टामा सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २८ जनामा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । बुधबार थपिएका सङ्क्रमितमध्ये सुर्खेतका १३, जुम्लाका चार, दैलेखका तीन, जाजरकोट र कालीकोटका एक/एकजना रहेका छन् । यस्तै अन्य सङ्क्रमितहरुमा दाङ, धनुषा, रुपन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका एक/एक जना महाशाखा प्रमुख डा. तिवारीले जानकारी दिए । उनका अनुसार प्रतिष्ठान जुम्लामा सङ्क्रमित हुनेहरुमा चार जना स्वास्थ्यकर्मी रहेका छन् ।
लगानी व्यवस्थापन गर्न एनआईसी एशिया क्यापिटलले ल्यायाे नयाँ योजना, निश्चित प्रतिफल पाइने
काठमाडाैं । एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत ‘इन्कम ग्यारेन्टेड फण्ड’ नामक नयाँ लगानी व्यवस्थापन योजना संचालन गरेको छ । क्यापिटलले अवकाश प्राप्त व्यक्ति, गृहणी, नियमित आय आवश्यक पर्ने व्यक्तिहरु तथा जोखिम लिन नचाहने लगानीकर्ताहरुलाई मध्यनजर गर्दै यो योजना संचालनमा ल्याइएको हो । यो योजना अन्तर्गत लगानीकर्ताहरुले निश्चित प्रतिफल प्राप्त गर्नेछन् । यो योजना असार ११ गतेदेखि समिति अवधिको लागि लागु हुनेछ । हालको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले बचत खाता तथा मुद्धती निक्षेप खातामा दिने ब्याजदर घटाईरहेको अवस्थामा लगानीकर्ताहरुले यस योजनामा सहभागी हुँदा उचित प्रतिफल लिन सक्नेछन् । यस सम्बन्धमा थप जानकारीको लागि टोल फ्रि नं. १६६ ०११ २२२२२ वा मोवाईल नं. ९८५१२७३१४९ मा सोझै सम्पर्क गर्न सकिनेछ । साथै, ईमेल ठेगाना [email protected] मार्फत समेत आवश्यक जानकारी प्राप्त गर्न सकिने संस्थाले जनाएकाे छ ।
देशका ६ महानगरको बजेट: स्वास्थ्य, शिक्षा र पूर्वाधार प्राथमिकतामा
काठमाडाैं । देशभरका धेरै जसो स्थानीय तहले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट ल्याएका छन् । आज अर्थात बुधबार मात्रै देशका ६ महानगरपालिकाले बजेट प्रस्तुत गरेका छन् । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये कतिपय बजेट ल्याइसकेको छने भने कति ल्याउने क्रममा पनि छन् । देशका ६ वटा महानगरपालिकाले भने बजेट विनियोजन गरि सकेका छन् । महानगरपालिकाहरुले चालु आर्थिक वर्षका लागि ३९ अर्ब ६६ करोड ९४ लाख बजेट सार्वजनिक गरेका थिए । सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौं महानगरको बजेट ९२ करोडले बढेको छ । ललितपुर, वीरगन्ज, विराटनगर र पोखरा महानगरको बजेट घटेको छ । भरतपुर महानगरले पनि चालू आवको भन्दा ३९ करोड ६१ लाखले बढी बजेट प्रस्तुत गरेको छ । कुन महानगरको कति बजेट ? काठमाडौं महानगरपालिका काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बुधबार महानगरकी उपमेयर हरिप्रभा खड्गीले आर्थिक वर्ष २०७७/०७८ का लागि सो बजेट प्रस्तुत गरेकी हुन् । महानगरले बजेटमा आर्थिक विकासका लागि १७ करोड २३ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै, पूर्वाधार विकास क्षेत्रको लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । महानगरले चालु आवका लागि १५ अर्ब ५० करोड ७० लाख रुपैयाँ विनियोजन गरेको थियो । जुन चालु आर्थिक वर्षको भन्दा ९२ करोड रुपैयाँले बढी हो । महानगरपालिले कोभिड १९ को प्रभावका कारण व्यवसायमा परेको प्रभाव न्यूनीकरणका लागि विशेष घोषणा गरेको छ । यसअन्तर्गत मूख्य प्राथमिकता होटेल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगलाई दिइएको छ । महानगरले असुल गर्ने करमध्ये असुल हुन बाँकी रहेको चालु आर्थिक वर्ष २०७६/०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा महानगरले शतप्रतिशते छुट लगायतका सहुलियका कार्यक्रमहरु प्रस्तुत गरेको छ । ललितपुर महानगरपालिका ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७९ करोड १५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । बुधबार महानगरमा मेयर चिरीबावु महर्जनले बजेट सार्वजनिक गरेका हुन् । महानगरले कारोनाका कारण क्षति पुगेको अर्थतन्त्रलाई उकास्न विशेष नीति लिएको जनाएको छ । कारोना संक्रमण फैलन नदिन गरिएको लकडाउन अवधिको विभिन्न करमा १० प्रतिशत छुट दिने मेयर महर्जनले बताए । बैंकमा खाता खोल्न, खानेपानीको धारणा जडान गर्न लगायतका कामका लागि सम्पत्ति कर चुक्ताको प्रमाण पत्र पेश गर्नै पनि नीति लिने महानगरले बताएको छ । महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ५ अर्ब १७ करोड ९६ लाख रुपैयाँ विनियोजन गरेको थियोे । चालु आवभन्दा आगामी आर्थिक वर्षका बजेट ३८ करोड ८१ लाख रुपैयाँले कम हो । विराटनगर महानगरपालिकाका विराटनगर महानगरपालिकाको छैटौँ नगरसभाले आर्थिक वर्ष २०७७÷७८ का लागि कूल ३ अर्ब ३७ करोड ८१ लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ । यो रकम गत आर्थिक वर्षको भन्दा १ अर्ब ७५ करोड कम हो । जसमा आन्तरिक आम्दानीतर्फ ८९ करोड ८२ लाख ९६ हजार ७००, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटतर्फ ७६ करोड ८२ लाख ५२ हजार, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ रु ३८ करोड सात लाख ६८ हजार र सङ्घीय सरकारको सशर्त अनुदानतर्फ १ अर्ब २ करोड ९ लाख रहेको छ । उपप्रमुख इन्दिरा कार्र्कीले बजेटमा पूँजीगत खर्च १ अर्ब ७१ करोड ७९ लाख ६५ हजार विनियोजन गरेको बताइन् । नीति तथा कार्यक्रमका आधारमा बजेट निर्माण गरेको जानकारी दिँदै पूर्वाधारसम्बन्धी, सूचनासम्बन्धी, वित्तीय व्यवस्थापन राजश्व परिचालन, सामाजिक विकाससम्बन्धी नीतिअन्तर्गत शैक्षिक, युवा, खेलकूद, नगर स्वास्थ्यसम्बन्धी, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी, पर्यटन, भाषा, कला तथा संस्कृति संरक्षण सम्बन्धमा लिएको नीतिले नगर क्षेत्रमा आमूल परिवर्तन ल्याउने विश्वास दिलाए । भरतपुर महानगरपालिका भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८का लागि ४ अर्ब १५ करोड ६४ लाख रुपैयाँ विनियोजन गरेको छ । महानगरको आज आयोजित छैटौँं नगरसभामा सो बजेट प्रस्तुत गरिएको हो । जसमध्ये ४८ करोड चालु खर्च रहेको छ । महानगरलेचालु आर्थिक वर्षका लागि ३ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ विनियोजन गरेको थियो । यो रकम चालु आर्थिक वर्षको भन्दा ३९ करोड ६१ लाख कम हो । बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले आम्दानीतर्फ अन्तर सरकारी अख्तियारीबाट रु ६० करोड, आन्तरिक आय रु ९० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ६९ करोड दुई लाख ३८ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट रु ४६ करोड १२ लाख ५१ हजार रहेको बताए । महानगरवासीको मौलिक हकको रुपमा रहेका न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्दै जाने, निजी तथा सहकारी क्षेत्रसँग सहकार्य गर्दै रोजगारीका अवसर सिर्जना गर्ने, साधन स्रोत, अवसर र क्षमताको विकास तथा सोको उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउन बजेट केन्द्रित भएको उपप्रमुख ठकुरीले नगरसभालाई जानकारी दिए । वीरगन्ज महानगरपालिका वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्षका लागि ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार ३ सय ३५ रुपैयाँ बराबरको वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । प्रदेश २ को एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको बुधबार आयोजित सातौं नगरसभामा उपप्रमुख शान्ति कार्कीले अगामी आर्थिक वर्ष २०७७्/०७८ का लागि ३ अर्ब ८६ करोड ५१ लाख बरबारको बजेट सार्वजनिक गरेकी हुन् । महानगरको आगामी आर्थिक वर्षको वार्षिक बजेटमा चालु खर्चतर्फ १ अर्ब ६२ करोड ६९ लाख १८ हजार अर्थात कुल बजेटको ४२।०९ प्रतिशत विनियोजन गरिएको छ । पुँजीगत खर्चतर्फ भने २ अर्ब १७ करोड ४६ लाख ७२ हजार अर्थात ५६।२६ प्रतिशत र वित्तिय व्यवस्थापनतर्फ करोड ३६ लाख अर्थात ११।६५ प्रतिशत बजेट विनियोजन गरिएको छ । बजेटमा कुल खर्चमध्ये सबैभन्दा बढी पूर्वाधार विकास क्षेत्रमा ४५.८१ प्रतिशत अर्थात १ अर्ब ७७ करोड ६ लाख १२ हजार विनियोजन गरिएको छ । यस्तै समाजिक विकास क्षेत्रमा भने २२।७१ प्रतिशत अर्थात ८७ करोड ७७ लाख ३६ हजार खर्च हुने अनुमान गरिएको छ । कार्यालय सन्चालनतर्फ भने १८।