काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत धेरै सहुलियतका कार्यक्रम ल्याएको छ । विभिन्न क्षेत्रमा कोरोना भाइरसको असर भइरहँदा महानगरपालिकाले महानगरवासी तथा व्यवसायीहरुका लागि धेरै छुटको व्यवस्था गरेको हाे।
महानगरपालिले कोभिड–१९ को प्रभावका कारण करदाताहरुबाट असुल हुन बांकी रहेको आर्थिक बर्ष २०७६/०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पुरै छुट दिएको छ । यस्तै, कोभिड–१९ का कारण नागरिकमा परेको असरलाई कम गर्न आर्थिक बर्ष २०७७/०७८ को पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक बर्षमा लाग्ने सम्पत्ति करमा दश प्रतिशत छुट दिने बताएको छ।
होटल तथा पर्यटन क्षेत्रमा पर्न गएकाअसरलाई मध्यनजर गरी होल, रिसोर्टका नाममा घर जग्गा भई वा लिजमा लिई होटेल, रिसोर्ट निर्माण गरी सञ्चालन भएको करदाताको हकमा आर्थिक बर्ष २०७६/७७ सम्मको घरजग्गा कर/सम्पत्ति कर चुक्ता गरेमा आर्थिक बर्ष २०७७/७८ को सम्पत्ति करमा थप ७५ प्रतिशत छुट दिने जानकारी दिएको छ ।
यस्तै, अब महानरपािलकाले भाडामा बस्नेहरुका लाई पनि केही सहज स्थिति गरेकाे छ । भाडामा बस्नेहरुलाई घरधनीले एक महिनाकाे छुट दिएमा साे घरधनीलाई घर बहाल कर चुक्ता गर्न सक्नेछ । एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा बार्षिक बहाल करमा दश प्रतिशत छुट गर्ने उल्लेख गरिएको छ ।
२०७७ पुस मसान्ता भित्र सम्पती कर बुझाएमा हुने दश प्रतिशत छुट समेत जोड्ने हो भने होटल, रिसोर्ट क्षेत्रलाई ८५ प्रतिशत सम्पति करमा छुट हुन आउँछ । यस्तै, सर्वसाधारणहरुको सवारी साधन पार्किङ प्रयोजनका लागि व्यवसायिक रुपमा निर्माण गरिने भवनको हकमा भवन निर्माण सम्पन्न भएको मितिले ५ बर्षसम्म सम्पत्ति कर छुट दिने उल्लेख गरिएको छ ।
महानगरले सबैभन्दा बढी विद्युतीय मोटर, कार, मोटरसाइकल शोरुममा ८० प्रतिशत कर छुट दिनेछ । हाल विद्युतीय मोटर/कार शोरुममा वार्षिक ५० हजार रुपैयाँ र विद्युतीय मोटरसाइकल शोरुमामा २५ हजार रुपैयाँ वार्षिक कर लाग्दै आएको छ ।
त्यसैगरी ब्यवसाय गरी बस्ने करदाताहरुलाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिएको छ । महानगरपालिकाले आर्थिक बर्ष २०७७÷७८ मा लाग्ने ब्यवसाय करमा होटल, पर्यटन तथा मनोरन्जन क्षेत्रसंग सम्बन्धित ब्यवसायीहरुले तिर्ने ब्यवसाय करमा पचास प्रतिशत र अन्य सबै ब्यवसायीहरुले तिर्ने ब्यवसाय करमा बीस प्रतिशत छुटको व्यवस्था गरेको छ ।