विकासन्युज

सलहले ढाकियाे काठमाडाैंकाे आकाश

काठमाडौं  ।  काठमाडौंको आकाशलाई सलह भरिभराउ देखिएकाे छ ।  मंगलबार साँझ ठूलाे मात्रामा सलह काठमाडौं उपत्यकाकाे आकाशमा देखिएको हो । काठमाडौंको बागबजार भृकुटीमण्डप क्षेत्रमा सलहको ठूलो झुण्ड देखिएको छ । ठूलाे मात्रामा सलहकाे झुण्ड देखिएसँगै काठमाडाैंवासी त्रसित बनेका छन् । मध्यपूर्वी तराईबाट गत असार १३ गते राति नेपाल प्रवेश गरेको सलह पश्चिम तराई र बिभिन्न पहाडी जिल्ला हुँदै काठमाडौं उपत्यकामा पनि प्रवेश गरेको छ । सलह कीराको हुल काठमाडौं उपत्यका भित्रको जमिनमा बसिनसके पनि चराहरुको आक्रमण पछि केही भुईमा झरेका छन् । तराई र पहाडका बिभिन्न जिल्लामा बालीमा क्षति पुर्याएको सलह हावाको वहावसंगै काठमाडौं प्रवेश गरेको बताइएको छ ।

कर्णालीमा खाद्य वस्तुको अनलाइन होम डेलिभरी सेवा शुरु

सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले अनलाइन होम डेलिभरी सेवा शुरु गरेको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले आज वीरेन्द्रनगरमा ‘नेपालफुड डट जिओभी डट एनपी’ पोर्टलको शुभारम्भ गरे । मन्त्री बुढाले कोभिड १९ को जोखिमबाट सुरक्षित रहन अनलाइन कारोबार प्रभावकारी माध्यम भएको बताए । उनले कर्णाली सरकारले आगामी आर्थिक वर्ष ४० हजार मेट्रिक टन खाद्यान्न खरिद गर्ने योजना रहेको जानकारी दिए । “प्रदेश सरकारले रोजगारी र खाद्य सङ्कटको अवस्थालाई सम्बोधन गर्ने गरी बजेट ल्याएको छ”, उनले भने, “मुख्यमन्त्री रोजगार, कामका लागि खाद्यान्न कार्यक्रममार्फत खाद्यान्न आपूर्तिको व्यवस्था मिलाउँदैछौँ ।” कार्यक्रममा मन्त्री बुढाले अनलाइन होम डेलिभरीका पहिलो ग्राहक सुर्खेतका व्यवसायी लक्ष्मण कँडेललाई बिल हस्तान्तरण गरे । मन्त्रालयका सचिव डा कृष्णप्रसाद आचार्यले बन्दाबन्दीमा अनलाइन कारोवार बढेको बताए । खाद्य व्यापार कम्पनी लिमिटेडले कर्णालीको हिमालय क्षेत्रका अर्गानिक उत्पादनको बिक्री वितरण गर्न आग्रह गरे । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले उपभोक्ता सूचना प्रविधिमैत्री हुन जरुरी रहेको बताए । कम्पनीले काठमाडौँ उपत्यका बाहिर पहिलोपटक कर्णालीमा अनलाइन होम डेलिभरी सेवा शुरु गरेको हो । रासस

बैंकको ऋण तिर्ने भाका ३ वर्ष बढाऊ, सेयर धितो कर्जाको सीमा राष्ट्र बैंकले नतोकः काँग्रेस