६२ प्रतिशत अर्थात ७१ करोड ९८ लाख १ हजार खर्च हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा विरगञ्ज महानगरपािलकाले ४ अर्ब ४८ करोड १३ लाख रुपैयाँ विनियोजन गरेको थियो । जुन रकम अहिलेको भन्दा ६१ करोड रुपैयाँले बढी हो । पोखरा महानगरपालिका पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैंयाँको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा करिब १ अर्ब रुपैयाँ घटाएर बजेट ल्याएको हो । पोखरा महानर उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरको नगरसभामा उक्त बजेट सार्वजनिक गरेकी हुन् । कुल बजेटमध्ये संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख रुपैयाँ गरी जम्मा अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने महानगरको अनुमान छ । बजेटमा भौतिक पूर्वाधार विकासलाई बढी महत्व दिइएको छ । कुल बजेटमध्ये ६५ करोड ४४ लाख रुपैयाँ महानगरका सहरी र पहाडी क्षेत्रमा सडक सम्पन्न गर्न बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमा निर्माण सुरु गरिएका विभिन्न ७ वटा वडा कार्यालय भवन निर्माण पूरा गर्न ६ करोड ११ लाख विनियोजन गरेको उपप्रमुख गुरुङले बताइन् । महानगरले कोरोना कारण भएको लकडाउन लकडाउन अवधिको भाडा मिनाहा गर्ने घरधनीलाईसमेत बहाल करमा छुटको व्यवस्था गरेको छ । ‘महानगरका नियमित करदाताहरुलाई कोभिड १९ को कारण व्यवसायमा परेको असर परेको छ । महानगरले चालु आर्थिक वर्षका लागि ७ अर्ब ५४ लाख रुपैयाको बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको बजेट ८० करोड ८३ लाख कम हो ।
एनआईसी एशिया लघुवित्तको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ)मा पहिलो दिन ४४ करोड ५० लाख रुपैयाँ बराबरको आवेदन परेको छ । बुधबार साँझ ५ बजेसम्ममा सो मात्राको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार सो दिन करिब ७५ हजार जनाले आवेदन दिएका छन् । जसले करिब ४४ लाख ५० हजार कित्ता सेयरको लागि आवेदन दिएका हुन् । एनआइसी एशिया बैंक लिमिटेडको सहायक कम्पनीका रुपमा रहेको एनआइसी एशिया लघुवित्तले असार १० गतेदेखि कूल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेकाे छ। संस्थाले एक सय अंकित मूल्य रहेको ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेकाे हाे । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो । जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिनेछ संस्थाले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार १४ गते र ढिलामा असार २४ गतेसम्म हुनेछ ।
कर्मचारी सञ्चय कोषको २२ अर्ब रुपैयाँ सेयरमा, सञ्चयकर्तालाई दियाे एक खर्ब ८१ अर्ब सापटी
काठमाडौं । कर्मचारी सञ्चय कोषले २२ अर्ब ४४ करोड रुपैयाँ सेयरमा लगानी गरेको छ । जुन प्रतिशतका आधारमा ६.६९ प्रतिशत हो । २०७६ असार मसान्तको क्षेत्रगत लगानी सार्वजनिक गर्दै कोषले एक वर्षमा उक्त रकम सेयरमा लगानी भएको जनाएकाे छ । त्यस्तै, सञ्चयकर्तालाई एक खर्ब ८१ अर्ब रुपैयाँ सापटी दिएको छ । जुन काेषले गरेकाे क्षेत्रगत लगानी मध्ये सबैभन्दा बढी अर्थात ५३.४६ प्रतिशत हो । बैंकको मुद्दती निक्षेपमा ७८ अर्ब ७९ करोड रुपैयाँ र परियोजना कर्जामा ५२ अर्ब १९ करोड रुपैयाँ लगानी रहेको छ । त्यसैगरी, सरकारी सुरक्षण पत्रमा ५३ करोड र व्यवसायिक भवनमा ७२ करोड रुपैयाँ रहेको कोषले जनाएको छ । कोषले कर्मचारी सञ्चय कोष ऐन, २०१९ ले गरेको व्यवस्था अनुरुप वर्षभरको कामकाजको वार्षिक विवरण नेपाल सरकारलाई पेश गरेको छ । कोषले आर्थिक वर्ष २०७५/७६( २०७५ साउन १ गते देखि २०७६ असार मसान्तसम्म)को लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण असार ९ गते अर्थमन्त्री युवराज खतिवडालाई बुझाएको हो । त्यस्तै, कोषको सञ्चयकर्ता संख्या बढेर ६ लाख २७ हजार पुगेको छ । कुल वित्तीय स्रोत ३ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ, सञ्चित सञ्चय कोष बढेर ३ खर्ब ९ अर्ब ८५ करोड र कर्जा तथा लगानी रकम बढेर ३ खर्ब ३५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, कुल आम्दानी रकम २९ अर्ब ९६ करोड र मुनाफा रकम ४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । कोषको मुख्य कार्यालय ठमेल सहित सातवटै प्रदेशमा शाखा कार्यालय रहेको र कुल ४५२ जना कर्मचारीमा महिलाको संख्या एक सय रहेको छ ।