विकासन्युज

सेयर बजारमा विद्युतीय कारोबारको सीमा हट्यो, अब जति पनि भुक्तानी गर्न सकिने

काठमाडौं । सेयर बजारमा विद्युतीय तथा मोबाइल बैंकिङ प्रणालीबाट हुने कारोबारको सीमा हटेको छ । यस्तो कारोबारमा लगाइएको सीमाको कारण सेयर बजार खोल्न सकिने भन्दै धितोपत्र बोर्डले नै बजार बन्द गराएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरी हाल विद्युतीय र मोबाइल बैंकिङ प्रणालीबाट हुने भुक्तानीको सीमा हटाएको हो । यसअघि मोबाइल बैंकिङमा दैनिक १ लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँसम्म कारोबार गर्न पाइने व्यवस्था थियो । यस्तै, इन्टरनेट बैंकिङको मर्चेन्ट पेमेन्टमा दैनिक १० लाख रुपैयाँ र मासिक ३० लाख रुपैयाँ तथा अकाउन्ट ट्रान्सफरमा दैनिक १० लाख रुपैयाँ र मासिक ५० लाख रुपैयाँसम्मको सीमा तोकिएको थियो । तर, कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न भन्दै सरकारले जारी गरेको लकडाउनको समयमा कारोबार गर्न अप्ठेरो परेकोले सेयर कारोबारमा यस्तो सीमा हटाउनु पर्ने सुझाव पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले नेपाल राष्ट्र बैंकलाई दिएको थियो । बोर्डको सुझाव अनुसार नै राष्ट्र बैंकले सेयर कारोबारको भुक्तानीमा हुने सीमा हटाएको छ । कारोबारको सीमा हटाइएपनि एक पटकमा कति रकम भुक्तानी गर्न पाइने भन्ने विषयमा भने राष्ट्र बैंकले सीमा तोकेको छ । भुक्तानी प्रक्रियमा अपनाउनु पर्ने सावधानी र कारोबार सहज पनि बनाउनु पर्ने अवस्थाको कारण एक पटकमा कति रकम मात्रै ट्रान्सफर गर्न पाइने भनेर सीमा अझै कायम रहेको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेलले जानकारी दिए । ‘सेयर किन्ने व्यक्तिले मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्ने हो भने एक पटकमा १ लाख रुपैयाँ र इन्टरनेट बैंकिङबाट भुक्तानी गर्ने हो भने एक पटकमा १० लाख रुपैयाँ मात्रै भुक्तानी गर्न पाइन्छ, त्योभन्दा बढी रकम भुक्तानी गर्नुपर्यो भने अर्काे पटक पठाउनु पर्ने भयो, पहिला एक दिनमा १ लाख रुपैयाँ र १० लाख रुपैयाँको सीमा थियो, अब त्यो सीमा छैन, एक पटकमा १ लाख र १० लाखको सीमा छ, एक दिनमा जतिपटक पनि यसरी रकम भुक्तानी गर्न पाउने व्यवस्था मिलाएर सीमा हटाएका छौं,’ कार्यकारी निर्देशक कडेलले भने ।

नेकपा स्थायी कमिटी बैठक बस्यो, यी ५ विषयबारे छलफल हुने

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी  बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ। बैठकमा पाँच एजेण्डामा छलफल हुने बताइएकाे छ । सरकारको कामका सम्बन्धमा कोविड–१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा, नेपालको सीमा समस्या र समाधान सम्बन्धमा र सरकारका अन्य कामबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। त्यसैगरी पार्टी एकताका बाँकी कामहरु, एमसीसीका सम्बन्धमा र विविध विषयमा छलफल हुने उनले जनाएका छन्। यस्तै, बैठक सरकारको कामको समीक्षा पनि हुने बताइएकाे छ ।

‘सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्छ’