काठमाडौं । नेपाली कांग्रेसको ‘लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रीत विशेष समिति’ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । अर्थतन्त्रमा कोभिड–१९ को बहुपक्षीय प्रभाव गहिरिदैं गएको सन्दर्भमा उत्पादन, रोजगारी र आपूर्ति श्रृंखलाको निरन्तरतालाई केन्द्रीत गर्दै अतिप्रभावित र नगद प्रवाह सुकेका व्यवसायलाई अवस्था हेरी व्याजको पुँजीकरणसहित कर्जा भुक्तानी अवधि एकदेखि ३ वर्षसम्म लम्ब्याउन नेपाली कांग्रेसले आग्रह गरेको छ । रोजगारी र उद्यमशीलता विकासलाई थप गति दिन नेपाली कांग्रेसले प्राथमिकता प्राप्त क्षेत्र कर्जा कार्यक्रम अन्तर्गत सबैखाले साना मझौला उद्यमलाई कर्जा उपलब्ध गराउन माग गरेको छ । वैदेशिक रोजगारबाट फर्केका र आन्तरिक श्रम बजारमा रोजगारी गुमाएकाहरुलाई उद्यमशील बनाउन मौद्रिक नीतिमार्फत् २० लाख रुपैयाँसम्मको कर्जा परियोजना धितोमा दिने व्यवस्था गर्न सुझाव दिइएको छ । बैंक तथा वित्तिय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) स्वरुप खर्च गर्नुपर्ने रकम सम्भावित उद्यमीहरुलाई तालिम, सीप विकास, व्यवसायिक योजना विकास र नयाँ जन्मेका व्यवसाय बचाउन (इन्क्युबेसन) का लागि खर्च गर्ने व्यवस्था ल्याउन सुझाइएको छ । ‘उद्यमशीलता, रोजगारी र आपूर्ति शृंखलाको नियमितता अहिलेका प्राथमिक आवश्यकता हुन् । मौद्रिक नीतिले युवा र महिला उद्यमशीलता केन्द्रीत गर्दै लघु, घरेलु र साना उद्यमी जन्माउन प्रोत्साहन गर्नुपर्छ, यसै सन्दर्भमा बैंक तथा वित्तिय संस्थाले सीएसआरको रकम नयाँ उद्यमी, व्यवसायी जन्माउन र सम्भावना भएकालाई स्केल अप गर्न लगाउनुपर्छ । यो व्यवस्था मुलुकको दिगो र समावेशी आर्थिक विकासको आधारशीलाका लागि प्रस्थान विन्दु हुनेछ,’ समितिका संयोजक विनोद चौधरीले भने । नेपाली कांग्रेसले निजी क्षेत्रको कर्जा २० प्रतिशत बढाउन, नगद प्रवाहको समस्या भएका ऋणीहरुलाई ऋणको २० प्रतिशतसम्म कार्यशील पुँजी (वर्किङ क्यापिटल) दिने व्यवस्था गर्नुका साथै सबै ऋण भुक्तानीमा समस्या खेपेका सबै कर्जाको ब्याज पुँजीकरण र भुक्तानी पुनर्तालिकीकरणमा लचक हुन आग्रह गरेको छ । त्यस्तै, वित्तिय क्षेत्रमा उत्पन्न हुनसक्ने दबाबको गहनतालाई ख्याल गर्दै तेश्रो चरणको वित्तीय क्षेत्र सुधार कार्यक्रमलाई अघि बढाउनुका साथै फिनटेक र आधुनिक पेमेन्ट (भुक्तानी) सोलुसन्सहरुको प्रयोगलाई बढावा दिइ वित्तिय समावेशीता अभिवृद्ध गर्ने व्यवस्थाले वित्तिय स्थायित्व र वित्तीय समावेशीतालाई सशक्तीकरण गर्न मद्दत गर्ने नेपाली कांग्रेसका सुझाव छ । नेपाली कांग्रेसले निर्माण सामग्रीका उद्योगको सञ्चालन, उत्पादन लागत न्यूनीकरण र निर्माण क्षेत्रबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले निर्माण सामग्री उद्योगलाई सहुलियत कर्जाको व्यवस्था गर्न आग्रह गरेको छ । त्यस्तै, अर्थतन्त्रमा सिजर्नी ल्याउने र चाँडो पुनरुत्थान हुनसक्ने क्षेत्रलाई सहुलियतपूर्ण पुर्नकर्जा एवं सहुलियतपूर्ण कर्जा छिटो उपलब्ध गराउन आग्रह गरिएको छ । कोभिड–१९ बाट अति प्रभावित होटल, हवाई उद्योग, टुर्स/ट्राभल लगायत समग्र पर्यटन क्षेत्रमा बैंक तथा वित्तिय संस्थाको कुल कर्जा पोर्टफोलियोको करिब ३ प्रतिशत लगानी रहेको पर्यटन क्षेत्रलाई अझै एक–डेढ वर्ष भेन्टिलेशनको आवश्यकता देखिएकाले यस क्षेत्रलाई जीवित राख्न कर्जाको पुनर्तालिकीकरण गर्दा समयसीमामा अत्याधिक लचक हुन भनिएको छ । नेपाली कांग्रेसले साना–मझौला उद्यमका लागि सरकारले व्यवस्था गरेको ५० अर्ब रुपैयाँको सहुलियत कर्जा चाँडो पुनस्र्थापना हुनसक्ने, उत्पादन, रोजगारी र आपूर्ति शृंखलामा महत्वपूर्ण योगदान गर्ने व्यवसायहरुका लागि उपलब्ध गराउन आग्रह गरेको छ । त्यस्तै, १ खर्ब रुपैयाँको पुनकर्जा कोषलाई नेपाल राष्ट्र बैंकले प्रतिऋणी अधिकतम सीमा १० करोड र केन्द्रीय बैंकको अनुमतिमा ५० करोड रुपैयाँसम्म दिन सकिने व्यवस्था भएको परिप्रेक्ष्यमा यस्तो ऋण परिचालन हुने उत्पादनमूलक क्षेत्रको परिभाषामा परेका मध्ये पनि छिटो पुनरुत्थान हुनसक्ने र रोजगारी सिर्जनाका दृष्टिले महत्वपूर्ण क्षेत्रलाई केन्द्रीत गर्न आग्रह गरिएको छ । केन्द्रीय बैंकको अनुमतिमा स्वीकृत गर्न सकिने ५० करोड रुपैयाँको सिलिङको ऋण कस्तो सन्दर्भमा प्रदान गरिने हो थप स्पष्ट र पारदर्शी बनाउन र पुनकर्जा कोषमा अर्को थप १ खर्ब रुपैयाँ थप गरी प्रतिऋणी सीमा २० करोड रुपैयाँ पु¥याउन माग गरेको छ । पुनकर्जा सुविधा र सहुलियत ऋण प्याकेज पुरै उपयोग हुने वातावरण बनाउन नेपाली कांग्रेसको सुझाव छ । यसका अतिरिक्त, पुनकर्जाको झञ्झटिलो कागजी प्रकृया छोट्याइ बैंकहरुको अनुरोध आएको ४८ घण्टाभित्र कर्जा दिने व्यवस्था गर्न आग्रह गरिएको छ । ऋणको पुनर्संरचना र पुनर्तालिकीकरण पूर्ण रुपमा बैंक वित्तिय संस्थाले विवेकपूर्ण ढंगले गर्न सक्ने र ऋणीको संरक्षणका लागि राष्ट्र बैंकको गुनासो सुनुवाई इकाइलाई सक्रिय बनाइ गुनासो फछ्र्यौट गर्ने व्यवस्था गर्न नेपाली कांग्रेसले सुझाएको छ । त्यस्तै, अल्पकालीन ऋण र कार्यशील पुँजीको भुक्तानी अवधि लम्ब्याउन, निर्यातमा जाने पुनकर्जाको अवधि कम्तिमा १ वर्ष कायम गर्न, काउन्टर साइक्लीकल बफर राख्नुपर्ने व्यवस्थालाई अवस्था सहज नभएसम्म निलम्बन मै राख्न र सीसीडीमा केही लचिलो हुन आग्रह गरिएको छ । नेपाली कांग्रेसद्वारा प्रेषित सुझावमा निजी क्षेत्रमा माग अनुसार कर्जाको आपूर्ति गर्न वित्तीय संस्थाहरुलाई दीर्घकालीन तरलता सहयोगका लागि दीर्घकालीन रिपो (लङ टर्म रिपो) को व्यवस्था गर्ने भनिएको