काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तेस्रो संशोधन विधेयक, २०७६ को बारेमा आफु छलफल गर्न तयार भएको बताएका छन् । नेपाल उद्योग परिसंघले सोमबार प्रधानमन्त्रीसँग गरेको छलफलमा उनले सो कुरा बताएका हुन् ।
साथै उनले अनुसन्धान आयोग, तेस्रो संशोधन विधेयक, २०७६ ले उद्यमी व्यवसायीहरुलाई व्यवसाय सञ्चालनमा समस्या रहेको भए कुन दफामा के अप्ठेरो परेको हो त्यसको स्पष्ट जानकारी प्रस्तुत गर्न परिसंघलाई आग्रह गरे । प्रस्तावित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तेस्रो संसोधन विधेयक, २०७६ ले निजी क्षेत्रलाई उद्योग व्यवसाय सञ्चालनमा निरुत्साहित गर्ने भएकोले फिर्ता लिन प्रधानमन्त्री समक्ष अनुरोध गरेपछि प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले वर्तमान अस्थामा उद्योगले भोग्नुपरेका समस्या र त्यसको समाधानका उपायहरुको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । कोरोना भाइरसका कारण लगातार तीन महिनादेखि पूर्ण र आंशिक लकडाउनले उद्योग, व्यापार तथा व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भई अर्थतन्त्रमा नराम्रो प्रभाव पर्ने भएकोले उद्योग व्यवसायको संरक्षण गरि अर्थतन्त्रको पुनरउत्थानका लागि प्रधानमन्त्रीसमक्ष सुझाव पेश गरेको परिसंघले जनाएको छ ।
परिसंघले कर्जाको व्याज कम गरिनु पर्ने, सम्पूर्ण कर्जाहरुको पुनर्संरचना गरिनुपर्ने, बन्दाबन्दीको समयमा श्रमिकको ज्यालासम्बन्धमा पनि सरकारबाट निजी क्षेत्रको लागि स्पष्ट धारणा नआएकोले उद्योगी व्यवसायीहरु समस्यामा परेको पनि बताए ।
अनौपचारिक क्षेत्रमा रहेको पूँजीलाई बैंकिङ क्षेत्रमा ल्याउन र तरलता वृद्धि गर्नको लागि निश्चित समयसीमा तोकी महिला तथा बालबालिकाको नाममा बैंकमा जम्मा हुने १५ लाख सम्मको निक्षेपबिना कुनै झन्झट स्वीकृत गर्ने व्यवस्था गरिनु पर्ने सुझाव प्रधानमन्त्री समक्ष प्रस्तुत गरिएका छन् । यस्तो व्यवस्था भएमा आन्तरिक लगानी बृद्धिभई पूँजी निमार्ण तथा परिचालनमा सहयोग पुग्ने परिसंघले जनाएको छ ।
बाह्य लगानीलाई प्रोत्साहित गर्नको लागि गैर आवाशीय नेपालीहरुले स्वघोषणा गरेर विदेशबाट बैंकिङ प्रणाली मार्फत नेपालमा आउने लगानीलाई स्वीकृत गर्ने व्यवस्था गर्नको लागि परिसंघले अनुरोध गरेको छ ।
यसले नेपालमा वाह्यपूँजि देशमा भित्र्याउनको लागि सहज हुने र देशमा लगानी वृद्धि भई थप रोजगारीका क्षेत्रहरु सृजना गर्न सकिने परिसंघले जनाएको छ । त्यसैगरी विद्यमान उद्योग व्यवसायसँग सम्बन्धित ऐन कानुनका केही झन्झटिला प्रकृयाहरुलाई केही वर्षकोलागि खुकुलो बनाई आन्तरिक तथा वाह्य लगानी प्रबर्द्धन वद्र्धन गर्नकोलागि परिसंघले माग गरेको छ ।