काठमाडाैं । होटलहरुको छाता सङ्गठन होटल व्यवसायी महासङ्घले सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ । महासङ्घका अध्यक्ष हिराध्वज शाहले मङ्गलबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले बन्दाबन्दी गरेपछि अस्तव्यस्त रहेको होटल व्यवसाय सावधानी अपनाएर खोल्न पाउनुपर्ने माग गरेका हुन् । कोरोना सङ्क्रमण शुरु हुनेबित्तिकै होटल व्यवसायीले राज्यलाई होटल क्वारेन्टिनका रूपमा उपलब्ध गराउने घोषणा गरे पनि सरकारले महङ्गो शुल्कमा अन्य संस्थासँग सम्झौता गरेको महासङ्घको ठहर छ । महासङ्घले कतार, मलेशिया, दुबईलगायत खाडी मुलुकबाट कोरोना सङ्क्रमणका कारण नेपाल फर्केका श्रमिकलाई आफ्नै खर्चमा महङ्गा होटलमा बस्न लगाउनु दुःखद् भएको बताएको छ । महासङ्घले बन्दाबन्दीको समयमा होटल सञ्चालन नहुँदा होटल व्यवसायीलाई ठूलो मार परेको भन्दै होटलको घरभाडामा ५० प्रतिशत तथा बिजुली, पानी, टेलिफोन, इन्टरनेट महसुलमा विशेष छुटको व्यवस्था गर्न आग्रह गरेको छ । महासङ्घका सचिव नारायण गुरुङले महामारीले पूर्णरूपमा असर पुर् याएको होटल व्यवसायीलाई राहतस्वरुप एक वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजश्व मिनाहा गर्ने व्यवस्था मिलाउनुपर्ने बताए । उनले होटल व्यवसायका क्रममा बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण र किस्ता तिर्ने मुख्य स्रोत व्यवसाय भएकाले ऋण तथा किस्ता तिर्ने समयावधि दुई वर्ष थप गरी ब्याजमा सहुलियतदर कायम गराई साँवामा गाभिदिने व्यवस्था मिलाउन आग्रह गरे । अहिलेसम्म होटल व्यवसायीले राज्यबाट कुनै पनि सुविधा नपाएको भन्दै महासङ्घले न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाउनसमेत माग गरेको छ । बन्दाबन्दीका कारण होटल क्षेत्रबाट विस्थापित भई बेरोजगार भएका श्रमिक तथा मजदुरलाई पुनर्ताजगी तालिमको व्यवस्था गरी रोजगारीको अवसर सिर्जना गर्नुपर्ने महासङ्घले बताएको छ । कोरोना सङ्क्रमणको जोखिम बढ्दै जाँदा होटल व्यवसायको आर्थिक भार दिनानुदिन बढ्न गई यस क्षेत्रका व्यवसायी पलायन हुने अवस्था देखिएकाले यस अवस्थालाई मध्यनजर गर्दै सरकारले योजना तर्जुमा गर्नुपर्ने महासङ्घको भनाइ छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पर्यटन व्यवसायसँग नीति, नियम बनाउँदा महासङ्घको राय सुझावलाई समेत समेट्न महासङ्घलाई प्रतिनिधित्व गराउन आग्रह गरेको छ । मुलुकको ७७ वटै जिल्लामा फैलिएको महासङ्घमा झण्डै ८० हजार होटल व्यवसायीहरु आवद्ध छन् । रासस