छ । मुद्दती निक्षेपको अवधि कम्तिमा ६ महिनाको हुनैपर्ने, कर्जा र निक्षेपको व्याजदर अन्तर (स्प्रेडदर) गणना गर्दा कर्जा र निक्षेपको भारित औसत गणनामा मध्यक (मिन) निकाली त्यसका आधारमा स्प्रेडदर गणना हुने व्यवस्था गर्नुपर्ने सुझावमा उल्लेख । अहिलेको अवस्थामा अत्यावश्यक वस्तु बाहेकको आयात घटेको, नेपाली विद्यार्थीहरु, भ्रमण र वैदेशिक रोजगारीमा जानेहरु रोकिएका कारण विदेशी मुद्रा सञ्चितिमा केही सुधार भएको देखिएको छ । तर अवस्था सामान्य हुनेबित्तिकै विदेशी मुद्रा सञ्चिति ह्वात्तै घट्न सक्ने भएकाले विदेशी मुद्रा सञ्चितिको अवस्थामा हरेक १५ दिनमा अनुगमन गर्ने र आवश्यकता अनुसार हस्तक्षेप गर्न सुझाव दिएको छ । साथै, कोभिड–१९ को विद्यमान संकट समाधान भइ पुनः नेपालीहरु विदेश भ्रमण, विद्यार्थी अध्ययनका लागि जानेक्रम शुरु हुने हुँदा उनीहरुलाई विदेशी विनिमय सञ्चिति नगदमा उपलब्ध गराउने सीमा आवश्यकता अनुसार कम गर्न सकिने पनि सुझावमा समावेश छ । मौद्रिक नीति २०७७/७८ का लागि प्रेषित सुझावमा आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था भएको किसान क्रेडिट कार्ड कार्यान्वयनका लागि सरकारले क्रेडिटमा जाने रकम बराबरको रकम सम्बन्धित वित्तीय संस्थालाई उपलब्ध गराउनुपर्ने व्यवस्था गर्ने र किसान क्रेडिट कार्ड प्रभावकारी रुपमा र लक्षित रुपमा लागू गर्न अनुगमनको व्यवस्था हुनुपर्ने उल्लेख छ । अर्थतन्त्रको ऐना मानिने मुलुकको एकमात्र सेयर बजारमा देखिएको डिप्रेसन अन्त्य गरी लगानीकर्तालाई आकर्षण गर्न मार्जिन लेण्डिङ खुकुलो गरी सेयर धितोको कर्जाको सीमाको निर्धारण बैंकहरुले नै गर्न पाउने व्यवस्था गर्न आग्रह गरिएको छ । पुँजीबजारमा धितोपत्रका अतिरिक्त अन्य इन्स्ट्रुमेन्टहरु, बण्ड, म्युचुअल फण्डको कारोबारलाई प्रोत्साहन दिने भनिएको छ । निजी क्षेत्रमा खासगरी नवप्रवर्तनमा आधारित उद्यममा जोखिम वहन गरेर लगानी साझेदारीस्वरुप भित्र्याउने पुँजी अर्थात् भेञ्चर क्यापिटलको प्रवेशलाई नेपाल राष्ट्र बैंकले सहजीकरण गर्नुपर्ने सुझावमा उल्लेख छ । साथै, बैंक वित्तीय संस्थाहरुलाई विदेशबाट वित्तीय साधन परिचालन गर्न सहज व्यवस्था गरिदिने र बाह्य व्यावसायिक ऋणसँग सम्बन्धित लाइबोर प्लस रेट र समयावधि, सीमामा पुनरावलोकन गर्न सुझाइएको छ । नेपाली कांग्रेसले आगामी मौद्रिक नीतिमार्फत् दीगो विकास लक्ष्य प्राप्ति सम्बन्धि मुलुकको प्रतिवद्धतालाई सघाउन, वातावरण मैत्री परियोजनालाई प्रोत्साहन गर्न, वातावरण ह्रास र जलवायु परिवर्तनको असरले उत्पन्न प्राकृतिक विपद्ले बैंक तथा वित्तिय संस्थाको कर्जा जोखिममा नपरोस् भन्नका लागि वातावरणीय प्रभाव न्यूनीकरण सम्बन्धि कार्यविधिलाई कार्यान्वयनमा ल्याउन समेत आग्रह गरेको छ ।

