त्रिविका सेमेस्टर प्रणाली परीक्षाकाे निर्णय गर्न कार्यदल गठन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यदलले दिएको सुझावका आधारमा सेमेष्टर परीक्षाबारे निर्णय गर्ने बताए । ‘‘कार्यदलले दिएको सुझावको आधारमा हामीले परीक्षाका बारेमा निर्णय गर्ने छौँ’’, उनले भने, ‘‘अहिलेसम्म सेमेष्टर प्रणालीका परीक्षाका बारेमा कुनै निर्णय गरेका छैनौँ ।’’ कोभिड १९ को कारणले त्रिविको स्नातक तहको दोस्रो, चौथो तथा स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेष्टरको परीक्षा स्थगित भएको थियो ।
गुडविल फाइनान्सको साढे दुई लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । गुडविल फाइनान्सको साढे दुई लाख थान ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । मंगलबार गुडविल फाइनान्स र नेप्सेबीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २ लाख ५० हजार थान १२ प्रतिशत ‘गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ सूचीकरण गर्ने सम्झौता भएको हो । उक्त सम्झौतामा गुडविल फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधर र नेप्सेको तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका छन् । कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल मार्फत सो मात्रामो ऋणपत्रको बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २ लाख ५० थान ऋणपत्र वितरण भई नेप्सेमा सूचीकृत भएको हो ।
‘पशुपति क्षेत्रको विकासमा कोष क्रियाशील’
काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रको पूर्वाधार विकास तथा सम्पदा संरक्षणमा सक्रियताका साथ लागेको बताएको छ । प्रतिनिधिसभा, अन्तर्राट्रिय सम्बन्ध समितिमा आज भएको बैठकमा कोषका पदाधिकारीले चालु आर्थिक वर्षमा गुरुयोजना कार्यान्वयनमा भएका प्रगतिबारे जानकारी गराए । समितिका सभापति पवित्रा निरौला ९खरेल० को अध्यक्षतामा भएको बैठकमा उनीहरूले जनशक्तिको अभाव, सर्वाजनिक खरिद ऐनमा भएका व्यवस्थाले विनियोजित बजेट खर्च गर्न कठिन भएको, कतिपय विकास–निर्माणका काम प्रारम्भ गर्न काठमाडौँ महानगरपालिका, गुठी संस्थान, पुरातत्व विभागलगायत निकायहरूबाट स्वीकृति र सहमति लिनुपर्ने व्यवस्थाले कार्यसम्पादनमा विलम्ब भएको तथा धार्मिक, सांस्कृतिक एवं परम्पराका नाममा बेलाबेलामा व्यवधान उत्पन्न हुने गरेको उनीहरुको गुनासो थियो । भूकम्पपछिको पुनःनिर्माणमा गत आर्थिक वर्षमा १३ करोड ११ लाख रूपैयाँ खर्च भएको तथा ढल व्यवस्थापन, सडक, मन्दिर, पाटी र सत्तलको पुनःनिर्माण मर्मतसम्भार जारी रहेको छ । दर्शनार्थी तथा पर्यटकको सेवा सुविधाका निम्ति विश्रामस्थल, उद्यान व्यवस्थापन, शवदाहगृह निर्माण एवं सञ्चालन, पाशुपत क्षेत्रको साङ्ख्येय नक्साङ्कन (डिजिटल म्यापिङ), गुुह्येश्वरी–गौरीघाट नदी किनारको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । रासस
दाङमा वडाध्यक्षमाथि कार्यालयमै कुटपिट
काठमाडाैं । दाङको शान्तिनगर गाउँपालिकाका नम्बर २ का वडाध्यक्षमाथि कार्यालयमै कुटपिट भएकाे छ । मंगलबार बिहान साढे ११ बजे वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहले रड र लाठी प्रहार गरेर फरार भएको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताएका छन् । हाल उनकाे तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा उपचारका लागि लगिएको गाउँपालिकाका अध्यक्ष डाँगीले भने । १० जना जति समूहले कार्यालयमा प्रवेश गरी आक्रमण गरेको उनले जानकारी दिए । फर्साराम डाँगी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । कस्ले किन यस्ताे गर्याे भन्ने विषयमा खाेजी भइरहेकाे जनाएका छन् ।
मंगलबार १२१ कम्पनीको सेयर मूल्य बढ्यो, कसले कमाए सबैभन्दा बढी ?
काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक उच्च अंक अर्थात ६ प्रतिशतले बढेसँगै सो दिन सेयर कारोबार दुई घण्टामै स्थगित भएको हो । जम्मा दुई घण्टा कारोबार भएको बजारमा १३४ कम्पनीको सेयर किनबेच भएको थियो । जसमध्ये १२१ कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । दुई घण्टा अघि नै कारोबार बन्द भएको बजारमा ६ वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात १० प्रतिशत कमाएका छन् । नागरिक लगानी कोष, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र शिवम् सिमेन्टसका लगानीकर्ताले मंगलबार दुई घण्टामै १० प्रतिशत बढी कमाएका हुन् । त्यस्तै, १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी र १० प्रतिशतभन्दा कमले बढेको छ । साल्ट ट्रेडिङ् कम्पनी, विजय लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्टिलरी, साना किसान विकास बैंक, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स कम्पनी, अरुण काबेली पावर, स्ट्यान्डर्ड चार्टर्ड बैंक, यूनाईटेड इन्स्योरेन्स कम्पनी, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, मुक्तिनाथ विकास बैंक, नेपाल इन्स्योरेन्स कम्पनी र बैंक अफ काठमाण्डूको सेयर मूल्य ९.०४ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म बढेको छ । उच्च अंकले बढेर तीन पटकसम्म सर्किट ब्रेक लागेको बजारमा पनि १३ कम्पनीको सेयर मूल्य घटेको छ । सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले घटेको छ । सेयर बजारमा कारोबार भएको दोश्रो दिन कम्पनीको सेयर मूल्य ३८ रुपैयाँले घटेर प्रतिकित्ता ३ सय ४४ रुपैयाँमा झरेको छ । त्यस्तै, ओरियन्टल होटल को सेयर मूल्य ९.७३ प्रतिशतले घटेको छ । बाँकी कम्पनीको सेयर मूल्य सामान्य प्रतिशतले घटेको छ । सम्बन्धित समाचारः अस्वभाविक रुपमा बढेपछि नेप्सेमा फेरि सर्किट, आजको कारोबार स्थगित
कुर्सीमै रुमल्लिएकाे नेकपा, तीनै बैठकमा आसन र कुर्सी परिवर्तन
काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको कुर्सी दिनप्रतिदिन परिवर्तन भइरहेकाे छ । नेकपाकाे बैठक बसेकाे तीन दिनमै दिनै पिच्छे फरक-फरक कुर्सी तथा आसन परिवर्तन भएका हुन् । बैठककाे पहिलाे दिनमै नेकफा स्थायी समिति बैठकमा कुर्सीकाे विषयलाई लिएर धेरै आलाेचना भएकाे थियाे । नेकपाका दुई अध्यक्ष साेफा र अन्य सदस्य साधारण कुर्सीमा बसेकाे फाेटाे सर्वत्र छाएकाे थियाे भने सामाजिक सञ्जालमा पनि त्यसकाे खुब आलाेचना भएकाे थियाे । बैठकमा सचिवालयका नौ जनालाई माथि राखिएका थिए भने त्यस मध्ये अध्यक्ष द्वयको कुर्सी अन्य सचिवालयका सदस्यहरुको भन्दा भिन्न र अगाडि राखिएको थियो। दुई अध्यक्षलाई अन्य सचिवालय नेताहरु भन्दा केही अगाडि राखिएपछि नेता नेपालले आफ्नो कुर्सी अगाडि सार्न लगाएका थिए। नेता रघुजी पन्तले नेताहरुबीच विभेद गरिन नहुने बताएका थिए। त्यस्तै दाेस्राे दिनको सचिवालय बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित थिए। त्यस दिन सचिवालयकै सदस्य श्रेष्ठ सहित अष्टलक्ष्मी शाक्य र भीम रावलले कुर्सी व्यवस्थापनमा सामन्तशैली अपनाइएको भन्दै सोफा हटाइएको थियो। तेस्रो दिनको बैठक अर्थात शनिबार बसेको बैठक सोफाको ठाउँमा अन्य सचिवालय नेताहरु बसेकै कुर्सी राखिएकाे थियाे । आज अर्थात मंगलबार बसेको चौथो दिनको बैठकमा भने माथिबाट सवै सचिवालयका नेताहरुको कुर्सी अन्य स्थायी कमिटी नेताहरुकै लहरमा राखिएको छ भने सचिवालय सदस्यहरु ईश्वर पोखरेल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र विष्णुप्रसाद पौडेल अन्य स्थायी कमिटीसँग बसेका छन्। बैठकको अगाडि तर्फ दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, दुई पूर्व प्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतमलाई मात्रै राखिएको छ । पहिलाे दिनकाे बैठक। दाेस्राे दिनकाे बैठक। तेस्राे दिनकाे बैठक।
सीडीएससीद्धारा प्रमुख कार्यकारीकाे लागि आवेदन खुला, के चाहिन्छ याेग्यता ?
