विकासन्युज

प्रधानमन्त्रीले भनेः म छलफल गर्न तयार छु, अख्तियार विधेयकको कुन दफाले निजी क्षेत्रलाई अप्ठ्यारो पार्‍यो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तेस्रो संशोधन विधेयक, २०७६ को बारेमा आफु छलफल गर्न तयार भएको बताएका छन् । नेपाल उद्योग परिसंघले सोमबार प्रधानमन्त्रीसँग गरेको छलफलमा उनले सो कुरा बताएका हुन् । साथै उनले  अनुसन्धान आयोग, तेस्रो संशोधन विधेयक, २०७६ ले उद्यमी व्यवसायीहरुलाई व्यवसाय सञ्चालनमा समस्या रहेको भए कुन दफामा के अप्ठेरो परेको हो त्यसको स्पष्ट जानकारी प्रस्तुत गर्न परिसंघलाई आग्रह गरे । प्रस्तावित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तेस्रो संसोधन विधेयक, २०७६ ले निजी क्षेत्रलाई उद्योग व्यवसाय सञ्चालनमा निरुत्साहित गर्ने भएकोले फिर्ता लिन प्रधानमन्त्री समक्ष अनुरोध गरेपछि प्रधानमन्त्रीले यस्तो बताएका हुन् । परिसंघका अध्यक्ष सतिशकुमार मोरले वर्तमान अस्थामा उद्योगले भोग्‍नुपरेका समस्या र त्यसको समाधानका उपायहरुको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । कोरोना भाइरसका कारण लगातार तीन महिनादेखि पूर्ण र आंशिक लकडाउनले उद्योग, व्यापार तथा व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भई अर्थतन्त्रमा नराम्रो प्रभाव पर्ने भएकोले उद्योग व्यवसायको संरक्षण गरि अर्थतन्त्रको पुनरउत्थानका लागि प्रधानमन्त्रीसमक्ष सुझाव पेश गरेको परिसंघले जनाएको छ । परिसंघले कर्जाको व्याज कम गरिनु पर्ने, सम्पूर्ण कर्जाहरुको पुनर्संरचना गरिनुपर्ने, बन्दाबन्दीको समयमा श्रमिकको ज्यालासम्बन्धमा पनि सरकारबाट निजी क्षेत्रको लागि स्पष्ट धारणा नआएकोले उद्योगी व्यवसायीहरु समस्यामा परेको पनि बताए । अनौपचारिक क्षेत्रमा रहेको पूँजीलाई बैंकिङ क्षेत्रमा ल्याउन र तरलता वृद्धि गर्नको लागि निश्चित समयसीमा तोकी महिला तथा बालबालिकाको नाममा बैंकमा जम्मा हुने १५ लाख सम्मको निक्षेपबिना कुनै झन्झट स्वीकृत गर्ने व्यवस्था गरिनु पर्ने सुझाव प्रधानमन्त्री समक्ष प्रस्तुत गरिएका छन् । यस्तो व्यवस्था भएमा आन्तरिक लगानी बृद्धिभई पूँजी निमार्ण तथा परिचालनमा सहयोग पुग्ने परिसंघले जनाएको छ । बाह्य लगानीलाई प्रोत्साहित गर्नको लागि गैर आवाशीय नेपालीहरुले स्वघोषणा गरेर विदेशबाट बैंकिङ प्रणाली मार्फत नेपालमा आउने लगानीलाई स्वीकृत गर्ने व्यवस्था गर्नको लागि परिसंघले अनुरोध गरेको छ । यसले नेपालमा वाह्यपूँजि देशमा भित्र्याउनको लागि सहज हुने र देशमा लगानी वृद्धि भई थप रोजगारीका क्षेत्रहरु सृजना गर्न सकिने परिसंघले जनाएको छ । त्यसैगरी विद्यमान उद्योग व्यवसायसँग सम्बन्धित ऐन कानुनका केही झन्झटिला प्रकृयाहरुलाई केही वर्षकोलागि खुकुलो बनाई आन्तरिक तथा वाह्य लगानी प्रबर्द्धन वद्र्धन गर्नकोलागि परिसंघले माग गरेको छ ।  