भारत सरकारकाे थप राहत प्याकेज: ९० हजार करोड भारुमा ८० करोडलाई निःशुल्क रासन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बरसम्म ८० कारोडभन्दा बढी मानिसलाई निःशुल्क रासन वितरण गरिने बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन् । उनले कोरोना भाइरसको रोकथामका लागि भारतीय सरकारले सही कदम चालेको पनि बताएका छन् । उनले सही समयमा गरेको लकडाउनको कारण लाखौं मानिसहरुको ज्यान जागिएको बताए । उनले कानुनभन्दा माथि कोही नभएकोले सबैले सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी मार्गनिर्देशनहरू पालना गर्न अनुरोध गरे । उनले हालसम्म जनताको राहतका लागि धेरै खर्च गरेको बताउादै अझै पनि नोभेम्बरसम्म गरिब नागरिकहरूलाई पाँच किलो गहुँ र पाँच किलो चामल पाँच महिनासम्मका वितरण गर्ने बताएका हुन् । उनले यसका लागि सरकारले ९० हजार करोड रुपैयाँ खर्च गर्ने उनको भनाई छ ।

अब दराजमा इसेवाबाट पनि भुक्तानी गर्न मिल्ने, यस्ताे छ प्रक्रिया

काठमाडाैं । नेपालको अनलाइन बजार, दराजले नेपालको पहिलो अनलाइन भुक्तानी सेवा प्रदायक र अग्रणी डिजिटल वालेट, इसेवा सँग सहकार्य सुरु गरेको छ । यो साझेदारीको साथ प्रयोगकर्ताहरूले सजिलै दराज एपमा खरीद गरेको कुनै पनि चीजको लागि इसेवा मार्फत भुक्तानी गर्न सक्दछन् । यो नयाँ भुक्तानी प्रक्रियाले दराजमा किनमेल गर्न अझै सरल, सहज र भरपर्दो बनाउने छ ।  यसले चेक आउट प्रक्रियाको समय घटाउनेछ,  डिजिटल सुरक्षा अझै बलियो बनाउने छ र प्रयोगकर्ताहरुलाई सामाजिक दुरी कायम गर्न पनि सहयोग पुर्याउनेछ । दराजमा इसेवा वालेट प्रयोग गर्न, ग्राहकहरूले पहिले आफ्नो इसेवा खातालाई दराज एपसँग लिङ्क गर्नुपर्नेछ । लिङ्क भइसकेपछि ग्राहकहरूले ओटिपी मार्फत किनमेल गर्न सक्नेछन् । इसेवा वालेट मार्फत पेमेन्ट गरे पैसा फिर्ता लिनुपर्ने स्थितिमा फिर्ता लिने प्रक्रिया पनि छिटो हुनेछ (३ कार्य दिन भित्र)। ‘इसेवा नेपालको एकदमै लोकप्रिय डिजिटल वालेट हो र दराज एपमा इसेवा वालेट को स्थापना गरेर हाम्रो प्रयोगकर्ताहरुको लागि अझै धेरै भुक्तानी सुविधा प्रदान गर्न सकेकोमा हामी निकै उत्साहित छौं ।  हामी दुई कम्पनी बीचको सहकार्यले हाम्रा ग्राहकहरूको लागि अझै सहज शपिंग अनुभवमा दिन सक्ने कुरामा विश्वस्त छौं । ‘दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले भने । दराजमा ४००० भन्दा बढी विक्रेताहरूले किराना देखि इलेक्ट्रोनिक्स हरेक किसिमका सामानहरू बेच्छन् । दराजले विराटनगर, पोखरा, चितवन जस्ता सबै प्रमुख क्षेत्रहरू सहित नेपालका  २४ भन्दा बढी शहरहरूमा वितरण गर्दछ । साथै अब ईसेवा मार्फत पनि भुक्तानी गर्न मिल्ने हुँदा ग्राहकहरूलाई महामारीको बेलामा नगद चलाउनु पर्ने अवश्यकता पनि पर्दैन। मानिसहरु सक्रमणको खतराले बाहिर निस्कन नसकेपनि घरै बसी आफुलाई चाहिने हरेक अवश्यक्ताहरु अनलाइन भुक्तानी र ई कमर्स मार्फत खरिद गर्न सक्दछन् ।  

त्रिविकाे वार्षिक परीक्षा सञ्चालन हुन्छ: परीक्षा नियन्त्रण कार्यालय

काठमाडौं । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिकअन्तर्गतका परीक्षा स्थिति सामान्य भएपछि सञ्चालन गरिने बताएका छन् । परीक्षाको कार्यतालिका सार्वजनिक गरिसकेकोले बन्दाबन्दी हटेपछि वार्षिक तर्फकाे नियमित परीक्षा गरिने जाेशीले बताए । ‘‘अहिले सबै विद्यार्थी घर गएका छन् । बन्दाबन्दी खुलेर यातायात सहज भएपछि विद्यार्थी आउने वातावरण हुन्छ’’, उनले भने, ‘‘अनि विद्यार्थीलाई केही समय बाँकी राखेर पुनः परीक्षाको कार्यतालिका सार्वजनिक गर्नेछौँ ।’’ त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगित गरेको थियो । यसैगरी पनिकाले बन्दाबन्दीको बीचमा १४ वटा तहका परीक्षाफल प्रकाशित गरेको छ । गत वैशाख २० गतेबाट कार्यालय कर्मचारीलाई ल्याएर परीक्षाफल प्रकाशित गरिएको हो । उनका अनुसार स्नातक तहका व्यवस्थापन सङ्काय, मानविकि सङ्काय, शिक्षा र विज्ञान सङ्कायका द्वितीय वर्ष तथा कानून सङ्काय स्नातक र स्नातकोत्तर तह तथा मानविकी सङ्कायका स्नातकोत्तर तहका पाँच विषयमा परीक्षाफल प्रकाशित गरिएको छ । यसैगरी उनले चाँडै नै स्नातक तह व्यवस्थापन र मानविकि सङ्कायको प्रथम वर्षको परीक्षाफल पनि प्रकाशित गरिने जानकारी दिए ।