नगरपालिकाको डोजरमा व्यक्तिको रजाइँ, ४५ लाख उधारो, उठाउन हम्मेहम्मे

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको डोजरमा व्यक्तिको रजाइँ भएको पाइएको छ । जारी आव सकिनै लाग्दा नगरपालिकालाई डोजर प्रयोगको लाखौँ उधारो रकम उठाउन हम्मेहम्मे भएको छ । नगरपालिकाको विकासका लागि करिब रु एक करोड मूल्यमा खरिद गरिएको डोजर विभिन्न निकायमा आबद्ध व्यक्ति तथा संस्थाहरुले निजी तथा सार्वजानिक प्रयोजनका लागि प्रयोग गरेर रकम नतिरेको पाइएको हो । नगरको डोजर धेरैजसोले व्यक्तिगत कामका लागि प्रयोग गरेका छन् । तुइनमा गाडी तार्नेदेखि भवनको जग खन्ने, व्यक्तिगत कुलो खन्नेलगायतका काममा प्रयोग गरिएको छ । जारी आवमा मात्रै डोजर प्रयोगवापतको रु ४४ लाख ७२ हजार रकम उठाउन बाँकी रहेको नगरपालिकाले जनाएको छ । केही दिनअघि मात्रै नगर उपप्रमुख चन्द्राकुमारी बोहोराको संयोजकत्वमा बसेको नगर राजश्व परामर्श समितिको बैठकमा डोजरको उठ्न बाँकी रकमका बारेमा बृहत् छलफल भएको थियो । उठ्न बाँकी रकमको विषयलाई लिएर सरोकारवाला पक्षले तीव्र आलोचना गरेका छन् । आगामी नगरसभामा डोजर प्रयोग गरेर रकम नतिरेका सबैको नाम सार्वजानिक गरिने नगर उपप्रमुख बोहोराले बताए । नगरसभामा नाम सार्वजानिक गर्नुअघि डोजरका कर्मचारी खटाएर रकम उठाउन लगाउने र नउठे नाम सार्वजानिक गर्ने उनको भनाइ छ । डोजरका लागि मात्रै नगरपालिकाले तीन कर्मचारी नियुक्ति गरेको छ । ‘नगरको डोजरको लाखौँ उधारो छ, त्यही रकम उठाएर तलबभत्ता खुवाउनुपर्ने हो तर उधारो रकम नउठाएरै कर्मचारी पालिरहेको छ’, राजवश्व परामर्श समितिका सदस्य पूर्णकेशर न्यौपानेले बताए । नगरपालिकाको डोजर एउटै व्यक्तिले ४८ घण्टासम्म प्रयोग गरेर रकम नतिरेको उधारो सूचीमा देखिएको छ । सरकारी डोजर कर्मचारी, जनप्रतिनिधि, स्थानीय राजनीतिज्ञ, बुद्धिजीवीलगायतका व्यक्तिले प्रयोग गरेर रकम नतिरेको पाइएको हो । डोजर खरिद गरेका जिल्लाका अन्य स्थानीय तहले पनि आर्थिक लेखाजोखा जनतासामु सार्वजानिक गर्नुपर्ने डोल्पालीको धारणा छ । रासस