सोती मुद्दामा वादी र जाहेरीवालातर्फका वकिलको सकियो बहस

काठमाडौं । सोती मुद्दामा रुकुम जिल्ला अदालतमा थुनछेक बहस जारी छ । शुक्रबारदेखि शुरु भएको बहस आज पनि जारी रह्यो । थुनछेक बहस शुरु भएको तीन दिनमा वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको छ । आज बाँकी रहेका जाहेरीवालातर्फका सात वकिलको बहस सकिएसंँगै वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको रुकुम जिल्ला अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए । उनका अनुसार वादी र जाहेरीवालातर्फबाट २३ वकिलले बहस गरेका छन् । पहिलो दिन शुक्रबार वादीका तर्फबाट पाँच सरकारी वकिल र दुई जाहेरीवालातर्फका गरी सात तथा आइतबार जाहेरीवालातर्फका नौ र आज जाहेरीवालातर्फकै सात वकिलले बहस गरेका हुन् । मङ्गलबार प्रतिवादीतर्फका वकिलको बहस शुरु हुने स्रेष्तेदार बोहराले बताए । प्रतिवादीतर्फबाट सात वकिलले बहस गर्दै छन् । प्रतिवादीतर्फका वकिलको बहस मंगलबार नै सकिन सक्ने अदालतले जनाएको छ । मङ्गलबार नै थुनछेक बहस सकिएमा बुधबार थुनछेक आदेश आउन सक्ने आकलन गरिएको छ । गत जेठ १० गते रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोटका पाँच र रुकुम(पश्चिम)का एकको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न रहेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले ३४ जना विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसूरमा मुद्दा दर्ता गराएको छ ।

निजी शैक्षिक संस्थालाई शुल्क नलिन अनेरास्ववियूको आग्रह

काठमाडौं । अनेरास्ववियूले निजी शैक्षिक संस्थालाई लकडाउनको अवधि जारी रहँदासम्म कुनै पनि शीर्षकमा शुल्क नअसुल्न आग्रह गरेको छ । अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आज विज्ञप्ति जारी गर्दै निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) राष्ट्रिय निजी तथा आवासीय विद्यालय सङ्गठन (एनप्याब्सन)लाई लकडाउनका समयमा कुनै पनि शीर्षकमा शुल्क नलिने आग्रह गरेका हुन् । आइतबार प्याब्सन र एनप्याब्सनले लकडाउनबीच पनि अनलाइन कक्षा सञ्चालन गरेको भन्दै शुल्क लिने भने अपिल जारी गरेका थिए । विज्ञप्तिमा प्याब्सन र एनप्याब्सनद्वारा विद्यार्थी र अभिभावकको ढाडसेक्ने गरी लकडाउनको कष्टकर बेलामा पनि शुल्क असुल्ने अभिप्रायस्वरुप जारी गरिएको अपिलप्रति अनेरास्ववियूको ध्यानाकर्षण भएको भन्दै कोरोना कहरका कारण लकडाउनले गर्दा विद्यार्थी र अभिभावक चौतर्फीरुपमा आक्रान्त भएका बेला हठात् शुल्क उठाउने निजी विद्यालय सञ्चालकको आह्वानप्रति भत्र्सनासमेत गरिएको छ । “हामी सबैलाई थाहा छ यतिबेला लकडाउनका कारण मुलुकमा झण्डै ९० लाख विद्यार्थी शिक्षालय जानबाट रोकिएका छन् । अझ विद्यालय तहमा कलिला बालबालिका पढ्ने भएकाले कोरोना कहरका दृष्टिले विद्यालय क्षेत्र झनै संवेदनशील छ”, विज्ञप्तिमा भनिएको छ, “यस्तो विषम परिस्थितिमा सरकारले लिएको नीति र विद्यार्थी अभिभावकले बेहोरिरहेको सङ्कटलाई पूर्णरुपमा बेवास्ता गरी एकतर्फीरुपमा शुल्क उठाउने आह्वान आपत्तिजनक छ ।” अनेरास्ववियूले कोरोना कहरको त्रासदी, अभिभावकको विकाराल अवस्था र विद्यार्थीको तनावपूर्ण मनोविज्ञानलाई पूर्णरुपमा उपेक्षा गरी विद्यालय बन्द रहेका बेला शुल्क माग्न गरिएको अपिललाई अवज्ञा गर्न अभिभावक र विद्यार्थीलाई आह्वान गरेको छ । विज्ञप्तिमा यसप्रकारको असान्दर्भिक र अव्यावहारिक निर्णय तत्काल फिर्ता लिनसमेत निजी विद्यालयसँग आग्रह गरेको छ । प्याब्सन र एनप्याब्सनले विद्यालयमा उपस्थित भई सामाजिक दूरी कायम गरी विद्यार्थीको भर्ना अभिलेख अद्यावधिक गर्न २०७६ सालको बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्न, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्न आइतबार सूचना प्रकाशित गरी अपिल गरेका थिए । रासस