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले लामाे समयदेखि खाली रहेकाे प्रमुख कार्यकारी अधिकृत पदकाे लागि आवेदन खाेलेकाे छ । उक्त पदमा ३५ पूरा भइ ६० वर्ष ननाघेका व्यक्तिले १५ दिनभित्र आवेदन दिई सक्नुपर्ने सीडीएसले जनाएकाे छ । उमेद्वारी दिने व्यक्ति अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त, लेखा, व्यवस्थापन तथा वाणिज्य कानुनमा कम्तिमा पनि स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हाँसिल गरेको हुनु पर्नेछ । यस्तै उमेद्वारकाे पुँजी बजार वा उद्योग, वाणिज्य, वित्त तथा लेखा र कानुन क्षेत्रहरुमध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तिमा पाँच वर्षको अनुभव हुनुपर्ने छ। यसका साथसाथै आवेदन दिने व्यक्तिले संस्थागत ब्यवसायिक योजना र व्यवसायिक कार्य योजनामा पुँजी बजार तथा केन्द्रीय निक्षेप सम्बन्धि अन्तर्राष्ट्रिय परिदृष्य तथा नेपालको अवस्थाको विश्लेषण गर्नु पर्नेछ ।
बोइङ ७ सय ३७ म्याक्सको उडान परीक्षण शुरु
सानफ्रान्सिस्को । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले बोइङ ७ सय ३७ म्याक्स शृंखलाका बिमानहरु पुनः उडानका लागि परीक्षण गर्न सोमबार अनुमति दिएको छ । एकपछि अर्को बिमान दुर्घटनाग्रस्त हुन थालेपछि एफएएले म्याक्स शृंखलाका बिमान उडाउन प्रतिबन्ध लगाएको थियो । एफएएद्वारा जारी वक्तव्यमा बोइङ ७ सय ३७ म्याक्स बिमान सोमबार सियाटलको बोइङ फिल्डबाट पहिलो चरणको परीक्षणका लागि उडान भरेको उल्लेख छ । संघीय प्रशासन र बोइङ कम्पनीबीच बिमानको स्वचालित फ्लाइट कन्ट्रोल सिस्टम परीक्षण गर्न यस साता परीक्षण उडानहरु गर्न सहमति भएको थियो । अधिकारीहरुका अनुसार संघीय प्रशासनले तोकेका कार्यविधि पूरा भए नभएको बारेमा जाँच गर्न परीक्षण उडानको अनुमति दिइएको हो । तर यी उडानको सफलतापछि पनि तत्कालै बिमानलाई आमजनताको सेवाका लागि प्रयोगमा ल्याइने छैन । अरु केही प्राविधिक परीक्षण पनि गर्नुपर्ने एफएएको भनाई छ । एफएएले सम्पूर्ण प्राविधिक जाँच सम्पन्न भएर सन्तोषजनक नतिजा प्राप्त भएपछि मात्र उडान अनुमति दिइने जनाएको छ । बोइङको ७ सात ३७ म्याक्स जेटहरु गत वर्ष मार्चदेखि नै विश्वभर उडान प्रतिबन्धित छन् र जहाजहरु विमानस्थलहरुमा थन्किएका छन् । एक वर्षभित्रै दुई वटा बिमान दुर्घटना भएपछि विश्वका विभिन्न देशले यो जहाजको उडानमा प्रतिबन्ध लगाएका थिए । अनुसन्धाताहरुले बिमानको फ्लाइट कन्ट्रोल सफ्टवेयरमा समस्या आएका कारण बिमान दुर्घटना हुने गरेको अनुमान गरेका छन् । रासस–सिन्ह्वा