कोरोना प्रभाव : लगानी सम्मेलन योजनामै सीमित

काठमाडौं । पाँचखाल नगरपालिकाले चालु आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्न बनाएको योजना योजनामै सीमित भएको छ । लगानी सम्मेलन गर्ने निर्णय गरी तयारीमा जुटेको नगर कार्यपालिकाको योजना कोरोना भाइरस सङ्क्रमणका कारण योजनामै सीमित भएको हो । कोरोना सङ्क्रमण शून्य भएपछि आउँदो आर्थिक वर्षको उपयुक्त समय हेरेर लगानी सम्मेलनको तयारी गर्ने योजना पुनः बनाइने नगरप्रमुख महेश खरेलले बताए । उनले, “यसै आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्न प्रारम्भिक बजेटसमेत विनियोजन गरेका थियाैं, अब आउँदो वर्ष गर्न पुनः योजना बनाउँछौं ।” यसअघि स्थानीय तहअन्तर्गत पहिलोपल्ट गत साल असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गर्दा स्वेदेशीसहित विदेशी लगानीकर्ताले १५ अर्ब रूपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता दर्शाएका थिए । काभ्रेपलाञ्चोकको पाँचखाल तिलोत्तमापश्चात लगानी सम्मेलन गर्ने दोस्रो नगरपालिका हुने देखिएको थियो । “हामी निर्णय गरेरै गत चैतमा लगानी सम्मेलनको तयारीमा जुटेका थियौं तर कोरोना सङ्क्रमणका कारण गर्न सकेनौँ”, खरेलले भने । उनका अनुसार पाँचखालको समग्र विकासका लागि चालु आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न २५ लाख रूपैयाँ प्रारम्भिक बजेट छुट्याइएको थियो । खरेलले भने, “पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम शुरु भएको यस अवसरमा लागानी सम्मेलन फलदायी हुने अपेक्षामा छौं ।” पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज)का लागि निर्माणकार्य शुरु गरिएको, बृहत् सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्झौता भई ठेक्काको कार्य प्रारम्भ गरिएको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल युथ इनोभेसन सेन्टर’ तथा एकीकृत तथा स्मार्टसिटीका लागि पनि जमीन छुट्याएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक रहेको जनाउँदै नगरले सम्मेलन गर्न लागेको थियो । “विशेषगरी कृषि र पशुपालनमा लगानीकर्तालाई आकर्षित गर्नेछौँ”, खरेलले भने । उनले पाँचखालमा लगानी तथा पर्यटनको प्रचुर सम्भावना भएका स्थानमा सडक पुर्याइसकिएको तथा पुर्याउने काम धमाधम भइरहेको र वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षित हुनु स्वाभाविक रहेको जिकिर गरे । कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्ताव गरिने बताइएको छ । “स्थानीयलाई रोजगार दिने उद्योग तथा परियोजनालाई कर छुट दिन पनि छलफल गर्दैछौं”, नगरप्रमुख खरेले भने । उनका अनुसार पाँचखालमा विभिन्न ऐतिहासिकस्थलसमेत रहेकाले पर्यटन र स्थानीय सांस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिनेछ । त्यसो त ‘पाँचखाल नगर, कृषि शहर’ नारालाई सार्थक बनाउन नगरले पाँचखालको खेतीयोग्य जमीनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । “आफूखुसी र व्यापारिक हिसाबले खेतीयोग्य जमीन प्लटिङ गर्न पूर्णतः रोक लगाएका छौं, हामीे कृषि उत्पादमा जोड दिइरहेका बेला खेतीयोग्य जमीन मास्न दिँदैनौँ”, नगरप्रमुख खरेलले भने । उनले अबको बजेटमा पाँचखाल उपत्यकामा चक्रपथ निर्माणको योजना बनाइनेसमेत जानकारी दिए । यसका लागि सरोकारवाला तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसँग छलफल भइरहेको उनले बताए । नगरले चक्रपथ राजमार्गसँग जोडिने भएकाले खेतीयोग्य जमीन जोगाएर मानव बस्ती तथा औद्योगिक ग्राम स्थापना गरिने योजना बनाउने जनाएको छ । खरेलले भने, “यसबाट शहरीकरणलाई मात्र व्यवस्थित गर्दैन, कृषि उत्पादनमा लगानी बढाउन सकिन्छ ।” विसं २०७१ मा साविक पाँच गाविस जोडेर पाँचखाल नपा बनाइएकामा दुई वर्षअघि पनि दुई गाविस थपेर पाँचखाललाई अझ बृहत् बनाइएको छ । १३ वडामा विभाजित पाँचखाल नपाको कूल क्षेत्रफल १०३ वर्ग किलोमिटर रहेको छ भने ३७ हजार ७ सय ९७ जनसङ्ख्याको बसोबास छ ।   रासस

स्वीकृतिबिना रेष्टुरेन्ट तथा होटल सञ्चालन गर्न रोक

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय चितवनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको छ । मङ्गलबार एक सूचना जारी गर्दैै प्रशासनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा रेष्टुरेन्टबाट ‘टेक अवे’ सेवा दिन र होटलले क्वारेन्टिन सेवा दिन जिल्ला प्रशासन कार्यालयबाट पूर्वस्वीकृति लिएर मात्र सञ्चालन गर्न पाइने व्यवस्था रहेको उल्लेख छ । कोभिड–१९ सङ्क्रमणको जोखिम नहुने गरी स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर त्यस्तो सेवा दिन चाहने इच्छुक रेष्टुरेन्ट तथा होटलले पालना गर्ने मापदण्डसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन प्राप्त हुन आएमा निर्णयतर्फ उचित विचार हुने सूचनामा जनाइएको छ । बन्दाबन्दी खुकुलो भएसँगै जिल्लामा होटल रेष्टुरेन्ट पनि खुल्ने क्रम बढेको छ । यसअघि पनि प्रशासनले सूचना जारी गरेर रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको थियो ।  रासस

