महासंघको निर्वाचन फेरि सर्यो, खेद प्रस्ताव अजेण्डामा नै नभएकाे पुष्टि

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा निर्वाचनको मिति फेरि सरेको छ । आइतबार बसेको पदाधिकारीको बैठकले साधारणसभा र निर्वाचन साउन २५ र २६ गते गर्ने प्रस्ताव गरेको थियो । तर सोमबार बसेको कार्यसमितिको बैठकले साउन २६ र २७ गते साधारणसभा र निर्वाचन गर्ने निर्णय गरेको उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए । साधारणसभाको मिति [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा निर्वाचनको मिति फेरि सरेको छ । आइतबार बसेको पदाधिकारीको बैठकले साधारणसभा र निर्वाचन साउन २५ र २६ गते गर्ने प्रस्ताव गरेको थियो ।

तर सोमबार बसेको कार्यसमितिको बैठकले साउन २६ र २७ गते साधारणसभा र निर्वाचन गर्ने निर्णय गरेको उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए ।

साधारणसभाको मिति तोक्ने अधिकार कार्यसमितिमा भएकोले पदाधिकारीले गरेको निर्णयप्रति कार्यसमितिको बैठकमा असन्तुष्टि व्यक्त भएको थियो । अध्यक्ष भवानी राणाले पदाधिकारीको बैठकले अधिवेशनको मिति प्रस्ताव मात्र गरेको अन्तिम निर्णय कार्यसमितिबाटै हुने बताएकी थिइन ।

एकातिर कार्यसमितिका सदस्यहरुको अधिकार क्षेत्रको गुनासो गरेको र अर्कोतिर अधिवेशनको प्रस्तावित स्थान हेरिटेज गार्डेनले २५ गते स्थान दिन नसक्ने जनाउ दिएपछि साउन २६ र २७ गते अधिवेशनको मिति तोकिएको स्रोतले बतायो ।

कार्यसमिति बैठकले असार मसान्तभित्र साधारणसभा गर्नु पर्ने बैधानिक व्यवस्थामा बाधाअड्काउ फुकाउने निर्णय पनि गरेको छ । ‘विधानमा बाधा अड्काउन फुकाउने अधिकार कार्यसमितिलाई दिइएको छ । असारसम्म साधारणसभा तथा अधिवेशन हुनु सकेन । उक्त बाधा अड्काउ फुकाउँदै साउन २६ र २७ गते साधारणसभा गर्ने निर्णय भएको छ’ कोषाध्यक्ष निरक केसीले भने ।

एक पदाधिकारीले नाम उल्लेख नगर्ने सर्तमा पूर्व अध्यक्ष चण्डिराज ढकाल विरुद्ध खेद प्रस्ताव कार्यसमितिले अनुमोदन गरेको दावी गरे । तर उक्त प्रस्ताव कार्यसमितिमा प्रस्तुत नै नभएको अध्यक्ष भवानी राणाले बताइन् । ‘यो विषय पदाधिकारीको बैठकमा भएको हो । कार्यसमितिमा आएको पनि छैन । निर्णय भएको पनि होइन’ अध्यक्ष राणाले भनिन् ।

कार्यसमितिको बैठकमा बोल्दा केही सदस्यले खेद प्रस्तावको विषय पनि उठाएको तर निर्णय केही नभएको कोषध्यक्ष केसीले बताए । ‘व्यक्तिगत विचार राख्ने क्रममा केहीले विषय उठाउनु भएको थियो । संस्थागत रुपमा बैठकमा प्रस्ताव पेश भएको पनि छैन । निर्णय भएको पनि छैन’ केसीले भने ।

Share News