सेती नदी जलविद्युत् आयोजनाले पायो विद्युत् उत्पादन अनुमतिपत्र

काठमाडौं । सरकारले सेती नदी जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले सो आयोजनालाई सोमबार विद्युत् उत्पादन अनुमतिपत्र दिएको हो । भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडले कास्कीमा निर्माण शुरु गरेको २५ मेगावाट क्षमताको आयोजनाको निर्माण शुरु गरेको छ । यही असार ८ गते आयोजनाको कामलाई थप प्रभावकारी बनाउन र गुणस्तरमा ध्यान दिन हाइड्रो कन्सल्टलाई परामर्शदाताको रुपमा नियुक्त गरिएको थियो । भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले आयोजनाका लागि अर्को महत्वपूर्ण निर्णय भएको जानकारी दिए । कास्कीको माछापुच्छ्र«े गाउँपालिका–२ सार्दिखोलाको भराभरीमा निर्माण गर्न लागिएको सो आयोजनाको निर्माण कार्य गत वैशाख २२ गतेदेखि शुरु भएको हो । कूल रु पाँच अर्ब लगानीमा निर्माण गरिने आयोजनाको शुरुआतमा सिभिल निर्माणतर्फको सेटलिङ बेसिन (पानी थिग्राउने पोखरी) खन्ने काम भइरहेको छ । आगामी २७ महिना भित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार कोरोना सङ्क्रमणको त्रासका बीचमा समेत आवश्यक सुरक्षाका उपाय अवलम्बन गरेर काम शुरु गरिएको छ । भराभरीमा आयोजनाको बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइप बिछ्याएर पोखरा महानगरपालिका–१९ सँग सीमा जोडिएको चिन्ते बगरमा निर्माण गरिने विद्युत् गृहमा १८७ मिटर उचाइबाट पानी खसालिनेछ । आयोजनाबाट उत्पादित विद्युत् चार किमी दूरीमा रहेको गाउँपालिकाको वडा नं ४ लाहाचोकमा निर्माणाधीन सवस्टेशनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाको सिभिल वर्कको जिम्मा रसुवा लुना जेभीले पाएको थियो । रु एक अर्ब २० करोड लागतमा २७ महिनाभित्रमा सम्पन्न गर्ने गरी गत माघमा भौतिक निर्माणको जिम्मा रसुवाले पाएको हो । सिभिल वर्कको कामसँगै आयोजनाको हाइड्रोमेकानिक, इलेक्ट्रोमेकानिकल्स र ट्रान्समिसन (प्रशासरण लाइन) को काम अघि बढाउन निर्माण व्यवसायी छनोटका लागि बोलपत्र आह्वान भइसकेको छ । आयोजनाको कूल लागतमध्ये ७० प्रतिशत विभिन्न बैंक, वित्तीय संस्था तथा निजी क्षेत्रबाट जुटाइनेछ भने बाँकी रकम स्वपूँजीका रुपमा लगानी हुनेछ । आयोजनाले उत्पादन गरेको विद्युत् वर्षायाममा छ महिना चार रुपैयाँ ८० पैसा र हिउँदयाममा आठ रुपैयाँ ४० पैसा प्रतियुनिटमा विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता यसअघि नै भइसकेको छ । रासस

आइसिएफसि फाइनान्सको २ लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । आइसिएफसि फाइनान्सको २ लाख थान ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । मंगलबार नेप्से र आइसिएफसि फाइनान्सबीच संस्थाको प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २ लाख थान १२ प्रतिशत आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड डिबेन्चर २०८३ सूचीकरण गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चन्द्र सिंह साउद र आइसिएफसि फाइनान्सको सीईओ सुनिल पन्तले हस्ताक्षर गरेका छन् । आइसिएफसि फाइनान्सले सर्वसाधारण समक्ष ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत् २ लाख थान १२ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८३ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २ लाख थान ऋणपत्र वितरण भई नेप्सेमा सूचीकरण भएको छ ।