निजी क्षेत्रको व्यापक दवावपछि राष्ट्रिय सभाको कार्यसूचीबाट हट्यो अख्तियार विधेयक, अब सबै दलको सहमति खाेजिने

<p>काठमाडौं । निजी क्षेत्रको व्यापक दवावपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक २०७७ राष्ट्रिय सभाको आजको कार्यसूचीबाट हटेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजको कार्यसूचीको दुई नम्बर बुँदामा रहेको सो विधेयक कार्यसूचीबाट हटाइएको सभामा जानकारी गराएका हुन् । विभिन्न क्षेत्रका निजी व्यवसायीहरुको दवावले सो विधेयक आजको लागि कार्यसूचीबाट हटाइएको स्राेतकाे दावी छ ।  सो [&hellip;]</p>

काठमाडौं । निजी क्षेत्रको व्यापक दवावपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक २०७७ राष्ट्रिय सभाको आजको कार्यसूचीबाट हटेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजको कार्यसूचीको दुई नम्बर बुँदामा रहेको सो विधेयक कार्यसूचीबाट हटाइएको सभामा जानकारी गराएका हुन् ।

विभिन्न क्षेत्रका निजी व्यवसायीहरुको दवावले सो विधेयक आजको लागि कार्यसूचीबाट हटाइएको स्राेतकाे दावी छ ।  सो विधेयक पास भएपछि निजी क्षेत्रमा पनि अख्तियार लाग्ने भन्दै निजी क्षेत्रका व्यवसायीहरु यसको विरोध गर्दै आएका थिए । उनीहरुले आफुहरुको छलफल बिनानै यो विधेयक पास गर्न खोजिएको भन्दै आपत्ति जनाउँदै आइरहेका छन् ।

विधेयकमा मेडिकल कलेज, कलेज, पब्लिक लिमिटेड कम्पनी, बैंक, वित्तीय संस्थाहरूलाई पनि अख्तियारले अनुसन्धान गर्न पाउने प्रावधान भएसँगै निजी क्षेत्रका व्यवसायीहरुले आफुहरुलाई सरकारले आतंकित बनाउन यो विधेयक ल्याएको धारणा राख्दै आएका छन् ।

हिजो मात्रै नेपाल उद्योग परिसंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सो विधेयको बारेमा छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले पनि यसको बारेमा आफु छलफल गर्न तयार भएको उनीहरुलाई प्रतिक्रिया दिएका थिए ।

अब निजी क्षेत्रलाई असहज हुने केही दफाहरुलाई प्रष्ट अर्थात सच्याएर विधेयक पास हुने स्रोतको भनाई छ । उसो त प्रधानमन्त्री ओलीले पनि हिजो व्यवसायीहरुलाई कुन दफामा के कुरा ठीक लागेन के सच्याउनु पर्ने हो भन्ने प्रश्न गरेका थिए । त्यो कुरालाई स्पष्ट पारेर अगाडि बढ्न सक्ने उनको धारणा थियो । आजको बैठकको कार्यसूचीमा रहेको सो विधेयक अन्तिम समयमा आएर हटाइएको हो ।

अब सबै दलहरूबीच सहमति कायम गर्नका लागि छलफल हुने र सो विधेयक पास गर्ने बताइएको छ । राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयालले दलहरूबीच छलफल भएर दुई दिन पर सारिएको बताए । सबै दलहरुबीच सहमति गर्नको लागि कार्यसूचीबबाट हटाइएको उनकाे भनाई छ ।

‘अन्य दलहरुले एक/दुई दिन समय माग गर्नु भयो, अध्यक्षज्युले पनि उहाँहरुलाई एक/दुई दिनको लागि समय दिनु भयो, अब एक दुई दिनपछि पुनः कार्यसूचीमै पर्छ,’ उनले विकासन्युजसँग भने ।

विधेयकमा सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले भ्रष्टाचार गरी अख्तियार दुरुपयोग गरेमा आयोगले त्यस्तो व्यक्तिउपर यस ऐन वा अन्य प्रचलित कानुनबमोजिम अनुसन्धान गर्न, गराउन वा निजउपर मुद्दा चलाउन वा तत्सम्बन्धी अन्य कारबाही गर्न सक्ने प्रावधान राखिएको छ ।

सम्बन्धित समाचार:

निजी क्षेत्रमा पनि अख्तियार पस्न पाउने गरी कानुन संशोधन गरिदै, लगानीकर्ता भन्छन्ः आतंकित पार्न खोजियो

निजी क्षेत्रले बनाउने विकास आयोजनामा पनि अख्तियार लाग्ने, तर्साउन खोजिएको व्यवसायीको बुझाई

प्रधानमन्त्री सहमत भए प्रालिबाट अख्तियार हट्ने, बैंक, बीमा र मेडिकल कलेज नछोड्ने

 

Share News