भोलि काठमाडौंका यी क्षेत्रमा ५ घण्टा बत्ति जाने

काठमाडौं । भोलि अर्थात मंगलबार काठमाडौंका विभिन्न क्षेत्रमा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले  काठमाडौको घुम्ती, धापासी, च्यासिन्टोल , हात्तिगौडा, बालुवाडीपो, हेपाली लगायतका क्षेत्रमा मंगलवार दिउसो १२ देखी ५ बजेसम्म लोडसेटिडङ हुने बताएको छ । महाराजगंज वितरण केन्द्रको गणेशथान फिडरबाट वितरीत लाइन बुढानिलकण्ठ नगरपालिका २ गणेशचोकको जिर्ण ११ मी। एच। टी लाइनको पोल परीवर्तन गर्नु पर्ने भएकोले लोडसेडिङ हुने प्राधिकरणले जनाएको हो ।

कपिलवस्तुमा एकजनाकाे करेन्ट लागेर मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । आज अपराह्न ३ बजे रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर अर्घाखाँची भूमिकास्थान नगरपालिका –२ स्थायी घर भएका २७ वर्षीय नवराज भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक कृष्ण रानाले बताए । बुद्धभूमि नगरपालिका चौवन्नपुरमा मामाघर बस्दै आएका भुसाल दिउँसो सडक नजीकै रहेको रुखमा घाँस काट्ने क्रममा विद्युत्को तारले छुँदा करेन्ट लागेर रुखमै अड्किएका थिए । शव परीक्षणका लागि तौलिहवा पठाइएको प्रहरीले जनाएको छ ।

पाल्पामा पहिरो: दुई गाडी बगे, दुई जनाको शव भेटियो, बाँकीको उद्दार हुँदै

काठमाडौं । पाल्पाको तानसेनमा पहिरोले दुई गाडी बगाएको छ । तानसेनसको  रिडी सडक खण्ड अन्तर्गत पाल्पाको सम्मोबारी भन्ने ठाउँमा पहिरो गएर दुई वटा गाडी बगाएको हो । पहिरोले एउटा ट्याङ्कर र एउटा मिनिट्रक बगाउँदा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ। प्रहरीका अनुसार एक जनाको उद्धार गरिएको छ । पहिरोले बगाएको सवारी साधनमा कति जना मानिस सवार थिए भन्ने यकिन हुन सकेको छैन ।

असार १० गतेपछि लकडाउन कडा हुन्छ ? यस्तो भन्छन् उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । देशभर कोरोना भाइरसका बिरामी बढ्दै गएपछि अझ सरकारले लकडाउनमा कडा गर्ने होकि भन्ने सोचाई आम नागरिकमा छ । तर, सरकारी अधिकारीहरु भने लकडाउनमा कडाई गर्ने सम्बन्धि कुनै पनि तयारी नभएको बताउँछन् । कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले असार १० देखि पूर्ण लकडाउन हुने कुरा हल्ला मात्र भएको बताएका छन् ।  उनले जनताको दैनिक जीवन सहज बनाउन लकडाउन केही खुकुलो गरिए पनि जनता आफैं सचेत हुनुपर्ने बताए । उनका अनुसार दुई सयभन्दा बढी सक्रिय केस देखिएका स्थानमा समुदायमा संक्रमण फैलिन नदिन पूर्ण लकडाउन गरिनेछ । अन्त्रय अनावश्यक रुपमा घर बाहिर ननिस्कन र भिडभाड हुने ठाउँबाट जोगिन जनता आफैं सचेत हुनुपर्ने उनको भनाई छ ।