क्वारेन्टाइनमा बसेका व्यक्तिद्वारा आत्महत्या

तनहुँ । तनहुँ जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए । शुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको भए पनि भाग्ने प्रयास गरेका थिए । गाउँपालिकाले त्यसपछि सुरक्षित स्थान चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राख्दै आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । हाल उक्त क्वारेन्टाइनमा चार जना बाँकी छन् । “ती व्यक्तिमा मानसिक समस्या रहेको जानकारी पाएको छु”, उनले भने, “घटनाको जानकारी पाएलगत्तै यहाँबाट एक प्रहरी टोली पठाइएको छ । सुरक्षितरूपमा शव व्यवस्थापन गर्नका लागि स्वास्थ्यकर्मी टोलीसमेत घटनास्थल पुगेका छन् ।” तनहुँमा मङ्गलबार मात्रै विभिन्न स्थानमा गरी अन्य तीन जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । तनहुँमा आत्महत्या गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । मानसिक तनाव, प्रेममा असफल, गरिबीका कारण समाजमा यस्ता घटना घट्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।   रासस

लुकीछिपी नेपाल प्रवेश गरेका ३३ जनालाई सशस्त्रले पुर्यायो क्वारेन्टाइनमा

काठमाडौं । कोरोना भाइरसविरुद्ध नेपाल–भारत सीमामा खटिएको सशस्त्र प्रहरीले बिनाअनुमति लुकीछिपी सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राख्ने अभियानलाई जारी राखेको छ । सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय चितवनको क्षेत्रमा पर्ने सीमानाकामा यस्तो अभियानलाई कडाइका साथ निरन्तरता दिइएको हो । भारतसँग जोडिएका सीमानाकाबाट अनुमतिबिना नेपाल प्रवेश गरेकालाई सशस्त्र प्रहरीले स्थानीय निकायसँगको समन्वयमा क्वारेन्टाइनमा राख्दै आएको गढीमाई बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रम्हचार्यले बताए । उनका अनुसार अभियानकै क्रममा भारतबाट ठोरीनाका हुँदै आएका दुई जनालाई बाँदरझुलाबाट पक्राउ गरी क्वारेन्टिनमा राखिएको छ । उनीहरु आफ्नो बच्चासहित माडी छिर्न लागेका थिए । लकडाउनका समयमा नाकाबाट लुकीछिपी स्वदेश फर्किने क्रम नरोकिएपछि सीमामा थप कडाइ गरी यस्तो अभियान थालेको उनको भनाइ छ । सशस्त्र प्रहरी बलको माडी नगरपालिका–९ स्थित बाँदरझुलाको अस्थायी जाँचचौकीमा खटिएका सशस्त्र प्रहरी हवल्दार नारायण थारूको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । माडी–२ निवासी रहेका ती दुवैलाई यही असार ७ गते नियन्त्रणमा लिई क्वारेन्टिन पठाइएको थियो । यस्तै बाँदरझुला चौतारा चेकप्वाइन्टमा ड्युटी खटिएका सशस्त्र प्रहरी हवल्दार मानबहादुर भट्टराईको कमाण्डमा रहेको सात जनाको टोलीले भारतबाट ठोरीनाका हुँदै आएकी माडी–९ बस्ने २८ वर्षीया एक महिलालाई नियन्त्रणमा लिई बाँदरझुलाको स्वाथ्यचौकीमा राखिएको थियो । मङ्गलबारसम्म सशस्त्र प्रहरी चितवनले सीमानाका हुँदै प्रवेश गर्ने ३३ जनालाई नियन्त्रणमा लिई क्वारेन्टिनमा राखिसकेको छ ।  रासस