भाडा छुट दिन घरधनीसँग इक्यानको अपिल, कन्सल्टेन्सी क्षेत्रलाई अतिप्रभावित सूचीमा राख्न माग

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण फागुन यता व्यवसाय प्रभावित भएको भन्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले शैक्षिक परामर्श क्षेत्रलाई अतिप्रभावित सूचीमा राख्न शिक्षा मन्त्रालयसँग माग गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी हुँदै गर्दा फागुन महिनादेखि नै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) जारी गरि बन्द गरिएको र लकडाउनका कारण हालसम्म पनि कार्यालय सञ्चालन गर्न नसकिएको भन्दै यस क्षेत्रलाई अतिप्रभावित सूचीमा राख्न माग गरिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए । बन्दाबन्दी केही खुकुलो भए पनि हालसम्म अन्तर्राष्ट्रिय उडान र सार्वजनिक यातायात सुचारू नभएकोले व्यवसाय सञ्चालन गर्न सकिएको छैन । साथै महामारीको संकट अझै लम्बिने देखिएकाले व्यवसायको सञ्चालनको अनिश्चितता बढेको छ, त्यसैले सबैभन्दा बढी प्रभावितमध्येको एक क्षेत्र पनि भएकाले अतिप्रभावित क्षेत्रको सूचीमा राख्न माग गरेका हौं,’ पाण्डेले भने । इक्यानले लकडाउनका कारण कार्यालय बन्द रहेको र आर्थिक क्रियाकलाप नभएकाले घर भाडा तिर्नका लागि कठिनाई उत्पन्न भएको अवस्थामा भाडामा छुट गरिदिन समेत माग गरेको छ। बन्दावन्दीको शुरुमै सरकारले गत चैत महिनाको घरभाडा मिनाहा गर्न भनेकाले सम्वन्धित घरधनीहरुसँग लकडाउन अवधिभरको घरभाडामा अधिकतम सहुलियत दिन अपिल गर्दैछौं,’ इक्यानद्वारा जारी विज्ञप्तिमा भनिएको छ । इक्यानले बन्दाबन्दीको समयमा सदस्यहरुको कार्यालय सञ्चालन नभएको अवस्थामा इन्टरनेटको प्रयोग नभएकाले त्यसको शुल्क मिनाह गर्न र शुल्क बुझाइसकेका कम्पनीको हकमा लकडाउन अवधिको शुल्कबाटै नयाँ अवधिलाई समायोजन गर्न माग गरिएको छ । त्यसैगरी टेलिफोन सेवा समेतको उपयोगको शुल्क समेत मिनाहा वा समायोजन हुनु पर्ने माग गरेको छ । इक्यानले जारी विज्ञप्तिमार्फत विभिन्न बैंक तथा वित्तीय संस्थाबाट विद्यार्थीहरुले लिएको ऋण कोरोनाका कारण सदुपयोग गर्न नपाएकाले विशेष सहुलियतको लागि अनुरोध गरेको छ । ‘विद्यार्थीहरुले भर्ना प्रक्रिया पूरा गर्न नसकेको, भिसाको प्रतिक्षामा रहेको वा भिसा प्राप्त भएपछि यात्रा गर्न नपाएको अवस्था रहेको हुँदा शैक्षिक कर्जाको प्रक्रिया जे जस्तो अवस्थामा रहेको भएपनि त्यसमा लाग्ने ब्याज, सेवा शुल्क र कर्जा अवधि समेतलाई विशेष सहुलियतका साथ समायोजन गरिदिन अनुरोध गरेको छ । इक्यानले यस संकटको समयमा शिक्षा मन्त्रालयको तर्फबाट प्राप्त सकारात्मक उत्प्रेरणा, बैंक तथा वित्तीय संस्थाहरुबाट प्राप्त भइरहेको सहजीकरण, विभिन्न सेवा प्रदायक संघसंस्था तथा व्यक्तिको मित्रवत व्यवहार प्रति हार्दिक आभार व्यक्त गरेको छ । साथै महामारीको चपेटामा परी समस्यामा परेका स्वदेश तथा विदेशमा रहेका विद्यार्थी तथा अभिभावकप्रति उच्च सम्मानका साथ धैर्यधारण गर्नका लागि समेत अपिल गरेको छ ।